विकासन्युज

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नगद लाभांश घोषणा, कति दिने भयो ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको करसहित १९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव गोपी भण्डारीले जानकारी दिए । 

कांग्रेस बैठकमा बैशाखसम्म चुनाव सार्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्वाचन सार्ने प्रस्ताव आएको छ ।  पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले फागुनको सट्टा बैशाखमा निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । जारी बैठकमा बोल्दै उनले हिमाल र उच्च पहाडका १६ जिल्लामा फागुन २१ मा निर्वाचन सम्भव नहुने बताएका हुन्।  बैठकस्थलबाटै संक्षिप्त प्रतिक्रिया दिँदै शर्माले ती १६ जिल्लामा बैशाखको अन्तिम नभई निर्वाचन गर्न नसकिने आफूले विचार प्रस्तुत गरेको बताए ।

नगद अनुदान रोकिने वित्तीय वर्षमै निर्यात घट्ने चेतावनी

काठमाडौं । सरकारले निर्यातमा दिँदै आएको नगद अनुदान तत्काललाई बन्द गरेको छ । गत बिहीवार उद्योग विभागले सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुनेगरी निवेदन नलिने भनेसँगै निर्यात व्यवसायीहरू यसबाट प्रभावित हुँदैछन् ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन भन्दै विभागले आर्थिक वर्ष २०८१/८२ को स्वघोषणाको विवरण उद्योग विभागमा नगर्न पनि सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ ।  यसरी विभागले थप निवेदन लिन अस्वीकार गरेसँगै उद्योगी व्यवसायीले गत वर्षमा निर्यात गरेबापतको नगद अनुदान पाउने अवस्था छैन । निर्यात व्यवसायीका अनुसार मुलुकमा दिनप्रतिदिन व्यापार घाटा बढिरहेको छ । निर्यात बढाएर नेपालको वैदेशिक व्यापार नाफामा लैजानसक्ने क्षेत्रलाई नै सरकारले प्रभावित हुनेगरी निर्णय लिएको छ । सरकारी निर्णय यो मुलुककै लागि घाटा हुने खालको छ।   आर्थिक वर्ष ०६८/६९ मा कुल निर्यात ७४ अर्ब रुपैयाँ रहेकोमा आव ०८१/८२ मा यो बढेर दुई खर्ब ७७ अर्ब पुगेको छ । सोही आवमा देशको व्यापार घाटा वार्षिक १५ खर्ब २७ अर्ब रहेको छ र निर्यात–आयात अनुपात १ः६.५ रहेको छ । साथै चालु आवको प्रथम दुई महिनाको व्यापार घाटा दुई खर्ब ५७ अर्ब रुपैयाँ र निर्यात–आयात अनुपात १ः१०.५ रहेको छ । यस्तो अवस्थामा सरकारले दिँदै आएको निर्यातमा अनुदान रोक्न नहुने उद्योगी व्यवसायी बताउँछन् ।  नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्ष पशुपतिदेव पाण्डे नगद अनुदानका लागि निवेदन नलिने सरकारी निर्णयले दीर्घकालीन रूपमा निर्यातमुखी उद्योगहरूमा नकारात्मक प्रभाव पार्ने बताउँछन् ।  उनका अनुसार नेपाली उद्योगहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी बन्ने अवसरबाट पनि सरकारी निर्णयले वञ्चित गराउन सक्छ । नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पाण्डेका अनुसार निर्यात प्रवर्द्धनका लागि हालसम्म कायम रहेको नगद अनुदानको व्यवस्था पूर्ववत रूपमा सुचारु सरकारले गर्नुपर्छ । सुचारु नगरे लगानी विस्तार, उत्पादन, निर्यात र रोजगारीमा गम्भीर असर पार्नेछ । 

ईदी हाइड्रोपावरको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । ईदी हाइड्रोपावर कम्पनी लिमिटेडले बिहीबार आफ्नो वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ ।  सभामा कम्पनीका सञ्चालक, सेयरधनी तथा अन्य आमन्त्रित अतिथिहरूको  उपस्थिति रहेको थियो । कम्पनीले सञ्चालनमा ल्याएको जलविद्युत आयोजना मिति २०८२ बैशाखदेखि नै विद्युत् उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ । सभामा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन स्वीकृत गर्दै आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरिएको छ ।  त्यस्तै, कम्पनीले आईपीओ जारी गर्ने तयारीका साथै व्यक्ती वा संस्थागत लगानीकर्तालाई रणनीतिक साझेदारका रूपमा संस्थापक सेयरधनीभित्र भित्र्याउने प्रस्ताव पनि पारित गरेको छ । यसका अतिरिक्त कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने ऐजेन्डा पनि सभाले सर्वसम्मत पारित गरेको छ । सभाबाट नयाँ सञ्चालक समिति समेत चयन गरिएको छ। नयाँ समितिमा युरेसमान कायस्थ, आनन्द चौधरी, कृष्ण प्रसाद खाताखो, तीर्थराज पुरी र दीपिका प्रधान चयन भएका छन् । सभामा अध्यक्षले कम्पनीले आगामी दिनमा अन्य जलविद्युत् आयोजनामा पनि लगानी विस्तार गर्ने योजना रहेको जानकारी गराएका छन् । ईदी हाइड्रोपावरले आफ्नो उत्पादन क्षमताको दायरा बढाउँदै लगानीकर्तालाई दीर्घकालीन प्रतिफल दिने लक्ष्य लिएको छ ।

दर्ता नभएका पशु औषधिहरू आयात गरेको अभियोगमा हेमराज बडाल पक्राउ

काठमाडौं । दर्ता नभएका पशु औषधिहरू आयात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । भेटनरी औषधि उत्पादक कम्पनी कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेड (केपीएल) का सञ्चालक हेमराज बडाल बिहीबार पक्राउ परेका हुन् । भन्सार शुल्क लाग्नेगरी आयात गर्न दिइएको सिफारिस पत्र कीर्ते गरेर पशु औषधिहरू आयात गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । बडाललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।  २४ असोजमा उनकी श्रीमती सुना सुवेदी पनि पक्राउ परेकी थिइन् । उनको बयानको आधारमा बिहीबार हेमराज पक्राउ परेका हुन् ।

सांग्रिला डेभलपमेन्ट बैंकबाट पनि एससीटी युनियन पे कार्ड सेवा सुरु

काठमा नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सञ्चालन गर्दै आएको एससीटी युनियन पे काडको सेवा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुरु गरेको छ ।  सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै एससीटी युनियन पे कार्ड प्राप्त गर्न सक्ने भएका छन् ।  यस सुविधाको सुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास रहेको छ । एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी युनियन पे कार्ड जारी गर्दै आइरहेको छ ।  एससीटीले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विचमार्फत एससीटी युनियन पे कार्ड र भिसा कार्ड जारी गर्ने तथा भिसा, आरयुपे, मास्टरकार्ड तथा डिस्कोभर कार्ड स्वीकार गरि कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ ।  विगत दुई दशक देखि नेपाल भरि सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको एससीटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो ।  एससीटीले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई स्मार्ट क्यूआर, स्मार्ट पे आईबीएफटी  (अन्तर बैंक भुक्तानी सेवा), स्मार्ट बैंकिङ मोबाइल बैंकिङ लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।   

इतिहासमै पहिलोपटक सुनको साम्राज्य ३० ट्रिलियन पार, एनभीडीयाको भन्दा सात गुणा बढी

काठमाडौं । सुनको मूल्यले दिनहुँ नयाँ–नयाँ रेकर्ड तोड्दैछ । यो वर्ष अहिलेसम्म सुनको मूल्यमा करिब ६० प्रतिशतको वृद्धि भइसकेको छ । अन्तर्राष्ट्रिय बजारमा पहिलोपटक सुनको मूल्य प्रतिऔंस ४ हजार ३०० अमेरिकी डलर पार गरेको छ । यससँगै सुनको मार्केट क्याप ३० ट्रिलियन डलरभन्दा माथि पुगेको छ । विश्व इतिहासमा पहिलो पटक कुनै एसेट (सम्पत्ति) यो स्तरमा पुगेको हो । सुनको वर्चस्व कति बलियो छ भन्ने कुरा यसैबाट बुझ्न सकिन्छ कि यसको मार्केट क्याप अहिले विश्वकै सबैभन्दा मूल्यवान कम्पनी एनभीडीयाको भन्दा सात गुणा बढी छ । बिहीबार सुनको मूल्य ३.१२ प्रतिशतले बढ्दै प्रतिऔंस ४ हजार ३३३ अमेरिकी डलर पुग्यो । यस आधारमा सुनको बजार पूँजीकरण (मार्केट क्याप) ३०.१२४ ट्रिलियन डलर पुगेको छ ।  एआई चिप उत्पादन गर्ने अमेरिकी कम्पनी एनभीडीयाको मार्केट क्याप ४.४२६ ट्रिलियन डलर छ । माइक्रोसफ्टको ३.८०२ ट्रिलियन, आइफोन बनाउने एप्पलको ३.६७२ ट्रिलियन, गुगलकी मातृ कम्पनी अल्फाबेटको ३.०४१ ट्रिलियन र चाँदीको बजार मूल्य ३.००१ ट्रिलियन डलर पुगेको छ । यसरी हेर्दा चाँदी विश्वको छैटौं सबैभन्दा मूल्यवान एसेट बनेको छ । नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा तोलामा ७ हजार १०० रुपैयाँ बढी सुनले नयाँ कीर्तिमान कायम राखेको हो । यो वर्षमात्र सुनको बजार मूल्यमा ११ ट्रिलियन डलरको वृद्धि भएको छ । गोल्डम्यान स्याचका अनुसार सन् २०२६ डिसेम्बरसम्म सुनको मूल्य प्रतिऔंस ४ हजार ९०० डलर पुग्न सक्छ । सुनको माग तीव्र रूपमा बढ्नुका केही प्रमुख कारण छन् । पहिलो विश्वका धेरै देशका केन्द्रीय बैंकहरूले आफ्ना विदेशी मुद्रासञ्चय (रिजर्भ) मा सुनको हिस्सा बढाइरहेका छन् ।  दोस्रो अमेरिकी फेडरल रिजर्भले नीतिगत ब्याजदर घटाउने अपेक्षा र अमेरिकी डलर कमजोर हुँदै गएपछि लगानीकर्ताहरू सुरक्षित विकल्पका रूपमा सुनतर्फ आकर्षित भइरहेका छन् ।

सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ

काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  अघिल्लो दिनको तुलनामा तोलामा ७ हजार १०० रुपैयाँ बढी सुनले नयाँ कीर्तिमान कायम राखेको हो । बिहीबार छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ ।  बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।