ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना सेयरधनीहरूलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ । सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो । साधारणसभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति, नियमहरूको पूर्ण परिपालना गर्दै सेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताए । साथै बैंकले आफ्नो व्यावसायिक रणनीति अन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उनले उल्लेख गरे । साधारणसभामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रतिनिधि, सेयरधनी, संस्थागत सेयरधनीका प्रतिनिधि, सञ्चारकर्मी, नियामक निकायका प्रतिनिधि, कर्मचारी समेतको उपस्थिति रहेको थियो ।
गणितलाई संवाद र सोचको नयाँ रूप दिने ‘ग्लोबल म्याथ डिबेट लिग’ नेपालमा
काठमाडौं एम्बार्क अनम्याथले गणित सिक्ने र सिकाउने परम्परागत धारणा परिवर्तन गर्न ‘ग्लोबल म्याथ डिबेट लिग’ (जीएमडीए) सुरु गरेको छ । कठिन गणितीय अवधारणाहरूलाई रचनात्मक रूपमा र दैनिक जीवनसँग जोडेर बुझाउने यो संस्थाले जीएमडीए सुरु गरेको हो । यसको मुख्य उद्देश्य गणितलाई केवल अंक र सूत्रको सीमामा नबाँधी विचार र संवादको अन्तर्राष्ट्रिय भाषाका रूपमा स्थापित गर्नु हो । ‘ग्लोबल म्याथ डिबेट लिग’ले गणितलाई विचार, तर्क र कुराकानीको माध्यम बनाउने प्रयास गर्छ । यो कार्यक्रमले विद्यार्थीहरूलाई गणितलाई समस्या समाधानको मात्र उपकरण नभई आफ्ना विचार व्यक्त गर्ने र सिर्जनशीलता प्रदर्शन गर्ने माध्यमका रूपमा प्रयोग गर्न प्रेरित गर्छ । यस वर्ष जीएमडीएलले नेपालभरका विद्यालयका ५ हजारभन्दा बढी विद्यार्थीहरूलाई तीन चरण (स्क्रिनिङ राउन्ड, क्षेत्रीय छनोट र राष्ट्रिय फाइनल राउन्ड)मा संरचित प्रतियोगितामा सहभागी गराउँदैछ । यो प्रतियोगिताले विद्यार्थीहरूलाई सहकार्य, रचनात्मकता र आलोचनात्मक सोचमा जोड दिने कलेजले जनाएको छ । यस प्रक्रियाबाट उनीहरूले आफ्नो विश्लेषणात्मक क्षमता, सार्वजनिक रूपमा बोल्ने आत्मविश्वास र गणितको व्यावहारिक उपयोगबारे विस्तृत बुझाइ विकसित गर्छन् । गणित र संवादको कलालाई जोडेर, ‘ग्लोबल म्याथ डिबेट लिग’ले नयाँ पुस्तालाई विश्लेषणात्मक रूपमा सोच्ने र प्रभावकारी रूपमा अभिव्यक्त हुन सक्षम नेतृत्वकर्ताका रूपमा सशक्त बनाउँछ । यो कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक आधार बलियो बनाउनुका साथै गणितलाई रचनात्मकता, नवप्रवर्तन र नेतृत्वको माध्यमका रूपमा मनाउँछ । सन् २०१२ मा स्थापना भएको अनम्याथ स्कुल एक अग्रणी शैक्षिक संस्था हो, जसले विद्यालयस्तरमा गणित सिकाउने तरिका रूपान्तरण गर्दै आएको छ । यसको विस्तारित रूप एम्बार्क अनम्याथ हो जसले ‘ग्लोबल म्याथ डिबेट लिग’, ‘म्याथ म्याराथन’ र ‘स्पेस म्याथ’ जस्ता कार्यक्रमहरू मार्फत सबै उमेरका विद्यार्थीहरूलाई गणितप्रति रोचक, अर्थपूर्ण र प्रेरणादायी बनाउने उद्देश्य राखेको छ ।
घरेलु बजारमा दबाब बढेपछि बीवाईडीको नजर विदेशी बजारमा, २०२६ मा १६ लाख सवारी बिक्री लक्ष्य
काठमाडौं । चिनियाँ विद्युत सवारी निर्माता बीवाईडीले आगामी वर्ष अर्थात् २०२६ मा विदेशमा अधिकतम १६ लाख सवारी बिक्री गर्ने लक्ष्य राखेको छ । सिटी ग्रुपले मंगलबार प्रकाशित प्रतिवेदनमा बीवाईडीले २०२५ बाट दोहोरो अंकको उच्च वृद्धिदरका साथ अन्तर्राष्ट्रिय विस्तारमा जोड दिने जनाएको छ । सिटीका अनुसार बीवाईडीको २०२६ को विदेशी बिक्री मार्गदर्शन १५ लाखदेखि १६ लाख युनिटसम्म रहेको छ, जुन २०२५ मा चीनबाहिर बिक्री हुने अनुमानित ९ लाखदेखि १० लाख सवारीभन्दा धेरै वृद्धि हो । यो वृद्धिको प्रमुख कारण नयाँ मोडलहरूको बजार प्रवेश हुने बताइएको छ । सिटीको प्रतिवेदनअनुसार बीवाईडीको ‘विदेशी बिक्री वितरण विभिन्न क्षेत्रहरूमा सन्तुलित’ रहेको छ । युरोप, उत्तर अमेरिका र एएसईएएन (दक्षिणपूर्वी एसियाली देशहरूको संगठन) देशहरूले २०२५ को कुल विदेशी बिक्रीको करिब एक तिहाइ–एक तिहाइ हिस्सा ओगट्ने अनुमान गरिएको छ । बीवाईडीको व्यवस्थापनले चालु वर्षको चौथो त्रैमासिकमा पूँजीखर्च अघिल्लो त्रैमासिकको तुलनामा घट्ने र २०२६ मा अझै ठूलो गिरावट आउने अपेक्षा गरेको छ । प्रतिवेदनका अनुसार, ‘सवारी तथा ब्याट्री उत्पादन क्षमता माग पूरा गर्न पर्याप्त हुने भएकाले पूँजी खर्च घट्ने सम्भावना छ । बीवाईडीले यसबारे टिप्पणी गर्न तत्काल प्रतिक्रिया दिएको छैन । सिटीले भने बीवाईडीको २०२६ को कुल बिक्री लक्ष्य खुलाएको छैन । यसअघि बीवाईडीले घरेलु बजारमा बिक्री घटेपछि २०२५ को लक्ष्य १६ प्रतिशत घटाएर ४६ लाख युनिटमा झारेको थियो । गत महिना मात्रै बीवाईडीले चार वर्षभन्दा बढी अवधिको सबैभन्दा ठूलो त्रैमासिक नाफा घटेको रिपोर्ट गरेको थियो । यस वर्ष हालसम्म कम्पनीले आफ्ना कुल सवारीमध्ये करिब २० प्रतिशत विदेशमा पठाइसकेको छ, जुन २०२४ को तुलनामा दोब्बर हो । बीवाईडीलाई अहिले चीनकै स्थानीय प्रतिस्पर्धी कम्पनीहरू जस्तै जीली र लिपमोटरसँगको प्रतिस्पर्धामा थप दबाब परेको छ, विशेष गरी सस्तो गाडी बजारमा। पछिल्ला पाँच वर्षमा बीवाईडीले चीनभित्र कम्तीमा आठवटा मेगा कारखाना निर्माण गरिसकेको छ । साथै कम्पनीले हङ्गेरी र ब्राजिललगायत देशहरूमा स्थानीय एसेम्ब्लीका लागि विदेशी कारखाना निर्माण गर्दै आएको छ र युरोपका लागि तेस्रो कारखाना स्थापनाको तयारीमा स्पेनलाई शीर्ष विकल्पका रूपमा राखेको समाचार रोयटर्सले पहिले नै जनाएको छ । पोर्शेमा आएको संकटले शीर्ष सेयरधनीको नाफा धराशायी दक्षिणपूर्वी एसियामा होन्डाको वर्चस्व धरापमा, ठूलो चुनौती चीनका ईभी निर्माता
सदर चिडियाखानामा कालो रङको चितुवा
काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखानामा बुधबारदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा आजदेखि दर्शकहरूले अवलोकन गर्न सक्ने गरी राखिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए । पूर्वी नेपालको इलामबाट उद्धार गरी गत भदौ १७ चिडियाखानामा ल्याई पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको उक्त कालो चितुवा हाल सामान्य अवस्थामा आएपश्चात अवलोकन गर्न सक्ने गरी राखिएको हो । यो चितुवाकै प्रजाति भए पनि मेलानिज्म नामक जेनेटिक म्युटेसनबाट शरीरमा अधिक मात्रामा मेलानिन् उत्पन्न भई काला धब्बाहरू बन्ने भएकाले पूर्ण रूपमा कालो देखिन्छ । यस प्रकारका चितुवाहरू विरलै मात्रामा भेटिने गर्छन् ।
एआई र मानव सङ्गीत छुट्याउन नसक्ने अवस्थामा मानिसहरू : विश्वव्यापी सर्वेक्षणको निष्कर्ष
पेरिस । हालै सार्वजनिक गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले मानिसहरूका लागि कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा सिर्जना गरिएको सङ्गीत र मानवद्वारा कम्पोज गरिएको सङ्गीतबीचको भिन्नता छुट्याउन झण्डै असम्भव भइसकेको देखाएको छ । फ्रान्सस्थित सङ्गीत स्ट्रिमिङ प्लेटफर्म डिजरका लागि पोलिङ फर्म इप्सोसले गरेको अध्ययनमा करिब नौ हजार सहभागीलाई एआईले पूर्ण रूपमा उत्पन्न गरेको दुईवटा सङ्गीत क्लिप र मानवद्वारा सिर्जना गरिएको एउटा क्लिप सुन्न आग्रह गरिएको थियो । नतिजा अनुसार, 'सर्वेक्षणमा सहभागी ९७ प्रतिशत व्यक्तिले एआई–निर्मित र मानव–निर्मित सङ्गीतबीचको स्पष्ट भिन्नता छुट्याउन सकेनन्', डिजरले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको छ । सर्वेक्षण अक्टोबर ६ देखि १० सम्म ब्राजिल, बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, जापान, नेदरल्यान्ड्स र संयुक्त राज्य अमेरिकामा सञ्चालन गरिएको थियो । डिजरका अनुसार आधाभन्दा बढी सहभागीहरूले फरक छुट्याउन नसक्दा आफूलाई ‘असहज’ महसुस गरेको बताएका थिए । अध्ययनका क्रममा एआई प्रविधिको व्यापक प्रभावबारे पनि प्रश्नहरू सोधिएको थियो । करिब ५१ प्रतिशत उत्तरदाताले एआईका कारण स्ट्रिमिङ प्लेटफर्महरूमा ‘कम गुणस्तरको सङ्गीत’ बढ्ने विश्वास व्यक्त गरे भने झण्डै दुई तिहाइले यसले ‘सङ्गीतमा मौलिक रचनात्मकता घटाउने जोखिम’ रहेको धारणा राखे । डिजरका प्रमुख कार्यकारी अधिकृत एलेक्सिस ल्यान्टर्नियरले विज्ञप्तिमा भने, 'यो सर्वेक्षणले श्रोता समुदायले सङ्गीतप्रति गहिरो चासो राख्छन् भन्ने स्पष्ट रूपमा देखाउँछ । उनीहरू एआईले बनाएको वा मानिसले सिर्जना गरेको ट्र्याक सुन्दैछन् भनेर थाहा पाउन चाहन्छन् ।' कम्पनीका अनुसार पछिल्ला महिनाहरूमा यसको प्लेटफर्ममा एआई–निर्मित सामग्रीको अपलोड दर तीव्र गतिमा बढिरहेको छ र यस्ता गीतहरूले ठूलो सङ्ख्यामा श्रोता पनि पाएका छन् । सन् २०२५ को जनवरीमा प्रत्येक दिन स्ट्रिम गरिएका १० मध्ये केवल एउटा ट्र्याक एआई–निर्मित थियो, तर दश महिनापछि त्यो अनुपात बढेर तीनमध्ये एक अर्थात् दैनिक झण्डै ४० हजार एआई गीतसम्म पुगेको छ । सर्वेक्षणमा सहभागी ८० प्रतिशत उत्तरदाताले एआई–निर्मित सङ्गीतलाई स्पष्ट रूपमा चिह्न लगाएर प्रस्तुत गर्नुपर्ने माग गरेका छन् । डिजर हालसम्मको एक मात्र प्रमुख स्ट्रिमिङ प्लेटफर्म हो जसले आफ्ना प्रयोगकर्ताका लागि पूर्ण रूपमा एआई–निर्मित सामग्रीलाई व्यवस्थित रूपमा लेबल गर्दै आएको छ । यस वर्षको जुन महिनामा द भेलभेट सनडाउन नामक एउटा ब्यान्डको गीत स्पोटिफाइमा भाइरल भएपछि यो विषयले थप चर्चा पाएको थियो । पछि मात्र त्यो गीत वास्तवमा एआई–निर्मित भएको पुष्टि भएको थियो । सो ब्यान्डको सबैभन्दा चर्चित गीत ३० लाखभन्दा बढी पटक स्ट्रिम गरिएको छ । यस घटनापछि स्पोटिफाइले कलाकार र प्रकाशकहरूलाई सङ्गीत निर्माणमा एआई प्रयोगबारे स्पष्ट खुलासा गर्न प्रोत्साहित गर्ने ‘स्वैच्छिक उद्योग आचारसंहिता’ मा हस्ताक्षर गर्न आग्रह गर्ने घोषणा गरेको छ । रासस
गगनलाई जीतजंगको प्रश्न- क्रियाशील सदस्यता टुंग्याएको खोइ ?
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पार्टीका महामन्त्री गगनकुमार थापामाथि विशेष महाधिवेशनको नाममा संगठन कब्जा गर्ने प्रयास गर्न खोजेको आरोप लगाएका छन् । ‘आफूले गर्नैपर्ने क्रियाशील सदस्यता व्यवस्थापनको काम एक तिहाइ पनि नगर्ने अनि विशेष महाधिवेशनको माग गर्ने?,’ उनले थापालाई सोधेका छन । उनले थापालाई ‘क्रियाशील सदस्यता नवीकरण कहिले टुंगिन्छ’ भन्ने प्रश्नसमेत गरे । सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार बोल्दै बस्नेतले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर संकलनको जिम्मेवारीसमेत महामन्त्री थापाले लिएको भन्दै शंका व्यक्त गरे । उनले भने, ‘विशेष महाधिवेशनका नाममा संगठन कब्जा गर्ने सोच त होइन ?’ बस्नेतले अहिलेको मुख्य प्राथमिकता नेतृत्व परिवर्तन नभई पार्टीको नीति, कार्यक्रम र सञ्चालन प्रणालीको पुनरावलोकन हुनुपर्ने बताए । उनका अनुसार आजको आवश्यकता नेतृत्व बदल्नु होइन, पार्टीलाई कसरी मजबुत बनाउने भन्ने हो । थापाको नेतृत्वमा केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन सुरु गरेका थिए । सो पहललाई केही नेताहरूले सकारात्मक रूपमा लिए पनि केहीले यसलाई संगठनभित्र अस्वस्थ प्रतिस्पर्धा बढाउने कदमका रूपमा व्याख्या गरिरहेका छन् ।
मेरो माइक्रोफाइनान्सले मनायो १३औं वार्षिक उत्सव, १५ अर्बभन्दा बढी कर्जा लगानी
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १३औं वार्षिक उत्सव देशभरका शाखा कार्यालयहरूसँगै उत्साहपूर्वक मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयदेखि सबै शाखा कार्यालयसम्म विविध कार्यक्रमका साथ उत्सव सम्पन्न गरेको हो । नुवाकोटको बट्टारमा २०६९ साल कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाका रूपमा स्थापना भएको मेरो माइक्रोफाइनान्सले छोटो अवधिमा उल्लेखनीय प्रगति गर्न सफल भएको जनाएको छ । संस्थाको पहिलो वर्षमा १५ शाखामार्फत १४ हजारभन्दा बढी घरपरिवारलाई वित्तीय पहुँच दिलाएको संस्थाले हालसम्म देशका ६४ जिल्लामा १४९ शाखा सञ्जालमार्फत १ लाख ५३ हजारभन्दा बढी घरपरिवारसम्म सेवा विस्तार गरेको छ । हालसम्म संस्थाले ३ अर्ब ९८ करोड निक्षेप संकलन गरी १५ अर्ब रूपैयाँभन्दा बढी कर्जा लगानी गर्न सफल भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो अवधिमा संस्थाले पाएको सफलता ग्राहकको माया, नियमनकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यहरूको भरोसा र कर्मचारीहरूको अतुलनीय योगदानको परिणाम भएको बताएका छन् । उनले संस्थाको छवि आज माइक्रोफाइनान्स क्षेत्रमा अग्रणी संस्थाका रूपमा स्थापित हुन सफल भएकोमा खुसी व्यक्त गरे । दाहालका अनुसार संस्थाले कारोबार विस्तारसँगै जोखिम व्यवस्थापनलाई पनि प्रभावकारी रूपमा अघि बढाएको छ । हाल संस्थाले ८ वटा विभाग, ७ वटा प्रदेशीय संरचना र १९ वटा अनुगमन स्टेशनमार्फत कार्यक्रमको प्रभावकारिता मापन गर्दै आएको छ । देशका ७ बाणिज्य बैंक र १ विकास बैंकको संयुक्त लगानीमा प्रवर्द्धन भएको मेरो माइक्रोफाइनान्सले ग्राहकका आवश्यकताअनुसार बचत, कर्जा, बीमा र रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । संस्थाले कर्जा तर्फ बिना धितो, सामूहिक जमानी र धितो कर्जाका विभिन्न योजना सञ्चालन गर्दै आएको छ भने डिजिटल पहुँच बढाउँदै मोबाइल बैंकिङ र एसएमएस बैंकिङ सेवा पनि प्रदान गरिरहेको छ । संस्थाले आगामी वर्षहरूमा पनि प्रविधिमैत्री, समावेशी र सुरक्षित वित्तीय सेवाको दायरा अझ विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।
पूर्वगृहमन्त्री लेखकको दावी– स्थानहद र राहदानी रोक्का गरिएकोबारे जानकारी छैन
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद तोकेको र राहदानी रोक्का गरेको विषयमा कुनै पनि औपचारिक जानकारी नदिएको दावी गरेका छन् । उनले सरकार वा कुनै पनि निकायले न त लिखित रूपमा न त मौखिक रूपमा सूचना दिएको जनाएका छन् । कांग्रेस केन्द्रीय समिति बैठकमा सरकारको निर्णयबारे बोल्दै कुन संविधान, कुन कानुन, कुन ऐनको कुन प्रावधानअनुसार यस्तो निर्णय गरियो भन्ने आजसम्म थाहा नपाएको बताए । उनले स्थानहद गर्ने वा राहदानी रोक्का गर्ने निर्णय किन र कति अवधिका लागि गरिएको हो भन्नेबारे पनि जानकारी नभएको स्पष्ट पारे । लेखकका अनुसार करिब दुई महिना अघि आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद तोकेर राहदानी रोक्का गर्ने निर्णय भएको कुरा आफूले समाचारका माध्यमबाट मात्र सुनेको दावी गरे ।