१४ वटा मेसिन परिचालन गरेर २ सातापछि मेची राजमार्ग सञ्चालन
काठमाडौं । गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । सो राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडक खण्ड मर्मत सम्भार पश्चात् शनिबार राति ९ बजेदेखि सवारी सञ्चालनका लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । सडक डिभिजन कार्यालय इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको लगातार दुई साताको प्रयासपछि सडक खुलाउन सफल भइएको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए । उनका अनुसार पहिरो पन्छाउन कार्यालयले ६ वटा एक्स्काभेटर, १ जेसिबी, ६ वटा टिफर र १ वटा लोडर परिचालन गरेको थियो । ‘निकै ठूलो पहिरो खस्नाका साथै दिनहुँ भाँसिने समस्याले हामीलाई पहिरो पन्छाउन समय लाग्नुका साथै सास्ती पनि भयो,’ डिभिजन प्रमुख भट्टराईले भने, ‘निरन्तरको प्रयासले सडक खुलाउन सफल भएका छौँ, पहिरो क्षेत्रमा ठूला सवारीहरू एक पटकमा एउटा मात्र सञ्चालन गरेर सहयोग गरिदिन सरोकार भएका सबैलाई अनुरोध गर्दछौँ ।’ राजमार्ग सञ्चालन भएपछि इलामसहित, पाँचथर र ताप्लेजुङबाट झापा जान तथा झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ आउने यात्रु तथा सवारीलाई सहज भएको प्रमुख भट्टराईले बताए । मेची राजमार्ग अवरुद्ध हुँदा यसअघि साना सवारीसाधनका लागि वैकल्पिक मार्गका रूपमा बुधबारदेखि तिल्केनी-सिमलगोलाई सडक खण्ड सञ्चालन गरिएको थियो । सो सडक खण्ड अन्तर्गत माईजोगमाई गाउँपालिका-४ नामसालिङ र इलाम नगरपालिका-१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी ‘डाइभर्सन’ निर्माण गरेर सडक सञ्चालन गरिएको उनले जानकारी दिए । वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक) भने अझै सञ्चालनमा आउन सकेको छैन । सो सडक अन्तर्गत पुवाखोला खोलाको बेलिब्रिज बाढीले बगाउनाका साथै बेलासेस्थित माईखोलाको पक्की पुल भाँचिएपछि हालसम्म अवरुद्ध छ ।
तिहार ‘फ्लोरा एक्स्पो’मा १ करोडको कारोबार
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ५ दिने ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ शनिबार सकिएको छ । एक्स्पो नेपाल नर्सरी व्यवसायी सङ्घले आयोजना गरेको उक्त एक्स्पोमा १ करोड रुपैयाँको कारोबार भएको छ । सङ्घकी उपाध्यक्ष एवं एक्स्पो संयोजक लक्ष्मी महर्जनले ३५ हजार बढीले अवलोकन गरेकाे एक्पोमा एक करोडको कारोबार भएको जानकारी दिइन् । फ्लोरा समापन कार्यक्रममा सहभागी पूर्ववातावरणमन्त्री गणेश साहले ‘वातावरण जोगाऊ’ अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिए । नायिका मनीषा कोइरालाले परम्परागत रैथाने बिरुवाहरूको संरक्षण र संवर्द्धन गर्नुपर्ने भन्दै यसले वातावरणमा सन्तुलन काय राख्ने धारणा राखिन् । सङ्घका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले आगामी दिनमा आयोजना गरिने एक्स्पोमा परम्परागत स्थानीय रैथाने नर्सरी बिरुवालाई समेत प्राथमिकता दिने प्रतिबद्धता जनाए । व्यवसायीहरूलाई प्रोत्साहन गर्न घरघरमा राखिएका नर्सरी तथा फूललाई पनि आगामी दिनमा प्रतिस्पर्धा गराउने योजना रहेको उनले जानकारी दिए । एक्स्पोमा ६२ वटा व्यावसायिक स्टलसहित वनस्पति विभाग, पुष्प विकास केन्द्र लगायतको अफिसियल चारवटा स्टल तथा प्रतिस्पर्धाका चार स्टल गरी ७० स्टल रहेका आयोजकले जनाएको छ । व्यवसायीको हौसला बढाउन पुरस्कृत गरिएको थियो । एक्स्पोमा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलङ्कारिक फूलका साथै मलखाद, अग्र्यानिक एवं रासायनिक विषादी, बीउबिजन, औजार उपकरण तथा प्रविधिको स्टल राखिएको थियो । एक्स्पोको प्रवर्द्धन पुष्प विकास केन्द्र र वनस्पति विभागले गरेका हुन् । सङ्घले तिहारलक्षित तिहार फ्लोरा एक्स्पो र चैतमा हर्टिकल्चर एक्स्पो गरी वर्षमा दुई वटा मेला गर्दै आएको छ ।
काठमाडौंमा स्वरूप परिवर्तन गरिएका २७५ बाइक नियन्त्रणमा
काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरूप परिवर्तन गर्ने २७५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । काठमाडौं उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न उपत्यका ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत शनिबारसम्म २७५ वटा मोटरसाइकलहरू नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाइएको उपत्यकामा ट्राफिक प्रहरी कार्यालयले जनाइएको छ । चर्को आवाजमा हर्न बजाउने र मोटरसाइकलमा गैरकानुनी तरिकाले परिमार्जन गरिएको साइलेन्सर पाइप जडान गरिएका सवारीसाधनहरूलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताए । ‘चर्को आवाजका कारण उत्पन्न हुने ध्वनि प्रदूषणमाथि कडाइ गर्न हामीले ठूलो सङ्ख्यामा मोटर बाइक नियन्त्रणमा लिएका छौँ । यो अभियान जारी रहने छ । नियन्त्रणमा लिइएका बाइकहरूको कानुनी प्रक्रियासमेत अगाडि बढाइएको छ,’ उनले भने । उपत्यकाका मुख्य सहर काठमाडौं, ललितपुर र भक्तपुरसहित विभिन्न स्थानमा स्वरूप परिवर्तन गरी चर्को ध्वनि निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिन थालिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सवारीसाधनको कुनै पनि भागमा तोकिएको मापदण्ड विपरीत परिवर्तन गर्न पाइँदैन । तर पछिल्लो समयमा धेरै मोटरसाइकल चालकहरूले साइलेन्सर पाइपहरू परिवर्तन गरी तीव्र ध्वनि उत्पादन गर्ने गरेको पाइएपछि ट्राफिक प्रहरीले यस्तो कडाइ गर्न बाध्य भएको प्रमुख अधिकारीको भनाइ छ ।
लाभांश पारित गर्न गुराँस लघुवित्तले डाक्यो १०औँ वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न गुराँस लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्त सञ्चालक समितिको असोज ३१ गते बसेको बैठकले कात्तिक २३ गते धनकुटामा १०औँ वार्षिक साधारण सभा बिहान ९ बजे डाकेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ६५ लाख ८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशतका दरले ८ लाख ६८ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लघुवित्तको सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालक समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षण गर्न बीपी एसोसिएट्सलाई पुन नियुक्त गर्ने र संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक नियुक्त गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले कात्तिक १४ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
लाभांश पारित गर्न सिद्धार्थ बैंकले डाक्यो कात्तिक ३० गते २४औँ सभा, सञ्चालकको भत्ता बढाउने
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज ३१ गते बसेको बैठकले कात्तिक ३० गते काठमाडौंमा २४औँ वार्षिक साधारण सभा बिहान १० बजे डाकेको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँको ५ प्रतिशतका दरले ७० करोड ४४ लाख ९९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशतका दरले ७७ करोड ९१ लाख ७५ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत अर्थात् १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । बैंकको सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालकको भत्ता थप तथा सुविधामा हेरफेर गर्ने, स्वतन्त्र सञ्चालक कमला वाग्लेको नियुक्तिलाई अनुमोदन गर्ने र सामाजिक उत्तर दायित्व बहन गर्ने क्रममा भएको अधिक खर्च अनुमोदन गर्नेछ । यस्तै, सञ्चालक समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, सहायक कम्पनी सिद्धार्थ क्यापिटलको वित्तीय विवरण र चालु आव २०८२/८३ को लागि लेखापरीक्षण गर्न श्री एसएआर एसोसिएट्सलाई पुन नियुक्त गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
सडक अन्तर्गत २५८ ठेक्का रूग्ण, थप ५० वटा ठेक्का तोड्ने प्रक्रिया सुरु
काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ५० रूग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभाग अन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, इटहरी, पोखरा, सुर्खेत, जनकपुर र दमौली मातहतका सडक डिभिजन कार्यालयले रूग्ण अवस्थामा रहेका ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । शुक्रबार १७ र शनिवार १ वटा रूग्ण ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो । सडक डिभिजन कार्यालय काठमाडौंले ७, ओखलढुङ्गा तथा अछाम डिभिजनले ५/५, पाल्पाले ४, जनकपुरले २१, दमौलीले ४ र धनकुटा, पोखरा, मध्यपहाडी तथा गोरखा सडक योजनाले १/१ गरी ५० वटा ठेक्का किन नतोड्ने ? भन्दै आइतबार सार्वजनिक सूचना जारी गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रूग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । सडक अन्तर्गत २५८ ठेक्का रूग्ण छन् । ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमा समेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाइ निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्य स्थलमा भौतिक रुपमा उपस्थित नभएर आधारभूत रुपमा ठेक्का उल्लङ्घन गरेको उल्लेख गरिएको छ । विभिन्न मितिमा लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्न तर्फ कुनै चासो नदेखाइ ठेक्का सम्झौता उल्लङ्घन गरिएको जनाइएको छ । सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिव कारण भए सत्य तथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ । उक्त अवधमिा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानुनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटी बापतको रकम, पेश्की जमानत जफत र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।
मौसम खुलेसँगै मनाङमा साढे ७ हजार पर्यटक भित्रिए
काठमाडौं । मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्षको याम सुरुआतसँगै पहिलो अर्थात् डेढ महिनामा साढे ७ हजार बढी पर्यटकको आगमन भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइ कार्यालयले जनाएको छ । डेढ महिनामा ७ हजार ४६१ पर्यटकको आगमन भएको एक्यापका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार याम सुरु भएपछि इजरायलका १ हजार १२७, जर्मनीका ५०१, बेलायतका ४६६ र अष्ट्रेलियाका ४४१ जनाले मनाङ अन्तर्गत अन्नपूर्ण पदमार्ग, थोराङ्ला भञ्ज्याङ (पास), लार्के भञ्ज्याङ (पास), तिलिचो तालको भ्रमण गरेका छन् । ‘ती देशसँगै विश्वका ८७ देशका नागरिकले मनाङका रमणीय स्थानको भ्रमण गरेका छन् । निराश भएका मनाङवासीका साथै देशकै अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको छ,’ संरक्षण शिक्षा सहायक गुरुङले भने । जेनजी आन्दोलन र मनसुनको अन्त्यमा बाढीपहिराका कारण पर्यटकको आगमनमा समस्या भएकामा अहिले चहलपहल हुन थालेको पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले बताए । उनले भने, ‘मनाङको आयस्तरले देशकै अर्थतन्त्रमा प्रभाव पार्ने गर्छ । जेनजी आन्दोलनले विदेशी पर्यटकले बुकिङ गरेका होटल पनि फिर्ता लिइरहेका थिए । अहिले देशमा शान्ति कायम हुँदै गएपछि आगमन बढ्दै गएको छ ।’ जेनजी आन्दोलनपछि सुनसान बनेको मनाङमा विदेशी तथा स्वदेशी पर्यटकको चहलपहल बढेको छ । मनसुन सकिएपछि पर्यटकको आगमन बढ्नुपर्ने यहाँ मनसुन अन्त्यमा सक्रिय भएर ठूलो धनजनको क्षति हुँदा पर्यटन व्यवासय पनि सुस्ताएकामा अहिले पर्यटन व्यवसायमा अपेक्षाकृत बन्ने व्यवसायीको भनाइ छ । बुकिङ रद्द गरिएका होटल अहिले भरिन थालेका होटल व्यवसायी नवीन विक्रम सिंहले बताए । उनले भने, ‘जति पर्यटकको आगमन हुनुपर्ने हो त्यति भएको छैन । तर अहिले केही मात्रामा विदेशी पर्यटकको आगमन चाहिँ भएको छ ।’ विशेषगरी देशकै ठूलो मानिएको हिल्टन होटल जलाइएपछि पर्यटक बढी त्रसित भएको हुनसक्ने पर्यटन तथा होटल व्यवसायीको अनुमान रहको उनको भनाइ छ । यस समयमा मनाङका सडक तथा पदमार्गमा पर्यटक प्रशस्त देखिन्थे । तर यस वर्ष त्यति छैनन् । पूर्ण रूपमा पर्यटकको आगमन पनि हुनसकेको छैन । देशको अर्थतन्त्रलाई प्रभाव पार्ने मनाङको पदमार्गको यात्रा तथा सडक सहज बनाउन तीनै तहको सरकारको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ । अहिले नेपाली नागरिकमा पनि भ्रमणमा निस्कने प्रचलन बढ्दै गएको पाइन्छ । जोखिमयुक्त भ्रमण गर्ने र ग्रामीण पर्यटनको प्रवर्द्धनमा जोडिएको पाइएको छ । यसले पनि स्वदेशी पर्यटन प्रवर्द्धन भइरहेको छ । विदेशी पर्यटक विशेषगरी यहाँको मानवीय जिन्दगीको आभास गर्न र मौलिक संस्कृतिका साथै प्राकृतिक सौन्दर्यतामा रमाउन आउने गरेका पाइन्छन् । प्रविधिको युगमा वास्तविक प्राकृतिक मानवीय जीवनको महसुस गर्न आउने गरेका छन् । हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । साथै विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गमध्येको अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला जोडिएका छन् । काठमाडौंदेखि बेँसी सहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक यातायात सहज भएपछि सवारी साधनमा नै चामे, खाङ्सारसम्म सवारीसाधनमा नै पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्र मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेको भेटिन्छ ।
धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो । बिहान त्रयोदशी तिथि परेका दिन धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । देव र असुर मिली नागको नेती तथा मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकहरूले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो । विसं २०२९ देखि भने त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत आङ्गिक क्याम्पसका रूपमा सञ्चालनमा रहेको छ । आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ । धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवसका अवसरमा भगवान् धन्वन्तरीको पूजाआराधना हुने गर्छ । आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रूपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । धन्वन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालहरूमा समेत विविध कार्यक्रम गरी मनाइँदै छ । कोरोना भाइरस एवं डेङ्गु रोगबाट बच्न मानव शरीरमा रोगप्रतिरोधी क्षमता बढाउनसमेत आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी प्रमाणित भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरसको उपचारमा आयुर्वेद औषधिको प्रभावकारिताका विषयमा अनुसन्धान गरिरहेको जनाइएको छ । कोरोना र डेङ्गु रोगबाट बच्न मानव शरीरमा रोगप्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जोको माग तीव्र भएको छ । गुर्जोजस्तै जडीबुटीबाट बनेका अन्य औषधिको माग पनि कोरोना एवं डेङ्गु रोगकालमा बढिरहेको छ । विगतको तुलनामा आयुर्वेदिक औषधिको माग चार गुणासम्म बढेको सिंहदरबार वैद्यखाना विकास समितिले जनाएको छ ।