चीनको ब्याट्री उद्योगमा तीव्र वृद्धि, शीर्ष १० विश्व कम्पनीमध्ये ६ वटा चिनियाँ
काठमाडौं । चीनको ब्याट्री उद्योग यस वर्षको पहिलो तीन महिनामा द्रुत विकास भएको छ। बिक्री अघिल्लो वर्षको तुलनामा ४८.९ प्रतिशतले बढेको छ। नयाँ उर्जा सवारी साधनको विश्वव्यापी लोकप्रियताले ब्याट्रीको मागलाई बढाएको उद्योग सम्मेलनले जनाएको छ । चीनको ब्याट्री निर्यात यस अवधिमा १२९ गिगावाट घण्टा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२.७ प्रतिशतले बढी हो । २०२५ विश्व ब्याट्री सम्मेलन यिबिनमा आयोजना गरिएको थियो, जहाँ नयाँ डाटा सार्वजनिक गरिएको थियो । विश्वव्यापी रूपमा, चीनले ब्याट्री क्षेत्रमा आफ्नो अग्रणी स्थिति अझ बलियो बनाएको छ । सन् २०२४ मा शीर्ष १० विश्व ब्याट्री कम्पनीमध्ये ६ वटा चिनियाँ कम्पनी रहेका छन् । यी कम्पनीहरूले विश्वव्यापी ब्याट्री स्थापना भोल्युमको ६७.१ प्रतिशत भाग ओगटेका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब ४ प्रतिशतले बढी हो । गत वर्ष विश्वव्यापी ब्याट्री स्थापना भोल्युम ८९४.४ गिगावाट घण्टा पुगेको छ, जुन वार्षिक रूपमा २७.२ प्रतिशतको वृद्धि हो । नयाँ उर्जा सवारी साधनको बिक्री र पहुँचले यस वृद्धिमा ठूलो योगदान दिएको छ । सन् २०२५ विश्व ब्याट्री सम्मेलनमा उद्योग प्रतिनिधि, विज्ञ र प्रमुख कम्पनीहरू सहभागी भएका थिए । सम्मेलनमा चीनका प्रमुख ब्याट्री निर्माता कम्पनीहरू पनि उपस्थित थिए । वार्षिक सम्मेलन २०२२ मा यिबिनमा सुरु भएको हो, जुन चीनको प्रमुख ब्याट्री उत्पादन केन्द्र हो । विगत तीन वर्षमा सम्मेलनमार्फत ६०० भन्दा बढी नयाँ उत्पादनहरू सार्वजनिक भएका छन् र २४९ ठूला परियोजनामा करिब ३०० अर्ब युआनको लगानी भएको छ ।
एआईमा अमेरिकापछि चीन दोस्रो स्थानमा, आम्दानी ६.७९ प्रतिशतले वृद्धि
काठमाडौं । संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासमा विश्वका २ प्रमुख अगुवा राष्ट्रका रूपमा रहेका छन् । सन् २०१४ देखि २०२३ सम्म चीनले कृत्रिम बुद्धिमत्ता सम्बन्धी सबैभन्दा धेरै आविष्कार दर्ता गरेको एक विज्ञले बताए । अन्तर्राष्ट्रिय व्यवस्थापन विकास संस्थानद्वारा सार्वजनिक दोस्रो कृत्रिम बुद्धिमत्ता प्रगति सूचकाङ्क अनुसार, प्रविधि क्षेत्रमा अमेरिकी कम्पनीहरू अग्रस्थानमा छन् भने चीनका कम्पनीहरू दोस्रो स्थानमा रहेका छन् । उक्त संस्थानका रणनीति तथा डिजिटल अध्ययनका प्राध्यापक माइकल वेडका अनुसार, चीनले कृत्रिम बुद्धिमत्ताको प्रयोग उद्योग, स्वास्थ्य उपचार र स्वचालित सवारी साधनजस्ता व्यावहारिक क्षेत्रमा विस्तार गर्न केन्द्रित भएको छ । यसले देशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ । वेडले भने, ‘उन्नत कम्प्युटर चिप्स प्राप्त गर्न कठिनाइ भए पनि चीनले सन् २०१४ देखि २०२३ सम्म ३८ हजारभन्दा बढी कृत्रिम बुद्धिमत्तासम्बन्धी आविष्कार दर्ता गरेको छ, जुन सङ्ख्या अमेरिकाभन्दा निकै बढी हो ।’ उनका अनुसार चीन अत्यन्त शक्तिशाली प्रणाली निर्माणभन्दा पनि त्यसलाई सुलभ र व्यावहारिक रूपमा जनजीवनमा प्रयोगमा ल्याउन बढी ध्यान दिइरहेको छ । प्रविधि र सञ्चार क्षेत्रका ठूला कम्पनीहरूले कृत्रिम बुद्धिमत्ताको प्रयोगका लागि ठूलो परिमाणमा लगानी गरिरहेका छन् । चीनका प्रविधि र बीमा क्षेत्रका कम्पनीहरू सबैभन्दा सक्षम देखिएका छन्, भने ऊर्जा र निर्माणजस्ता परम्परागत सरकारी उद्योगहरू अझै पछि रहेका छन् । प्रतिवेदनले कृत्रिम बुद्धिमत्ता प्रयोगमा परिपक्व कम्पनीहरूले औसत वार्षिक आम्दानी ६.७९ प्रतिशतले वृद्धि गरेका देखाएको छ भने यस प्रविधिमा कमजोर कम्पनीहरूको आम्दानी ०.५१ प्रतिशतले घटेको छ । स्विट्जरल्यान्डमा मुख्य कार्यालय रहेको उक्त संस्थानले लोजान र सिङ्गापुरमा शिक्षण केन्द्र सञ्चालन गर्दै आएको छ र हालै चीनको शेन्जेन शहरमा पनि आफ्नो कार्यदल स्थापना गरेको छ ।
कालीगण्डकी कोरिडोर: लस्ती-बेनी खण्ड कालोपत्र गरिँदै
काठमाडौं । कालीगण्डकी कोरिडोर अन्तर्गत लस्ती-बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ । यो मालढुङ्गा–बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो । बेनी-जोमसोम-कोरला सडक योजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईका अनुसार आज फर्सेदेखि बेनीतर्फको बाटो कालोपत्र गरिने छ । ‘१३ किलोमिटर लामो मालढुङ्गा-बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा २ किलोमिटर ढलान भइसकेको छ,’ उनले भने । यसअघि मालढुङ्गा-बेनी सडक अन्तर्गत पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गादेखि जलजला गाउँपालिका-८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर कालोपत्र भएको थियो । मालढुङ्गा-बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न २०७७ साल चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
४ दिनदेखि अन्धकार सदरमुकाम, बिजुली आउन शनिबारसम्म कुर्नुपर्ने
काठमाडौं । हुम्ला सदरमुकाम सिमकोट ४ दिनदेखि अन्धकार भएको छ । सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत वितरण केन्द्रमा खराबी आएपनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको हो । अन्य विद्युतको स्रोत नहुँदा विद्युतबाट हुने सम्पूर्ण कार्य प्रभावित भएका छन् । यतिबेला केही सरकारी कार्यालयमा ‘सोलार’ राखिएको भए पनि हिउँदको समयमा खासै घाम नलाग्ने भएकाले मोबाइल चार्ज गर्न समेत समस्या भएको छ । मोबाइल र ल्यापटप चार्ज गर्न समेत नपाएकाले समाचार सङ्कलन र सम्प्रेषणमा समेत समस्या भएको सञ्चारकर्मी नरजङ तामाङले बताए । सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत वितरण केन्द्रको विद्युत गृहलगायतका संरचनामा मर्मत कार्य गर्नुपर्ने भएकाले विद्युत् वितरण बन्द गरिएको वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहले बताए । मर्मत कार्य चाँडो गर्न सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले मर्मत स्थलमा पुगेर निर्देशन दिएका छन् । शनिबारसम्म विद्युत आपूर्ति सञ्चालन गर्ने गरी काम भइरहेको उनको भनाइ छ । त्यसैगरी मुहानदेखि फर्बेसम्मको नहरमा पानी चुहिने स्थानको पनि मर्मत कार्य पूरा भएको छ ।
कुनै प्रणालीको प्रभाव नभएपछि देशभरको मौसम सफा रहने
काठमाडौं । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।
पैसा धेरै हुँदा पनि समस्या हुने रहेछ, बैंकको ब्यालेन्ससिट तत्काल सप्रिहाल्ने देखिँदैन : गभर्नर पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय प्रणालीमा पैसा धेरै हुँदा पनि समस्या हुने गरेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) कार्यसमितिसँगको भेटमा उनले वित्तीय प्रणालीमा पैसा पर्याप्त भएर पनि लगानी नहुँदा समस्या उत्पन्न भएको बताए । ‘सबै तीरबाट पुस गर्दा पनि गाह्रो छ । अहिले हामीसँग पर्याप्त पैसा छ । तर, लगानी हुन सकेको छैन । क्षेत्रगत रुपमा हेर्दा पनि यो क्षेत्रमा उत्साह छ भन्न सकिने अवस्था छैन । सबै क्षेत्र त्यस्तै शिथिल छ । कहिले पैसा नभएर समस्या हुन्छ, कहिले पैसा धेरै भएर समस्या,’ उनले भने । लगानीकर्ताहरूको मनोबलमा गिरावट आएका कारण बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप लगानी हुन नसकेको उनले बताए । लगानीका लागि हरेक क्षेत्र खुला भएपनि लगानीकर्ताको मनोबल कमजोर बनेको उनको भनाइ छ । ‘विगतमा बैंक, बीमा, एयरलाइन्स, टेलिकम, विद्यालय, हस्पिटल, घरजग्गा लगायत क्षेत्रमा लगानी गरिन्थ्यो । तर, पछिल्लो समय यी क्षेत्रमा लगानी बन्द छ । कित्ताकाट पनि बन्द गरेपछि रियलस्टेट सुस्त भयो । विद्यालय, हस्पिटल लगायतमा पनि लगानी छैन । अब के मा लगानी गर्ने त ?,’ उनले भने, ‘निजी क्षेत्रलाई अनुमति दिनु पर्यो भन्ने लाइसेन्सका लागि मारामार हुन्छ । त्यसैले कन्फिडेन्ट छैन ।’ उनका अनुसार २०५८/६० सालसम्म १ खर्ब रुपैयाँको बजेट थियो । तर, अहिले बजेटको आकार १८/१९ खर्ब पुग्दा पनि अवस्था परिवर्तन नभएको उनको भनाइ छ । साथै, पछिल्ला विभिन्न घटनाहरूले गर्दा बैंक तथा वित्तीय संस्थाहरूको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण (ब्यालेन्ससिट) बिग्रिएको उनले बताए । बैंकको ब्यालेन्ससिट तत्काल सप्रिहाल्ने अवस्था नदेखिएको समेत उनको भनाइ छ ।
२१ अर्ब रुपैयाँको ५० दरका नयाँ नोट छाप्दै राष्ट्र बैंक, चिनियाँ कम्पनीसँग सम्झौता
काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब रुपैयाँ बराबरको ५० दरका नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले ५० रूपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्ने प्रक्रिया अघि बढाएको हो । सो आधारमा राष्ट्र बैंकले २१ अर्ब रुपैयाँ बराबरको ५० दरका ४२ करोड नयाँ नोट छाप्न लागेको हो । ४२ करोड थान नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकले चिनियाँ कम्पनीसँग सम्झौता गरेको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकका अनुसार नयाँ बैंक नोट डिजाइन, छपाई तथा आपूर्तिको लागि चीनको बेइजिङमा रहेको ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको विभागले जनाएको हो । ५० दरका नयाँ नोट छाप्न राष्ट्र बैंकले गत साउन ९ गते बोलपत्र आह्वान गरेको थियो । सो बोलपत्र प्रक्रियामा प्राप्त प्रस्तावहरूमध्ये न्यूनतम मूल्याङ्कन प्राप्त र प्रभावकारी ठहरिएको कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनसँग कात्तिक २५ गते सम्झौता सम्पन्न विभागले जनाएको छ । उक्त कम्पनीलाई नोटको डिजाइन तथा छपाइका लागि १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डरल (१ अर्ब ४७ करोड रुपैयाँ) भुक्तानी दिइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सम्झौता सार्वजनिक खरिद नियमावली, २०६४ (चौधौँ संशोधन, २०८२) को दफा १३७ तथा नोट छपाइ तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५ (दोस्रो संशोधन २०८१ सम्म संशोधित) को दफा ५४ बमोजिम गरिएको छ ।
सौर्य ऊर्जाबाट चम्कियो पियोर इनर्जी, पहिलो त्रैमासमा ९० लाख नाफा
काठमाडौं । पियोर इनर्जी लिमिटेडले २०८२/८३ को पहिलो त्रैमासमा ९० लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ५२ लाख ५९ हजार खुद नाफा कमाएको थियो । पियोरले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै वर्षको सुरुवातमै नाफा कमाउन सफल भएको हो । २०७८ मंसिरमा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गरी २०८० वैशाखदेखि व्यापारिक उत्पादन सुरु गरेको पियोर इनर्जीका बाँकेमा १०/१० मेगावाट क्षमताका दुईवटा सोलार आयोजना सञ्चालनमा रहेका छन् । कम्पनीले पहिलो त्रैमासमा विद्युत बिक्रीबाट ६ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ । ‘यस कम्पनीले पीपीए अनुसार नेपाल विद्युत प्राधिकरणलाई निरन्तर र कुनै अवरोधबिना बिजुली आपूर्ति गर्दै आएको छ,’ पियोरले सार्वजनिक गरेको वित्तीय विवरणमा भनिएको छ, ‘यस त्रैमासिकमा कम्पनीको खातामा नियमित विद्युत बिक्रीबाट रकम भुक्तानी प्राप्त भएको छ । आगामी अवधिमा पनि यस कम्पनीको आयोजनाको व्यवस्थापनको विश्लेषण गर्दै व्यावसायिक रूपले सक्षम तरिकाबाट सञ्चालन गरी अधिकाधिक विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई उपलब्ध गराउने योजना छ ।’ कम्पनीले हालसम्म बैंकबाट लिएको ऋणको साँवा तथा ब्याजको भुक्तानी नेपाल राष्ट्र बैंकद्वारा समय–समयमा गर्दै निर्धारित समयमा भुक्तानी गरिरहेको पनि जनाएको छ । गोल्याण ग्रुप अन्तर्गतको पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने सोलार कम्पनी हो । गत वैशाखमा आईपीओ निस्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगेको छ । कम्पनीको अघिल्लो वर्ष सोही अवधिको तुलनामा प्रतिसेयर आम्दानी पनि बढेको छ । २०८१/८२ को पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी ३.२९ रुपैयाँ रहेकोमा पछिल्लो समीक्षा अवधिमा ४.५० पुगेको छ । प्रतिसेयर नेटवर्थ पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ९७.२७ रुपैयाँ रहेको थियो भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १०१.६१ रुपैयाँ पुगेको छ । निरन्तर नाफामा गइरहेको पियोर इनर्जीले सोल पावरमा २६ प्रतिशत सेयर लगानी गरेको छ । पियोर इनर्जीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको २०८१/८२ को वित्तीय विवरणअनुसार प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका २ लाख ६० हजार कित्ता खरिद गरिएको छ । सोल पावरले पाँचवटा सोलार परियोजना निर्माण गरिरहेको छ । नेपाल विद्युत प्राधिकरणको वार्षिक प्रतिवेदन २०२४/२५ अनुसार सोल पावर अन्तर्गतका पाँचवटै परियोजनाको गत जेठ २९ गते विद्युत खरिद विक्री सम्झौता (पीपीए) भएको छ ।