गुण्डुमा सुरु भयो एमाले सचिवालय बैठक
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी ओलीको भाडाको निवासमा सुरु भएको छ । शुक्रबार (आज) बिहान ११ बजेका लागी आह्वान गरिएको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको हो । बैठकमा असोज २९ देखि ३१ सम्म हुने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डामा केन्द्रित हुने एक सचिवालय सदस्यले जानकारी दिए । पछिल्लो राजनीतिक घटनाक्रम त्यसले उत्पन्न गरेको नयाँ परिस्थितिका बारेमा आजको बैठकमा व्यापक छलफल हुने सदस्यले बताए । उनका अनुसार विशेषतः आगामी महाधिवेशन र नेतृत्वको पुनर्गठनको विषय आजको बैठकका मुख्य एजेण्डा हुन् ।
अनलाइन सञ्चारमाध्यम दर्ताको जिम्मेवारी सूचना तथा प्रसारण विभागलाई
काठमाडौं । नेपाल सरकारले अनलाइन सञ्चारमाध्यम दर्ता प्रक्रियालाई व्यवस्थित बनाउन सूचना तथा प्रसारण विभागलाई स्थानीय अधिकारीका रूपमा तोकेको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल सरकारले छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८ को दफा २ को खण्ड (त) ले दिएको अधिकार प्रयोग गर्दै उक्त व्यवस्था गरेको हो । मन्त्रालयका सचिव राधिका अर्यालद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपाल सरकारले अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रसारण विभागका महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोकेकोले यो सूचना प्रकाशन गरिएको छ ।’ १४ साउन २०८१ मा राजपत्रमा प्रकाशित केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०८२ ले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐनमा केही प्रावधान थपेको थियो । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयमा सीमित गरेकाले उक्त व्यवस्था हटाइएको हो । उक्त व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदनसमेत परेको थियो ।
बारा र पर्सामा हैजाविरुद्ध खोप कार्यक्रम सञ्चालन हुँदै
काठमाडौं । सरकारले बारा र पर्सामा हैजाविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि नेपालले १० लाख १८ हजार एक सय डोज खोज प्राप्त गरिसकेको छ । अन्तर्राष्ट्रिय समन्य समूह (आइसीजी)ले मुखबाट खुवाउने हैजा विरुद्धको खोप ओरल कोलेरा भ्याक्सिन (ओसिभी) उपलब्ध गराएको छ । भ्याक्सिन प्राप्त भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तह र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिलाई खोप दिन लागेको जनाएको छ । खोप कार्यक्रम पर्सामा भदौ २६ गते र बारमा २९ गतेदेखि सुरु गर्ने तयारी छ । पर्साको वीरगञ्ज महानगरपालिकामा गत भदौ ६ गते हैजा फैलिएको थियो । पर्सा र बारा जिल्ला गरी १ हजार ६ सय ८५ बिरामी फेला परेका थिए । यसअघि यस्तै खोप काठमाडौं उपत्यका र कपिलवस्तुमा दिइएको थियो ।
एकै दिन ४ हजार २ सय रुपैयाँ घट्यो सुनको मूल्य
काठमाडौं । एकै दिन सुनको मूल्यमा ४ हजार २ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँ घटेर २ लाख ३५ हजार रुपैयाँमा झरेको हो । यसअघि बिक्री सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि सुनको मूल्य घटेको सुनचाँदी व्यवसायीहरू बताउँछन् । यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेकाे छ । महासंघका अनुसार प्रतितोला ६० रुपैयाँ बढेर ३ हजार ८५ रुपैयाँ पुगेको छ । यसअघि बिहीबार चाँदी प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।
६ महिनापछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुँदै, एयर एसियाले २६ अक्टोबरदेखि उडान भर्ने
काठमाडौं । ६ महिनासम्म अन्तर्राष्ट्रिय उडान ठप्प रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ । थाईल्यान्डको थाई एयर एसियाले आगामी अक्टोबर २६ बाट उडान सञ्चालन गर्ने पक्का भएको छ । नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार थाई एयर एसियाले हप्तामा दुईपटक उडान भर्ने अनुमति माग गरेको छ । उनले भने, ‘थाई एयर एसियाले २६ अक्टोबरदेखि नियमित रूपमा हप्तामा दुई उडान गर्ने गरी अनुमति माग गरेको छ । त्यस्तै, जजिरा पनि उडानको तयारीमा छ ।’ भुलका अनुसार विमानस्थलमा स्लटको तयारी भइरहेको छ । तयारी पुरा हुनासाथ उडान अनुमति दिएर भैरहवामा उडान हुने छ । कुवेती विमान कम्पनी जजिरा एयरवेजले पनि तिहारपछि उडान सुरु गर्ने तयारी गरिरहेको उनले जानकारी दिए। ‘जजिरा एयरवेजका र विमानस्थल व्यवस्थापनबीच समन्वय भइरहेको छ,’उनले भने। यसअघि गत अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतकै कारण वैकल्पिक रूपमा भैरहवाबाट चारवटा अन्तराष्ट्रिय विमान कम्पनीले उडान गरेका थिए । त्यो अवधिमा सातामा २० वटासम्म उडान भैरहवाबाट भएका थिए । भैरहवा विमानस्थलवाट नियमित उडानको तयारी भइरहेको खबरसँगै भैरहवाका व्यापारीहरूमा पनि उत्साह छाएको छ । लामो समयदेखि विमानस्थल सञ्चालनको माग गर्दै विभिन्न अभियान सन्चालन गर्दै आएका स्थानीय व्यापारी नारायणप्रसाद भण्डारी भन्छन्,‘भैरहवाको विमानस्थल रुपन्देहीको विकासको मेरुदण्ड हो । यसको सञ्चालनले यो क्षेत्रमा छुट्टै उत्साह सिर्जना गर्नेछ ।’ गत अप्रिलदेखि बन्द रहेको नियमित अन्तर्राष्ट्रिय उडानको पाँच महिनाको अवधिमा २ सयभन्दा बढी उडानमार्फत करिब ७ हजार यात्रुले सेवा लिएका थिए । त्यसयता केवल केही चार्टर उडान मात्र भएको थियो । २०७९ साल जेठ २ गते, २५६६औं बुद्ध जयन्तीको अवसर पारेर उद्घाटन गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो चरणमा नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा एयरवेज, थाई एयर एसिया र हिमालय एयरलाइन्सले नियमित उडान गरेका थिए ।
जेनजी आन्दोलनका सहिद सन्तानका लागि काठमाडौं युरो स्कुलको पूर्ण छात्रवृत्ति घोषणा
काठमाडौं । गोंगबु–बनियाटारस्थित काठमाडौं युरो आईबी वर्ल्ड स्कूलले परिवर्तनका लागि ज्यान आहुति दिएका जेनजी आन्दोलनका सहिद परिवारका बालबालिकालाई पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने घोषणा गरेको छ । विद्यालयले जेनजी आन्दोलनमा सहादत प्राप्त वीर सहिदहरूको सम्मानमा उनीहरूका सन्तानमध्ये एक जनालाई पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर दिने निर्णय गरेको हो । विद्यालयका अध्यक्ष प्रमोद पाण्डेका अनुसार विद्यालयको सामाजिक उत्तरदायित्व र सहिदहरूको बलिदानप्रतिको सम्मानस्वरूप यस्तो घोषणा गरिएको हो । ‘शिक्षा नै सशक्तिकरणको माध्यम हो । लोकतन्त्रका लागि ज्यान आहुति दिने सहिदहरूको सपना साकार पार्ने हाम्रो सानो प्रयास हो,’ अध्यक्ष पाण्डेले भने । विद्यालयले सहिद परिवारका अभिभावक वा नातेदारहरूलाई आवश्यक प्रमाणसहित विद्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। काठमाडौं युरो आईबी वर्ल्ड स्कूलले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यालयले सहिद सन्तानका लागि सुरु गरिएको यो छात्रवृत्ति कार्यक्रम अन्य शैक्षिक संस्थाका लागि पनि प्रेरणादायी उदाहरण बन्ने विश्वास व्यक्त गरेको छ ।
मन्सा मुसा : विश्व इतिहासका सबैभन्दा धनी राजा जसको सम्पत्ति आज पनि एलन मस्कभन्दा धेरै
काठमाडौं । डिजिटल युगमा जब हामी ‘सबैभन्दा धनी’ भन्ने विषयमा सोच्दछौं तब धेरैको मनमा पहिलो नाम आउँछ– एलन मस्क । तर करिब १४औं शताब्दीमा पश्चिम अफ्रिकामा शासन गरेका माली साम्राज्यका राजा मन्सा मुसा (Mansa Musa I) को तुलनामा यी आधुनिक उद्योगपतिको सम्पत्ति धेरै कम देखिन्छ । मन्सा मुसालाई विश्वकै इतिहासकै सबैभन्दा धनी व्यक्ति मानिन्छ। मन्सा मुसा करिब १२८०–१३३७ ईस्वीमा माली साम्राज्यका राजा थिए । उनी आफ्नो साम्राज्यका सुन, खनिज स्रोत, व्यापार, भूमि र कर बाट अकल्पनीय धनको मालिक बने । आजको मूल्यमा उनको सम्पत्ति करिब ४–५ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यो आधुनिक समयका धनी उद्योगपति मस्क वा बेजोसको सम्पत्तिभन्दा धेरै गुणा बढी हो । उनको प्रसिद्धि विशेषगरी १३२४–१३२५ ईस्वीको हजयात्राबाट फैलियो । मन्सा मुसा मक्कामा हज गर्न गएका थिए र उनका हजारौं अनुयायी, सैनिक र सेवकहरू उनीसँगै थिए । उनले यात्रा गर्दा हजारौं किलो सुन वितरण गरे, जसले गर्दा अरब र इजिप्ट क्षेत्रको अर्थव्यवस्था केही समयका लागि अस्थिर भएको थियो । यो यात्रा केवल धार्मिक उद्देश्यको मात्र नभई माली साम्राज्यको शक्ति, सम्पत्ति र सांस्कृतिक सम्पदा प्रदर्शन गर्ने अवसर पनि बनेको थियो । मन्सा मुसा केवल धनाढ्य मात्र थिएनन्स उनी विद्या, कला र संस्कृति संरक्षणकर्ता पनि थिए । उनले टिम्बक्टु, जिने, कणो जस्ता शहरहरूलाई शिक्षा र सांस्कृतिक केन्द्रमा परिणत गरे । टिम्बक्टुमा उनले पुस्तकालय, इस्लामिक विद्यालय (मद्रासा) र विश्वविद्यालय स्थापना गरे, जसले पछि शताब्दीभर विद्वान र विद्यार्थीलाई आकर्षित गर्यो । उनी आफैले विद्वानलाई आमन्त्रित गर्थे र किताब किन्थे, जसले ज्ञानको संरक्षणमा ठूलो योगदान पुर्यायो । वास्तुकलामा पनि मन्सा मुसा अग्रणी थिए । उनले अफ्रिकामा इस्लामिक शैलीमा मस्जिद र सार्वजनिक भवनहरू बनाउन प्रोत्साहन गरेका थिए । टिम्बक्टुको प्रसिद्ध साँगोर मस्जिद उनकै शासनकालमा बनेको हो । मन्सा मुसाको सन्तानको बारेमा ऐतिहासिक रूपमा स्पष्ट जानकारी छैन । सिंहासनको उत्तराधिकारी परिवार वा अन्य सम्बन्धीबाट आएको मानिन्छ । तर उनका योगदानहरूले माली साम्राज्यलाई विश्वकै आर्थिक, धार्मिक र सांस्कृतिक शक्ति बनाएको थियो । मन्सा मुसाको जीवन र शासनकालले प्रमाणित गर्छ कि वास्तविक शक्ति केवल धनमा होइन, विद्या, संस्कृति र धर्मको संरक्षणमा पनि छ । उनी केवल धनी राजा नभई, इतिहासका उत्कृष्ट शासक र सांस्कृतिक संरक्षकका रूपमा आज पनि सम्झिन्छन् ।