विकासन्युज

मेलम्ची खानेपानीमा देखिएका समस्या समाधान, स्थानीयका माग पूरा गर्न मन्त्रालय तयार

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो । सहमतिअनुसार आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरु, बाढी पीडित सङ्घर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाल जस्ता विभिन्न सरोकारवालाबाट समय समयमा राखिएका मागका सम्बोधन गरिनेछ । ‘मेलम्ची खानेपानी विकास समितिको गठन आदेश, २०७९ जारी भएपछि अर्थ मन्त्रालयबाट पुँजीगत रकम निकासा प्रक्रियामा देखिएको प्राविधिक जटिलताको कारणले आव २०७९/८० देखि हालसम्म रकम निकासा हुन नसकेको विषयलाई फुकाउनका लागि स्थानीय तहबाट प्राप्त लिखित सहमति समेतको आधारमा मेलम्ची खानेपानी विकास समिति सञ्चालक समितिबाट भएको निर्णय बमोजिमको मस्यौदा तयार गरी संशोधनका लागि सम्बन्धित निकायमा पेस गरिनेछ,’ सहमतिमा भनिएको छ । त्यसका लागि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सत्य तथ्य सङ्कलन गरिनेछ । राहत तथा क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयमा अनुरोध गरिनेछ । सो समितिमा मेलम्ची खानेपानी विकास समिति र स्थानीय सरोकारवाला पीडित पक्षको तर्फबाट तीन जना प्रतिनिधि रहने गरी प्रक्रिया अगाडि बढाउने र यस कार्यलाई ३ महिनाभित्र सम्पन्न गरिनेछ । विभिन्न समयमा आएकाको बाढीको कारण मेलम्ची प्रभावित क्षेत्रमा भएको जनधनको क्षति, उद्योग व्यवसाय, कृषि फर्म तथा दैनिक जीवनयापनमा परेको प्रभाव समेतको अध्ययन गरिनेछ । स्थानीय भेण्डरहरुको बक्यौता रकम निकासा गर्ने निर्णय अनुसार अर्थ मन्त्रालयबाट हालसम्म निकासा हुन नसकेकाले निकासा गराई १५ दिनभित्र निकासा गरिनेछ । आयोजनाबाट वितरण हुने खानेपानीको परिपूरण निर्धारणका सम्बन्धमा यसअघि गठन भएका समितिका प्रतिवेदन समेतका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरी ४५ दिनभित्र मन्त्रिपरिषदमा पेश गरिने सहमति भएको छ । यस्तै, मेलम्ची अम्बाथान मेलम्ची घ्यांग सडक निर्माणका लागि विनियोजन भएको बजेट रकममध्ये २५ करोड रुपैयाँ सडक विभागलाई हस्तान्तरण भइसकेको हुँदा उक्त रकमको ठेक्का प्रक्रिया अगाडि बढाइनेछ । सो सडकलाई बहुबर्षीय ठेक्का योजना अन्तर्गत १ अर्ब रुपैयाँको स्रोत सहमति लिई डिभिजन सडक कार्यालय, दोलखाले बोलपत्रको प्रक्रिया तत्काल अगाडि बढाइनेछ । स्थानीय सामाजिक उत्थानका कार्यक्रम समितिका लागि विनियोजन भएको रकम ४ करोड रुपैयाँ र थप रकम १९ करोड रुपैयाँ निकासाको लागि अर्थ मन्त्रालयमा अनुरोध गरिनेछ । मेलम्ची हेलम्बु एकीकृत विकास कोरिडोर विकास कार्यक्रम अगामी आवका लागि प्रस्ताव गर्ने सहमति भएको छ । सहमति भए पश्चात् आयोजनामा देखिएको समस्या तत्कालका लागि समाधान भएको छ । सहमतिपत्रमा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले हस्ताक्षर गरेका छन् । यस्तै, सहमतिपत्रमा स्थानीयबासी तथा सरोकारवाला समूहका तर्फबाट हस्ताक्षर भएको छ । यस्तै, मेलम्ची खानेपानी विकास समितिका तर्फबाट कार्यकारी निर्देशक जगरनाथ दासलगायतले हस्ताक्षर गरेका छन् ।  नेपाल सरकार, सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको उपस्थितिमा उक्त सहमति भएको हो ।

मनास्लु आरोहणको वैकल्पिक मार्ग खोजी, पद मार्गमा करिब ३० वटा होटल

काठमाडौं । हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिकाले मनास्लु हिमाल आरोहणको नयाँ पद मार्गको प्रारम्भिक अध्ययन सुरु गरेको छ । मनास्लु आरोहणका लागि सहज बाटो पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको समन्वय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रायोजनमा पद मार्ग सर्वेक्षण सुरु गरिएको छ । हाल मनास्लु आरोही काठमाडौंबाट गोरखाको आरुघाट, सामागाउँ हुँदै यात्रा गर्छन् । पूर्वतर्फबाट मनास्लु आरोहण सुरु गर्छन् । तर, मनाङको नासोँ गाउँपालिकाले काठमाडौंबाट लमजुङको बेंसीशहर हुँदै धारापानी, तिल्चे, गुवा, सुती खोला, याकखर्क हुँदै भीमथाङमा बास बसेर पश्चिमतर्फबाट आरोहणको सम्भावनाबारे अध्ययन सुरु गरेको छ । सामागाउँ र भीमथाङ दुवैतर्फको आरोहण मार्ग ६ हजार मिटर उचाइ क्याम्प थ्रीमा पुगेर मिसिन्छ । गोरखामा पर्ने यस हिमाल ८ हजार १६३ मिटर अग्लो छ । सन् १९५६ मे ९ मा जापानका टी इमानिस र नेपालका ग्याल्सेन नोर्बुले यस हिमालको पहिलो पटक आरोहण गरेका थिए । त्यतिबेला भीमथाङबाटै आरोहण भएको र पछि पदमार्गमा क्षति पुगेपछि सामागाउँतर्फबाट आरोहण थालिएको नासोँ गाउँपालिका अध्यक्ष गुरुङले बताए । पुनःभीमथाङबाट आरोहणको सम्भावनाबारे प्रारम्भिक अध्ययनमा संलग्न कर्मा शेर्पाले थप अध्ययन आवश्यक रहेको बताए । ‘हामी जाँदा हिउँ थियो, त्यसैले थप अध्ययन आवश्यक छ । भीमथाङतर्फको मार्गमा पहिरोको जोखिम कति छ । सहज हुन्छ कि हुँदैन भन्ने जस्ता विभिन्न प्राविधिक विषयको अध्ययन गर्नुपर्ने देखिन्छ,’ उनले भने । शेर्पाले पहिलो चरणमा फोटो/भिडियो खिचेर ल्याएको र अनुभवी आरोहीबाट त्यसको विश्लेषण गरेर निष्कर्ष निकाल्न बाँकी रहेको बताए । गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले अनुभवी माउण्टेन गाइडको सहभागितामा प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेको तर निष्कर्ष आउन बाँकी रहेको बताए ।  यदि भीमथाङतर्फको मार्गबाट आरोहण गर्न सम्भाव्यता पुष्टि भएमा सबैभन्दा सजिलो र छोटो मार्ग यही हुने उनको भनाइ छ ।  ‘हामीले भीमथाङबाट मनास्लु आरोहणको सपना देखेका छौँ । यदि यो सफल भएमा नेपालको आठ हजार मिटरभन्दा माथि बेस क्याम्पसम्म पुग्ने छोटो दुरीको पद मार्ग भनेको नै यही हुनेछ,’ अध्यक्ष गुरुङले भने । काठमाडौंबाट लमजुङको बेंसीसहर हुँदै मनाङको तिल्चे गाउँसम्म बस वा गाडीमा यात्रा गर्न सकिन्छ । त्यसपछि तिल्चेबाट पैदल हिँडेर गुवा, सुती खोला, याकखर्क हुँदै भीमथाङमा बास बस्न सकिन्छ । त्यहाँबाट सिधैँ मनास्लुको बेस क्याम्पमा साढे २ दिनमै पुग्न सकिन्छ । यस मार्ग मनास्लु आरोहणको सबैभन्दा छोटो दुरी रहेको गाउँपालिका अध्यक्ष गुरुङले बताए । यस पद मार्गमा करिब ३० वटा होटल रहेका छन् । ३ हजार ७०० मिटरको उचाइमा रहेको भिमथाङमा मात्रै ११ वटा होटल रहेका छन् । यहाँ मात्रै ५०० जना अट्न सक्ने क्षमता रहेको छ । उनले भने, ‘हिमाल आरोहणका लागि सकारात्मक आउने विश्वास छ र आगामी दिनमा यही छोटो रुटबाट मनास्लु आरोहण गर्न पाइनेछ । मितव्ययिताको साथ छोटो दुरीको पदयात्रामार्फत आठ हजार मिटर माथिको हिमाल आरोहण गर्न सकिन्छ कि भनेर सर्वेक्षण गरिरहेका छौँ । यस सर्वेक्षणले सफलता पाउने अपेक्षा गरेका छौँ ।’ अहिले धारापानीबाट पदयात्रामार्फत तिल्चे, गुवा, सुती खोला, याकखर्क, भीमथाङ हुँदै मनास्लु आरोहणका लागि जाने गर्दछन् । छोटो समयमा पुग्ने भएकाले यस मार्गलाई केही आरोहीले मनाङको पदमार्ग हुँदै यस हिमाल आरोहण गर्ने गरेका छन् । आरोही तथा पथ प्रदर्शकले मनास्लु आरोहणमा जाँदा यस मार्ग छोटो पर्ने गरेका बताउँछन् । यस सर्वेक्षणले मार्ग पहिचान तथा अनुमति पाएमा आरोही तथा पथ प्रदर्शकलाई सहज हुनेछ । 

औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा २ हजार १३९ घटना भएकामा यस वर्ष १ हजार ४५४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, विपद्मा परेर गत वर्ष ४९५ जनाको निधन भएकामा यस वर्ष १४० जनाको ज्यान भएको छ । गत वर्ष विपद्का कारण १० हजार ८२३ घरपरिवार प्रभावित भएकामा यस वर्ष ५ हजार ९९५ घरपरिवार प्रभावित भएका छन् । विपद्मा परेर गत वर्ष ६६ जना बेपत्ता भएकामा यस वर्ष ३० जना बेपत्ता भएका छन् । गत वर्ष विपद्जन्य घटनामा परेर ५२२ जना घाइते भएकामा यस वर्ष ३ सय जना घाइते भएको प्राधिकरणको विवरणमा उल्लेख छ । प्राधिकरणका अनुसार, यस वर्ष बाढीका २९२, पहिरोका ५१३, भारी वर्षा ३९७ र चट्याङका २५२ वटा घटना भएका थिए । बाढीमा परेर ३७ जनाको मृत्यु, २६ जना बेपत्ता र १४ जना घाइते हुँदा ३ हजार २ सय घरपरिवार प्रत्यक्ष प्रभावित भएका थिए । यस्तै पहिरोमा परेर ६७ जनाको मृत्यु, ४ जना बेपत्ता र ७७ जना घाइते भएका थिए भने १ हजार ५१८ घरपरिवार प्रभावित भएका छन् । भारी वर्षाका कारण ७ जनाको मृत्यु, २० जना घाइते भए भने ९६६ घरपरिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार, चट्याङमा परेर २९ जनाको मृत्यु, १८९ घाइते हुँदा ३११ घरपरिवार प्रभावित भएका छन् । यस वर्ष मनसुन सरदरभन्दा बढी अवधिसम्म रह्यो । सरदरभन्दा केही दिनअघि अर्थात् २०८२ जेठ १५ गते नेपाल प्रवेश गरेको मनसुन १३५ दिन रहेर गत असोज २४ गते बाहिरिएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुन अवधिमा १ हजार ३७५.४ मिलिमिटर वर्षा भएको छ । जुन सरदर १ हजार ४१५.५ मिलिमिटर वर्षाको तुलनामा ९७.२३ प्रतिशत हो । औसतभन्दा बढी वर्षा भएपनि मानवीय तथा भौतिक क्षति विगत बर्षको तुलनामा कम भएको थियो ।  मनसुनको अन्त्यतिर अर्थात् गत असोज १७ देखि २० गतेसम्म ५३ जनाको ज्यान गएको थियो । मनसुनमा मानवीय क्षतिको हिसाबले इलाम सबैभन्दा बढी प्रभावित भएको थियो । इलाममा मात्रै ३९ जनाको ज्यान गएको थियो । सरकारले इलामलाई ३ महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । रसुवाको भोटेकोशीमा गत असार २४ गते गएको बाढीका कारण १८ जना बेपत्ता भएकामा ११ वटा शव तथा मानव अंग फेला परेको थियो । बाढीले रसुवागढी नाकामा रहेको मितेरी पुल बगायो । सुक्खा बन्दरगाह र ३ वटा जलविद्युत् आयोजानमा अर्बौको क्षति भयो । कार्गोसहित ७६ वटा गाडी बगायो । मनसुनको सुरुवातमा मधेश प्रदेशमा सुक्खाको समस्याबाट प्रभावित भयो । सरकारले मधेश प्रदेशलाई गत सायन ८ गते तीन महिनाका लागि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ पारित गरी सबै निकायलाई एकीकृत रुपमा परिचालन गरेका कारण क्षति कम भएको अनुमान गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा कमाण्ड सेन्टर स्थापना गरी लगातार ३८ घण्टासम्म स्म्बन्धित सरोकारवालासँग  समन्वय तथा निर्देशन जारी भएको थियो ।   यस्तो छ १० वर्षको विवरण प्राधिकरणका अनुसार, २०७३ सालमा ६४२ विपदजन्य घटना भई २८९ जनाको निधन भएको थियो । यस्तै, २०७४ मा ६२४ वटा विपदजन्य घटनामा परेर २८९ जनाको ज्यान गएको थियो । प्राधिकरणका अनुसार, २०७५ मा ६९३ विपदजन्य घटनामा परेर १२२ जनाको ज्यान गयो । यस्तै, २०७६मा ८४६ विपदजन्य घटनामा परेर २०३ जनाको निधन भएको थियो । यस्तै, २०७७ मा १ हजार १५ विपदजन्य घटनामा परेर ३८२ जनाले अकालमा ज्यान गुमाउनु पर्यो । प्राधिकरणको विवरण अनुसार, २०७८ मा ७३७ विपदजन्य घटनामा परेर १६५ जनाको निधन भयो । त्यस्तै, २०७९ मा ७१२ वटा विपदजन्य घटनामा परेर १७९ जनाको ज्यान गयो । त्यसैगरी, २०८० मा ८९१ वटा विपदजन्य घटनामा परेर ९२ जनाको ज्यान गयो । विसं २०८१ मा २ हजार १३९ वटा विपदजन्य घटनामा परेर ४९५ जनाको निधन भएको प्राधिकरणले जनाएको छ ।

सिटिजन लाइफको अवार्ड वितरण र सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले देशका विभिन्न क्षेत्रमा आयोजना गरेको ‘अवार्ड वितरण तथा सीप अभिवृद्धि समारोह’ सम्पन्न गरेको छ । कार्यक्रमको मुख्य उद्देश्य सिटिजन लिडरहरूबीच आत्मविश्वास, प्रेरणा र सहकार्य प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ । प्रत्येक कार्यक्रममा २५० देखि ३६० जना सहभागी भएका थिए । कार्यक्रमका क्रममा आर्थिक वर्ष २०८१/८२ का ‘ब्रोनज क्लब क्वालिफायर’ हरूलाई सम्मान गरिएको थियो ।  साथै विभिन्न दिनहरूमा उत्कृष्ट प्रदर्शन गर्ने ‘हिरो अफ द डे’ उपाधि प्राप्त लिडरहरूलाई पुरस्कार प्रदान गरिएको थियो । तालिम सत्र कम्पनीका ट्रेनिङ विभाग प्रमुख, प्रमुख व्यवसाय अधिकृत, प्रमुख बजार व्यवस्थापन अधिकृत र प्रमुख कार्यकारी अधिकृतले सञ्चालन गरेका थिए । उनीहरूको प्रेरणादायी सत्रले सहभागीहरूमा नयाँ उत्साह र जोश भरिएको कम्पनीको भनाइ छ । कार्यक्रमपछि आयोजित मनोरञ्जनात्मक सत्रमा लोकप्रिय लोकगायक मिलन लामाले पोखरा र काठमाडौंमा आफ्ना गीत प्रस्तुत गरी माहोल झनै रोचक बनाएका थिए । सहभागीहरूले यसबाट नयाँ ऊर्जा र प्रेरणा प्राप्त गरेको बताएका छन् । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना लिडरहरूमा सकारात्मक सोच र पेशागत क्षमता फैलाउने संस्कृतिलाई निरन्तरता दिँदै आएको जनाएको छ ।  कम्पनीका अनुसार कडा मेहनत गर्ने लिडरहरूको सम्मान र पुरस्कार प्रदान गर्नु यसको नीति र मूल्यको महत्त्वपूर्ण अङ्ग हो । निकट भविष्यमा पश्चिम तथा हेटौंडा क्षेत्रका कार्यक्रमहरू पनि सम्पन्न गरिने कम्पनीले जानकारी दिएको छ ।

कुमारी बैंकको नयाँ निक्षेप योजना सार्वजनिक, हरेक खातामा एउटा रुख रोपिने

काठमाडौं । कुमारी बैंकले ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ ।  ‘एक खाता एक रुख’ सिद्धान्तमा आधारित यो योजना अन्तर्गत खोलिने हरेक खाता बापत एक रुख बैंकका तर्फबाट रोपिने बैंकले जनाएको छ । बैंकका अनुसार प्रत्येक निक्षेपकर्ताहरूको पर्यावरण संरक्षण तथा प्रवर्द्धनमा अप्रत्यक्ष रूपमा सहभागिता रहनेछ। ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट खोल्दा साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत अधिक ब्याजदर, एक लाखसम्मको बीमा सुविधा, दुई वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा, दुई लाखसम्मको फोनलोन सुविधा (योग्यताअनुसार) पाइने बैंकका दिगो बैकिङ विभागका प्रमुख अर्पण पौडेलले जानकारी दिए । यस योजनाबाट संकलन हुने निक्षेपलाई दिगो विकास प्रवद्र्धन गर्ने, पर्यावरणलाई सकरात्मक प्रभाव सृजना गर्ने क्षेत्रमा कर्जा प्रवाह गर्ने तथा प्रत्येक खाताबापत एक रुख रोप्ने भएकोले यस अभ्यासबाट वातावरण संरक्षणमा दोहोरो प्रभाव सृजना हुने उनले बताए ।  सबै शाखाहरूमा यो योजना उपलब्ध गराएको बैंकले जनाएको छ ।  इच्छुक ग्राहकहरूले बैंकको वेबसाइट वा नजिकको शाखामा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने जनाइएको छ । विगत २४ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्नो ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ ईकाईहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपालका मन्त्रीहरू भटाभट भारत भ्रमणमा

काठमाडौं । खर्च कटौतीको नाउँमा विकास आयोजनाका बजेटसमेत कटौती गरेको अन्तरिम सरकारका मन्त्रीहरू धमाधम विदेश भ्रमण गर्न थालेका छन् ।  खर्च कटौतीका लागि विकासे मन्त्रालयका १३ सय आयोजना कटौती गरेको सरकारले मन्त्रालयका सहसचिवहरूको उपस्थिति भए हुने भ्रमणमा मन्त्रीहरूको भ्रमण धमाधम स्वीकृत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ कार्त्तिक १० गते भारत गएका थिए ।  सौर्य गठबन्धनको आठौं सभामा सहभागी भएर उनी फर्किसकेका छन् । ऊर्जा तथा जलस्रोत मन्त्रालयका एकजना सहसचिवका अनुसार उक्त बैठकमा पहिले सहसचिव जाने तयारी थियो । पछि मन्त्री जाने भएपछि सहसचिवहरूको च्याप्टर क्लोज भएको छ । अब लगत्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा भारत जान लागेका छन् ।  उनी कात्तिक २८ र २९ गते विशाखापटनम्मा हुने ३०औं पार्टनरशिप समिटमा सहभागी हुन भारत जान लागेका हुन् ।  मन्त्रिपरिषद्ले उनको भ्रमण पहिल्यै स्वीकृत गरिसकेको छ ।

बीमा कम्पनीहरूमा जेनजी आन्दोलनको दाबी रकम बढ्यो, ३ अर्ब ६८ करोडमात्रै भुक्तानी

काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशभर भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बढेको छ । बीमा प्राधिकरणका अनुसार हालसम्म बीमा कम्पनीहरूमा २३ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको दाबी परेको छ। बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा कुल ३ हजार २४६ वटा बीमा दाबीको २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँको दाबी परेको हो ।  दाबीअनुसार बीमा कम्पनीहरूले भुक्तानी गर्ने रकम भने न्यून देखिन्छ । प्राधिकरणका अनुसार हालसम्म बीमा कम्पनीहरूले ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ बराबरको दाबीबापतको रकम भुक्तानी गरेका छन् । बीमा कमपनीहरूले इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको ५४ करोड ७५ लाख दाबी रकममध्ये ६ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेका छन्।  त्यस्तै, परिवहन बीमातर्फ १२ वटा दाबीको १ करोड ६८ लाख दाबी रकममध्ये करिब ७ लाख र अन्य बीमातर्फ ४२ वटा दाबीको  ३९ करोड ३० लाख दाबी रकममध्ये २३ लाख अग्रिम भुक्तानीसमेत गरी दाबी रकम भुक्तानी गरेको जनाएको छ । सबैभन्दा धेरै दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा देखिएको छ । उक्त कम्पनीले ४०१ वटा दाबीको ५ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । कम्पनीले हालसम्म १ अर्ब ५७ करोड ५१ लाख रुपैयाँ भुक्तानी गरेको छ ।   दोस्रो धेरै क्षतिको दाबी ओरिएन्टल इन्स्योरेन्समा ५ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ बराबरको १०१ वटा दाबी परेको छ । जसमध्ये हालसम्म कम्पनीले ४ करोड १९ लाख रुपैयाँमात्रै भुक्तानी गरेको छ । तेस्रोमा आईजीआई प्रिडेन्सियल इन्स्योरेन्सले २१६ वटा दाबीको २ अर्ब ७९ करोड ९१  लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । जसमध्ये हालसम्म कम्पनीले ५५ करोड ४४ लाख रुपैयाँ भुक्तानी गरेको छ ।  प्राधिकरणका अनुसार शिखर इन्स्यारेन्समा २ अर्ब ४२ करोड १ लाख रुपैयाँ बराबरको ४४५ वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ५७ करोड २६ लाख रुपैयाँको ४४५ वटा, नेको इन्स्योरेन्समा १ अर्ब १६ करोड ६८ लाख रुपैयाँको २७२ वटा, हिमालयन एभरेष्ट इन्स्योरेन्समा ९७ करोड १६ लाख रुपैयाँको २७१ वटा, सानिमा जिआइसी इन्स्योरेन्समा ९२ करोड १ लाख रुपैयाँको १७८ वटा दाबी परेको छ । हालसम्म शिखरले ६६ करोड २६ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीले ८ करोड ७४ लाख रुपैयाँ, नेकोले १९ करोड ३९ लाख रुपैयाँ, हिमालयन एभरेष्टले २७ करोड ४३ लाख, सानिमा जिआइसीले ७ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन् । त्यस्तै, यसैगरी युनाइटेड अजोड इन्स्योरेन्सले २३८ वटा दाबीको ६३ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २१६ वटा दाबीको ६३ करोड ८१ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २४७ वटा दाबीको ५८ करोड ६९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १११ वटा दाबीको ४६ करोड २९ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १११ वटा दाबीको ४६ करोड ९५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।  हालसम्म युनाइटेडले २ करोड ३८ लाख रुपैयाँ, एनएलजीले ६ करोड ५९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ११ करोड ५७ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले ३१ लाख रुपैयाँ भुक्तानी गरेका छन् । पुनर्बीमा कम्पनीबाट २ अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई हालसम्म २ अर्ब ४८ करोड १० लाख रुपैयाँ अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको छ ।  नेपाल पुनर्बीमा कम्पनीमा परेका कुल २ हजार ८५७ वटा पुनर्बीमा दाबीको दाबी १५ अर्ब ८२ करोड ७० लाख रहेको छ ।

तालिका थप भएपछि भोजपुर–काठमाडौं अब चार उडान

टक्सार । पहाडी जिल्ला भोजपुरमा नेपाल वायुसेवा निगमले उडान थप गरेको छ । विगतमा हप्तामा दुई उडान मात्र भोजपुर–काठमाडौं हुँदै आएकामा अब चार उडान हुनेछन् ।     प्राविधिक कारणले केही समयका लागि कटौती गरिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको काठमाडौं–भोजपुर–काठमाडौं उडान तालिका थप भएको निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले जानकारी दिए । उनका अनुसार यही कात्तिक २६ गतेदेखि लागू हुनेगरी अब  मंगलबार, बुधबार, बिहीबार र शनिबार नियमित उडान सञ्चालन गरिनेछ । यसभन्दा अगाडि बिहीबार र शनिबार मात्र उडान हुँदै आइरहेको थियो ।     मर्मतमा रहेको अर्को जहाज पनि सञ्चालनमा आएसँगै भोजपुरमा पनि उडान थप गरिएको छ । निगमले यात्रुहरूलाई आफ्नो यात्रा सुनिश्चित गर्नका लागि आधिकारिक ‘वेबसाइट’मार्फत ‘अनलाइन टिकट’ खरिद गर्न सकिने व्यवस्थासमेत गर्दै आइरहेको छ ।     यहाँ यातायातका साधन सञ्चालनमा आएसँगै भोजपुर–विराटनगरको उडान भने बन्द भएको छ । विसं २०३५ मा घाँसेमैदानबाट सुरु भएको उडान अहिले विमानस्थल कालोपत्र भए पनि निगमको जहाजले मात्र उडान गर्दै आइरहेको छ । उडान कम हुँदा भोजपुरबाट काठमाडौं जाने र आउने यात्रु मारमा पर्दै आइरहेका छन् ।