विकासन्युज

कजारियाको एक्सक्लुसिभ शोरुम अब जनकपुरमा पनि

जनकपुर । कजारियाले जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरुम सञ्चालनमा ल्याएको छ। बाबा अटोमाटा ट्रेडिङ प्रालिद्वारा सञ्चालनमा ल्याइएको उक्त शोरुम जनकपुर तथा आसपासका क्षेत्रमा उच्च गुणस्तरका टायलप्रति बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको हो ।  कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले शोरुमको उद्घाटन गरे । ग्राहकहरूले शोरुममा आवासीय, व्यावसायिक तथा आर्किटेक्चरल प्रयोगका लागि उपयुक्त विविध डिजाइन तथा शैलीहरू अवलोकन गर्न सक्नेछन् । कजारिया रमेश टाइल्सले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ ।  अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३ हजारभन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ । हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरुमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०*१२) सेमी, ६०*६० सेमी, १९.५*१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०*४० सेमी) तथा सेरामिक वाल टायल (३०*६० सेमी, ३०*४५ सेमी) समावेश छन्। यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन्।

कुमारी बैंकले पायो आईएसओ/आईईसी २७००१ : २०२२ सूचना सुरक्षा प्रमाणपत्र

काठमाडौं । कुमारी बैंकले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ/आईईसी २७००१ : २०२२ सूचना सुरक्षा व्यवस्थापन प्रणाली  (आईएसएमएस) प्रमाणपत्र प्राप्त गरेको छ ।  यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको देखाउछ । यसमा मूलतः ९३ वटा नियन्त्रणहरू हुन्छन्, जसलाई अर्गनाइजेसनल (३७), पिपल (८), फिजिकल (१४) र टेक्नोलोजिकल (३४) मा विभाजन गरिएको हुन्छ ।  यी नियन्त्रणहरू कार्यान्वयन भए नभएको स्वतन्त्र बाह्य अडिटमार्फत सुनिश्चित गरी आईएसओ/आईईसी २७००१/२०२२ प्रमाणपत्र प्रदान गरिन्छ ।  यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा जोखिम पहिचान, मूल्याङ्कन तथा व्यवस्थापन गर्ने राम्रो क्षमता रहेको र सो अन्तर्राष्ट्रिय मापदण्डबमोजिम रहेको सुनिश्चित गर्दछ ।  साथै यस प्रमाणपत्रमार्फत बैंकले ग्राहकहरुको तथ्याङ्क सुरक्षित तथा गोप्य राखेको, आवश्यक परेको बेला उपलब्ध गराउने, अनधिकृत पहुँचबाट जोगाउने गरेको र सुदृढ सुरक्षा प्रणाली कार्यान्वयन गरिरहेको छ भनी प्रमाणित गर्छ ।  बैंकले नियमित जोखिम मूल्याङ्कन, कर्मचारी सचेतना कार्यक्रम, सुरक्षा परीक्षण तथा निरन्तर निगरानी प्रणालीमार्फत सम्भावित साइबर जोखिमहरूको रोकथाम, पहिचान तथा व्यवस्थापन गर्ने संरचना कार्यान्वयन गर्दै आएको छ । बैंकले सूचना सुरक्षा एक पटकको उपलब्धि नभई निरन्तर सुधारको प्रक्रिया भएको र आगामी दिनहरूमा पनि नियामक मापदण्ड तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू अनुरूप आफ्ना सुरक्षा संयन्त्रहरू थप सुदृढ गर्दै जाने प्रतिबद्धतासमेत जनाएको छ ।  

मायाखोला हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । मायाखोला हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ करोड कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर निष्कासन प्रक्रियाका लागि कम्पनीले बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ। सम्झौतामा मायाखोला हाइड्रोपावर कम्पनीतर्फबाट कार्यकारी अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । मायाखोला हाइड्रोपावरको स्थापना २०६७ सालमा प्रालिको रूपमा भई २०७३ सालमा लिमिटेडमा रूपान्तर भएको हो । यस कम्पनीले संखुवासभा जिल्लामा १४.९ मेगावाट क्षमताको मायाखोला हाइड्रोपावर आयोजनाको निर्माण गरी २०८० को असारदेखि विद्युत उत्पादन गर्दै आइरहेको छ ।  यस कम्पनीले सर्वसाधारणहरूलाई २०७९ माघमा प्राथमिक सेयर जारी गरेको थियो ।

दुई पुनर्बीमा कम्पनीको विभिन्न क्षेत्रमा ३७ अर्ब ७ करोड ९० लाख रुपैयाँ लगानी, कुनमा कति ?

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनी नेपाल रि र हिमालयन रिले चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा विभिन्न क्षेत्रमा ३७ अर्ब ७ करोड ९० लाख रुपैयाँ लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हिमालयन रि इन्स्योरेन्सले १८ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीले १८ अर्ब २८ करोड २३ लाख रुपैयाँ लगानी गरेको छ । बीमा कम्पनीहरूको ठूलो लगानी बैंकहरूको मुद्दति निक्षेपमा भएजस्तै पुनर्बीमा कम्नपनीहरूको पनि सबैभन्दा धेरै लगानी त्यसैमा देखिएको छ । नेपाल रिको कुल लगानीमा बैंकहरूको मुद्दतिको हिस्सा ७८.३४ प्रतिशत रहेको छ । बैंकहरूको मुद्दति निक्षेपमा नेपाल रिको लगानी १४ अर्ब ३२ करोड २८ लाख रुपैयाँ रहेको छ । नेपाल रिले क वर्गको बैंकमा १२ अर्ब ८२ करोड रुपयाँ, पूर्वाधार बैंकमा २६ करोड रुपैयाँ, ख वर्गको मुद्दति निक्षेपमा १ अर्ब १४ करोड रुपैयाँ र ग वर्गको वित्तीय संस्थामा १० करोड रुपैयाँ मुद्दति निक्षेपका रूपमा लगानी रहेको छ । नेपाल रिले सूचीकृत पब्लिक कम्पनीको सेयरमा ९ करोड ४७ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ५४ करोड ६२ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ५६ करोड ४७ लाख रुपैयाँ, अन्य संस्थापक सेयरमा ५९ करोड ६५ लाख रुपैयाँ, सूचीकृत नभएका पब्लिक कम्पनीको सेयरमा ५० करोड ७२ लाख रुपैयाँ र अन्य क्षेत्रमा ६५ करोड रुपैयाँ लगानी रहेको छ। हिमालयन रिको वाणिज्य बैंकको निक्षेपमा कुल लगानीको ६३.३३ प्रतिशत लगानी रहेको छ । हिमालयन रिले क वर्गका बैंकहरूको मुद्दति निक्षेपमा ११ अर्ब ९० करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ ।  त्यस्तै, हिमालयन रिले सूचीकृत पब्लिक कम्पनीको सेयरमा ४ अर्ब ६२ करोड १६ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा २० करोड १० लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ७९ करोड रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको सेयरमा १ अर्ब ५ करोड रुपैयाँ, अन्य संस्थापक सेयरमा २२ करोड ५० लाख रुपैयाँ र अन्य क्षेत्रमा ४७ लाख ८० हजार रुपैयाँ लगानी गरेको छ । 

महासंघको पहलमा कैलालीमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र तथा स्तनपान कक्ष स्थापना

काठमाडौं । सशक्त महिला संवृद्ध नेपाल कार्यक्रमले गोदावरी ६ कैलालीमा रहेको ग्रिन होम प्रालिको परिसरमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र तथा स्तनपान कक्ष स्थापना गरेको छ ।   सशक्त महिला संवृद्ध नेपाल कार्यक्रम अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा सञ्चालित हुँदै आएको छ । करिब १० लाखको लगानीमा तयारी गरिएको उक्त संरचनामा बालबच्चा भएका महिला कर्मचारीहरू आफ्नो बच्चाको समय–समयमा हेरचाह गर्न पाउनेछन् । संरचनाभित्र बालबच्चाका लागि पोषणयुक्त खानेकुराको लागि आवश्यक साधन, खेलकुद सामग्रीसहितको व्यवस्था गरिएको छ । यस कक्षमा उनीहरुको लागि उद्योगले सहजकर्तासमेत राख्ने छ । सन्तानको हेरचाहको लागि समय दिन नसक्ने कारण देखाउँदै अधिकांश उद्योग–कलकारखानामा काम गर्ने महिला कर्मचारीहरूले काम छोडिरहेको अवस्थामा कैलाली उद्योग वाणिज्य संघका महासचिव दिनेश लम्सालको सो उद्योग परिसरमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र तथा स्तनपान कक्ष स्थापना गरिएको हो । कक्षका लागि आवश्यक आन्तरिक आवश्यक सामाग्री महासंघले उपलब्ध गराएको छ।  स्याहार केन्द्रको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरतराज आचार्यले यस्ता पहलहरूले अवैतानिक हेरचाह कार्यको बोझ कम गर्दै दिगो विकास र जनशक्ति स्थायित्व जस्ता व्यापक लक्ष्यहरूसँग समन्वय गर्ने बताए । आफ्नो कम्पनीमा बालबच्चाको समस्याको कारण देखाउँदै अनुभवी महिला कर्मचारीहरूले काम छोड्ने समस्या बढ्न थालेपछि उनीहरूको सन्तानलाई पनि राम्रो वातावरण दिने गरी उद्योग परिसरमा शिशु स्याहार केन्द्र स्थापना गरिएको उद्योगका सञ्चालक लम्सालले जानकारी दिए । लम्सालका अनुसार उद्योगमा अहिले ९२ महिला र ३२ पुरुष कर्मचारी छन् ।  उद्योगमै आफ्ना बालबच्चाहरूको हेरचाह गर्न पाउने भएपछि महिला श्रमिकहरू उत्साहित भएको र शिशु स्याहार केन्द्रमा बालबालिकाहरूको खेल्दै सिक्ने प्रक्रिया अघि बढ्ने उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलले जानकारी दिए । पौडेलका अनुसार शिशु स्याहार केन्द्र तथा स्तनपान र ड्रेसिङ रुम स्थापनाको लागि उद्योगले भौतिक संरचना उपलब्ध गरेको हो ।

बुद्धिजीवीहरू भन्छन्– नीति र नेतृत्व परिवर्तनले कांग्रेसमा नयाँ आशा जागेको छ

काठमाडौ । पेशाकर्मी तथा बुद्धिजीवीहरुले नेपाली कांग्रेसमा परिवर्तन आएको भन्दै यसले देशमा आशा जगाएको टिप्पणी गरेका छन् । उनीहरूले कांग्रेसले अपेक्षाअनुसार नीति तथा नेतृत्व परिवर्तन गरेको भन्दै यसले आशा जगाएको बताए । उनीहरूले यसका लागि नेतृत्व गरेको भन्दै महामन्त्री प्रदीप पौडेललाई धन्यवाद समेत दिए ।  पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा महामन्त्री पौडेलबाट अब देशले गति लिने विश्वास  उनीहरूले गरेका छन् । उनीहरूले काठमाडौं ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका पौडेललाई शुभकामना पनि दिएका छन्। कार्यक्रममा पूर्वमन्त्री नरहरि आचार्यले पौडेलसँग नेतृत्व क्षमता रहेको भन्दै जीतको शुभकामना दिए । त्यस्तै, पूर्वराजदूत शम्भुराम सिम्खडाले अहिले कांग्रेसबाट आशा गर्न सकिने भन्दै आशा दिन सक्ने व्यक्ति महामन्त्री पौडेल भएको बताए । अर्थशास्त्री डा. पोषराज पाण्डेले कांग्रेसबाट परिवर्तन आवश्यक रहेकोमा त्यो सफल भएको भन्दै पार्टीमा भएको परिवर्तनलाई संस्थागत गर्न सहकार्य गरेर अघि बढ्न आग्रह गर्दै शुभकामना दिए । कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस अब फेरि राजनीतिको विश्वविद्यालय हुने बताए । बुद्धिजीवी तथा पेशागत समूहद्वारा काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै उनले समाजमा योगदान दिने जो कोही आउन मिल्ने बनाइने बताए ।

१० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थलमा उडान सु्रु

सङ्खुवासभा । प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल सोमबार (आज) देखि खुलेको छ ।  आजदेखि काठमाडौं–तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले बताए । तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको हो ।  यो विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीले सेवा सञ्चालन गर्दै आएका छन् ।   

१२० देशसँग नेपालको व्यापार घाटा, ३२ देशसँग नाफा

काठमाडौं । आर्थिक वर्ष २०८२ को ६ महिनामा नेपालले १२० देशसँग व्यापार घाटा बेहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार २०८२ साउनदेखि २०८२ पुससम्ममा विभिन्न मुलुकबाट आएका मालवस्तुका आधारमा यस्तो अवस्था देखिएको हो । यो अवधिमा नेपालले १५२ देशसँग व्यापार गरेको छ । त्यसमध्ये विभिन्न ३२ मुलुकसँग नेपालको नाफा रहेको भन्सार विभागले जनाएको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले ६ महिनामा ९ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यही अवधिमा निर्यात भने १ खर्ब ४२ अर्ब १ करोड रुपैयाँमा सीमित भएको छ । यसले गर्दा देशले कुल ७ खर्ब ९७ अर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको छ । सबैभन्दा बढी व्यापार घाटा भारतसँग  नेपालले सबैभन्दा धेरै व्यापार छिमेकी मुलुक भारतसँग गर्दै आइरहेको छ । त्यसैले सबैभन्दा धेरै व्यापार घाटा पनि भारतसँग नै रहेको छ । पुस मसान्तसम्मको तथ्यांकअनुसार नेपालले भारतबाट ५ खर्ब ३२ अर्ब ४५ करोड रुपैयाँको वस्तु आयात गर्दा जम्मा १ खर्ब १५ अर्ब ७४ करोड रुपैयाँको मात्र निर्यात गर्न सकेको छ । यसबाट भारतसँग मात्रै नेपालको ४ खर्ब १६ अर्ब ७१ करोड रुपैयाँ बराबरको  व्यापार घाटा देखिन्छ । त्यसैगरी, दोस्रो ठूलो व्यापार घाटा चीनसँग रहेको छ । ६ महिनामा चीनबाट १ खर्ब ९६ अर्ब ९४ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा नेपालबाट चीनतर्फ निर्यात ६४ करोड ९ लाख रुपैयाँ भएको छ । पुससम्ममा चीनसँग मात्रै १ खर्ब ९५ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ व्यापार घाटा देखाउँछ । २० भन्दा बढी देशसँग अर्बको व्यापार घाटा भारत र चीन मुलुकबाहेक अर्जेन्टिना, युनाइटेड अरब इरिमेट्स(युएई), इन्डोनेसिया, थाइल्याण्डलगायत देशसँग पनि नेपालको ठुलो व्यापार घाटा रहेको छ । भन्सार विभागका तथ्यांकअनुसार २० भन्दा बढी मुलुकसँग नेपालको अर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा रहेको छ । ६ महिनाको अर्जेन्टिनाबाट ५४ अर्ब ४४ करोड रुपैयाँको वस्तु आयात गर्दा २४ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ । अर्जेन्टिनासँग नेपालको व्यापार घाटा ५४ अर्ब ४३ करोड ८३ लाख रुपैयाँ रहेको छ । अर्जेन्टिनापछि युएईसँग नेपालको व्यापार घाटा ३०  अर्ब ८७ करोड रुपैयाँ छ। त्यस्तै, इन्डोनेसियासँग ९ अर्ब ८१ करोड रुपैयाँ, थाइल्याण्डसँग ९ अर्ब १० करोड रुपैयाँ, अस्ट्रेलियासँग ५ अर्ब १५ करोड रुपैयाँ, मलेसियासँग ५ अर्ब ९४ करोड रुपैयाँ, ब्राजिलसँग ५ अर्ब ७ करोड रुपैयाँ, ब्रुनाईसँग ४ अर्ब ५७ करोड रुपैयाँ, युक्रेनसँग ४ अर्ब ४० करोड रुपैयाँ व्यापार घाटा छ । बंगलादेशसँग २ अर्ब ८२ करोेड रुपैयाँ, क्यानडासँग ३ अर्ब ३८ करोड रुपैयाँ, हङकङसँग ३ अर्ब ९ करोड रुपैयाँ, जापानसँग ३ अर्ब ११ करोड रुपैयाँ, कतारसँग ३ अर्ब १४ करोड, अमेरिकासँग ३ अर्ब ६८ करोड रुपैयाँ, भियतनामसँग ३ अर्ब ७ करोड रुपैयाँ, जोर्डनसँग २ अर्ब ४३ करोड रुपैयाँ, कोरियासँग २ अर्ब ६४ करोड रुपैयाँ सिंगापुरसँग २ अर्ब ५४ करोड रुपैयाँ, इटालीसँग १ अर्ब ७४ करोड रुपैयाँ र पराग्वेसँग १ अर्ब ४७ करोड रुपैयाँ बराबरको व्यापार घाटा देखिन्छ । ५०  भन्दा बढी देशसँग करोडको व्यापार घाटा न्युजिल्याण्डसहित ५० भन्दा बढी मुलुकसँग नेपालको व्यापार घाटा रहेको छ । भन्सार विभागको तथ्यांकअनुसार न्युजिल्याडसँग ८९ करोड २३ लाख रुपैयाँ, म्यानमारसँग ८७ करोड ८४ लाख रुपैयाँ, ताइवानसँग ७२ करोड ११ लाख रुपैयाँ, स्पेनसँग ७० करोड ३३ लाख रुपैयाँ, टर्कीसँग ६६ करोड १८ लाख रुपैयाँ, बेल्जियमसँग ६६ करोड ४९ लाख रुपैयाँ, पोल्याण्डसँग ६४ करोड ९५ लाख रुपैयाँ, बेलायतबाट  ५७ करोड ५२ लाख रुपैयाँ, फिलिपिन्ससँग ५५ करोड ७५ लाख रुपैयाँ, नाइजेरियासँग ४६ करोड ८० लाख रुपैयाँ नेपालको व्यापार घाटा रहेको छ । ३० भन्दा बढी मुलुकसँग नाफा  ६ महिनाको तथ्यांकअनुसार ३० भन्दा बढी मुलुकसँग नेपालको व्यापार नाफा रहेको छ । डेनमार्कसँग ४१ करोड रुपैयाँ, स्वीडेनसँग ३ करोड ३१ लाख रुपैयाँ, क्रेज रिपब्लिकसँग २६ करोड ५१ लाख रुपैयाँ, रोमानियासँग ५ करोड ९१ लाख रुपैयाँ, कोस्टारिकासँग ३  करोड ८५ लाख रुपैयाँ नाफा रहेको छ । त्यस्तै, नर्वेसँग १ करोड ६८ लाख रुपैयाँ, अमेरिकन सामोआ १ करोड ६५ लाख रुपैयाँ, कोलम्बिया ८६ लाख ९६ हजार रुपैयाँ नाफा रहेको छ । नेपालसँग नाफा भएका मुलुकहरूमा अंगोला, बारबादोस, आइसल्याण्ड, कंगो, जर्जिया, जमैका, किर्गिस्तान, आइसल्याण्ड, माल्दिभ्स, माली, माल्टा, पानामा,सिरिया, उराग्वेलगायत हुन् ।