आम जनता पार्टीको चुनावी घोषणापत्रः ‘प्रत्यक्ष कार्यकारीदेखि ‘राइट टु रिकल’को व्यवस्था
काठमाडौं । आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रभु साह नेतृत्वको आम जनता पार्टीले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच पार्टी चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो । पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, कर सीमा र निःशुल्क आधारभूत सेवासहित व्यापक सुधारका एजेन्डा अघि सारेको छ । पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा शासन प्रणालीदेखि अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, ऊर्जा र वैदेशिक नीतिसम्मका संरचनागत परिवर्तनका लागि प्रतिवद्धता जनाएको छ । सार्वजनिक घोषणापत्रमा प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष जननिर्वाचित हुने व्यवस्था लागू गर्ने प्रस्ताव गरिएको छ । संघ र प्रदेशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउने नीति पनि समावेश घोषणापत्रमा उल्लेख गरेको छ । निर्वाचित जनप्रतिनिधिले काम नगरेमा कार्यकालमै जनताले फिर्ता बोलाउन पाउने ‘राइट टु रिकल’ को अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता पनि घोषणापत्रमा छ । पार्टीले सरकारले कुल गार्हस्थ उत्पादनको २० प्रतिशतभन्दा बढी कर लगाउन नपाउने संवैधानिक व्यवस्था गर्ने प्रस्ताव गरिएको छ । पार्टीले गैर-आवासीय र विदेशीलाई नागरिकता दिने विद्यमान प्रावधानको पुनरावलोकन गर्ने एजेण्डा अघि सारेको छ । भ्रष्टाचार नियन्त्रणका लागि विषेश कानुनी संरचना र न्यायालयको पूर्ण डिजिटलीकरण आम जनता पार्टीले भ्रष्टाचारमाथि जनताको प्रत्यक्ष निगरानी रहने विशेष कानुनी संरचना बनाउने प्रतिवद्धता जनाएको छ । मुलुकमा पारदर्शीता कायम गर्न सरकारी खर्च र विकास आयोजनाको विवरण अनलाइनमार्फत सार्वजनिक गरिने उल्लेख छ । त्यस्तै, नीतिगत भ्रष्टाचारमा संलग्न राजनीतिक नेता वा व्यक्तिको सम्पत्ति जफत गरी कडा कारबाही गरिने प्रतिवद्धता व्यक्त गरिएको छ । न्यायालयको पूर्ण डिजिटलीकरण र पारदर्शी नियुक्ति प्रणालीमार्फत न्यायिक सुधार गर्ने योजना समेत पार्टीले अघि सारेको छ । रोजगारीको ग्यारेन्टी आम जनता पार्टीले ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने र बेरोजगारलाई बेरोजगारी भत्ता दिने घोषणा गरेको छ । नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्यसहित युवा उद्यमीलाई १० लाखदेखि २५ लाख रुपैयाँसम्म बीउ पुँजी (सीड मनी) उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । हरेक विद्यार्थीले अनिवार्य रूपमा कम्तीमा एक उच्च प्राविधिक सीप सिक्नुपर्ने व्यवस्थाको ग्यारेन्टी गर्ने सार्वजनिक घोषणा पत्रका उल्लेख छ। शिक्षा, स्वास्थ्य र आधारभूत सेवा निःशुल्क पार्टीले पूर्ण साक्षर राष्ट्र, स्मार्ट कक्षाकोठा र ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रम लागू गर्ने प्रतिबद्धता जनाएको छ । स्वास्थ्य क्षेत्रमा डिजिटल हेल्थ कार्ड, गम्भीर रोगको पूर्ण निःशुल्क उपचार र प्रत्येक पालिकामा विशेषज्ञ अस्पताल स्थापना गर्ने योजना सार्वजनिक गरेको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत् आधारभूत रूपमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता आम जनता पार्टीले जनाएको छ । पूर्वाधार, ऊर्जा र आवास पार्टीले मुख्य राजमार्गको स्तरोन्नति, सडक सुरक्षामा उच्च प्रविधिको निगरानी प्रणाली र ठूला सहरमा व्यवस्थित सार्वजनिक पार्किङको व्यवस्था गर्ने एजेण्डा अघि सारेको छ । राजमार्गमा अप्टिकल फाइबर विस्तारसहित डिजिटल करिडोर विकास गर्ने योजना घोषणापत्रमा समावेश छ । विद्युत् उत्पादन र निर्यात वृद्धि गर्दै ‘हिमालयन ओरिजिन’ ब्राण्डमार्फत बोतलको पानी अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने दाबी आम जनता पार्टीको छ । पार्टीले भूमिहीनका लागि ‘भर्टिकल हाउजिङ’ निर्माण र योजनाबद्ध नयाँ सहर विकास गर्ने प्रतिवद्धता पनि जनाएको छ।
भ्रष्टाचार नियन्त्रण गर्न जसपाले ‘जनलोकपाल’ गठन गर्ने, ५ वर्षमा ५० लाख रोजगारी
काठमाडौं । उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच अध्यक्ष यादवले पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । सावर्जनिक घोषणापत्रमा निःशुल्क स्वास्थ्य सेवा, निःशुल्क शिक्षा, भ्रष्टाचारमुक्त राज्य, वैज्ञानिक कृषि आधुनिकीकरण, पूर्वाधार विकास र सामाजिक न्यायलाई प्राथमिकताका साथ अघि सारेको छ । पार्टीले पार्टीले संविधान संशोधन गरी पहिचान र सामर्थ्यमा आधारित संघीयता कार्यान्वयन गर्ने, जनलोकपाल गठन गर्ने र नगदरहित अर्थतन्त्र लागू गर्ने प्रतिबद्धता जनाएको छ । शिक्षा र स्वास्थ्य सेवा निःशुल्क पार्टीले घोषणापत्रमा स्वास्थ्य र शिक्षालाई मौलिक अधिकार बनाउने ठोस योजना सार्वजनिक गरेको छ । हरेक प्रदेशमा एउटा सुपर स्पेसियालिटी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान, हरेक स्थानीय तहमा सुविधासम्पन्न अस्पताल स्थापना गर्ने, सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने र शिशु कक्षादेखि विश्वविद्यालयसम्म निःशुल्क तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने प्रतिवद्धता गरेको छ । शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने पार्टीको एजेण्डा छ । भ्रष्टाचार नियन्त्रणका लागि जनलोकपाल पार्टीले घोषणापत्रमा भ्रष्टाचार नियन्त्रणलाई मुख्य एजेण्डा बनाएको छ । शून्य सहनशीलता नीति अपनाउने, जनलोकपाल गठन गर्ने, २०४७ सालयता सबै प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च पदाधिकारीको सम्पती छानबिन गर्ने र पूर्ण नगदरहित कारोबार लागू गर्ने प्रतिवद्धता गरेको छ । यसका साथै सहकारीको वचत रकम ठगीमा परेका पीडितहरूलाई न्याय दिलाउने वाचा पनि जसपाले गरेको छ । ५ वर्षमा ५० लाख रोजगारी जसपा नेपालले कृषिलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउने योजना अघि सारेको छ । वैज्ञानिक चक्लाबन्दी, सहकारी खेती, यान्त्रीकरण, भर्टिकल फार्मिङमार्फत आगामी ५ वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने, न्युनतम समर्थन मूल्य र बजार सुनिश्चितता, बाली बीमा र सस्तो कृषि ऋण उपलब्ध गराउने प्रतिबद्धता गरेको छ । चुरे संरक्षण, जलवायु अनुकूल कृषि र खाद्य सुरक्षा पनि प्राथमिकतामा छन् । महिला, दलित, युवा र सीमान्तकृत समुदायलाई विशेष आरक्षण घोषणापत्रमा दलित र महिलाका लागि छुट्टै निर्वाचन क्षेत्र आरक्षण, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिका लागि समान अधिकार, युवा रोजगारी, सीप विकास र खेलकुद पूर्वाधार (प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय क्रिकेट तथा फुटबल रंगशाला) निर्माण गर्ने प्रतिवद्धता गरिएको छ ।
वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ
दार्चुला (खलङ्गा) । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । गत सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका–८ कै अन्दाजी २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३ वर्षकै गोपाल नाथ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौरव महतले जानकारी दिए । उनले पक्राउ परेका साउद ट्याक्टर चालक र नाथ निजका सहयोगी रहेको बताए । मृतक जोशीका छिमेकीसमेत रहेका ट्याक्टर चालक साउदकै योजनामा जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । अभियुक्तका साथबाट लुटपाट गरिएका करिब दुई तोला बराबरका गरगहना बरामद गरिएका प्रहरी नायब उपरीक्षक महतले बताए । अभियुक्तमध्ये साउद चोरी मुद्दामा ११ महिना जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् भने नाथले पनि चार महिना कैद सजाय भोगेका थिए । उनीहरू लागुऔषध दुर्व्यसनीमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । बयानका क्रममा दुवै जनाले अभियोग स्वीकारेका र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
सङ्खुवासभामा निर्वाचन तयारी तीव्र, आठ मतदानस्थल अति संवेदनशील
किमाथाङ्का (सङ्खुवासभा) । आसन्न निर्वाचन अन्तर्गत यहाँका आठ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएकोे छ । सुरक्षा संवेदनशीलताको हिसाबले आठ मतदानस्थललाई अति संवेदनशील वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिए । उनका अनुसार जिल्लाका १०९ मतदानस्थलमध्ये सुरक्षा संवेदनशीलताको दृष्टिकोणले आठवटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको हो । जिल्लामा १०९ मतदानस्थलमध्ये ८२ मतदानस्थल संवेदनशील, १८ मतदानस्थल सामान्य सूचीमा वर्गिकरण गरिएको छ । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाठा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अलि संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको बताइएको छ । जिल्लाको अति संवेदनशील क्षेत्रमा तीन हजार ९२६ मतदाता छन् । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको छ । अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थललाई हेरेर सुरक्षा रणनीति बनाइएको छ । जिल्लामा अति संवेदनशीलता आठ, संवेदनशील ८२ र सामान्य १९ छन् । अति संवेदनशील क्षेत्रमा तीन हजार ९२६ मतदाता र संवेदनशील मतदानस्थलमा ८६ हजार १३३ मतदाता रहेका छन् । अति संवेदनशील सूचीमा परेका मतदानस्थलमा सुरक्षा प्रबन्ध मिलाइने प्रजिअ थपलियाले जानकारी दिए । मतदान केन्द्रलाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाउने बताइएको छ । अति संवेदनशील मतदानस्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिने छ । निर्वाचनका लागि एकीकृत सुरक्षा योजनाका साथ जिल्लास्थित सुरक्षा निकाय परिचान गरिने उनको भनाइ छ । एक निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा ६२ हजार १७२ पुरुष र ५७ हजार ४५८ महिलासहित एक लाख १९ हजार ६३० मतदाता छन् । जिल्लामा एक सय ९ मतदानस्थल र १६४ मतदान केन्द्र रहेका छन् । यस पटक तीन महिलासहित १६ जना चुनावी मैदानमा छन् । यसमा १५ दल र एक स्वतन्त्र उम्मेदवार छन् ।
पूर्वराजा ज्ञानेन्द्र काठमाडौं आउँदा ट्राफिक जाम, यस्तो छ वैकल्पिक रुट
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आगमन गर्दा शुक्रबार उपत्यकाका विभिन्न स्थानमा ट्राफिक जाम भएको छ । उनी शुक्रबार बिहान मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका हुन् । पूर्वराजाको आगमनका क्रममा एयरपोर्टबाट गौशालातर्फ र्याली सञ्चालन भइरहेको कारण सिनामंगल हुँदै गौशालातर्फ जाने सवारी साधनलाई सिनामंगलबाटै डाइभर्सन गरिएको छ । यस्तै, चाबहिलबाट गौशाला तथा एयरपोर्ट गोल्डेनगेटतर्फ जाने सवारी साधनलाई चाबहिलबाट सुकेधारातर्फ मोडिएको छ । त्यसैगरी, पुरानो बानेश्वरबाट गौशालातर्फ जाने सवारी साधनलाई पुरानोबानेश्वरबाटै डाइभर्सन गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मालबहाक सवारी साधनहरूलाई महाराजगंजबाट बसुन्धारातर्फ तथा कोटेश्वर चोकबाट बालकुमारीतर्फ पठाइएको छ । हाल चाबहिल, गोपिकृष्ण पुल, सुकेधारा, पुरानोबानेश्वर, भत्केको पुल, सिनामंगल, रातोपुल र तीनकुने चोक आसपासका क्षेत्रमा सवारी साधनको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले चाबहिल, गौशाला र सिनामंगल हुँदै आवतजावत गर्ने सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
निर्वाचनलक्षित अवाञ्छित गतिविधि गर्न सक्नेको सूचना संकलन गर्न महानिरीक्षक कार्कीको निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनको समयमा देखा पर्न सक्ने चुनौतीहरूको समयमै सूचना संकलन गरेर सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा शुक्रबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिएका हुन् । प्रहरी महानिरीक्षक कार्कीले निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिएर निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाई अन्य सुरक्षा निकाय एवम् सरोकारवाला सबै पक्षहरूसँग निरन्तर समन्वय तथा सहकार्य गरी आ(आफ्नो क्षेत्रमा त्रुटिरहित तवरमा कार्यसम्पदान गर्न निर्देशन दिए । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने एवम् अवाञ्छित गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सूचना संकलनलाई उच्च प्राथमिकतामा राखि भरपर्दो सुरक्षा संयन्त्र परिचालन गर्नुपर्नेमा उनले जोड दिए । निर्वाचनको समयमा प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता,निर्वाचन व्यवस्थापनमा निर्वाह गर्नुपर्ने भूमिका एवम् दायित्वमा आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै तटस्थ, इमानदार तथा प्रतिवद्ध भई आ(आफ्नो जिम्मेवारी वहन गर्न उनले निर्देशन दिए । निर्वाचन प्रहरीको गुनासो सम्बोधन गर्दै उनीहरूप्रति गरिने आचरण, व्यवहार प्रति थप संवेदनशील भई निर्वाचन प्रहरीको प्रभावकारी परिचालनमा समेत विशेष ध्यान दिनुपर्ने कार्कीले बताए । निर्वाचनको समयमा थप मद्दतको रूपमा खटी आउने प्रहरी कर्मचारीहरूको उचित व्यवस्थापन तथा परिणाममुखी परिचालनमा केन्द्रित हुन पनि उनले आग्रह गरे । त्यस्तै, प्रहरी महानिरीक्षक कार्कीले जुनसुकै निर्वाचन क्षेत्रमा हुनसक्ने अनपेक्षित घटनाहरूको सम्बोधनको लागि सूचना संकलन तथा विश्लेषण एवम् पूर्वअभ्यासहरूलाई प्राथमिकतामा राखि प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहन निर्देशन दिएका छन् । सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि, फरार प्रतिवादी पक्राउ र हातहतियार बरामदमा विशेष सुरक्षा योजना अपनाई कार्यान्वयन गर्न पनि उनले निर्देशन दिए ।
निर्वाचन आयोगमा तीन दलले मात्र बुझाए घोषणापत्र, ४५४ उम्मेदवारले खाता खोले
काठमाडौं । निर्वाचन आयोगमा तीन राजनीतिक दलले मात्र चुनावलक्षित घोषणापत्र बुझाएका छन् । आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले तीन दलले मात्र घोषणापत्र बुझाएको विकासन्युजलाई जानकारी दिए । उनका अनुसार आयोगमा घोषणापत्र पेस गर्ने दलमा राष्ट्रिय जनमोर्चा, संयुक्त नागरिक पार्टी र समावेशी समाजवादी पार्टी रहेको छ । यही फागुन ३ गतेभित्र आयोगमा चुनावी घोषणापत्र बुझाउन पार्टीलाई निर्देशन दिइएको छ । सोही दिनभित्र हरेक उमेदवारलाई जिल्ला निर्वाचन कार्यालयमा घोषणापत्र बुझाउन भनिएको छ । निर्वाचन आचारसंहितामा घोषणापत्र बुझाउनुपर्ने व्यवस्था छ । त्यसैगरी, ४ वटा दलले मात्र निर्वाचन प्रयोजनका लागि खाता खोलेका छन् । नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेकपा संयुक्त र राष्ट्रिय जनमोर्चाले मात्र खाता खोलेका छन्। ४५४ उम्मेदवारले मात्र बैंक खाता खोलेको जानकारी आएको भट्टराईले बताए । प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवार छन् । यसैगरी, आयोगले उम्मेदवारहरूलाई घोषणापत्र सार्वजनिक गरी एक प्रति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न निर्देशन दिएको हो । प्रत्यक्षतर्फ ६४ दल र स्वतन्त्र गरी तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
एनआईसी एशियाको ‘साथी घर कर्जा’ योजना सार्वजनिक, १० करोडसम्म कर्जा पाइने
काठमाडौं । एनआईसी एशिया बैंकले १० करोड रुपैयाँसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरूप ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यस घर कर्जा योजनाअन्तर्गत ७ वर्षको लागि ६.९९ प्रतिशत स्थिर ब्याजदर एवं अन्य आकर्षक सेवासहित उपलब्ध हुनेछ । न्यूनतम २५ लाखदेखि अधिकतम १० करोडसम्म प्रदान गरिने यस एनआईसी एशिया साथी घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पुनःनिर्माण गर्न एवं घडेरी खरिद गर्नका लागि सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ । घर खरिद तथा निर्माण गर्ने ग्राहक महानुभावहरुको सपना साकार पार्न ठोस टेवा पुर्याउने उद्देश्यले बैंकले ल्याएको यस कर्जा योजना अन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको छ। साथै यस योजना अन्तर्गत घर कर्जा लिने ग्राहकहरूले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त सकिनेछ ।