अमेरिका र इरानबीच सम्झौताको घोषणापछि तेलको मूल्यमा गिरावट
काठमाडौं । अमेरिका र इरानबीच सम्झौताको घोषणा भएपछि एसियामा सुरुवाती कारोबारका क्रममा तेलको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौताअन्तर्गत महत्त्वपूर्ण समुद्री मार्ग हर्मुज स्ट्रेट (जलडमरुमध्य) लाई पुनः खोलिने बताएका छन् । यसपछि वैश्विक तेल मानक ब्रेन्ट क्रुडको मूल्य ३.८ प्रतिशतले घटेर प्रति ब्यारेल ८४.०२ डलरमा झरेको छ भने अमेरिकामा कारोबार हुने तेलको मूल्य ४.१ प्रतिशतले घटेर प्रति ब्यारेल ८१.४० डलर पुगेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सम्झौतामा आधिकारिक रूपमा हस्ताक्षर आगामी शुक्रबार स्विट्जरल्यान्डमा हुने बताएका छन् । गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलका तर्फबाट इरानमाथि हवाई आक्रमण सुरु गरिएको केही समयपछिदेखि नै हर्मुज प्रभावकारी रूपमा बन्द रहेको थियो । विश्वको झन्डै २० प्रतिशत तेल र लिक्विफाइड नेचुरल ग्यास (एलनजी) को आपूर्ति सामान्यतया यही समुद्री मार्गबाट हुने गर्दछ । हालैका महिनाहरूमा वैश्विक ऊर्जा बजारमा तीव्र उतारचढाव देखिएको छ । युद्ध सुरु हुनुभन्दा अघि ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल लगभग ७० डलर थियो, तर द्वन्द्वका क्रममा यो मूल्य बढेर झन्डै प्रति ब्यारेल १२० डलरसम्म पुगेको थियो । अमेरिका र इरानबीच शान्ति सम्झौता, चार महिना लामो युद्ध अन्त्य हुने
कुमारी बैंकलाई ‘फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लेटिनम सम्मान
काठमाडौं । कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लेटिनम अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘बिजनेस मोडेल इनोभेसन’ विधाअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्दै उक्त सम्मान प्राप्त गरेको जनाएको छ । ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया (केवाईसी वर्कफ्लो कम्प्लायन्स) सम्बन्धी नवप्रवर्तनका लागि बैंकलाई अवार्ड प्रदान गरिएको हो । इन्फोसिस फिनाकलद्वारा हरेक वर्ष आयोजना गरिने यस अवार्डले विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरण प्रयासलाई सम्मान गर्दै आएको छ । यस वर्ष विभिन्न विधामा ५०० भन्दा बढी आवेदन परेकोमा कुमारी बैंकले आफ्नो केवाईसी प्रणालीमार्फत उल्लेखनीय प्रदर्शन गर्दै प्लेटिनम अवार्ड जित्न सफल भएको हो । बैंकका अनुसार उक्त प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै नियामकीय मापदण्डको पालना गर्न सहयोग पुर्याएको छ । साथै, डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप पारदर्शी र भरपर्दो बनाउन योगदान पुगेको जनाएको छ । अन्तर्राष्ट्रिय सम्मानसँगै कुमारी बैंकले नवप्रवर्तनमार्फत सुरक्षित, भरपर्दो र ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता थप सुदृढ भएको जनाएको छ । आगामी दिनमा पनि डिजिटल समाधान विस्तार गर्दै ग्राहकलाई अझ सहज, विश्वसनीय र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयास गर्ने बैंकले जनाएको छ ।
शिक्षा र सीप विकासका लागि २ अर्ब ९० करोड विनियोजन
काठमाडौं । मधेश प्रदेश सरकारले विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकालाई विद्यालय शिक्षामा जोड दिँदै बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्दै मधेस प्रदेशले विद्यालय शिक्षामा जोड दिएको हो । जसमा विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकालाइ जोड्दै ‘अप्पन बच्चा के स्कुल पठाऊ, साक्षरता के दीप जलाऊ’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने भएको छ । यसका लागि प्रदेश सरकारले शिक्षा, सीप विकास, भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि आर्थिक वर्षको बजेटमार्फत २ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै, सामुदायिक विद्यालयमा विद्यार्थीको बीचमै पढाइ छाड्ने प्रवृत्ति न्यूनीकरण गर्न संघीय सरकारले सञ्चालन गरिरहेको दिवा खाजा कार्यक्रममा प्रति विद्यार्थी थप अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । उक्त रकमबाट स्थानीय उत्पादनमा आधारित पोषणयुक्त खाजा उपलब्ध गराइने व्यवस्था गरिने उल्लेख छ । ‘प्रदेश स्वयंसेवक शिक्षक’ शिक्षक अभाव भएका विद्यालयहरूमा पठनपाठनलाई प्रभावकारी बनाउन ‘प्रदेश स्वयंसेवक शिक्षक’ कार्यक्रम सञ्चालन गरिने भएको छ । बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले विशेषगरी विज्ञान, गणित र अंग्रेजी विषयका लागि स्वयंसेवक शिक्षक परिचालन गरिने बताएका छन् । यस्तै आधारभूत तहसम्म ‘विद्यालय नर्स’ कार्यक्रम विस्तार गरी विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने छ भने गरिब तथा पिछडिएका परिवारका प्रतिभाशाली विद्यार्थीलाई इन्जिनियरिङ, मेडिसिनलगायत उच्च प्राविधिक विषय अध्ययनमा सहयोग गर्न ‘प्रदेश छात्रवृत्ति कोष’ स्थापना गरिने घोषणा पनि बजेटमा गरिएको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (स्टीम) पद्धतिमा आधारित प्रयोगात्मक शिक्षणलाई प्रोत्साहन गरिने र विद्यालयहरूमा डिजिटल तथा स्मार्ट बोर्ड जडानका लागि लक्षित अनुदानको व्यवस्था गरिएको छ । शिक्षित छोरीः सुरक्षित मधेश विगतको सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई अहिलेको सरकारले परिमार्जन गरेको छ। ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ लाई ‘शिक्षित छोरीः सुरक्षित मधेश, उद्यमशील नारीः समृद्ध प्रदेश’ नाम दिएर महिलाहरूलाई प्राविधिक सीप सिकाउन र सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान उपलब्ध गराउन ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’ कार्यान्वयनमा ल्याइने बताइएको छ । जसअन्तर्गत सामुदायिक विद्यालयबाट अध्ययन गरेका र प्राविधिक शिक्षा पढ्न चाहने छात्राहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था समेत मिलाइनेछ । मुख्यमन्त्री नमुना विद्यालय मधेस सरकारले प्रदेशका प्रत्येक जिल्लामा कम्तीमा एउटा विद्यालयलाई ‘मुख्यमन्त्री नमुना विद्यालय’ घोषणा गरी आवासीय नमुना विद्यालयका रूपमा स्तरोन्नति गरिने भएको छ । ती विद्यालयहरूमा स्मार्ट बोर्ड, ई–लाइब्रेरी, विज्ञान प्रयोगशाला तथा कम्प्युटर ल्याब स्थापना गर्ने उद्घोष गरिएको छ । एक जिल्ला, एक प्राविधिक शिक्षालय मधेश सरकारले एक जिल्ला, एक प्राविधिक शिक्षालय नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने जनाएको छ । बेरोजगार युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न यो नीति प्रभावकारी रूपमा कार्यान्वयन गरिने भएको हो । यस्तै, कृषि, सूचना प्रविधि, अटोमोबाइल तथा हस्पिटालिटी क्षेत्रमा छोटो अवधिका सीपमूलक तालिम सञ्चालन गरिने जनाइएको छ । यस्तै मधेशको मैथिली, भोजपुरी र बज्जिका भाषासहित कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि ‘मधेश प्रज्ञा प्रतिष्ठान’लाई थप साधनस्रोत सम्पन्न बनाइने भएको छ । लोपोन्मुख संस्कृतिको डिजिटल अभिलेखालय स्थापना गर्नुका साथै प्रदेशस्तरीय अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव आयोजना गर्ने योजना पनि सरकारले अघि सारेको छ ।
नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य हुने, ट्राफिक व्यवस्थापन सुधारमा जोड
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच ट्राफिक व्यवस्थापन सुधारका लागि सहकार्य गर्ने सहमति भएको छ । साेमबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेटगरी ट्राफिक व्यवस्थापनसँग सम्बन्धित विविध विषयमा छलफल गरेको हो । छलफलका क्रममा प्रमुख काफ्लेले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नाडासँग दीर्घकालीन र सृजनात्मक सहकार्य आवश्यक रहेको बताए । उनले काठमाडौं उपत्यकामा ठूला सिसीका मोटरसाइकल सञ्चालन, सवारी दुर्घटना तथा ट्राफिक अनुशासनका विषयमा ध्यान दिनुपर्ने उल्लेख गर्दै स्कुटरको तुलनामा मोटरसाइकल दुर्घटना बढी हुने तथ्य औंल्याए । त्यस्तै उनले ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नाडालाई आग्रह गर्दै एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थापनका लागि पहल गर्नुपर्ने बताए । सवारी साधन खरिद गर्ने, सर्भिस सेन्टर जाने तथा नयाँ लाइसेन्स लिने व्यक्तिहरूका लागि करिब एक घण्टाको ट्राफिक प्रशिक्षण अनिवार्य गर्नुपर्ने प्रस्ताव पनि उनले राखे । छलफलमा नाडाका अध्यक्ष उप्रेतीले विगतदेखि ट्राफिक प्रहरीसँग हुँदै आएको सहकार्यको चर्चा गर्दै आगामी असार १३ देखि १९ गतेसम्म मनाइने नाडाको ५०औँ वार्षिक साधारणसभा (स्वर्ण उत्सव) कार्यक्रमलाई सफल बनाउन ट्राफिक प्रहरीको सहयोग आवश्यक हुने बताए । उनले ट्राफिक जनचेतना अभिवृद्धिका लागि स्टिकरमार्फत कार्यक्रम सञ्चालन गर्ने जानकारी पनि दिए । नाडाका महासचिव मिलनबाबु मल्लले पनि ट्राफिक प्रहरीसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । छलफलमा नाडाका उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मेघराज पौडेल र कोषाध्यक्ष पंकज अग्रवाललगायतले आ–आफ्ना धारणा राखेका थिए ।
‘मधेश ट्रेल’ पदमार्गको पूर्वाधार निर्माणदेखि ‘वेडिङ डेस्टिनेसन’ प्रवर्द्धनसम्मको योजना
काठमाडौं । मधेश प्रदेश सरकारले बजेटमार्फत पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन र विस्तारको लागि विभिन्न योजना प्राथमिकताका साथ अघि सारेको छ । सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गर्दै पर्यटन क्षेत्रका विभिन्न योजनाहरूलाई प्राथमिकतामा राखिएको बताएका छन् । मधेश प्रदेशले बाराको ऐतिहासिक सिम्रौनगढलाई खुला सङ्ग्रहालयको रूपमा विकास गर्न र चुरेको फेदीमा पर्या–पर्यटन प्रवर्द्धनका लागि ‘मधेश ट्रेल’ पदमार्गको पूर्वाधार निर्माण तथा ब्रान्डिङ गरिने घोषणा गरेको छ । त्यस्तै, जनकपुरधामको जानकी मन्दिर, बाराको गढीमाई, पर्साको पर्सा वन्यजन्तु आरक्षण, सप्तरीको छिन्नमस्ता, सिरहाको सलहेश फूलबारी, रौतहटको नुन थर, गोल्मेराजा बौद्ध विहार, महोत्तरीको रौजामजार र रौतहटको शिव नगर लगायतका ऐतिहासिक र धार्मिक शक्ति पीठहरूलाई जोडेर ‘मधेश धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट’ निर्माण गरिने घोषण गरेको छ । यस सर्किटमा पर्यटकको सुविधाका लागि आरामदायी पर्यटक बस सेवा सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने भनिएको छ । साथै, लुम्बिनी, सुनसरीको राम धुनी र जनकपुरधामलाई भारतको अयोध्या र सीतामढीसँग जोड्न क्रस बोर्डर टुरिजम प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ । प्रदेशको मौलिक संस्कृति र परिकारलाई पर्यटनसँग जोड्न सम्भाव्य पर्यटकीय गन्तव्यहरूमा ‘सामुदायिक होमस्टे’ सञ्चालन गर्न प्रोत्साहन गरिने बजेटमा उल्लेख गरेको छ । स्थानीय मौलिक परिकारहरूको व्यवसायीकरण र ब्रान्डिङ गर्ने स्थानीय उद्यमीहरूलाई विशेष पुँजीगत अनुदानको व्यवस्था मिलाएको मधेश प्रदेश सरकारले जनाएको छ । स्वदेशी तथा प्रादेशिक उत्पादनलाई वजार सुनिश्चित गर्न, प्रदेश सरकार र अन्तर्गतका निकायहरूले सार्वजनिक खरिद गर्दा मधेश प्रदेशभित्रका साना तथा मझौला उद्योगका उत्पादनहरूलाई प्रचलित बजार मूल्यभन्दा निश्चित प्रतिशत महँगो भए पनि खरिद गर्नुपर्ने ‘मूल्य प्राथमिकता’ सम्बन्धी कानुनी व्यवस्था गरिने भएको छ । मधेश प्रदेशले पर्यटन आगमन बढाउन आन्तरिक पर्यटन प्रवर्द्धनका साथै पि.पि.पि. मोडलमा वेडिङ पार्क (वेडिङ डेस्टिनेसन प्रवर्द्धन) कार्यक्रम अगाडि बढाउने भएको छ । त्यस्तै थिम पार्क, वाटर पार्क, होटेल र धर्मशाला निर्माण गर्न लगानीकर्तालाई आमन्त्रण गरी जग्गा लिजमा उपलब्ध गराउन समन्वय गरिने भएको छ । साथै, स्थानीय कला र संस्कृति झल्कने उत्पादनहरू जस्तै- स्वीट्स र प्याकेटमा मिथिला कला, धूपको काठको कलात्मक धनु, मिथिला माटोको राम–जानकी र हनुमानका मूर्तिहरू उत्पादन गर्न सामूहिक मोडल अपनाई प्रदेश सरकारबाट सर्टिफाइड सोभिनियरका रूपमा ब्रान्डिङ गरिने भएको छ ।
काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित
काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ । सोमबार बसेको नगरसभाको बैठकले सदस्यहरूबाट प्राप्त सुझाव तथा संशोधनलाई समेट्दै नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । नगरसभाको बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले कार्यपालिका सदस्यहरूबाट प्राप्त राय, सुझाव तथा सल्लाहलाई आधार बनाएर संशोधित नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उनले सदस्यहरूले दिएका सुझावले आगामी बजेट, आर्थिक विधेयक तथा विनियोजन विधेयक निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् । कार्यवाहक प्रमुख डंगोलले काठमाडौं महानगरपालिकाले सुशासन, पारदर्शिता तथा प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै जनतालाई छिटो, छरितो, सरल र सहज सेवा उपलब्ध गराउने लक्ष्यका साथ नीति तथा कार्यक्रम अघि बढाइएको बताइन् । उनले नगरसभा सदस्यहरूबाट प्राप्त नवीन तथा सिर्जनात्मक सुझावहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिन् । उनले केही सुझाव महानगरपालिकाले निर्माण गरेका ऐन तथा कानुन संशोधनसँग सम्बन्धित रहेको जानकारी दिँदै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने बताइन् । 'यहाँहरूले राख्नुभएको राय, सुझाव र सल्लाहलाई आधार बनाएर नीति तथा कार्यक्रमसँगै बजेट निर्माण गर्नेछौं । आर्थिक विधेयक र विनियोजन विधेयकमा पनि यहाँहरूको सुझावले महत्वपूर्ण योगदान पुर्याउनेछ,' उनले भनिन् । उनका अनुसार महानगरपालिकाको उद्देश्य सुशासनयुक्त प्रशासन स्थापना गर्नुका साथै जनमुखी, सरल र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नु हो। यसका लागि सदस्यहरूले दिएका रचनात्मक तथा व्यवहारिक सुझावहरू नीति, कार्यक्रम, बजेट तथा कानुनी व्यवस्थामा समावेश गरिनेछ । नीति तथा कार्यक्रम स्वीकृत भएसँगै अब आगामी आर्थिक वर्षको बजेट, आर्थिक विधेयक–२०८३ तथा विनियोजन विधेयक–२०८३ प्रस्तुत गर्ने तयारी महानगरपालिकाले थालेको छ । यसका लागि नगरसभाको अर्को बैठक असार ४ गते दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा बस्ने तय गरिएको छ । उल्लेखनीय छ, आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम कार्यवाहक प्रमुख सुनिता डंगोलले गत बिहीबार नगरसभामा प्रस्तुत गरेकी थिइन् । नगरसभा सदस्यहरूबीच भएको छलफल र प्राप्त सुझावका आधारमा संशोधन गरी उक्त नीति तथा कार्यक्रम अन्ततः सर्वसम्मत रूपमा पारित गरिएको हो ।
कर्णाली डेभलपमेण्ट बैंकका बचतकर्ताको माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
काठमाडौं । कर्णाली डेभलपमेण्ट बैंकमा जम्मा गरेको निक्षेप फिर्ता नपाएको भन्दै पीडित बचतकर्ताहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । बाँके, बर्दिया र दाङ जिल्लामा रहेका बैंकका १९ वटा शाखा कार्यालयका बचतकर्ताहरू सोमबार काठमाडौंमा भेला भई प्रदर्शनमा उत्रिएका हुन् । लामो समयदेखि आफ्नो निक्षेप फिर्ता पाउन नसकेको र सम्बन्धित निकायले मागको सुनुवाइ नगरेको उनीहरूको गुनासो छ । प्रदर्शनका क्रममा बचतकर्ताहरूले ‘कर्णाली बैंक घोटालाका दोषीलाई कारबाही गर’, ‘संस्थाहरूको बचत फिर्ता गर’ तथा ‘जनताको निक्षेप तुरुन्त फिर्ता गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । बैंकमा भएको अनियमितताका कारण आफ्नो बचत जोखिममा परेको भन्दै उनीहरूले तत्काल रकम फिर्ताको सुनिश्चितता गर्न सरकार र नियामक निकायसँग माग गरेका छन् । साथै, दोषीमाथि छानबिन गरी कडा कारबाही गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
मधेश सरकारले सवारी, घरजग्गा र मनोरञ्जन कर बढायो
काठमाडौं । मधेश प्रदेश सरकारले सवारी साधन, घरजग्गा रजिस्ट्रेशन र मनोरञ्जन कर बढाएको छ । सोमबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री युवराज भट्टराईले आर्थिक विधेयक प्रस्तुत गर्दै कर प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उल्लेख गर्दै कर बढाएकाे घाेषणा गरेका हुन् । उनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि राजस्व वृद्धि गर्ने उद्देश्य लिएकाे बताउँदै घरजग्गा रजिस्ट्रेशन र मनोरञ्जन कर बढाएको बताएका हुन् । प्रदेश सरकारले कर प्रशासनलाई डिजिटल बनाउन अनलाइन भुक्तानी प्रणालीलाई पनि अनिवार्य गर्ने घोषणा गरेको छ। बजेटअनुसार प्रदेशका कर संकलन केन्द्रहरूमा अनलाइन भुक्तानी अनिवार्य गरिनेछ । साथै अनलाइन माध्यमबाट नियमित रूपमा कर तिर्ने करदातालाई विशेष सम्मान गर्ने व्यवस्था पनि गरिने भएको छ । यद्यपि बढेको दरबारे विस्तृत विवरण सम्बन्धित ऐन तथा नियमावलीमार्फत सार्वजनिक गरिने जनाइएको छ । यसैबीच, ‘जेनजी आन्दोलन’का क्रममा क्षति भई प्रयोगविहीन बनेका सवारी साधनलाई राहत दिने व्यवस्था पनि गरिएको छ । त्यस्ता सवारी साधनका धनीले असोज मसान्तभित्र खारेजीका लागि निवेदन दिए पूर्ण रूपमा कर छुट पाउने व्यवस्था बजेटमा समेटिएको छ । वनजन्य स्रोतको व्यावसायिक प्रयोगबाट राजस्व बढाउने उद्देश्यले व्यावसायिक रूपमा हुने काठ बिक्रीमा १५ प्रतिशत शुल्क लगाउने व्यवस्था गरिएको छ । वातावरणीय प्रदूषण नियन्त्रणका लागि प्रदेश सरकारले इँटा उद्योगहरूबाट पनि शुल्क उठाउने नीति लिएको छ । बजेटअनुसार अब प्रत्येक इँटा उद्योगले वार्षिक ७५ हजार रुपैयाँ वातावरणीय शुल्क तिर्नुपर्नेछ । यस्तै, प्रदेशअन्तर्गत सञ्चालनमा रहेका विभिन्न प्रयोगशालाका सेवा शुल्क पनि बढाइएको छ। मधेश प्रदेश सरकारले एकातिर करको दायरा विस्तार र राजस्व वृद्धि गर्ने नीति लिएको छ भने अर्कोतर्फ कर प्रशासनलाई पूर्ण रूपमा डिजिटल बनाउने प्रयास गरेको देखिन्छ ।