मितेरी डेभलपमेन्ट बैंकले खोल्यो मजर्रमा जाने ढोका, सेयरधनीलाई १२.१७ करोड रुपैयाँ नगद
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक मर्जरमा जाने भएको छ । बैंक सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने निर्णय गरेको हो । मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न बैंकले मंसिर ६ गते बिहान ११ बजे धरान, सुनसरीमा २०औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले कुनै एक वा सो भन्दा बढी उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया अवलम्बन गरी कार्य अघि बढाउन संचालक समिति तथा यस अन्तर्गतको मर्जर समितिलाई अख्तियारी प्रदान गर्नेछ । साथै, मर्जर प्रक्रियामा चल अचल सम्पति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने लगायतको सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको करसहित १० प्रतिशतका दरले १२ करोड १७ लाख १० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको १ लाख रुपैयाँभन्दा बढिको खर्च अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । सभाले गत आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक २३ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
काठमाडौंमा अतिक्रमित जग्गा हटाउन ७ दिनको अल्टिमेटम
काठमाडौं । काठमाडौंमा अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन ७ दिनको अल्टिमेटम दिइएको छ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले ७ दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिएका हुन् । महानगरपालिका र उपत्यका विकास प्राधिकरणको गत असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित क्षेत्र खाली गराउन निर्देशन दिने निर्णय गरेको थियो । काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गर्ने चेतावनी समेत दिइएको छ । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ के परिच्छेद ७ र दफा ४५ विपरीत भवन जन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यस विपरीत भए/गरेका कार्यहरू ७ दिनभित्र हटाइ सहयोग गर्नुहोला,’ महानगर र प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।
आज दिनभरी वर्षा हुने, साँझदेखि मौसममा सुधार आउने
काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनेछ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । कोशी, मधेस र बागमती प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको संभावना छ । यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा मध्यम हिमपात हुन सक्नेछ । यस्तै, ती प्रदेशका केही स्थानमा भारी हिमपात हुने सम्भावना पनि छ । भारी वर्षा र हिमपातको पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण एवं किसानका साथै यात्रामा निस्किएका तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले मौसम सफा नभएसम्म पदयात्राका लागि ननिस्कन पर्यटकलाई आग्रह गरेको छ । प्रशासनले बिहीबार सार्वजनिक सूचना जारी गरी जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमानअनुसार गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षा र हिमपातको प्रक्षेपण गरिएकाले पदयात्रीलाई सो आग्रह गरिएको जनाएको छ । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदयात्रा, खुमईलगायतका क्षेत्रमा पदयात्रामा नजान तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रजीअ शिवप्रसाद लम्सालले बताए । यसैगरी प्रशासनले जिल्लाका विरेठाँटीदेखि घान्द्रुक, विरेठाँटीदेखि उल्लेरी, लुम्लेदेखि लान्द्रुक र काहुँखोलादेखि ताङतिङ र सिक्लेस सडक खण्डमा शुक्रबारसम्म रातको समयमा यातायात सञ्चालनमा समेत रोक लगाएको छ । बर्सातको समयमा राष्ट्रिय राजमार्ग तथा ग्रामीण सडकमा चल्ने सवारीसाधनलाई क्षमताभन्दा बढी यात्रु नचढाउन र संयमता पूर्वक सवारी चलाउन आग्रह गरिएको छ । प्रशासनले विपद्जन्य घटना हुनसक्ने भन्दै सबैलाई सचेत रहन तथा घटना घटेमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाई, सुरक्षा निकायमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
महाकाली सिँचाइ आयोजनाकाे मुआब्जामा सकस, प्रगति २७ प्रतिशतमा सीमित
काठमाडौं । कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचे अनुरूप हुन नसकेको हो । तर पछिल्ला केही वर्षयता आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा स्तरोन्नति गरेयता भने कामले तीव्रता पाएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिडीई राजेश भक्त पोखरेलले जानकारी दिए । ‘राष्ट्रिय गौरवको आयोजनामा समाहित हुनुअघि मूल नहर निर्माणको प्रगति कम थियो । अहिले कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माण ४ वटा प्याकेजमा काम भइरहेको छ,’ सिडीई पोखरेलले भने । ४ प्याकेजको मूल नहर निर्माणका लागि १ अर्ब ९७ करोड रुपैयाँको ठेक्का सम्झौता गरिएको छ । करिब २ वर्षअघि गरिएको ठेक्का सम्झौता समयमा नसकिने भएपछि ४ वटै प्याकेजमा पहिलोपटक केही समयअघि म्याद थपसमेत गरिएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कार्य ३ वर्षभित्र पूरा गर्ने लक्ष्य सरकारको छ । आव २०६३/६४ देखि महाकाली सिँचाइ तेस्रो चरणको आयोजना सुरु भएको हो भने आव २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश सरकारले गरेको थियो । हालसम्म मूल नहर अन्तर्गत ब्रह्मदेव (जिरो प्वाइन्ट)देखि यहाँको शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८.८ किलोमिटर मूल नहर निर्माण भइसकेको सिडीई पोखरेलले जानकारी दिए । भारतीय पक्षले पनि टनकपुरदेखि नेपाल-भारत सिमानासम्म महाकाली सन्धिअनुसार बनाउनुपर्ने १ हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ । दशकौँ समय पर्खेर भारतीय पक्षबाट सिमानासम्म नहर र हेड रेगुलेटर लगायतका संरचना तयार गरिए पनि निर्माण सम्पन्न भएको क्षेत्रसम्म पानी दिन भारतीय पक्ष सकारात्मक देखिएको छैन । ‘मूल नहर तयार भएको फुलेलीसम्म पानी बगाउन कुनै समस्या छैन, ५/७ वटा शाखा नहरसमेत निर्माण गरिएको छ । पानीका लागि पटकपटक ताकेता पनि भएको छ,’ पोखरेलले भने । उनले हालसम्म आयोजनाको प्रगति २७ प्रतिशत पुगेको बताउँदै हालसम्म आयोजनामा ९ अर्ब रुपैयाँ लगानी भइसकेको जानकारी दिए । करिब २ वर्षअघि मालाखेतीसम्म ४ वटा प्याकेजमा मूल नहर निर्माण भइरहेको छ । ‘मुआब्जा निर्धारणमा स्थानीयको असन्तुष्टि, जग्गाको समस्या र रुख कटानको अल्झन लगायतका कारणले कामले गति धेरै लिन सकेन । पछिल्लो समय आयोजनाका लागि बजेट अभावको समस्या भने छैन,’ उनले भने । आयोजनाअन्तर्गत महाकाली नदीमा पानी सिँचाइका लागि कैलालीको मालाखेती, कञ्चनपुरको दक्षिणी क्षेत्र त्रिभुवनवस्ती, गुलरिया र दोधारा चाँदनी पुर्याइनेछ । त्यसका लागि कुल १५१ किलोमिटर नहर निर्माण गर्नुपर्ने हुन्छ । आयोजना कार्यालयले आगामी २०८७ सम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण सक्ने लक्ष्यका साथ अघि बढेको जनाएको छ । कञ्चनपुरमा मात्रै कुल खेतीयोग्य जमिन १ लाख ६१ हजार ७४१ हेक्टर छ । त्यसमध्ये ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुन्छ । यहाँ २९ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध छ भने यहाँ किसानले अकासे पानीका भरमा पनि खेती गनुपर्ने बाध्यता विद्यमान छ । महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिचाँइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिँचाइबाट यहाँको भीमदत्त र बेदकोट नगरपालिकाका साथै दक्षिण क्षेत्रमा रहेको बेलडाँडी गाउँपालिकासम्म सिचाइँ सुविधा पुगेको थियो ।
घरजग्गाको कारोबार गर्नेलाई लाइसेन्स बाँड्दै विभाग, १० लाख रुपैयाँ शुल्क
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्ने भएको छ । विभागले एक सूचनामार्फत ३ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई अनुमति प्रदान गर्न लागिएकाले आवेदन दिन आग्रह गरेको छ । अनुमतिपत्र लिन चाहने कम्पनीले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । विभागको सूचनाअनुसार एक पटकमा ५ करोड रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीले ५ लाख रुपैयाँ र त्यसभन्दा बढी कारोबार गर्ने कम्पनीले १० लाख रुपैयाँ बराबरको शुल्क तिर्नुपर्नेछ । सरकारले गत असोज २७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै घरजग्गासम्बन्धी कारोबार गर्ने कम्पनीले अनुमतिपत्र लिनसक्ने व्यवस्था गरेको थियो । राजपत्रमा प्रकाशित सूचनामा ६ वटा महानगर र ११ वटा उप-महानगरपालिकालाई कार्यक्षेत्र चयन गरिएको उल्लेख थियो ।
आज विश्वका विभिन्न मुलुकमा विश्व शहरीकरण दिवस मनाइँदै
काठमाडौं । शहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जन केन्द्रित स्मार्ट सहर’ नाराका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व शहरीकरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घको आव्हानमा यसै अवसरमा आज कोलोम्बियाको राजधानी बोगोटामा विशेष कार्यक्रम हुँदैछ । सन् २०१४ देखि यो दिवस मनाउन सुरु गरिएको यस दिवसमा प्रत्येक वर्ष फरक सहरमा विश्वस्तरीय विशेष कार्यक्रम आयोजना हुँदै आएका छन् । यो दिवस मनाउनुको मुख्य उद्देश्य आवास सङ्कटजस्ता विश्वव्यापी चुनौतीको समाधानका लागि दिगो र समान अवसर युक्त सहर निर्माणमा विश्वस्तरीय सहकार्यलाई प्रवर्द्धन गर्नु हो । विश्व तीव्र गतिमा सहरमुखी बन्दै गएको सन्दर्भमा सहरी क्षेत्रको दिगो विकास अपरिहार्य भएको छ । राष्ट्र सङ्घको अनुसार हाल विश्वको आधाभन्दा बढी जनसङ्ख्या सहरी क्षेत्रमा केन्द्रित छ ।
चितवनमा बस दुर्घटना हुँदा ३३ जना घाइते, अवरुद्ध भएको सडक खुल्यो
काठमाडौं । गौरबाट काठमाडौंतर्फ गइरहेको बस भरतपुर महानगरपालिका-९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । चितवनस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरूको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको छ । घाइते सबैको अवस्था सामान्य छ । दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केहीबेर अघिदेखि सञ्चालनमा आएको छ ।