विकासन्युज

एसवाई प्यानलको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । एसवाई प्यानल नेपालले आज कात्तिक १९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरे पश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।  कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्नेछ । जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता सेयर उद्योग प्रभावित क्षेत्र चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दा, १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब बाँकी रहेको ४९ लाख ७० हजार ९२१ कित्ता सेयरमध्ये ३ प्रतिशत अर्थात् १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीहरूलाई, ५ प्रतिशत अर्थात् २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोष र ४० लाख ७६ हजार १५६ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा छिटोमा कात्तिक २३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण बिक्री नभए मंसिर ३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु, दक्ष जनशक्ति उत्पादन गर्ने

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित नेपाल एपीएफ अस्पताल बलम्बुमा ‘एपीएफ नेपाल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेस्’ सञ्चालनमा ल्याएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंगलबार उक्त इन्स्टिच्युटको उद्घाटन गर्दै नर्सिङ कोर्षको सुरुआतले सशस्त्र प्रहरीको स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्रमा नयाँ आयाम थपेको बताए । उनले नर्सिङ पेसा स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्डका रुपमा रहेको तथा स्वास्थ्यकर्मीहरूलाई आधुनिक, विशेषज्ञ, व्यावसायिक सीप प्रदान गर्नुको साथै मानवीय सेवाप्रति समर्पित बनाउन थप मद्दत पुग्ने बताउनुभएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।  महानिरीक्षक अर्यालले स्वास्थ्य र शैक्षिक क्षेत्रसँग सम्बन्धित विषयलाई सधैँ प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा मेडिकल कलेज समेत सञ्चालन गर्ने योजना रहेको सुनाए ।  नेपाल एपीएफ अस्पतालका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक डा. रुपक महर्जनले इन्स्टिच्युटमार्फत आगामी दिनहरूमा थप शैक्षिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।  सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रबाट सञ्चालित उक्त इन्स्टिच्युटलाई गत वैशाखमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले आशयपत्र र साउनमा सम्बन्धन दिएको थियो । शैक्षिक सत्रदेखि प्रविणता प्रमाणपत्र तह (नर्सिङ) अध्ययन सुरु गरेको इन्स्टिच्युटमा हालसम्म सःशुल्कतर्फ ३६ र छात्रवृत्तितर्फ ३ गरी ३९ जना विद्यार्थी भर्ना भएका छन् ।

जर्मनीले युक्रेनलाई थप ३ अर्ब युरो सैन्य सहयोग गर्ने

काठमाडौं । जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप ३ अर्ब युरो सैन्य सहयोग गर्ने तयारी गरेको छ।  रुसविरुद्धको लडाइँमा सहयोग गर्न आगामी वर्ष युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा ३ अर्ब युरो बढाएर करिब ११.५ अर्ब युरो (१३.२ अर्ब डलर) पुर्याउने योजना बनाएको हो । जर्मनीको अर्थ मन्त्रालयका प्रवक्ताले एएफपीसँग भने, ‘अर्थमन्त्री लार्स क्लिङबेलले सन् २०२६ को संसदीय बजेट प्रक्रियामा युक्रेनको सहयोगका लागि थप ३ अर्ब युरो प्रस्ताव गर्नुहुनेछ।’ यसमा अन्य सहयोगहरूको साथ तोपखाना, ड्रोन, बख्तरबन्द वाहन र दुई प्याट्रियट प्रणालीहरूको प्रतिस्थापन समावेश छ। प्रवक्ताले थपे, ‘जर्मनी युक्रेनको पक्षमा दृढता पूर्वक उभिएको छ र युरोपमा युक्रेनको सबैभन्दा ठूलो समर्थक हो। यो आर्थिक र सैन्य सहयोगका रूपमा लागू हुन्छ। हामी रूसको आक्रामक युद्धविरूद्ध युक्रेनी भूगोल र नागरिकको रक्षार्थ आवश्यक भएसम्म हाम्रो समर्थन जारी राख्नेछौँं ।’

श्रद्धा-भक्तिपूर्वक गुरु नानकको जन्मजयन्ती मनाइँदै

काठमाडौं । सिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती नेपालसहित विश्वका विभिन्न भागमा रहेका सिख समुदायद्वारा श्रद्धा-भक्तिपूर्वक मनाइँदैछ । यो दिवसमा मानवलाई सहिष्णुता, करुणा र आपसी प्रेमको मार्गमा अघि बढ्न प्रेरणा दिने यो दिवसमा सिख समुदायले गुरुवाणी पाठ, आरती एवं मानव सेवाका कार्यक्रम गर्दै आएका छन् । असमानता, जातीय भेदभाव र हिंसाका विरुद्ध लाग्न गुरु नानकले प्रेरणा दिएकाले उनलाई समनता तथा शान्तिको सन्देश वाहकका रूपमा विश्ववासीले सम्मान गर्दै आएका छन् । 

अब काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ, एनटीसीले ३५ विमानस्थलमा विस्तार गर्दै

काठमाडौं । काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशील, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो । मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मत सम्भार, गुणस्तर वृद्धि र क्षमता  विस्तार गरिएको छ भने ३ निर्माणाधीन सहित ८ स्थानमा नयाँ जडान गरिएको हो । मन्त्रालयका अनुसार अब काठमाडौंको नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ स्थापना र क्षमता विस्तारसहित सञ्चालनमा वाइफाइ सेवा उपलब्ध हुनेछ । साथै काठमाडौंको ठूलो भर्‍याङ यातायात व्यवस्था कार्यालय र ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा स्थापना र क्षमता अभिवृद्धिको काम भइरहेको छ । भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा नयाँ स्थापनाको क्रममा रहेको मन्त्रालयको भनाइ छ । निःशुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि सम्बन्धित संस्थाले सेवाप्रदायक कम्पनीसँग सम्झौता भइसकेको छ । नेपाल टेलिकम, वर्ल्डलिङ्क र भायानेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट स्थापनाका लागि सहकार्य गरेका छन् । सञ्चारमन्त्री खरेलको विशेष सक्रियतामा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीसँगको समन्वयमा निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच विस्तार गरेको हो ।  प्राधिकरणका अनुसार यसअघि वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पताल, त्रिवि  शिक्षण अस्पताल महाराजगञ्ज, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, सहिद धर्म भक्त माथेमा राष्ट्रिय उपचार केन्द्र र पशुपति मन्दिर परिसरमा १० एमबिपिएस ब्याण्डविथलाई बढाएर १५० एमबिपिएस बनाइएको छ । ती क्षेत्रमा प्रत्येक डिभाइसका लागि १०० एमबीबाट बढाएर ५०० एमबी बनाइएको छ ।  त्यसैगरी नेपाल टेलिकमले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित ३५ विमानस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्ने कार्ययोजना बनाएको छ । भक्तपुर क्यान्सर अस्पतालमा ६ वटा एक्सेस प्वाइन्ट र कीर्तिपुर अस्पतालमा ५ वटा एक्सेस प्वाइन्टसहित नयाँ वाइफाइ सेवा उपलब्ध गराइएको छ । गत असोज ६ गते सूचना तथा सञ्चार प्रविधि मन्त्रीमा नियुक्त भएपछि मन्त्री खरेलले मन्त्रालयमा पदभार ग्रहणका क्रममा आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्दै २ महिनाभित्र काठमाडौं उपत्यकाका महत्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णय गरेका थिए । मन्त्रालयका अनुसार उपत्यका बाहिरका महत्वपूर्ण दस वटा सहरमा पनि निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच पुर्याउने काम अघि बढेको छ । निःशुल्क वाइफाइ इन्टरनेट सेवा सञ्चालनको अनुगमनका लागि सञ्चारमन्त्री खरेलसहितको टोली आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नयाँ बसपार्क, त्रिवि शिक्षण अस्पताल, पशुपति क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ ।

सहकारीले समयमा रासायनिक मल नल्याएपछि किसान समस्यामा

काठमाडौं । सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल समयमा नपाउँदा किसान समस्यामा परेका छन् । अनुदानको मल वितरणको जिम्मा पाएका सहकारीहरूले कृषि सामग्री कम्पनीबाट रासायनिक मल नलग्दा किसानहरू समस्यामा परेका हुन् ।  किसानले हिउँदे बाली लगाउने समय भइसक्दा समेत सहकारीहरू मल लिन नआएको कृषि सामग्री कम्पनी कञ्चनपुरका प्रमुख हेमराज जोशीले जानकारी दिए ।  रासायनिक मल वितरणका लागि कृषि सामग्री केन्द्रमा दर्ता भएका सहकारीले असोज मसान्तसम्ममा नवीकरण गरेर १० दिनभित्र कोटाको रासायनिक मल लगि सक्नुपर्ने प्रावधान भए पनि हालसम्म सहकारीहरू नवीकरण गर्न समेत नआएको उनले बताए । ‘यहाँ मल वितरणका लागि १५४ वटा सहकारी दर्ता भएका छन् जसमध्ये असोज मसान्तसम्म २० वटा सहकारीले मात्रै नवीकरण गरेका छन्,’ कार्यालय प्रमुख जोशीले भने, ‘सहकारीहरूले समयमा मल नलग्दा समस्या भएको छ ।’ उनले कञ्चनपुरमा रासायनिक मल अभाव नरहेको बताउँदै सहकारीले समयमा मल नलग्दा किसान समस्यामा पर्ने गरेको बताए ।  ‘हामीले सिधैं किसानलाई मल बिक्री गर्न मिल्दैन, सहकारीमार्फत कोटा अनुसार मल वितरण गर्ने हो,’ उनले भने, ‘सहकारीले मल लिन नआएपछि पालिकाहरुलाई पत्राचार गरेका छौँ ।’ हाल कञ्चनपुरका ९ वटा स्थानीय तहमा कोटा अनुसार सहकारीलाई मल वितरण गरिँदै आएको छ । ‘रासायनिक मल आउनेक्रम जारी छ, एक चरणको कोटाको मल हामीले वितरण गरिसकेका छौँ । अहिलेसम्म मल अभाव भएको छैन हामीसँग पर्याप्त मल मौज्दात छ,’ जोशीले भने ।  उनका अनुसार हालसम्म ५०० मेट्रिक टन डिएपी वितरण भइसकेको छ । एक हजार १०० मेट्रिक टन डिएपी मौज्दात छ । त्यसैगरी युरिया ५०० मेट्रिक टन वितरण भइसकेको छ भने ३०० मेट्रिक टन गोदाममा मौज्दात रहेको छ । अहिले पनि रासायनिक मल आउनेक्रम जारी रहेकाले मलको अभाव नहुन कृषि सामग्री केन्द्रले जनाएको छ । यहाँका किसानहरूले भने समयमा रासायनिक मल नपाउँदा हिउँदे बाली लगाउन समस्या भएको गुनासो गरेका छन् ।  ‘कृषि सामग्री कम्पनीले सिधैं किसानलाई मल दिँदैन सहकारीमार्फत दिन्छ,’ बेदकोट नगरपालिका-६ का कृषक सेटसिंह रानाले भने, ‘हामीले तरकारी लगाइसक्यौँ मल पाएका छैनौँ अहिले  सहकारीमा जाँदा मल छैन भन्छन् ।’ सहकारी नियमनको जिम्मेवारी स्थानीय तहको भए पनि प्रभावकारी रुपमा सहकारीको नियमन नहुँदा सहकारीहरू जिम्मेवार नबनेका किसानको बुझाइ छ ।  भीमदत्त नगरपालिका-८ का कृषक वीरसिंह थापाले भने, ‘कृषि सामग्री कम्पनीमा जाँदा मल पर्याप्त छ भन्छन् सहकारीले मल छैन भन्छ यसको नियमन गर्ने स्थानीय तहले हो त्यो हुन नसक्दा हामी समस्यामा परेका छौँ ।’

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, केही स्थानमा मध्यम वर्षा र हिमपात

काठमाडौं । हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुनेछ । त्यसैगरी, आज राति देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यी कुराले गर्छ मिर्गौलालाई हानी, तुरुन्तै रहनुहोस् टाढा

काठमाडौं । राम्रो स्वास्थ्यको लागि पहिलो कदम भनेको तपाईंको भान्सामा पौष्टिक खाना हुनु हो । धेरै खानेकुराहरू चिनी र सोडियमको लुकेको स्रोत भएकाले तपाईंको फ्रिजमा के राखिएको छ र यसलाई खाँदा शरीरको कलेजो, मिर्गौला र मुटु जस्ता अंगहरूमा कस्तो प्रभाव पर्छ भनेर जान्न महत्त्वपूर्ण छ ।  अमेरिकाको नेशनल किड्नी फाउन्डेसनको रिपोर्ट अनुसार आजकल मिर्गौलासम्बन्धी रोग बढ्दो छ । यसका दुई प्रमुख कारणहरू मधुमेह र उच्च रक्तचाप हुन् । तर यदि तपाईंले यी रोगहरूलाई नियन्त्रण गर्नुभयो भने मिर्गौला रोगलाई धेरै हदसम्म रोक्न वा ढिलो गर्न सकिन्छ । आउनुहोस यसका लागि हामीले कस्ता खानेकुरा नखाने जानौं।  मिर्गौलाको लागि के नखाने ? स्वस्थकर खानेकुरा छनौट गरी चिनी, बोसो, सोडियम र नुनको सेवन नियन्त्रण गर्ने हो भने मृगौला रोगको जोखिम कारकहरूबाट बच्न सकिन्छ । यी परिवर्तनहरूले तपाईंको मृगौलाको प्रतिरक्षालाई बलियो बनाउन सक्छ । सोडाबाट टाढा रहनुहोस्  सोडा चिनीले भरिपूर्ण हुन्छ । चिनीले तौल बढाउन सक्छ । धेरै अनुसन्धानहरूले सोडालाई ओस्टियोपोरोसिस, मिर्गौला रोग, मेटाबोलिक सिन्ड्रोम र दाँतको रोगको कारण देखाएका छन् । डाइट सोडामा क्यालोरी कम हुन सक्छ तर यसमा कुनै पोषण हुँदैन । यसमा कृत्रिम गुलियो पदार्थ जस्ता थप पदार्थहरू हुन्छन् । त्यसैले सोडा छोड्नुहोस् र पानी पिउनुहोस् । यदि तपाईंलाई धेरै सादा पानी पिउन समस्या भइरहेको छ भने स्वाद बढाउन ताजा फलफूल वा कागतीको रस पनि मिसाउनु सक्नुहुन्छ ।   प्रशोधित मासु खतरनाक  मिर्गौला स्वस्थ राख्न आफ्नो आहारबाट प्रशोधित मासु हटाउनुहोस् । प्रशोधित मासु सोडियम र नाइट्रेटको स्रोत पनि हुन सक्छ । जसले क्यान्सरको जोखिम पनि बढाउँछ ।  त्यसैले, ताजा र कम बोसो भएको मासु उत्पादनहरू छनौट गर्नु उपयुक्त हुन्छ ।  स्वादिष्ट मक्खन स्वस्थकर हुँदैन  बजारमा स्वादिष्ट मक्खन स्वास्थ्यका लागि हानिकारक हुन्छन् । बजारका बटरमा कोलेस्ट्रोल, क्यालोरी र स्याचुरेटेड फ्याट प्रशस्त मात्रामा पाइन्छ ।  यसमा प्रायः ट्रान्स फ्याट हुन्छ । त्यसैले घरमै बनाएको शुद्ध घ्यू, बटर वा जैतुनको तेल प्रयोग गर्दा स्वाथ्यका लागि लाभदायक हुन्छ । मेयोनेजबाट टाढा रहनुहोस् स्यान्डविच, बर्गर र फ्राइज जस्ता चीजहरूमा एक चम्चा मेयोनेज थप्दा तिनीहरूको स्वाद बढ्छ । तर के तपाईंलाई थाहा छ केवल एक चम्चा मेयोनेजमा १०३ क्यालोरी हुन्छ । यसमा फ्याट पनि उच्च हुन्छ । मेयोनेज पनि कम क्यालोरी र फ्याट सामग्रीको साथ उपलब्ध हुन्छ । तर यसमा सोडियम र चिनी उच्च हुन्छ । यसमा प्रोटिनको मात्रा धेरै हुन्छ र सलादसँग राम्रोसँग जान्छ । जमेको खाना विश्वभरका धेरै अध्ययनहरूले प्रशोधित खानाले टाइप २ मधुमेहको जोखिम बढाउँछ भन्ने देखाएको छ । जबकि फ्रोजन अर्थात् फ्रोजन पिज्जा, ग्रेभी जस्ता पूर्व–तयार गरिएका वस्तुहरूमा धेरै चिनी, सोडियम र बोसो हुन सक्छ।   सबै जमेका खानाहरू एकैनासका नहुने भए तापनि सम्भव भएसम्म ताजा र सम्पूर्ण खाना खानु राम्रो हुन्छ ।  जमेको खाना छनौट गर्दा पनि, लेबल ध्यानपूर्वक पढ्नुहोस् र कम सोडियम वा सोडियम नभएको जमेको खाना छनौट गर्नुहोस् ।