विकासन्युज

मन्त्रिपरिषद् विस्तार हुँदै, ४ जना नयाँ मन्त्री थपिने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । मौजुदा मन्त्रिपरिषद्मा  चार जना नयाँ मन्त्री थपिने भएका छन् । राष्ट्रपतिसमक्ष उनले नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गरेकी हुन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पूर्वसचिव डा. सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनुवार र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन् । उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।   

एकैदिन तोलामा ११ हजार ६ सयले घट्यो सुनको मूल्य

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आइतबार सुनको मूल्य तोलामा दुई लाख ४१ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार १५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ र चाँदी तोलामा दुई सय ६५ रुपैयाँले घटेको हो ।  कात्तिक ३ गते सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँ र त्यति नै तौलको चाँदी तीन हजार २८० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।   

गुल्मीमा ट्याक्टर दुर्घटनामा मृत्यु

गुल्मी । मदाने गाउँपालिका–१ अन्तर्गत कचुरखर्कमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मदाने गाउँपालिका–१ अग्लुङका १९ वर्षीय सहचालक मेघराज पुन रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।       गए राति मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोड गरेर वडा कार्यालयतर्फ आइरहेको रा१त ३५०२ नम्बरको ट्याक्टर उकालोमा लोड तान्न नसकी ब्याक भई ब्रेकले काम नगरेपछि दुर्घटना भएको सूचना अधिकारी सारुले जानकारी दिइन् ।   ट्याक्टरबाट हामफाल्ने क्रममा बाटोबाट उछिट्टिएर गम्भीर घाइते बनेका पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरीक्षक रेबन्त सेनको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो । ट्याक्टर चालक मदाने–१ अग्लुङ निवासी २२ वर्षीय निमन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   

सूर्य नेपालको ८ लाख कित्ता सेयर नष्ट, ब्रिटिस अमेरिकन टोबाकोद्वारा नयाँ सेयर माग

काठमाडौं । सूर्य नेपाल प्राइभेट लिमिटेडको ८ लाख ६ हजार ४ सय कित्ता सेयर नष्ट भएको एक सेयरधनीले दावी गरेका छन् । कम्पनीका अनुसार बेलायतको लण्डनस्थित ब्रिटिस अमेरिकन टोबाको (इन्भेस्टमेन्ट) लिमिटेडबाट जारी सेयर प्रमाणपत्र नष्ट भएको हो ।  ब्रिटिश अमेरिकन टोबाको (इन्भेस्टमेन्ट्स) लिमिटेडले सेयर कित्ता नम्बर ३८९७६०४९ देखि ३९७८२४४८ सम्मका  ८ लाख ६ हजार ४ सय कित्ता सेयर नष्ट भएको दावीसहित नयाँ सेयर माग दावी गरेको छ । उक्त सेयर प्रमाणपत्र कसरी नष्ट भएको भन्ने विषयमा कम्पनी स्पष्ट पारेको छैन ।  गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अदालतसहित देशभरका सरकारी कार्यालयहरू तथा निजी कम्पनीका  महत्वपूर्ण कागजातहरू हराएका वा जलेका समयमा ब्रिटिश अमेरिकन टोबाको नयाँ दावी परेको हो ।  ब्रिटिस अमेरिकन टोबाकोले सेयर प्रमाणपत्र नष्ट भएको दावीसहित नयाँ सेयर प्रमाणपत्र माग गरेको र माग अनुसार नयाँ सेयर प्रमाणपत्र जारी गर्न लागिएको सूर्य नेपालले जनाएको छ ।  नयाँ सेयर प्रमाणपत्र जारी गर्न नमिल्ने भए त्यसको कारणसहित ७ दिन भित्र निवेदन पेस गर्न पनि सूर्य नेपालले अपिल गरेको छ ।  निवेदन काठमाडौं महानगरपालिका-१ स्थित सूर्य नेपालको कार्यालयमा लिखित रूपमा पेश गर्न कम्पनी सचिवले अनुरोध गरेको छ । 

पदयात्राका लागि युवापुस्ताको  पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

म्याग्दी । अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दूरीमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाइमा परेको हो । पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि आधार शिविरमा चालु शरदयाममा नसोचेको सङ्ख्यामा पर्यटक आएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । 'अन्नपूर्ण हिमाल र आधार शिविरको भूगोल म्याग्दीमा पर्ने तथ्य स्थापित भएर त्यहाँसम्म पुग्ने पदमार्ग तयार र प्रवर्द्धनका कार्यक्रमपछि यो याममा अपेक्षा गरेभन्दा धेरै पर्यटक आउनुभयो', उनले भने, 'युवापुस्ताको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको छ ।' दसैँलगत्तै आधार शिविरमा दैनिक दुई सयदेखि पाँच सय जनासम्म पर्यटक आइरहेका अध्यक्ष पुनले बताए । आधार शिविरमा दुई वर्षअघिसम्म वसन्त याममा हेलिकप्टरमार्फत आरोहीहरू मात्र पुग्ने गर्दथे । पदमार्गमा रहेका होटलको क्षमताभन्दा बढी सङ्ख्यामा पाहुना आएकाले व्यवस्थापनमा समस्या भएको व्यवसायीले बताएका छन् । नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूतस्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य भएको शेर्पा अल्पाइन ट्रेकिङका पथप्रर्दशक लाक्पा आङवु शेर्पाले बताए ।  अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।  नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा नक्साङ्कन र ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो ।  सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस र लुइस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । विसं २०७७ मा भएको अन्नपूर्ण महोत्सव र गत जेठमा अन्नपूर्ण आरोहणको हीरक जयन्तीले पदमार्ग, हिमाल र आधार शिविरको प्रचार गर्न सहयोग पुगेको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालका सामग्री देखेर आधार शिविर घुम्न आएको काठमाडौंका सुदीप भट्टले बताए ।   पदमार्गको प्रवेशविन्दुमा पर्ने नारच्याङमा सन् २०१२ आएका हर्जोगले आरोहणका समयमा प्रयोग गरेको बाटो र आधार शिविरका बारेमा जानकारी गराएपछि स्थानीयवासीको टोलीले पदमार्गको खोज अनुसन्धान गरेको अगुवा गुरुङले बताए । कास्की र म्याग्दीका दुईवटा स्थानीय तहको नामकरण अन्नपूर्ण हिमालबाट गरिएको छ । पर्यटन विभागका अनुसार हालसम्म पाँच सय ३६ जनाले अन्नपूर्ण हिमालको आरोहण गरेका छन् । नीलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर समथर फाँटमा छ । आधार शिविरमुनि समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा पञ्चकुण्ड ताल छ । आधार शिविरको डाँडामा बसेर ताल र हिमाल अवलोकन गर्न सकिन्छ । पदयात्रीहरूले ताल र हिमाललाई पृष्ठभूमिमा पारेर डाँडैडाडाँ हिँडेको तस्बिर खिच्न र भिडियो बनाउँछन् ।  एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो । अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकैपटक अवलोकन गर्न पाउनु अन्नपूर्ण आधार शिविरको प्रमुख विशेषता भएको बेनीकी सुष्मा खत्रीले बताइन् ।  'वरपरका हिमाल र फेदीमा रहेको तालले मलाई मोहित र प्रफुल्लित बनायो', उनले भनिन्, 'यहाँको अलौकिक सौन्दर्यमा रमाउन पाउँदा सबै, दुःखकष्ट र तनाव भुलेर मनमा उमङ्ग छाएको छ ।' आधार शिविरमा प्रथम ओहरण टोलीको अगुुवा फ्रान्सका मौरिज हर्जोग, लुइस लचेनल र सोनाम वालुङ शेर्पाको सालिक स्थापना र हालसम्म अन्नपूूर्ण हिमाल आरोहण गरेका पाँच सय ३६ जनाको नामावली उल्लेख गरिएको ताम्रपत्र भएको खुला सङ्ग्रहालय पनि रहेको छ ।  अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा फुतफुते झरनामा चिया, खाजा पसल सञ्चालनका लागि आश्रयस्थल भवन, शौचालय निर्माण र खानेपानी व्यवस्थापन गरेको थियो । हुमखोलामा खानेपानी र शौचालय निर्माण भएको छ ।  गुफाफाँट र आधार शिविरमा एक–एकवटा शौचालय निर्माण भएको छ । हुमखोलादेखि साधीखर्कसम्मको पदमार्गमा ढुङ्गा बिछ्याउने, अप्ठ्यारो ठाउँको पदमार्गको डिलमा रेलिङ राखिएको छ । नारच्याङका बासिन्दाले गत वसन्तयामदेखि हुमखोला, फुतफुते, साधीखर्क, गुफाँफाँट, भुसकेत र पञ्चकुण्डमा अस्थायी संरचना बनाएर होटल सञ्चालन गरेका छन् ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्ने भएकाले यहाँ स्थायी भौतिक संरचना बनाउन प्रक्रिया पूरा गरेर सरकारबाट अनुमति लिनुपर्छ । एक्यापले ५० जना पाहुना राख्न सक्ने अस्थायी संरचना बनाउन अनुमति दिएको तर चार, पाँच गुणा बढी पाहुना आएकाले टेन्ट र पालमुनि बसोबासको व्यवस्था मिलाउनुपरेको भुसकेतका होटल ब्यवसायी माइकल पुनले बताए ।  होटलहरु नहुँदा पदयात्री आफैँले बन्दोबस्तीका सामान बोकेर जानुपर्ने समस्या थियो । हुमखोलादेखि माथि सञ्चार र विद्युत् सुविधाको अभाव छ । सञ्चार सुविधाको अभावमा लेक लागेर बिरामी भएका पर्यटकको उद्धार गर्न र पाहुनाको व्यवस्थापनमा समस्या भएको छ । बढ्दो पाहुनाको आगमनसँगै फोहर व्यवस्थापन पनि यहाँको अर्को चुनौती बनेको छ । पदमार्ग निर्माणलाई पूर्णता दिन र झोलुङ्गे पुलको स्तरोन्नति गर्नेुपर्ने आवश्यकता छ । गत हप्ता अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका म्याग्दी क्षेत्र नं १ (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले पूर्वाधार निर्माणका साथै प्रवर्द्धनमा स्थानीय तह, एक्याप, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने बताए । 'छोटो दूरीमा र छिटो पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर, पञ्चकुण्ड तालको पर्यटनका हिसाबले प्रशस्त सम्भावना छ', उनले भने, 'सञ्चार र विद्युत् सुविधाको विस्तार, पदमार्गको स्तरोन्नति, फोहर व्यवस्थापन, झोलुङ्गे पुललगायत पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण र बजेट भित्र्याउन पहल गर्नेछु ।' रासस

एकैदिन ६ हजार ३९३ जना भक्तजनले पाथीभरा दर्शन गरे

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका थिए । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकै दिन छ हजार ३९३ जना भक्तजनले पाथीभराको दर्शन गरे । बिहान ३ः०० देखि दिउँसो ३ः०० बजेसम्म लाइनमा बसेर भक्तजनले पूजाअर्चना गरेका थिए । पाथीभरामा वर्षभर नै भक्तजनको आगमन हुने गरेको छ । तर विशेषगरी दसैँतिहारका समयमा तुलनात्मक रूपमा धेरै भक्तजनको आगमन हुने गरेको छ । त्यसपछि चैतेदसैँको आसपासमा समेत धेरै भक्तजन आउने गरेका छन् । समितिका अनुसार यसअघि गत असोजभर २९ हजार १७४ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए । यस्तै, आज पनि पाथीभरामा बिहानैदेखि भक्तजनको भीड उपस्थिति देखिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।

आजसम्म सेयर खरिद गरे युनिलिभर नेपालको लाभांश पाइने

काठमाडौं । युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज कात्तिक ९ गते अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ११ गतेदेखि कात्तिक २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।  त्यसैले आजसम्म कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।  कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ सम्मको नाफाबाट प्रतिसेयर १८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  लाभांश पारित गर्न कात्तिक २५ गते ३२औँ वार्षिक साधारण सभा डाकेको कम्पनी सचिव गोविन्द बहादुर शाहीले जानकारी दिए ।

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने आज कात्तिक ९ गते अन्तिम दिन रहेको छ । गत असोज २ गतेदेखि बिक्री खुला गरेको बैंकको हकप्रद सेयरमा सेयरधनीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । बैंकले हाल कायम चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको १ सय प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । बैंकले २६ करोड २४ लाख ६७ हजार ६ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयर बिक्री पश्चात् बैंकको चुक्ता पुँजी ५२ करोड ४९ लाख ३५ हजार २ सय रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो । त्यसैले भदौ ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।​​​​​​​  बैंकको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको भुमही, नवलपरासी शाखा र नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय, यज्ञपुरी, टाँडी, पर्सा र नारायणगढ शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।