रुपन्देही २ मा थापाको उम्मेदवारी फिर्ता
काठमाडौं । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)की उम्मेदवार कर्भिका थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । शुक्रबार उनले एक विज्ञप्ति जारी गर्दै अध्ययनको सिलसिलामा अमेरिकामा स्थायी आवास अनुमति पत्र लिएकाले फिर्ता लिएको बताएकी छन् । थापाले विज्ञप्तिमा भनेकी छन्, ‘उम्मेदवारी दर्ता गरेपछि परित्याग गरे पनि हुने भन्ने मेरो बुझाइ थियो । आजको दिनसम्म मैले कुनै पनि अन्य देशको नागरिकता वा राहदानी लिएकी छैन । आजको मितिसम्म मेरो नेपाली राहदानी मात्र छ । तर पछि मलाई नेपालको संविधानको धारा २९१ अनुसार कार्ड परित्याग गरेको कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाइने व्यवस्था रहेको जानकारी भयो। देशको संविधानलाई स्वीकार गर्नु हामी सबैको कर्तव्य हो भन्ने निष्कर्षमा पुगेकी छु ।’ थापाले विरोध र उजुरी नपरेको भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले मनोनयन फिर्ता लिन अनुरोध गरेकाले फिर्ता लिएको उल्लेख गरेकी छन् । ‘संविधानको मर्म र भावनाअनुसार मैले ठूलो मन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेकी छु,’ उनले अगाडि भनेकी छन् ।
तीन दिनमा ५१ वटा फर्ममा वाणिज्यको अनुगमन, २ लाखसम्म जरिवाना
काठमाडौं । सरकारले पछिल्लो समय बजार अनुगमनलाई तीव्र पारेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीनदिनमा मात्रै ५१ वटा फर्ममा अनुगमन गरेको छ । बजारमा व्यवसायिक क्रियाकलाप स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच पुर्याई उपभोक्ताको अधिकार संरक्षण गर्नेे जिम्मेवारी पाएको उपभोक्ता संरक्षण विभागले पछिल्लो समय अनुगमनलाई तीव्र पार्दै कैफियत देखिएका दर्जनौं फर्महरूलाई कारबाही गरेको छ । विभागले मंगलबार, बुधबार र बिहीबार मात्रै काठमाडौं, ललितपुर, भक्तपुरका दर्जनौं फर्महरूमा अनुगमन गरेको थियो । मंगलवार १३ वटा फर्ममा विभागका अधिकारीहरू पुगेर अनुगमन गरेका थिए । सोही दिन खिलुङ्ग मार्केटिङ प्रालिलाई मात्रै विभागले ५० हजार जरिवाना गरेको थियो । अरू १२ वटा फर्मलाई सुधार्न निर्देशन दिएका थिए । बुधवार विभागका अधिकारीहरूले उपत्यकाका २० फर्ममा अनुगमन गरेका थिए । जसमा कैफियत देखिएको एसपी लिंकर हब, एसटी स्प्रीट वेभरेज इन्टरप्राइजेजलाई व्यवसायसँग सम्बन्धित कागजत लिएर तीन दिन भित्रमा हाजिर हुन विभागका अधिकारीहरुले निर्देशन दिए भने अरू फर्मलाई सुधार्न निर्देशन दिएका थिए । यस्तै, बिहीवार १८ फर्ममा विभागका अधिकारीहरु पुगेका थिए । जसमा कैफियतदेखिएका फर्मलाई २ लाखसम्म जरिवाना तोकिएको छ । अनुगमनका क्रममा कैफियत देखिएपछि न्यू शिव स्टोर काठमाडौँ–२९ नयाँ बसपार्कलाई रु दुई लाख एक हजार बराबरको जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उक्त फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ । त्यस्तै, सोही दिन हिमालयन ब्रुअरी प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । अन्य १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागका निर्देशक नरहरि तिवारीले जानकारी दिए । तिवारीका अनुसार पछिल्लो समय विभागले दर्ता प्रमाणपत्र नराखेको, उत्पादनमा एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि जरिवाना तिराउँदै आएको छ। पछिल्लो समय हरेक महिनाजसो विभागले मूल्य विश्लेषण समेत गर्दै आएको छ । बजारमा अत्यधिक मूल्य उतारचढाव, कृत्रिम अभाव र कालोबजारी जस्ता समस्या नियन्त्रण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य विश्लेषणलाई आधार बनाएर थप कडा र व्यवस्थित कदमहरू चाल्दै आएको तिवारी बताउँछन् । उनका अनुसार विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को प्रभावकारी कार्यान्वयन गर्दै बजार अनुगमनलाई सघन, नियमित र प्रभावकारी बनाउने योजना अघि सारेको छ । विभागले पैठारी, उत्पादन तथा विक्री वितरण हुने हरेक वस्तुमा अधिकतम खुद्रा मूल्य अनिवार्य अंकित गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरिरहेको छ भने यसबाहेक सिन्डिकेट, कार्टेलिङ र कालोबजारी जस्ता अपराधमा शून्य सहनशीलता अपनाई तुरुन्त कारबाहीको दायरामा ल्याउने नीति अंगीकार गरेको छ ।
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन दिए निवेदन
काठमाडौं । मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिन निवेदन दिएका छन् । निर्वाचन कार्यालयका सूचना अधिकारी गोविन्द अर्यालका अनुसार केहीबेरअघि एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपाका उम्मेदवार कुविरसिंह गुरुङले उम्मेदवारी फिर्ता लिनेसम्बन्धी निवेदन दिएका हुन् । ‘उहाँहरूले उम्मेदवारी फिर्ता गरिपाऊँ भनेर निवेदन दिनुभएको छ । निवेदन दर्ता भइसकेको छ,’ अर्यालले बताए । उनका अनुसार कानुनी प्रक्रिया अनुसार दिउँसो १ बजेपछि उम्मेदवारी फिर्ता लिने प्रक्रिया औपचारिक रूपमा पूरा हुनेछ ।
कांग्रेसका नवनिर्वाचित सभापति थापाको पदवहाली आज हुँदै
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट हालै निर्वाचित सभापति गगनकुमार थापाले शुक्रबार (आज) पदवहाली गर्दैछन् । काठमाडौंमा यही माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसका पूर्वमहामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन भएका थिए । पार्टी कार्यालय सानेपामा अपरान्ह १ बजे सभापति थापालगायत सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुले पदवहाली गर्ने पार्टी कार्यालयले जनाएको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ । पार्टी कार्यालयमा अपरान्ह १ बजे बस्ने बैठकमा आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।
एआई चिप विवादबीच चीन जाँदै जेन्सेन हुआङ, बजार जोगाउने प्रयास ?
काठमाडौं । एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ फेब्रुअरीको मध्यतिर पर्ने चन्द्र नववर्ष (लुनार न्यू इयर) अघि आउने केही दिनमै चीन भ्रमण गर्ने तयारीमा छन् । यस विषयमा जानकारी भएका दुई स्रोतले सीएनबीसीलाई उक्त कुरा बताएका हुन् । यो भ्रमण यस्तो समयमा हुन लागेको हो, जब अमेरिकी चिप निर्माता एनभीडीयाले चिनियाँ बजारमा बिक्री गर्न सक्ने क्षमताबारे प्रश्नहरू कायमै छन् । एक समय एनभीडीयाको डेटा सेन्टर व्यवसायबाट आउने कुल आम्दानीको कम्तीमा पाँचौं हिस्सा चीनबाटै आउँथ्यो । अमेरिकी निर्यात प्रतिबन्धका कारण एनभीडीयाले आफ्ना सबैभन्दा उन्नत चिपहरू चीनमा बिक्री गर्न पाएको छैन । अत्याधुनिक कृत्रिम बौद्धिकता (एआई) विकासमा प्रयोग हुने चिप्समा बेइजिङमाथि आफ्नो अग्रता कायम राख्ने उद्देश्यले वाशिङ्टनले यी प्रतिबन्ध लगाएको हो । एक स्रोतका अनुसार हुआङ सोमबार बेइजिङमा आयोजना हुने एनभीडीयाको कम्पनी पार्टीमा सहभागी हुने अपेक्षा गरिएको छ । यात्रा योजनाबारे प्रत्यक्ष जानकारी भएको व्यक्तिका अनुसार हुआङले चीनका सम्भावित खरिदकर्ताहरूसँग भेटघाट गर्ने र अमेरिकी स्वीकृत एनभीडीया चिप्स चिनियाँ बजारमा आपूर्ति गर्दा देखिएका पछिल्ला प्राविधिक तथा आपूर्ति–सम्बन्धी चुनौतीहरूबारे छलफल गर्नेछन् । ‘द इन्फर्मेसन’ ले गत साता स्रोतहरूलाई उद्धृत गर्दै चीनले एनभीडीयाको एच २०० एआई चिप्स स्थानीय रूपमा किन्ने अनुमति अनुसन्धानजस्ता सीमित प्रयोजनका लागि मात्रै दिने जनाएको थियो । उक्त रिपोर्टबारे बिहीबार सोध्दा चीनको वाणिज्य मन्त्रालयले यस विषयमा आफूलाई जानकारी नभएको बताएको छ । ब्लूमबर्गले यस साता सुरुमा नै हुआङको चीन भ्रमणको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो । यद्यपि, एनभीडीयाले कार्यकारी तहको यात्रा योजनाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । हुआङले गत वर्ष मुख्यभूमि चीन कम्तीमा तीन पटक भ्रमण गरेका थिए, जसमा जनवरीमा चन्द्र नववर्षको अवसरमा गरिएको भ्रमण पनि समावेश छ । अमेरिकाले सन् २०२२ को अक्टोबरमा पहिलो पटक चीनतर्फ उच्चप्रदर्शन कम्प्युटिङ र एआई चिप निर्यातमा कडा प्रतिबन्ध लगाएको थियो । तत्कालीन राष्ट्रपति जो बाइडेन प्रशासनअन्तर्गत अमेरिकी वाणिज्य मन्त्रालयले राष्ट्रिय सुरक्षा कारण देखाउँदै यस्तो निर्णय गरेको हो । त्यसपछि सन् २०२३ र २०२४ मा प्रतिबन्ध थप कडाइ गरिँदै लगियो । एनभीडीयाले चीनका लागि छुट्टै रूपमा विकास गरेका ए ८०० र एच ८०० जस्ता चिपहरू पनि पछिल्ला संशोधित नियमले प्रतिबन्धको दायरामा पारे । यसै क्रममा सन् २०२५ को अन्त्यतिर अमेरिकी सांसदहरूले एनभीडीया जस्ता कम्पनीलाई चीनमा शक्तिशाली एआई चिप बिक्री पूर्ण रूपमा रोक्ने उद्देश्यसहित थप कानुनी पहल अघि बढाए । यद्यपि ती प्रस्तावहरू कानुन बने/नबने पनि, व्यवहारमा निर्यात लाइसेन्स नपाउने अवस्था झन् जटिल बन्यो । उता सन् २०२६ को जनवरीमा चीनले पनि प्रतिक्रिया स्वरूप एनभीडीयाका एच २००जस्ता उन्नत एआई चिपहरूको आयातमा अवरोध सिर्जना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी पक्षबाट सीमित अनुमति भए पनि चिनियाँ भन्सार र नियामक निकायले ती चिपहरू भित्रिन नदिएको बताइएको छ । एनभीडीया सन् १९९३ अप्रिल ४ मा स्थापना भएको हो । यो कम्पनी अमेरिकी इन्जिनियर जेन्सेन हुआङ र उनका दुई सह–संस्थापकले सुरु गरेका थिए । सुरुआतमा गेम खेल्न प्रयोग हुने ग्राफिक्स चिप बनाउने कम्पनी एनभीडीया अहिले एआई र डेटा सेन्टरका लागि अत्याधुनिक चिप बनाउने विश्वकै अगुवा कम्पनी बनेको छ । एनभीडीयाले सन् १९९९ मा अमेरिकी सेयर बजार नासडाकमा सूचीकृत हुँदै सर्वसाधारणका लागि सेयर कारोबार सुरु गरेको थियो । हाल एआई प्रविधिको माग तीव्र रूपमा बढेसँगै एनभीडीयाको व्यापार र सेयर मूल्यमा ठूलो उछाल आएको छ । सन् २०२६ को सुरुवातसम्म एनभीडीयाको बजार पूँजीकरण ९मार्केट क्याप० करिब ४ ट्रिलियन अमेरिकी डलरभन्दा बढी पुगेको छ । यसले एनभीडीयालाई विश्वका सबैभन्दा मूल्यवान कम्पनीहरूमध्ये एक बनाएको छ ।
उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । निर्धारित कार्यतालिकाअनुसार नाम फिर्ता लिने समय सकिएपछि आजै दिउँसो १ बजेदेखि ३ बजेसम्ममा देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले आजै अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको जानकारी दिए । यस्तै देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारीअनुसार पुरुष तीन हजार ८८, महिला ३९५ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८५ को उम्मेदवारी कायम भएको आयोगले जनाएको छ । यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको थियो । उजुरीका आधारमा कैलाली जिल्ला निर्वाचन क्षेत्र नं १ का उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । काठमाडौं जिल्ला क्षेत्र नं १० स्थित निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त सूचनाका आधारमा कर्जा सूचना केन्द्रको कालोसूचीमा परेकी मितेरी पार्टीकी उम्मेदवार सुमित्रा बस्नेतको उम्मेदवारी पनि खारेज गरिएको निर्वाचन अधिकृत अमृता कुमारी शर्माले बताइन् ।
एसियन हाइड्रोको लक इनमा रहेको सेयर फागुन १३ गतेदेखि कारोबारमा आउने
काठमाडौं । एसियन हाइड्रोपावरको सेयरको लक इन अवधि फागुन १३ मा सकिँने भएको छ । कम्पनीको संस्थापक सेयरधनी, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीहरूका लागि सुरक्षित गरिएको (लक इन) सेयरको अवधि आगामी फागुन १३ गते समाप्त हुने भएको हो । कम्पनीले जारी गरेको सूचनाअनुसार धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ बमोजिम सार्वजनिक निष्कासन गरिएको सेयर बाँडफाँड भएको मितिले तीन वर्ष पूरा भएपछि लक इन अवधि स्वतः समाप्त हुने व्यवस्था छ । सोही प्रावधानअनुसार कम्पनीको लक इन अवधि २०८२ फागुन १३ गते सकिन लागेको हो । कम्पनीका अनुसार कुल २५ लाख ७६ हजार ८०० कित्ता सेयर कारोबारका लागि फुकुवा हुनेछ । जसमध्ये संस्थापक सेयरधनीहरूको २२ लाख २० हजार कित्ता, संस्थाका कर्मचारीहरूको १६ हजार ८०० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दाहरूको ३ लाख ४० हजार कित्ता सेयरको लकइन अवधि सकिनेछ । लक इन अवधि समाप्त भएपछि उक्त सेयर सर्वसाधारण सेयर सरह दोस्रो बजारमा कारोबारमा आउनेछ । एसियन हाइड्रोपावरको सेयर रजिस्ट्रार तथा निष्कासन प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
सुनको मूल्य तोलाकै ३ लाख नाघ्यो, चाँदी पनि महँगियो
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले आज नयाँ कीर्तिमान बनाएको छ । अन्तरराष्ट्रिय बजारमा देखिएको तीव्र उतारचढावको प्रभावस्वरूप शुक्रबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज प्रतितोला सुनको मूल्य ९ हजार २ सय रुपैयाँले बढ्दै छापावाल सुन ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ३ सय २० रुपैयाँले बढेर छ हजार १९० कायम भएको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी ५ हजार ९ सय २० रुपैयाँमा सीमित थियो । मङ्गलबार सुनको मूल्य २ लाख ८४ हजार ७०० रुपैयाँ र चाँदी पाँच हजार ८ सय ८० रुपैयाँ रहेको थियो । गत आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ८ सय र चाँदी ५ हजार ६ सय २५ मा कारोबार भएको महासङ्घले जनाएको छ । सोमबार सुन रु दुई लाख ८२ हजार र चाँदी ५ हजार ८ सय १० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔंस चार हजार ९६० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतिऔंस ९८ अमेरिकी डलर पुगेको छ ।