विकासन्युज

पशुपालक किसानलाई आत्मनिर्भर बनाउन ८० लाख अनुदान

पर्वत । पर्वतका पशुपालक किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउनका लागि प्रोत्साहन गर्न अनुदान वितरण गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशु विकास तथा दूध उत्पादनमा किसानलाई प्रोत्साहन गर्न ८० लाख अनुदान वितरण गर्ने भएको छ । निमित्त केन्द्र प्रमुख तथा पशु विकास अधिकृत रामकृष्ण सुवेदीका अनुसार विभिन्न छ प्रकारका कार्यक्रमका लागि उक्त अनुदान रकम उपलब्ध गराउने तयारी कार्यालयले गरिरहेको छ। आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार किसान, फार्म, कम्पनी, समूह, समिति वा सहकारी संस्थालाई उक्त अनुदान रकम उपलब्ध गराइनेछ। बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाईभैँसी, भेडा, बाख्रा, बंगुर, माछा र कुखुरा पालिरहेका किसान वा फार्म दुईवटालाई अधिकतम ९० प्रतिशत अनुदान दिनेगरी २० लाख वितरण गरिने पशु विकास अधिकृत सुवेदीले बताए। किसान समूह, समिति वा सहकारीमार्फत प्राप्त गर्न सकिने अनुदान प्राप्त गर्नका लागि कम्तीमा ५० वटा माउ पालन गरिरहेको तथा कम्तीमा दैनिक दुई सय लिटर दूध उत्पादन गरिरहेको हुनुपर्नेछ । यदि भेडाबाख्रा पालेको भएमा दुई सय ५० वटा, बंगुर पालेको भएमा ५० वटा ब्रिडर माउ वा एक सय वटा फ्याटनर बंगुर, ग्रामीण कुखुराको हकमा कम्तीमा पाँच सय, हाँस भए तीन सयवटा तथा माछापालन भएमा कम्तीमा २० रोपनी क्षेत्रफल र रेन्बो ट्राउटका लागि कम्तीमा एक हजार वर्गमिटर क्षेत्रफलको जलाशय हुनुपर्ने शर्त राखिएको छ । दूध उत्पादनका आधारमा प्रोत्साहन सहयोगअन्तर्गत चारपटकका लागि ३० लाख अनुदान उपलब्ध कार्यालयले गराउनेछ । यो अनुदानअन्तर्गत प्रतिलिटर अधिकतम पाँचका दरले पाइनेछ। आवेदक दुग्ध उत्पादनसँग सम्बन्धित सहकारी संस्था हुनुपर्ने, दैनिक कम्तीमा दुई सय लिटर र वार्षिक कम्तीमा दुई सय दिन दूधको कारोबार गरेको हुनुपर्ने भनिएको छ । कालीगण्डकी करिडोर केन्द्रित पशुपन्छी तथा मत्स्य उत्पादन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत दुईवटालाई अधिकतम ९० प्रतिशत अनुदान हुनेगरी २० लाख दिने कार्यालयको तयारी छ। किसान समूह, समिति वा सहकारीले पाउने यो अनुदान प्राप्त गर्नका लागि गाईभैँसीको हकमा कम्तीमा ५० वटा माउपालन गरेको र कम्तीमा दैनिक दुई सय लिटर दूध उत्पादन गर्ने गरेको, भेडाबाख्राको हकमा कम्तीमा दुई सय ५० वटा पालन गरेको, बंगुरको हकमा कम्तीमा ५० वटा ब्रिडर माउ वा एक सय वटा फ्याटनर भएको हुनुपर्नेछ। ग्रामीण क्षेत्रमा कम्तीमा पाँच सयवटा कुखुरा पालेको, तीन सय वटा हाँस पालेको वा माछाको हकमा कम्तीमा २० रोपनी क्षेत्रफल र रेन्बो ट्राउटका लागि कम्तीमा एक हजार वर्गमिटर क्षेत्रफलको जलाशय हुनेगरी पालन गरेको भएमा पनि यो अनुदान पाउन सकिनेछ । तर यो अनुदान प्राप्त गर्नका लागि कालीगण्डकी करिडोरमा पर्ने स्थानीय तह हुनुपर्ने शर्त केन्द्रले राखेको छ । त्यसैगरी, फार्म तथा पशुजन्य व्यवसायमा यान्त्रिकीकरण सहयोग कार्यक्रमअन्तर्गत एकपटकका लागि किसानको २५ प्रतिशत लागत साझेदारी रहनेगरी सात लाख अनुदान उपलब्ध हुनेछ । कृषि ऋणमा ब्याज अनुदान कार्यक्रमको निरन्तरताअन्तर्गत एकपटकका लागि ब्याजमा पाँच प्रतिशत अनुदान दिनेगरी डेढ लाख पैयाँ दिइनेछ। डेरी पसल, मासु पसल, बधस्थल निर्माण तथा सुधारका लागि छवटा पसललाई ५० प्रतिशत लागत साझेदारीमा तीन लाख लगानी केन्द्रले गर्नेछ । फार्म, समूह, समिति वा सहकारी संस्थाले यो अनुदान पाउनका लागि माछामासु तथा डेरी पसल कम्तीमा ८० वर्गफिट क्षेत्रफलमा सञ्चालन गरेको हुनुपर्ने, विगत एक वर्षदेखि माछामासु वा डेरी पसल सञ्चालन गरिरहेको हुनुपर्ने भनिएको छ । रासस

एनआईएमबिको १० प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । ब्रोकर नम्बर ७५ अर्थात् एनआईएमबि स्टक मार्केट्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ३१ गते बसेको बैठकले चुक्ता पुँजी ६० करोड रुपैयाँको करसहित १० प्रतिशतका दरले ६ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।   लाभांश पारित गर्न कम्पनीले कात्तिक २८ गते दिउँसो साढे २ बजे काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले सञ्चालक समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन र चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्नेछ ।  एनआईएमबि स्टक मार्केट्स कम्पनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को १ सय प्रतिशत लगानी रहेको सहायक कम्पनी हो । 

सप्तरीमा गोली प्रहारबाट पुजारीको हत्या

काठमाडौं । सप्तरीको बोदेबर्साइन नगरपालिका-८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए ।  गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा गोली प्रहार गरेका थिए । घटना भएको केही मिनेटमै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान थालेको छ । घटनास्थलबाट दुईवटा गोलीका खोका फेलापरेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए । उनका अनुसार सीमावर्ती क्षेत्रमा शङ्कास्पद व्यक्तिमाथि चेकजाँच तीव्र बनाइएको छ ।

१४ वटा मेसिन परिचालन गरेर २ सातापछि मेची राजमार्ग सञ्चालन

काठमाडौं । गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । सो राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडक खण्ड मर्मत सम्भार पश्चात् शनिबार राति ९ बजेदेखि सवारी सञ्चालनका लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । सडक डिभिजन कार्यालय इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको लगातार दुई साताको प्रयासपछि सडक खुलाउन सफल भइएको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए । उनका अनुसार पहिरो पन्छाउन कार्यालयले ६ वटा एक्स्काभेटर, १ जेसिबी, ६ वटा टिफर र १ वटा लोडर परिचालन गरेको थियो । ‘निकै ठूलो पहिरो खस्नाका साथै दिनहुँ भाँसिने समस्याले हामीलाई पहिरो पन्छाउन समय लाग्नुका साथै सास्ती पनि भयो,’ डिभिजन प्रमुख भट्टराईले भने, ‘निरन्तरको प्रयासले सडक खुलाउन सफल भएका छौँ, पहिरो क्षेत्रमा ठूला सवारीहरू एक पटकमा एउटा मात्र सञ्चालन गरेर सहयोग गरिदिन सरोकार भएका सबैलाई अनुरोध गर्दछौँ ।’ राजमार्ग सञ्चालन भएपछि इलामसहित, पाँचथर र ताप्लेजुङबाट झापा जान तथा झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ आउने यात्रु तथा सवारीलाई सहज भएको प्रमुख भट्टराईले बताए ।  मेची राजमार्ग अवरुद्ध हुँदा यसअघि साना सवारीसाधनका लागि वैकल्पिक मार्गका रूपमा बुधबारदेखि तिल्केनी-सिमलगोलाई सडक खण्ड सञ्चालन गरिएको थियो । सो सडक खण्ड अन्तर्गत माईजोगमाई गाउँपालिका-४ नामसालिङ र इलाम नगरपालिका-१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी ‘डाइभर्सन’ निर्माण गरेर सडक सञ्चालन गरिएको उनले जानकारी दिए । वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक) भने अझै सञ्चालनमा आउन सकेको छैन । सो सडक अन्तर्गत पुवाखोला खोलाको बेलिब्रिज बाढीले बगाउनाका साथै बेलासेस्थित माईखोलाको पक्की पुल भाँचिएपछि हालसम्म अवरुद्ध छ । 

तिहार ‘फ्लोरा एक्स्पो’मा १ करोडको कारोबार

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ५ दिने ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ शनिबार सकिएको छ । एक्स्पो नेपाल नर्सरी व्यवसायी सङ्घले आयोजना गरेको उक्त एक्स्पोमा १ करोड रुपैयाँको कारोबार भएको छ । सङ्घकी उपाध्यक्ष एवं एक्स्पो संयोजक लक्ष्मी महर्जनले ३५ हजार बढीले अवलोकन गरेकाे एक्पोमा एक करोडको कारोबार भएको जानकारी दिइन् । फ्लोरा समापन कार्यक्रममा सहभागी पूर्ववातावरणमन्त्री गणेश साहले ‘वातावरण जोगाऊ’ अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिए ।  नायिका मनीषा कोइरालाले परम्परागत रैथाने बिरुवाहरूको संरक्षण र संवर्द्धन गर्नुपर्ने भन्दै यसले वातावरणमा सन्तुलन काय राख्ने धारणा राखिन् ।  सङ्घका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले आगामी दिनमा आयोजना गरिने एक्स्पोमा परम्परागत स्थानीय रैथाने नर्सरी बिरुवालाई समेत प्राथमिकता दिने प्रतिबद्धता जनाए । व्यवसायीहरूलाई प्रोत्साहन गर्न घरघरमा राखिएका नर्सरी तथा फूललाई पनि आगामी दिनमा प्रतिस्पर्धा गराउने योजना रहेको उनले जानकारी दिए ।  एक्स्पोमा ६२ वटा व्यावसायिक स्टलसहित वनस्पति विभाग, पुष्प विकास केन्द्र लगायतको अफिसियल चारवटा स्टल तथा प्रतिस्पर्धाका चार स्टल गरी ७० स्टल रहेका आयोजकले जनाएको छ । व्यवसायीको हौसला बढाउन पुरस्कृत गरिएको थियो । एक्स्पोमा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलङ्कारिक फूलका साथै मलखाद, अग्र्यानिक एवं रासायनिक विषादी, बीउबिजन, औजार उपकरण तथा प्रविधिको स्टल राखिएको थियो । एक्स्पोको प्रवर्द्धन पुष्प विकास केन्द्र र वनस्पति विभागले गरेका हुन् । सङ्घले  तिहारलक्षित तिहार फ्लोरा एक्स्पो र चैतमा हर्टिकल्चर एक्स्पो गरी वर्षमा दुई वटा मेला गर्दै आएको छ ।

काठमाडौंमा स्वरूप परिवर्तन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरूप परिवर्तन गर्ने २७५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । काठमाडौं उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न उपत्यका ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत शनिबारसम्म २७५ वटा मोटरसाइकलहरू नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाइएको उपत्यकामा ट्राफिक प्रहरी कार्यालयले जनाइएको छ । चर्को आवाजमा हर्न बजाउने र मोटरसाइकलमा गैरकानुनी तरिकाले परिमार्जन गरिएको साइलेन्सर पाइप जडान गरिएका सवारीसाधनहरूलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताए ।  ‘चर्को आवाजका कारण उत्पन्न हुने ध्वनि प्रदूषणमाथि कडाइ गर्न हामीले ठूलो सङ्ख्यामा मोटर बाइक नियन्त्रणमा लिएका छौँ । यो अभियान जारी रहने छ । नियन्त्रणमा लिइएका बाइकहरूको कानुनी प्रक्रियासमेत अगाडि बढाइएको छ,’ उनले भने ।  उपत्यकाका मुख्य सहर काठमाडौं, ललितपुर र भक्तपुरसहित विभिन्न स्थानमा स्वरूप परिवर्तन गरी चर्को ध्वनि निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिन थालिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।  उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सवारीसाधनको कुनै पनि भागमा तोकिएको मापदण्ड विपरीत परिवर्तन गर्न पाइँदैन । तर पछिल्लो समयमा धेरै मोटरसाइकल चालकहरूले साइलेन्सर पाइपहरू परिवर्तन गरी तीव्र ध्वनि उत्पादन गर्ने गरेको पाइएपछि ट्राफिक प्रहरीले यस्तो कडाइ गर्न बाध्य भएको प्रमुख अधिकारीको भनाइ छ ।

लाभांश पारित गर्न गुराँस लघुवित्तले डाक्यो १०औँ वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न गुराँस लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्त सञ्चालक समितिको असोज ३१ गते बसेको बैठकले कात्तिक २३ गते धनकुटामा १०औँ वार्षिक साधारण सभा बिहान ९ बजे डाकेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ६५ लाख ८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशतका दरले ८ लाख ६८ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लघुवित्तको सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालक समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षण गर्न बीपी एसोसिएट्सलाई पुन नियुक्त गर्ने र संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक नियुक्त गर्नेछ ।  साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले कात्तिक १४ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । 

लाभांश पारित गर्न सिद्धार्थ बैंकले डाक्यो कात्तिक ३० गते २४औँ सभा, सञ्चालकको भत्ता बढाउने

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज ३१ गते बसेको बैठकले कात्तिक ३० गते काठमाडौंमा २४औँ वार्षिक साधारण सभा बिहान १० बजे डाकेको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँको ५ प्रतिशतका दरले ७० करोड ४४ लाख ९९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशतका दरले ७७ करोड ९१ लाख ७५ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत अर्थात् १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।  बैंकको सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालकको भत्ता थप तथा सुविधामा हेरफेर गर्ने, स्वतन्त्र सञ्चालक कमला वाग्लेको नियुक्तिलाई अनुमोदन गर्ने र सामाजिक उत्तर दायित्व बहन गर्ने क्रममा भएको अधिक खर्च अनुमोदन गर्नेछ ।  यस्तै, सञ्चालक समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, सहायक कम्पनी सिद्धार्थ क्यापिटलको वित्तीय विवरण र चालु आव २०८२/८३ को लागि लेखापरीक्षण गर्न श्री एसएआर एसोसिएट्सलाई पुन नियुक्त गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।