सन नेपाल लाइफको आई.एस.ओ/आई.ई.सी २७००१ः२०२२ प्रमाणपत्र नवीकरण
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यूकेएएसबाट मान्यता प्राप्त एमटिभो लिमिटेड यूकेबाट आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ को प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ । कम्पनीले गत महिना गराएको सम्परीक्षणमा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित व्यवस्थापन गरेकोले सो प्रमाणत्र नवीकरण भएको हो । यस मानकले कम्पनीले अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरूको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्दछ । कम्पनीले जोखिममा आधारित जीवन बीमा ब्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकीय ब्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न अन्तराष्ट्रिय मापदण्डको आधारमा आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ सम्परीक्षण नवीकरण गरेको हो । नेपालको बीमा ब्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड आइ.एस.ओ÷आई.ई.सी २७००१ः२०२२ प्राप्त गर्ने पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो । आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ को नवीकरण मान्यता प्राप्त गरेसँगै कम्पनीले निरन्तर रुपमा यसको पालना र अभ्यासहरुबाट कम्पनीको सूचना सुरक्षा प्रणाली निरन्तर मजबुत बनाउँदै लाने प्रतिबद्धता जाहेर गरेको छ ।
सुनको मूल्य तोलामा १४ सयले गिरावट
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला एक हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ३८ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोड रुपैयाँको क्षतिको आकलन
इलाम । गत १८ र १९ असोजको वर्षापछिको बाढीपहिराले इलाममा ११ अर्ब ८१ करोड रुपैयाँ बढीको क्षति भएको छ । जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा इलाममा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ रुपैयाँ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत् प्राधिकरण, जलस्रोत तथा सिँचाइ डिभिजनसहित सम्बन्धित ११ वटा विषयगत कार्यालयबाट सङ्कलन गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार सो परिमाणमा क्षति भएको प्रजिअ नेपालले बताइन् । बाढीपहिरोबाट सडक डिभिजनअन्तर्गत विभिन्न ११ आयोजनामा पहिरो गई ६ अर्ब ९६ करोड ४५ लाख रुपैयाँको क्षति भएको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत ६२ सडकमा २ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ, २५ वटा पुलमा ८५ करोड रुपैयाँ र छवटा भवनमा ४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रशासनका अनुसार नेपाल विद्युत् प्राधिकरणअन्तर्गत पाँचवटा आयोजनाको एचटी लाइन, एलटी लाइन र ट्रान्सफर्मरमा २ करोड ४७ लाख ३५ हजार ९५२ रुपैयाँ बराबरको क्षति भएको छ । त्यसैगरी, जलस्रोत तथा सिँचाइ विकास डिभिजनअन्तर्गत १६ नदी नियन्त्रण आयोजनाको १३ करोड ४६ लाख ६९ हजार रुपैयाँ, पाँचवटा पहिरो नियन्त्रण आयोजनाको १ करोड ७४ लाख २२ हजार रुपैयाँ र ७२ सिँचाइ आयोजनामा १७ करोड ७१ लाख ५९ हजार रुपैयाँ बराबरको क्षति भएको छ । त्यसैगरी, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रअन्तर्गत २ हजार ५२० वटा पशुपन्छीमा २ करोड ३५ लाख ७६ हजार रुपैयाँ र २४४ वटा गोठ र पोखरीमा १ करोड ९७ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभाग धनकुटा फिल्ड एकाइ कार्यालयअन्तर्गत २९ वटा खानेपानी आयोजनामा २८ करोड ७५ लाख रुपैयाँ र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भद्रपुर झापाअन्तर्गत २२३ आयोजनामा २८ करोड १ लाख रुपैयाँ बराबरको क्षति भएको प्रजिअ नेपालले जानकारी दिइन् । त्यस्तै, कषि ज्ञान केन्द्रअन्तर्गत ३ हजार ४०९ किसानले ८९२.३२ हेक्टर क्षेत्रमा लगाएको खाद्य तथा नगदेबालीमा २७ करोड ४९ लाख ९५ हजार ७५० रुपैयाँ र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजनाअन्तर्गत २५ चिया बगानमा ४ करोड ७५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । नेपाल टेलिकमअन्तर्गत १० अप्टिकल फाइबर तथा केवलमा ५ लाख ८ हजार रुपैयाँ र सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना गैँडे झापाअन्तर्गत ३१ वटा आयोजनामा पहिरोबाट ३२ करोड ९० लाख १६ हजार रुपैयाँ बराबरको क्षति भएको छ । क्षतिको विवरण जानकारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र सम्बन्धित विषयगत मन्त्रालयमा पठाइसकिएको प्रजिअ नेपालले बताइन् । ‘जिल्लाभित्रका विषयगत कार्यालयबाट सम्बन्धित पालिकाको समन्वय र सहजीकरणमा क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरिएको छ’, प्रजिअ नेपालले भने, ‘क्षतिको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र सम्बन्धित विषयगत मन्त्रालयमा पठाएका छौँ ।’ बाढीपहिरोबाट इलाममा ३९ जनाको ज्यान गएको थियो भने २६ जना घाइते भएका थिए । एक जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट जिल्लामा ७११ घरपरिवार विस्थापित भएका छन् । यसमध्ये ७०० परिवार आफन्तको घरमा र ११ परिवार सामुदायिक भवनमा बसिरहेको जिल्ला प्रशासनले जनाएको छ । बाढीपहिरोबाट जिल्लाको १० स्थानीय तहमा तीन सय ६५ घर पूर्ण र ९४० घरमा आंशिक क्षति पुगेको थियो । रासस
अक्टोबरमा ७० हजारभन्दा बढी सवारी बिक्री गर्दै लीपमोटर शीर्ष स्थानमा
काठमाडौं । चिनियाँ नयाँ ऊर्जा सवारी (एनईभी) स्टार्टअप लीपमोटरले अक्टोबर २०२५ मा ७० हजार २८९ भन्दा बढी सवारी बिक्री गर्दै बिक्रीको शीर्ष स्थानमा उक्लिएको छ। कम्पनीले गत वर्षको तुलनामा ८४ प्रतिशतले वृद्धि गरेको बिक्री नतिजा सार्वजनिक गर्दै यसलाई आफ्नो अहिलेसम्मकै उत्कृष्ट उपलब्धि बताएको छ । यो उपलब्धिले लीपमोटरलाई लगातार आठौं महिनासम्म चीनको सबैभन्दा बढी बिक्री हुने एनईभी स्टार्टअपको रूपमा स्थापित गरेको छ । कम्पनीका अनुसार यो रेकर्डले नवप्रवर्तन, उच्च गुणस्तर र दिगो गतिशीलतामा आफ्नो अटुट प्रतिबद्धता प्रमाणित गरेको छ । लीपमोटरले चीनमा मात्र होइन, नेपालसहित विश्वका विभिन्न बजारहरूमा पनि आफ्ना उन्नत, दक्ष र उच्च प्रदर्शन क्षमता भएका विद्युतीय सवारीसाधनहरू उपलब्ध गराउँदै आएको छ । कम्पनीले विश्वव्यापी रूपमा दिगो यातायाततर्फको संक्रमणलाई समर्थन गर्दै विद्युतीय गतिशीलताको भविष्यलाई अघि बढाउने आफ्नो लक्ष्य पुनः दोहोर्याएको छ ।
सारडा र राठी ग्रुपको प्रिमियर स्टीलले गर्याे साढे ४ अर्ब रुपैयाँको व्यापार
काठमाडौं । सारडा ग्रुप र राठी ग्रुपको प्रिमियर स्टीलले एक वर्षमा साढे ४ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ । सन् २०२५ मा ४ अर्ब ४१ करोड २० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले जनाएको छ । जुन गत वर्षको तुलनामा कम हो । सन् २०२४ मा कम्पनीले ४ अर्ब ५६ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । यस्तै, कम्पनीले सन् २०२३ मा ४ अर्ब ७ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ५ अर्ब ८४ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । प्रिमियर स्टील प्रालि अगस्ट १, २०१६ मा स्थापना भएको कम्पनी हो, जुन सन् २०२३ मा प्रिमियर स्टील लिमिटेडमा परिणत भएको थियो । कम्पनीमा सारडा ग्रुपका शिवरतन शारडा र राठी ग्रुपको मुख्य लगानी रहेको छ । कम्पनीको सुनसरी दुहबीमा १ लाख ८० हजार टन बार र १ लाख २० हजार टन बिलेट उत्पादन प्लान्ट रहेको छ । जुलाई २०२५ को मध्यसम्म वीरेन्द्र राठी र प्रदीप कुमार शारडाको कम्पनीमा ११ प्रतिशत सेयर स्वामित्व छ भने बाँकी अन्य सेयरधनीहरूको स्वामित्व कायम छ । इन्फोमेरिक्स रेटिङले कम्पनीलाई दीर्घकालिन ऋणका लागि डबल बी माइनस र अल्पकालिन ऋणका लागि एफोर रेटिङ प्रदान गरेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालिन १ अर्ब ५६ करोड १३ लाख रुपैयाँ दीर्घकालिन र ३ अर्ब १७ करोड रुपैयाँ अल्पकालीन गरी कुल ४ अर्ब ७३ करोड १३ लाख रुपैयाँ ऋण लिएको छ । नेपालको सबैभन्दा पुरानो वायर तथा केबल उत्पादक कम्पनीमा प्रिमियर स्टीलले जीआई वायर, ग्याबियन बक्सेस, एसीएसआर कन्डक्टर, पीभीसी केबल र अन्य स्टीलजन्य वायर, कपर वायर, कन्डक्टर र केबल उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
भिभो वाई ४०० नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?
काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी भिभोले वाई सिरिजअन्तर्गतको नयाँ मोडल ‘भिभो वाई ४००’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । शैली, मनोरञ्जन, टिकाउपन र शक्तिशाली प्रदर्शन चाहने प्रयोगकर्तालाई लक्षित यो मोडल सुलभ मूल्यमै फ्ल्यागशिप स्तरको अनुभव दिने दाबी कम्पनीले गरेको छ । भिभो वाई ४०० आकर्षक दुई रङ पर्ल व्हाइट र डायनामिक ग्रीनमा उपलब्ध छ । ७.९ मिमि मेटालिक फ्रेम, पातलो बेजल र कुशन–कट डायमन्ड क्यामेरा डिजाइनसहित यसले प्रिमियम लुक प्रदान गरेको छ । यसमा ६.६७–इन्च १२० हर्ज एएमोलेड डिस्प्ले रहेको छ, जसले रंगीन र स्पष्ट दृश्य दिन्छ भने डुअल स्टेरियो स्पिकरमार्फत ४०० प्रतिशतसम्म ध्वनि वृद्धि गर्न सकिने सुविधा छ । उक्त डिस्प्ले एसजीएस आई प्रोटेक्सन प्रमाणित रहेको छ । ५० मेगापिक्सेलको सोनी आईएमएक्स ८५२ मुख्य क्यामेरा, ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा र २ मेगापिक्सेल बोके लेन्ससहित, यो फोनले उच्च गुणस्तरको फोटोग्राफी सुनिश्चित गर्छ । अण्डरवाटर फोटोग्राफी मोड, वन–ट्याप वाटर इजेक्सन र एआई इरेज २.० जस्ता सुविधा थप आकर्षण बनेका छन् । आईपी ६८/६९ डस्ट तथा वाटर रेसिस्ट्यान्ट प्रमाणन प्राप्त यस फोनले २ मिटर गहिराइमा ३० मिनेटसम्म सुरक्षित रहन सक्छ । वेट–ह्याण्ड टच प्रविधिले भिजेको हातले पनि सहज प्रयोग गर्न सकिने सुविधा दिन्छ । साथै, एयर–स्प्रीङ प्रविधियुक्त ड्रप रेजिस्टेन्ट केससमेत फोनसँगै उपलब्ध गराइएको छ । यी सुविधासहित भिभो वाई ४००मा ६००० एमएएच क्षमताको ब्याट्री छ, जसले ६१ घण्टा संगीत, ४ घण्टा बढी भिडियो स्ट्रिमिङ तथा २ घण्टाभन्दा बढी गेमिङको समर्थन गर्छ । ४४ वाट फ्ल्यासचार्ज प्रविधिबाट फोनलाई १ प्रतिशतबाट ५० प्रतिशत चार्ज गर्न ३० मिनेट मात्र लाग्ने बताइएको छ । स्मार्ट चार्जिङ इन्जिन २.०, ओभरनाइट चार्जिङ प्रोटेक्सन तथा २४–डाइमेन्सन सेफ्टी मोनिटरिङले चार्जिङलाई थप सुरक्षित बनाएको छ । स्न्यापड्रैगन ६८५ (६एनएम) चिपसेटले सञ्चालित वाई ४००मा २५६ जीबी स्टोरेज र ८ जीबी एक्सटेन्डेड र्याम दिइएको छ । भिभोको ’५० मन्थ स्मूथ एक्सपेरियन्स’ फिचरले दीर्घकालीन प्रदर्शन स्थिर रहने कम्पनीको दाबी छ । साथै, एआई नोट्स, एआई रेकर्डर, स्क्रिन ट्रान्सलेसन र सर्कल टु सर्च लगायतका स्मार्ट फिचरहरू पनि समावेश छन् । भिभो वाई ४०० हाल भिभोका अधिकृत रिटेल स्टोर तथा दराज अनलाइन प्लेटफर्ममार्फत ३६ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिने छ ।
पोखरा–बागलुङ सडकमा खाल्डाखुल्डी, यातायात जोखिममा
गण्डकी । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको पोखरा–बागलुङ चल्ने विद्युतीय माइक्रोका चालक डम्मर केसीले बताए । 'सहज र निर्वाध रूपले गाडी चलाउन सक्ने अवस्था अहिले छैन, ठाउँठाउँमा सडक भत्केको छ, कतै सडक नै भासिएको छ, कहीँ ठुल्ठूला खाल्डा परेका छन्', उनले भने, 'सवारीसधानको बढी चाप हुने मुख्य सडक नै बिग्रँदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।' शीघ्र सडक मर्मत नगरे हिउँदमा धुलोको समस्या निम्तने केसीले बताए । वर्षायाम सकिएलगत्तै सडक मर्मत गर्नुपर्नेमा अझै कामको सुरसार नदेखिएको उनको भनाइ छ । गत वर्षायाममा धेरै ठाउँमा सडक भत्केको र खाल्डाखुल्डी परेको सडक डिभिजन कार्यालय, पोखराका सबइन्जिनियर लोकेश पौडेलले बताए । 'यसपालि धेरै ठाउँमा सडक बिग्रेको छ, नियमित मर्मतसम्भारका लागि ठेक्का प्रक्रिया पनि टुङ्गिसकेको छ', उनले भने, 'कास्कीको फेदीदेखि नयाँपुल र नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म गरी दुई खण्डमा मर्मतसम्भारको काम हुन्छ ।' शिवालय निर्माण सेवाले मर्मतको ठेक्का पाएको उनले बताए । निर्माण कम्पनीले दसैँ, तिहारअघि नै मर्मतसम्भारको काम सुरु गर्ने तयारी गरे पनि बीचमा भएको वर्षात्, चाडबाडको बिदा आदि कारणले केही ढिलाइ भएको सबइन्जिनियर पौडेलले बताए । तत्काल मर्मतसम्भारको कामलाई गति दिनेगरी कार्यालययले आवश्यक पहल लिने उनको भनाइ छ । 'मर्मतसम्भारका लागि बजेट कम हुने हुँदा सबै ठाउँको सडक बनाउन असम्भव देखिएको छ', उनले भने, 'बजेटले भ्याएसम्मको काम सयममै हुन्छ ।' रासस
स्थानीयवासीको जिज्ञासा : लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?
भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब रु चार करोड खर्चिएपछि अलपत्र बनेको छ । विसं २०६७ मा निर्माण थालिएको यो पुल १५ वर्षदेखि अधुरो बनेको हो । पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन् । भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार यहाँ संघीय सरकारको करिब रु चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको छ । छवटा पिलरको आधार राखेपछि यहाँको पुल निर्माण अलपत्र रहेको हो । 'लम्सुवाघाट पुल निर्माणको काम लामो समयबाट अलपत्र छ', वडाध्यक्ष उनले भन्, 'राज्यको रु चार करोड खर्च भएपछि काम अलपत्र पारिएको अवस्था छ । हामी स्थानीय १५ वर्षदेखि पुल बन्ने आशामा बसेका छौँ ।' यहाँ एक सय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माणका क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्य गम्भीर नबनेको स्थानीयवासी भक्तराज विश्वकर्माले बताए । पक्की पुल नहँुदा आवतजावतमा समस्या रहेको उनको भनाइ छ । 'राज्यले यहाँ पुल निर्माणमा बेवास्ता गरेको छ', उनले भने, 'पुल निर्माणको काम १५ वर्षदेखि अलपत्र छ । हामी यही अलपत्र पुल हेरेर बस्न बाध्य छौँ । यस्ता विषयमा राज्यले ध्यान दिन आवश्यक छ । सरकार यो पुल निर्माणमा गम्भीर बनेन ।' २०६७ सालमा पुल निर्माण सुरु गरेको निर्माण कम्पनीले सम्झौताअनुसार सो पुल २०७० सालमा सक्नुपर्ने थियो । पुल निर्माणको काम किन ढिलाइ भएको भन्ने विषयमा स्थानीय अन्योलमा परेका छन् । रासस