विकासन्युज

अर्थमन्त्री खनालले अमेरिकी अधिकारीसँग व्यापार, लगानी र सहयोग विस्तारबारे गरे छलफल

काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन संयुक्त राज्य अमेरिका पुगेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले बुधबार अमेरिकाको वासिङ्टन डीसीमा विभिन्न देशका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । अर्थमन्त्री खनालले संयुक्त राज्य अमेरिकाका वाणिज्य प्रतिनिधिसँग नेपालको व्यापार र लगानी प्रवर्द्धनबारे छलफल गर्नुका साथै नेपाल ट्रेड प्रिफरेन्स प्रोग्रामको म्याद थप गर्न आग्रह गरेका छन् । सो अवसरमा अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग पनि दुई देशबीचका सम्बन्ध सुदृढ गर्ने तथा आपसी हितका विषयमा संवाद भएको थियो । त्यसैगरी अर्थमन्त्री खनालले साउदी फन्ड र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिसँग छुटाछुट्टै भेटवार्ता गर्दै नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् । साउदी फन्डका प्रतिनिधिले नेपालमा सिंचाइ र जलविद्युत क्षेत्रमा लगानी जारी रहने जानकारी दिएका छन् । जाइका प्रतिनिधिसँगको भेटमा विपी राजमार्ग पुनर्स्थापना, नागढुंगा सुरुङ मार्ग, र कोटेश्वर सेक्सन आयोजना छिटो अघि बढाउनेबारे विस्तृत छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री खनालले त्यही दिन अन्तर्राष्ट्रिय मुद्रा कोषका एशिया–प्रशान्त निर्देशक कृष्णा श्रीनिवासनसँग समेत भेटवार्ता गरेका थिए । सो अवसरमा कोषको सहयोगमा सञ्चालित विस्तारित कर्जा कार्यक्रम  लाई निरन्तरता दिने विषयमा छलफल भएको थियो । बैठकमा नेपाल राष्ट्र बैंक ऐनमा आवश्यक संशोधन, वाणिज्य बैंकहरूको कर्जा पोर्टफोलियो अध्ययन, र वित्तीय स्थायित्व कायम गर्ने उपाय सम्बन्धी विचार आदान–प्रदान पनि भएको थियो । उक्त छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समेत उपस्थिति रहेको थियो ।

जेनजीका माग पूरा नगरी संसद पुनःस्थापना गर्नु हुँदैन : ज्ञानबहादुर शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले जेनजीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्न नहुने बताएका छन् । बुधबार सभामुखसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।  उनले राप्रपाले सभामुख देवराज घिमिरेसँग जेनजीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्नु हुँदैन भनेर स्पष्ट धारणा राखेको बताए । जेनजीको अहिलेको माग प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज र गैरदलीय स्थानीय तह रहेको बताए । गैरदलीय स्थानीय तह नहुने पनि जेनजीकै मागहरु रहेको बताए । देशमा भ्रष्टाचार व्याप्त रहेको र यसलाई नियन्त्रण गर्न संविधानका केही धाराहरू बाधक रहेकाले त्यसलाई परिमार्जन गर्न जरुरी रहेको जानकारी दिए ।  ‘हामीले सभामुखलाई स्पष्ट अडान राखेका छौँ । जेनजीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्नु हुँदैन । संसदबाट पारित गर्छौं भन्ने प्रतिवद्धता भएमात्रै संसद पुनःस्थापना गरौँ नत्र नगरौँ । देशमा भ्रष्टाचार व्याप्त छ, भ्रष्टाचार नियन्त्रणका लागि संविधानका केही धाराहरू बाधक छन्, ति धारालाई परिमार्जन गर्ने प्रतिवद्धता हुनुपर्छ,' उनले भने । उनले नेपालको संविधानमा १८ वर्ष उमेर पूरा गरेको व्यक्तिले मतदान गर्न पाउने र उम्मेदावर बन्न नपाउने उमेहरदबन्दी हटाउनुपर्ने जानकारी दिए ।   

सभामुख र निवर्तमान प्रमुख सचेतकहरूबीच छलफल शुरु, रास्वपा बैठकमा अनुपस्थित

काठमाडौं । सभामुख देवराज घिमिरे र निवर्तमान राजनीतिक दलहरूका प्रमुख सचेतकहरुबीचको छलफल शुरु भएको छ । बुधबार बिहान सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा छलफल शुरु भएको हो ।  जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएको छ । सभामुख घिमिरे प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने निवेदनसहित अदालत जाने तयारीमा छन् । प्रतिनिधि सभा विघटन संविधान विपरित रहेको र नेकपा एमाले र नेपाली काँग्रेससहितका राजनीतिक दलहरुले संसद विघटन संविधानसम्मत नरहेको बताएका छन् । नेकपा एमालेले पदाधिकारी बैठकबाट प्रतिनिधि सभा विघटनविरुद्ध अदालत जाने निर्णय गरिसकेको छ भने काँग्रेस केन्द्रिय समितिको बैठकबाट आफ्नो धारणा स्पष्ट पार्ने बताउँदै आएको छ ।  यस्तो अवस्थामा सभामुखले विघटन हुनुपूर्वको प्रतिनिधि सभामा सहभागी राजनीतिक दलका प्रमुख सचेतकसँग पार्टीको धारणा माग्न बैठक राखेका हुन् । बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल लगायतका राजनीतिक दलहरु रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि भने सहभागी छैनन् ।

प्रदेश अस्पतालमा बिरामीलाई शय्या अभाव, भुइँमै बिरामी राखेर उपचार गर्न बाध्य

पर्वत । जाडो याम सुरु हुन थालेसँगै पछिल्ला केही दिनयता प्रदेश अस्पतालमा बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ । चाप बढ्दै गएपछि बिरामीलाई शय्या अभाव भएको छ ।  बिरामीलाई अस्पतालको आकस्मिक कक्षमै र कतिपय अवस्थामा भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता बढेको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बाँस्तोलाले जानकारी दिए । उपचारका लागि आउने अधिकांश बिरामी भर्ना नै गर्नुपर्ने किसिमका रहेका उनको भनाइ छ ।  पछिल्ला केही दिनयता ‘जनरल वार्ड’का शय्या बिरामीले भरिएपछि भर्ना गरेर राख्नुपनेलाई समेत आकस्मिक उपचारका लागि छुट्याइएका शय्यामा भर्ना गरेर राखिएको छ । डा. बाँस्तोलाका अनुसार दैनिक तीन सय ५० जनाभन्दा बढी बिरामीको ‘ओपिडी’ र ‘इमर्जेन्सी’ कक्षमा उपचार गरिएको छ । एकै दिनमा तीन सय ९६ जनासम्मको उपचार गरिएको उनले बताए ।  पन्ध्र शय्याको अनुमतिप्राप्त प्रदेश अस्पतालमा अहिले ६४ शय्या सञ्चालन गरेर सेवा सञ्चालन भइरहेको छ । अस्पतालमा रहेको कम जनशक्तिलाई परिचालन गरेर बिहान ७ः०० देखि साँझ ७ः०० बजेसम्म नै बहिरङ्ग सेवा प्रदान गरेर सेवा प्रवाह जारी छ ।  डा बाँस्तोलाले भने, 'भर्ना गरेर राख्नेगरी ओपिडीमा रहेका २६ वटै शय्या भरिएका छन् । गर्मी समय सकिएर चिसो सुरु भइसकेको छ, यो बेलामा बिरामीको सङ्ख्या हरेक वर्ष बढ्छ ।'  बहिरङ्ग विभागका बिरामीले नै आकस्मिक उपचारका शय्या भरिएपछि आकस्मिक उपचारका बिरामी आएको अवस्थामा बहिरङ्गका बिरामीलाई शय्या अभाव भएको हो । त्यस्तो अवस्थामा आकस्मिक कक्षमा बसेर उपचार सेवा लिइरहेका बिरामीलाई भुइँमा नै राखेर भए पनि आकस्मिक अवस्थाका बिरामीलाई सेवा दिनुपर्ने बाध्यता भएको उनको भनाइ छ ।  सिजनल फ्लुका कारण एकै दिनमा १८ जनासम्म बालबालिकालाई भर्ना गरेर उपचार गरिएको डा. एनिस श्रेष्ठले बताए । उनीहरूमा मुख्यगरी ज्वरो, रुघाखोकी, बान्तालगायत समस्या देखिएको छ । यस्तै ज्येष्ठ नागरिकमा दम तथा श्वासप्रश्वासको समस्या छ । अस्पतालको आकस्मिक उपचारकक्षमा मात्र दैनिक करिब ४० जनाले सेवा लिइरहेका छन् । आकस्मिक कक्षमा आउनेहरूमा ज्वरो, दमसहितका श्वासप्रश्वास, झाडापखाला, बान्ता र केही सवारी दुर्घटनाका घाइते छन् । रासस

नक्कली पेस्तोल देखाई चोरी तथा लुटपाट गर्ने व्यक्ति पक्राउ

गण्डकी । नक्कली पेस्तोल देखाएर चोरी तथा लुटपाट गर्ने एक जना व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–१२ शितलादेवी बस्ने देविकला अधिकारीलाई सोमबार पेस्तोल देखाई लुटपाट गरेको भन्ने सूचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पर्वतको मोदी–१  स्थायी बसोबास भई हाल पोखरा २० भलाम बस्ने २४ वर्षीय सुजन विकलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ हरिबहादुर बस्नेतले जानकारी दिए ।      नक्कली पेस्तोल (खेलौना) एक थान र प्रयोग गरेको ग १३ प ९८३२ नं. को मोटरसाइकलसहित निजलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।   

धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती

ढोरपाटन । बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । जिल्लाको ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ गाजा दह (ताल), काठेखोला–४ को खोरताल, बागलुङ–१० स्थित बराहतालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको हो । गाउँ तथा नगरपालिकाले संरक्षण गर्नका लागि डोजर चलाएपछि तालमा पानीको सहत घटेर सुक्न थालेका हुन् । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन् । जब गाउँगाउँमा मोटरबाटो पुगे त्यसपछि तालमा पानी कम हुँदै गएको ढोरपाटन नगरपालिका–९ का धनबहादुर पुनले बताए। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जाने सडक छेउमै रहेको तालले पर्यटकलाई आकर्षित गर्दै आएको थियो । तर सात वर्ष अगाडि नगरपालिकाले ताल सौन्दर्यकरण गर्न डोजर लगाएपछि करिब ९० प्रतिशत पानी सुकेको उनको भनाइ छ । पुनले भने, 'पहिले रुद्राताल निकै ठूलो थियो, धार्मिक आस्थाका हिसाबले यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने मान्यता थियो, यहाँको जलले स्नान गर्दा शरीरमा कुनै पनि रोग लाग्दैन भन्थे, अहिले त पानी सुकेर हिलोमात्र छ, जब यहाँ डोजर लगाएर सम्याउने काम भयो, त्यसपछि तालको पानी सुक्यो, अहिले त नामको मात्र ताल छ, तालमा पानी छैन ।' जैमिनीको गाजा दहमा पनि डोजर लगाएपछि झण्डै ४० प्रतिशत पानी घटेको स्थानीयको दाबी छ । चार वर्ष अगाडि डोजर लगाएर तालको क्षेत्रफल विस्तार गरिएको थियो । काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल छ वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो । तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो । तर अहिले तालमा पानी होइन कमिला डुल्छन् । आर्थिक वर्ष २०७९/८० काठेखोला गाउँपालिकाले डोजर लगाएर कङ्क्रिटको पर्खाल लगाएपछि ताल सुकेको स्थानीय गङ्गाबहादुर किसानले जानकारी दिनुभयो । गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको उहाँको भनाइ छ । तालमा एकाएक पानी सुक्न थालेपछि आफूहरू अचम्मित भएको उनको भनाइ छ । 'तालमा पानी सुकेपछि हामीहरू छक्क परेका छौँ, पाँच–छ वर्ष अगाडि पानीले भरिभराउ ताल अहिले पूरै रित्तै छ, यो ताल निकै ठूलो थियो, सफा पानी हुन्थ्यो, हामी सानो हुँदा यही पानी भरेर खान्थ्यौँ, हावाले पात ल्याएर खसाले पनि चराले सफा गथ्र्यो', उनले भने, 'तालमा डोजर लगाउनु हुँदोरैनछ, पानी रोक्नलाई गाउँपालिकाले सिमेन्टको पर्खाल लगायो, तर तालको पानी सबै सकियो ।' तमानखोला गाउँपालिकाले पनि ताललाई व्यवस्थित गर्न रु ३० लाख लगानी गरेर संरक्षण थालेको थियो । तर अहिले संरक्षण गर्दा उल्टै ताल नै सुक्न थालेको छ । गाउँपालिकाले ताल संरक्षणका लागि तारबार लगाउनुका साथै त्यसवरपर थुप्रै पर्यटन पूर्वधार निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले पानीको स्रोत भएको ठाउँमा डोजर प्रयोग गर्दा मुहान नै सुक्ने बताउनुभयो । पालिकाले व्यवस्थित गर्न डोजर चलाउँदा विभिन्न ठाउँमा पानीको मुहान सुकेपछि अहिले त्यस्ता ठाउँमा मेसिन प्रयोग गर्न छाडेको बताए । त्यसैगरी, बागलुङ नगरपालिका–१० स्थित भकुण्डेको बराहतलमा पनि पानी केही कम भएको पाइएको छ । बागलुङ बजार नजिकै रहेको यो ताल पर्यटकका लागि निकै आकर्षित बनेको छ । अन्य तालका तुलनामा यो तालमा भने पानी अलि बढी रहेको पाइन्छ । यहाँ बिदाको समय धेरै पर्यटक पुग्ने गरेका स्थानीय बताउँछन् । बागलुङ र रुकुमपूर्वको सिमानामा रहेको रिगतालमा पनि निसीखोला गाउँपालिकाले डोजर चलाएपछि २० प्रतिशत पानी घटेको स्थानीयको भनाइ छ । मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेभन्दा केही माथिपट्टि पर्ने यस तालमा दैनिक पर्यटक पुग्ने गर्छन्, तर पानीको मात्रा घट्दै गएपछि ताल संरक्षणमा चुनौती बढेको छ । रासस

२ लघुवित्तको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत लघुवित्त वित्तीय संस्थाहरुमा हालसम्म २ वटा लघुवित्तले मात्रै लाभांश घोषणा गरेका छन् । सञ्चालनमा रहेका ५० वटा लघुवित्त संस्थामध्ये हालसम्म २ वटा लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  लाभांश घोषणा गर्नेमा आरएसडिसी लघुवित्त र गुराँस लघुवित्त वित्तीय संस्था रहेका छन् । दुइटै लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने  जनाएका छन् ।    आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार रुपैयाँको करसहित ८ प्रतिशतका दरले ८ करोड २७ लाख २५ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ६५ लाख ८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशतका दरले ८ लाख ६८ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

राष्ट्र बैंकले दियो पोखरा र समृद्धि फाइनान्सलाई सैद्धान्तिक स्वीकृति, ३ महिनाभित्र अन्तिम स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स र समृद्धि फाइनान्सलाई मर्जरका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले दुइटै फाइनान्स कम्पनीलाई असोज २७ गते सैद्धान्तिक स्वीकृति प्रदान गरेको पोखरा फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईले जानकारी दिए ।  उनका अनुसार अबको ३ महिनाभित्र आ-आफ्नो साधारण सभाबाट विशेष प्रस्ताव पारित सहित आवश्यक प्रकृया पुरा गरी अन्तिम स्वीकृतिका लागि पेश गर्ने सर्तसहित राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको छ । गत साउनमा एकापसमा गाभ्ने तथा गाभिने सम्बन्धी सम्झौता गरी सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेश गरेका थिए । दुवै कम्पनी एक सेयर बराबर एक सेयरको स्वाप अनुपातमा मर्ज हुन लागेका हुन् ।  मर्जरपछि संस्थाको नाम पोखरा फाइनान्स लिमिटेड रहनेछ भने केन्द्रीय कार्यालय काठमाडौंमा रहनेछ । संयुक्त संस्थाको सञ्चालक समितिमा समृद्धि फाइनान्सबाट अध्यक्षसहित ४ जना र पोखरा फाइनान्सबाट ३ जना प्रतिनिधित्व गर्नेछन् । अध्यक्ष पदमा समृद्धि फाइनान्सका प्रतिनिधि रहनेछन् ।