हेटौँडा उपमहानगरपालिकाले प्लाष्टिकको फूल बिक्रीवितरण तथा प्रयोगमा लगायो रोक
बागमती । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले प्लाष्टिकको फूल बिक्री, वितरण तथा उत्पादनमा रोक लगाएको छ । उपमहानगरपालिकाले सूचना जारी गर्दै स्थानीय फूल उत्पादनलाई प्रोत्साहित गर्न नगर क्षेत्रभित्र प्लाष्टिकको फूल बिक्री, वितरण तथा प्रयोगमा रोक लगाइएको हो । प्राकृतिक फूलमालाको प्रयोग गर्न आग्रह गर्दै उपमहानगरपालिकाले सूचनाविपरीत प्लाष्टिकको फूलमालाको बिक्री वितरण तथा प्रयोग गरेको पाइएमा नियमनको दायरामा ल्याइने जनाएको छ । स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले प्लाष्टिकको फूलको प्रयोगले वातावरणमा क्षति हुने र माटोमा नकुहिने भएकाले वातावारणीय सौन्दर्यमा समेत नकारात्मक असर पर्ने भएकाले स्वदेशी फूलको मात्र प्रयोग गर्न आग्रह गरेका छन् ।
चिनियाँ उड्ने कार युएईमा प्रदर्शन
काठमाडौं । चिनियाँ कम्पनी एक्सपेङ्ग एरोथद्वारा विकसित उडान कारले संयुक्त अरब इमिरेट्सको आकाशमा उडान भरेको छ । जसलाई चीनको कम उचाईको विमान प्रविधिको विश्वव्यापी पहुँचमा एक महत्वपूर्ण कदमका रुपमा लिइएको छ । उडानले कम्पनीको पछिल्लो पुस्ताको मोडेल ल्याण्ड एयरक्राफ्ट क्यारियर प्रदर्शन गरेको हो । जसमा मदरशिप भनेर चिनिने जमिन सवारी साधन र एक छुट्याउन सकिने एयर मोड्युल समावेश छ । विमानले स्वचालित र म्यानुअल उडान सञ्चालन दुवै प्रदान गर्दछ । स्वचालित मोडमा पाइलटहरूले एक स्पर्शमा मार्गहरू योजना गर्न, उडान भर्न र अवतरण गर्न सक्छन् । जबकि म्यानुअल मोडमा एकल–स्टिक नियन्त्रण प्रणालीले ६ वटा अपरेशनहरूलाई एक जोइस्टिकमा संयोजन गर्दछ । जसले एक हातले नियन्त्रण गर्न अनुमति दिन्छ । उडानको क्रममा एयर मोड्युलको छुट्याउने र पुनः संलग्न गर्ने पूर्ण अनुक्रम प्रदर्शन गरिएको थियो । कम्पनीले यस क्षेत्रमा ६ सय उडान कारहरूको अर्डर सुरक्षित गरेको छ । जुन कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो विदेशी थोक खरिद हो । दुबईस्थित चिनियाँ कन्सुल जनरल ओउ बोकियानले सफल उडानको प्रशंसा गर्दै चीन र युएई दुवैले वैज्ञानिक र प्राविधिक नवप्रवर्तनलाई आर्थिक विकासको मुख्य इन्जिनको रूपमा मान्ने कुरामा जोड दिए । यस क्षेत्रमा द्विपक्षीय सहयोगले भविष्यमा सहयोग विस्तार गर्न दुवै पक्षका उद्यमहरू र व्यापारिक समुदायलाई मिलेर काम गर्न अनुकूल वातावरण प्रदान गर्ने उल्लेख गरे ।
टेस्लाको तलब प्याकेजले मस्कलाई असफलतामै अर्बौं कमाइको बाटो
काठमाडौं । टेस्लाको बोर्ड अफ डाइरेक्टर्सले गत सेप्टेम्बरमा एलन मस्कलाई कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो कार्यकारी तलब प्याकेज प्रस्ताव गर्दा लगानीकर्ताहरूलाई आश्वस्त गर्यो कि उनले १० वर्षभित्र टेस्लाको सेयर मूल्यबाट ८७८ अर्ब डलर कमाउन मार्स–सट माइलस्टोन (अत्यन्त कठिन, महत्त्वाकांक्षी र असम्भवजस्तै देखिने लक्ष्यहरू) बराबरका उपलब्धिहरू हासिल गर्नुपर्नेछ । बोर्डको प्रस्तावमा भनिएको थियो — मस्कले टेस्ला र समाजलाई हामीले चिनेको भन्दा ‘पूर्ण रूपमा रूपान्तरण’ गर्नुपर्नेछ — रोबोटिक्स, स्वचालित सवारी, सेयर मूल्य र मुनाफामा । नत्र उनले ‘शून्य’ पाउनेछन्, जबसम्म ती ‘अविश्वसनीय महत्त्वाकांक्षी’ लक्ष्यहरू पूरा हुँदैनन् । तर रोयटर्सको विश्लेषणअनुसार मस्कले तीमध्ये धेरै लक्ष्य नपुग्दा पनि दशौं अर्ब डलर कमाउन सक्नेछन् । बोर्डका सजिला लक्ष्यहरू पूरा गरेर मात्रै उनले ५० अर्ब डलरभन्दा बढी पाउन सक्ने सम्भावना छ, जसले टेस्लाको उत्पादन वा व्यवसायमा ठूला क्रान्ति ल्याउन आवश्यक नपर्न सक्छ । केवल दुई सजिला लक्ष्य पूरा गर्दै थोरै मात्र सेयर मूल्य वृद्धि भए पनि मस्कले २६ अर्ब डलर कमाउन सक्छन् — जुन अन्य शीर्ष आठ सीईओहरूको जीवनभरको तलबको भन्दा बढी हो । तीमध्ये मेटा प्लेटफर्मका मार्क जुकरबर्ग, ओरेकलका सहसंस्थापक लेरी एलिसन, एप्पलका टिम कुक र एनभीडीयाका जेन्सेन हुआङ छन् सवारी विशेषज्ञका अनुसार मस्कका सवारी बिक्रीका लक्ष्यहरू अत्यन्तै सजिला छन् । यदि उनले अर्को दशकसम्म हरेक वर्ष औसतमा १२ लाख कार बेच्न सके भने — जुन २०२४ को तुलनामा पाँच लाख कम हो — र टेस्लाको बजार मूल्य आजको १.४ ट्रिलियनबाट २०३५ सम्ममा २ ट्रिलियन पुगेमा उनले ८.२ अर्ब डलरको सेयर पाउँछन् । गत मंगलबार टेस्लाले घट्दो बिक्री उल्ट्याउन सस्तो मोडेल ‘वाई एसयूभी’ र ‘मोडेल ३’ का नयाँ भर्सन सार्वजनिक गर्यो । तर मस्कका तीन अन्य उत्पादन विकास लक्ष्यहरू अस्पष्ट भाषामा लेखिएका छन्, जसले नाफा धेरै नबढाई पनि ठूलो बोनस दिलाउन सक्ने विशेषज्ञहरू बताउँछन् । टेस्ला र मस्कले यसबारे टिप्पणी गर्न अस्वीकार गरे । बोर्डका प्रवक्ताले भने, ‘यो प्रस्तावित तलब प्याकेज हाम्रो सीईओका लागि तबसम्म शून्य मूल्यको हुनेछ जबसम्म सेयरधारकहरूले कम्पनीको मूल्य लगभग दोब्बर भएको र सञ्चालन उपलब्धि हासिल भएको देख्दैनन् ।’ बोर्डको प्रस्तावअनुसार मस्कले कम्तीमा सात वर्ष र छ महिनासम्म टेस्लाको कार्यकारी रहनु पर्नेछ । तर उनले एकपटक सेयर पुरस्कार पाउने बित्तिकै त्यससँग सम्बन्धित भोटिङ अधिकार प्राप्त गर्नेछन् । मस्कले गत महिनामा आफ्नो ‘एक्स’ प्लेटफर्ममा लेखेका थिए — ‘यो प्याकेज तलबको विषय होइन, बरु हामीले लाखौं रोबोट बनायौं भने टेस्लाको सुरक्षामा मेरो पर्याप्त प्रभाव रहोस् भन्ने सुनिश्चितता हो ।’ बोर्डले भन्यो, ‘मस्क परम्परागत तलब प्रणालीभन्दा बाहिरका प्रेरणाबाट’ सञ्चालित छन् । स्व–सञ्चालित कार, रोबोट्याक्सी र रोबोटिक्स प्रत्येक लक्ष्य पूरा गर्दा टेस्लाको मूल्यांकन २ ट्रिलियनदेखि ८.५ ट्रिलियनबीच पुगेमा मस्कलाई १ प्रतिशत सेयर प्राप्त हुन्छ । एक लक्ष्यअनुसार टेस्लाको ‘फुल सेल्फ ड्राइभिङ (एफएसडी) सफ्टवेयरका १ करोड सब्स्क्रिप्सन हुनुपर्नेछ — यद्यपि अहिले यो सफ्टवेयर मानव हस्तक्षेपबिना चल्न सक्दैन । अमेरिकी ट्राफिक सुरक्षा निकाय (एनएचटीएसए) ले बिहीबार २.८८ मिलियन एफएसडीयुक्त टेस्ला गाडीमा ५० भन्दा बढी ट्राफिक दुर्घटनाका रिपोर्टपछि अनुसन्धान सुरु गरेको छ । मस्कको लक्ष्यमा टेस्लाले पूर्ण स्वचालित एफएसडी बनाउनैपर्ने भनिएको छैन — केवल ‘उन्नत ड्राइभिङ प्रणाली’ आवश्यक छ भनिएको छ । ‘यो त कल्पित शब्द हो, जसको कुनै उद्योगस्तरीय परिभाषा छैन,’ मियामी विश्वविद्यालयका प्राध्यापक विलियम वाइडेनले भने । विशेषज्ञहरूका अनुसार टेस्लाले सब्स्क्रिप्सन शुल्क (हाल ८ हजार डलर अग्रिम वा ९९ डलर मासिक) घटाएर यो लक्ष्य सजिलै पूरा गर्न सक्छ । चीनको बीवाईडीले त यस्तै प्रणाली निःशुल्क नै प्रदान गर्छ । ‘यदि म मस्कको वकिल हुन्थेँ भने यी परिभाषा मलाई मन पर्थे,’ न्यूयोर्कका कार्डोजो स्कुल अफ लका प्राध्यापक म्याथ्यु वान्सलीले भने । अर्को लक्ष्यअनुसार एक मिलियन रोबोट्याक्सी सञ्चालनमा हुनुपर्नेछ — जसमा ‘मानव चालक बिना’ कार सञ्चालन हुने भनिएको छ । तर चार सवारी विशेषज्ञका अनुसार यो व्याख्या ‘दूरवर्ती’ चालक वा यात्रु सिटबाट नियन्त्रण गर्ने अवस्थामा पनि लागू हुन सक्छ — जुन टेस्लाले अहिले टेक्सासको अस्टिनमा सानो स्तरमा परीक्षण गरिरहेको छ। मस्कको सम्झौताले १० लाख रोबोट उत्पादन गर्ने लक्ष्य पनि राखेको छ, जुन उनले प्रतिज्ञा गरेको ‘ह्युमनाइड रोबोट’ सँग सम्बन्धित मानिन्छ । तर लक्ष्यमा ‘ह्युमनाइड’ भन्ने शब्द नै छैन — जसले यसको व्याख्या धेरै फराकिलो बनाउँछ । ‘यो एकदमै अस्पष्ट व्याख्या हो,’ रोबोटिक्स विश्लेषक क्रिश्चियन रोकसेथले भने, ‘तर लगानीकर्ताहरू त मानव–आकारका रोबोटकै आशा गरिरहेका छन् ।’ साना लक्ष्य, अर्बौं इनाम यदि मस्कले कुनै दुई उत्पादन लक्ष्य १० वर्षमा पूरा गरे र कम्पनीको मूल्य २.५ ट्रिलियनमा पुगे उनले २६.४ अर्ब डलर पाउनेछन् । तीन लक्ष्य र ३ ट्रिलियन मूल्य पुग्दा यो रकम ५४.६ अर्ब हुनेछ । यसरी उनले ड्राइभरबिहीन टेस्ला उत्पादन नगरी पनि अर्बौं पाउन सक्छन् — जुन उत्पादनको उनले दशकदेखि वाचा गर्दै आएका छन् । टेस्लाका लगानीकर्ता जीन मुनस्टरका अनुसार, ‘शब्दहरू ढिला देखिए पनि अन्ततः लगानीकर्ताले परिणाम माग्छन् । यदि जनताले शंका गर्न थाले भने मस्क समस्यामा पर्छन् ।’ बोर्डले मस्कलाई टेस्लालाई एआई–शक्ति सम्पन्न कम्पनीमा रूपान्तरण गर्न सक्षम एक मात्र व्यक्ति घोषित गरेको छ । तर विशेषज्ञहरू भन्छन्, ‘बोर्डले आफ्नो भविष्य एक व्यक्तिमाथि अत्यधिक निर्भर गराउनु ठूलो जोखिम हो ।’ कठिन भाग : मुनाफा मस्कका सबैभन्दा कठिन लक्ष्य भने नाफासँग सम्बन्धित छन् जसमा व्याख्याको ठाउँ छैन । बोर्डले ५० अर्बदेखि ४०० अर्ब डलरसम्मको नाफा लक्ष्य राखेको छ जबकि २०२४ मा टेस्लाको नाफा १६.६ अर्ब मात्र थियो । टेस्लाको विद्युतीय सवारी व्यवसाय अहिले पुराना मोडेल र बढ्दो प्रतिस्पर्धाका कारण कमजोर बन्दैछ । नयाँ मोडेल ‘साइबरट्रक’ असफल भएको छ । तर मस्कको तलब संरचनाले नाफा नबढ्दा पनि ठूलो बोनस दिलाउन सक्छ किनभने बजार मूल्य वृद्धि सँगै प्रत्येक लक्ष्यमा समान १ प्रतिशत सेयर पाउने व्यवस्था छ । यदि टेस्लाको मूल्य दशकभरमा ६.४ प्रतिशत वार्षिक दरले मात्र बढ्यो भने पनि यो २ ट्रिलियन पुग्न सक्छ — जुन विगत ३० वर्षको एसएन्डपी ५०० को औसत ८.५ प्रतिशतभन्दा कम हो । मर्निङस्टारका विश्लेषक सेथ गोल्डस्टिनका अनुसार टेस्लाको मूल्य दशकभरमा ३ ट्रिलियन पार गर्न सक्छ, यद्यपि यो मूल्यांकन अहिले नै ‘अवस्थित नभएका भविष्यका उत्पादन’ मा आधारित छ । उनका शब्दमा ‘मस्कले बोर्डले दिएको सबैभन्दा ठूलो इनाम पाउन अब वास्तविक उत्पादनहरू देखाउनुपर्नेछ ।’ दक्षिण क्यालिफोर्नियाका प्राध्यापक केभिन मर्फीले भने, ‘सजिला लक्ष्य पूरा गर्दा शेयरधारकहरू सन्तुष्ट हुँदैनन्, तर उनी मस्कमा विश्वास गर्छन् — र उनीहरूका लागि त्यो नै महत्त्वपूर्ण छ ।’ ‘के यो मूल्यवान छ ?,’ मर्फी भन्छन्, ‘सेयरधारकहरूलाई त त्यस्तै लाग्छ ।’ टाटा ट्रस्ट्समा आन्तरिक युद्ध : विजय सिंहको राजीनामासँगै मिस्त्री विवाद सतहमा संकटमा अमेरिकी अर्थतन्त्र : चीनको कदमले बढायो विश्व अर्थतन्त्रमा त्रास टिकटकदेखि दुर्लभ खनिजसम्म : ट्रम्प–सी बीचको ‘ट्रेड वार’ झन् गहिरिँदै मन्सा मुसा : विश्व इतिहासका सबैभन्दा धनी राजा जसको सम्पत्ति आज पनि एलन मस्कभन्दा धेरै
वीरगञ्जमा एमएडब्लु वृद्धिको चारदिने ईभी टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम शुरु हुँदै
वीरगञ्ज । वीरगञ्जमा दिपलको नयाँ स्टेट अफ द आर्ट सोरुम उद्घाटनको अवसरमा एमएडब्लु वृद्धिले आगामी असोज ३० गतेदेखि चारदिने 'टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज इभेन्ट' आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार कार्यक्रममा ग्राहकहरूले दिपल र अवतारका लक्जरियस इलेक्ट्रिक भेहिकल (ईभी) को अनुभव लिनुका साथै सट्टापट्टा (एक्सचेन्ज) गर्ने अवसर पाउनेछन् । यस कार्यक्रमको मुख्य आकर्षण आईएफ डिजाइन अवार्ड विजेता ‘दिपल एस०५’ हुनेछ, जुन नाडा अटो शोमा शो स्टपरको रूपमा परिचित भएको थियो । यो मोडेलमा रिमोट इन एन्ड आउट पार्किङ, क्विन कोपाइलट सि, र ५ हजारभन्दा बढी चार्ज साइकलसहितको गोल्डेन शिल्ड ब्याट्री जस्ता अत्याधुनिक प्रविधिहरू समावेश छन् । नेपालमा सार्वजनिक भएको दुई महिनामै एस०५ देशकै चर्चित ईभी मोडेल बन्न सफल भएको छ । कार्यक्रममा दिपल एस०७ आईसीएस, दिपल ई०७, दिपल एल०७, र अल्ट्रा–प्रिमियम इन्टेलिजेन्ट एसयुभी अवतार ११ पनि प्रदर्शनमा राखिनेछन् । यसै अवसरमा सहभागीहरूले मानवाकृत रोबोट र कुकुर रोबोटसँग अन्तरक्रिया गर्ने अनौठो अनुभव पनि लिन सक्नेछन्, जुन मधेश प्रदेशमा पहिलोपटक हुन लागेको हो । कम्पनीका अनुसार चारदिनसम्म चल्ने यो कार्यक्रममा सहभागीहरूले सर्वोत्तम एक्सचेन्ज भ्यालु र बोनस, नगद छुट, नि:शुल्क रोड ट्याक्स र इन्स्योरेन्स, निशुल्क वाल र ट्राभल चार्जर, साथै निशुल्क एसेसोरिजको सुविधा पनि पाउने छन् । एमएडब्लु वृद्धिले यो अवसरलाई वीरगञ्ज, जनकपुर, हेटौंडा र आसपासका ग्राहकका लागि फ्युचरिस्टिक तथा टेक्नोलोजिकली एड्भान्स्ड ईभीमा अपग्रेड हुने उत्कृष्ट मौकाका रूपमा प्रस्तुत गरेको छ ।
भुम्लु गाउँपालिकामा ५० वर्षपछि लालपुर्जा वितरण, ५३१ ले पाए जग्गाधनीपुर्जा
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको (जग्गाधनी पुर्जा) लालपुर्जाको समस्या समाधान हुँदै गएको छ । उनीहरूले ५० वर्षपछि लालपुर्जा पाएका हुन् । हालसम्म पाँच सय ३१ प्रिवारले पुर्जा पाएको जिल्ला नापी कार्यालयले जनाएको छ । लालपुर्जाविहीन भुम्लुवासीलाई जिल्लास्थित नापी कार्यालय तथा मालपोत कार्यालयको पहलमा प्रक्रिया पुर्याएर औपचारिक रूपमा गत भदौदेखि वितरण गर्न थालिएको हो । उनीहरूलाई गत भदौ ३ गते तत्कालीन भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले लालपुर्जा बितरणको सुरुआत गरेका थिए । विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा विविध कारण लालपुर्जाको पर्खाइमा थिए । प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका–७ र ८ का चार सय ३१ जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको थियो । कार्यालयका अनुसार त्यतिबेला वडा नं ७ का एक सय ८५ र वडा नं ८ मा दुई सय ४६ गरी चार सय ३१ जग्गाधनीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो । त्यसयता एक सय लालपुर्जा तयार भई वितरण भइरहेको नापी कार्यालयका प्रमुख अशोककुमार भुसालले बताए । उनका अनुसार ‘फिल्ड’ कार्यालयमार्फत प्रमाण पुर्याएर लालपुर्जा बितरण भइरहेको हो । आवश्यकतानुसार तीनदेखि छ जना कर्मचारीले ‘फिल्ड’मा काम गरिरहेको भुसालको भनाइ छ । समस्या समाधनका लागि जिल्लस्थित नापी कार्यालयले २०७१ साल जेठ २५ गतेदेखि स्थानीय तहमा नापी टोली खटाई काम गरिरहेको थियो । काभ्रेपलाञ्चोकका तत्कालीन सांसद एवं मन्त्री गोकुल बाँस्कोटाले २०७६ साल मङ्सिर २० गते भुम्लु गाउँपालिकामा फिल्ड कार्यालयको उद्घाटन गरेका थिए । कार्यालयले नापी टोली खटाएको ११ वर्षपछि भने स्थानीय जग्गाधनीले आफ्नो जग्गाको लालपुर्जा पाएका हुन् । कार्यालयका अनुसार वडा नं ७ मा तीन सय र ८ मा छ सय लालपुर्जा बनाउनुपर्ने देखिएको छ । घटनाक्रमअनुसार साविकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आइएको ‘टार’ भन्ने खेतीयोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि त्यो खेतीयोग्य जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा २०३२ सालमा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएपछि स्थानीयले लालपुर्जा पाउन सकेका थिएनन् । विसं २०३५ मा नापी टोली पुनः उक्त गाविसमा नापीका लागि जाँदा जग्गाको विषयमा विवाद चर्किएपछि नापी टोली काम नगरी फर्किएको थियो । कार्यालयले लालपुर्जा विरतण गरेपछि जग्गासम्बन्धी सबै श्रेस्ता मालपोत कार्यालय, नक्सा, फिल्ड बुकहरू नापी कार्यालयमा ल्याई जग्गा प्रशासनको नयाँ काम सुरु हुने जनाएको छ । केही जग्गाधनीले आफ्नो जग्गाको ‘लगत–भिड्ने’ आवश्यक कागजात नल्याउँदा भने काम गर्न केही समस्या भइरहेको भुसालले बताए । यस्तै तत्कालीन समयमा उक्त स्थानमा बसेका नागरिक बसाइँसराइ एवं केहीले तिरो तिरेको आधारमा जग्गा बिक्री गरेकाले थप समस्या देखिएको जनाइएको छ । उक्त स्थानमा लालपुर्जाको समस्या वर्षौँसम्म समाधान नभएपछि पटकपटक समस्या समाधान अध्ययन समितिसमेत गठन गरिएको थियो भने कयौँपटक सरकारीस्तरबाट ‘फिल्ड भिजिट र अनुगमन–निरीक्षण’ गर्दा पनि यसअघि कुनै निकास निस्कएको थिएन । गाउँपालिकामा आएका निवदेन छानबिन गर्दा प्रारम्भिक चरणमा करिब एक हजार परिवार समस्यामा रहेको देखिएको कार्यालयले जनाएको छ । रासस
सेयरधनीले खरिद नगरेको ५ लाख कित्ता सेयर बेच्दै खानी खोला हाइड्रोपावर
काठमाडौं । खानी खोला हाइड्रोपावरले ५ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले भदौ ३ गतेदेखि असोज ५ गते चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता सेयर बिक्री खुला गरेको थियो । उक्त अवधिमा बिक्री नभएको सर्वसाधारण सेयरधनी समूह तर्फको ४ लाख ५९ हजार ३४९ कित्ता सेयर कात्तिक १२ गतेदेखि कात्तिक १९ गतेसम्म बिक्री गर्न लागेको हो । कम्पनीको सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरको न्यूनतम् मूल्य १०० रुपैयाँ तोकिएको छ । यसमा न्यूनतम् १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंकको कुमारी पाटी, ठीमी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौंडा शाखाबाट आवेदन दिन सक्नेछन् ।
६ वाणिज्य बैंकको लाभांश घोषणा, कुनको कति ?
काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये हालसम्म आधा दर्जन बैंकले मात्रै लाभांश घोषणा गरेका छन् । हालसम्म ६ वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । लाभांश घोषणा गर्नेमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँको ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गरेको छ । गत असोज १० गते पोखरामा सम्पन्न २७औँ वार्षिक साधारणले उक्त लाभांश पारित गरिसकेको छ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लाभांश पारित गर्न बैंकले कात्तिक १२ गते बिहान ११ बजे ३१औँ वार्षिक साधारण सभा बोलाएको हाे । सानिमा बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित ७.३६ प्रतिशतका दरले १ अर्ब ७ लाख ५४ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ। लाभांश प्रस्ताव पारित गर्न बैंकले कात्तिक २ गते बिहान १० बजे काठमाडौंमा २१औँ वार्षिक साधारण सभा बोलाएको छ । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँको ५ प्रतिशतका दरले ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँको ५ प्रतिशतका दरले ७० करोड ४४ लाख ९९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशतका दरले ७७ करोड ९१ लाख ७५ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत अर्थात् १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको करसहित ८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।
सानिमा बैंकको ५ करोडको सेयर बिक्रीमा, कम्तिमा ५० हजार कित्ताका लागि आवेदन दिनुपर्ने
काठमाडौं । सानिमा बैंकको ५ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ३ लाख ३९ हजार ४८४ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार उक्त सेयरको मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा बैंकको ४ करोड ९२ लाख २५ हजार रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको हो । बैंकले गत जेठ १४ गते उक्त सेयर खरिद गर्नका लागि ३५ दिनको समय दिएको थिएन । तर, उक्त समयमा कोही पनि संस्थापक सेयरधनीले आवेदन नदिएपछि सर्वसाधारण लगानीकर्ताहरुका लागि सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ । खरिद गर्न इच्छुक लगानीकर्ताहरुलाई १५ दिनभित्र आवेदन दिन भनिएको छ । सेयर खरिदका लागि न्यूनतम ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।