विकासन्युज

मौसम खुलेसँगै मनाङमा साढे ७ हजार पर्यटक भित्रिए​​​​​​​

काठमाडौं । मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।  यस वर्षको याम सुरुआतसँगै पहिलो अर्थात् डेढ महिनामा साढे ७ हजार बढी पर्यटकको आगमन भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइ कार्यालयले जनाएको छ । डेढ महिनामा ७ हजार ४६१ पर्यटकको आगमन भएको एक्यापका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङले जानकारी दिए ।  उनका अनुसार याम सुरु भएपछि इजरायलका १ हजार १२७, जर्मनीका ५०१, बेलायतका ४६६ र अष्ट्रेलियाका ४४१ जनाले मनाङ अन्तर्गत अन्नपूर्ण पदमार्ग, थोराङ्ला भञ्ज्याङ (पास), लार्के भञ्ज्याङ (पास), तिलिचो तालको भ्रमण गरेका छन् ।  ‘ती देशसँगै विश्वका ८७ देशका नागरिकले मनाङका रमणीय स्थानको भ्रमण गरेका छन् । निराश भएका मनाङवासीका साथै देशकै अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको छ,’ संरक्षण शिक्षा सहायक गुरुङले भने ।  जेनजी आन्दोलन र मनसुनको अन्त्यमा बाढीपहिराका कारण पर्यटकको आगमनमा समस्या भएकामा अहिले चहलपहल हुन थालेको पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले बताए ।  उनले भने, ‘मनाङको आयस्तरले देशकै अर्थतन्त्रमा प्रभाव पार्ने गर्छ । जेनजी आन्दोलनले विदेशी पर्यटकले बुकिङ गरेका होटल पनि फिर्ता लिइरहेका थिए । अहिले देशमा शान्ति कायम हुँदै गएपछि आगमन बढ्दै गएको छ ।’ जेनजी आन्दोलनपछि सुनसान बनेको मनाङमा विदेशी तथा स्वदेशी पर्यटकको चहलपहल बढेको छ । मनसुन सकिएपछि पर्यटकको आगमन बढ्नुपर्ने यहाँ मनसुन अन्त्यमा सक्रिय भएर ठूलो धनजनको क्षति हुँदा पर्यटन व्यवासय पनि सुस्ताएकामा अहिले पर्यटन व्यवसायमा अपेक्षाकृत बन्ने व्यवसायीको भनाइ छ ।  बुकिङ रद्द गरिएका होटल अहिले भरिन थालेका होटल व्यवसायी नवीन विक्रम सिंहले बताए ।  उनले भने, ‘जति पर्यटकको आगमन हुनुपर्ने हो त्यति भएको छैन । तर अहिले केही मात्रामा विदेशी पर्यटकको आगमन चाहिँ भएको छ ।’ विशेषगरी देशकै ठूलो मानिएको हिल्टन होटल जलाइएपछि पर्यटक बढी त्रसित भएको हुनसक्ने पर्यटन तथा होटल व्यवसायीको अनुमान रहको उनको भनाइ छ ।  यस समयमा मनाङका सडक तथा पदमार्गमा पर्यटक प्रशस्त देखिन्थे । तर यस वर्ष त्यति छैनन् । पूर्ण रूपमा पर्यटकको आगमन पनि हुनसकेको छैन । देशको अर्थतन्त्रलाई प्रभाव पार्ने मनाङको पदमार्गको यात्रा तथा सडक सहज बनाउन तीनै तहको सरकारको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ । अहिले नेपाली नागरिकमा पनि भ्रमणमा निस्कने प्रचलन बढ्दै गएको पाइन्छ । जोखिमयुक्त भ्रमण गर्ने र ग्रामीण पर्यटनको प्रवर्द्धनमा जोडिएको पाइएको छ । यसले पनि स्वदेशी पर्यटन प्रवर्द्धन भइरहेको छ ।  विदेशी पर्यटक विशेषगरी यहाँको मानवीय जिन्दगीको आभास गर्न र मौलिक संस्कृतिका साथै प्राकृतिक सौन्दर्यतामा रमाउन आउने गरेका पाइन्छन् । प्रविधिको युगमा वास्तविक प्राकृतिक मानवीय जीवनको महसुस गर्न आउने गरेका छन् । हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । साथै विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गमध्येको अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला जोडिएका छन् । काठमाडौंदेखि बेँसी सहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक यातायात सहज भएपछि सवारी साधनमा नै चामे, खाङ्सारसम्म सवारीसाधनमा नै पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्र मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेको भेटिन्छ ।

धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो । बिहान त्रयोदशी तिथि परेका दिन धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । देव र असुर मिली नागको नेती तथा मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।  आजको दिनलाई आयुर्वेदका चिकित्सकहरूले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो । विसं २०२९ देखि भने त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत आङ्गिक क्याम्पसका रूपमा सञ्चालनमा रहेको छ । आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ । धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवसका अवसरमा भगवान् धन्वन्तरीको पूजाआराधना हुने गर्छ । आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रूपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । धन्वन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालहरूमा समेत विविध कार्यक्रम गरी मनाइँदै छ ।  कोरोना भाइरस एवं डेङ्गु रोगबाट बच्न मानव शरीरमा रोगप्रतिरोधी क्षमता बढाउनसमेत आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी प्रमाणित भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरसको उपचारमा आयुर्वेद औषधिको प्रभावकारिताका विषयमा अनुसन्धान गरिरहेको जनाइएको छ । कोरोना र डेङ्गु रोगबाट बच्न मानव शरीरमा रोगप्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जोको माग तीव्र भएको छ । गुर्जोजस्तै जडीबुटीबाट बनेका अन्य औषधिको माग पनि कोरोना एवं डेङ्गु रोगकालमा बढिरहेको छ । विगतको तुलनामा आयुर्वेदिक औषधिको माग चार गुणासम्म बढेको सिंहदरबार वैद्यखाना विकास समितिले जनाएको छ ।

कार्तिक कृष्ण त्रयोदशी: आज काग तिहार मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए ।  यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका-१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजाआराधना हुने गर्छ । त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजाआराधना गरिन्छ । यहाँ कागको ठूलो मूर्ति बनाइएको छ । दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यमयातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।

तिहारमा फाटफुट वर्षा र हिमपात हुने, कुन दिन कस्तो छ मौसम ?

काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने जनाएको छ । तिहारको समयमा पहाडी भू-भागका एक/दुई स्थानमा फाटफुट वर्षा हुने र उच्च हिमाली भू-भागमा हलुका वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले प्रकाशन गरेको यही कात्तिक ३ देखि ६ गतेसम्मको मौसम विवरणमा लक्ष्मीपूजाका दिन (कात्तिक ३ गते) देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ । यस्तै  कात्तिक ४ गते देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ । कात्तिक ५ गते देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कात्तिक ६ गते भाइटीकाका दिन कोशी र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । सबै प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

आन्दोलनपछि ट्राफिकसँग २७ वटा ब्रेथलाइजर बाँकी, मापसे जाँचमा समस्या

काठमाडौं । काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) विरुद्धको कारबाहीमा प्रयोग गरिने ब्रेथलाइजर मेसिन पर्याप्त नहुँदा ट्राफिक प्रहरीलाई मापसे जाँचमा समस्या भएको छ । गत भदौ २३ र २४ गते काठमाडौंमा भएको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण उपत्यकाका ट्राफिक प्रहरी पोस्टमा रहेका ब्रेथलाइजर मेसिन जलेर नष्ट भएकाले असहिले समस्या भएको हो । ट्राफिक प्रहरीले हाल उपलब्ध भएका ब्रेथलाइजर मेसिन विभिन्न क्षेत्रमा खटिएका ट्राफिक प्रहरीको टोलीबीच आलोपालो प्रणालीअनुसार प्रयोग भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार यसअघि करिब तीन सय वटा ब्रेथलाइजर मेसिन भए पनि हाल २७ वटा मात्रै बाँकी रहेका छन् । ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले भने, ‘हामीसँग पहिले तीन सय वटा मेसिन थिए, जसको प्रयोग गरेर नियमित रूपमा सवारी चालकमा मादक पदार्थको सेवन भए/नभएको परीक्षण गर्न सकिन्थ्यो । तर आन्दोलनका क्रममा ती मेसिनहरू नष्ट भएपछिको अवस्थाले अहिले हामीलाई समस्या भएको छ ।’ रासस

पाकिस्तानमा हालैको बाढीबाट २.९ अर्ब अमेरिकी डलर बराबरको क्षति

काठमाडौं ।  पाकिस्तानमा हालै आएको बाढीबाट करिब २.९ अर्ब अमेरिकी डलर (झण्डै ८२२ अर्ब पाकिस्तानी रुपैयाँ) बराबरको क्षति भएको पाकिस्तानका योजना, विकास तथा विशेष पहल मन्त्री अहसान इकबालले बताए ।   मन्त्रालयको मासिक विकास अद्यावधिक तथा प्रारम्भिक बाढी क्षति मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै इकबालले पूर्ण आर्थिक क्षतिको ठ्याक्कै मूल्याङ्कन गर्न विस्तृत अध्ययन भइरहेको जानकारी दिए ।   उनका अनुसार प्रारम्भिक अनुमानमा सबैभन्दा धेरै क्षति कृषि क्षेत्रमा देखिएको छ । त्यसपछि पूर्वाधार क्षेत्रमा ३०७ अर्ब रुपैयाँ (१.१ अर्ब डलर) बराबरको क्षति भएको छ । बाढीका कारण देशभर करिब दुई लाख २९ हजार घरहरूमा क्षति पुगेको उनले जानकारी दिए ।   मन्त्री इकबालले भनेअनुसार, यी बाढीजन्य क्षतिहरूका कारण चालू आर्थिक वर्ष (जुलाई २०२५ देखि जुन २०२६ सम्म) मा पाकिस्तानको कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि दरमा ०.३ देखि ०.७ प्रतिशत अंकले कमी आउनेछ । यसअघि ४.२ प्रतिशतको लक्ष्य राखिएको भए पनि अहिले ३.५ देखि ३.९ प्रतिशतको दरमा सीमित हुने अनुमान गरिएको छ । उनले भने, ‘यी प्रारम्भिक अनुमानहरूले सरकारलाई पुर्ननिर्माण र राहत कार्यमा मार्गदर्शन गर्नेछ । विशेषगरी पूर्वाधार पुनः निर्माण, जनजीविका पुनःस्थापना र भावी जलवायु जोखिमको सामना गर्ने क्षमता विकासमा ध्यान दिइनेछ ।’ रासस

कञ्चनपुर–कमला सडक : दुईपटक म्याद थपिँदा पनि प्रगति ६७ प्रतिशत

सिरहा । रूपान्तरणीय गौरवको परियोजनाका रूपमा अगाडि बढाइएको कञ्चनपुर–कमला सडक विस्तार तथा स्तरोन्नतिको काम म्याद सकिन करिब दुई महिना बाँकी छ । हालसम्मको निर्माण प्रगति भने ६७ प्रतिशत मात्रै छ । सडकखण्डको स्तरोन्नति तथा चार लेनमा विस्तार गर्ने उद्देश्यले सुरु गरिएको यस आयोजनाको ठेक्का सन् २०२० मा चाइना रेलवे कम्पनी–२ इञ्जिनियरिङ ग्रुपले पाएको थियो । रु १५ अर्ब ६६ करोडको लागतमा सुरु गरिएको आयोजना २८ अक्टोबर २०२३ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएका लक्ष्यअनुसार काम सम्पन्न नभएपछि दुईपटक म्याद थपिएको छ । पहिलोपटक १४ महिनाको र दोस्रोपटक १२ महिनाको म्याद दिइएको हो । हालको सम्झौताअनुसार कम्पनीले अब ३१ डिसेम्बर २०२५ भित्र काम सम्पन्न गर्नुपर्नेछ । सडक निर्माण कार्यलाई पूर्व र पश्चिम गरी दुई खण्डमा बाँडेर काम भइरहेको छ । पूर्वीखण्ड कञ्चनपुरदेखि कुशहा (३९ दशमलव ४२ किमी) र पश्चिमीखण्ड कुशहादेखि कमला नदीसम्म (४७ दशमलव ४१ किमी) रहेको छ । विशेष गरी पश्चिम खण्डअन्तर्गत लहान क्षेत्रको काम भने निकै सुस्त रूपमा भइरहेको छ । योजना पश्चिमखण्डका सूचना अधिकारी इञ्जिनियर सरोजकुमार कोइरालाका अनुसार केही मुख्य संरचनाको निर्माण नहुँदा अन्य काम अघि बढाउन नसकिएको हो । 'अण्डरपास, ओभरपास र आकाशेपुलको पाइल फाउण्डेशन जस्ता संरचना नबन्नु नै मुख्य अवरोध हो',उनले भने, 'यी काम नगरी अन्य संरचनाको निर्माण गर्न सकिँदैन । यही बाध्यताले काम ढिलो भएको हो ।' निर्माणस्थलमा पर्ने विद्युत् प्राधिकरणका पोल समयमै नहटाइँदा सडक निर्माणमा थप ढिलाइ भएको कोइरालाले बताए । पटकपटक अनुरोध गर्दा लहान क्षेत्रको उत्तरतर्फका पोल अझै नहटाइएको उनको पनि गुनासो छ । निर्माणमा ढिलाइ हुँदा वर्षौंदेखि धुलो र हिलोको सास्ती भोग्नु परिरहेको छ । लहानको मुख्य चोक आसपास क्षेत्र अस्तव्यस्त बनेको छ भने व्यापारसमेत प्रभावित भएको छ । सहिद स्मारक भत्काएर बनाइएको डाइभर्सनमार्फत एकतर्फी सवारीसाधन चलाइए पनि धुलो, हिलो र दुर्घटनाको जोखिम उच्च रहेको छ । सोही कारण स्थानीयले असारमा चक्काजामसमेत गरेका थिए । मिर्चैयाको अण्डरपास र लहानको ओभरपासको पाइल फाउण्डेशन निर्माणपछि केही समय रोकिएको काम असोज २३ गतेदेखि पुनःसुरु भएको छ । कम्पनीले लागत बढेको भन्दै आर्थिक नोक्सानी बेहोरेको बताउँदै आएको छ । भदौ २४ गतेका लागि तय भएको निर्माणसम्बन्धी छलफल स्थानीयस्तरमा भएको आन्दोलनका कारण स्थगित भएपछि कम्पनीका पदाधिकारीहरू चीन फर्किएका छन् । सडक विभागले हाल पुनः छलफलका लागि समन्वय गरिरहेको जनाइएको छ । मिर्चैयास्थित पश्चिमखण्ड कार्यालयले सार्वजनिक गरेको पछिल्लो त्रैमासिक प्रतिवेदनअनुसार असार मसान्तसम्म ३९ दशमलव ४२ किलोमिटरमध्ये ३० दशमलव ८५ किलोमिटर मात्रै सडक कालोपत्र भएको छ । रासस

सरकारले निर्वाचन हुन्छ भनेर दुनियाँलाई ढाँट्यो : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाएका छन् ।  सरकारले राजनीतिक दलहरुलाई निषेध गरेर चुनाव गराउँछु भन्दै हिँडेर आम जनतालाई ढाँटने काम गरिरहेको उनको जिकिर थियो । पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचन गराउने सोच सरकारसँग नभएकाले आफ्नो पार्टीले प्रतिनिधि सभा पुनः स्थापनाको मागलाई अघि बढाउनुपरेको तर्क समेत गरे । जेनजी आन्दोलनको काममा लुटिएका हतियार फिर्ता गराउन नसक्ने सरकारले निर्वाचन गराउने भनेर नाटकीय गतिविधि गरिहेको ओलीको भनाई थियो ।  उनले भने, ‘बंगलादेशमा शेख हसिना ७५ वर्षकी बुढी भईन भनेर बेस्सरी नारा लगायो । बुढी भईन हुँदैन भनेर ८५ वर्षका हजुरबालाई फ्रान्सबाट झिकाएर शासक बनाए । जेनजीले के ७५ का लाई हटाएर ८५ का लागि ल्याउन आन्दोलन गरेको थियो ? त्यो पनि देशभित्र होइन, फ्रान्समा बसिरहेकालाई । अहिलेको सरकारले त्यस्तै सोचेको होला हामीलाई । याद रहोस्–मैले अस्ती नै भनेको थिए–यस्ता जग नै नभएको असंवैधानिक सरकारलाई छोडेर हामी विदेश भाग्छौं ? हामी त देश भित्र बसेर जेलमा बसेर होस् कि भूमिगत बसेर होस कि । जसरी होस् देश भित्रै बसेर संघर्ष गरेर आएका शक्ति हो ।’