तिहारपछि बढ्यो सेयर बजार, २ अर्ब ६६ करोडको कारोबार
काठमाडौं । तिहार विदापछिको पहिलो कारोबारको दिन आइतबार सेयर बजार समान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले बढेर २५०९ बिन्दुमा पुगेको छ । आज ९८ कम्पनीको सेयर मूल्य बढ्दा १४६ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३१३ कम्पनीको ५५ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रिइन्स्योरेन्सको ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, १०.७५ प्रतिशत एसबीएल डीभेन्चरको २३ करोड, युनियन हाइड्रोपावरको १८ करोड, हिमालयन पावर पाटर्नरको १० करोड र हिमालयन डिस्टीलरीको ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज १०.७५ प्रतिशत एसबीएल डीभेन्चर २०८९ को सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आइतबार अन्य समूह सबैभन्दा धेरै ३.०५ प्रतिशतले बढेको छ । त्यस्तै जीवन बीमा ०.६१, उत्पादन तथा प्रशोधन ०.०२, निर्जीवन बीमा ०.०८ र व्यापार ०.८१ प्रतिशतले बढेको छ । बैंकिङ ०.३५, विकास बैंक ०.२९, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.५७, हाइड्रोपावर ०.३३, माइक्रोफाइनान्स ०.२३ र लगानी ०.३४ प्रतिशतले घटेको छ ।
प्रहरीको फरार सूचिमा रहेका खगेन्द्रको नाम मन्त्रीको सूचिबाट हटाइयो
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट हटाइएको छ । प्रहरीको खोजी सूचीमा रहेका उनको नाम मन्त्रीको सूचीबाट हटाइएको स्रोतको दाबी छ । उनको नाम मन्त्रीका रुपमा सिफारिस भएको बाहिरिए पछि उनको सामाजिक सञ्जालमा आलोचना भएको थियो । सामाजिक सञ्जालमा आलोचना भएपछि उनको नाम हटाइएको हो । दैलेख घर भएका उनी आइतबार मन्त्रिपरिषदमा मन्त्रीका रूपमा सपथ ग्रहण गर्ने तयारीमा थिए । तर, उनको नाममा सुर्खेत जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीमा उल्लेख भएको सार्वजनिक पछि आलोचना भएको थियो । अदालतले २०८१ साल असार २१ गते जारी गरेको पुर्जीमा जिल्ला दैलेख, नारायण नगरपालिका-२ का खेमबहादुर सुनार अर्थात् खगेन्द्र नाम गरेका व्यक्ति माथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोग लगाइएको उल्लेख छ । अदालतले जारी गरेको पुर्जीमा नेपाल सरकार विरुद्ध सार्वजनिक सम्पत्ति नोक्सानी तथा स्वास्थ्यकर्मीमाथि हातपात सम्बन्धी मुद्दामा सुनारलाई पक्राउ गरी ७ दिनभित्र अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय दैलेखलाई आदेश दिइएको हो । सो मुद्दा २०८१ साल असार १८ गते सुर्खेत स्थित एक अस्पतालमा स्वास्थ्यकर्मी माथि गरिएको आक्रमणसँग सम्बन्धित थियो । त्यसक्रममा अस्पतालको सम्पत्ति तोडफोड र कुटपिटसम्बन्धी जाहेरी दर्ता भएको थियो । अदालतले अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरे पनि उनी लामो समयसम्म फरार रहेको आरोप छ ।
आजदेखि थाई एशियाको भैरहवा-बैंकक उडान सुरु
भैरहवा । थाई एशिया एयरले बैंकक-भैरहवा-बैंकक उडान आजदेखि पुनःसुरु गरेको छ । आइतबार बैंककबाट एयरबस ३२० विमानले १७ जना यात्रुसहित सवा १२ः०० बजे भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । साथै भैरहवाबाट १६२ जना बोकेर विमान दिउँसो १ः१५ बजे पुनः बैंकक फर्किएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । उनका अनुसार एयरलाइनले बैंकक–भैरहवा–बैंकक मार्गमा हप्तामा दुईपटक उडान गर्नेछ । एयरलाइन्सले प्रत्येक साता आइतबार र बुधबारका लागि नियमित उडानका लागि अनुमति पाएको छ ।
तीन महिनामा करिब ४ खर्बको व्यापार घाटा, भारत र चीनसँग व्यापार असन्तुलन उच्च
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकले करिब चार खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यो अवधिमा चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाख रुपैयाँको आयात र गर्दा ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँ बराबरको निर्यात भएको हो । यसरी असोज मसान्तसम्ममा कूल पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रुपैयाँको वैदेशिक व्यापारमा नेपालले तीन खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ घाटा बेहोरेको छ । पछिल्लो तीन महिनामा छिमेकी मुलुक भारतबाट दुई खर्ब ५८ अर्ब ८७ करोड ८२ लाख रुपैयाँको आयात र ५९ अर्ब १२ करोड ८३ लाख रुपैयाँको निर्यात हुँदा एक खर्ब ९९ अर्ब ७४ करोड रुपैयाँ बराबरको घाटा बेहोरेको छ । त्यस्तै, चीनसँगको असोज मसान्तसम्मको व्यापार घाटा एक खर्ब चार अर्ब ७० करोड रुपैयाँ छ । चीनबाट एक खर्ब चार अर्ब ८९ करोड रुपैयाँको आयात हुँदा १८ करोड ६४ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्कसँग छ । यो अवधिमा डेनमार्कबाट चार करोड एक लाख रुपैयाँको आयात हुँदा २८ करोड ९९ लाखको निर्यात भएको हो । यसरी डेनमार्कसँग २४ करोड ९८ लाख ३० हजार बराबरको व्यापार नाफा भएको छ । जर्मनी, रोमानिया, स्वीडेन, लेबनानलगायतका मुलुकसँग पनि नेपालको व्यापार नाफा बढी छ । पछिल्लो तीन महिनामा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । यो अवधिमा १६ अर्ब ७८ करोड ८७ लाख रुपैयाँको पेट्रोल, २० अर्ब ६९ करोड ४५ लाख बराबरको डिजेल र १३ अर्ब ९८ करोड १९ लाखको एलपी ग्यास आयात भएको छ । यो अवधिमा १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ ।
दुई दिनमा साढे पाँच लाख दस्तुर सङ्कलन
टीकापुर । टीकापुर नगरपालिका–५ स्थित कर्णाली नदीको तटमा रहेको टीकापुर बहृत उद्यानमा दुई दिनमा पर्यटक प्रवेश शुल्कबाट पाँच लाख ४५ हजार सङ्कलन भएको छ । दसैँ र तिहारपछि उद्यानमा आन्तरिक पर्यटक बढेका छन् । टीकापुर उद्यानमा शनिबार छ हजार ५०० पर्यटक भित्रिएका छन् । शनिबार पर्यटकको प्रवेश शुल्कबाट तीन लाख ६० हजार राजस्व सङ्लकन भएको छ । शुक्रबार एक लाख ८५ हजार सङ्कलन भएको पार्क इञ्चार्ज अर्जुन कुँवरले जानकारी दिए । बृहत उद्यान तथा टीकापुर पार्कमा आउने कतिपय पार्कमै पिकनिक खाने र रमाउने गर्दछन्, भने कतिपय घुमघाम गर्ने, नदी किनारमा रहेको मोटरबोटमा सवार गरेर फर्कने गरेका छन् । पार्कमा फोटो खिच्ने र टिकटक बनाउनेको भीड लाग्न थालेको छ । कालिकोटको रास्कोटका ज्येष्ठ नागरिक कृष्णप्रसाद न्यौपाने टीकापुर आएका बेला पार्क पुगे । उनलाई पार्क असाध्यै मनपर्यो । 'तिहार मनाउन टीकापुर आएको थिएँ, उद्यान राम्रो छ, घुमेर जानुस् भनेर आफन्तले भनेपछि घुम्न आएको हुँ', न्यौपानेले भने, 'पार्क असाध्यै सुन्दर रहेछ, यहाँ आएपछि आनन्द महसुस भयो, स्वर्गीय राजा वीरेन्द्र र रानी ऐश्वर्यको सम्झनाका ऐतिहासिक भवन रहेछन् ।' कपिलबस्तुबाट समूहमा पार्क घुम्न आएका ध्रुव पन्थी पहिलो पटक टीकापुर उद्यान घुम्न पुगे । चिसापानी, महाकालीपछि पार्क पुगेका उनलाई पूराना बिरुवा, माटोले बनेका सडक सुन्दर, कर्णाली नदीको तट असाध्यै सुन्दर लाग्यो । 'इतिहास बोकेको पार्क हेरौँ भनेर आएका हौँ, राम्रो लाग्यो, कर्णाली नदी किनारमा पनि राम्रो पार्क बनाइएको रहेछ', उनले भने, 'पार्क घुमेपछि कर्णाली नदीमा मोटरबोटमा रमाउन पाइयो ।;' पार्क आउनेहरु अधिकांश फोटो खिच्ने र टिकटक बनाउने गर्दछन् । लम्कीचुहाको कौवापुरकी धनसरा विष्टको समूहले पनि पार्कमा रमाइलो गरेको छ । 'पार्कमै पकाएर, नाचगान गर्दै खायौँ', उनले भने, 'देउसीभैलो खेलेर दर्जनौँ समूह पिकनिक खान आएका छन् ।' तिहारपछि देउसीभैलो खेलेर पिकनिक खान आउनेको पनि पार्कमा भीड लागेको छ । पार्कमा दैनिक हजारौँ पर्यटक आउन थालेपछि नगरपालिका व्यवस्थापनमा जुटेको छ । तिहारपछि पार्कमा पर्यटक बढने समयमा नगरपालिकाले पार्कमा कर्मचारी व्यवस्थापन, सुरक्षाकर्मी व्यवस्थापन र पर्यटकको सहजताका लागि काम गरिरहेको प्रशासकीय अधिकृत देवीप्रसाद आचार्य बताउँछन् । 'पालिकाले सहज प्रवेशका लागि टिकट काट्न तीन काउन्टर सञ्चालन र नगर प्रहरी परिचालन गरेको छ', उनले भने, 'यसका साथै शान्ति सुरक्षाका लागि प्रहरीको सहयोग लिएका छौँ, केही दिनका लागि पार्कमा कर्मचारी र सरसफाइकर्मी थप गरिएको छ ।' रासस
राष्ट्र बैंकबाट विदा भए गुणाकर, ‘अब विद्यार्थीलाई पढाउँछु’
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट राष्ट्र बैंकबाट विदा भएका छन् । उनी राष्ट्र बैंकबाट अनिवार्य अवकाशमा विदा भएका हुन् । राष्ट्र बैंक कर्मचारी सेवा नियमावली अनुसार कार्यकारी निर्देशक पदमा सात वर्षे कार्यकाल पूरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार उनी कात्तिक ५ गतेबाट राष्ट्र बैंकबाट विदा भएका हुन् । वि.सं २०५७ सालमा सहायक निर्देशकका रुपमा राष्ट्र बैंकमा प्रवेश गरेका उनले राष्ट्र बैंकमा साढे दुई दशक सेवा गरे । उनी २०७५ कात्तिकमा कार्यकारी निर्देशकका रुपमा काम सुरु गरेका थिए । यो अवधिमा उनले राष्ट्र बैंकको प्रवक्तासँगै आर्थिक अनुसन्धान विभाग, बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग र मौद्रिक व्यवस्थापन विभाग लगायतको नेतृत्व गरेर आफ्नो क्षमता देखाएका छन् । एक काविल अर्थशास्त्री र अनुभवी थिंकट्यांकका रुपमा आफूलाई चिनाएका भट्टको घर सुदूरपश्चिम हो । उनी राष्ट्र बैंकको गभर्नरको प्रतिस्पर्धामा पनि लागेका थिए । तर, त्यसमा उनी सफल हुन सकेनन् । भट्टले अमेरिकाको विलियम्स कलेजबाट मास्टर्स र अमेरिकाको वयन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन् । त्रिभुवन विश्व विद्यालयबाट मास्टर्समा स्वर्ण पदक जितेका उनको अनुसन्धान क्षेत्र मौद्रिक अर्थशास्त्र, वित्तीय अर्थशास्त्र, र विकास अर्थशास्त्रमा केन्द्रित रहेको छ । उनले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धान लेखहरू प्रकाशित पनि गरेका छन्। उनले अब अवकाश जीव अध्ययन अध्यापनमा बिताउने बताएका छन् । ‘अब अध्ययन अध्यापनमा थप सक्रिय हुन्छु, सामाजिक काममा क्रियाशिल रहन्छु,’ उनले भने ।
स्वास्थ्यकर्मी कुटपिट मुद्दामा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्री बन्ने चर्चा
काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अभियान्ता खगेन्द्र सुनार मन्त्री बन्ने चर्चा भएको छ । प्रहरीको खोजी सुचीमा रहेका उनी मन्त्री बन्ने चर्चा भएको हो । दैलेख घर भएका उनी आइतबार मन्त्रिपरिषदमा मन्त्रीका रूपमा सपथ ग्रहण गर्न तयार भएर बसेका छन् । तर, उनको नाम कर्णाली प्रदेश उच्च अदालतबाट जारी भएको पक्राउ पुर्जीमा उल्लेख छ । अदालतले २०८१ साल असार २१ गते जारी गरेको पुर्जीमा जिल्ला दैलेख, नारायण नगरपालिका–२ का खेमबहादुर सुनार अर्थात् खगेन्द्र नाम गरेका व्यक्ति माथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोग लगाइएको उल्लेख छ । अदालतले जारी गरेको पुर्जिमा नेपाल सरकारविरुद्ध सार्वजनिक सम्पत्ति नोक्सानी तथा स्वास्थ्यकर्मीमाथि हातपात सम्बन्धी मुद्दामा सुनारलाई पक्राउ गरी ७ दिनभित्र अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय दैलेखलाई आदेश दिइएको हो । अदालतको आदेशमा सुनारको बुबाको नाम दिलबहादुर सुनार र ठेगाना दैलेख, नारायण नगरपालिका–२ उल्लेख छ । त्यही नाम र ठेगानाका व्यक्ति आज मन्त्रीका रूपमा सपथ ग्रहण गर्न लागेको भन्दै राजनीतिक वृत्तमा नैतिक प्रश्न र विवाद सुरु भएको छ । सो मुद्दा २०८१ साल असार १८ गते सुर्खेतस्थित एक अस्पतालमा स्वास्थ्यकर्मी माथि गरिएको आक्रमणसँग सम्बन्धित थियो । त्यसक्रममा अस्पतालको सम्पत्ति तोडफोड र कुटपिटसम्बन्धी जाहेरी दर्ता भएको थियो । अदालतले अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरे पनि उनी लामो समयसम्म फरार रहेको आरोप छ ।
सानिमा बैंकको अध्यक्षमा पुनः पौडेल चयन, सञ्चालकमा पराजुली र कुम्पाख
काठमाडौं । सानिमा बैंकको सञ्चालक समितिको अध्यक्षमा तुक प्रसाद पौडेल चयन भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो । कात्तिक २ गते सम्पन्न २१ औँ वार्षिक साधारण सभाबाट पौडेल सहित बलराम पराजुली र निशा कुम्पाख निर्विरोध निर्वाचित भएका थिए । साथै सोही दिन बसेको सञ्चालक समितिको बैठकले पौडेललाई पुनः अध्यक्षमा चयन गरिएकाे कम्पनी सचिव रूद्र प्रसाद बन्जराले जानकारी दिए । बन्जराका अनुसार साधारण सभाले एसएआर एसोसिएट्स चार्टर्ट एकाउन्टेन्टस्लाई चालु आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्न वाह्य लेखापरीक्षकमा नियुक्त गरिएको छ ।