विकासन्युज

कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यले लिए सपथ

काठमाडौं । कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यले मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । गत शुक्रबार सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाबाट आचार्य सञ्चालकमा निर्वाचित भएका थिए । त्यसपछिको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार निर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष पद तथा गोपनियताको सपथ लिनुपर्ने व्यवस्था अनुसार आचार्यले औपचारिक रूपमा सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सत्येन्द्र तिमिल्सिना, साथै कामना सेवा विकास बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिती रहेको थियो । उक्त साधारणसभाबाट संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भीम प्रसाद तुलाचन, चतुराखर अधिकारी, र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए ।

जेनजी आन्दोलनमा कुटपिटमा परेका देउवा दम्पत्ति ३५ दिनपछि सार्वजनिक

काठमाडौं । गत २४ भदौमा भएको जेनजी आन्दोलनमा आन्दोलनकारीको आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सार्वजनिक भएका छन् । उनी घटना भएको ३५ दिनपछि सार्वजनिक भएका हुन् ।  मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुँदै उनी सार्वजनिक भएका हुन् । भदौ २४ गते जेनजी आन्दोलनमा उनीसहित पत्नी आरजु राणा देउवामाथि कुटपिट भएको थियो । त्यसपछि उनीहरु अस्पताल भर्ना भएका थिए । उनीहरुले त्यसपछि कुनै पनि सार्वजनिक वक्तव्य राखेका थिएनन् ।  टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको थियो । उनीसँगै आरजु राणा पनि सार्वजनिक भएकी छन् ।   

बालेनले माफी नमागे किसानहरूले आन्दोलन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा किसानलाई अपमानित गर्ने शैलीमा लेखेको स्टाटसप्रति अखिल नेपाल किसान महासंघले कडा आपत्ति जनाएको छ ।  महासंघले मंगलबार (आज) एक विज्ञप्ति जारी गर्दै उक्त स्टाटस हटाएर तत्काल सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ । महासंघले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘मेयर साहको फेसबुक स्टाटसमा प्रयोग गरिएको किसानझैं फोहर भन्ने शब्दले मुलुकभरिका कृषकहरूको इज्जत र श्रमप्रति गम्भीर अपमान गरेको छ ।’ विज्ञप्तिमा मेयरजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट किसान समुदायप्रति यस्तो अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण र अस्वीकार्य भएको उल्लेख गरिएको छ । महासंघले साहले आफ्नो उक्त स्टाटस फिर्ता लिएर सार्वजनिकरूपमा माफी मागेमात्रै विवाद अन्त्य हुने स्पष्ट पारेको छ । महासंघका अनुसार किसान देशको मेरुदण्ड हुन । उनीहरूको श्रमले नै देशको अर्थतन्त्र चलेको छ । तर राजधानीको नेतृत्व गर्ने मेयरबाटै किसानमाथि अपमानजनक टिप्पणी आउनु कृषिप्रति सरकार र नेतृत्वको दृष्टिकोण कस्तो छ भन्ने देखाउने उदाहरण हो । विज्ञप्तिमा कृषि पेशाप्रति जनप्रतिनिधिहरूले सम्मानजनक दृष्टिकोण राख्नुपर्ने उल्लेख गर्दै यस्तो गैरजिम्मेवार अभिव्यक्ति दोहोरिए किसान महासंघले विरोध कार्यक्रमको तयारी गर्ने चेतावनीसमेत दिएको छ । महासंघले किसानप्रतिको यस्तो व्यवहारले कृषकहरूको मनोबल घटाउने र कृषिप्रति युवापुस्ताको आकर्षण घटाउने चेतावनी पनि दिएको छ । 

अब एकै जनाको नाममा जतिपनि डिम्याट खाता खोल्न मिल्ने, यस्ता छन् सेयर बजार सुधारका योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजारसँग सम्बन्धी सुझाव तत्काल कार्यान्वयन गर्ने भएको छ । धितोपत्र बोर्डले पुँजी बजारमा आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधार सम्बन्धी अध्ययन प्रतिवेदनमा भएका सुझाव तत्काल कार्यान्वयन गर्ने भएको हो । मंसिर १५ गतेभित्र सुझाव कार्यान्वयन गर्ने गरी बोर्डले कार्यतालिका नै तयार पारेको हो ।  कात्तिक मसान्तभित्र धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कारोबार प्रणाली र सिडिएस एण्ड क्लियरिङ्गबाट प्रदान गरिने इटरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइएसआईएन)मा एकरुपता कायम गर्न निश्चित मापदण्ड कार्यान्वयन गर्ने बोर्डले जनाएको छ । यस्तै, कात्तिक १५ गतेभित्र लगानीकर्ताले दुई वा सो भन्दा बढी हितग्राही खाता (डिम्याट खाता) खोल्न सक्ने व्यवस्था गरिनेछ । उक्त व्यवस्था कार्यान्वयनको प्रक्रियामा अगाडि बढिसकेको जनाएको छ ।  साथै, मंसिर १५ गतेभित्र धितोपत्र दलाल व्यवसायीले लगानीकर्ताले समयमै खरिद आदेश बमोजिमको रकम भुक्तानी गर्न नसकेमा वा धितोपत्र दलाल व्यवसायीले समयमा लगानीकर्तालाई भुक्तानी गर्न नसकेमा उक्त रकमबाट सृजित दायित्व वा प्रतिफल भुक्तानी सम्बन्धी व्यवस्थामा एकरुपता कायम गर्ने जनाएको छ । धितोपत्र बोर्डका अनुसार संगठित संस्थाले लगानीकर्तालाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै मिलान गरी भुक्तानी गर्नुपर्ने व्यवस्था, नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीहरूको वित्तीय सबलता, तरलता तथा संस्थागत सुशासनको अवस्थाका आधारमा गर्ने वर्गीकरण वस्तुनिष्ठ बनाउने तथा वर्गीकरण पश्चात् जेड समूहमा कम्पनीहरूको कारोबार गर्दा सतप्रतिशत नगद मार्जिन लिनुपर्ने व्यवस्था तत्काल कार्यान्वयन गरिनेछ ।  यस्तै, लगानीकर्ताको समस्या तथा गुनासो तत्काल सम्बोधनका लागि आवश्यक गुनासो व्यवस्थापन संयन्त्रको स्थापना गरी सञ्चालनमा ल्याउने र धितोपत्र सम्बन्धी कसुरको जाँचबुझ समयमा प्रभावकारी ढंगले सम्पन्न गर्न संयन्त्रको स्थापना गर्ने काम पनि तत्काल कार्यान्वयन गरिने बोर्डले जनाएको छ । लगानीकर्ताहरूमा पुँजी बजार सम्बन्धी साक्षरताको लागि विभिन्न प्रशिक्षण तथा कार्यशाला सञ्चालन गर्ने काम भने निरन्तर रहेको बोर्डको भनाइ छ ।

क्रान्तिपछिको क्रान्तिकारी सरकार भएकाले बकबक नगर्न गृहमन्त्री अर्यालको चेतावनी

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारलाई क्रान्तिपछि बनेको क्रान्तिकारी सरकार भन्दै सरकारका कामकारबाहीबारे अनावश्यक टिप्पणी नगर्न चेतावनी दिएका छन् । माइतीघर मण्डलामा अनशनरत युवा मदन बुढाको अनशन तोड्ने कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भ्रष्टाचारविरुद्धको सरकारको कठोर कदमलाई विभिन्न बहानामा कमजोर पार्ने प्रयासहरू स्वीकार्य नहुने स्पष्ट पारे । उनले भने, यो क्रान्तिपछि बनेको सरकार हो । कोही कन्फ्युजनमा नहुन अहिले बकबक गरिरहेका मानिसहरू पनि कन्फ्युजनमा होलान् । यो क्रान्तिकारी सरकार हो । भ्रष्टाचारी खोज्न पाइँदैन, शान्ति–सुरक्षा कायम गर्न पाइँदैन भन्ने कुरा कदापि स्वीकार्य छैन ।’ गृहमन्त्री अर्यालले सरकारको प्रमुख दायित्व निर्वाचन सम्पन्न गर्नुका साथै शान्ति–सुरक्षा कायम राख्नु र भ्रष्टाचार अन्त्य गर्नु भएको बताउँदै निर्वाचनको बहानामा भ्रष्टाचारीमाथि कारबाही गर्न थाल्दा अनेक बहाना नबनाउन अनुरोध गरे । उनी भन्छन्, ‘यो सरकारले निर्वाचन पनि गराउँछ, तर शान्ति–सुरक्षा र भ्रष्टाचार निर्मूल गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो । गृहमन्त्रीको यो अभिव्यक्ति सरकारका कतिपय निर्णयहरूलाई लिएर सार्वजनिक चासो र आलोचना बढिरहेका बेला आएको हो ।

भाइटीकाको उत्तम साइत ११ः३९ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा. देवमणि भट्टराईले जानकारी दिए ।  ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन,’ उनले भने । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ ।  कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ । कात्तिक ३ गते सोमबार दिउँसो ०२ः५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ।  सायकालमा औंशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ०४ः२९ बजेसम्म औँशी तिथि रहेको समितिले जनाएको छ । गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा म्ह पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । म्ह पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ ।  समितिले स्वीकृति दिने तीन पात्रो (पञ्चाङ्ग) नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ५ गते नै म्ह् पूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गरेका छन् ।  यसै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष ढकालले बताए । यसै दिनदेखि नेपाल संवत् ११४६ सुरु हुन्छ ।  शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइनेछ । मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचन अनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ ।   शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउँछ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै दाजुभाईलाई टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक भनिने तिहार पर्व मनाइन्छ । यस पर्वमा कात्तिक कृष्ण त्रयोदशीको साँझदेखि कात्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गरिन्छ । यमदीपदान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । काग र कुकुरलाई पनि यमदूतका रूपमा मीठा परिकार खान दिएर खुसी बनाउने वैदिक परम्परा छ । जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ ।

ललितपुरका मेयर जुम्लामा, मन्दिर निर्माणका लागि दिए ३५ लाख रुपैयाँ

जुम्ला । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जसहितको प्रतिनिधिमण्डल जुम्ला पुगेका छन् । उनी जुम्लाको चन्दननाथ नगरपालिकामा महानगरमा भएका मन्दिर जस्तै झल्को दिने मन्दिर निर्माणको उद्घाटनको लागि पुगेका हुन् । जुम्लामा मेयर महर्जनसहित प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, महानगरका निर्देशक देवप्रसाद गुरागाईं, वडा नं.२८ का अध्यक्ष वीरेन्द्र महर्जन रहेका छन् । उक्त नगरपालिकामा गणेश मन्दिर निर्माणको लागि महानगरले ३५ लाख रुपैयाँ सहयोग गरेको प्रमुख महर्जनले बताए । चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतका अनुसार मन्दिर १९ लाख ७५ हजार निर्माण सम्पन्न भएको हो । बाँकी रकम गेट मन्दिरको गेट बनाउनका लागि खर्च गरिने उनले जानकारी दिए । महानगरका अनुसार गणेशका मूर्ति बनाउने ढुंगा खोकनाबाट ल्याइएको थियो भने मन्दिर निर्माणका लागि ललितपुरकै कालीगढहरूलाई लगाइएको थियो ।   गणेशको मन्दिर प्रतिस्थापन गरिएको उक्त मन्दिर चन्दननाथ नगरपालिकाको वडा नं. ५ मा अवस्थित छ । चन्दननाथ नगरपालिकामा १० वटा वडा रहेका छन् । ललितपुर महानगर र चन्दननाथ नगरपालिकाबीच ३ वर्षअघि भगिनी सम्बन्ध कायम भएको थियो । भगिनी सम्बन्ध कायम भएका पालिकाको विकासमा साझेदारी कायम गर्न ललितपुर महानगरले विभिन्न परियोजना कायम गर्दै आएको छ ।  मेयर महर्जनले भगिनी सम्बन्ध कायम भएका पालिकालाई सहयोग गर्नु जिम्मेवारी सम्झेर मन्दिर निर्माणमा सहयोग गरेको बताए ।  उनले भने, ‘भगिनी सम्बन्ध कायम भएपछि हामी मित भयौं, अर्थात हामी मित भयौं, एउटा मितले अर्को मितलाई सहयोग गर्नु कर्तव्य हो ।’  महर्जनले मितहरूबीच एक–अर्कामा दुःख–सुख साझेदारी गर्ने हक भएको बताउँदै भगिनी सम्बन्ध भएका पालिकाहरूलाई महानगरले सम्पदा र वातावरणमैत्री परियोजनालाई सहयोग गर्दै आएको जानकारी दिए । महानगर मेयर महर्जनका अनुसार ललितपुर महानगरको आकृति झल्कने संरचना निर्माणलाई प्राथमिकतामा राखेर महानगरले परियोजना दिँदै आएको छ । यस्तो परियोजनामा आगमी दिनमा पनि महानगरको सहयोग रहने महर्जनले प्रतिबद्धता जनाएका छन् । नगरपालिकाका मेयर कठायतले दुर्गम जिल्लामा रहेको पालिकालाई उपत्यकाको सुगम र सम्पदायुक्त महानगरले सहयोग गरेकोमा धन्यावद दिए । त्यस्तै, नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले पनि महानगरलाई धन्यवाद दिँदै भविष्मा यस्तै परियोजनमा योगदानको लागि अनुरोधसमेत गरिन् ।  त्यस्तै, जुम्ला जिल्ला समन्वय समितिका सभापति गौरीनन्द आचार्यले पालिकाको विकासमा भगिनी सम्बन्ध कायम गरेर सम्पदा र वातावरण परियोजनामा महानगरले गरेको सहयोगको लागि धन्यवाद दिए । ललितपुर महानगरको भगिनी सम्बन्ध कायम भएका पालिकाहरूमा सल्यानको शारदा नगरपालिका, दोलखाको भीमेश्वर नगरपालिका, गुल्मीको मालिका गाउँपालिका, संखुवाभभाको चैनपुर नगरपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका हुन् । त्यस्तै, महानगरको अन्तर्राष्ट्रिय स्तरमा कोरियाको चेओरवन सहर र रसियाको  उलान उदे सहरसँग भगिनी सम्बन्ध कायम रहेको छ ।

मौलिक समाजवाद र प्राकृतिक जनराज्यको बहस शीतयुद्धकालीनवादबाट अगाडि बढ्नुपर्छ : नवराज सुवेदी

काठमाडौं । जनयुग पार्टीका संयोजक नवराज सुवेदीले नेपालमा वैचारिक रूपान्तरणको बहस नयाँ मोडतर्फ उन्मुख हुँदै गएको बताएका छन् ।  परम्परागत राजनीतिक विचारधाराबाट बाहिरिएर देशले मौलिक साेंचसहितको समाजवादको बाटो अँगाल्नु आजको आवश्यकता रहेको संयोजक सुवेदीले बताए ।   बिकासन्युजसँग कुरा गर्दै उनले नेपालको राजनीतिक यात्राले अब पुराना वादहरूबाट अलग भएर देशीय सन्दर्भ अनुकूल वैकल्पिक मार्ग अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरे । सुवेदीले भने,  ‘हामी अब वादको नाममा होइन, प्रभावकारी शासन प्रणाली र जनउत्तरदायी नीतिको नाममा अघि बढ्नुपर्छ ।’ उनका अनुसार मौलिक समाजवाद भन्ने अवधारणा नेपालको भूगोल, संस्कृति, समुदाय र आवश्यकता अनुरूपको समाजवाद हो, जुन न त सोभियत शैलीको हो, न त अमेरिकी ढाँचाको हो ।  यो समाजवाद स्रोत र निर्णयको विकेन्द्रीकरण, सहकारी अर्थतन्त्र, र समुदाय सशक्तिकरणमा आधारित हुनेछ । ‘नेपालको जैविक विविधता र प्राकृतिक स्रोत–साधनलाई आत्मसात गर्दै विकास गर्नुपर्ने आवश्यकता छ । त्यसैले हामीले प्राकृतिक जनराज्य भन्ने अवधारणा अघि सारेका छौं,’उनले थपे । सुवेदीका अनुसार जल, जंगल, जमिन र जीवजन्तुको संरक्षण गर्दै नवीकरणीय ऊर्जामा आधारित प्रकृतिमैत्री अर्थतन्त्रको निर्माण नै नेपालको दिगो विकासको आधार बन्न सक्छ । सामाजिक सेवामा पनि वैज्ञानिक मानवतावादको खाँचो रहेको सुवेदीको भनाइ छ । ‘शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षालाई भावना होइन, विज्ञानमा आधारित नीतिमार्फत सम्बोधन गर्नुपर्छ,’ उनले भने । नीति निर्माणमा तथ्य, डेटा, अनुसन्धान र प्रविधिको प्रयोगलाई प्रमुखता दिइनुपर्नेमा उनले जोड दिए । जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने गास, बास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षाजस्ता विषयलाई व्यवहारिक ढंगले सम्बोधन गर्न सके मात्र नयाँ सोच सफल हुने सुवेदीको निष्कर्ष छ । नेपालमा अहिले उदीयमान मौलिक समाजवाद र प्राकृतिक जनराज्यको अवधारणाले परम्परागत वाद–विवादमाथि गहिरो प्रश्न उठाइरहेको छ । यसले देशको आवश्यकता र सम्भावनालाई केन्द्रमा राखेर भविष्यको राजनीतिक दिशा तय गर्न सक्ने सम्भावना देखिएको सुवेदीले बताए । सुवेदी ०५१ र ५६ सालको प्रतिनिधि सभा सदस्य हुन् । लामो समय मोहनविक्रम सिहको नेकपा मसालमा आबद्ध रहेका सुवेदी नेकपा माओवादी केन्द्र हुँदै बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा समेत पुगेका थिए ।  भट्टराईकै सिफारिसमा  संयुक्त अरब इमिरेट्सको राजदूतसमेत भएका सुवेदीले केही दिन पहिले नयाँ पार्टी खोलेका हुन् । उनको पार्टी निर्वाचन आयोगमा दर्ता हुने प्रक्रियामा रहेको छ ।