विकासन्युज

बञ्चरेडाँडामा रात्रीकालीन फोहोर व्यवस्थापनका लागि बत्ती जडान कार्य सुरु

काठमाडौं । नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा रात्रीकालीन फोहोर व्यवस्थापनलाई सहज बनाउन बत्ती जडानको काम सुरु भएको छ ।  नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्रले सोमबार साइटमा बत्ती जडानका लागि आवश्यक पर्ने सामग्री पुर्‍याइसकेको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार ल्याण्डफिल्ड साइटको स्थलगत निरीक्षण र स्थानीयहरूसँगको अन्तक्र्रियाका क्रममा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि तत्काल बत्ती जडान सुरु गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसपछि प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र नुवाकोट वितरण केन्द्र प्रमुखलाई बत्ती जडानका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी तत्काल अघि बढाउन निर्देशन दिइएको हो । यसै क्रममा फोहोरबाट निस्कने लिच्चड (दूषित रस) व्यवस्थापनका लागि आवश्यक पम्प पनि साइटमा आपूर्ति भइसकेको छ । स्थानीय सरोकार र प्रतिबद्धता कार्यान्वयनका लागि शहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियरको संयोजकत्वमा काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका, ककनी गाउँपालिका र प्रत्यक्ष प्रभावित स्थानीय प्रतिनिधिहरू सहभागी रहने गरी एक संयन्त्र ९समिति० गठन गरिएको छ । यो समितिले ल्याण्डफिल्डको नियमित अनुगमन गर्दै फोहोर व्यवस्थापन, सरसफाइ, र वातावरणीय प्रभाव न्यूनीकरणका विषयमा निगरानी गर्नेछ ।

जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोकेको जानकारी दिए ।  उनले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलापको सञ्चालन नियमावली, २०८२ स्वीकृत गरेको बताए । विपद् संकटग्रस्त जिल्ला घोषणा इलाम जिल्लाका प्रभावित तहहरुलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम पाँच करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको पनि मन्त्री खरेलले जानकारी दिए ।

पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगे हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।  उनले सरकारले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाएको भन्दै रिट दायर गरेका हुन् । शाक्यको रिटको पेशी कार्तिक १८ गतेलाई तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ। मन्त्रिपरिषदको असोज ५ गते बसेको बैठकले शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको थियो ।  सरकारले प्राधिकरणबाट सरुवा गरी शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गरेको थियो ।  सरकारले सुनुवाइको सामान्य मौकासमेत नदिई जिम्मेवारीबाट हटाएको भन्दै शाक्य सर्वोच्च पुगेका हुन् । उनलाई अघिल्लो सरकारले ४ वर्षको लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । सरकारले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको छ ।   

नारायणघाट-बुटवल सडक अब दुई महिना एकतर्फी मात्रै सञ्चालन हुने

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग विस्तार अन्तर्गतको नारायणघाट–बुटवल सडकखण्डमा आगामी करिब दुई महिनासम्म सवारीसाधन एकतर्फी मात्र सञ्चालन हुने भएको छ । नारायणघाट–बुटवल सडक आयोजनाले सोमबार जारी गरेको सूचनाअनुसार दाउन्ने क्षेत्रमा कल्भर्ट निर्माण कार्य गर्नुपर्ने भएकाले पुस १५ गतेसम्म सडक पूर्ण रूपमा बन्द गरी एकतर्फी सञ्चालन हुने भएको हो । हालैको अविरल वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक चिप्लो बनेर यातायात आवागमनमा समस्या देखिएको छ । सवारीको १७ किलोमिटर लामो लाइन लागेको थियो । आयोजनाले आगामी दिनमा पुनः वर्षा भएमा थप कठिनाइ हुन सक्ने हुनाले यात्रु र चालकहरूले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।  कल्भर्ट निर्माण भइरहेका स्थानमा सवारी सञ्चालनमा थप कठिनाइ हुने सम्भावना रहेकोले आयोजनाले दाउन्ने क्षेत्र पार गर्नुअघि जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दुम्कीबाससँग समन्वय गर्न आग्रह गरेको छ। पुस १५ गतेसम्म सडक पूर्ण रूपमा सञ्चालनमा नआउने भएकाले सम्बन्धित यात्रु, चालक तथा यातायात व्यवसायीहरूलाई सचेत रहन र वैकल्पिक मार्ग छनोट गर्न आग्रह गरिएको छ ।

बक्यौता विवाद : ५ प्रतिशत सेवाशुल्क बुझाएर उजुरी दर्ता गर्न आयोग पुग्यो पञ्चकन्या समूह

काठमाडौं । पञ्चकन्या समूहअन्तर्गतका पञ्चकन्या स्टिल र पञ्चकन्या प्लास्टिकले नेपाल विद्युत् नियमन आयोगमा उजुरी दर्ता गराएका छन् ।  नेपाल विद्युत प्राधिकरणको बक्यौता विवादमा उद्योगहरूले बक्यौतामाथि ५ प्रतिशत सेवा शुल्क बुझाएर आयोगमा उजुरी दिएको आयोगका सूचना अधिकारी हरिबहादुर खत्रीले जानकारी दिए । उनले भने, ‘दुई उद्योगले सेवा शुल्कसहित निवेदन ल्याएका छन् । हाल हामी कागजातको रीत पुगेरनपुगेको अध्ययन गर्दैछौं ।’ सूचना अधिकारी खत्रीले आयोगले निवेदन दर्ता भएपछि प्राधिकरणलाई प्रत्युत्तरका लागि लेखी पठाउने र औपचारिक सुनुवाइ प्रक्रियामा प्रवेश गर्ने जानकारी दिए । यसअघि गत वर्ष पनि यस्तै विवादमा उद्योगहरूले आयोगमा उजुरी दिएका थिए । त्यसबेला आयोगले दुई पटक फरक निर्णय गरेको थियो । ६ साउन २०८१ मा आयोगले विवाद समाधान नहुँदासम्म विद्युत् विच्छेद गर्न नपाइने भन्दै काटिएका उद्योगका लाइन तत्काल जोडिदिन निर्देशन दिएको थियो । तर, १४ कात्तिकमा आयोगले आफ्नै अघिल्लो निर्णय विपरीत आदेश जारी गर्दै बक्यौता बुझाएपछि मात्रै लाइन जोडिदिन भनेको थियो ।  गत वर्ष उद्योगहरूले आवश्यक ५ प्रतिशत सेवा शुल्क नबुझाएकाले उजुरी कानुनी रूपमा नचलेको बताइएको थियो । तर, यो पटक पञ्चकन्या स्टिल र पञ्चकन्या प्लास्टिकले सबै प्रक्रिया पूरा गर्दै उजुरी दर्ता गराएका हुन् ।  सूचना अधिकारी खत्रीले भने, ‘यस प्रकारको निवेदन आयोगमा पहिलो पटक औपचारिक रूपमा आएको हो, त्यसैले प्रक्रियामा केही समय लागेको हो । अब दर्ता प्रक्रिया टुंग्याइनेछ ।’ उद्योगहरूले नेपाल विद्युत् प्राधिकरणले गैरकानुनी रूपमा महसुल असुल गर्न खोजेको र लाइनसमेत काटेको आरोप लगाएका छन् । उनीहरूले विद्युत् कटौती रोक्न आयोगसँग लिखित निवेदन दिएका छन् ।   प्राधिकरणका अनुसार पञ्चकन्या स्टिलको ५२ लाख र पञ्चकन्या प्लास्टिकको २५ लाख बक्यौता छ  । बक्यौता नतिरेको भन्दै प्राधिकरणले ७ कात्तिकमा यी दुईसहित २५ उद्योगको लाइन काटेको थियो  ।   बक्यौता उठाउन खोज्दा तत्कालीन सरकारले ११ चैतमा बर्खास्त गरेका घिसिङ अहिले ऊर्जामन्त्री बनेका छन् । त्यसयता उनी बक्यौता उठाउन लागिपरेका छन् ।

जेनजी आन्दोलनमा लुटिएको १८ किलो सुन यसरी फिर्ता गर्दैछ राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जेनजी आन्दोलनमा लुटिएको ग्राहकको सुन बराबरको पैसा दिने तयारी थालेको छ । दुई महिनाअघि भएको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनसँगैको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट १८ केजी सुन लुटिएको थियो । आन्दोलनका क्रममा बैंकबाट ३८ करोड रुपैयाँभन्दा बढीको नगद र १८ केजी सुनसहितको गरगहना लुटपाट भएकोमा हालसम्म ३२ लाख रुपैयाँ बराबरको मात्र सम्पत्ति बरामद भएको प्रहरीले जानकारी दिएको छ ।  बैंकबाट कर्जा लिनेहरूले धरौटी स्वरूप राखेका सुनका गरगहना प्रदर्शनका क्रममा लुटिएको थियो । सुरक्षित कोठाभित्र राखिएको भल्ट फोडेर करिब १८ किलो सुनका गरगहना लुटिएपछि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले निरीक्षणका लागि बैंकमा पुगेका थिए ।  प्रहरीका अनुसार उक्त घटनामा संलग्न भएको आशङ्कामा पक्राउ परेका तीन जना व्यक्तिहरूबाट करिब ७०० ग्राम सुन बरामद भएको छ । पक्राउ परेकामध्ये एक जनालाई अदालतले थुनामा पठाएको छ भने अर्का एक जना अनुसन्धानकै क्रममा छन् ।  बाँकी एक जना नाबालक रहेका कारण तारेखमा छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईले बताए ।  उनका अनुसार प्रदर्शनका क्रममा बैंकका  सीसीटीभीसहित नयाँ बानेश्वर क्षेत्रका कैयौं सीसीटीभी क्यामेरामा क्षति पुगेका कारण अनुसन्धानका लागि समय लागेको छ । ग्राहकले यसरी पाउँछन् सम्पत्ति फिर्ता  राष्ट्रिय वाणिज्य बैंकका सूचना अधिकारी पवन रेग्मीले ग्राहकले जमानतमा राखेको गरगहना बापतको क्षतिपूर्ति दिने तयारी भइरहेको बताए ।  ‘ग्राहकहरूले ल्याएर राख्नुभएको सुन चोरी भएको छ । हामीले उहाँहरूलाई सुन नै दिन नसके पनि त्यस बराबरको नगद भए पनि दिनेछौं । त्यसका लागि एउटा समिति पनि बनेको छ, त्यो समितिले छिट्टै निर्णय गरेर क्षतिपुर्ति दिनेछौं,’ उनले भने ।  सबैभन्दा महत्वपूर्ण विषय गहनासँग व्यक्तिको भावनात्मक सम्बन्ध पनि जोडिएको हुन्छ ।  ‘यसअघि बैंकहरुले के कसरी फिर्ता गरेका रहेछन्, त्यो पनि हेरिरहेका छौं, केहि दिन मै समितिले निर्णय गर्छ र हामी क्षतिपुर्ति दिन्छौं, यसअघि माओवादी सशस्त्र द्वन्द्वका क्रममा पनि कतिपय बैंकहरु लुटिएका थिए । त्यसबेला पनि बैंकहरुले जिम्मा लिएर राखेका ग्राहकका गरगहना र नगदको क्षतिपूर्ति दिएका थिए,’ उनले विगतको अभ्यास सुनाउँदै भने ।  एउटै शाखाबाट ठूलो परिमाणको रकम लुटपाट भए पनि यो रकम बैंक आफुले नै क्षतिपुर्ति तिर्नु पर्दैन । बैंकले आफना्े भल्ट तथा लकरमा राखेका गहनाको बीमा गरेको हुन्छ ।  राष्ट्रिय वाणिज्य बैंकले पनि सबै गहनाको पूर्ण बीमा गरेको थियो । जसअनुसार बैंकले बीमा दाबी गरिसकेको छ । बीमाबाट रकम आउने हुँदा बैंक आफैले रकम हाल्नु नपर्ने रेग्मीको भनाइ छ । सेयरधनीले पनि लुटिएको रकमबाट धेरै गुमाउनु पर्ने अवस्था नभएको उनले जानकारी दिए ।   

सिटिजन्स बैंक र केल्मी शोरूमबीच सहकार्य, बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन्स बैंक र ललितपुरको जावलाखेलस्थित केल्मी शोरूमबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार बैंकका डेबिट र क्रेडिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले केल्मी शोरूम, जावलाखेलमा सामान खरिद गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकले यस सहकार्यबाट ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुने र नगद कारोबारभन्दा डिजिटल कारोबारतर्फ आकर्षित हुने विश्वास व्यक्त गरेको छ । सिटिजन्स बैंकले डिजिटल भुक्तानी प्रोत्साहन गर्ने उद्देश्यका साथ समय–समयमा विभिन्न ग्राहकमैत्री सेवा तथा योजना सञ्चालन गर्दै आएको छ । डिजिटल माध्यम हुँदै गरिने खरिदबापत उपलब्ध छुट तथा अन्य विवरण सिटिजन्स बैंकको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स ‘बीबीबी पल्स’ रेटिङमा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केयर रेटिङ्स नेपाल लिमिटेडबाट ‘बीबीबी प्लस (BBB+)’ रेटिङ प्राप्त गरेको छ । कम्पनीले वित्तीय सुदृढता, दायित्व पूरा गर्ने क्षमता र समग्र संस्थागत व्यवस्थापनमा सुधार गर्दै यो रेटिङ हासिल गरेको हो । यो रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम, सशक्त प्रशासनिक प्रणाली र उच्च गुणस्तरको लगानी पोर्टफोलियो झल्काउँछ । ‘बीबीबी प्लस’ श्रेणीका कम्पनीहरूलाई आफ्नो दायित्व समयमै पूरा गर्न सक्षम र अपेक्षाकृत स्थिर वित्तीय स्थिति भएको मानिन्छ । कम्पनीले ग्राहक, अभिकर्ता र सेयरधनीहरूको निरन्तर विश्वासका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा अझ जिम्मेवारीपूर्ण र सुदृढ बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । हाल कम्पनीले देशभरका १४८ शाखा तथा उपशाखामार्फत सेवा सञ्चालन गरिरहेको छ ।