विकासन्युज

टाटा मोटर्सको एक्सचेन्ज विथ लभ अफर, पुरानो गाडी साटेर नयाँ गाडी लिन सकिने

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंग प्रालिले भ्यालेन्टाइन सप्ताह–२०२६ को अवसरमा ‘एक्सचेन्ज विथ लभ’ विशेष कार्यक्रम आयोजना गर्न लागेको छ । यो कार्यक्रम फाल्गुन १ देखि फाल्गुन ३ सम्म देशभरका टाटा मोटर्स शोरुमहरूमा सञ्चालन हुनेछ । कम्पनीका अनुसार यस अफर अन्तर्गत ग्राहकहरूले जुनसुकै ब्राण्डको पुरानो गाडीलाई डाउनपेमेन्टको रूपमा राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस श्रेणीका गाडीहरू खरिद गर्न सक्नेछन् । कार्यक्रममा टाटा ब्राण्डका अत्याधुनिक प्रविधियुक्त, लोकप्रिय पेसेन्जर गाडीहरू उपलब्ध हुनेछन् । ‘एक्सचेन्ज विथ लभ’ योजना अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरूले आकर्षक छुट, एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ, १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ बक्स जडान र हरेक बुकिङमा विशेष उपहारहरू प्राप्त गर्न सक्नेछन् । कार्यक्रम अवधिमा ग्राहकहरूले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन गर्न र टेष्ट ड्राइभ गर्न पनि सक्नेछन् । सिप्रदी ट्रेडिंग प्रालिका अनुसार यो अवसर ग्राहकहरूको लागि पुरानो गाडी साटेर नयाँ टाटा गाडीमा अपग्रेड गर्ने उत्कृष्ट मौका हो ।  

८ प्रतिशत बजार हिस्सा ओगटेको सुबिसुको आम्दानी २.६९ अर्ब रुपैयाँ, बैंक ऋण ३.६२ अर्ब रुपैयाँ

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु लिमिटेडले सन् २०२५ मा २ अर्ब ६९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १८.०८ प्रतिशत अर्थात् ५९ करोड ४० लाख रूपैयाँले कम हो । कम्पनीले सन् २०२४ मा ३ अर्ब २८ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। सुबिसुको आम्दानी संरचना ग्राहक र सेवाका आधारमा विविधिकृत छ । सन् २०२५ मा कम्पनीको करिब ६१ प्रतिशत आम्दानी रिटेल (खुद्रा) ग्राहकबाट रहेको छ, जुन सन् २०२४ मा ५४ प्रतिशत थियो । कर्पोरेट ग्राहकबाट करिब ३१ प्रतिशत आम्दानी भएको छ भने टेलिभिजनबाट ५ प्रतिशत रहेको छ । साथै, प्रोजेक्ट आम्दानी सन् २०२४ मा ६ प्रतिशत रहेकोमा सन् २०२५ मा घटेर २ प्रतिशतमा सीमित रहेको कम्पनीले जनाएको छ ।  प्रतिस्पर्धात्मक मूल्य, प्रवर्द्धनात्मक प्याकेज तथा छुटका कारण प्रतिग्राहक औसत आम्दानी भने निरन्तर घट्दो क्रममा रहेको कम्पनीले जनाएको छ । यो क्षेत्रको तीव्र प्रतिस्पर्धात्मक अवस्थालाई हेर्दा आगामी दिनमा पनि औसत आम्दानी दबावमै रहने र सञ्चालन नाफामा असर पर्ने अनुमान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले सन् २०२३ मा ३ अर्ब ४६ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ७७ करोड रुपैयाँ, सन् २०२१ मा ३ अर्ब ५१ करोड २० लाख रुपैयाँ, सन् २०२० मा २ अर्ब ९० करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।  ग्राहक संख्याको आधारमा सुबिसु नेपालका शीर्ष ६ इन्टरनेट सेवा प्रदायकभित्र पर्छ । सन् २०२५ डिसेम्बर मध्यसम्म कम्पनीसँग करिब २.५६ लाख सक्रिय इन्टरनेट ग्राहक रहेका छन् । ४जी विस्तार, ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच वृद्धि र डिजिटल पहलहरूले यो क्षेत्रलाई गति दिएको छ । यद्यपि, बजारमा ६० भन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनी भए पनि वास्तविक रूपमा बजार अत्यधिक केन्द्रित रहेको कम्पनीले जनाएको छ । २०२५ डिसेम्बर मध्यसम्म शीर्ष २० इन्टरनेट सेवा प्रदायक कम्पनीले कुल बजारको ९९.७२ प्रतिशत हिस्सा ओगटेका छन् । तीमध्ये शीर्ष ५ इन्टरनेट सेवा प्रदायक कम्पनीको संयुक्त बजार हिस्सा करिब ७१ प्रतिशत रहेको छ भने सुबिसुको बजार हिस्सा करिब ८ प्रतिशत रहेको कम्पनीले दाबी गरेको छ ।  ठूला कम्पनीहरूले मूल्य घटाउन सक्ने क्षमता, अनुकूल भुक्तानी सर्त र मूल्य युद्धका कारण सुबिसुलाई मार्जिन दबाब र ग्राहक संरक्षणमा चुनौती देखिएको छ । यसकारण, उत्कृष्ट ग्राहक सेवा, उत्पादन तथा सेवामा फरकपन, रणनीतिक साझेदारी र नवीन प्रविधिमा निरन्तर लगानी अपरिहार्य रहेको कम्पनीले जनाएको छ । निरन्तर ऋण आवश्यकताका कारण सुबिसुको ब्याज खर्च उच्च रहेको छ, जसले नाफामा प्रत्यक्ष असर पारेको कम्पनीले जनाएको छ । कम्पनीको ऋण फ्लोटिङ ब्याजदर प्रणालीमा आधारित भएकाले बैंक तथा वित्तीय संस्थाको आधार दरमा हुने उतारचढावले ब्याजदर अस्थिर बनाइरहेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ ऋण लिएको छ । कम्पनीका अनुसार दीर्घकालीन २ अर्ब २३ करोड ७४ लाख रुपैयाँ र अल्पकालीन १ अर्ब ३९ करोड रुपैयाँ बैंक ऋण लिएको छ ।  सन् १९९९ अगस्टमा स्थापना भएको सुबिसु २५ वर्षदेखि नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सक्रिय रहँदै आएको छ । कम्पनी सन् २०२२ मार्चमा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । कम्पनीमा ७ जना अनुभवी प्रवर्द्धक रहेका छन्, जो सबै बोर्ड अफ डाइरेक्टर्सका सदस्य समेत हुन् । सुबिसुको बोर्ड अध्यक्ष सुधीर पराजुली रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय मोहन साउद रहेका छन् । हाल सुबिसुले उच्च गतिको फाइबर इन्टरनेट, केबल इन्टरनेट तथा डिजिटल टेलिभिजन सेवासहित विभिन्न सूचना प्रविधिसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । सुबिसुको सेवा ७७ वटै जिल्लामा विस्तार भएको छ । काठमाडौं उपत्यकाभित्र १० वटा स्टेसन र देशभर ३१ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको कम्पनीसँग १०५ भन्दा बढी फ्रेन्चाइज तथा सहायक व्यवसायहरू समेत रहेका छन् ।

विकास सहायता प्रतिबद्धतासँगै प्राप्ति पनि बढ्यो

काठमाडौं । पछिल्लो समय विकास सहायता प्रतिबद्धतासँगै दातृ निकायले दिने त्यस्तो सहायता पनि बढ्दै गएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको समीक्षा अवधिमा ६५ अर्ब ३९ करोडको विकास सहायताको प्रतिबद्धता प्राप्त भएको छ । सोमध्ये अनुदान सहायता १९ अर्ब २५ करोड र सहुलियतपूर्ण ऋण सहायता ४६ अर्ब १४ करोड रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ५ अर्ब ८४ करोडको विकास सहायताको प्रतिबद्धता प्राप्त भएको थियो, जसमध्ये अनुदान सहायता ५४ अर्ब ७६ करोड र सहुलियतपूर्ण ऋण सहायता १ खर्ब ५१ अर्ब ४० करोड रहेको थियो । चालु आर्थिक वर्षमा विश्व बैंकतर्फ तीनवटा आयोजनाको वार्ता सम्पन्न भइसकेको र एशियाली विकास बैंकतर्फ एउटा आयोजनाको वार्ता हुने क्रममा रहेकोले तेस्रो त्रैमासिक अवधिमा प्रतिबद्धता रकममा उल्लेख्य वृद्धि हुने अवस्था रहेको अर्थ मन्त्रालयले जानकारी दिएको  छ । विकास सहायता प्राप्तिको स्थिति चालु आर्थिक वर्षमा २ खर्ब ८७ अर्ब विकास सहायता परिचालन गर्ने अनुमान गरिएकोमा समीक्षा अवधिसम्म ६१ अर्ब ७ करोड प्राप्त भएको छ । जुन प्राप्ति शुरुवाती अनुमानको २१.२७ प्रतिशत हो । सरकारले गत आर्थिक वर्षमा विकास सहायता परिचालनको अनुमान २ खर्ब ७० अर्ब रहेकोमा समीक्षा अवधिमा ४९ अर्ब ९ करोड ३५ लाख प्राप्ति गरेको थियो। जुन अनुमानको १८.१८ प्रतिशत थियो । हाल कार्यान्वयनमा रहेका वैदेशिक सहायताबाट सञ्चालित आयोजनाहरूको उपलब्ध स्रोत हेर्दा आयोजना कार्यान्वयन प्रभावकारी हुन सकेमा वैदेशिक सहायता प्राप्तिमा उल्लेख्य बढोत्तरी हुने अवस्था रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल एशियाली विकास बैंकतर्फ अमेरिकी डलर २१८६ मिलियन र विश्व बैंकतर्फ अमेरिकी डलर १६०० मिलियन प्राप्ति हुन बाँकी उपलब्ध स्रोतका रूपमा रहेको छ । अर्थ मन्त्रालयका अनुसार विकास सहायता परिचालनमा समस्या समेत देखिएको छ । वैदेशिक सहायताको वित्तीय सम्झौता भएपश्चात कार्यान्वयनका क्रममा समयमा नै पूर्वतयारी र ठेक्का व्यवस्थापन हुन नसक्दा प्रतिबद्धता रकम हुँदाहुँदै पनि वास्तविक प्राप्ति रकम अपेक्षाकृत कम हुने समस्या कायम रहेको छ। वैदेशिक सहायताका आयोजना/कार्यक्रममा अन्तर निकाय समन्वय कमजोर हुने गरेको छ । आयोजना/कार्यक्रम कार्यान्वयन गर्न गठन हुने उच्चस्तरीय संयन्त्रका बैठकहरू नियमित नहुने र कतिपय कार्यक्रममा बैठक नै नहुने भएकाले कार्यान्वयनमा देखिएका समस्या लामो समयसम्म बल्झिने समस्या रहेको समीक्षा प्रतिवेदनमा उल्लेख छ । शोधभर्ना लिन बाँकी रकम १४ अर्ब बढी  अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को शुरूवातमा विकास सहायतातर्फ नेपाल सरकारको स्रोतबाट खर्च भई शोधभर्ना प्राप्त गर्नुपर्ने रकम १८ अर्ब २४ करोड २८ लाख रहेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म १९ अर्ब १५ करोड खर्च भई शोधभर्ना लिन बाँकी भएकोमा २३ अर्ब २२ करोड शोधभर्ना प्राप्त भएको छ । समीक्षा अवधिसम्म शोधभर्ना लिन बाँकी रकम १४ अर्ब १७ करोड रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधभर्ना लिन बाँकी १३ अर्ब १७ करोड रहेको थियो ।  

वित्तीय अपराधले अर्थतन्त्र मात्र होइन समाजलाई पनि क्षति पुर्‍याउँदैछ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गम्भीर असर पारेको बताएका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यक्रममा बुधबार काठमाडौंमा सम्बोधन गर्दै उनले विश्वव्यापी रूपमा वार्षिक ३.६ बिलियन डलर बराबरको राजस्व नोक्सानी गराउने वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गम्भीर असर पारेको उल्लेख गरे । गभर्नरका अनुसार वित्तीय अपराधको आर्थिक प्रभावभन्दा मानवीय मूल्य अझ बढी भयावह छ । यसले सामाजिक–आर्थिक खाडललाई गहिरो बनाउने मात्र नभई युवा र बालबालिकालाई आपराधिक सञ्जालमा प्रयोग गर्ने जोखिम बढाएको छ । नवीन सोच र सिर्जनशीलतामा लाग्नुपर्ने युवा पुस्तालाई अपराधको माध्यम बनाइनु सबैभन्दा खतरनाक परिणाम भएको उनको तर्क छ । सीमानाविहीन वित्तीय अपराधले कानुनी छिद्र र प्रविधिगत कमजोरीको फाइदा उठाउँदै तीव्र गतिमा रकम ओसारपसार गर्ने गरेको उनले बताए । यसलाई रोक्न प्रतिक्रियात्मकभन्दा पनि निरोधात्मक सुपरिवेक्षण आवश्यक रहेको र वित्तीय समावेशीकरणलाई असर नपर्ने गरी जोखिममा आधारित सुपरिवेक्षण प्रणाली लागू गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘वित्तीय अपराधले सामाजिक–आर्थिक खाडललाई अझ फराकिलो बनाउँछ, मानव पूँजीको अवमूल्यन गर्छ र हाम्रा बालबालिका तथा युवाहरूको भविष्यलाई संकटमा पार्छ । कलिला मस्तिष्कहरूलाई सम्पत्ति शुद्धीकरणको माध्यमका रूपमा प्रयोग गर्न शोषण गर्ने, अवैध सञ्जालहरूमा भर्ती गर्ने र अपराधलाई अवसरका रूपमा प्रस्तुत गरिने वातावरणमा पुर्‍याउने क्रम बढ्दो छ ।’ गभर्नर पौडेलले बैंकिङ, बीमा, धितोपत्र र सहकारीजस्ता सबै क्षेत्रका नियामक निकायहरूले सामूहिक रक्षा–पंक्तिका रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए । उनले आजको जोखिम टार्ने मात्र नभई भोलिको अनिश्चितता सामना गर्न सक्ने प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए ।

एनएलजीले पनि एनएफआरएस–१७ बमोजिम सार्वजकि गर्‍यो वित्तीय विवरण

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदन मानक–१७ (एनएफआरएस १७– इन्स्योरेन्स कन्ट्रयाक्ट्स) अनुरूप वित्तीय विवरण सार्वजनिक गरेको छ ।  यसअघि एनएफआरएस–१७ बमोजिम वित्तीय विवरण सार्वजनिक गर्ने शिखर इन्स्योरेन्स पहिलो कम्पनी बनेको थियो । एनएफआरएस १७ को व्यावहारिक कार्यान्वयन क्रमिक रूपमा विकसित हुँदै जाने प्रकृतिको भएकाले एनएलजीले उपलब्ध अन्तर्राष्ट्रिय अभ्यास, प्राविधिक व्याख्या र व्यवस्थापनको सर्वोत्तम अनुमानलाई आधार मानी वित्तीय विवरण तयार गरेको कम्पनीले जनाएको छ ।  यस पहललाई बीमा क्षेत्रमा नयाँ मानकअनुसार रिपोर्टिङ अभ्यास सुरु गर्न महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ । सरोकारवालाहरूले यस्ता प्रयासहरूले भविष्यमा थप स्पष्टता, परिष्करण र एकरुप अभ्यासतर्फ मार्ग प्रशस्त गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

आइसीएफसी फाइनान्सले ल्यायो ‘एक्सप्रेसन डेबिट कार्ड’, आफ्नै फोटो राखेर कार्ड बनाउन सकिने

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले ग्राहकलाई अझ व्यक्तिगत, आधुनिक र फरक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यसहित नयाँ ‘एक्सप्रेसन डेबिट कार्ड’ सार्वजनिक गरेको छ । एससीटी युनियनपे नेटवर्कमा आधारित यस कार्डमार्फत ग्राहकहरूले आफ्नो मनपर्ने तथा यादगार फोटो कार्डमा प्रिन्ट गराएर प्रयोग गर्न सक्ने सुविधा पाउनेछन् । ग्राहकको व्यक्तित्व, रुचि र आत्मअभिव्यक्तिलाई झल्काउने गरी डिजाइन गरिएको यस कार्डले सुरक्षित, सहज तथा आकर्षक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । यस डेबिट कार्डको प्रयोगमार्फत एटीएम सेवा, किनमेल तथा विभिन्न डिजिटल भुक्तानी सेवा सजिलै उपयोग गर्न सकिनेछ । डिजिटल बैंकिङ सेवामा नवीनता ल्याउने र ग्राहक–केन्द्रित समाधान विस्तार गर्ने उद्देश्यअनुसार यो सेवा सुरु गरिएको आइसीएफसी फाइनान्सले जनाएको छ । प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्दै ग्राहक सन्तुष्टि अभिवृद्धि गर्नु संस्थाको प्रमुख लक्ष्य रहेको पनि कम्पनीले स्पष्ट पारेको छ । ‘एक्सप्रेसन डेबिट कार्ड’ आइसीएफसी फाइनान्सका ग्राहकहरूले आफ्नै इच्छाअनुसार अनुरोध गरी प्राप्त गर्न सक्नेछन् । कार्ड प्राप्त गर्ने प्रक्रिया तथा थप जानकारीका लागि नजिकको शाखा कार्यालय, आधिकारिक वेबसाइट वा सामाजिक सञ्जालमार्फत जानकारी लिन सकिनेछ ।  

आइसिएफसि फाइनान्स फागुन ११ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले फागुन ११ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ बिक्री गर्ने भएको हो । फाइनान्सले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये ३० करोड रुपैयाँको ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत र २० करोड रुपैयाँको २ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बिक्री गरिने जनाएको छ ।  कम्पनीको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको ऋणपत्रमा लगानीकर्ताहरुले छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।  फाइनान्सको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।

बोटलर्स नेपालका दुइटै कम्पनी नाफामा, १३.४७ प्रतिशतसम्म बढ्यो आम्दानी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा बोटलर्स नेपाल समूहका दुवै कम्पनी– बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) नाफामा फर्किएका छन् । अघिल्लो वर्षको यही अवधिमा दुवै कम्पनी घाटामा रहे पनि यस वर्ष पुस मसान्तसम्म आइपुग्दा नाफा धनात्मक भएको हो । बोटलर्स नेपाल (तराई) को चालु आवको दोस्रो त्रैमासमा खुद नाफा १३ करोड ५४ लाख ९४ हजार रुपैयाँ रहेको छ । जबकि गत वर्षको पुसमा यो कम्पनीको नाफा ११ करोड ८९ लाख ४१ हजार रुपैयाँ ऋणात्मक थियो ।  ६ महिनाको अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ३६ करोड ८६ लाख ४१ हजार रुपैयाँ रहेको छ । जबकी गत वर्षको पुसमा कम्पनीले २ अर्ब ९६ करोड ८६ लाख ९५ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको आम्दानी १३.४७ प्रतिशत अर्थात् ३९ करोड ९९ लाख ४६ हजार रुपैयाँ बढी गरेको हो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा ९५ करोड ३४ लाख ७७ हजार रुपैयाँ, अन्य सञ्चालन आम्दानी ५ करोड ६९ लाख ३७ हजार रुपैयाँ, सञ्चालन नाफा २१ करोड ८६ लाख ६८ हजार रुपैयाँ रहेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ६२ करोड ३५ लाख ३० हजार रुपैयाँ कुल नाफा, ३ करोड ५६ लाख ८७ हजार रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको थियो भने सञ्चालन नाफा २४ लाख ४५ हजार रुपैयाँ ऋणात्मक थियो ।  चालु आवको पुसमा कम्पनीको बिक्री तथा वितरण खर्च ५९ करोड ४ लाख १९ हजार रुपैयाँ, प्रशासनिक तथा सञ्चालन खर्च २० करोड १३ लाख २७ हजार रुपैयाँ र वित्त लागत ६ करोड ९८ लाख १३ हजार रुपैयाँ रहेको छ ।  १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ३ अर्ब ५३ करोड ५० लाख ७२ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी २२४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३ हजार २२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५२ गुणा रहेको छ ।  बोटलर्स नेपाल (बालाजु) को चालु आवको दोस्रो त्रैमासमा खुद नाफा ३ करोड १२ लाख ६८ हजार रुपैयाँ रहेको छ । जबकि गत वर्षको पुसमा यो कम्पनीको नाफा २४ करोड ५० लाख ४२ हजार रुपैयाँ ऋणात्मक थियो ।  ६ महिनाको अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब ७५ करोड २३ लाख ३ हजार रुपैयाँ रहेको छ । जबकी गत वर्षको पुसमा कम्पनीले ४ अर्ब ३६ करोड ४३ लाख ५२ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले ८.८८ प्रतिशत अर्थात् ३८ करोड ७९ लाख ५१ हजार रुपैयाँ बढी आम्दानी गरेको हो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा १ अर्ब २२ करोड ६० लाख १९ हजार रुपैयाँ, अन्य सञ्चालन आम्दानी ५ करोड ७६ लाख ७० हजार रुपैयाँ, सञ्चालन नाफा १३ करोड ३८ लाख ७७ हजार रुपैयाँ रहेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ९३ करोड ६८ लाख २५ हजार रुपैयाँ कुल नाफा, १ करोड ६४ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको थियो भने सञ्चालन नाफा १२ करोड ६६ लाख ८८ हजार रुपैयाँ ऋणात्मक थियो ।  चालु आवको पुसमा कम्पनीको बिक्री तथा वितरण खर्च ७७ करोड १० लाख ३२ हजार रुपैयाँ, प्रशासनिक तथा सञ्चालन खर्च ३७ करोड ८७ लाख ८० हजार रुपैयाँ र वित्त लागत ७ करोड ९६ लाख ६० हजार रुपैयाँ रहेको छ ।  १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ५ अर्ब ७० करोड २६ लाख ६६ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी १९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३ हजार २०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७९७ गुणा रहेको छ ।