विकासन्युज

हिमालयनबाट बाहिरियो हबिब बैंक, अब नेशनल लाइफ सबैभन्दा ठूलो सेयरधनी

काठमाडौं । बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.२२ अंक बढेर २ हजार ६००३८ विन्दुमा पुग्यो । दिनभरिको उतारचढाव पछि सेयर कारोबार ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार रुपैयाँ बराबर भयो । आज दिनभर ३१९ कम्पनीको २ करोड ६० लाख १० हजार कित्ता सेयर किनबेच हुँदा हिमालयन बैंकको संस्थापक सेयर सबैभन्दा धेरै कारोबार भएको नेप्सेले जनाएको छ । आज हिमालयन बैंकको १ करोड ४० लाख ६ हजार २३० कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेका अनुसार बैंकको उक्त सेयर ब्रोकर नम्बर ४८ अर्थात् त्रिशक्ति सेक्युरिटिज पब्लिकबाट बिक्री भएको छ भने ब्रोकर नम्बर ३४ अर्थात् भिजन सेक्युरिटिजबाट खरिद गरिएको छ । उक्त सेयर हिमालयन बैंकका सबैभन्दा ठूलो संस्थापक सेयरधनी पाकिस्तानको हबिब बैंक लिमिटेडले बिक्री गरेको हो । हबिबले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर हिमालयन बैंकबाट बाहिरिन लागेको हो ।  हबिब बैंकले हिमालयन बैंकमा रहेको १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर बिक्रीमा राखेको थियो । बैंकको उक्त सम्पूर्ण संस्थापक सेयर नेशनल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता ११८.८८ रुपैयाँमा खरिद गरेको हो । यस मूल्यका आधारमा नेशनल लाइफले उक्त सेयर ३ अर्ब ३३ करोड १ लाख १९ हजार ६९९ रुपैयाँमा खरिद गरेको हो । तर, नेप्सेमा भने बैंकको संस्थापक सेयर प्रतिकित्ता १३१ रुपैयाँमा कारोबार भएको देखिन्छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार होम पेज (गृहपृष्ठ)मा देखिएको सेयर मूल्य १३१ रुपैयाँ रेगुलर ट्रेड भएपनि वास्तविक मूल्य भने फ्लोरसिटमा देखिन्छ ।  ‘होमपेजमा देखिएको १३१ रुपैयाँ रेगुलेर ट्रेड हो । हिमालयन बैंकको सेयर खरिद बिक्री नेगोसिएट विण्डोबाट भएको हो । फ्लोरसिटमा भने खरिदबिक्री प्रतिकित्ता ११८.८८ रुपैयाँमै भएको छ,’ उनले भने, ‘यस्तो सेयर खरिद बिक्रीलाई नेगोसिएट भनिन्छ । किनभने बाहिर नै सेयर मूल्य तय भएर नेप्सेमा कारोबार देखाएको मात्रै हो । यसले दुविधा भएपनि आगामी दिनमा यस्तो सुधार गरिनेछ ।’  साथै हबिबले बिक्रीमा राखेको सेयरमध्ये बिहीबार ५० प्रतिशत मात्रै कारोबारमा आएको छ । बाँकी रहेको ५० प्रतिशत सेयर आइतबार मात्रै कारोबारमा आउने नेशनल लाइफ स्रोतले जनाएको छ ।  ‘आज ५० प्रतिशत मात्रै सेयर कारोबार भयो । कारोबारको डिजिजका कारण बाँकी रहेको ५० प्रतिशत अर्थात् १ करोड ४० लाख ६ हजार २२३ कित्ता सेयर आइतबार मात्रै कारोबारमा आउनेछ,’ कम्पनी स्रोतले भन्यो । हबिबले तिर्याे १३ करोड २२ लाख रुपैयाँ कर हबिबले हिमालयन बैंकको संस्थापक सेयर नेशनल लाइफलाई बिक्री गर्दा १३ करोड २२ लाख १८ हजार रुपैयाँ कर सरकारलाई तिर्नु परेको छ । हबिबले पुँजीगत लाभकर २५ प्रतिशतका दरले उक्त कर सरकारलाई बुझाउनु परेको हो । बैंकले बिक्रीमा राखेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयरको मूल्य अंकित मूल्य १ सय रुपैयाँ कायम हुनेछ । तर, बैंकले अंकित मूल्य १ सय रुपैयाँमा १८.८८ रुपैयाँ थप गरेर बिक्री गरेको हुँदा सो आम्दानीमा २५ प्रतिशत पुँजीगत लाभ कर तिर्नु पर्ने हुन्छ ।  ‘बिक्री गर्ने संस्थाले २५ प्रतिशत कर तिर्नुपर्छ । नेप्सेमा कारोबार भएपछि सिस्टमबाट टीडीएस बापत १० प्रतिशत काट्छ भने १५ प्रतिशत रकम कर कार्यालयमा बिक्री गर्ने ब्रोकर कम्पनीले संस्था (हबिब) को नाममा जम्मा गर्नुपर्छ,’ एक ब्रोकर व्यवसायीले भने, ‘११८.८८ रुपैयाँमा खरिद बिक्री भएपनि १८.८८ रुपैयाँमा मात्रै २५ प्रतिशतका दरले कर तिर्नुपर्ने हुन्छ ।’

कांग्रेस केन्द्रीय सदस्यहरू नियमित महाधिवेशनमा एकमत

काठमाडौं । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।  पार्टीभित्र नियमित महाधिवेशन वा विशेष महाधिवेशनका लागि रस्साकस्सी चलिरहेका बेला पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्ने सदस्यहरूले नियमित महाधिवेशनमा जानु नै उपयुक्त हुने धारणा राखेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।  बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केन्द्रीय सदस्यहरूले देशको राजनीतिक संकट, आगामी निर्वाचनको सुरक्षा अवस्था र पार्टी महाधिवेशनका विषयमा धारणा राखेको बताए ।  उनका अनुसार केन्द्रीय सदस्यहरूले अगामी २१ फागुनमा तोकिएको निर्वाचनका लागि सरकारले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् ।  गाउँमा शान्ति सुव्यवस्था कायम हुन नसकेको अवस्थामा निष्पक्ष, भयरहित र शान्तीपूर्ण ढंगले निर्वाचन हुनेमा आंशका रहेको उनको भनाइ छ ।  यद्यपि सरकारले निर्वाचनका लागि उचित वातावरण बनाएर चुनावका लागि सरकारलाई सघाउने धारणा समेत सदस्यहरले राखेको प्रवक्ता महतले जानकारी दिए। उनले बैठकमा संसद पुनःस्थापनाको विषय समेत उठान भएको बताए ।  केही केन्द्रीय सदस्यहरूले संसद पुनःस्थापनाको सम्भावनाबारे समेत धारणा राखेको महतको भनाइ छ । 

गोल्छा ग्रुप र एनपीएलबीच सहकार्य, उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल

काठमाडौं । गोल्छा ग्रुपले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि सहकार्य अगाडि बढाएको छ। नक्सालमा बिहीवार एक कार्यक्रम आयोजना गर्दै एनपीएल र गोल्छाले आगामी सिजनका सहकार्य अगाडि बढाएका हुन् ।  गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे ।  सम्झौताअनुरूप एनपिएलका इमर्जिङ प्लेयर, सर्वाधिक विकेटकर्ता र सर्वाधिक रनकर्ताले समान एउटा पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । त्यसबाहेक अन्य आर्थिक पक्ष भने खुलाइएको छैन ।  निर्देशक गोल्छाले लामो समयदेखि खेलकुदमा जोडिरहेको र एनपीएलसँग जोडिनु सुखद पक्ष रहेको बताए । सचिव  खड्काले यो सम्झौताले क्रिकेट विकासमा योगदान पुर्‍याउने आशा राखे । एनपिएलको दोस्रो सिजन आगामी मंसिर १ देखि २७ सम्म हुँदै छ । क्यानको आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।  जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो । जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्स हराएको थियो  । काठमाडौं कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, चितवन राइनोज र लुम्बिनी लायन्सले साविक विजेता र उपविजेतासँगै दोस्रो सिजनको उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।  क्यानले मिनी अक्सन पनि गरिसकेको छ । अधिकांश फ्रेन्चाइज टोलीले विदेशी खेलाडी पनि भित्राउँदैछन् ।

सांसदहरूको तलव, सुविधा घटाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सेवा सुविधा घटाएको छ ।  बुधवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।  बिहीवार बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गृह मन्त्रालयको सिफारिसमा मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा हुने ९३ औँ इन्टरपोल महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने निर्णय भएको पनि बताए ।  उनका अनुसार बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि २०८२ माघ ११ गते आइतवारका लागि निर्वाचनको मिति तोकिएको छ । मन्त्री खरेलले विभिन्न सरकारी निकायका सेवाहरूलाई प्रचलित कानुनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको प्रमाणित गरी विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीमा पहुँच प्रदान गर्ने निर्णय गरेको पनि बताए ।  यस्ता छन् बुधवारको मन्त्रिपरिषद् बैठकले गरेका बाँकी निर्णयहरू : संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची २ मा हेरफेर गर्ने ।  (पदाधिकारी तथा सदस्यको सचिवालयको दरबन्दी घटाइएको) २०८२ मंसिर ६ देखि १३ गतेसम्म पेरूमा आयोजना हुने इन्टरनेसनल टे«टी अन प्लान्ट जेनेटिक रिसोर्स फर फूड एण्ड एग्रिकल्चरको ओभर्निङ बडीको ११औँ अधिवेशनमा सहभागि हुन डा. गोविन्द प्रसाद शर्मालाई स्वीकृति दिने ।  २०८२ मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३औँ इन्टरपोल महासभामा सहभागि हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने ।  राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि २०८२ माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने ।  ५. देहायका सेवाहरूलाई प्रचलित कानूनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको भनी विद्युतिय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीमा रहेको तथ्याङ्कमा पहुँच उपलब्ध गराउन सक्ने गरी सेवा तोक्ने  वैदेशिक रोजगार सम्बन्धी अदालतका मुद्दा व्यवस्थापन सम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति सेवासम्बन्धी स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपद् व्यवस्थापन सम्बन्धी अध्यागमन सेवासम्बन्धी बन्दीको पहिचान, प्रमाणिकरण तथा बन्दीहरूका विवरण सम्बन्धी समरजंग कम्पनी कार्यालयलाई गृह मन्त्रालयअन्तर्गत रहने गरी संगठन तथा व्यवस्थापन संरचना गर्न पूर्ण स्वीकृति दिने ।  बेल्जियमको ब्रसेल्समा आयोजना हुने नेपाल–युरोपेली संघबीचको संयुक्त आयोगको सोह्रौँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधिमण्डललाई स्वीकृति दिने ।  कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्र्ड समिट फर सोसियल डेभलपमेन्ट कार्यक्रममा २०८२ कात्तिक १७ देखि २० गतेसम्म सहभागी हुन सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने । नेपाली सेनाका एक जना प्रमुख सेनानीलाई महासेनानीमा र एक जना सहायक रथीलाई उपरथीमा बढुवा गर्ने ।  १०. २०८२ मंसिर १ देखि ३ गतेसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने छैटौं सेसन अफ द टोकियो कन्भेन्सन कमिटी/नवौँ सेसन अफ द बैंकक कन्भेनसन कमिटी कार्यक्रममा सहभागि हुन सचिव (शिक्षा) श्री चूडामणि पौडेललाई स्वीकृति दिने ।  छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने ।

सांग्रिला डेभलपमेन्ट बैंकले मनायो २१ औं वार्षिकोत्सव, कर्मचारीलाई सम्मान

काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंकले २१ औं वार्षिकोत्सव मनाएको छ । बैंकले बिहीबार बालुवाटारस्थित केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममार्फत मनाएको हो ।  कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको यात्रा सफल बनाउन साथ दिने सम्पूर्ण सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा बैंक अझ बलियो हुने विश्वास व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अहिलेसम्मको यात्रामा साथ दिने सबै सञ्चालक, कर्मचारी, ग्राहक, नियमनकारी निकाय तथा सेयरधनीलाई धन्यवाद दिए । उनले बैंकको सम्बन्धलाई अझ प्रगाढ र आधुनिक सेवासहित सुमधुर बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे । वार्षिकोत्सवको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले 'न्यानोपन जोड्दै आफ्नोपन' अभियानको घोषणा गरेको छ । यस अभियान अन्तर्गत लिड फर नेपाल संस्थासँगको सहकार्यमा बैंकका १० वटा क्लस्टरमार्फत न्यानो कपडा संकलन गरी इलामका बाढीपहिरो प्रभावित नागरिकलाई प्रदान गरिने छ । बैंकले आफ्नै तर्फबाट ज्याकेट लगायतका कपडासमेत उपलब्ध गराउनेछ । साथै, वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए । बैंकमा सेवाको ५, १० र १५ वर्ष पूरा गरेका २० जना कर्मचारीलाई सम्मान गरिएको थियो । बैंकको सेवाप्रवाह हाल १०९ शाखा र ३० एटीएममार्फत भइरहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा उत्कृष्ट अभ्यास पालना गर्दै बैंकले आगामी दिनमा सेवाको विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

रेशम चौधरीले खोले ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’, नयाँ दल दर्ता गर्न दिए निवेदन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेका पूर्वसांसद रेशम चौधरीले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले दर्ता गर्न लागेको नयाँ दलको नाम ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ राखिएको छ । निर्वाचन आयोगका अनुसार उक्त दल दर्ताको निवेदन अहिले सनाखतको प्रक्रियामा रहेको छ । चौधरी नेतृत्वको समूह बिहीबार एउटै पहिरनमा आयोग पुगेर दल दर्ताको औपचारिकता पूरा गरेको थियो । दर्ताका लागि पेस गरिएको कागजातमा पार्टीको अध्यक्षका रूपमा कबीर सोबलाई प्रस्ताव गरिएको छ । चुनाव चिन्ह जाँतो प्रस्ताव गरिएको आयोग स्रोतले जनाएको छ । २८ वर्षीय कबीर सोब कैलालीको टिकापुर निवासी हुन् । दल दर्ताका क्रममा चौधरीसँगै डा. सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान पनि आयोग पुगेका थिए । यससँगै चौधरीले पुरानो नाउपा परित्याग गर्दै नयाँ संगठनात्मक ढाँचा र नेतृत्वसहित राजनीतिक यात्राको नयाँ चरण सुरु गरेका छन् ।

नेपाल पुनर्बीमा कम्पनीले बीमा कम्पनीहरूलाई भुक्तानी गर्‍यो १ अर्ब ९९ करोड

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई १ अर्ब ९९ करोड २२ लाख रुपैयाँ अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको छ ।  नेपाल पुनर्बीमा कम्पनीमा परेका कूल २ हजार ८६८ वटा पुनर्बीमा दाबीमध्ये उक्त रकम बराबरको भुक्तानी गरेको बीमा प्राधिकरणले जनाएको छ । बीमा प्राधिकरणका अनुसार नेपाल रिमा हालसम्म १६ अर्ब ५ करोड १३ लाख रुपैयाँ पुनर्बीमा दाबी रकम रहेको छ । जेनजी आन्दोलनको क्रममा भएको क्षतिमा हालसम्म २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँको दाबी परेको छ। प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेको दाबीमध्ये कम्पनीहरूले हालसम्ममा अग्रिम भुक्तानी (पेश्की) समेत गरी करिब २ अर्ब ७९ करोड ७४ लाख बीमितहरूलाई भुक्तानी गरेका छन् । 

सुरक्षा समितिहरूमा निजी क्षेत्रको प्रतिनिधित्व राख्न गृहको पत्र, महासंघ उत्साहि

काठमाडौं । निजी क्षेत्रको सुरक्षाको प्रत्याभूतिका लागि केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व सुनिश्चित भएको छ । महासंघले कार्त्तिक २ गते गृह मन्त्रालयमा पत्राचार गरी केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा महासंघको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको थियो ।  सोही मागअनुसार सरकारले सबै जिल्ला प्रशासन कार्यालयलाई बिहीबार परिपत्र जारी गर्दै जिल्लास्तरीय सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थितिमा उद्योग वाणिज्य संघ लगायतका व्यवसायीहरूको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्न निर्देशन दिएको हो । महासंघले निजी क्षेत्रको सुरक्षासम्बन्धी प्रत्याभूतिको विषयमा गृह मन्त्रालयले गरेको निर्णयप्रति आभारसमेत व्यक्त गरेको छ । महासंघका अनुसार यो निर्णयले निजी क्षेत्रको सुरक्षाबारे सरकार र व्यवसायीबीच प्रत्यक्ष संवाद र सहकार्यको वातावरण बलियो बनाउनेछ ।  महासंघले विगतदेखि नै जिल्ला स्तरका सुरक्षा योजना, जोखिम मूल्यांकन र आकस्मिक निर्णय प्रक्रियामा व्यवसायी समुदायको प्रत्यक्ष सहभागिताको आवश्यकता औंल्याउँदै आएको थियो । ‘यस निर्णयबाट व्यवसायीहरूको मनोबल बढ्नेछ र अर्थतन्त्र चलायमान हुने विश्वास लिएका छौं,’ महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठले भने, ‘यसका लागि हामी गृह मन्त्रालय र नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।’ महासंघले साथै सबै जिल्लास्थित उद्योग वाणिज्य संघहरूलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गरी आवश्यक समन्वय गर्न पनि आग्रह गरेको छ । यस निर्णयले केन्द्रदेखि स्थानीय तहसम्म सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई संस्थागत रूप दिने र व्यावसायिक सुरक्षाको वातावरण सुदृढ पार्ने अपेक्षा गरिएको छ।