विकासन्युज

९ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी ९ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले एक वर्षअवधिका लागि उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकमलाई लगानी गर्न लागेको हो ।  इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपको रूपमा उक्त रकम राख्न चाहेको राष्ट्र बैंकले जानकारी दिएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई दरखास्त आह्वान गर्न सक्नेछन् । बैंकहरूले १० फागुन २०८२ बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म आवेदन दिन सक्नेछन् ।  राष्ट्र बैंकले वाणिज्य बैंकका लागि ७ अर्ब ४८ करोड रूपैयाँ छुट्याएको छ भने विकास बैंकका लागि १ अर्ब ४० करोड २५ लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूलाई ४६ करोड ७५ लाख रुपैयाँ छुट्याएको छ ।  यस्तो निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप लगानीको ८ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा (एनपीएल) हुन नहुने शर्त तोकिएको छ ।  त्यस्तै, अन्य शर्तहरूमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्युनतम कुल पुँजीकोष कायम रहेको हुनुपर्ने, बैंकले समय समयमा निर्धारण गरे बमोजिमको खुद तरल सम्पत्ति अनुपात कायम गरेको, कर्जा निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाबअनुसार खुद मुनाफामा रहेको, शिघ्र सुधारात्मक कारवाहीमा परेको भए, फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने तोकेको छ ।  नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिमको कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएमा सो फुकुवा भएको ६ महिना अवधि पूरा भएको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको जस्ता शर्त पनि राष्ट्र बैंकले तोकेको छ । 

मानव बेचबिखन सञ्जालमा क्रिप्टोको भूमिका बढ्दै, २०२५ मा अवैध क्रिप्टो प्रवाह करिब १६.१ अर्ब डलर

काठमाडौं । नयाँ प्रतिवेदनअनुसार सन् २०२५ मा शंकास्पद मानव बेचबिखन गिरोहहरूलाई गरिएको क्रिप्टोकरेन्सी भुक्तानी ८५ प्रतिशतले बढेको छ र सार्वजनिक ब्लकचेनहरूमा सयौं मिलियन डलर बराबरका कारोबारहरू ट्रेस गरिएको छ । यो प्रतिवेदन अमेरिकी ब्लकचेन विश्लेषण कम्पनी चेनएनालाइसिसले सार्वजनिक गरेको हो । कम्पनीका अनुसार अधिकांश गतिविधि दक्षिणपूर्वी एसियामा विस्तार हुँदै गएको आपराधिक इकोसिस्टमसँग जोडिएको थियो, जहाँ स्क्याम कम्पाउन्ड, अवैध अनलाइन जुवा सञ्चालन र चिनियाँ भाषाका मनी लन्डरिङ सञ्जालहरू मिलेर काम गर्छन् । क्रिप्टो ट्र्याकरका अनुसार मानव बेचबिखनकर्ताको क्रिप्टो गतिविधि मुख्यतः तीन वर्गमा पर्छन्स् अन्तर्राष्ट्रिय एस्कर्ट तथा वेश्यावृत्ति सेवा, श्रम प्लेसमेन्ट एजेन्ट र स्क्याम कम्पाउन्ड तथा बाल यौन दुव्र्यवहार सामग्री विक्रेता । ब्लकचेन डाटाले देखाएअनुसार अधिकांश सेवा दक्षिणपूर्वी एसियामा केन्द्रित भए पनि ग्राहकहरूले उत्तर तथा दक्षिण अमेरिका, युरोप र अस्ट्रेलियाबाट भुक्तानी पठाएका थिए, जसले यी सञ्जालहरूको विश्वव्यापी पहुँच देखाउँछ । चेनएनालाइसिसले साइबर अपराधीहरू आफ्नो सेवा प्रचार गर्न, पीडित भर्ती गर्न र भुक्तानी समन्वय गर्न टेलिग्रामजस्ता प्लेटफर्ममा बढ्दो निर्भर रहेको पनि फेला पारेको छ । ‘पुराना डार्कनेट फोरमबाट एप र अर्धखुला टेलिग्राम इकोसिस्टममा व्यापक सरुवा भइरहेको छ, जसले क्रिप्टोसँग मिलेर यी सञ्जाललाई छिटो विस्तार गर्न, ‘कस्टमर सर्भिस’ चलाउन र विश्वव्यापी रूपमा सजिलै पैसा सार्न सक्षम बनाएको छ,’ टम म्याकलुथले भने । ‘मुख्य निष्कर्ष के हो भने वास्तविक आर्थिक परिमाण कम्तीमा सयौं मिलियन अमेरिकी डलर बराबरको क्रिप्टो कारोबार हो र भौतिक क्षति कुनै पनि डलर रकमभन्दा धेरै गुणा ठूलो छ,’ म्याकलुथले थपे । ब्लकचेन गतिविधिले धेरै कारोबारहरू पछाडि उच्च संगठित सञ्जाल रहेको देखाउँछ । केही एस्कर्ट सेवा र सेक्सवर्क कानुनी रूपमा सञ्चालन भए पनि प्रतिवेदनले सम्भावित बेचबिखन गतिविधि विशिष्ट वित्तीय व्यवहारबाट पहिचान गर्न सकिने बताएको छ । विशेषगरी शंकास्पद सञ्जालहरूले स्टेबलकोइन र चिनियाँ भाषाका मनी लन्डरिङ समूहको प्रयोग गरी छिटो नगदमा रूपान्तरण गर्ने गरेको उल्लेख गरिएको छ । यी लन्डरिङ सञ्जालहरू मुख्यतः चिनियाँ भाषाका टेलिग्राम च्यानलमार्फत सञ्चालन हुन्छन् र अवैध रकमलाई क्रिप्टोमार्फत सारेर ‘सफा’ बनाउने काम गर्छन् । सन् २०२५ मा यस्ता अवैध क्रिप्टो प्रवाह करिब १६.१ अर्ब डलर पुगेको अनुमान गरिएको छ । डाटाअनुसार क्रिप्टोसँग सम्बन्धित अन्तर्राष्ट्रिय एस्कर्ट सेवाहरूले उच्च मूल्यका ट्रान्सफरमा उल्लेखनीय हिस्सा ओगटेका छन्, जसमा झन्डै आधा कारोबार १० हजार डलरभन्दा बढीका थिए । अनुसन्धानकर्ताले समीक्षा गरेका सूचीहरूमा सीमापार यात्रा प्याकेज, साथसंगत सेवा र तहगत मूल्य संरचना उल्लेख गरिएको थियो, जसमा भीआइपी प्याकेजको मूल्य ३० हजार डलरभन्दा माथि थियो । चेनएनालाइसिसले कारोबारको आकार, निरन्तरता र वालेट क्लस्टरहरूबीच दोहोरिने भुक्तानी ढाँचाले व्यक्तिगत होइन, व्यावसायिक रूपमा संगठित सञ्चालन भएको संकेत गर्ने बताएको छ । शंकास्पद वेश्यावृत्ति सञ्जालतर्फ गरिएका क्रिप्टो भुक्तानीहरू एस्कर्ट सेवाभन्दा साना रकमका थिए, प्रायः १ हजारदेखि १० हजार डलरसम्म । तर डाटा अनुसार यी पनि संगठित समूहसँग मिल्दोजुल्दो देखिन्छन् । अर्को प्रमुख श्रेणी ‘श्रम प्लेसमेन्ट एजेन्ट’ हरू थिए, जसले व्यक्तिहरूलाई प्रायः दक्षिणपूर्वी एसियाका स्क्याम कम्पाउन्डमा भर्ती गर्छन्, जहाँ क्रिप्टो–आधारित ठगी योजना सञ्चालन हुन्छ । भर्ती शुल्क प्रायः १ हजारदेखि १० हजार डलरसम्मको क्रिप्टोकरेन्सी हुने र टेलिग्राम च्यानलमा देखाइएका मूल्यसँग मेल खाने प्रतिवेदनमा उल्लेख छ । उदाहरणस्वरूप कम्बोडिया वा म्यानमारमा ‘कस्टमर सर्भिस’ वा ‘डाटा एन्ट्री’ कामका लागि उच्च मासिक तलब र यात्रा खर्च बेहोर्ने वाचा गरिएका विज्ञापनहरू भेटिएका थिए । भर्ती भएपछि पीडितहरूलाई रोमान्स स्क्याम, नक्कली क्रिप्टो लगानी योजना र विदेशमा रहेका व्यक्तिलाई लक्षित अन्य अनलाइन ठगी गर्न बाध्य पारिएको आरोप छ । केही टेलिग्राम संवादमा भर्तीकर्ताहरूले कामदारलाई सीमापार लैजाने, नक्कली कागजात मिलाउने र बिचौलियालाई भुक्तानी समन्वय गर्नेबारे छलफल गरेको चेनएनालाइसिसले जनाएको छ । कम्पनीले भर्ती च्यानलहरू र पहिले अवैध जुवा प्लेटफर्म तथा मनी लन्डरिङ सेवासँग जोडिएका वालेटहरूबीच सम्बन्ध पनि पहिचान गरेको छ, जसले बेचबिखन गतिविधि अन्य आपराधिक उद्यमसँग गाँसिएको संकेत गर्छ । गत वर्ष अमेरिकाको न्याय विभागले कम्बोडियाको ठूलो स्क्याम केन्द्रबाट १५ अर्ब डलर बराबरको बिटक्वाइन जफत गरेको थियो, जसले यस्ता कम्पाउन्डको व्यापकता उजागर गरेको थियो । ‘सन् २०२५ को अन्त्यदेखि यस इकोसिस्टमका केही भाग, विशेषगरी स्क्याम कम्पाउन्डविरुद्ध कडाइ बढेको छ तर यौन शोषण र बेचबिखन सञ्जालहरू वैकल्पिक भौतिक र डिजिटल पूर्वाधारमार्फत सञ्चालन जारी राख्न सक्छन्,’ म्याकलुथले भने ।  चेनएनालाइसिसले बाल यौन दुव्र्यवहार सामग्री सञ्जालहरू पनि ट्र्याक गरेको छ, जसमा फरक भुक्तानी संरचना भए पनि संगठित वित्तीय ढाँचा देखिएको छ । सीएसएएमसम्बन्धी करिब आधा क्रिप्टो कारोबार १०० डलरभन्दा कमका थिए, जसले निजी च्याट समूह वा इन्क्रिप्टेड फाइल–सेयरिङ च्यानलमा सदस्यता–आधारित मोडल संकेत गर्छ । कम्पनीले यस्ता रकम मुख्यधाराका क्रिप्टोकरेन्सीबाट गोपनीयतामा केन्द्रित सम्पत्ति जस्तै मोनेरो र पहिचान प्रमाणीकरण नचाहिने तुरुन्तै साटफेर सेवातर्फ सारिएको पनि देखेको छ । सन् २०२५ जुलाईमा चेनएनालाइसिसले बेलायतको कानुन कार्यान्वयन निकायको सूचनापछि डार्क वेबमा सञ्चालन भइरहेको सबैभन्दा ठूलो सीएसएएम वेबसाइटमध्ये एक पहिचान गर्न सहयोग गरेको जनाएको छ । उक्त एक मात्र सञ्चालनमा ५ हजार ८०० भन्दा बढी क्रिप्टोकरेन्सी ठेगाना प्रयोग गरिएको थियो र जुलाई २०२२ यता ५ लाख ३० हजार ००० डलरभन्दा बढी आम्दानी गरेको थियो। ‘सामान्य रूपमा हेर्दा क्रिप्टोको प्रयोग बढ्दै जाँदा अवैध र वैध दुवै प्रयोजनका लागि यसको प्रयोग बढ्नेछ,’ म्याकलुथले भने, ‘निकट भविष्यमै बेचबिखनसँग जोडिएको गतिविधिमा क्रिप्टोको प्रयोग हराउने अपेक्षा छैनस बरु कानुनी कडाइ बढे पनि यसको प्रयोग बढ्दै जाने सम्भावना छ।’

निर्वाचनका लागि उम्मेदवारले बैंक खाता अनिवार्य खोल्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता अनिवार्य गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आयोगका सचिव कृष्णबहादुर राउतले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आर्थिक अनुशासनमा बाँध्न र निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन यस्तो कदम चालिएको जानकारी दिए । आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीलाई तीव्रता दिँदै निर्वाचन खर्च र महिला सुरक्षाका विषयमा नयाँ मापदण्डहरू सार्वजनिक गरेको बताए ।  सचिव राउतले निर्वाचनलाई जनउत्तरदायी र विश्वसनीय बनाउन आर्थिक पारदर्शिता पहिलो शर्त भएको जानकारी दिए ।  आयोगले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ स्वीकृत गर्दै सबै उम्मेदवारलाई छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ ।  नयाँ व्यवस्थाअनुसार २५ हजार रुपैयाँभन्दा बढीको कुनै पनि आर्थिक सहयोग प्राप्त गर्दा अनिवार्य रूपमा बैंकमार्फत नै गर्नुपर्नेछ । नेपाली नागरिक वा संगठित संस्थाबाट प्राप्त हुने स्वेच्छिक सहयोगलाई पारदर्शी बनाउन रसिदको व्यवस्था गरिएको छ । सचिव राउतकाअनुसार निर्वाचन आचारसंहिताको दफा १६ ले निर्दिष्ट गरे बमोजिम खर्चको विवरण र बिल भरपाई तोकिएको समयभित्र आयोगमा बुझाउनुपर्नेछ ।  निर्वाचन प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आयोगले महिला उम्मेदवार र मतदातामाथि हुने हिंसा, डर, र त्रास न्युनीकरणका लागि साझा प्रतिवद्धता आह्वान गरेको छ ।  सचिव राउतले निर्वाचन केवल जनप्रतिनिधि चयन गर्ने माध्यम मात्र नभई लोकतन्त्रको आधारभूत स्तम्भ भएकाले यसलाई स्वच्छ र निष्पक्ष बनाउन राजनीतिक दलहरूको सहकार्य अपरिहार्य रहेको पनि बताए ।

नेशनल लाइफले गर्यो मधेश प्रदेशका अभिकर्ताहरू सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जनकपुरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य भएका ७७ जना अभिकर्ताहरुसहित विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवं मधेश प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।   सीईओ सुरेशप्रसाद खत्रीले मधेश प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सीईओे क्बलको सदस्यता वितरण तथा सम्मान गरेका थिए । त्यस्तै, नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल र सर्टिफिकेट प्रदान गरिएको थियो । साथै सो प्रदेशबाट आफ्नो कोड र संजलमा प्रथम द्वितीय र तृतीय हुन सफल उत्कृष्ट अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।  सीईओ खत्रीले सीईओ क्लबमा नेपालभरबाट १ हजार ६०० जना भन्दा बढी अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताए । अभिकर्ताहरुलाई प्रशिक्षक सैयद अफ्जल अहमदले तालिम प्रदान गरेका थिए ।  

रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंकको पहिलो कारोबार प्रतिकित्ता ३ सय रुपैयाँमा

काठमाडौं । स्पेशल प्रि-ओपन सेसनमा रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंक लिमिटेडको पहिलो कारोबार भएको छ । सोमबार भएको स्पेशल प्रिओपन सेसनमा दुवै कम्पनीको सेयर प्रतिकित्ता ३ सय रुपैयाँमा पहिलो कारोबार भएको हो ।  यी कम्पनीका सेयरहरू फागुन १ गते नेप्सेमा सूचीकृत भएका थिए । रिलायन्स स्पिनिङ्ग मिल्सको १०० रुपैयाँ अंकित मूल्य भएका कुल १ करोड ९० लाख कित्ता साधारण सेयर सूचीकृत भएको थियो भने सालपा विकास बैंकको १०० रुपैयाँ अंकित मूल्यका कुल ५२ लाख २३ हजार ८८० कित्ता साधारण सेयर सूचीकृत भएका थिए । नेप्सेले सूचीकरण अघि ओपनिङ रेन्जमा नयाँ व्यवस्था लागू गर्दै फेस भ्यालुको तीन गुणा मात्र ओपनिङ रेन्ज तोकेको थियो । सोही अनुसार दुवै कम्पनीको पहिलो कारोबार सम्पन्न भएको नेप्सेले जनाएको छ । 

सुनको मूल्य घटयो, कतिमा हुँदैछ कारोबार  ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार २ हजार ३ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार भने घटेको हो । सोमबार सुनको मूल्य ३ हजार रुपैयाँले घटेको छ ।  यससँगै सुनको कारोबार प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार भने एक तोला सुनको मूल्य ३ लाख ५ हजार ८ सय कायम भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी सोमबार १२५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ८६० रुपैयाँ कायम भएको छ ।        

जयश्री फुड्सको आम्दानी ३.८९ अर्ब रुपैयाँ, बजारमा बलियो पकड

काठमाडौं । जयश्री फुड्स प्रालिले सन् २०२५ मा ३ अर्ब ८९ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १.७६ प्रतिशत अर्थात् करिब ७ करोड रुपैयाँले घटेको हो । सन् २०२४ मा कम्पनीले ३ अर्ब ९६ करोड ७० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । भान्साघर र मंगलम ब्रान्डका चामल उत्पादन तथा बिक्री गर्दै आएको कम्पनीले नवलपरासीको गैँडाकोटस्थित उद्योगमार्फत धान प्रशोधन गरी चामल, चिउरा तथा सोया नगेट्स उत्पादन गर्दै आएको छ । कम्पनीले लामो दाना, जिरा र सावा चामलसहित विभिन्न प्रकारका चामल स्वदेशी बजारमा उपलब्ध गराउँदै आएको छ । भान्साघर र मंगलम ब्रान्डले बजारमा राम्रो पहिचान बनाइसकेका छन् । कम्पनीका अनुसार उत्पादन क्षमता उपयोग, ब्रान्ड पहिचान सुदृढीकरण र बजार विस्तारमा निरन्तर ध्यान दिइएकाले पछिल्ला वर्षहरूमा कारोबार स्थिर रूपमा अघि बढिरहेको छ । आगामी दिनमा मूल्य अभिवृद्धि हुने नयाँ उत्पादन र बजार विविधीकरणमार्फत व्यवसाय विस्तार गर्ने रणनीतिमा कम्पनी रहेको जनाएको छ । सञ्चालन आम्दानीको इतिहास हेर्दा कम्पनीले सन् २०२३ मा ३ अर्ब ५८ करोड ८० लाख, सन् २०२२ मा २ अर्ब ९८ करोड ९० लाख, सन् २०२१ मा २ अर्ब ८२ करोड ५० लाख, सन् २०२० मा २ अर्ब ६४ करोड ८० लाख, सन् २०१९ मा २ अर्ब २४ करोड ४० लाख, सन् २०१८ मा १ अर्ब ९१ करोड ३० लाख र सन् २०१७ मा १ अर्ब ३२ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २००९ मा स्थापना भएको जयश्री फुड्सले डेढ दशकभन्दा बढी समयदेखि नेपालमा चामल प्रशोधन व्यवसाय सञ्चालन गर्दै आएको छ । कम्पनी दुई सदस्यीय सञ्चालक समितिको निर्देशनमा सञ्चालन हुँदै आएको छ । प्रबन्ध निर्देशक पवन कुमार अग्रवालसँग विभिन्न व्यवसाय तथा उद्योग क्षेत्रमा ३८ वर्षभन्दा बढीको अनुभव रहेको छ । उनी श्यामबाबा इन्टरप्राइजेज, जयश्री ट्रेड एण्ड ट्रान्सपोर्ट प्रालि, जयश्री सप्लायर्स प्रालि, जयश्री एग्रो इन्डस्ट्रिज प्रालि, जयश्री प्रोसेसिङ एण्ड प्रोडक्ट्स प्रालि तथा जयश्री सेक्युरिटिज प्रालिमा अध्यक्ष वा सञ्चालकको जिम्मेवारीमा रहेका छन् । यसैगरी, सञ्चालक सुमन अग्रवाल पनि जयश्री ट्रेड एण्ड ट्रान्सपोर्ट प्रालि र जयश्री एग्रो इन्डस्ट्रिज प्रालिमा सञ्चालकको रूपमा आबद्ध छिन् । कम्पनीले नेपालभर आफ्ना उत्पादन वितरण गर्दै आएको छ । देशका प्रमुख शहरहरूमा फैलिएका ६ सयभन्दा बढी साना तथा ठूला खुद्रा व्यवसायीहरू कम्पनीका ग्राहक रहेका छन् । बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन तराई क्षेत्र केन्द्रित नेपालगञ्ज, भैरहवा, गैँडाकोट, वीरगञ्ज र विराटनगरमा कार्यालय तथा भण्डारण गोदाम सञ्चालनमा छन् । यसले कच्चा पदार्थको सहज आपूर्ति र अनुकूल मूल्यमा खरिद गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ । कम्पनीले १ केजीदेखि ३० केजीसम्मका विभिन्न प्याकेजिङमा उत्पादन बिक्री गर्दै आएको छ । भारत–नेपाल सीमासँग नजिकै प्रशोधन इकाइ रहेकाले कच्चा पदार्थ आयात गर्दा ढुवानी लागत कम हुने भौगोलिक लाभ पनि कम्पनीले लिँदै आएको छ । यी सबै पक्षले कम्पनीको लागत नियन्त्रण, सञ्चालन क्षमता र बजार प्रतिस्पर्धात्मकता थप मजबुत बनाएको देखिन्छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल १ अर्ब रुपैयाँ ऋण लिएको जनाएको छ । यसमध्ये १५ करोड ७० लाख रुपैयाँ दीर्घकालीन कर्जा र ८४ करोड ३० लाख रुपैयाँ अल्पकालीन कर्जाका रूपमा रहेको छ ।

उपकरण प्रयोग गरेर जुट तयारी गर्न थालियो, ११ उद्योगमध्ये ६ बन्द

काठमाडौं । पूर्वी तराई क्षेत्रमा जुट अनुसन्धान केन्द्रले पछिल्लो समय बोक्रा छोडाउने उपकरणको प्रयोग गर्न थालेको छ । जुट अनुसन्धान केन्द्र इटहरीले अघिल्लो वर्ष मोरङमा उपकरण प्रयोग गरेर यसको सुरुआत गरेकोमा यसपटक सुनसरीको देवानगञ्जमा उपकरण प्रयोग गरिएको हो । जुट धुने मानिसको अभाव हुँदा उपकरण किसानलाई प्रोत्साहन गर्नकै लागि प्रदर्शनमा राखेर आवश्यक ज्ञान दिई बोक्रा छोडाउने प्रयोग गरिएको केन्द्रका प्रमुख सन्तोषराज त्रिपाठीले जानकारी दिए । उनले भने, ‘अब उत्पादन बढाउनका लागि धेरै क्षेत्रफलमा लगाउन ठूला किसानलाई प्रोत्साहन गर्नुपर्ने हुँदा उपकरण प्रयोग गरेर सहज बनाउन थालिएको छ ।  भारत र बङ्गलादेशमा पनि उपकरणकै प्रयोग गर्ने गरिएको छ ।’ अनुसन्धान केन्द्रका अनुसार पूर्वको तराईका जिल्लामा ७ हजार हेक्टरमा जुट खेती लगाउँदा १० हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । कृषि विकास मन्त्रालयको कृषि सूचना तथा प्रशिक्षण केन्द्रको बुलेटिनमा उल्लेख गरिए अनुसार आर्थिक वर्ष २०८०/८१ मा ७ हजार २२० हेक्टर क्षेत्रफलमा जुट लगाउँदा १० हजार २२० मेट्रिक टन जुट उत्पादन भएको छ ।  पूर्वका जिल्लामध्ये सबैभन्दा बढी सुनसरी र मोरङमै जुट खेती हुने गर्छ । यी बाहेक झापा, सिरहा, सप्तरी र उदयपुरमा पनि जुट खेती हुने गर्छ । अहिले नेपालमा उत्पादन भएको जुटले यहाँका उद्योगका लागि १० देखि १५ प्रतिशतसम्म धान्ने गर्छ । बाँकी ८५ देखि ९० प्रतिशत उद्योगका लागि चाहिने कच्चा पदार्थ भारत र बङ्गलादेशबाट ल्याउने गरिन्छ । देशभर सञ्चालित ११ उद्योगमध्ये अहिले ६ बन्द छन् ।