सरकार र दुर्गा प्रसाईंको समूहबीच गृह मन्त्रालयमा छलफल शुरु
काठमाडौं । सरकार र नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहबीच सिंहदरबारमा वार्ता शुरु भएको छ । बुधबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रसाईंको समूहसँग सरकारले छलफल गरेको हो । वार्तामा प्रसाईं भने सहभागी छैनन् । प्रसाईंको समूहबाट संगठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा र देवीप्रसाद संग्रौला लगायतका सदस्यहरु सहभागी रहेको छ । प्रसाईंले मंसिर ७ गतेबाट देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् । यसपटक आन्दोलन गर्न प्रसाईंले नेपाली काँग्रेस विपीसँग सहकार्य गरेका छन् ।
सुनको मूल्य तोलामा २१ सयले घट्यो, चाँदीको ५ रुपैयाँले बढ्यो
काठमाडौं । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा २१ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला सुनको मूल्य दुई लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी तीन हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक तोला सुन दुई लाख ४६ हजार ४०० रुपैयाँ र चाँदी तीन हजार १७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
चाबहिल नजिकै गोपीकृष्ण पुलमुनि एक पुरुषको शव भेटियो
काठमाडौं । काठमाडौंको चावहिल नजिकै गोपीकृष्ण पुलमुनि एक पुरुषको शव भेटिएको छ । बुधबार भेटिएको उक्त शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । अहिलेसम्म पोस्टमार्टम रिपोर्ट आइनसकेको प्रहरी वृत्त, गौशालाका प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए । उनका अनुसार उक्त शव पुलमुनि थियो । शवको नाम र ठेगाना सबै पहिचान भएपनि पुस्ट्याइँको काम भइरहेको उनको भनाइ छ । ‘पोस्टमार्टमका लागि टिचिङ पठाएका छौं । प्रारम्भिक अनुसन्धानबाट उनी मापसे गरेर हिँड्ने मान्छे हुन् । शङ्कास्पद केही देखिँदैन । मापसे गरेर हिँडिरहेको अवस्थामा खोलामा ढलेको हुन सक्ने अनुमान छ,’ उनले भने । उनको उमेर अन्दाजी ६०/६२ वर्ष रहेको उनले बताए ।
गुल्मीमा सुरु भयो चुनावी सरगर्मी, पाण्डेले गरे उम्मेदवारी घोषणा
काठमाडौं । गुल्मीमा फागुन २१ गते सम्पन्न हुने आमनिर्वाचनको सरगर्मी सुरु भएको छ । राजनितिक दलहरू आन्तरिक तयारीमा रहिरहेको बेला एक स्वतन्त्र उमेदवारले सम्पर्क कार्यालयसमेत स्थापना गरी निर्वाचन प्रचारको कार्य सुरु गरेका छन् । गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ का सुरेन्द्र पाण्डेले उक्त क्षेत्रको केन्द्र धनार्जीमा सम्पर्क कार्यालय स्थापना गरी प्रचारको काम सुरु गरेको जानकारी दिएका छन् । विद्यालय शिक्षकबाट केही समय पहिले स्वेच्छिक अवकाश लिएका पाण्डे पछिल्लो समय स्थानीय राजनीतिमा सक्रिय रहँदै आएका थिए । लामो समय नेपाली कांग्रेसमा सक्रिय रहेका पाण्डे पछिल्ला वर्षहरूमा उक्त पार्टीबाट टाढिएका थिए । पाण्डे जिल्लाको धुर्कोट गाउँपालिका– ५ बस्तुका स्थानीयवासी हुन् ।
‘विकास नायक २०८२’ को खोजी
विकास मिडियाद्वारा प्रकाशित Bikashnews.com र देशविकास पत्रिकाले विगतमा झैं यस वर्ष पनि विकास नायकको खोजी गर्ने, उनीहरूले गरेको कार्यहरूको रिपोर्ट बनाउने, विकासन्युज (डिजिटल पत्रिका) र देशविकास म्यागेजिनमा प्रकाशन गर्ने तयारीमा रहेका छौं । यस वर्षदेखि विकास नायकहरुलाई सम्मानसमेत गर्ने तयारी भइरहेको छ । विकास नायक मनोनयन फारम भर्न यहाँ क्लिक गर्नुहोस् । देशविकासका लागि बहुआयामिक सूचकाङ्क हुन्छन् । पर्याप्त अवसरसहित उच्चस्तरकोे आम्दानी र गुणस्तरीय जीवनशैली आधुनिक विकासको प्रमुख सूचक हुन् । त्यसको लागि लगानी वृद्धि र उच्चदरको आर्थिक वृद्धि पहिलो आधार हो । प्रभावकारी नीति निर्माण, प्रशासनिक सुधार, विश्वासिलो सुरक्षा तथा न्याय प्रणालीको विकास राज्यस्तरबाट अनिवार्य हुनैपर्छ । आधुनिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा हरेक मानिसको लागि गाँस, बास र कपास जत्तिकै आधारभूत आवश्यकता हुन् । नवीन प्रविधिको विकास र प्रयोगले सबै मानिसको जीवनशैली सरल बन्दै गएको छ । अवसरहरू सिर्जना गर्नका लागि पूर्वाधार निर्माण, उद्योग, व्यापार, कृषि, पर्यटन, यातायात तथा विविध सेवा क्षेत्रमा लगानी वृद्धि हुनैपर्छ । बैंकिङ, बीमा, पुँजीबजार लगायत वित्तीय सेवाको क्षेत्रले अर्थतन्त्रमा रक्तसञ्चारको काम गरिरहेको छ । खेलकुद, कला, संस्कृति र समाजसेवाका कार्यले समाजलाई सुन्दर र सन्तुष्ट बनाउन मद्दत गर्छ । हरेक क्षेत्रमा उल्लेखनीय र दीर्घकालीन विकासमा उल्लेख्य योगदान गर्ने व्यक्ति (प्राकृतिक व्यक्ति तथा संस्था) नै विकास नायक हुन् । विकास नायकहरूले नै हो देश समृद्ध बनाउने । देश विकासको कार्य निरन्तर चलिरहन्छ । समाजमा विकास नायकको जन्म पनि भइरहन्छ । यही मान्यतामा आधारित रहेर विकास मिडियाले हरेक वर्ष १० विकास नायकको खोजी गर्ने र उनीहरूले गरेका अनुकरणीय कार्य रिपोर्टिङि गर्ने, देशविकास पत्रिका र विकासन्युज अनलाइनमा प्रकाशित गर्ने कार्य गर्दै आएको छ । हामी यस वर्षदेखि विकास नायकहरूलाई सम्मान कार्यक्रमको समेत तयारीमा रहेका छौं । जसले देश विकासमा साहसिक काम गरेको छ, उदाहरणीय काम गरेको छ र अरुलाई उत्प्रेरित गरेको छ–उसको खोजी गर्नु र कुनै एक स्थानमा भएको अनुकरणीय कार्यको सन्देश समाजका अन्य स्थानका समूदायसम्म पुर्याउनु, सफलताका कार्याअनुभव अरूलाई पनि सुनाउनु र मानिसहरूमा सकारात्मक सन्देशसहित उत्प्रेरणा जगाउनु यस अभियानको लक्ष्य हो । तपाईंको सिफारिस, तपाईंले दिएको सूचना, सम्बद्ध स्रोतहरूबाट प्राप्त सूचनाहरू, हाम्रा सहकर्मीहरूले संकलन गरेको सूचनाहरूको आधारमा हामी सम्भावित पात्रहरूको सूची बनाउँछौं । उनीहरूले गरेको कार्यले अर्थतन्त्र र समाजमा परेको प्रभाव, त्यसमा अपनाइएको नवप्रवर्तन, सहभागिता, समावेशीता, पारदर्शिता, नैतिकता, त्यस कार्यको स्थायित्व र त्यसले दिने प्रेरणादायी सन्देशलगायत मानकका आधारमा छनौट समितिले लिएको निर्णयका आधारमा हामी आन्तरिक रूपमा फरक–फरक विधाबाट १० विकास नायक सूची बनाउँछौं । उनीहरूको काम र प्रभावबारे रिपोर्ट बनाउँछौं, प्रकाशित गर्छौं । प्रबुद्ध वर्गको उपस्थितिमा विकास नायक घोषणा गर्छौ र सम्मान गर्दछौं । विकास नायक घोषणा र सम्मान विकास मिडियाको वार्षिक उत्सवका दिन अर्थात् जनवरी पहिलो आइतबार अर्थात् २०८२ पुस २० गते गरिनेछ । आउनूहोस्, विकास नायक छनौटमा सहभागी हुनूहोस् । मनोनयन फारम २०८२ मंसिर १८ गतेसम्म भरिसक्नुपर्नेछ । (मंसिर ८ गते अपडेट गरिएको-सम्पादक) यो पनि पढ्नुहोस् ‘विकास नायक’ मनोनयन समय थप्ने निर्णायक समितिको निर्णय सिधा सम्पर्क: [email protected], whatsapp 9801130454 विकास नायक श्रृङ्खला
४२ प्रतिशत लाभांश बाँड्ने एनआरएन इन्फ्रान्स्ट्रक्चरको घोषणा
काठमाडौं । एनआरएन इन्फ्रान्स्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ४२ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र २.१०५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको निर्णय गरेको हो । साथै बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय पनि बैठकले गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड ४३ लाख ७२ हजार २८५ रुपैयाँ रहेको छ । जस अनुसार कम्पनीले कर प्रयोजनका लागि २ करोड ७० लाख ३९ हजार ४१६.५३ रुपैयाँ बराबरको नगद लाभांश र ५१ करोड ३७ लाख ४८ हजार ९१४ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । साथै सोही बैठकले आगामी पुस ४ गते काठमाडौंको आम्रपाली ब्यान्क्वेटमा बिहान ९ बजे तेह्रौं वार्षिक साधारणसभा पनि डाकेको छ ।
आज ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
काठमाडाैं । नेपाल राष्ट्र बैंकले बुधवार (आज) ५० अर्ब निक्षेप तान्दैछ । दशैं–तिहारपछि पनि निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ वैशाख २३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ। खासगरी केन्द्रीय बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश दिने
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कात्तिक २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले १५ प्रतिशतका दरले लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।