विकासन्युज

कर्णाली राजमार्गका १६ रुग्ण ठेक्का तोडिए, धरौटी जफत

काठमाडौं । जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गका सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका १६ वटा रुग्ण ठेक्का एकसाथ तोड्न प्रक्रिया सुरु गरेको छ । सार्वजनिक सूचना प्रकाशित गर्दै कार्यालले कालिकोट, जुम्ला र मुगुमा सञ्चालित १६ वटा ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिएकोसम्बन्धी १५ दिने सार्वजनिक सूचना निकालिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले जानकारी दिए । ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०७४/७५ देखि २०८२/८३ मा सम्झौता भएका कालिकोटका १२, जुम्लाका तीन र मुगु जिल्लाका एक वटा सडक डिभिजन कार्यालयका मातहतका जिल्लाका रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी सिंहको भनाइ छ ।  ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न कार्यालय लागिपरेको छ । विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदासमेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालयका प्रमुख श्रवणकुमार महतराले बताए । कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटी बापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नाका साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने कार्यालय प्रमुख महतराको भनाइ छ ।  यसअघि कर्णाली राजमार्गका ठेक्का निर्माण कार्य अलपत्र पारिएका सडकका १० वटा रुग्ण आयोजनाका ठेक्का तोडिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

माल्दिभ्स, मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै प्रलोभन देखाएर ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचारकक्षका अनुसार प्रहरीले बाराका गगनबहादुर स्याङ्तान, सर्लाहीका निर्जल बस्नेत र दाङका बलबहादुर चन्द ठकुरीलाई पक्राउ गरेको छ ।  पक्राउ परेकामध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै चार जनाबाट चार लाख ३० हजार रुपैयाँ, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै एकजनाबाट तीन लाख ९० हजार रुपैयाँ र बल बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै एक जनाबाट रु एक लाख  लिई सम्पर्कविहीन भएको पाइएको छ ।   पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौं र ललितपुरबाट उनीहरूलाई पक्राउ गरेको हो ।  पक्राउमध्ये गगन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने निर्जल र बल बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।   बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी इलाम देऊमाई नगरपालिका-२ का कृष्णकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत इलामबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं-१४ बल्खुबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इलाम पठाइएको छ ।  

गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगरको निधन

काठमाडौं । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगरको शनिबार भएको सवारी दुर्घटनामा निधन भएको छ । प्रहरीका अनुसार रानामगर आफैंले चलाएको लु प्रदेश १००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा स्वर्गद्वारी नगरपालिका-२, बांगेसल्ला क्षेत्रमा अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ५० वर्षीय रानामगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उपप्रमुख रानामगरको असामयिक निधनले स्वर्गद्वारी नगरपालिकासहित जिल्लाको राजनीतिक तथा सामाजिक क्षेत्रमा शोक छाएको छ ।

केडियाले किनेपछि मोबाइल कर्जामा आक्रामक बतास, एनपीए १६.९ प्रतिशतमा झार्यो

काठमाडौं । केडिया ग्रुपअन्तर्गत सञ्चालित बतास हायर पर्चेजले आर्थिक वर्ष २०८१/८२ मा १९ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा २७.८३ प्रतिशत अर्थात् ७ करोड ६० लाख रुपैयाँ कम हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २७ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो ।  यसअघि कम्पनीले यसअघि आव २०७९/८० मा ३० करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा २१ करोड ९० लाख रुपैयाँ, आव २०७७/७८ मा २३ करोड ९० लाख रुपैयाँ र आव २०७६/७७ मा २१ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा १६ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ ।  यस्तै, चालु आवको नौ महिनामा कम्पनीको नेटवर्थ २८ करोड ३० लाख रुपैयाँ पुगेको छ । जबकि गत आर्थिक वर्ष २०८१/८२ मा नेटवर्थ २४ करोड ३० लाख रुपैयाँ रहेको थियो । त्यसअघि आव २०८०/८१ मा २७ करोड १० लाख रुपैयाँ, आव २०७९/८० मा ३० करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा ३५ करोड ३० लाख रुपैयाँ, आव २०७७/७८ मा ३३ करोड ६० लाख रुपैयाँ र आव २०७६/७७ मा १७ करोड ९० लाख रुपैयाँ थियो । सार्वजनिक विवरणअनुसार चालु आवको पहिलो नौ महिनामा कम्पनीको कुल कर्जा पोर्टफोलियो १ अर्ब ५५ करोड ७० लाख रुपैयाँ पुगेको छ । यसअघि आव २०८१/८२ मा १ अर्ब २३ करोड १० लाख रुपैयाँ, आव २०८०/८१ मा १ अर्ब ५८ करोड रुपैयाँ, आव २०७९/८० मा १ अर्ब ८४ करोड ६० लाख रुपैयाँ, आव २०७८/७९ मा १ अर्ब ६४ करोड ५० लाख रुपैयाँ, आव २०७७/७८ मा १ अर्ब ४५ करोड रुपैयाँ र आव २०७६/७७ मा १ अर्ब ४५ करोड ४० लाख रुपैयाँ कुल पोर्टफोलियो थियो । सन् २००३ मा बतास समूहद्वारा स्थापना गरिएको बतास हायर पर्चेज प्रालि मार्च २०२५ मा केडिया ग्रुपले खरिद गरेको हो । खरिदपछि कम्पनीको सम्पूर्ण सेयर स्वामित्व तथा सञ्चालक समिति परिवर्तन भएको छ । हाल कम्पनीका अध्यक्ष सानु काजी तमोट र प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र प्रसाद तिम्सिना रहेका छन् । कम्पनीले परम्परागत हायर पर्चेजसँगै मोबाइल फोन तथा डिजिटल उपकरण खरिदका लागि पनि कर्जा प्रवाह गर्दै आएको छ । सन् २०२५ अगस्टदेखि सुरु गरिएको यो व्यवसायले छोटो अवधिमै उल्लेखनीय विस्तार गर्दै चालु आवको ९ महिजासम्म कम्पनीको कुल पोर्टफोलियोको करिब ३० प्रतिशत हिस्सा ओगटेको छ । यस्तै, यात्रुवाहक सवारी (प्यासेन्जर भेहिकल) कर्जामा पनि तीव्र वृद्धि भएको कम्पनीले जनाएको छ । चालु आवको नौ महिनामा यस क्षेत्रको वार्षिकीकृत वृद्धि करिब २५१ प्रतिशत पुगेको छ । यससँगै कुल पोर्टफोलियोमा यसको हिस्सा गत वर्ष १४ प्रतिशत रहेकोमा ९ महिनामा ३० प्रतिशत पुगेको कम्पनीको दाबी छ । यस विस्तारसँगै व्यावसायिक सवारी तथा निर्माण उपकरण लगानीमा कम्पनीको निर्भरता घटेको छ । यी क्षेत्रको हिस्सा गत वर्ष ८४ प्रतिशत रहेकोमा समीक्षा अवधिमा घटेर ३८ प्रतिशतमा सीमित भएको छ । चालु आवको ९ महिनामा कम्पनीको खुद ब्याज आम्दानी १२७ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ४.२ प्रतिशत र अघिल्लो वर्ष ४.४ प्रतिशत रहेको ब्याज आम्दानी चालु आवमा बढेर ९.५ प्रतिशत पुगेको छ । ऋण लिने लागत घट्नुका साथै मोबाइल तथा डिजिटल उपकरण कर्जाबाट प्राप्त आम्दानी सुधारको प्रमुख कारण रहेको कम्पनीले जनाएको छ । समीक्षा अवधिमा कुल ब्याज आम्दानीमध्ये करिब ४१ प्रतिशत हिस्सा सबभेन्सन आम्दानीको रहेको छ, जबकि अघिल्ला वर्षहरूमा यस्तो आम्दानी थिएन । कम्पनीको कुल खराब कर्जा (एनपीए) १६.९ प्रतिशत रहेको छ । यसअघि गत वर्ष २१.४ प्रतिशत कुल खराब कर्जा थियो । कर्जा पोर्टफोलियो विस्तारका कारण अनुपात घटेको कम्पनीले जनाएको छ । हायर पर्चेज कर्जा लिने ग्राहकहरूको कर्जा गुणस्तर परम्परागत बैंक तथा वित्तीय संस्थाका ग्राहकको तुलनामा सामान्यतः कमजोर हुन्छ । धितो व्यवस्थापन प्रणाली पनि अपेक्षाकृत कमजोर रहेकाले यस्तो क्षेत्रमा लगानी गर्ने कम्पनीहरूको जोखिम उच्च रहने जनाएको छ । यद्यपि उच्च ब्याजदरले केही हदसम्म जोखिम न्यूनीकरण गरे पनि आर्थिक मन्दी लम्बिँदा खराब कर्जा बढ्ने प्रवृत्ति हायर पर्चेज उद्योगमा सामान्य मानिन्छ ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ८० करोड रुपैयाँ ऋण लिएको छ । जसमा २ अर्ब ७६ करोड १० लाख रुपैयाँ दीर्घकालीन र ३ करोड ९० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । 

गिरीले कैदीबन्दीसँग १ हजार उठाउँथे, 'बी बल्क'का बन्दी उनका समर्थनमा

काठमाडौं । अभिषेक गिरी पक्राउको विरोधमा मोरङ कारागारमा विरोध भएको छ । कारागारको बी ब्लकमा भएकले कैदीबन्दी गिरी निर्दोष रहेको तुरुन्त रिहा गर भन्दै उनको समर्थनमा प्रदर्शन गरेका हुन् ।  जिल्ला प्रशासन कार्यालय प्रमुख, कारागारमा रहेका सुरक्षाकर्मी र जिल्ला प्रहरी कार्यालयका प्रहरी आएर कैदीबन्दीलाई सम्झाउने कार्य भइरहको कारागार प्रमुख राजन घिमिरेले विकासन्युजलाई बताए । उनका अनुसार अहिले अवस्था सामान्य रहेको छ । 'बी बल्क'का कैदीबन्दीले गिरी निर्दोष रहेको भन्दै आन्दोलन गरेका थिए । उनले कैदीबन्दीबाट पैसा लगेका छैनन् जस्ता नारा कैदीबन्दीले लगाएका थिए । कारागारको 'ए ब्लक'का कैदीबन्दीले हामी अन्यायमा परेको र अनायासै दुःख दिने गरेको उजुरी परेकाले अभिषेक गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ । कारागारले गर्मीका लागि कैदीबन्दीलाई लुगा किन्न दिएको पैसासमेत गिरीले लैजाने गरेको कैदीबन्दीको आरोप छ । ‘केही दिनअघि मात्र कैदीबन्दीलाई २५ सय रुपैयाँ दिएको थियो । त्यो पैसासमेत गिरी लगेको उजुरी परेको थियो । कैदीबन्दीलाई दिएको पैसा चेक गर्दा साथमा ५ देखि १ हजार मात्र रहेको थियो,’ उनले भने । कारागारामा कुल कैदीबन्दी १ हजार २०२ जना छन् । ए ब्लकमा ५ सय ४९, बी ब्लकमा ५ सय ४४ र महिला ब्लकमा २ जना नाबालकसहि १ सय ९ जना छन् । कैदीबन्दीको भनाइ उदृट्ट गर्दै उनले कैदीबन्दीले बाँकी पैसा परिवारलाई दिएको बताए । पटक-पटक गरेर गिरीले दुःख दिएको उजुरी परेपछि उनलाई प्रहरीले खोजेको थियो । कारागारमा 'ए ब्लक र बी ब्लक' रहेको छ । दुई ब्लकमा पुरुष कैदीबन्दी र एक ब्लकमा भने महिला कैदीबन्दी मात्र रहेका छन् ।  शनिवार बिहान ४८ वर्षीय गिरीलाई मोरङ जिल्ला प्रहरी कार्यालयको टोलीले घरबाट नियन्त्रणमा लिएको थियो । उनले मोरङ कारागार विराटनगरमा रहेका कैदी बन्दीहरुलाई अनुचित प्रभावमा पारी अवैध रकम असुली गर्ने गरेका थिए । अवैध रकम असुली गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्र कुमार मिश्रले जानकारी दिए । गिरीले कुनै समय मोरङ तथा पुर्वी नेपालमा गुण्डागर्दी पहिचान बनाएका थिए । पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा आवद्ध छन् । गिरी फाउण्डेसनमार्फत समाजसेवा पनि गर्दै आएका थिए । खोलाको क्रसर तथा विभिन्न ठेक्कामा उनले हात हालेका थिए । यसअघि सम्पत्ति शुद्धीकरणमा समेत तानिएका थिए । पछि विशेष अदालतबाट उनले सफाइ पाएका थिए ।

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।          केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट पाँच, मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुईरदुई, सुनसरी र काठमाडौंबाट एकरएक जना पक्राउ परेका छन् ।           प्रहरीले उनीहरूका साथबाट लागुऔषध गाँजा, अफिम र खैरो हेरोइन तथा चिकित्सको सिफिारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल र स्पास्मो बरामद गरेको छ ।   

रास्वपा पतन हुने दाबी गर्दै लिङ्देनले भने – अब राप्रपाले आफूलाई बदल्नुपर्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पतन हुने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले रास्वपा पतन हुने दाबी गरेका हुन् ।  उनले राप्रपालाई अबको बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्नको लागी आफूलाई बदल्नुपर्ने बताए । पार्टीको संगठन, कार्यशैली र सोचमा आमूल परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गरे । जनताले राप्रपालाई ठूलो मत नदिएपनि देशमा राजनीतिक विकल्प आवश्यक पर्ने विश्वासका साथ राष्ट्रिय पार्टीका रूपमा जोगाइराखेको बताए ।  उनले पार्टीलाई राष्ट्रिय पार्टी बन्न नदिन विभिन्न प्रयास भएको दाबी गर्दै ती सबै चुनौतीका बाबजुद राप्रपा राष्ट्रिय पार्टीको हैसियतमा कायम रहेको बताए । आगामी दिनमा राप्रपा बलियो वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने उनको भनाई छ । रास्वपाको पतनको प्रतीक्षा गरेर मात्रै राप्रपाको उदय नहुने पनि बताए ।  पार्टीले संगठन संरचना, कार्यशैली र गतिविधिमा व्यापक सुधार गरी जनतालाई ‘राप्रपा फेरिएको र सुध्रिएको’ सन्देश दिनुपर्ने उनको भनाइ छ । पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरी एकता, आपसी विश्वास र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । नेताको पछि लाग्ने नभई जनतालाई साथमा लिएर पार्टीलाई बलियो बनाउन लाग्न नेता–कार्यकर्तालाई आह्वान गरे । उनले भने, ‘अब राष्ट्रिय प्रजातन्त्र पार्टीकै पालो हो, तर राष्ट्रिय स्वतन्त्र पार्टी पतन भएपछि राप्रपाको पालो आउँछ भनेर बसेर राप्रपाको पालो आउँदैन । त्यसका लागि हामीले मेहनत गर्नुपर्छ । यो राष्ट्रिय स्वतन्त्र पार्टी त पतन हुनेवाला छ नै तर त्यसपछि हामी उठ्नको लागि हामीले अहिले गरिराखेको हाम्रो क्रियाकलाप, हाम्रो तरिका, हाम्रो ढाँचामा आमूल परिवर्तन गर्नुपर्नेछ ।’ पार्टी कार्यकर्तालाई महाधिवेशनमा जुट्न पनि निर्देशन दिए । महाधिवेशन मंसिर २६, २७ र २८ गते तोकिएको समयमा नै हुने उल्लेख गर्दै उहाँले निर्वाचन तालिका अनुसार नै तल्लो तहको अधिवेशन गर्न आग्रह गरे ।  

समस्याग्रस्त सहकारी गाभ्न महानगरको पहल, दर्ता खारेजीका सर्त सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले समस्याग्रस्त सहकारीहरू एकआपसमा गाभ्नका लागि सर्तहरू अगाडि बढाएको छ । कामपा क्षेत्राधिकार भई सञ्चालनमा रहेका सहकारी संस्थाले सहकारी ऐन २०७४ को दफा ६६ बमोजिम सहकारी संस्था विघटन र दर्ता खारेजी गर्ने सम्बन्धमा सम्बनधीत संस्थाको विभिन्न सर्तहरू अघि सारेको छ ।   सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार लगातार दुई वर्षसम्म कुनै कारोबार नगरी निष्कृय रहेको अवस्था भएमा र साधारण सभाको तत्काल कायम रहेका दुई तिहाई बहुमत सदस्यको निर्णयबाट संस्थाको निर्णय गरी दर्ता खारेजीको स्वीकृतका लागि इच्छुक संस्थाले प्रक्रिया अघि बढाउन सक्ने छ ।     त्यसका लागि कामपाले सम्बन्धित संस्थको लेटर प्याड सहकारीको विघटन दर्ता खारेजीसम्बन्धी निवेदन, वडा कार्यलयबाट व्यवसाय कर तथा वहाल कर चुक्ताको प्रमाणपत्र, साधारणसभाबाट दुई तिहाई सदस्यले सहकारी विघटनरदर्ता खारेजीको निर्णयको प्रमाणित प्रतिलिपी, शेयर सदस्यको विवरण, ऋणीको विवरण, बचतकर्ताको विवरण, हालसम्मको सञ्चालक समितिको तीनपुस्ते विवरण र ऋण लगानी बाहेकका अन्य चल अचल सम्पत्तिको विवरण विभागका प्राप्त भएमा मात्र कानुनी रूपमा प्रक्रिया अघि बढाइने प्रमुख काफ्लेले जानकारी दिए ।    पछिल्लो समय कामपा सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन छ हजार बचतकर्ताले आवेदन  पनि परेको बताइएको छ । विभागका अनुसार आगामी एक महिनाभित्र पाँच लाख रुपैयाँसम्म बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना रहेको छ । साथै ठूला बचतकर्ताका हकमा ऋण असुली प्रक्रिया अघि बढाउँदै बचत फिर्ता गर्न समन्वय भइरहेको पनि प्रमुख काफ्लेले जानकारी दिए । सहकारी विभागले उजुरी दर्ता, सञ्चालक र बचतकर्ताबीच छलफल तथा मिलापत्र गराउने कार्य गर्दै आएको छ । सहमति हुन नसकेमा आवश्यक कारबाहीका लागि सिफारिस गरिने विभागले जनाएको छ । हाल कामपामा एक हजार ९१२ सहकारी रहेको छ । ५० प्रतिशत सहकारीले मात्रै नियमित रूपमा वार्षिक साधारणसभा गरेको प्रतिवेदन पेस गर्ने गरेका छन् । दर्ता भएका तर नियमित रूपमा साधारणसभा नगर्ने सहकारीलाई कामपाले कानुनी कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।