लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ : मुख्यमन्त्री यादव
जनकपुरधाम । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्रको संस्थागत विकासका लागि आफूले मुख्यमन्त्री पद स्वीकार गरेको बताएका छन् । मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले आफू वर्तमान संविधानअनुसार मुख्यमन्त्री बनेको जानकारी दिँदै मधेसका समस्या समाधान गर्न पद स्वीकार गरेको स्पष्ट पारे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभामा सबैभन्दा ठूलो राजनीतिक दल भएकाले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री भएको बताए । उनले मधेसका समस्या समाधान गर्न सबै राजनीतिक दलको सहयोग आवश्यक भएको बताए । मुख्यमन्त्री यादवले विध्वंसात्मक गतिविधि त्याग्न सम्बद्ध पक्षलाई अनुरोध गर्दै वस्तुनिष्ठ समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई अनुरोध गरे ।
धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस् : सन्नी देओल
मुम्बई । दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार उनलाई मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । समाचार सार्वजनिक भएपछि प्रशंसकहरूमा चिन्ता बढेको थियो, जसका कारण धेरै सेलिब्रेटीहरू समेत उनलाई भेट्न अस्पताल पुगेका छन् । बढ्दो जनचासोबीच धर्मेन्द्रका सुपुत्र तथा चर्चित अभिनेता सन्नी देओलले आफ्ना बुबाको स्वास्थ्यबारे आधिकारिक जानकारी दिँदै उनको अवस्था स्थिर रहेको बताएका छन् । उनले धर्मेन्द्रको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई सकारात्मक रहन र गलत अफवाहहरूबाट टाढा रहन अनुरोध गरेका छन् । सन्नी देओलको टोलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'श्री धर्मेन्द्रको अवस्था स्थिर छ र निरन्तर चिकित्सकीय निगरानीमा रहनुभएको छ । थप विवरण र टिप्पणीहरू उचित समयमा उपलब्ध गराइनेछ । कृपया उहाँको स्वास्थ्यसम्बन्धी गलत सूचनाहरू नफैलाउनुहोस् । हामी सबै उहाँको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गरौँ र परिवारको गोपनीयताको सम्मान गरौँ ।' यसअघि, धर्मेन्द्रकी धर्मपत्नी तथा वरिष्ठ अभिनेत्री र राजनीतिज्ञ हेमा मालिनीले पनि सामाजिक सञ्जालमार्फत उनको स्वास्थ्यबारे जानकारी दिँदै प्रशंसकहरूको चिन्ताप्रति आभार व्यक्त गरेका थिए । उनले इन्स्टाग्राममा लेखेका छन्, 'धरमजी हाल अस्पतालमा निगरानीका लागि रहनुभएको छ । म उहाँप्रति चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु । उहाँको अवस्था स्थिर छ र हामी सबै उहाँसँगै छौँ । कृपया उहाँको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गर्न अनुरोध गर्दछु ।' सोमबार साँझ धर्मेन्द्रका परिवारका सदस्यहरू सुपुत्र सन्नी देओल, बबी देओल, नाति करण देओल र राजवीर देओल अस्पताल पुगेका थिए । साथै, बलिउडका चर्चित कलाकारहरू सलमान खान, गोविन्दा र अमिषा पटेल पनि धरमजीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए। धरमजी बलिउडका सर्वाधिक प्रिय र सफल अभिनेतामध्ये एक हुन् । उनले ‘आये मिलन की बेला’, ‘फूल और पत्थर’, ‘आये दिन बहार के’, ‘सीता और गीता’, ‘राजा जानी’, ‘जुगनू’, ‘यादोँ की बारात’, ‘दोस्त’, ‘शोले’, ‘प्रतिज्ञा’, ‘चरस’, ‘धरम वीर’ जस्ता असङ्ख्य लोकप्रिय चलचित्रहरूमा आफ्नो अविस्मरणीय अभिनयमार्फत दर्शकको मन जितेका छन् । सन् २०२३ मा धर्मेन्द्रलाई करण जोहरद्वारा निर्देशित चलचित्र ‘रकी और रानी की प्रेम कहानी’ मा देख्न सकिएको थियो । उक्त चलचित्रमा रणवीर सिंह र आलिया भट्ट मुख्य भूमिकामा थिए । उक्त चलचित्रमा उनको उपस्थितिले नयाँ पुस्ताका दर्शकहरूमा पनि ठूलो उत्साह जगाएको थियो । वरिष्ठ अभिनेता धर्मेन्द्र निकट भविष्यमा आउने चलचित्र ‘इक्कीस’ मा देखिने तयारीमा छन् । अहिले उनको स्वास्थ्य सुधारोन्मुख रहेको जनाइएको छ र फिल्म उद्योगसहित सम्पूर्ण भारतभरका प्रशंसकहरूले उनको शीघ्र स्वास्थ्यलाभका लागि शुभेच्छा व्यक्त गरिरहेका छन् । रासस
नेपाल इन्स्योरेन्सले फुटसल प्रतियोगिता आयोजना गर्ने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले फुटसल प्रतियोगिता पुनः आयोजना गर्ने भएको छ । कम्पनीले असोज ३ र ४ गते गर्ने भनिएको प्रतियोगिता देशमा उत्पन्न परिस्थितिका कारण स्थगित गरिएको थियो । अब उक्त प्रतियोगिता मसिंर १९ र २० गते सामाखुसी फुटसल मैदानमा हुने भएको छ । प्रतियोगितामा नेपाल बीमा प्राधिकरणसहित सम्पूर्ण जीवन, निर्जीवन, लघु तथा पुनर्बीमा कम्पनीहरू सहभागी हुन सक्नेछन् । यसअघि दर्ता भएका कम्पनी वा टिमहरूले पुनः दर्ता गरिरहन आवश्यक छैन भने नयाँ टिमहरू पनि दर्ता गर्न सक्नेछन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । आयोजकले प्रतियोगिताको मुख्य उद्देश्य मनोरञ्जन मात्र नभई बीमा क्षेत्रसँग सम्बन्धित कर्मचारीहरूबीच समन्वय, सद्भाव, आत्मविश्वास र स्वास्थ्य चेतना विकास गर्नु रहेको जनाएको छ ।
सानिमा रिलायन्सको स्टार एजेन्सी मिट सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै स्टार एजेन्सी मिट सुदूरपश्चिम प्रदेश र नेपालगञ्जमा सम्पन्न गरेको छ। सुदूर श्चिम प्रदेश र नेपालगञ्ज रिजनका अभिकर्ताहरूमध्ये प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या र टिम व्यवसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो । सुदूरपश्चिम प्रदेशमा र नेपालगञ्ज रिजन आयोजित कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको कम्पनीले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० शिवनाथ पाण्डे, प्रमुख व्यवसाय अधिकृत गुणराज श्रेष्ठ, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुखसहित ३०० भन्दा बढी सहभागीहरू उपस्थित रहेका थिए । साथै नेपालगञ्जमा सम्पन्न कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृत सन्दीप कसजु, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुख सहित २०० भन्दा बढी अभिकर्ता तथा कर्मचारीहरू उपस्थित रहेका थिए। नेपालगञ्ज क्षेत्रमा आयोजित कार्यक्रममा ट्रेनर अर्णिको सिंहले बीमा व्यवसायमा सफल हुन आवश्यक सीप, आत्मविश्वास र सकारात्मक सोचका विषयमा प्रशिक्षण सञ्चालन गरेका थिए । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा सम्पन्न कार्यक्रममा ट्रेनर सैयद अफजल अहमदले अभिकर्ताहरूलाई ग्राहकसँग प्रभावकारी संवाद, बिक्री कलाको सुधार र दीर्घकालीन व्यवसायिक सम्बन्ध निर्माणका उपायहरूबारे उपयोगी प्रशिक्षण दिएका थिए । कार्यक्रममा सीईओ पाण्डेले गत आर्थिक वर्षमा सानिमा रिलायन्सले ७ सय करोड रुपैयाँभन्दा बढीको व्यापार संकलन गरेको जानकारी दिए ।
मधेश प्रदेश : मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ प्रदेश सभा सदस्यको सर्वोच्चमा रिट
काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध एमालेबाहेकका दलहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । मंगलबार (आज) ७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित दायर गरिएको रिटमा मुख्यमन्त्री नियुक्ति संविधानविपरीत भएको दाबी गरिएको छ । अदालत परिसरमै रहेका नेपाली कांग्रेसका मधेश प्रदेश सभापति श्रीकृष्ण यादवले रिट दायर भएको पुष्टि गरे । रिट दायर गर्ने दलहरूमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायतका दलहरू छन् । उनीहरूले प्रदेश प्रमुखले संविधानको मर्म र प्रावधान विपरीत एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाएका छन् । यस प्रकरणले मधेश प्रदेशमा राजनीतिक अनिश्चितता थपिएको छ । विपक्षी दलहरूले एमाले नेतृत्वको सरकार गैरसंवैधानिक भएको दाबी गर्दै मुख्यमन्त्रीको राजीनामा र वैधानिक प्रक्रिया अनुसार नयाँ सरकार गठनको माग गरेका छन् ।
उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुझाव कार्यान्वयन गर्न थालिसकेको छु : अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुझावहरू क्रमशः कार्यान्वयन थालेको बताएका छन् । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबारको बैठकमा बोल्दै उनले आयोगका अधिकांश सिफारिसहरूलाई कार्यान्वयन गर्ने जिम्मेवारी अहिले अर्थ मन्त्रालयले लिएको र केही नीति तथा कानून तयार पार्ने प्रक्रियामा रहेको जानकारी दिए । खनालकाअनुसार आयोगका कतिपय सिफारिसहरू दीर्घकालीन प्रकृतिका छन् । जसका लागि संसदबाट कानून पारित गर्नुपर्नेछ । कार्यकारी निर्णयबाट गर्न सकिने सुधारहरू तत्काल कार्यान्वयन गरिसकिएको स्पष्ट पारे । अर्थमन्त्री खनालले भने– ‘जहाँसम्म आयोगको प्रतिवेदन कार्यान्वयनको कुरा छ, म आफैँले तयार गरेको प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी अहिले मेरो काँधमा आएको छ । कतिपय विषय कानून बनाएर मात्र अघि बढाउन सकिन्छ, त्यसका लागि संसद प्रक्रियामा लैजाने तयारी भइसकेको छ ।’ उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुधारअनुसार नै राजश्व र भन्सार प्रशासनमा योग्यता सुधार गरिएको उनले बताए । अर्थमन्त्री खनालले कर प्रणालीमा देखिएका कमजोरीहरू सुधार गर्न राजस्व प्रशासनमा योग्यता अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई सम्बोधन गरिएको बताए । उनकाअनुसार आयकर गणना गर्न नसक्ने, ब्यालेन्स सेट पढ्न नजान्ने कर्मचारीहरू जिम्मेवार पदमा रहँदा करदाताले राम्रो सेवा पाउन नसकेका बेला अहिले पदपूर्ति गर्दा नै योग्यतामा सुधार गरिएको छ । खनालले भने–‘हाम्रो आन्तरिक राजस्व प्रशासन र भन्सार प्रशासनमा योग्य कर्मचारी नहुँदा सेवा गुणस्तर घटेको थियो । अहिले शाखा अधिकृत तहमा योग्य जनशक्ति भर्ना गर्ने निर्णय गरिएको छ, जसले करदाताले राम्रो सेवा पाउने र राजस्व बढ्नेछ ।’ उनकाअनुसार यो सुधार उच्चस्तरीय आर्थिक सुधार आयोगको सिफारिसअनुसार गरिएको हो, जसले प्रशासनिक दक्षता र पारदर्शिता बढाउने अपेक्षा गरिएको छ । हालै स्वकीय सचिव र सल्लाहकार नियुक्तिसम्बन्धी विवादलाईबारे पनि अर्थमन्त्री खनालले स्पष्टीकरण दिएका छन् । उनकाअनुसार कानूनमा विपरित नियुक्त भएकालाई सुविधा नदिने निर्णय अर्थ मन्त्रालयले गरेको हो, तर कानुन मन्त्रालयले तयार गरेको अनुसूचीमा भएका परिवर्तनबारे आफूलाई पनि मिडियामार्फत मात्र जानकारी भएको उनले बताए । अर्थमन्त्री खनालले भने– ‘हामीले कुनै अनुसूची परिवर्तन गरेका छैनौँ । कानूनमा नभएका सुविधा नदिने मात्र भनेका हौँ । यो विषय कानून मन्त्रालयसँग संवद्ध छ, त्यसैले म कानूनमन्त्री र प्रधानमन्त्रीसँग पनि कुरा गर्नेछु । कानूनमा व्यवस्था नभएकाले स्वकीय सचिव नियुक्ति हुन नसक्ने कुरा कानून मन्त्रालयले स्पष्ट गर्नुपर्छ ।’ भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणमा प्रगति खनालले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण सम्बन्धी विषयमा नेपालले पछिल्लो समय उल्लेखनीय प्रगति गरेको पनि बताए । उनकाअनुसार अन्तर्राष्ट्रिय निकायहरूले नेपाललाई पहिले ‘कानून बनाएको तर कार्यान्वयन नगरेको’ भनेर आलोचना गरे पनि अब त्यस्तो छैन । खनालले भने–‘अब हामीले कानून मात्र होइन, मुद्दा दर्ता र कारबाही प्रक्रियामा पनि प्रगति गरेका छौँ । यही प्रगतिबारे आगामी जनवरीमा हुने बैठकमा अन्तर्राष्ट्रिय निकायलाई जानकारी दिन सक्नेछौँ ।’ खनालले नेपालले अन्तर्राष्ट्रिय निकायहरूसँग गरेको प्रतिवद्धता पालनामा पनि सरकार गम्भीर रहेको बताए ।
भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै
काठमाडौं । पूर्व एमाले उपाध्यक्ष तथा मातृभूमि जागरण अभियानका संयोजक भीमबहादुर रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दैछन् । पार्टी प्रवेशका लागि विशेष कार्यक्रम मंगलबार (आज) दिउँसो आयोजना हुने भएको छ । रावलले केही महिनाअघि एमालेबाट अलग भएर मातृभूमि जागरण अभियानको नेतृत्व गरेका थिए । अब सो अभियानलाई नेपाली कम्युनिष्ट पार्टीमा समायोजन गर्दै रावल स्वयं पनि पार्टी प्रवेश गर्न लागेका हुन् । कार्यक्रमलाई नेकपाका शीर्ष नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतका नेताहरूले संयुक्त रूपमा सम्बोधन गर्ने तयारी रहेको छ । रावलले भनेका छन्, ‘राष्ट्रियता, सामाजिक न्याय र सुशासनका विषयमा हाम्रो विचार नेकपासँग मिल्दो छ । देशको समृद्धिका लागि एकीकृत वाम शक्ति आवश्यक भएकाले हामी नेकपामा जाने निर्णयमा पुगेका हौं ।’ एमालेमा रहँदा पार्टीभित्र नीतिगत मतभेद देखिएपछि रावलले २०८१ सालमा मातृभूमि जागरण अभियान स्थापना गरेका थिए । एमालेले उनलाई पार्टी गतिविधिबाट निलम्बन गरेपछि उनले वैकल्पिक राजनीतिक यात्राको सुरुवात गरेका थिए । नेकपाको नेतृत्वले रावल र उनको अभियानलाई पार्टीमा समाहित गर्न विशेष पहल गरेको र उनलाई पार्टीको नीति, संगठन र राष्ट्रिय अभियानमा प्रमुख भूमिका दिने तयारी गरेको नेकपाले जनाएको छ । नेकपाका अनुसार उक्त पार्टीमा रावललाई उपाध्यक्ष सरहकै जिम्मा दिने तयारी रहेको छ । कार्यक्रममा देशभरका अभियान प्रतिनिधि, नेकपाका केन्द्रीय सदस्यहरू र विभिन्न वामपन्थी संगठनका प्रतिनिधिहरूको उपस्थितिको तयारी गरिएको रावलले जानकारी दिए ।
डोंगफेङको इटहरीमा अत्याधुनिक शोरूम उद्घाटन, टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सञ्चालन
काठमाडौं । डोंगफेङ ब्रान्डका अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स प्रालिले श्रीजना मोटर्ससँग सहकार्य गर्दै इटहरीमा नयाँ अत्याधुनिक शोरूमको उद्घाटन गरेको छ । यस कदमले नेपालभर सञ्जाल विस्तार गर्ने कम्पनीको प्रतिबद्धतालाई बलियो बनाएको छ भने ग्राहकहरूको आवश्यकतालाई पूरा गर्ने उद्देश्यमा पनि योगदान पुर्याएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्त, श्रीजना मोटर्सका प्रबन्ध निर्देशक दिपेन्द्र चौधरीसहित सञ्चारकर्मी, ग्राहक, व्यवसायी र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो । कम्पनीका अनुसार इटहरीको केन्द्रमा अवस्थित नयाँ शोरूमले आगन्तुकहरूलाई डोंगफेङ र सेरेसका नवीनतम ईभी मोडेलहरूको प्रत्यक्ष अनुभव प्रदान गर्नेछ । ग्राहक अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको शोरूममा प्रशिक्षित कर्मचारीहरूको टोली व्यक्तिगत परामर्श, जानकारी र टेस्ट ड्राइभ सेवा प्रदान गर्न सधैं तयार रहनेछ । इटहरीमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प शोरूम उद्घाटनको अवसरमा एमएडब्लू वृद्धि मोटर्सले कार्तिक २४ देखि २६ गतेसम्म इटहरी, राजस्व ढाँटस्थित श्रीजना मोटर्समा तीन दिने टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको छ । यस अवधिमा ग्राहकहरूले नामी ०१, नामी भिगो तथा सेरेस ईभी खरिद वा एक्सचेन्ज गर्न सक्नेछन् । कम्पनीका अनुसार नामी ०१ विशेष उत्सव मूल्यमा, नामी भिगो नाडा मूल्यमा र सेरेस३ मा अधिकतम ६ लाख रुपैयाँसम्मको फाइदा उपलब्ध हुनेछ । ग्राहकहरूले उत्कृष्ट मूल्याङ्कन र एक्सचेन्ज बोनसका साथै प्रत्येक टेस्ट ड्राइभमा उपहार पनि प्राप्त गर्नेछन् ।