विकासन्युज

यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।  आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ  । आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।  

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

काठमाडौं । सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ ।  ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोडनका लागि महत्वपूर्ण मानिएको नलगाड मैनताडा प्रसारण लाइनलाई निर्माण अनुमति प्रदान गरेको छ । सो प्रसारण लाइन ७५ किलोमिटर लामो रहेको छ । कूल ४०० केभी क्षमताको सो प्रसारण लाइनले दुई हजार ४०० मेगावाट बराबरको बिजुली प्रवाह गर्न सक्ने विभागले जनाएको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले सो प्रसारण लाइन निर्माण गर्दैछ । यस्तै, ३३ केभी क्षमताको खोरुङगा खोला प्रसारण लाइन निर्माणका लागि पनि अनुमति दिएको छ । सो प्रसारण लाइन चार दशमलव ३८ किलोमिटर रहेको छ । सो प्रसारण लाइनले चार दशमलव आठ मेगावाट बिजुली प्रवाह गर्छ । जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली प्रणालीमा जोडनका लागि सो प्रसारण लाइन निर्माण हुन लागेको हो । यसैगरी सुपर सर्दी खोला हाइड्रोपावरले पनि उत्पादित बिजुली प्रणालीमा जोडनका लागि ३३ केभी क्षमताको तीन दशमलव ६८ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्दैछ । सो प्रसारण लाइनमा दुई दशमलव नौ मेगावाट बिजुली प्रवाह हुनेछ । विभागले हालसम्म कूल २७४ वटा साना ठूला प्रसारण लाइन निर्माणका लागि अनुमतिपत्र प्रदान गरिसकेको छ । यस्तै, चालु आवको हालसम्म कूल आठ वटा प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण अनुमति दिइएको छ । ती आयोजनामा १३२ केभी क्षमताको मध्य चमेलिया रहेको छ । बेल्डिया सोलार पावर परियोजना, फालेखु खोला १३२ केभी प्रसारण लाइन परियोजना, जानकी सोलार पावर प्रसारण लाइन, दुधकोशी पाँचौँ २२० केभी प्रसारण लाइन परियोजना, समुन्द्रटार लप्सेफेदी २३२ केभी प्रसारण लाइन निर्माणका लागि अनुमति दिइएको छ । यस्तै, डाडाँखेती बुर्तीबाङ १३२ केभी प्रसारण लाइन र सानी भेरी १३२ केभी प्रसारण लाइन परियोजना छन् । विभागले हालसम्म कूल १४४ प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण अनुमति दिएको छ । यसैगरी विभागमा हालसम्म कूल सर्वेक्षण अनुमतिपत्रका लागि कूल २१ वटा प्रसारण लाइनको आवेदन परेको छ । त्यसमध्ये चालु आवको हालसम्म मात्रै ११ परियोजनाले अनुमतिका लागि आवेदन दिएका छन् ।

पटका पड्काउँदा प्रदूषणले ढाकेको दिल्लीमा कृत्रिम वर्षा गरेर सफा गरिँदै

काठमाडौं । भारतले बिहीबार राजधानी नयाँ दिल्लीमा पहिलो पटक क्लाउड सिडिङ (बादल बीउ रोप्ने) परीक्षण सञ्चालन गरेको छ । यस अभियानको उद्देश्य वायुमण्डलमा रहेका घातक धुवाँ र कणहरूलाई वर्षाको माध्यमबाट हटाउने तथा शहरको प्रदूषणलाई नियन्त्रणमा ल्याउने रहेको बताइएको छ । क्लाउड सिडिङ भन्नाले वर्षा उप्रेरित गर्न विमानमार्फत नुन वा अन्य रासायनिक पदार्थहरू बादलमा फायर गर्ने प्रक्रिया हो । यसरी कृत्रिम रूपमा वर्षा गराई वायुमण्डलीय प्रदूषणलाई कम गर्ने उद्देश्यले यो प्रविधि विश्वका केही मुलुकले पहिले नै प्रयोग गर्दै आएका छन् । नयाँ दिल्लीका अधिकारीहरूले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) कानपुरसँगको सहकार्यमा शहरको उत्तरी क्षेत्र बुराडीमा सेस्ना हल्का विमान प्रयोग गरी बिहीबार दिउँसो परीक्षण सुरु गरेका हुन् । दिल्लीका मन्त्री मञ्जिन्दर सिंह सिरसाले विज्ञप्ति जारी गर्दै भने, ‘आज क्लाउड सिडिङको परीक्षण उडान सम्पन्न गरिएको छ, जसमा फ्लेयर्स प्रयोग गरी बादलमा रासायनिक कण फायर गरियो ।’ उनका अनुसार, यो उडानले विमानको क्षमताको मूल्याङ्कन, उपकरणहरूको सहनशीलता, समन्वय संयन्त्र र क्लाउड सिडिङका लागि आवश्यक तयारीको प्रमाणीकरण गरेको हो । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भने, ‘यदि मौसम अनुकूल रह्यो भने, दिल्लीले अक्टोबर २९ मा पहिलो कृत्रिम वर्षा अनुभव गर्नेछ ।’ उनले यो परियोजना दिल्लीवासीका लागि ‘स्वच्छ हावा फिर्ता ल्याउने महत्त्वपूर्ण कदम’ भएको बताए । तर, परीक्षणमा कुन रसायन प्रयोग गरिएको थियो भन्ने जानकारी तत्काल सार्वजनिक गरिएको छैन । ३ करोडभन्दा बढी जनसङ्ख्या भएको नयाँ दिल्लीलाई संसारकै सबैभन्दा प्रदूषित राजधानीहरूमध्ये एक मानिन्छ । प्रत्येक जाडोमा सहर बाक्लो धुवाँले ढाकिन्छ । चिसो हावाले प्रदूषक तत्वहरूलाई जमिनको नजिक थुनेर बाली जलाउने, उद्योग धुवाँ र ट्राफिकको उत्सर्जन मिसिएर घातक प्रदूषणको मिश्रण बनाउँछ । रगतमा प्रवेश गर्न सक्ने सानो आकारको हुने र क्यान्सरसमेत उत्पन्न गर्न सक्ने ए स् २.५ नामक सूक्ष्म कण कहिलेकाहीँ संयुक्त राष्ट्र सङ्घको दैनिक स्वास्थ्य सीमा भन्दा ६० गुणासम्म बढी पाइन्छ । दीपावली पर्वको आतशबाजीपछि यस हप्ताको प्रदूषण स्तर झनै बढेको छ । एः २.५ को मात्रा सीमाभन्दा ५६ गुणा बढी पुगेको निगरानी संस्था ‘आइक्युएयर’ ले जनाएको छ । यो वृद्धि सर्वोच्च अदालतले यसअघि नै पूर्ण प्रतिबन्ध हटाएर ‘हरियो पटाका’ अर्थात् कम प्रदूषण गर्ने आतशबाजीलाई अनुमति दिएको निर्णयपछि आएको हो । बिहीबार बिहान मात्र नयाँ दिल्लीका केही क्षेत्रमा ए: २.५ को स्तर १५४ माइक्रोग्राम प्रति घनमिटर पुगेको थियो । यो विश्व स्वास्थ्य सङ्गठनको सिफारिस भन्दा १० गुणा बढी हो । सेप्टेम्बरमा गरिएको एक अध्ययनले दिल्लीको ऐतिहासिक लालकिल्ला समेत प्रदूषणका कारण कालो हुँदै गएको निष्कर्ष निकालेको थियो । भारतीय र इटालियन वैज्ञानिकहरूको संयुक्त टोलीले हेरिटेज जर्नलमा प्रकाशित अध्ययनमा युनेस्को विश्व सम्पदा स्थल लालकिल्ला निरन्तर कालो क्रस्टले ढाकिँदै क्षय हुँदै गएको चेतावनी दिएको छ । कहिले खडेरी कम गर्न, कहिले वन आगलागी नियन्त्रणमा त कहिले हवाई यातायातमा कुहिरो हटाउन सन् १९४० को दशकमा विकसित गरिएको क्लाउड सिडिङ प्रविधि दशकौँदेखि विभिन्न देशले प्रयोग गर्दै आएका छन् । चीनले सन् २००८ को ओलम्पिकका बेला बेइजिङमा वर्षा रोक्न यही प्रविधिको प्रयोग गरेको थियो । तर वैज्ञानिकहरूबीच यस प्रविधिको प्रभावकारितामा मतभेद छ । केही अनुसन्धानहरूले क्लाउड सिडिङले अपेक्षित परिणाम नदिने र लक्षित क्षेत्रबाहेक अन्य क्षेत्रमा अप्रत्याशित असर पर्ने देखाएका छन् । त्यसैले दिल्लीको यो प्रयास सफल हुनेछ वा छैन भन्ने विषयमा वैज्ञानिक मूल्याङ्कन अझै बाँकी छ ।

अमेरिकी प्रतिबन्धपछि भारतमा तेलको मूल्यमा ५ प्रतिशत वृद्धि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोका दुई ठूला तेल कम्पनीमा प्रतिबन्ध लगाएपछि भारतीय तेल रिफाइनरहरू रूसी कच्चा तेलबाट टाढा सर्न सक्ने तर लागतमा प्रभाव पार्ने विश्लेषकहरूले बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्भावित अमेरिकी व्यापार सम्झौताको एक हिस्साका रूपमा रूसी तेल आयात घटाउने सहमति दिएको ट्रम्पले दाबी गरेका छन् । तर, नयाँ दिल्लीले यसबारे औपचारिक पुष्टि गरेको छैन । अगस्टमा ट्रम्पले भारतीय निर्यातमा ५० प्रतिशत कर वृद्धि गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण भएको थियो । अमेरिकी अधिकारीहरूले भारतले मस्कोबाट छुटमा तेल किनेर युक्रेनमा युद्धको कोष जुटाउन सहयोग गरेको आरोप लगाएका छन् । ओएनवाइएक्स क्यापिटलका जोर्ज मोन्टेपेकले भने, ‘प्रधानमन्त्री मोदी अमेरिकी इच्छामा कति झुकिरहनुभएको छ भन्ने मुख्य प्रश्न हो । प्रारम्भिक प्रतिक्रियामा राज्य तेल कम्पनीहरू धेरै सतर्क देखिन्छन् ।’ अमेरिकी प्रतिबन्धपछि तेलको मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ । रूसी तेल भारतको ऊर्जा प्रणालीमा संरचनात्मक रूपमा महत्त्वपूर्ण रहेको छ, जसले कुल आयातको लगभग ३४ प्रतिशत ओगटेको छ र रिफाइनरहरूलाई विशेष छुट प्रदान गर्दछ । केप्लरका अनुसार भारतले सेप्टेम्बरमा रूसबाट प्रतिदिन १६ लाख ब्यारेल भन्दा बढी तेल आयात गरेको थियो । सिङ्गापुरकी तेल बजार विश्लेषक वन्दना हरिले भने, ‘आवश्यक परेमा भारतीय रिफाइनरहरू सजिलै वैकल्पिक आपूर्तिकर्तामा सर्न सक्छन्, तर यसको अर्थ रिफाइनिङ मार्जिनमा दबाब र आयात बिल बढ्नु हो । कमजोर रुपीले यस बोझलाई अझ बढाउँछ ।’ संयुक्त राज्य अमेरिका भारतको शीर्ष व्यापारिक साझेदार हो, तर औपचारिक सम्झौता अझै बाँकी छ ।  भारतीय व्यापार मन्त्री पियुष गोयलले भने, ‘वासिङ्टनसँग वार्ता प्रगति अवस्थामा छ र निकट भविष्यमा निष्पक्ष र न्यायसङ्गत सम्झौता हुने आशा छ ।’ नोमुराका विश्लेषकहरूले भने रूसी तेलको पुनः क्यालिब्रेसनको निकट-अवधि लागत अमेरिकी शुल्क कटौतीको फाइदाभन्दा बढी हुन सक्ने बताएका छन् ।

समाजवादीका ९ पदाधिकारीले भने, ‘माओवादीसँग एकता आत्महत्या हो’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का ९ जना शीर्ष पदाधिकारीले नेकपा (माओवादी केन्द्र) सँगको एकता प्रस्तावको विरोध गरेका छन् । अध्यक्ष माधवकुमार नेपाल माओवादीसँग कुनै पनि मूल्यमा एकता गर्नुपर्ने तयारीमा रहेपछि पार्टीभित्रका वरिष्ठ नेताहरू खुलेर असन्तुष्ट बनेका हुन् । असोज ५ गते सम्पन्न केन्द्रीय पदाधिकारीहरूको जुम बैठकमा अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकता प्रक्रियाको तयारी भइरहेको जानकारी गराएका थिए । तर, उक्त बैठकमा अधिकांश वरिष्ठ नेताहरूले सो प्रस्तावको कडा विरोध गर्दै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।  एक सहभागी पदाधिकारीका अनुसार माओवादीसँग एकता गर्न नहुने पक्षमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, वरिष्ठ नेता घनेन्द्र बस्नेत, उपाध्यक्ष जयन्ती राई, उपाध्यक्ष भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, उपाध्यक्ष जगन्नाथ खतिवडा, उपमहासचिव गरिमा शाह, सचिव सोमप्रसाद पाण्डे लगायत नौ जना पदाधिकारी रहेका छन्। बैठकमा महासचिव घनश्याम भुसालले माओवादीसँगको एकतालाई ‘एकता होइन, कम्युनिस्ट आन्दोलनकै आत्महत्या’ भन्दै कडा आपत्ति जनाएका थिए। उनले आफूले आत्महत्याको बाटो रोज्न नसक्ने भन्दै माओवादीसँग एकता सम्भव नभएको स्पष्ट गरेका थिए ।  बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अध्यक्ष नेपालको एकताप्रतिको जोडले पार्टीभित्र गहिरो विभाजन सिर्जना गरेको छ। एक पक्षले तत्काल माओवादीसँग एकता गर्नुपर्ने तर्क दिँदै अध्यक्षलाई साथ दिइरहेको छ भने अर्को पक्षले संगठनको अस्तित्व नै संकटमा पर्ने चेतावनी दिएको छ । यससँगै नेकपा (एकीकृत समाजवादी) भित्र औपचारिक रूपमा दुई धार प्रस्ट देखिन थालेका छन् । एक पक्षको नेतृत्व  अध्यक्ष नेपालले गरेका छन् । अर्को पक्षको नेतृत्व महासचिव भुसालले गरेका छन् । नेपाल  नेतृत्वको समूह  एकता समर्थक समूह हो भने अर्को पक्ष माओवादीसँग मिलन अस्वीकार गर्ने घनश्याम भुसाल समूह हो ।  पार्टी स्रोतका अनुसार आगामी स्थायी कमिटी बैठकले यस विषयमा निर्णायक बहस गर्ने तयारी गरेको छ । माओवादीसँग एकता हुने वा नहुने भन्ने टुंगो यही बैठकबाट निकाल्ने अनुमान गरिएको छ। बैठक छठ पछि बस्ने तयारी भएको बताइएको छ । माओवादीसँग एकताअघि समाजवादीमा विद्रोह, १२० भन्दा बढी नेता एमाले फर्किने तयारी  

लाभांश सिजन: ११५ कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २५ कम्पनीसहित ११५ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट नेप्सेमा सूचीकृत र सूचीकृत नभएका गरी विभिन्न ११५ भन्दा बढी कम्पनीले आफ्ना सेयरधनीहरूलाई प्रतिफल वितरण गर्ने भएका हुन् । नेप्सेमा सूचीकृत साढे २ सय कम्पनीमध्ये ७ वटा वाणिज्य बैंक, ४ वटा विकास बैंक, एक वटा फाइनान्स कम्पनी, ५ वटा हाइड्रोपावर कम्पनी, २ वटा लगानी कम्पनी, ३ वटा उत्पादन तथा प्रशोधन कम्पनी, २ वटा लघुवित्त, एक वटा अन्य कम्पनी र ४० वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । प्राप्त विवरण अनुसार १७ वटा मर्चेन्ट बैंकर, १० वटा ब्रोकर र २३ वटा विभिन्न क्षेत्रका कम्पनीले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।  नेप्सेमा सूचीकृत २५ कम्पनीको लाभांश  माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँको ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गरेको छ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले कात्तिक १२ गते बिहान ११ बजे ३१औँ वार्षिक साधारण सभा बोलाएको हो । सानिमा बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित ७.३६ प्रतिशतका दरले १ अर्ब ७ लाख ५४ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न बैंकले कात्तिक २ गते बिहान १० बजे काठमाडौंमा २१औँ वार्षिक साधारण सभा बोलाएको छ । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँको ५ प्रतिशतका दरले ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँको ५ प्रतिशतका दरले ७० करोड ४४ लाख ९९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशतका दरले ७७ करोड ९१ लाख ७५ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत अर्थात् १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न बैंकले कात्तिक ३० गते काठमाडौंमा २४औँ वार्षिक साधारण सभा बिहान १० बजे डाकेको छ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको करसहित ८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । लाभांश पारित गर्न बैंकले कात्तिक २६ गते बिहान १० बजे प्रज्ञा भवन कमलादी काठमाडौंमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १० अर्ब ४ करोड २३ लाख ६८ हजार रुपैयाँको करसहित १९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद लाभांश गरी कुल १८.२० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँको ६ प्रतिशतका दरले ३४ करोड ८ लाख ३१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ४.५३ प्रतिशतका दरले २५ करोड ७३ लाख २७ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको १० प्रतिशतका दरले १२ करोड १७ लाख १० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँको १५ प्रतिशतका दरले २० करोड २७ लाख ३२ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।  सिक्लेस हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ सम्मको संचित नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने १२ करोड ७५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले ६७ लाख १० हजार ५२६ रुपैयाँ नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । मिड सोलु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । युनिभर्सल पावर कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ९ प्रतिशत बोनस र ०.४७ प्रतिशत नगद गरी ९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद गरी ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५९ करोड ४९ लाख ४७ हजार रुपैयाँको १४ प्रतिशतका दरले ८ करोड ३२ लाख ९२ हजार ६ सय रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशतका दरले ३ करोड ५६ लाख ९६ हजार ८३६ रुपैयाँ नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाथवे इन्भेष्टमेन्ट नेपालले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँको १२ प्रतिशतका दरले १६ करोड ९८ लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशतका दरले ८९ लाख ४१ हजार रुपैयाँ नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ६.३१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । नेपाल ल्युब आयलले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । युनिलिभर नेपालले गत आर्थिक वर्ष २०८१/८२ सम्मको नाफाबाट प्रतिसेयर १८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले ६१ करोड ४६ लाख ८० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजन सहितका लागि ५ प्रतिशतका दरले १५ करोड ३६ लाख ७० हजार रुपैयाँ नगद गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । मुक्तिनाथ कृषि कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ७० करोड रुपैयाँको ८ प्रतिशतका दरले ५ करोड ५९ लाख ९३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशतका दरले २९ लाख ४७ हजार रुपैयाँ नगद गरी कुल ८.४२ प्रतिशत अर्थात् ५ करोड ८९ लाख ४० हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार रुपैयाँको करसहित ८ प्रतिशतका दरले ८ करोड २७ लाख २५ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ६५ लाख ८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशतका दरले ८ लाख ६८ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । ४० वटा म्युचुअल फण्डको लाभांश गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ४० वटा म्युचुअल फण्डले इकाईधनीहरुलाई लाभांश वितरण गरेका छन् । लाभांश घोषणा गरेका म्युचुअल फण्डहरुले इकाईधनीहरुको खातामा प्रतिफल बराबरको रकम समेत पठाइसकेका छन् ।  सिटिजन्स क्यापिटलले २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीले सिटिजन्स म्युचुअल फण्ड-२ इकाईधनीलाई ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डका इकाईधनीलाई १२.७५ प्रतिशत लाभांश वितरण गरेको हो । गरिमा क्यापिटलले गरिमा समृद्धि योजनाको ५.१० प्रतिशतका दरले ६ करोड ३७ लाख ५० हजार रुपैयाँ, ग्लोबल आइएमई क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१को १२ प्रतिशत, हिमालयन क्यापिटलले हिमालयन ८०-२० इकाईधनीलाई करसहित १६.१६ प्रतिशत लाभांश वितरण गरेको हो ।  कुमारी क्यापिटलले विभिन्न ४ वटा म्युचुअल फण्डको लाभांश वितरण गरेको छ । क्यापिटलले कुमारी धनवृद्धि योजनाको इकाईधनीलाई १०.५ प्रतिशत, कुमारी इक्विटी फण्डको ११.५ प्रतिशत, कुमारी सबल योजनाको ९ प्रतिशत र कुमारी सुनौलो लगानी योजनाको करसहित ८.८८ प्रतिशत लाभांश वितरण गरेको हो । लक्ष्मी सनराईज क्यापिटलले ६ वटा म्युचुअल फण्डका इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको छ । क्यापिटलले लक्ष्मी उन्नति कोषका इकाईधनीलाई २० प्रतिशत, लक्ष्मी भ्यालू फण्ड-२ का इकाईधनीलाई १५ प्रतिशत र शुभ लक्ष्मी कोषका इकाईधनीलाई १६ प्रतिशत लाभांश वितरण गरेको हो । यस्तै, सनराइज ब्लुचिप फण्डको १९ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्डको १४ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डको १३.५ प्रतिशत प्रतिफल वितरण गरेको हो ।  नबिल इन्भेष्टमेन्ट बैंकिङले ३ वटा म्युचुअल फण्डका इकाईधनीलाई लाभांश वितरण गरेको छ । कम्पनीले नबिल ब्यालेन्स्ड फण्ड-२ र नबिल ब्यालेन्स्ड फण्ड-३ को समान १३/१३ प्रतिशत, नबिल फ्लेक्सी क्याप फण्डको ९ प्रतिशत लाभांश वितरण गरेको हो ।  एनआईएमबि एस क्यापिटलले ४ वटा म्युचुअल फण्डका इकाईधनीहरुलाई लाभांश वितरण गरेको छ । कम्पनीले एनआईबिएल ग्रोथ फण्डको १० प्रतिशत, एनआईबिएल सहभागिता फण्ड र एनआईबिएल समृद्धि फण्ड-२ को ७/७ प्रतिशत र मेगा म्युचुअल फण्डका इकाईधनीलाई ११.७५ प्रतिशत लाभांश वितरण गरेको हो । यस्तै, मुक्तिानाथ क्यापिटलले मुक्तिनाथ म्युचुचल फण्डका इकाईधनीहरुलाई ३.८ प्रतिशत लाभांश वितरण गरेको हो । एनआईसी एशिया क्यापिटलले विभिन्न ४ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ४ म्युचुअल फण्डका लागि गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ३६ करोड ५४ लाख २२ हजार ४१० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । क्यापिटलका अनुसार एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.१० प्रतिशत अर्थात् १० करोड ३० लाख २० हजार रुपैयाँ, एनआईसी एशिया ब्यालेन्सड् फण्डले ९.९० प्रतिशत अर्थात् ७ करोड ४७ लाख ४५ हजार रुपैयाँ, एनआईसी एशिया सेलेक्ट-३० (इन्डेक्स फण्ड)ले ८.६५ प्रतिशत अर्थात् १० करोड ८१ लाख २५ हजार रुपैयाँ र एनआईसी एशिया डानामिक डेप्ट फण्डले ५.५५ प्रतिशत अर्थात् ७ करोड ९५ लाख ३२ लाख ४१० रुपैयाँ नगद लाभांस वितरण गरेको हो ।  एनएमबि क्यापिटलले ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ । कम्पनीले एनएमबि फिफ्टीको १५ प्रतिशत, एनएमबि सरल बचत फण्ड-इको ४.१८ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ को १५ प्रतिशत लाभांश वितरण गरेको हो ।  प्रभु क्यापिटलले २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरको छ । कम्पनीले प्रभु सेलेक्ट फण्डको १२ प्रतिशत र प्रभु स्मार्ट फण्डको १० प्रतिशत नगद लाभांश वितरण गरेको हो । आरविवि मर्चेन्ट बैंकिङ्गले २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरको छ । कम्पनीले आरविवि म्युचुअल फण्ड-१ को २० प्रतिशतका दरले २५ करोड रुपैयाँ र आरविवि म्युचुअल फण्ड-२ को १३ प्रतिशतका दरले १९ करोड ९९ लाख ९५ हजार ५०७ रुपैयाँ नगद लाभांश वितरण गरेको हो ।  सानिमा क्यापिटलले २ वटा म्युचुअल फण्डका इकाईधनीहरुलाई लाभांश वितरण गरेको छ । कम्पनीलेसानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको २१.०५ प्रतिशत लाभांश वितरण गरेको हो । सिद्धार्थ क्यापिटलले ४ वटा म्युचुअल फण्डको लाभांश वितरण गरेको छ । कम्पनीले सिद्धार्थ इक्विटी फण्डको २० प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को १७ प्रतिशत, र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ-२ को २० प्रतिशत र सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको ८ प्रतिशत लाभांश वितरण गरेको हो । १७ वटा मर्चेन्ट बैंकर कम्पनीको लाभांश विकासन्युजलाई प्राप्त तथ्याङ्कअनुसार १७ वटा मर्चेन्ट बैंकर कम्पनीले गत वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।  ज्योति क्यापिटलले ७ प्रतिशतका दरले १ करोड ४७ लाख रुपैयाँ, सिद्धार्थ क्यापिटलले ३० प्रतिशतका दरले ६ करोड रुपैयाँ, सिटिजन्स क्यापिटलले १६ प्रतिशतका दरले ३ करोड २० लाख रुपैयाँ, ग्लोबल आइएमई क्यापिटलले २० प्रतिशतका दरले ९ करोड ८७ लाख ८३ हजार रुपैयाँ, कुमारी क्यापिटलले १७ प्रतिशतका दरले ६ करोड ८० लाख रुपैयाँ, एनआईसी एशिया क्यापिटलले ५० प्रतिशतका दरले १० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।  यस्तै, लक्ष्मी सनराइज क्यापिटलले चुक्ता पुँजी ४८ करोड ८९ लाख रुपैयाँको करसहित १५.७८ प्रतिशतका दरले ७ करोड ७१ लाख ९४ हजार ७३६ रुपैयाँ, सानिमा क्यापिटलले १२ प्रतिशतका दरले ३ करोड रुपैयाँ, सन लाइफ क्यापिटलले ९ प्रतिशतका दरले २ करोड १४ लाख २० हजार रुपैयाँ, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले २५ प्रतिशतका दरले ५ करोड रुपैयाँ, माछापुच्छ्रे क्यापिटलले ५ प्रतिशतका दरले १ करोड ४३ लाख १६ हजार ९७५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेका छन् । एलिट मर्चेन्ट क्यापिटलले ७.५ प्रतिशत, आरविवि मर्चेन्ट बैंकिङ्गले २० प्रतिशत, मुक्तिनाथ क्यापिटलले ९ प्रतिशत, रिलायबल भेञ्चर क्यापिटलले १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।  यस्तै, नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले ८ करोड १० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित १.३१ प्रतिशतका दरले ४२ लाख ६३ हजार १५७ रुपैयाँ नगद गरी कुल २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस्तै, प्रभु क्यापिटलले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । १० वटा ब्रोकरको लाभांश  प्राप्त तथ्याङ्क अनुसार इम्पेरियल सेक्युरिटिज कम्पनीसहित विभिन्न १० वटा ब्रोकर कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका छन् ।  सिटिजन्स सेयर ब्रोकरले १५.७९ प्रतिशतका दरले ३ करोड १५ लाख ७८ हजार ९४७ रुपैयाँ, सानिमा सेक्युरिटिजले ५ प्रतिशतका दरले १ करोड रुपैयाँ, एनआईएमबि स्टक मार्केट्सले १० प्रतिशतका दरले ६ करोड रुपैयाँ, आकाशभैरव सेक्युरिटिजले १५ प्रतिशतका दरले ३ करोड १० लाख ५० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेका छन् ।  यस्तै, केबिएल सेक्यूरिटिजले २० प्रतिशत, हिमालयन सेक्युरिटिजले ८ प्रतिशत, सुनधारा सेक्युरिटिजले २० प्रतिशत, हिमालयन ब्रोकरेज कम्पनीले १० प्रतिशत, नबिल स्टक डिलरले १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।  २३ वटा अन्य कम्पनीको लाभांश  विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार विभिन्न क्षेत्रका २३ वटा कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । फोनपे पेमेण्ट सर्भिस लिमिटेड (फोन पे)ले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ५० करोड ५० लाख रुपैयाँको १९ प्रतिशतका दरले ९ करोड ७८ लाख ५० हजार रुपैयाँ, केयर रेटिङ्गस नेपालले करसहित ६० प्रतिशत, रिज लाइन इनर्जीले ७ करोड ७८ लाख ३५ हजार ७८९ रुपैयाँ, सानिमा लिमिटेडले ५.७५ प्रतिशत लाभांश लाभांश प्रस्ताव गरेका छन् ।  यस्तै, आशुतोष ईनर्जी १५.७८ प्रतिशत, हिलटन हाइड्रो इनर्जीले ५.२६३ प्रतिशत, स्नो रिभर्सले ४.२१ प्रतिशत, प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेडले १२५ प्रतिशत, भेन्चर हायर पर्चेजले १० प्रतिशत, पूर्वाञ्चल ल्युव आयलले १०.५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् ।  यस्तै, नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकट कलेजले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद गरी कुल ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बोनसमा लाग्ने कर नगद लाभांशबाट कट्टा गरिने जनाएको छ । सेन्चुरी इनर्जी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को कम्पनीको नाफाबाट हालको चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को कम्पनीको नाफाबाट चुक्ता पुँजी ८२ करोड रुपैयाँको ४ प्रतिशतका दरले ३ करोड २४ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजका लागि ०.२१ प्रतिशतका दरले १७ लाख ५ हजार रुपैयाँ नगद गरी कुल ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । शिवम होल्डिङ्ग्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को कम्पनीको नाफाबाट चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशतका दरले ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गरेको हो । टाइम फर्मास्युटिकल्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३६ करोड ५० लाख रुपैयाँको १४.५४ प्रतिशतका दरले ५ करोड ३१ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । ईन्स्पायर क्लिन इनर्जी, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, दाउन्ने एग्रो फार्म लिमिटेड, सिम्रिक एयर, हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स अस्पताल), लिन्च स्टक मार्केट, सप्तकोसी सिमेन्ट र आईएमई लिमिटेडले पनि सेयरधनीहरुलाई प्रतिफल वितरण गर्ने गरी आफ्नो वार्षिक साधारण सभा डाकेका छन् । 

फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि १२४ दल तयार, आयोगले सार्वजनिक गर्‍यो सम्पूर्ण विवरण

काठमाडौं ।  निर्वाचन आयोगले असोज मसान्तसम्म दर्ता कायम रहेका १२४ वटा राजनीतिक दलहरूको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको सूचीमा प्रत्येक दलको दर्ता मिति, प्रमुख पदाधिकारी र तिनका निर्वाचन चिन्हसमेत समावेश गरिएको छ । सूचीको पहिलो स्थानमा नेपाल मजदुर किसान पार्टी परेको छ, जसका अध्यक्ष नारायणमान बिजुक्छे हुन् र चुनाव चिन्ह मादल रहेको छ । सूचीको दोस्रो नम्बरमा नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) छ, जसका महासचिव सीपी मैनाली हुन् र चुनाव चिन्ह हँसिया र तारा रहेको छ । तेस्रो स्थानमा गान्धीवादी पार्टी नेपाल छ । उक्त पार्टीको अध्यक्षमा लालबहादुर राना र चुनाव चिन्ह भेडा रहेको आयोगको सूचीमा छ ।  चौंथोमा नागरिक शक्ति नेपाल र अध्यक्ष देवप्रकाश त्रिपाठी अनि चुनाव चिन्ह त्रिशुल रहेको छ । र पाँचौँमा अध्यक्ष मुस्कान पौडेलको युनाइटेड नेपाल डेमोक्रेटिक पार्टी र चिन्ह पुरुष रहेको आयोगले सार्वजनिक गरेको सूचीमा छ । राष्ट्रिय राजनीति निर्धारण गर्ने ठूला दलहरू पनि आयोगको सूचीमा समावेश छन् । नेकपा (एमाले) २३औँ नम्बरमा, नेकपा (माओवादी केन्द्र) २५औं नम्बरमा र नेपाली कांग्रेस २६औं नम्बरमा रहेका छन् । समकालीन राजनीतिक धारका नयाँ दलहरू पनि सूचीमा परेका छन् । विवेकशील साझा पार्टी ६८औं नम्बरमा, जनमत पार्टी ७५औं नम्बरमा, नेकपा एकीकृत समाजवादी ८८औं नम्बरमा र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ८९औं नम्बरमा रहेका छन् । नेतृत्व परिवर्तन र फुटपछिका दल पनि आयोगमा दर्ता कायम छन् । नेकपा माओवादी समाजवादी (अध्यक्ष कर्णजित बुढाथोकी) र नेकपा एकता राष्ट्रिय अभियान (संयोजक वामदेव गौतम) दुवै नेतृत्व परिवर्तन भए पनि सूचीमै छन् । यस्तै, आम जनता पार्टी, जनता प्रगतिशील पार्टी नेपाल , नागरिक उन्मुक्ति पार्टी , नेपाल समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी पनि सूचीमा परेका छन् । हालै दर्ता भएका दलहरूमध्ये जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल सूचीकृत रहेको आयोगको सूचीमा देखिन्छ । सबैभन्दा पछिल्लो १२४औं नम्बरमा जनस्वराज पार्टी दर्ता भएको छ, जुन जनमत पार्टी फुटेर बनेको हो । यो दल २०२ असोज २ गते दर्ता भएको हो र अध्यक्ष दीपककुमार साह छन् । निर्वाचन आयोगले यी सबै दलले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने कानुनी योग्यता राख्ने जनाएको छ ।

माओवादीसँग एकताअघि समाजवादीमा विद्रोह, १२० भन्दा बढी नेता एमाले फर्किने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकताको अन्तिम तयारी सुरु भएसँगै समाजवादी पार्टीभित्र गहिरो मतभेद र असन्तोष चुलिएको छ । अध्यक्ष माधवकुमार नेपालको पहलमा अघि बढाइएको एकताले पार्टीलाई एकताको सट्टा विभाजनको डिलमा पुर्‍याउन खोजेको टिप्पणी पार्टीभित्रैबाट आउन थालेको छ। माओवादीसँगको एकता समाजवादीभित्रै विभाजनको आधार बन्न सक्ने समाजवादीका एक नेताले विकासन्युजलाई जानकारी दिए ।  अहिले समाजवादी पार्टी माधव नेपालको निजी कम्पनीजस्तो भएकोले पार्टीका कुनै संरचनामा पनि एकताको विपक्षमा बहुमत नपुग्ने ती नेता बताउँछन् । तर सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीमा रहेका १२० भन्दा बढी नेताहरूले एकता पछिको पार्टीमा नजाने मनस्थिति बनाएको ती नेताको दाबी छ ।  नेपाल पक्षले यस एकतालाई वाम राजनीतिमा नयाँ उत्साहका रूपमा चित्रण गरेको छ । नेपाल निकट एक नेता भन्छन्, ‘माओवादी र समाजवादीबीच विचार र नीतिमा समानता छ । त्यसैले आसन्न एकताले केवल संगठनात्मक समायोजन गर्ने छ ।’ तर, नेपालको यही एकल अभियानले पार्टीका अन्य नेताहरूबीच असन्तोष बढाएको पार्टीका एक पदाधिकारी बताउँछन् । उनी भन्छन्, ‘अध्यक्ष नेपालले एउटा घर डढाएर थुपारेको खरानीको कारोबार सकिएपछि फेरि अर्को घर जलाउने प्रयत्न गर्नु भएको छ ।’ अध्यक्ष नेपालले घर डढाएर खरानीको व्यापार गर्न व्यक्तिगत रूपमा माओवादीसँग गोप्य सम्झौता गर्न लागेको ती पदाधिकारीले बताए ।  उनका अनुसार यो हुन लागेको भनिएको एकता विचार, सिद्धान्त र संगठनको समानता होइन, राजनीतिक पद–व्यवस्थाको सम्झौता मात्रै हो । यसैबीच, वरिष्ठ नेता घनेन्द्र बस्नेतसहितका केही नेता भने एकतापछि पुरानो घर फर्कने योजनामा रहेको बताइएको छ । पार्टीभित्र अपेक्षाकृत मौन देखिएका वरिष्ठ नेता बस्नेतसहितका पदाधिकारीहरू  तथा नेताहरू माओवादीसँगको एकता रोक्ने खुला प्रयास नगर्ने तर एकता सम्पन्न भएपछि एमाले फर्किने तयारीमा रहेको बताइएको छ । पार्टीका एक वरिष्ठ नेताले भने, ‘माधव नेपालले मनोनीत गरेका केन्द्रीय सदस्य मध्ये १२० भन्दा धेरै केन्द्रीय सदस्य एमाले फर्कन तयार छन् । उनीहरूसहित बहुमत कार्यकर्ताहरुले एकताको नतिजा हेरेर मात्रै अन्तिम निर्णय गर्नेछन् ।’ यो समूहको बुझाइमा माओवादीसँग मिल्दा समाजवादीका पुराना नेताहरूको भूमिका न्यून हुनेछ । त्यसैले पुरानो घर फर्कनु नै व्यवहारिक विकल्प हुने ती नेताको भनाइ छ । दुवै दलबीच सहमतिको प्रारम्भिक खाका तयार भइसकेको बताइएको छ । नयाँ दलको नाम नेकपा समाजवादी केन्द्र राख्ने प्रस्ताव गरिएको छ ।  यता नेकपा एसका सचिव सोमप्रसाद पाण्डे एकता प्रक्रिया सुरुवाती चरणमा मात्रै रहेको बताउँछन् । पार्टी एकता र कार्यगत एकताका लागि नेत्रविक्रम चन्दको नेकपा, नारायणमान बिजुक्छेको नेमकिपा र महेन्द्रराय यादवको दलसँग पनि कुरा भएको उनले जानकारी दिए । नेतृत्वको सन्दर्भमा पहिलो दुई वर्षका लागि अध्यक्ष पुष्पकमल दाहाल रहने र माधवकुमार नेपाल सह–अध्यक्षका रूपमा रहने समझदारी बनेको नेकपा समाजवादीको वार्ता टोलीका एक सदस्यले जानकारी दिए । तर यही प्रस्तावले समाजवादी नेताहरूबीच असन्तोष फैलाएको बुझिएको छ । झलनाथ खनाल समूहले यसलाई बराबरीको एकता होइन, आत्मसमर्पणको दस्तावेज भएकोले धेरै चिज नयाँ सिराबाट सुरु गर्नुपर्ने बताएका छन् । यता नेकपा एमाले सम्बद्ध नेताहरू भने माओवादीसँग समाजवादी एकताले आफूहरू खुसी भएको बताउँछन् । माओवादीसँग समाजवादी एकता भयो भने माधव नेपालसँग रहेका धेरै नेता एमाले फर्कनेछन् । यसले एमालेलाई पुनः वाम शक्तिको केन्द्र बनाउने एमाले नेताहरूको बुझाइ रहेको छ । एकीकृत समाजवादी अहिले इतिहासको निर्णायक मोडमा उभिएको एकताबाट असन्तुष्ट बनेका एक नेताले बताए । उनका अनुसार नेपाल समूहले माओवादीसँगको एकता वाम राजनीतिलाई पुनर्जीवित गर्ने अवसरका रूपमा देखिएको दावा गरेको छ । तर असन्तुष्ट समूह भने यो एकताले पार्टी विभाजन गर्ने चेतावनी दिइरहेका छन् ।  यदि अध्यक्ष नेपालले असन्तुष्ट पक्षसँग सहमति खोज्न सकेनन् भने समाजवादी पार्टी पुनः दुई वा तीन भागमा टुक्रिन सक्ने समाजवादीका एक नेताले दाबी गरे ।