दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामाथि महानगरको डोजर
काठमाडौं । नेपाल स्काउटको जग्गामा बनाइएका संरचना काठमाडौं महानगरपालिका भत्काएको छ । पूर्वऊर्जामन्त्री एवं नेपाली काँग्रेसका नेता दीपक खड्काको खड्का ल्याण्ड प्रालिले जग्गा भाडामा लिएर प्रयोग गर्दै आएको थियो । त्यहाँ भएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको हो । बिहीबार महानगर प्रहरीहरु डोजरसहित पुगेर त्यहाँ बनाइएका संरचनाहरु भत्काएका छन् । काँग्रेस नेता खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएका थिए । जग्गाको भाडा लामो समयदेखि नतिरेको आरोप लाग्ने गरेको छ । कार्तिक २० गते स्काउटले सूचना जारी गरेर भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो । बिहीबारसम्मको म्यादमा भाडा नआएपछि संरचनाहरु भत्काइएको बताइएको छ ।
पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र
तनहुँ । पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन) कालोपत्र सम्पन्न भएको छ । अठतिस किलोमिटर लामो यो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । उक्त खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत प्रगति भएको छ । उनले भने '२९.६१ किमीमा दुईतर्फी (चार लेन) र ७.७९ किमी सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ ।' चालु आवमा १४ किमी कालोपत्र कार्य भएको छ । सोही अवधिमा दुईवटा कल्भर्ट निर्माण भएका छन् । पश्चिम खण्डका १२ मध्ये ११ वटा पुल र १०५ वटा कल्भर्ट पनि निर्माण भएका छन् । सहरी क्षेत्रमा ‘सर्भिस लेन’सहित छ लेन र अन्यत्र चार लेनको सडक बन्ने छ । आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेनको हुनेछ ।
गगन थापाले जिम्मेवारी पूरा नगर्दा महाधिवेशनमा ढिलाइ भएको काँग्रेस संस्थापन पक्षको आरोप
काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापन पक्षधर समूहले महामन्त्री गगन थापामाथि कार्य सम्पादनमा उदासीनता देखाएको आरोप लगाएको छ । उक्त समूहको भनाइमा थापाले आफू संयोजक रहेको क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण समितिको जिम्मेवारी निर्वाह नगर्दा पार्टीको महाधिवेशन तयारी प्रभावित भएको छ । पोखरामा बुधबार सम्पन्न भेलामा सहभागी अधिकांश महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरूले थापाको निष्क्रियताले पार्टीको संगठनात्मक गति सुस्त बनाएको बताएका छन् । उनीहरूले विशेष महाधिवेशनको कुरा उठाएर आफ्नै कमजोरी ढाकछोप गर्न खोजिएको दाबीसमेत गरे । भेलाको अध्यक्षता गरेका गण्डकी प्रदेश कांग्रेसका उपसभापति मेखलाल श्रेष्ठले सदस्यता नवीकरण स्थगित हुँदा युवा पुस्ताको सहभागिता कमजोर बनेको बताए । श्रेष्ठले भने, ‘क्रियाशील सदस्यता बाँड्ने कार्य रोकेर कसरी नयाँ पुस्ता समेटिन्छ ? आमूल परिवर्तनका कुरा गर्नेहरूले नै संगठन सुदृढ पार्ने कामबाट पछि हट्नु दुर्भाग्य हो ।’ उनका अनुसार महाधिवेशनको तयारीमा आवश्यक तदारुकता नदेखाउने केन्द्रीय पदाधिकारीहरूले अब आत्मसमीक्षा गर्नुपर्छ । जिम्मेवारी पूरा गर्न नसक्नेले पद त्याग्नैपर्ने उनको भनाइ छ । भेलामा वक्ताहरूले पार्टी नेतृत्वले संगठन सुदृढीकरणलाई प्राथमिकता नदिँदा तल्लो तहसम्म निराशा फैलिएको भन्दै जिम्मेवार पदाधिकारीहरूलाई जवाफदेही बन्न आह्वान गरे । थापाको संयोजकत्वमा गठन गरिएको क्रियाशील सदस्यता व्यवस्थापन समितिले अझै सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको कार्य अघि बढाउन नसकेकाले आगामी १५औं महाधिवेशनको तयारी प्रक्रिया अन्योलमा परेको भन्दै भेलाले गम्भीर चासो व्यक्त गरेको छ ।
एकैपटक साढे ९ सय जना सेक्युरिटी गार्ड राख्दै राष्ट्रिय वाणिज्य बैंक
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकैपटक साढे ९ सय जना भन्दा बढी सुरक्षा श्रमिक भर्ना गर्ने भएको छ । बैंकले देशभरका शाखा कार्यालयका लागि सुरक्षा श्रमिक भर्ना गर्न लागेको जनाएको छ । सुरक्षा श्रमिक आपूर्ति गर्न बैंकले गत असारमा बोलपत्र आह्वान गरेको थियो । बैंकले आह्वान गरे बमोजिम विभिन्न ५ वटा सेक्युरिटी कम्पनीले आवेदन दिएका छन् । बैंकका अनुसार नेपाल एक्स-टू सेक्युरिटी सर्भिस प्रालि, जेभी नेम डिलक्स सेक्युरिटी सर्भिस प्रालि तथा नवदुर्गा सेक्युरिटी गार्ड सप्लाई सेक्युरिटी प्रालि, गरुड सेक्युरिटीज प्रालि, कान्तिपुर सेक्युरिटी सर्भिस प्रालि र गोर्खाली योद्धा सेक्युरिटी सर्भिस प्रालिले आवेदन दिएका छन् । अब बैंकले गोलाप्रथाका माध्यमबाट कम्पनी छनोट गर्ने जनाएको छ । बोलपत्र पेस गरेका यी ५ कम्पनीलाई मंसिर २ गते बैंकको सामान्य सेवा विभागमा दिउँसो साढे २ बजे सहभागीका लागि अनुरोध गरेको छ ।
जगदम्बाले स्टिलले तिर्यो विद्युत बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
काठमाडौं । बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिलले विगतमा लोडसेडिङका समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुधबार तिरेको छ । पहिलो किस्ता तिरेपछि गत ४ कात्तिकमा विच्छेद गरिएको जगदम्बाको विद्युत लाइन बुधबार साँझ जडान गरिएको छ । जगदम्बा सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो । जगदम्बाको १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बक्यौता छ । जगदम्बाले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो । बक्यौतालाई २८ किस्तामा विभाजन गरी जगदम्बाले ५ करोड ७२ लाख ९ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको छ ।
वायुसेवा निगमको जीएमका लागि दरखास्त आह्वान, १५ दिनभित्र निवेदन दिनुपर्ने
काठमाडौं । नेपाल वायुसेवा निगमले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक (जीएम) नियुक्त गर्ने भएको छ । निगमको महाप्रबन्धक छनोट समितिले एक सूचना जारी गरी योग्य उम्मेदवारलाई आवेदनका लागि आह्वान गरेको हो । महाप्रबन्धक बन्न इच्छुक योग्य व्यक्तिले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आवेदन दिन सक्ने छन् । योग्यता, पारिश्रमिक तथा सुविधाहरू यसअघि नै सरकारले तय गरी मन्त्रालयको वेभसाइटमा राखिसकेको छ । कात्तिक दोस्रो साता खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिमा क्याप्टेन कुलबहादुर लिम्बू विज्ञ सदस्य छन् । मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्य सचिवको काम गर्नेछन् ।
जेनजी आन्दोलनको असर मदिरा व्यवसायमा, हिमालयन डिष्टिलरीको नाफा ५४.६१ प्रतिशत घट्यो
काठमाडौं । हिमालयन डिष्टिलरीको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा ५४.६१ प्रतिशत घटेर ९ करोड २ लाख ५८ हजार रुपैयाँ गरेको छ । जबकि गत वर्षको असोजमा १९ करोड ८८ लाख ७१ हजार रुपैयाँ खुद नाफा गरेको थियो । चालु आवको असोज मसान्तसम्ममा कम्पनीको कुल बिक्री आम्दानी २७.६४ प्रतिशत घटेर १ अर्ब ७ करोड ५७ लाख ८८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४८ करोड ६६ लाख १४ हजार रुपैयाँ कुल बिक्री आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कसल नाफा १५.१६ प्रतिशत घटेर ३६ करोड १० लाख रुपैयाँ र सञ्चालन नाफा ५२.४७ प्रतिशत घटेर १२ करोड ५७ लाख रुपैयाँ गरेको छ । कम्पनीको चुक्ता पुँजी १५ प्रतिशत बढेर ३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ र जगेडा कोष ३२.६५ प्रतिशत बढेर १ अर्ब १८ करोड ९४ हजार रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १८.०२ रुपैयाँ घटेर ११.७५ रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३८.०४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १११.५२ गुणा रहेको छ । समीक्षा अवधिमा देशभर परेको भारी वर्षाबाट बाढी पहिरो, डुबानका कारण मदिराको विक्री वितरण गर्न प्रत्यक्ष प्रभाव पर्यो भने तराईमा भएको डुबानका कारणबाट स्थानीय स्तरमा हुने मदिरा कारोबार तथा खपतमा समेत प्रत्यक्ष प्रभाव परेको कम्पनीले जनाएको छ । साथै, जेनजी आन्दोलनको प्रभाव पनि देशभर परेको र आन्दोलनको प्रभाव मदिरा खरिद बिक्रीमा मात्र नभई केही समय सम्म उत्पादनमा समेत परेको कम्पनीको दाबी छ । सो आन्दोलनको प्रभाव अहिलेसम्म पनि उद्योगी, मदिरा व्यवसायीमा रहेको कम्पनीले जनाएको छ । जसबाट मदिरा व्यवसायले आफ्नो लय लिन कठिनाइ परिरहेको कम्पनीको भनाइ छ ।
२ लिटरबाट सुरु गरेका राना अहिले बेच्छन १ हजार ५ सय लिटर दुध, १३ लाख आम्दानी
काठमाडौं । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किएका हुन् । कुनै बेला भारतमा मजदुरी गर्ने राना अहिले गाउँमा डेरीका मालिक बनेका छन् । मजदुरी छोडेर मालिक बन्न रानाले धेरै मेहनत र सङ्घर्ष गर्नुपर्यो । विसं २०६८ देखि साइकलमा दूध सङ्कलन गरेर बिक्री गर्न सुरु गरेका उनी अहिले डेरी मालिक बन्न सफल भएका छन् । रानाले २ लिटर दूधबाट व्यवसाय सुरु गरेका हुन् । अहिले उनी दैनिक १ हजार ५०० लिटर दूध सङ्कलन गरेर बिक्री गर्दै आएका छन् । ‘भारतमा मजदुरी गर्दा अनेक दुःख पाइयो, गाउँ फर्किएर साइकलमा दूध बिक्री गर्न थालेँ,’ रानाले भने, ‘यसैबाट कमाएको रकम बचत गरेपछि अहिले आफ्नै डेरी व्यवसायसमेत सञ्चालन गरेको छु ।’ सुरुवातमा साइकलमा दूध सङ्कलन गर्दै हिँड्ने रानाले आफूलाई स्थापित गर्न धेरै सङ्घर्ष गरे । त्यही लगन र परिश्रमले उहाँलाई राम्रो आम्दानीसँगै सफल व्यवसायी समेत बने । गाउँगाउँबाट दूध सङ्कलन गरेर रानाले स्थानीय झलारी बजार, अत्तरिया र कैलालीमा बिक्री गर्दै आएका छन् । दूध बोक्न ६ जनालाई मासिक २० हजार रुपैयाँदेखि २६ हजार रुपैयाँसम्म तलब दिएर उहाँले कामदार राखेका छन् । ‘२ लिटर दूधबाट सुरु गरेको थिएँ, बिस्तारै दूध बढी सङ्कलन हुन थाल्यो । अहिले १ हजार ५०० लिटर दूध सङ्कलन हुन्छ,’ उनले भने । यसै व्यवसायबाट रानाले करिब ९० लाख रुपैयाँ बराबरको सम्पत्ति समेत जोडेका छन् । दूध बिक्रीबाट अहिले सबै खर्च कटाएर वार्षिक १३ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको रानाले बताए । ‘यसबाट म एकदमै खुसी छु, अहिले छोरालाई पनि यसै व्यवसायमा लगाएको छु,’ उनले भने ।