बागलुङको गौरवको आयोजना ‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माणमा साढे २ करोड खर्च
काठमाडौं । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका-९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार मसान्तसम्म २ करोड ५० लाख रुपैयाँ बराबरको भौतिक संरचना तयार हुने गरी तीव्र गतिमा निर्माण भइरहेको हो । यसअघि बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय तथा सत्तल निर्माणमा ७० लाख रुपैयाँ खर्च गरिसकेको छ । आँखै अघि देखिने दुई दर्जन हिमशृङखला र बागलुङ बजारको दृश्यले बागलुङको डोयलाई पर्यटकीय केन्द्र बनाउनका लागि नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेको थियो । ब्लु हिललाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउनका लागि पूर्वाधार निर्माण गत वर्षदेखि थालिएको हो । २५ करोड रुपैयाँको पूर्वाधार बनाउने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा उल्लेख गरिएको छ । गत वर्ष पहिलो चरण अन्तर्गत ७० लाख रुपैयाँको र चालु आवमा दोस्रो चरण अन्तर्गत २ करोड ५० लाख रुपैयाँको काम भइरहेको बागलुङ-९ तित्याङका वडाध्यक्ष राजु थापाले जानकारी दिए । उनका अनुसार अहिले ब्लु हिलमा निर्माण गर्ने २० फिट शिवको मूर्ति राख्नका लागि आवश्यक दुई तला पक्की भवन बनाउने काम भइरहेको छ । डोयको निलो पहाडलाई ब्लु हिलका रूपमा परिणत गर्न नगरपालिकाले बजेट विनियोजन गरी लगानी गरिरहेको छ । यस वर्ष २ करोड ५० लाख रुपैयाँको पूर्वाधारसहित शिवमूर्ति निर्माण गर्न निर्माण कम्पनी क्वालिसट रिन्युयबल इनर्जीले तीव्रताका साथ काम गरिरहेको छ । प्राकृतिक क्षेत्रमा धार्मिक पूर्वाधार बनाएर पर्यटक भित्र्याउने उद्देश्य राखिएको बागलुङ नगरपालिकाले जनाएको छ । पर्यटकीय गन्तव्य बनाउन बागलुङ नगरपालिकाले गत वर्षदेखि नगरकै गौरवको योजनाका रूपमा डोयको पहाडलाई ब्लु हिल नामकरण गरेर पर्यटकीय पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर काम अघि बढाएको थियो । मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेपछि नगरपालिकाले लगानी गरिरहेको बागलुङ-९ का वडाध्यक्ष थापाले जानकारी दिए । ‘नगरकै ठूलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथि शिवमूर्ति बनाएर धार्मिक पर्यटक र प्रकृति प्रेमी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ, ठूलो पूर्वाधार बने पनि स-साना पूर्वाधार पछि बन्छन्,’ उनले भने, ‘पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले प्राथमिकता पाउनेछन्, त्यहाँ पुग्ने सडक भने सुधारको आवश्यक छ ।’ ब्लु हिल पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न २४ करोड ५६ लाख २२ हजार रुपैयाँको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेको थियो । गत वर्ष जग्गा सम्याउने, पर्खाल लगाउने, सत्तल निर्माण गर्ने र शौचालय बनाउने काम सम्पन्न भएको थियो । यस क्षेत्रमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकन स्थल, जिमहल, मन्दिर, पार्किङलगायत अतिरिक्त पूर्वाधार निर्माण गर्ने डीपीआरमा उल्लेख छ । दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पुर्याउन नगरपालिकाको ठूलो लगानी भइरहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठले बताए । नगरपालिकाको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले आन्तरिक बजेटबाट ठूलो लगानी गरिरहेको बताउँदै ब्लु हिलमा थामि नसक्नु धार्मिक पर्यटक भित्रिने उनले विश्वास व्यक्त गरे । ‘नगरपालिकाभित्रको पर्यटकीय सम्भावना बोकेको डोय प्राकृतिक रूपमा सुन्दर र हरियाली छ । आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ । प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक भित्र्याउने गरी पक्की संरचना निर्माणले गति लिएको छ । अहिले एकसाथ १६ वटा खम्बा खडा गरिएको छ,’ नगर प्रमुख श्रेष्ठले भने, ‘ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरी नामकरण गरेका छौँ । मौसम खुलेको समयमा यहाँ आउने जो-कोहीले हरियाली पहाडबाट धौलागिरि, माछापुच्छ्रे, निलगिरि अन्नपूर्णलगायत दुई दर्जन हिमालसँगै बागलुङ बजार देख्न सकिन्छ ।’ समुद्री सतहबाट करिब २ हजार २०० मिटरको उचाइमा पर्यटकीय पूर्वाधार निर्माण गर्न थालेपछि ब्लु हिलले चर्चा पाउन थालेको छ । विस्तृत परियोजना प्रतिवेदनका अनुसार योजनाले पूर्णता पाउन भने समय लाग्नेछ ।
‘एसियन हाइवे’ निर्माण २ वर्षमा ३५ प्रतिशत प्रगति, एक लेन कालोपत्रे सुरु
काठमाडौं । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडक खण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ । आइतबारदेखि झापाको पाडाजुगीबाट पश्चिम सडक पहिलो चरणको एक लेन कालोपत्रे सुरु भएको आयोजनाअन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताए । निर्माण सम्झौता भएको २ वर्षमा करिब ३५ प्रतिशत काम सकिएको उनले जानकारी दिए । प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५.७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ । पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको उनले उल्लेख गरे । हालसम्म दुवै खण्डमा गरी करिब २० किलोमिटर एकतर्फी सडकमा पहिलो चरणको कालोपत्रे सकिएको छ । आयोजना पूर्वी खण्ड दमक कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार पूर्वीखण्डमा पनि करिब ३५ प्रतिशत काम सम्पन्न भएको बताए । निर्माण सामग्री उपलब्धतामा सहजता भएमा कामले तीव्रता पाउने पन्तले बताए । पूर्वी खण्डमा बिजुलीका खम्बा सार्ने काम करिब ८० प्रतिशत सकिएको जनाउँदै उनले पश्चिम खण्डमा करिब ४० प्रतिशत मात्र काम भएको बताए । बजार क्षेत्रका खम्बा सार्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पूर्वी खण्डका ठूला पुल निर्माणमा २३ प्रतिशत प्रगति भएको छ भने पश्चिम खण्डमा २५ प्रतिशत प्रगति भएको छ । एसियन हाइवे थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मा, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व-पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एशियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि सडक निर्माण काम सुरू भएको हो । यो आयोजना निर्माणमा ३० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । ३ वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ ।
देशभरका ९ जिल्ला डढेलोको उच्च जोखिममा, यी हुन मध्यम र कम जोखिम भएका जिल्ला
काठमाडौं । देशका विभिन्न ९ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत वन डढेलोको उच्च जोखिममा रहेका हुन् । यस्तै, अछाम, अर्घाखाँची, बारा, डडेल्धुरा, डोटी, गोरखा, जाजरकोट, कपिलवस्तु, मकवानपुर, नवलपुर, प्युठान, सिन्धुली र उदयपुर भने मध्यम जोखिममा छन् । प्राधिकरणले वन डढेलो पूर्वानुमान, निगरानी तथा चेतावनीलाई प्रभावकारी बनाउने, पूर्वतयारी र वन व्यवस्थापनका उपायलाई अवलम्बन गरी वन डढेलोको जोखिम कम गर्ने कार्ययोजना तय गरेको छ । सङ्घ, प्रदेश, तथा स्थानीय तहका जिम्मेवार निकाय तथा सरोकार भएकाहरूका बीचमा समन्वय गरी डढेलो नियन्त्रणका प्रयासलाई थप प्रभावकारी र परिणाममुखी बनाउने प्राधिकरणले कार्ययोजना तय गरेको छ । वन डढेलो नियन्त्रण गरी जनधन तथा पर्यावरणीय स्रोतको हानि नोक्सानी न्यूनीकरण गर्नु कार्ययोजना तय गरिएको छ । जनचेतना अभिवृद्धि तथा नियमनलाई प्रभावकारी बनाई वन डढेलोको जोखिम बारेको बुझाइलाई स्पष्ट पार्ने रणनीति तय गरिएको छ । वन डढेलोको आँकलन, वन क्षेत्र एवं वनजन्य इन्धन व्यवस्थापन गरी आगलागीको जोखिम न्यूनीकरण गरिनेछ । मौसम पूर्वानुमान एवं पूर्व सूचनालाई सुदृढ र सबल बनाई वन डढेलोजन्य विपद् प्रति कार्यलाई प्रभावकारी बनाउने रणनीति तय गरिएको छ । प्रविधिको प्रयोग एवं मानव संशाधन परिचालनमार्फत आगलागी जोखिम क्षेत्रको निगरानी, अनुगमन, पहिचान तथा पूर्व चेतावनीलाई प्रभावकारी प्रभावकारी बनाउने, सरोकारवाला निकायबीच समन्वय, सञ्चार कायम गर्दै सचेतना मूलक अभियान, तालिम र कृत्रिम अभ्यासमार्फत पूर्वतयारी तथा डढेलो नियन्त्रण कार्यलाई सुदृढ तुल्याउने रणनीति प्राधिकरणले तय गरेको छ । यसैगरी, वन डढेलोबाट प्रभावित वर्ग, क्षेत्र र समुदायको उद्धार, उपचार राहत तथा पुनःस्थापनासम्बन्धी कार्यलाई प्रभावकारी तुल्याउने, अनुगमन र तथ्याङ्क व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाई पृष्ठपोषण र अध्ययन तथा अनुसन्धानको आधार तयार पार्ने प्राधिकरणको रणनीति छ ।
निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नहोस्: महानिरीक्षक अर्याल
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सोमबार सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालय प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतलाई निर्देशन दिँदै उनले आमनागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिए । महानिरीक्षक अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारबाहीलाई तीव्र रूपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेतर्फ ध्यान दिन निर्देशन दिए । कमजोर कमान्ड र गल्ती गर्ने कमान्डर माथि तत्काल कारबाही गर्ने बताउँदै उनले उच्च मनोबलका साथ काम गर्न सबैलाई आग्रह गरे । उनले कमाण्डको जिम्मेवारीमा खटिन लागेका सशस्त्र प्रहरी अधिकृतलाई पदीय जिम्मेवारीमा रही कार्यक्षेत्रमा रहँदा बदमासी गरेमा तत्कालै कारबाही गरिने उल्लेख गरे । निर्वाचन सफल बनाउन मातहत कर्मचारीलाई निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गरी परिचालित हुन पनि उनले निर्देशन दिए । महानिरीक्षक अर्यालले सङ्गठनले लिएको सोच र नीतिअनुसार कार्यक्षेत्रमा खटिँदा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी आ-आफ्नो जिम्मेवारीमा थप सक्रियताका साथ परिचालित हुनुपर्नेमा जोड दिए । राजस्व चुहावट नियन्त्रणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने तर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ । उनले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण इकाइहरुले आर्थिक पारदर्शिता कायम गरी भ्रष्टाचारमा शून्य सहनशिलताका साथ कार्यसम्पादन गर्नुपर्ने बताउँदै सीमामा खटिँदा अझ बढी सक्रिय भई गस्ती, पट्रोल तथा अपरेशनल काम कारबाही सञ्चालन गर्न निर्देशन दिए ।
कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा वर्षा हुने
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागी बाँकी भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा तराई भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङको समेत सम्भावना छ ।
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
काठमाडौं । निर्वाचन आयोगले सञ्चालन गरेका कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै जिज्ञासा प्राप्त भइरहेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले यही माघ ५ गतेदेखि कलसेन्टर सञ्चालन गरेको हो । कल सेन्टरले मतदाता, सरोकारवालाका विभिन्न जिज्ञासाको जवाफ दिने गरेको छ । आयोग परिसरमा सुरु भएको कल सेन्टरमा हिजो आइतबारसम्म ८८२ जनाले जिज्ञासा राखेका छन् । यस अवधिमा मतदाता नामावलीका विषयमा ४२० जिज्ञासाको सम्बोधन भएको छ । निर्वाचन आचारसंहिताका विषयमा ७२ प्रश्नको सम्बोधन गरिएको छ । मतदाता शिक्षासम्बन्धी ३६ र अन्य २६४ प्रश्नको जिज्ञासा सम्बोधन गरिएको आयोगले जनाएको छ । यसबाहेकका जिज्ञासा निर्वाचनसम्बन्धी अन्य विषयमा राखिएको थियो । आयोगले कल सेन्टरमार्फत बिहान ९ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म जिज्ञासाको जवाफ दिने गरेको छ । निःशुल्क टोल फ्री नम्बर ११०२ मा कल गरेर मतदाता, नागरिक र सरोकारवाले जिज्ञासा राख्न सक्छन् । एकै पटक १५ जनासम्मले फोन गर्दा कलहरू होल्डमा नरहने जनाइएको छ । निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण नभएसम्म कल सेन्टर सञ्चालनमा रहने सहायक प्रवक्ता जिसीले बताए ।
प्रतिनिधि सभा सदस्य निर्वाचनः समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । सोमवार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने २ करोड ८ लाख ५४ हजार ८०० मतपत्र छपाइ सम्पन्न भएको हो । भण्डारीले प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ कार्य आजदेखि सुरु भएको समेत जानकारी दिए । अबको १५ दिनभित्र मतपत्र छपाइको कार्य सम्पन्न हुने र क्रमशः निर्वाचन केन्द्रमा ढुवानी गरिने उनको भनाइ छ । उनले भने, ‘समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने २ करोड ८ लाख ५४ हजार ८०० मतपत्र छपाइ गर्ने कार्य सम्पन्न गरिसकेका छौं । र पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र आजबाट छपाइ सुरु भएको छ । यो छपाइ कार्य १५ दिनभित्र सकिन्छ ।’ भण्डारीले अगामी फागुन ५ भित्र मतदान क्षेत्र र मतदानस्थलमा मतपत्र पुगिसक्ने पनि बताए ।
बजाजको ‘ग्रान्ड एक्सचेन्ज मेला’ मा आकर्षक छुट, ४५ मिनेटमै फाइनान्स सुविधा
काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ आयोजना गरेको छ । आइतबतार (आज)बाट सुरु भएको यो मेला १७ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । मेलामा ग्राहकहरूले कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटर ल्याएर नयाँ बजाज मोटरसाइकलसँग साट्न सक्ने बजाज शोरुम टेकुका सुमन प्रसाईंले जानकारी दिए । ‘हामीले विभिन्न भ्यालुएटरहरूको माध्यमबाट पुराना बाइकको बजारकै उत्कृष्ट मूल्यांकन दिइरहेका छौं ताकि ग्राहकले आफ्नो साधनको उचित मूल्य पाउन सकून्,’ उनले भने । एक्सचेन्ज मेलामा नयाँ बाइक खरिद गर्दा ग्राहकले ७ हजार रुपैयाँदेखि ८ हजारसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै हेल्मेट र लेग गार्डजस्ता आवश्यक एक्सेसरीजहरू पनि निःशुल्क प्रदान गरिनेछ । मेलामा सहज फाइनान्सको पनि व्यवस्था गरिएको छ । ग्राहकले न्यूनतम ४० प्रतिशत डाउन पेमेन्ट गरेर नयाँ बाइक खरिद गर्न सक्नेछन् । ४० प्रतिशत डाउन पेमेन्टमा १२.९९ प्रतिशत, ५० प्रतिशतमा ११.९९ प्रतिशत र ६० प्रतिशत डाउन पेमेन्टमा ९.९९ प्रतिशतको आकर्षक ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध छ । कम्पनीका अनुसार आवश्यक कागजात पूरा भएको अवस्थामा केवल ४५ मिनेटभित्रै फाइनान्स प्रक्रिया सम्पन्न हुनेछ । नयाँ पल्सर २२० एफ मुख्य आकर्षण मेलाको मुख्य आकर्षणको रूपमा नयाँ पल्सर २२० एफ रहेको छ । नयाँ अपडेटसहित सार्वजनिक भएको यो मोडलमा फ्युल इन्जेक्सन, बीएस ६ इन्जिन, र ब्लुटुथ कनेक्टिभिटीसहितको स्मार्ट मिटर जस्ता अत्याधुनिक फिचरहरू छन् । यो विभिन्न नयाँ र आकर्षक रङहरूमा उपलब्ध छ । यसबाहेक मेलामा प्लाटिनादेखि डोमिनार ४०० सम्मका सबै मोडल, एन-सिरिजका नयाँ बाइकहरू र चेतक इलेक्ट्रिक स्कुटर पनि उपलब्ध छन् । मेला सुरु भएसँगै ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको छ ।