विकासन्युज

प्रभु महालक्ष्मी लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वित्तीय परामर्शदाताहरूको अन्तर्राष्ट्रिय फोरम एमडीआरटी २०२६ का लागि छनोट भएका अभिकर्ताहरूलाई सम्मान गरेको छ ।  कार्यक्रम रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म चलेको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले गरे ।   कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने बताए ।  उनले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय फोरममा छनोट हुनु आफैमा गौरवको कुरा भएकाले अभिकर्ताहरुलाई हार्दिक बधाई व्यक्त गरे ।  नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोनबहादुर मगरले अन्तर्राष्ट्रिय फोरम एमडीआरटीमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण भएको बताए ।

अझै सुरु भएन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति अझै सुरु हुन सकेको छैन । पार्टी केन्द्रीय कार्यालय, सानेपामा आज अपरान्ह १ बजे बस्ने भनिएको बैठक बस्न नसकेको हो ।  विशेष महाधिवेशनपछि पहिलोपटक सानेपामा बैठक बस्न लागेको हो । ‘बैठक अबको केही समयपछि बस्ने तयारी भइरहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । आजको बैठकमा विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूका साथै सातै प्रदेशका कार्यसमिति सभापतिहरूलाई पनि सहभागी गराइने भएको छ । आजको बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशा र संगठनात्मक संरचनाबारे छलफल हुने पार्टी प्रवक्ता चालिसेले जानकारी दिए । पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको थियो । सोही कार्यसमितिका पदाधिकारीहरूले आज औपचारिक रूपमा पदभार ग्रहण गर्ने कार्यक्रम पनि तय गरिएको छ । विशेष महाधिवेशनपछि यसअघि केन्द्रीय कार्यसमिति बैठकहरू कुपन्डोल र नयाँ बानेश्वरस्थित विभिन्न स्थानमा बसेका थिए । तर आजको बैठक भने पार्टीको केन्द्रीय कार्यालयमै बस्न लागेको हो ।

डा. भट्टराईले गोरखा २ बाट उम्मेदवारी फिर्ता लिए

काठमाडौं । गोरखा २ बाट डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार उनले सामाजिक सञ्जालमा बोल्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । उम्मेदवारी फिर्ता लिनुअघि आफूलाई विभिन्न दलका व्यक्तिले साझा व्यक्तिका रूपमा रहन उपयुक्त हुने र उमेदवार बन्दै गर्दा भूमिका संकुचित हुने भनेर उम्मेदवारी फिर्ता लिन सुझाव दिएको भट्टराईले बताए ।  उनले बाहिर रहेर नै दलहरूलाई सघाउने पनि बताएका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले डा. बाबुराम भट्टराईलाई गोरखा २ बाट उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।  उनले भट्टराईलाई आगामी दिनमा राजकाजका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उदारतापूर्वक सहयोग गर्न अनुरोध गरेका हुन् । भट्टराईले गत निर्वाचनमा आफूले उम्मेदवारी नदिई तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेका थिए ।   

रुपन्देही २ मा थापाको उम्मेदवारी फिर्ता

काठमाडौं । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)की उम्मेदवार कर्भिका थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।  शुक्रबार उनले एक विज्ञप्ति जारी गर्दै अध्ययनको सिलसिलामा अमेरिकामा स्थायी आवास अनुमति पत्र लिएकाले फिर्ता लिएको बताएकी छन् । थापाले विज्ञप्तिमा भनेकी छन्, ‘उम्मेदवारी दर्ता गरेपछि परित्याग गरे पनि हुने भन्ने मेरो बुझाइ थियो । आजको दिनसम्म मैले कुनै पनि अन्य देशको नागरिकता वा राहदानी लिएकी छैन । आजको मितिसम्म मेरो नेपाली राहदानी मात्र छ । तर पछि मलाई नेपालको संविधानको धारा २९१ अनुसार कार्ड परित्याग गरेको कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाइने व्यवस्था रहेको जानकारी भयो। देशको संविधानलाई स्वीकार गर्नु हामी सबैको कर्तव्य हो भन्ने निष्कर्षमा पुगेकी छु ।’ थापाले विरोध र उजुरी नपरेको भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले मनोनयन फिर्ता लिन अनुरोध गरेकाले फिर्ता लिएको उल्लेख गरेकी छन् ।  ‘संविधानको मर्म र भावनाअनुसार मैले ठूलो मन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेकी छु,’ उनले अगाडि भनेकी छन् ।

तीन दिनमा ५१ वटा फर्ममा वाणिज्यको अनुगमन, २ लाखसम्म जरिवाना

काठमाडौं । सरकारले पछिल्लो समय बजार अनुगमनलाई तीव्र पारेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीनदिनमा मात्रै ५१ वटा फर्ममा अनुगमन गरेको छ ।  बजारमा व्यवसायिक क्रियाकलाप स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच पुर्‍याई उपभोक्ताको अधिकार संरक्षण गर्नेे जिम्मेवारी पाएको उपभोक्ता संरक्षण विभागले पछिल्लो समय अनुगमनलाई तीव्र पार्दै कैफियत देखिएका दर्जनौं फर्महरूलाई कारबाही गरेको छ ।  विभागले मंगलबार, बुधबार र बिहीबार मात्रै काठमाडौं, ललितपुर, भक्तपुरका दर्जनौं फर्महरूमा अनुगमन गरेको थियो ।  मंगलवार १३ वटा फर्ममा विभागका अधिकारीहरू पुगेर अनुगमन गरेका थिए । सोही दिन खिलुङ्ग मार्केटिङ प्रालिलाई मात्रै विभागले ५० हजार जरिवाना गरेको थियो । अरू १२ वटा फर्मलाई सुधार्न निर्देशन दिएका थिए । बुधवार विभागका अधिकारीहरूले उपत्यकाका २० फर्ममा अनुगमन गरेका थिए । जसमा कैफियत देखिएको एसपी लिंकर हब, एसटी स्प्रीट वेभरेज इन्टरप्राइजेजलाई व्यवसायसँग सम्बन्धित कागजत लिएर तीन दिन भित्रमा हाजिर हुन विभागका अधिकारीहरुले निर्देशन दिए भने अरू फर्मलाई सुधार्न निर्देशन दिएका थिए । यस्तै, बिहीवार १८ फर्ममा विभागका अधिकारीहरु पुगेका थिए । जसमा कैफियतदेखिएका फर्मलाई २ लाखसम्म जरिवाना तोकिएको छ । अनुगमनका क्रममा कैफियत देखिएपछि न्यू शिव स्टोर काठमाडौँ–२९ नयाँ बसपार्कलाई रु दुई लाख एक हजार बराबरको जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उक्त फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ । त्यस्तै, सोही दिन हिमालयन ब्रुअरी प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । अन्य १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागका निर्देशक नरहरि तिवारीले जानकारी दिए । तिवारीका अनुसार पछिल्लो समय विभागले  दर्ता प्रमाणपत्र नराखेको, उत्पादनमा एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि जरिवाना तिराउँदै आएको छ। पछिल्लो समय हरेक महिनाजसो विभागले मूल्य विश्लेषण समेत गर्दै आएको छ । बजारमा अत्यधिक मूल्य उतारचढाव, कृत्रिम अभाव र कालोबजारी जस्ता समस्या नियन्त्रण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य विश्लेषणलाई आधार बनाएर थप कडा र व्यवस्थित कदमहरू चाल्दै आएको तिवारी बताउँछन् ।  उनका अनुसार विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को प्रभावकारी कार्यान्वयन गर्दै बजार अनुगमनलाई सघन, नियमित र प्रभावकारी बनाउने योजना अघि सारेको छ । विभागले पैठारी, उत्पादन तथा विक्री वितरण हुने हरेक वस्तुमा अधिकतम खुद्रा मूल्य अनिवार्य अंकित गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरिरहेको छ भने यसबाहेक सिन्डिकेट, कार्टेलिङ र कालोबजारी जस्ता अपराधमा शून्य सहनशीलता अपनाई तुरुन्त कारबाहीको दायरामा ल्याउने नीति अंगीकार गरेको छ । 

मनाङमा एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन दिए निवेदन

काठमाडौं । मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिन निवेदन दिएका छन् ।  निर्वाचन कार्यालयका सूचना अधिकारी गोविन्द अर्यालका अनुसार केहीबेरअघि एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपाका उम्मेदवार कुविरसिंह गुरुङले उम्मेदवारी फिर्ता लिनेसम्बन्धी निवेदन दिएका हुन् । ‘उहाँहरूले उम्मेदवारी फिर्ता गरिपाऊँ भनेर निवेदन दिनुभएको छ । निवेदन दर्ता भइसकेको छ,’ अर्यालले बताए ।  उनका अनुसार कानुनी प्रक्रिया अनुसार दिउँसो १ बजेपछि उम्मेदवारी फिर्ता लिने प्रक्रिया औपचारिक रूपमा पूरा हुनेछ ।

कांग्रेसका नवनिर्वाचित सभापति थापाको पदवहाली आज हुँदै

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट हालै निर्वाचित सभापति गगनकुमार थापाले शुक्रबार (आज) पदवहाली गर्दैछन् । काठमाडौंमा यही माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसका पूर्वमहामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन भएका थिए । पार्टी कार्यालय सानेपामा अपरान्ह १ बजे सभापति थापालगायत सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुले पदवहाली गर्ने पार्टी कार्यालयले जनाएको छ ।  नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।  पार्टी कार्यालयमा अपरान्ह १ बजे बस्ने बैठकमा आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।

एआई चिप विवादबीच चीन जाँदै जेन्सेन हुआङ, बजार जोगाउने प्रयास ?

काठमाडौं । एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ फेब्रुअरीको मध्यतिर पर्ने चन्द्र नववर्ष (लुनार न्यू इयर) अघि आउने केही दिनमै चीन भ्रमण गर्ने तयारीमा छन् । यस विषयमा जानकारी भएका दुई स्रोतले सीएनबीसीलाई उक्त कुरा बताएका हुन् । यो भ्रमण यस्तो समयमा हुन लागेको हो, जब अमेरिकी चिप निर्माता एनभीडीयाले चिनियाँ बजारमा बिक्री गर्न सक्ने क्षमताबारे प्रश्नहरू कायमै छन् । एक समय एनभीडीयाको डेटा सेन्टर व्यवसायबाट आउने कुल आम्दानीको कम्तीमा पाँचौं हिस्सा चीनबाटै आउँथ्यो । अमेरिकी निर्यात प्रतिबन्धका कारण एनभीडीयाले आफ्ना सबैभन्दा उन्नत चिपहरू चीनमा बिक्री गर्न पाएको छैन । अत्याधुनिक कृत्रिम बौद्धिकता (एआई) विकासमा प्रयोग हुने चिप्समा बेइजिङमाथि आफ्नो अग्रता कायम राख्ने उद्देश्यले वाशिङ्टनले यी प्रतिबन्ध लगाएको हो । एक स्रोतका अनुसार हुआङ सोमबार बेइजिङमा आयोजना हुने एनभीडीयाको कम्पनी पार्टीमा सहभागी हुने अपेक्षा गरिएको छ ।  यात्रा योजनाबारे प्रत्यक्ष जानकारी भएको व्यक्तिका अनुसार हुआङले चीनका सम्भावित खरिदकर्ताहरूसँग भेटघाट गर्ने र अमेरिकी स्वीकृत एनभीडीया चिप्स चिनियाँ बजारमा आपूर्ति गर्दा देखिएका पछिल्ला प्राविधिक तथा आपूर्ति–सम्बन्धी चुनौतीहरूबारे छलफल गर्नेछन् । ‘द इन्फर्मेसन’ ले गत साता स्रोतहरूलाई उद्धृत गर्दै चीनले एनभीडीयाको एच २००  एआई चिप्स स्थानीय रूपमा किन्ने अनुमति अनुसन्धानजस्ता सीमित प्रयोजनका लागि मात्रै दिने जनाएको थियो । उक्त रिपोर्टबारे बिहीबार सोध्दा चीनको वाणिज्य मन्त्रालयले यस विषयमा आफूलाई जानकारी नभएको बताएको छ । ब्लूमबर्गले यस साता सुरुमा नै हुआङको चीन भ्रमणको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो । यद्यपि, एनभीडीयाले कार्यकारी तहको यात्रा योजनाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । हुआङले गत वर्ष मुख्यभूमि चीन कम्तीमा तीन पटक भ्रमण गरेका थिए, जसमा जनवरीमा चन्द्र नववर्षको अवसरमा गरिएको भ्रमण पनि समावेश छ । अमेरिकाले सन् २०२२ को अक्टोबरमा पहिलो पटक चीनतर्फ उच्चप्रदर्शन कम्प्युटिङ र एआई चिप निर्यातमा कडा प्रतिबन्ध लगाएको थियो । तत्कालीन राष्ट्रपति जो बाइडेन प्रशासनअन्तर्गत अमेरिकी वाणिज्य मन्त्रालयले राष्ट्रिय सुरक्षा कारण देखाउँदै यस्तो निर्णय गरेको हो । त्यसपछि सन् २०२३ र २०२४ मा प्रतिबन्ध थप कडाइ गरिँदै लगियो । एनभीडीयाले चीनका लागि छुट्टै रूपमा विकास गरेका ए ८०० र एच ८०० जस्ता चिपहरू पनि पछिल्ला संशोधित नियमले प्रतिबन्धको दायरामा पारे । यसै क्रममा सन् २०२५ को अन्त्यतिर अमेरिकी सांसदहरूले एनभीडीया जस्ता कम्पनीलाई चीनमा शक्तिशाली एआई चिप बिक्री पूर्ण रूपमा रोक्ने उद्देश्यसहित थप कानुनी पहल अघि बढाए । यद्यपि ती प्रस्तावहरू कानुन बने/नबने पनि, व्यवहारमा निर्यात लाइसेन्स नपाउने अवस्था झन् जटिल बन्यो । उता सन् २०२६ को जनवरीमा चीनले पनि प्रतिक्रिया स्वरूप एनभीडीयाका एच २००जस्ता उन्नत एआई चिपहरूको आयातमा अवरोध सिर्जना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी पक्षबाट सीमित अनुमति भए पनि चिनियाँ भन्सार र नियामक निकायले ती चिपहरू भित्रिन नदिएको बताइएको छ । एनभीडीया सन् १९९३ अप्रिल ४ मा स्थापना भएको हो । यो कम्पनी अमेरिकी इन्जिनियर जेन्सेन हुआङ र उनका दुई सह–संस्थापकले सुरु गरेका थिए । सुरुआतमा गेम खेल्न प्रयोग हुने ग्राफिक्स चिप बनाउने कम्पनी एनभीडीया अहिले एआई र डेटा सेन्टरका लागि अत्याधुनिक चिप बनाउने विश्वकै अगुवा कम्पनी बनेको छ । एनभीडीयाले सन् १९९९ मा अमेरिकी सेयर बजार नासडाकमा सूचीकृत हुँदै सर्वसाधारणका लागि सेयर कारोबार सुरु गरेको थियो । हाल एआई प्रविधिको माग तीव्र रूपमा बढेसँगै एनभीडीयाको व्यापार र सेयर मूल्यमा ठूलो उछाल आएको छ । सन् २०२६ को सुरुवातसम्म एनभीडीयाको बजार पूँजीकरण ९मार्केट क्याप० करिब ४ ट्रिलियन अमेरिकी डलरभन्दा बढी पुगेको छ । यसले एनभीडीयालाई विश्वका सबैभन्दा मूल्यवान कम्पनीहरूमध्ये एक बनाएको छ ।