बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८० पैसा र बिक्रीदर १०१ रुपैयाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ १० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९६ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ । साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४ रुपैयाँ ९७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९२ पैसा र बिक्रीदर २२ रुपैयाँ ०१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १९ पैसा र बिक्रीदर १८ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ४७ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ४३ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ६९ पैसा तोकिएको छ । ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने जनाइएको छ ।
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती
काठमाडौं । नेपाल वायु सेवा निगमले काममा सक्रिय नभएका करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न सुरु गरेको छ । निगमले सञ्चालन गर्दै आएका आन्तरिक स्टेसनहरूमध्ये हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेसन तथा उडान सञ्चालन रहेका आन्तरिक स्टेसनबाट हुने उडान सङ्ख्यालाई मध्यनजर गरी कर्मचारी कटौती गर्दै लाने नीति अनुरूप करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न सुरु गरेको जनाएको छ । सोही अनुरूप हाल करार सेवा तथा मासिक ज्यालादारीमा कार्यरत छ जना कर्मचारीको करार सेवा तथा मासिक ज्यालादारी अवधि मंगलबारको मितिदेखि नै लागू हुने गरी अन्त्य गरिएको निगमका प्रवक्ता अनिल घिमिरेले जानकारी दिए । निगमलाई चुस्त दुरुस्त रूपमा सञ्चालन गर्दै हालको बदलिँदो परिस्थितिलाई समेत सम्बोधन गर्दै निगमको आर्थिक दायित्वसमेत कम गर्ने उद्देश्यसहित सुधारात्मक कदमको थालनी स्वरूप व्यवस्थापनले उक्त निर्णय गरेको उनले बताए ।
१७ प्रतिशत लाभांश बाँड्ने एनएमबिको घोषणा
काठमाडौं । एनएमबि क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई करसहित १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले मंसिर १७ गते दिउँसो साढे ३ बजे काठमाडौंमा १५औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालकहरूको बैठक भत्ता, भ्रमण खर्च तथा दैनिक भत्ता वृद्धि सम्बन्धी प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण र चालु आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
हिउँद भरि सुनसान हुन्छ बुकी पाटन
काठमाडौं । बर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकी पाटन चिसो बढेपछि सुनसान भएको छ । सयौं गोठाला र हजारौं वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकी पाटन कात्तिक पहिलो सातादेखि सुनसान बनेको हो । अग्ला पहाड पनि हरियो घाँस सुक्दै गएपछि उराठिला बनेका छन् । पहिले गोठालाले चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको बुकी पाटन पछिल्लो २ वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । असारदेखि असोजसम्म बुकी पाटनमा पर्ने गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायतका क्षेत्रमा गोठलाको बाक्लो बसाइँ हुने गर्छ । गोठालाले गोठ बेसी झारेपछि बुकी पाटन सुनसान छ । चिसो बढेका कारण पर्यटकसमेत पुग्न सकेका छैनन् । समुद्री सतहदेखि करिब ४ हजार ५०० मिटरको उचाइमा पर्ने बुकी पाटन पदयात्राका लागि उत्कृष्ट गन्तव्य बनेको छ । बर्खा याममा बेसी क्षेत्रमा गर्मी हुने हुँदा शीतलता खोज्दै बुकी पाटन बढी चढ्ने तर अहिले चिसो बढेपछि बुकी पाटन जाने पर्यटक कम भएको ढोरपाटनका होटल व्यवसायी सन्देश थापाले बताए । असोजसम्म बुकी पाटन पुग्ने पर्यटकको सङ्ख्या धेरै भए पनि अहिले फाट्टफुट्ट मात्रै जाने गरेको उनको भनाइ छ । बुकी पाटन पुग्ने पर्यटकले हरियाली उच्च पहाड, पाटन, खर्क, दर्जनौं हिमशृङखलाको दृश्यावलोकन गर्न सक्ने हुँदा बर्खाको समयमा बढी पर्यटक बुकी पाटन उक्लने थापा बताउँछन् । गोठाला वस्तुभाउ लिएर असोजमै बेसी झरेको उनको भनाइ छ । उनले भने, ‘२ वर्षदेखि त बुकी पाटनमा पर्यटकको आगमन व्यापक हुँदै गएको छ, पहिले गोठाला मात्रै बस्ने ठाउँमा अहिले टाढाटाढाबाट पर्यटक आउन थालेका छन् ।’ नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकी पाटन बागलुङसहित रोल्पा, रुकुम, म्याग्दी र डोल्पाका पशुपालक किसानले बर्खाको समय चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएका छन् । ढोरपाटन नगरपालिका-८ का तुलबहादुर सुनारले आफू सबैभन्दा अन्तिममा बेसी झरेको सुनाए । धेरै गोठालाहरूले भदौ अन्तिम सातादेखि नै गोठ झार्न सुरु गरेको भन्दै आफू असोज दोस्रो सातामा त्रै झरेको उनको भनाइ छ । आफूले गोठ झार्ने बेला नै बुकी पाटन सुनसान भएको भन्दै अहिले चिसोका कारण कोही पनि पुग्न नसक्ने सुनार बताउँछन् । ‘यतिबेला त बुकी पाटनमा पानी जम्छ, धेरै चिसो हुन्छ, त्यहाँ गएर बस्न सकिदैन, गोठाला झरेपछि त्यो ठाउँ सुनसान भयो, अहिले कोही पनि छैनन् बुकीमा, बर्खामा पहिले-पहिले गोठाला मात्रै हुन्थ्यौँ, अहिले त देश विदेशबाट घुम्न आउनेको भीड लाग्छ,’ सुनारले भने, ‘अब गोठाला जेठ असार महिनामा मात्रै बुकी उक्लन्छन्, त्यस बेलासम्म त्यो ठाउँ सुनसान हुन्छ ।’ चिसो बढेपछि ढोरपाटन उपत्यकामा पनि पर्यटकको आगमन कम भएको छ । अब हिउँ परेपछि हिउँ खेल्न आउनेको सङ्ख्या बढी हुने स्थानीय पवन घर्तीमगरले बताए । ढोरपाटनमा चिसो बढ्दै गएपछि स्थानीय पनि बोबाङ, अधिकारीचौर लगायतका ठाउँमा झर्ने उनको भनाइ छ । पहिले अधिकांश ढोरपाटन उपत्यकावासी घुम्ती बसाइँ गर्थे । हिउँदमा बेसी र बर्खामा ढोरपाटनमा बस्ने गर्थे । तर अहिले ढोरपाटनमै बस्नेको सङ्ख्या बढेको छ । सडकले जोडिएपछि विस्तारै विकासले गति लिँदा धेरै स्थानीयको रोजाइमा ढोरपाटन परेको घर्तीमगर बताउँछन् ।
सोनापुरले तिर्याे विद्युत बक्यौताको पहिलो किस्ता, काटिएको बिजुली जोडियो
काठमाडौं । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम मंगलबार तिरेको छ । पहिलो किस्ता तिरेपछि गत ७ कात्तिकमा विच्छेद गरिएको सोनापुर मिनरलको विद्युत लाइन मंगलबार साँझ जडान गरिएको छ । सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । सोनापुर मिनरलको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी सोनापुर मिनरलले ८६ लाख ३० हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।
मेलम्ची खानेपानीमा देखिएका समस्या समाधान, स्थानीयका माग पूरा गर्न मन्त्रालय तयार
काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो । सहमतिअनुसार आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरु, बाढी पीडित सङ्घर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाल जस्ता विभिन्न सरोकारवालाबाट समय समयमा राखिएका मागका सम्बोधन गरिनेछ । ‘मेलम्ची खानेपानी विकास समितिको गठन आदेश, २०७९ जारी भएपछि अर्थ मन्त्रालयबाट पुँजीगत रकम निकासा प्रक्रियामा देखिएको प्राविधिक जटिलताको कारणले आव २०७९/८० देखि हालसम्म रकम निकासा हुन नसकेको विषयलाई फुकाउनका लागि स्थानीय तहबाट प्राप्त लिखित सहमति समेतको आधारमा मेलम्ची खानेपानी विकास समिति सञ्चालक समितिबाट भएको निर्णय बमोजिमको मस्यौदा तयार गरी संशोधनका लागि सम्बन्धित निकायमा पेस गरिनेछ,’ सहमतिमा भनिएको छ । त्यसका लागि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सत्य तथ्य सङ्कलन गरिनेछ । राहत तथा क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयमा अनुरोध गरिनेछ । सो समितिमा मेलम्ची खानेपानी विकास समिति र स्थानीय सरोकारवाला पीडित पक्षको तर्फबाट तीन जना प्रतिनिधि रहने गरी प्रक्रिया अगाडि बढाउने र यस कार्यलाई ३ महिनाभित्र सम्पन्न गरिनेछ । विभिन्न समयमा आएकाको बाढीको कारण मेलम्ची प्रभावित क्षेत्रमा भएको जनधनको क्षति, उद्योग व्यवसाय, कृषि फर्म तथा दैनिक जीवनयापनमा परेको प्रभाव समेतको अध्ययन गरिनेछ । स्थानीय भेण्डरहरुको बक्यौता रकम निकासा गर्ने निर्णय अनुसार अर्थ मन्त्रालयबाट हालसम्म निकासा हुन नसकेकाले निकासा गराई १५ दिनभित्र निकासा गरिनेछ । आयोजनाबाट वितरण हुने खानेपानीको परिपूरण निर्धारणका सम्बन्धमा यसअघि गठन भएका समितिका प्रतिवेदन समेतका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरी ४५ दिनभित्र मन्त्रिपरिषदमा पेश गरिने सहमति भएको छ । यस्तै, मेलम्ची अम्बाथान मेलम्ची घ्यांग सडक निर्माणका लागि विनियोजन भएको बजेट रकममध्ये २५ करोड रुपैयाँ सडक विभागलाई हस्तान्तरण भइसकेको हुँदा उक्त रकमको ठेक्का प्रक्रिया अगाडि बढाइनेछ । सो सडकलाई बहुबर्षीय ठेक्का योजना अन्तर्गत १ अर्ब रुपैयाँको स्रोत सहमति लिई डिभिजन सडक कार्यालय, दोलखाले बोलपत्रको प्रक्रिया तत्काल अगाडि बढाइनेछ । स्थानीय सामाजिक उत्थानका कार्यक्रम समितिका लागि विनियोजन भएको रकम ४ करोड रुपैयाँ र थप रकम १९ करोड रुपैयाँ निकासाको लागि अर्थ मन्त्रालयमा अनुरोध गरिनेछ । मेलम्ची हेलम्बु एकीकृत विकास कोरिडोर विकास कार्यक्रम अगामी आवका लागि प्रस्ताव गर्ने सहमति भएको छ । सहमति भए पश्चात् आयोजनामा देखिएको समस्या तत्कालका लागि समाधान भएको छ । सहमतिपत्रमा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले हस्ताक्षर गरेका छन् । यस्तै, सहमतिपत्रमा स्थानीयबासी तथा सरोकारवाला समूहका तर्फबाट हस्ताक्षर भएको छ । यस्तै, मेलम्ची खानेपानी विकास समितिका तर्फबाट कार्यकारी निर्देशक जगरनाथ दासलगायतले हस्ताक्षर गरेका छन् । नेपाल सरकार, सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको उपस्थितिमा उक्त सहमति भएको हो ।
मनास्लु आरोहणको वैकल्पिक मार्ग खोजी, पद मार्गमा करिब ३० वटा होटल
काठमाडौं । हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिकाले मनास्लु हिमाल आरोहणको नयाँ पद मार्गको प्रारम्भिक अध्ययन सुरु गरेको छ । मनास्लु आरोहणका लागि सहज बाटो पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको समन्वय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रायोजनमा पद मार्ग सर्वेक्षण सुरु गरिएको छ । हाल मनास्लु आरोही काठमाडौंबाट गोरखाको आरुघाट, सामागाउँ हुँदै यात्रा गर्छन् । पूर्वतर्फबाट मनास्लु आरोहण सुरु गर्छन् । तर, मनाङको नासोँ गाउँपालिकाले काठमाडौंबाट लमजुङको बेंसीशहर हुँदै धारापानी, तिल्चे, गुवा, सुती खोला, याकखर्क हुँदै भीमथाङमा बास बसेर पश्चिमतर्फबाट आरोहणको सम्भावनाबारे अध्ययन सुरु गरेको छ । सामागाउँ र भीमथाङ दुवैतर्फको आरोहण मार्ग ६ हजार मिटर उचाइ क्याम्प थ्रीमा पुगेर मिसिन्छ । गोरखामा पर्ने यस हिमाल ८ हजार १६३ मिटर अग्लो छ । सन् १९५६ मे ९ मा जापानका टी इमानिस र नेपालका ग्याल्सेन नोर्बुले यस हिमालको पहिलो पटक आरोहण गरेका थिए । त्यतिबेला भीमथाङबाटै आरोहण भएको र पछि पदमार्गमा क्षति पुगेपछि सामागाउँतर्फबाट आरोहण थालिएको नासोँ गाउँपालिका अध्यक्ष गुरुङले बताए । पुनःभीमथाङबाट आरोहणको सम्भावनाबारे प्रारम्भिक अध्ययनमा संलग्न कर्मा शेर्पाले थप अध्ययन आवश्यक रहेको बताए । ‘हामी जाँदा हिउँ थियो, त्यसैले थप अध्ययन आवश्यक छ । भीमथाङतर्फको मार्गमा पहिरोको जोखिम कति छ । सहज हुन्छ कि हुँदैन भन्ने जस्ता विभिन्न प्राविधिक विषयको अध्ययन गर्नुपर्ने देखिन्छ,’ उनले भने । शेर्पाले पहिलो चरणमा फोटो/भिडियो खिचेर ल्याएको र अनुभवी आरोहीबाट त्यसको विश्लेषण गरेर निष्कर्ष निकाल्न बाँकी रहेको बताए । गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले अनुभवी माउण्टेन गाइडको सहभागितामा प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेको तर निष्कर्ष आउन बाँकी रहेको बताए । यदि भीमथाङतर्फको मार्गबाट आरोहण गर्न सम्भाव्यता पुष्टि भएमा सबैभन्दा सजिलो र छोटो मार्ग यही हुने उनको भनाइ छ । ‘हामीले भीमथाङबाट मनास्लु आरोहणको सपना देखेका छौँ । यदि यो सफल भएमा नेपालको आठ हजार मिटरभन्दा माथि बेस क्याम्पसम्म पुग्ने छोटो दुरीको पद मार्ग भनेको नै यही हुनेछ,’ अध्यक्ष गुरुङले भने । काठमाडौंबाट लमजुङको बेंसीसहर हुँदै मनाङको तिल्चे गाउँसम्म बस वा गाडीमा यात्रा गर्न सकिन्छ । त्यसपछि तिल्चेबाट पैदल हिँडेर गुवा, सुती खोला, याकखर्क हुँदै भीमथाङमा बास बस्न सकिन्छ । त्यहाँबाट सिधैँ मनास्लुको बेस क्याम्पमा साढे २ दिनमै पुग्न सकिन्छ । यस मार्ग मनास्लु आरोहणको सबैभन्दा छोटो दुरी रहेको गाउँपालिका अध्यक्ष गुरुङले बताए । यस पद मार्गमा करिब ३० वटा होटल रहेका छन् । ३ हजार ७०० मिटरको उचाइमा रहेको भिमथाङमा मात्रै ११ वटा होटल रहेका छन् । यहाँ मात्रै ५०० जना अट्न सक्ने क्षमता रहेको छ । उनले भने, ‘हिमाल आरोहणका लागि सकारात्मक आउने विश्वास छ र आगामी दिनमा यही छोटो रुटबाट मनास्लु आरोहण गर्न पाइनेछ । मितव्ययिताको साथ छोटो दुरीको पदयात्रामार्फत आठ हजार मिटर माथिको हिमाल आरोहण गर्न सकिन्छ कि भनेर सर्वेक्षण गरिरहेका छौँ । यस सर्वेक्षणले सफलता पाउने अपेक्षा गरेका छौँ ।’ अहिले धारापानीबाट पदयात्रामार्फत तिल्चे, गुवा, सुती खोला, याकखर्क, भीमथाङ हुँदै मनास्लु आरोहणका लागि जाने गर्दछन् । छोटो समयमा पुग्ने भएकाले यस मार्गलाई केही आरोहीले मनाङको पदमार्ग हुँदै यस हिमाल आरोहण गर्ने गरेका छन् । आरोही तथा पथ प्रदर्शकले मनास्लु आरोहणमा जाँदा यस मार्ग छोटो पर्ने गरेका बताउँछन् । यस सर्वेक्षणले मार्ग पहिचान तथा अनुमति पाएमा आरोही तथा पथ प्रदर्शकलाई सहज हुनेछ ।
औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम
काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा २ हजार १३९ घटना भएकामा यस वर्ष १ हजार ४५४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, विपद्मा परेर गत वर्ष ४९५ जनाको निधन भएकामा यस वर्ष १४० जनाको ज्यान भएको छ । गत वर्ष विपद्का कारण १० हजार ८२३ घरपरिवार प्रभावित भएकामा यस वर्ष ५ हजार ९९५ घरपरिवार प्रभावित भएका छन् । विपद्मा परेर गत वर्ष ६६ जना बेपत्ता भएकामा यस वर्ष ३० जना बेपत्ता भएका छन् । गत वर्ष विपद्जन्य घटनामा परेर ५२२ जना घाइते भएकामा यस वर्ष ३ सय जना घाइते भएको प्राधिकरणको विवरणमा उल्लेख छ । प्राधिकरणका अनुसार, यस वर्ष बाढीका २९२, पहिरोका ५१३, भारी वर्षा ३९७ र चट्याङका २५२ वटा घटना भएका थिए । बाढीमा परेर ३७ जनाको मृत्यु, २६ जना बेपत्ता र १४ जना घाइते हुँदा ३ हजार २ सय घरपरिवार प्रत्यक्ष प्रभावित भएका थिए । यस्तै पहिरोमा परेर ६७ जनाको मृत्यु, ४ जना बेपत्ता र ७७ जना घाइते भएका थिए भने १ हजार ५१८ घरपरिवार प्रभावित भएका छन् । भारी वर्षाका कारण ७ जनाको मृत्यु, २० जना घाइते भए भने ९६६ घरपरिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार, चट्याङमा परेर २९ जनाको मृत्यु, १८९ घाइते हुँदा ३११ घरपरिवार प्रभावित भएका छन् । यस वर्ष मनसुन सरदरभन्दा बढी अवधिसम्म रह्यो । सरदरभन्दा केही दिनअघि अर्थात् २०८२ जेठ १५ गते नेपाल प्रवेश गरेको मनसुन १३५ दिन रहेर गत असोज २४ गते बाहिरिएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुन अवधिमा १ हजार ३७५.४ मिलिमिटर वर्षा भएको छ । जुन सरदर १ हजार ४१५.५ मिलिमिटर वर्षाको तुलनामा ९७.२३ प्रतिशत हो । औसतभन्दा बढी वर्षा भएपनि मानवीय तथा भौतिक क्षति विगत बर्षको तुलनामा कम भएको थियो । मनसुनको अन्त्यतिर अर्थात् गत असोज १७ देखि २० गतेसम्म ५३ जनाको ज्यान गएको थियो । मनसुनमा मानवीय क्षतिको हिसाबले इलाम सबैभन्दा बढी प्रभावित भएको थियो । इलाममा मात्रै ३९ जनाको ज्यान गएको थियो । सरकारले इलामलाई ३ महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । रसुवाको भोटेकोशीमा गत असार २४ गते गएको बाढीका कारण १८ जना बेपत्ता भएकामा ११ वटा शव तथा मानव अंग फेला परेको थियो । बाढीले रसुवागढी नाकामा रहेको मितेरी पुल बगायो । सुक्खा बन्दरगाह र ३ वटा जलविद्युत् आयोजानमा अर्बौको क्षति भयो । कार्गोसहित ७६ वटा गाडी बगायो । मनसुनको सुरुवातमा मधेश प्रदेशमा सुक्खाको समस्याबाट प्रभावित भयो । सरकारले मधेश प्रदेशलाई गत सायन ८ गते तीन महिनाका लागि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ पारित गरी सबै निकायलाई एकीकृत रुपमा परिचालन गरेका कारण क्षति कम भएको अनुमान गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा कमाण्ड सेन्टर स्थापना गरी लगातार ३८ घण्टासम्म स्म्बन्धित सरोकारवालासँग समन्वय तथा निर्देशन जारी भएको थियो । यस्तो छ १० वर्षको विवरण प्राधिकरणका अनुसार, २०७३ सालमा ६४२ विपदजन्य घटना भई २८९ जनाको निधन भएको थियो । यस्तै, २०७४ मा ६२४ वटा विपदजन्य घटनामा परेर २८९ जनाको ज्यान गएको थियो । प्राधिकरणका अनुसार, २०७५ मा ६९३ विपदजन्य घटनामा परेर १२२ जनाको ज्यान गयो । यस्तै, २०७६मा ८४६ विपदजन्य घटनामा परेर २०३ जनाको निधन भएको थियो । यस्तै, २०७७ मा १ हजार १५ विपदजन्य घटनामा परेर ३८२ जनाले अकालमा ज्यान गुमाउनु पर्यो । प्राधिकरणको विवरण अनुसार, २०७८ मा ७३७ विपदजन्य घटनामा परेर १६५ जनाको निधन भयो । त्यस्तै, २०७९ मा ७१२ वटा विपदजन्य घटनामा परेर १७९ जनाको ज्यान गयो । त्यसैगरी, २०८० मा ८९१ वटा विपदजन्य घटनामा परेर ९२ जनाको ज्यान गयो । विसं २०८१ मा २ हजार १३९ वटा विपदजन्य घटनामा परेर ४९५ जनाको निधन भएको प्राधिकरणले जनाएको छ ।