निर्वाचनलाई प्रभावित पार्ने ९८ कन्टेन्टलाई कारबाही गर्न पत्राचार
काठमाडौं । निर्वाचन आयोगले ९८ वटा कन्टेन्टलाई कारबाही गर्न सिफारिस गरेको छ । शुक्रबार निर्वाचन आयोगमा भएको साप्ताहिक नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले गलत सूचना दिनेहरूलाई कारबाही गर्न विभिन्न निकायलाई ६ वटा पत्र पठाइसकेको जानकारी दिए । ‘गलत जानकारी दिने कन्टेन्टलाई कारबाही गर्न सिफारिस गरिएको छ, ’ उनले भने, ‘गलत सूचना दिने संस्था र सामाजिक सञ्जालका अकाउन्टलाई कारबाही गरिने छ ।’ यसैगरी, देशभरबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ ।
सूर्यज्योति लाइफका बीमित र अभिकर्तालाई एनआईसी एशिया बैंकको लाइफटाइम फ्री क्रेडिट कार्ड सुविधा
काठमाडौं । एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । सम्झौताअनुसार सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित र बीमा अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड दिने छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्य र सूर्यज्योति लाइफका सीईओ प्रकाश विक्रम खत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरे । यस सहकार्यबाट सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित तथा अभिकर्ताहरूले वार्षिक शुल्क नतिरेको क्रेडिट कार्ड पाउने अवसर प्राप्त गर्दै आकस्मिक वित्तीय आवश्यकताहरू व्यवस्थापन गर्न सक्नेछन् । साथै डिजिटल भुक्तानी सेवा प्रयोग गर्न सजिलो हुने बैंकले बताएको छ । एनआईसी एशिया बैंकका अनुसार ग्राहकहरूलाई परिष्कृत र सुलभ बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले सूर्यज्योति लाइफसँग गरेको सहकार्यले बीमित र अभिकर्ताहरूलाई डिजिटल अर्थतन्त्रमा सहज पहुँच दिलाउनेछ।
देशभरबाट ४९ जना उम्मेदवारको मनोनयन फिर्ता
काठमाडौं । देशभरबाट ४९ जना उम्मेदवारले फिर्ता लिएका छन् । शुक्रबार निर्वाचन आयोगमा भएको साप्ताहिक नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ४९ जना उम्मेदवारले फिर्ता लिएको जानकारी दिए ।
विश्वप्रसिद्ध फुड चेन केएफसीमा माछापुच्छ्रे बैंकको ईआरपी इन्टिग्रेटेड पीओएस
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने तथा डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले विश्वप्रसिद्ध फुड चेन कम्पनी केएफसी र प्रविधि कम्पनी सिटीटेकसँग सहकार्य गरेको छ। नेपालमा पहिलो पटक हस्पिटालिटी उद्योगलाई लक्षित गरी गरिएको यस सहकार्य अन्तर्गत केएफसीका विभिन्न आउटलेटहरूमा भुक्तानी गर्नको लागि माछापुच्छ्रे बैंकका अत्याधुनिक पीओएस उपकरणहरू जडान गरिएको छ । यी उपकरणहरूद्वारा ग्राहक र व्यापारी दुवैका लागि छिटो, सुरक्षित र सहज तरिकाले कार्ड तथा क्यूआरमार्फत भुक्तानी प्रदान गरिेन्छ । बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको छ । जसले दैनिक कारोबारहरूलाई अझ सरल, प्रभावकारी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। यसले सेवा समय घटाउनुका साथै ग्राहक सन्तुष्टि बढाउन पनि महत्त्वपूर्ण योगदान पुर्याउनेछ । स्थापनाकालदेखि नै नवीनतम प्रविधिमा आधारित सेवा तथा सुविधाहरू ग्राहकसमक्ष ल्याउन कटिबद्ध माछापुच्छ्रे बैंक लिमिटेडले हाल देशभर हिमाल, पहाड र तराई समेट्दै पूर्वदेखि पश्चिमसम्म फैलिएको सुदृढ सेवा सञ्जाल विस्तार गरेको छ । बैंकले हाल १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा केन्द्र तथा ११ एक्सटेन्सन काउन्टरसहित कुल २७४ सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ । साथै १९९ एटीएममार्फत बैंकले १८ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
१९ करोड बराबरको आईपीओ ल्याउँदै सुपर हेवा पावर, प्रत्याभूति मुक्तिनाथ क्यापिटलले गर्ने
काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि आवश्यक प्रत्याभूति व्यवस्थापन कार्य गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको हो । सम्झौताअनुसार कम्पनीले कुल १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । उक्त सेयर निष्कासनको प्रत्याभूति व्यवस्थापन कार्य मुक्तिनाथ क्यापिटलले गर्नेछ । सम्झौता पत्रमा सुपर हेवा पावर कम्पनीका अध्यक्ष हर्कबहादुर तामाङ र मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरे । सुपर हेवा पावर कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका–४ मा अवस्थित हेवा खोलाको पानी प्रयोग गरी ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
प्रभु महालक्ष्मी लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वित्तीय परामर्शदाताहरूको अन्तर्राष्ट्रिय फोरम एमडीआरटी २०२६ का लागि छनोट भएका अभिकर्ताहरूलाई सम्मान गरेको छ । कार्यक्रम रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म चलेको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने बताए । उनले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय फोरममा छनोट हुनु आफैमा गौरवको कुरा भएकाले अभिकर्ताहरुलाई हार्दिक बधाई व्यक्त गरे । नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोनबहादुर मगरले अन्तर्राष्ट्रिय फोरम एमडीआरटीमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण भएको बताए ।
अझै सुरु भएन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति अझै सुरु हुन सकेको छैन । पार्टी केन्द्रीय कार्यालय, सानेपामा आज अपरान्ह १ बजे बस्ने भनिएको बैठक बस्न नसकेको हो । विशेष महाधिवेशनपछि पहिलोपटक सानेपामा बैठक बस्न लागेको हो । ‘बैठक अबको केही समयपछि बस्ने तयारी भइरहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । आजको बैठकमा विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूका साथै सातै प्रदेशका कार्यसमिति सभापतिहरूलाई पनि सहभागी गराइने भएको छ । आजको बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशा र संगठनात्मक संरचनाबारे छलफल हुने पार्टी प्रवक्ता चालिसेले जानकारी दिए । पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको थियो । सोही कार्यसमितिका पदाधिकारीहरूले आज औपचारिक रूपमा पदभार ग्रहण गर्ने कार्यक्रम पनि तय गरिएको छ । विशेष महाधिवेशनपछि यसअघि केन्द्रीय कार्यसमिति बैठकहरू कुपन्डोल र नयाँ बानेश्वरस्थित विभिन्न स्थानमा बसेका थिए । तर आजको बैठक भने पार्टीको केन्द्रीय कार्यालयमै बस्न लागेको हो ।
डा. भट्टराईले गोरखा २ बाट उम्मेदवारी फिर्ता लिए
काठमाडौं । गोरखा २ बाट डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार उनले सामाजिक सञ्जालमा बोल्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । उम्मेदवारी फिर्ता लिनुअघि आफूलाई विभिन्न दलका व्यक्तिले साझा व्यक्तिका रूपमा रहन उपयुक्त हुने र उमेदवार बन्दै गर्दा भूमिका संकुचित हुने भनेर उम्मेदवारी फिर्ता लिन सुझाव दिएको भट्टराईले बताए । उनले बाहिर रहेर नै दलहरूलाई सघाउने पनि बताएका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले डा. बाबुराम भट्टराईलाई गोरखा २ बाट उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । उनले भट्टराईलाई आगामी दिनमा राजकाजका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उदारतापूर्वक सहयोग गर्न अनुरोध गरेका हुन् । भट्टराईले गत निर्वाचनमा आफूले उम्मेदवारी नदिई तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेका थिए ।