विकासन्युज

विघटित प्रतिनिधिसभा पुनःस्थापनाको मागमा देशभर एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै देशभरका स्थानीय तहमा प्रदर्शन गरेको छ । पार्टीको जनपरिचालन कार्यक्रम अन्तर्गत मंगलबार विभिन्न नगरपालिका र गाउँपालिकामा मोटरसाइकल ‍र्याली, नारा जुलुस र सभाहरूको आयोजना गरिएको एमालेले जनाएको छ । एमालेका अनुसार उक्त कार्यक्रमको उद्देश्य जनतामाझ पार्टीको आन्दोलनका एजेन्डा स्पष्ट पार्ने र प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा जनमत सृजना गर्ने रहेको छ । पार्टीका स्थानीय नेताहरूले र्यालीहरूमा सहभागी जनतालाई सम्बोधन गर्दै वर्तमान राजनीतिक अवस्थाको विरोध र लोकतान्त्रिक अभ्यासको रक्षा गर्न सबैलाई एकजुट हुन आग्रह गरेका छन् । देशका सबै स्थानीय तहहरूमा एकैसाथ आयोजित यी प्रदर्शनहरूमा पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको एमालेका प्रवक्ता राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

ग्राहकहरूलाई प्यान र इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले हालै जारी गरेको सूचनामार्फत ग्राहकहरूले आफ्नो विवरण सही रूपमा अद्यावधिक गर्न अनुरोध गरेको हो । बैंकका अनुसार, ‘प्यान अद्यावधिक’ र ‘इमेल अद्यावधिक’ प्रक्रिया पूरा गर्न ग्राहकहरूले  panupdate.nicasiabank.comमा लगइन गरी वा एनआईसी एशिया मोबाइल बैंकिङ अनुप्रयोग (मोबैंक) मार्फत आवश्यक विवरण भर्न सक्नेछन् । यस प्रक्रिया अन्तर्गत पहिले नै विवरण अद्यावधिक गरिसकेकाहरूलाई पुनः दर्ता गर्न आवश्यक पर्नेछ भने नयाँ विवरण भर्न चाहनेहरूले मात्र आवेदन दिन सक्नेछन् । प्यान अद्यावधिक प्रक्रिया इलेक्ट्रोनिक कर कट्टी प्रणाली (ई–टीडिएस) मा विवरण पठाउने तयारीसँग सम्बन्धित रहेको बैंकले जनाएको छ । यस अन्तर्गत प्यान नअद्यावधिक भएका ग्राहकहरूको विवरण ई–टीडिएस प्रणालीमा पठाउन कठिनाइ हुने भएकाले कर विवरण सम्बन्धी त्रुटि हुन सक्ने सम्भावना रहन्छ। त्यसैले बैंकले सबै ग्राहकहरूलाई तत्काल प्यान अद्यावधिक गर्न आग्रह गरेको छ । त्यस्तै, ग्राहकहरूले आफ्नो इमेल ठेगाना अद्यावधिक पनि अनलाइनमार्फत गर्न सक्नेछन् ।  यसको लागि बैंकको वेबसाइट वा मोबैंक अनुप्रयोगको ‘मेरो प्रोफाइल’ भागमा गएर ‘इमेल परिवर्तन’ विकल्प प्रयोग गर्न सकिनेछ । बैंकका अनुसार प्यान र इमेल विवरण अद्यावधिक गर्नु बैंकिङ सेवा निरन्तरता, कर विवरण व्यवस्थापन तथा ग्राहकहरूसँग सहज सम्पर्क सुनिश्चित गर्न अत्यावश्यक रहेको छ । बैंकले यो प्रक्रियाबाट आफ्नो सेवा अझ पारदर्शी, सुरक्षित र ग्राहकमैत्री बनाउन सकिने विश्वास व्यक्त गरेको छ ।

होटल पौवाको १६औं शाखा चितवनको भरतपुरमा : देशभरका सेफहरूले पस्किँदै ‘नेपाली स्वाद’

चितवन । होटल पौवाले १६औं शाखा चितवनको भरतपुरमा समारोहबीच औपचारिक रूपमा सञ्चालनमा ल्याउने भएको छ । नयाँ शाखाको उद्घाटनसँगै तीन दिनसम्म वृहत् नेपाली खाना प्रवर्द्धन कार्यक्रम हुने भएको छ । कात्तिक २७, २८ र २९ गतेसम्म चल्ने उक्त वृहत् नेपाली खाना प्रदर्शनीमा देशभरका पौवाका शाखाबाट आएका सेफहरूले आफुले तयार पारेका खाद्य कला पस्किनेछन् ।  होटल पौवाको ब्राण्डिङ विभाग प्रमुख विष्णु भण्डारीका अनुसार उद्घाटन समारोह र खाना प्रवद्र्धनका लागि चितवन, नवलपुर र आसपासमा झण्डै ४० हजार पाहुनालाई निमन्त्रणा गरिएको छ । 'पौवाको विशिष्ट स्वाद, नेपालीपनको सेवा र आतिथ्यको वास्तविक अनुभव सहभागीहरूले प्रत्यक्ष रूपमा लिन सक्नेछन्,' भण्डारीले भने । भरतपुर शाखामा १७ ओटा लक्जरी कोठासहितको छुट्टै ब्लक रहेको छ । आकर्षक रेस्टुरेन्ट, बालबालिकाका लागि खेल्ने ठाउँ, सुन्दर गार्डेन र प्रशस्त पार्किङ सुविधा रहेको छ । विवाह, ब्रतबन्ध तथा कर्पोरेट कार्यक्रमका लागि दुईवटा विशाल हल, साना बैठक र परिवारिक भेटघाटका लागि १० वटा फरक–फरक क्षमताका हल उपलब्ध छ । निकट भविष्यमै थप १२ कोठाको सुविधासम्पन्न आवास भवन निर्माणको चरणमा छ । यसका साथै, सौराहा, मौलाकाली, मनकामना र अन्य धार्मिक तथा पर्यटकीय गन्तव्यहरू समेटिएका विशेष टुर प्याकेजहरू पनि शाखाले प्रदान गर्नेछ । भरतपुरको मध्यभागमा अवस्थित पौवाले आतिथ्य उद्योगका सबै विधामा सेवा प्रदान गरेको छ ।  मंगलबार आयोजित पत्रकार सम्मेलनमा होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले चुनौतीपूर्ण लगानी वातावरणका बीच पनि पौवाले पर्यटन र आतिथ्य व्यवसायलाई देशव्यापी रूपमा विस्तार गरिरहेको बताए । उनले भने, 'नेपाल पर्यटकीय सम्भावनाले भरिएको मुलुक हो । यहाँ आउने हरेक पर्यटकलाई पहिलो अनुभव नै हस्पिटालिटीको हुनुपर्छ । त्यसैले पौवाले ‘आतिथ्यता र स्वाद’लाई आफ्नो मिशनको केन्द्रमा राखेको छ ।' पछिल्लो समयको राजनीतिक आन्दोलन र आर्थिक अनिश्चितताले लगानीकर्तामा असर पारे पनि पर्यटन क्षेत्रको गति रोक्नु नहुने धारणा पौवाको रहेको छ । 'हामीले अब हिचकिचाउने होइन, अघि बढ्ने समय आएको छ । तर, राज्यले उद्योगी व्यवसायीलाई लगानी मैत्री वातावरण रहेको विश्वास दिलाउनुपर्छ,' उनले भने । त्यसैगरी, होटल पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेले नेपाली स्वादलाई विश्वस्तरमा पुर्याउने अभियानमा पौवा अघि बढिरहेको उल्लेख गरे । उनले भने, 'नेपालमा ‘केही हुँदैन’ भन्ने सोच तोड्नुपर्छ। विषम परिस्थितिमा पनि हामीले एक सय शाखा विस्तार गर्ने लक्ष्यसहित नेपाली चेन होटललाई अन्तर्राष्ट्रियकरणतर्फ डोर्याइरहेका छौँ ।'  होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले चितवन शाखालाई नेपालको हस्पिटालिटी नक्सामा अर्को महत्वपूर्ण माइलस्टोनका रूपमा वर्णन गरे । उनका शब्दमा, 'चितवन नेपालको मध्य भाग हो, देशभरका आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य । चितवन राष्ट्रिय निकुञ्ज, देवघाटधाम, मौलाकालीकाजस्ता धार्मिक तथा प्राकृतिक आकर्षणका बीच पौवाको उपस्थितिले यस क्षेत्रलाई अझ पहिचान दिन सहयोग गर्नेछ ।' नेपालमा विदेशी शैलीका होटलहरू हावी भइरहेका बेला ‘होटल पौवा’ले नेपाली सत्कार, नेपाली संस्कार र नेपाली स्वादको अनुभूति दिने उद्देश्यसहित हस्पिटालिटी क्षेत्रमा नयाँ परिभाषा ल्याएको ज्ञवालीले बताए । रुपन्देहीको सालझण्डीबाट सुरु भएको पौवाको यात्रा आज चितवनमा १६औं शाखासम्म पुगेको छ । यसअघि पौवाका शाखाहरू भैरहवा, बुटवल, गोरुसिङ्गे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, रेसुङ्गा, धनगढी, पोखरा, काठमाडौं, मुलकोट र कालिञ्चोकमा सञ्चालनमा छन् । हाल नेपालगञ्जमा पाँचतारे होटलको मुख्य आवास भवन निर्माणाधीन अवस्थामा रहेको छ भने ब्यांक्वेट र रेस्टुरेन्टबाट सेवा प्रवाह भैरहेको छ । पाल्पाको झिंगामारामा पाँचतारे रिसोर्ट निर्माणका लागि ल्याण्ड स्केपिङको काम भैरहेको छ ।  स्थानीय खाना बनाउन पोख्त महिला सेफहरुबाट नेपालगन्ज र भैरहवामा दाल भात, तरकारी अचार समेटिएको नेपाली खाना 'भातभान्छा' को प्रवर्द्धन सुरु गरिएको छ । भातभान्छालाई महिला कर्मचारीहरुले मात्रै सम्हाल्दै आएका छन् । 'नेपाली खानालाई स्तरीय रेस्टुरेन्टमा पस्किने तयारीका साथ पौवाले आफ्नो छुट्टै ब्राण्ड भातभान्छा सुरु गरेको हो । ६ महिनाका बीच नेपालगन्ज र भैरहवाबाट सुरुगरेको यो ब्राण्डलाई निरन्तर विस्तारको योजना रहेको छ', उपाध्यक्ष न्यौपानेले बताए ।   देशभर १,००० भन्दा बढी रोजगारी सिर्जना गर्दै आएको होटल पौवामा २५० भन्दा बढी लगानीकर्ता संलग्न छन् । विशेषतः यहाँका कर्मचारीहरूलाई पनि लगानीकर्ता बन्ने अवसर दिइएको छ, जसले पौवाको ‘साझा स्वामित्व र साझा सफलता’को भावना झल्काउँछ । विश्वशान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु भएको पौवाको यात्रा अब देशव्यापी अभियानमा रूपान्तरण भइसकेको छ । हस्पिटालिटी र स्वादको नेपाली पहिचानलाई विश्वमाझ पुर्याउने ‘मिशन १०० पौवा होटल’ अभियानले चितवनबाट नयाँ अध्याय सुरु गरेको हो ।

हलमा स्वदेशी चलचित्रको वर्चस्व : ‘जेरी अन टप’ले करिब १‍२ करोड कमाउँदा अन्यको कति?

काठमाडौं । गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही वर्षअगाडि सम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ ।  नेपाली कला र संस्कृतिसँगै सामाजिक कथा समावेश गरेर तयार गरिएका प्रदर्शनरत चलचित्रहरूले दर्शकको साथ पाउँदा घरेलु बजारमा राम्रो व्यापार गरेका छन् । चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस २ सिनेपाः’ को तथ्याङ्क सार्वजनिक गरिएको छ, जहाँ नेपाली चलचित्र हेर्ने दर्शक बढिरहेको पाइन्छ ।  गएको शनिबार अर्थात् कात्तिक २२ गतेसम्मको सार्वजनिक तथ्याङ्कअनुसार सगरमाथाको विषयमा निर्माण गरिएको चलचित्र ‘जेरी अन टप’ ले सबैभन्दा बढी कमाई गरेको छ । उक्त चलचित्रलाई तीन लाख ७५ हजार ८१ दर्शकले हेर्दा रु ११ करोड ७१ लाख ४१ हजार ४९८ कमाई (ग्रस कलेक्सन) गरेको छ ।  विश्वकै सर्वोच्च शिखर सगरमाथाको विषयमा विदेशमा धेरै चलचित्र बने तापनि नेपालमा कमै बनेका छन् । उक्त चलचित्रमा सगरमाथा आरोहण र त्यस क्रमको प्रेमकथालाई देखाइएको छ । नेपालमा सुन्दर दृश्यलाई कैद गरिएको उक्त चलचित्रले पर्यटनमा समेत टेवा पु¥याउने विश्वास निर्माता सरोज न्यौपानेको छ । उक्त चलचित्रमा अनमोल केसी, भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायतका कलाकारले अभिनय गरेका छन् । गत असोज ३१ गतेदेखि प्रदर्शनरत उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन् ।  यस्तै भाइटीकाका अवसर पारेर गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’ ले सोही अवधि (शनिबार बेलुकी) सम्म रु दुई करोड ५६ लाख ५७ हजार ९२९ कमाएको छ ।  उक्त चलचित्रलाई ८५ हजार ३५६ दर्शकले हेरेका छन् । दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल लगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।    यस्तै, कात्तिक ६ मै प्रदर्शन भएको चलचित्र ‘सोल्टिनी’ले भने अपेक्षाभन्दा निकै कमजोर कमाइ गरेको छ । उक्त चलचित्रलाई आठ हजार ९४५ दर्शकले हेर्दा रु २९ लाख पाँच हजार ९५६ मात्र कमाइ गरेको छ ।  प्रकाश सपूत, परीक्षा लिम्बू लगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । निर्देशक सुवेदीले यसअघि निर्देशन गरेको ‘रङ्गेली’ पनि घरेलु बजारमा असफल भएको थियो । ‘तक्मे बुढा’ को उपनामले परिचित अभिनेता विल्सनविक्रम राईले निर्देशन गरेको ‘मैझारो’ ले पनि घरेलु बजारमा सफलता प्राप्त गर्न सकेन । अभिनेता राईको पहिलो निर्देशकीय चलचित्र नै असफल भयो ।  अभिनेता धिरज मगर, मिरुना मगर, दयाहाङ राई लगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रले रु एक करोड चार लाख २९ हजार २८८ कमाएको छ । ३५ हजार १७६ दर्शकले मात्र उक्त चलचित्रलाई हेरेका थिए ।  यस्तै कात्तिक १४ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘परान’ ले दर्शकको राम्रो साथ पाएको छ । नीर शाह, मदनकृष्ण श्रेष्ठ जस्ता दिग्गज अभिनेताले अभिनय गरेको उक्त चलचित्रमा बाउछोराको कथालाई देखाइएको छ । दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्र दर्शकबाट प्राप्त प्रतिक्रिया कै कारण घरेलु बजारमा राम्रो कमाई गरिरहेको छ ।  उक्त चलचित्रले तीन करोड ७१ लाख ३६ हजार ५५३ कमाई गरेको छ । उक्त चलचित्रलाई एक लाख २८ हजार ६७९ जनाले हेरेका छन् । सुरुआती व्यापार कमजोर भए तापनि चलचित्रले सकारात्मक प्रतिक्रिया पाउँदा दर्शकको चाप चलचित्र भवनमा बढेको निर्देशक आचार्यले बताए ।  उक्त चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन् ।  यस्तै कात्तिक २१ मा प्रदर्शन भएका दुई चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’ र ‘मन विनाको धन’ लाई दर्शकले प्रारम्भिक रूपमा साथ दिएका छन् । यद्यपि, यी दुईको व्यावसायिक रिपोर्ट अझै सार्वजनिक भइसकेको छैन ।  समग्रमा चाडपर्वलाई लक्षित गर्दै प्रदर्शन भएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति बलियो देखिएको छ । विदेशीको तुलनामा नेपाली चलचित्रप्रतिको आकर्षण बढेको देखिँदैछ । घरेलु बजारमा नेपाली चलचित्रले गरिरहेको कमाइले समग्र चलचित्र क्षेत्रलाई नै सकारात्मक सन्देश प्रवाह गरेको वितरक करण श्रेष्ठले बता‍ए।  उनले दर्शकको विश्वास जित्ने चलचित्र आगामी दिनमा पनि तयार गर्न निर्माता तथा निर्देशकलाई आग्रह गरे ।  अघिल्लो वर्ष ‘पूर्णबहादुरको सारङ्गी’ ले ऐतिहासिक व्यापार गरेपछि नेपाली चलचित्रमा दर्शकको आकर्षण बढेको पाइन्छ । दशैं-तिहार, शिवरात्रि, नयाँवर्ष जस्ता बिदाको समयमा नेपाली चलचित्रको व्यापार उच्च हुने गरेको तथ्याङ्क बक्सअफिसमा देखिएको छ । 

त्रिविको जग्गा मिच्नेहरूलाई कारबाही हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छन् । प्रधानमन्त्री कार्कीले मंगलबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलसमेतको उपस्थितिमा त्रिविका उपकुलपति प्रा दीपक अर्याल, रेक्टर प्रा खड्ग केसी,  रजिस्ट्रार प्रा केदारप्रसाद रिजाललगायतसँग छलफल गरेकी हुन् । छलफलमा मुख्य सचिव एकनारायण अर्यालसहित जग्गा खोजबिन समितिका पदाधिकारीहरू पनि सहभागी थिए । प्रधानमन्त्री कार्कीले प्रतिवेदन कार्यान्वयनमा हालसम्म भएको प्रगतिबारे जानकारी माग गर्दै आगामी प्रक्रियाका विषयमा चासो राखेकी थिइन् । उनले प्रतिवेदन सार्वजनिक भएपछि के कति फिर्ता आयो, फिर्ता हुने प्रक्रिया कसरी अघि बढेको छ र दोषीमाथि कारबाहीको प्रक्रिया के–के भयो भनेर जिज्ञासा राखेकी थिइन् । त्रिविका पदाधिकारीले विश्वविद्यालयको जग्गा ओगटेर बसेकाहरूलाई हटाउन र अपचलन भएर गएको जग्गाको लगत कायम गर्न सरकारको सहयोगको अपेक्षा रहेको बताए । गृहमन्त्री अर्यालले लगत कायम गर्ने प्रक्रियामा विश्वविद्यालय आफैँ अग्रसर हुनुपर्ने र किर्ते गरी जग्गा हडपिएको छ भने प्रत्येक घटनाको अलगअलग मुद्दाका रूपमा सीआईबीलगायत निकायमा जाहेरी दिनुपर्ने बताए । जग्गा अपचलनमा सीआईबीको विशेषज्ञता र अनुभव पनि रहेकाले कारबाही अघि बढाउन तयार रहेको उनको भनाइ थियो । मुख्य सचिव एकनारायण अर्यालले प्रतिवेदनमा औँल्याइएका विषयमध्ये ६० प्रतिशत काम विश्वविद्यालय आफैँले गर्न सक्ने बताए । सबै कामका लागि सरकारको मुख ताक्न नहुने उनको धारणा थियो । शिक्षामन्त्री पुनले यो विषय धेरै नतन्काइकन गर्न सक्ने काम तुरुन्तै गरिहाल्नुपर्ने र यसका लागि सबै सरोकारवाला निकायहरूको प्रतिनिधि रहने गरी कार्यदल बनाउनुपर्ने प्रस्ताव राखे । प्रधानमन्त्री कार्कीले असम्बन्धित संघसंस्था र व्यक्तिहरूले त्रिविको जग्गा ओगट्ने, बल भएकै आधारमा मिचेर खाने र बेचबिखन समेत गर्ने प्रवृत्ति तत्काल रोक्न निर्देशन दिइन् । साथै यसमा जो–जो दोषी भए पनि तत्काल कठघरामा उभ्याउनुपर्ने उनको निर्देशन छ ।

वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिमा प्रधानमन्त्रीको चासो, तत्काल सूचना निकाल्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले उनले मन्त्रालयका सचिव हरि मैनालीलाई आफ्नो कार्यकक्षमा बोलाएर प्रगति विवरण माग गरेकी हुन् । निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री कार्कीले सचिव मैनालीकै संयोजकत्वमा गत कात्तिक १४ गते छनोट समिति गठन गरेकी थिइन् ।  उक्त समितिमा क्याप्टेन केबी लिम्बू विज्ञ सदस्य र मन्त्रालयकै योजना तथा प्रशासन महाशाखा प्रमुख रहने सहसचिव सदस्यसचिव छन् । सचिव मैनालीले यसबीचमा कार्यविधिको काम गरेको र केही समय बाहिर पनि जानुपरेको बताए । उनले आजै समितिको पहिलो बैठक बस्ने जानकारी गराए । प्रधानमन्त्री कार्कीले ढिलो नगरी खुला प्रतिस्पर्धाका लागि दर्खास्त आह्वानको सूचना प्रकाशित गर्न निर्देशन दिएकी छन् ।

राष्ट्रपतिसमक्ष मधेस प्रदेशका प्रदेश प्रमुख कर्णको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।     राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले कर्णलाई शपथ गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।      समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी सहभागी रहेको थियो ।       सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशको प्रदेश प्रमुखमा धनुषाका सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।   

कार्त्तिक २९ र ३० गते सुदूरपश्चिममा पर्यटन प्रर्वद्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रम हुँदै

काठमाडौं । आउँदो कार्त्तिक २९ र ३० गते सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रर्वद्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।  अन्तरक्रिया कार्यक्रम नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी महासंघ नेपालको संयुक्त आयोजनामा हुने भएको हो। महासंघका अध्यक्ष दिनेश कुमार चुकेले  कार्यक्रम सुदूरपश्चिमको पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागेको जानकारी दिए ।  अध्यक्ष चुकेका अनुसार कार्यक्रममा मधेश प्रदेशबाहेक बाँकी ६ प्रदेशका प्रतिनिधि, स्थानीय सकारका प्रतिनिधि, होटल व्यवसायीलगायत ६०/७० जना स्टेक होल्डरहरुको सहभागिता रहने छ ।   ‘सुदूरपश्चिम प्रदेश प्राकृतिक रूपमा धनी हुँदा हुँदै पर्यटनको हिसाबले पछाडि परेको छ,’ उनले भने, उक्त प्रदेशको पर्यटन प्रवर्द्धनका लागि हामी सबै होटल व्यवसायी  र स्टेक होल्डर लागि परेका छौं ।’ अन्तरक्रिया कार्यक्रममा प्याकेज कसरी बनाउने, पर्यटन प्रवर्द्धन कसरी गर्ने सम्बन्धमा अन्तरक्रिया हुने अध्यक्ष चुकेको भनाइ छ ।  कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दीपकराज जोशी, गोदाबरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्ट, अतिरिक्त नायब महानिरीक्षक ओमबहादुर रानालगायत उपस्थित हुने जनाइएको छ ।