आज पनि देशभर पानी पर्ने, ४ प्रदेशमा भारी वर्षाको चेतावनी
काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको तथा मधेस प्रदेशमा आंशिक बदली रहेको छ । साथै बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्ने छ । देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ । तराईका केही स्थानमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । आज राति पनि देशभर साधारणतया बादल रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । साथै, पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
पेनाल्टीमा अष्ट्रेलियालाई हराउँदै अन्तिम १६ मा इजिप्ट
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा इजिप्टले अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको छ । यससँगै इतिहासमै पहिलो पटक इजिप्टले विश्वकपको नकआउट चरण पार गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा खेल १-१ को बराबरीमा सकिएपछि निर्णय पेनाल्टीमार्फत भएको हो । डलास स्टेडियममा भएको खेलमा इजिप्टले १३औं मिनेटमै इमाम आशुरको उत्कृष्ट हेडरमार्फत अग्रता लिएको थियो । त्यसपछि अष्ट्रेलियाले लगातार दबाब सिर्जना गर्दै ५५औं मिनेटमा मोहम्मद हानीको आत्मघाती गोलको लाभ उठाएर खेल बराबरीमा ल्यायो । त्यसपछि दुवै टोलीले केही राम्रो अवसर बनाए पनि थप गोल निस्कन सकेन । पेनाल्टी सुटआउटमा भने इजिप्टका महमुद साबेर, रामी राबिया, मोहम्मद सलाह र हसम अब्देलमागुइदले सबै प्रहार गोलमा परिणत गरे । अष्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरिङ्टनको प्रहार असफल भएपछि इजिप्टले ४–२ को जित हात पार्दै ऐतिहासिक सफलता हासिल गर्यो । खेलभर अष्ट्रेलियाले संघर्षपूर्ण प्रदर्शन गरे पनि निर्णायक क्षणमा अवसर सदुपयोग गर्न सकेन । इजिप्टका कप्तान मोहम्मद सलाहले गोल गर्न नसके पनि टोलीको आक्रमण र पेनाल्टी सुटआउटमा महत्त्वपूर्ण भूमिका निभाए । यस जितसँगै इजिप्टले विश्वकप इतिहासमा पहिलो पटक नकआउट चरण जित्दै अन्तिम १६ को यात्रा तय गरेको छ भने अष्ट्रेलियाको अभियान अन्तिम ३२ मै समाप्त भएको छ ।
अर्जेन्टिनाको संघर्षपूर्ण जित, काबो भेर्डेलाई हराउँदै अन्तिम १६ मा प्रवेश
काठमाडौं । साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम ३२ अन्तर्गत भएको रोमाञ्चक खेलमा डेब्यु टोली काबो भेर्डेलाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । मियामीस्थित हार्ड रक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले २९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ५९औं मिनेटमा डेरोय डुआर्टेले गोल फर्काउँदै काबो भेर्डेलाई खेलमा फर्काए । अतिरिक्त समयको ९२औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । तर काबो भेर्डेले हार नमानी १०३औँ मिनेटमा सिड्नी लोपेस काब्रालमार्फत बराबरी गोल गर्यो । खेल पेनाल्टी सुटआउटतर्फ जाने संकेत देखिइरहेका बेला १११औँ मिनेटमा डिनेले आत्मघाती गोल गरेपछि अर्जेन्टिनाले ३–२ को निर्णायक अग्रता बनायो र त्यसैलाई कायम राख्दै जित हात पार्यो । विश्व वरीयतामा निकै पछि रहेको काबो भेर्डेले साबिक विश्वविजेतालाई अन्तिम क्षणसम्म कडा चुनौती दिँदै प्रतियोगितामा आफ्नो प्रभावशाली प्रदर्शन जारी राख्यो । यो जितसँगै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ, जहाँ उसले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।
७ विश्वविद्यालयका नयाँ उपकुलपतिलाई शिक्षामन्त्री पोखरेलले खुवाए शपथ
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई शुक्रबार (आज) मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले शुक्रबार (आजै) विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका थिए । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेदवारमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन् । मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयका उपकुलपति श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयका उपकुलपति देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति सुजनबाबु मरहट्टालाई शपथ गराएका हुन् । त्यस अवसरमा मन्त्री पोखरेलले निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र पारदर्शी ढङ्गले विश्वविद्यालयको काम कारबाही गर्न निर्देशन दिए । “सबै जनाले इतिहास बनाउने गरी आफ्नो अवधिमा काम गर्नुहोला, तपाईँहरूलाई सरकार र मन्त्रालयको पूर्ण सहयोग रहन्छ । कसैको दबाबमा नपरी व्यावसायिक तवरले जिम्मेवारी निर्वाह गर्नुहोला”, उनले भने । मन्त्री पोखरेलले सबै विश्वविद्यालय र सम्भव भएका आङ्गिक क्याम्पसहरूमा १० प्रतिशत छात्रवृत्ति पारदर्शी ढङ्गले अनिवार्य गराउन तथा विश्वविद्यालय र क्याम्पसमा भएका ट्रेड युनियनका ब्यानरहरू हटाउन आवश्यक निर्देशनसमेत दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरणराज शर्माले नवनियुक्त उपकुलपतिहरूबाट शिक्षा क्षेत्रको समग्र सुधारका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । शपथपछि नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयको शाख र गरिमालाई कायम राख्दै निर्भिकता र इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता जनाए । उनीहरुले सरकारद्वार खुला प्रतिस्पर्धाको माध्यमबाट उपकुलपति छनोट प्रक्रियाले आफूहरूको मनोबल उच्च रहेको भन्दै प्रतिबद्धताबमोजिम काम गर्नेमा विश्वास व्यक्त गरे । उपकुलपतिको नाम सिफारिस गर्न शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर उपकुलपति छनोट गरेको हो ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार अस्पतालमा सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. ८५ (घ) अनुसार सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यक्रम कार्यान्वयन गर्दै नारायणी अस्पतालले यो सेवा सञ्चालनमा ल्याएको हो । मन्त्रालयका अनुसार सुलभ फार्मेसीमार्फत अस्पतालमा उपचारका लागि आउने बिरामीले आवश्यक औषधि बजार मूल्यभन्दा सहुलियत दरमा अस्पतालबाटै सहज रूपमा प्राप्त गर्न सक्नेछन् । यसबाट उपचार खर्च घट्नुका साथै गुणस्तरीय औषधिमा सर्वसाधारणको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । यसैबीच, नारायणी अस्पतालमा क्याथ ल्याब मेसिन जडान कार्य पनि सुरु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले शासकीय सुधार कार्यसूचीअनुसार देशभरिका सरकारी अस्पतालमा चरणबद्ध रूपमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यलाई अघि बढाइरहेको जनाएको छ ।
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको १०० दिन: के-के भए काम ?
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पदभार सम्हालेको १०० दिन पूरा भएको अवसरमा आफ्नो कार्यकालका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेकी छन् । मन्त्री रावलले सार्वजनिक गरेको प्रगतिविवरणमा सहकारी पीडितको बचत फिर्ता प्रक्रिया अगाडि बढाइएको, सार्वजनिक सेवा प्रवाहलाई अनलाइन प्रणालीमा विस्तार गरिएको, नापी र मालपोतका सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था अघि बढाइएको, भूमिहीन नागरिकलाई लालपूर्जा वितरणलाई तीव्रता दिइएको तथा ट्रेड युनियन व्यवस्थापनसम्बन्धी सुधारका पहललाई प्रमुख उपलब्धिका रूपमा उल्लेख गरिएको छ । उनले संघीय प्रशासनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यका साथ विभिन्न नीतिगत तथा संरचनागत सुधार अघि बढाइएको दाबी गरेकी छन् । सेवा प्रवाहलाई सहज, छिटो र नागरिकमैत्री बनाउने उद्देश्यअनुसार डिजिटल प्रणाली विस्तार, भूमि प्रशासनको विकेन्द्रीकरण तथा सहकारी क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेर काम गरिएको उनको भनाइ छ । मन्त्रालयका अनुसार १०० दिनको अवधिमा भूमि व्यवस्थापन, सहकारी क्षेत्रको सुधार, सार्वजनिक प्रशासनको आधुनिकीकरण र स्थानीय तहको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति हासिल भएको दाबी गरिएको छ । मन्त्री रावलले आगामी दिनमा पनि सुशासन, सेवा प्रवाहमा सुधार र नागरिकको सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ मन्त्रालयका कार्यक्रमलाई निरन्तरता दिइने बताएकी छन् । यस्तो छ कामको सूची :
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ) लाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले रिक्त निर्वाचन आयुक्तमा डा. राजीव सुब्बा (काठमाडौं) र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले (ओखलढुङ्गाको नाम नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य एवं प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारीले जानकारी दिइन् । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।
त्रिविको उपकुलपतिमा डा. भोला थापा नियुक्त, को हुन् उनी ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका थापालाई सरकारले त्रिविको उपकुलपतिको जिम्मेवारी दिइएको हो । इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि तथा ऊर्जा अनुसन्धानका क्षेत्रमा लामो अनुभव बटुलेका डा. थापा नेपालको उच्च शिक्षा क्षेत्रका परिचित नाम हुन् । मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका उनले टर्बाइन रनर विषयमा स्नातकोत्तर तथा हाइड्रोलिक मेसिनमा बालुवाका कणले पार्ने क्षरणसम्बन्धी अनुसन्धानमा विद्यावारिधि गरेका छन् । राजधानीमा ५६ वर्षअघि जन्मिएका डा. थापाले प्रारम्भिक शिक्षा कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलबाट तथा प्रवीणता प्रमाणपत्र तह अमृत साइन्स क्याम्पसबाट पूरा गरेका हुन् । त्यसपछि पञ्जाव विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ अध्ययन गरी नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीबाट विद्यावारिधि हासिल गरेका थिए । सरकारी सेवाबाट करिअर सुरु गरेका उनी सन् १९९४ मा काठमाडौं विश्वविद्यालयमा लेक्चररका रूपमा प्रवेश गरेका थिए । त्यसयता उपप्राध्यापक, प्राध्यापक, सहायक डिन, कार्यकारी डिन, रजिस्ट्रार हुँदै सन् २०२१ मा काठमाडौं विश्वविद्यालयको उपकुलपति बने । काठमाडौं विश्वविद्यालयको नेतृत्व सम्हाल्दा उनले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने, अनुसन्धानलाई सुदृढ गर्ने तथा स्रोत-साधन सम्पन्न संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न सुधारका पहल गरेका थिए । पढाइमा आफू औसत विद्यार्थी रहेको बताउने डा. थापाले निरन्तर मेहनत, लगन र अनुशासनका बलमा नेपालको उच्च शिक्षा क्षेत्रको सर्वोच्च नेतृत्वमध्ये एक स्थान हासिल गरेका छन् ।