नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्ग खुल्यो, होल्डिङमा रहेका सवारी गन्तव्य तर्फ जाँदै
काठमाडौं । नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुन सक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ सेन्टर) मा रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्य तर्फ जान थालेका हुन् ।
आज आश्विन शुक्ल पूर्णिमा: महालक्ष्मीको पूजा गरि रातभर जाग्राम बसेर बडादसैँ समापन गरिँदै
काठमाडौं । बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि आजै गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुने शास्त्रीय विधान छ । अखिल बलिपूर्ति गरेपछि आजै साँझ जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ-आफ्नो गच्छेअनुसार मनाउँछन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकाल बताउँछन् । माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मी पूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको उनले बताए । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ । कार्तिक स्नान गरी तुलसीको विशेष रुपमा गरिने पूजा आराधना पनि असोज २१ गते मङ्गलबारदेखि सुरु हुने जनाइएको छ । आकाशदीपदान पनि मङ्गलबार साँझदेखि नै सुरु गरिँदै छ ।
कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । यसैगरी कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू-भागका स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाका कारण रौतहटको महेशपुर डुबानमा
काठमाडौं । भारी वर्षाका कारण रौतहटको महेशपुर गाउँ डुबानमा परेको छ । वर्षाका कारण गाउँ जलमग्न छ । रौतहटको राजपुर नगरपालिका-२ मा रहेको महेशपुर गाउँका करिब ५० वटा घरमा पानी परेको वडाध्यक्ष सोनालाल पण्डित कुम्हरले जानकारी दिए । भारी वर्षाका कारण वडाका तीन सयभन्दा बढी घरमा क्षति पुगेको उनको भनाइ छ । पानीले धानबालीमा पनि क्षति पुगेको उनले बताए । विभागका अनुसार सदरमुकाम गौरमा पनि ३१५ मिलिमिटर वर्षा भएको छ । सदरमुकाम पनि डुबानमा परेको छ । रौतहटकै गरुडा केन्द्रमा पनि ३०४ मिलिलिटर वर्षा भएको उनको भनाइ छ । उनका अनुसार गरुडाको गेडहीगुठीलगायतका गाउँ बाढीले जलमग्न छन् । अविरल पानी परेसँगै बागमती, लालबकैया, झाझसहितका नदीमा आएको बाढीका कारण आसपासका अधिकांश भूभाग डुबानमा परेका छन् । झाझ नदीमा आएको बाढीका कारण गौर गङ्गापिपरा सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । बाढीबाट दुर्गा भगवती गाउँपालिकाको पाँच वटै वडाका २५ प्रतिशत घरमा क्षति पुगेको उक्त गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले बताए । दुर्गा गाउँपालिकामा पनि बाढीका कारण क्षति पुगेको उनको भनाइ छ । राजपुर नगरपालिका-३ स्थित हुलाकी राजमार्गमा लालबकैया नदीमा आएको बाढीका कारण उक्त क्षेत्रमा पर्ने सडकमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । गुजरा नगररपालिका-८ स्थित लमहा खोलामा पानीको सतह बढ्दा बालचनपुर जङ्गलसैया भित्री सडक बन्द रहेको नगर प्रमुख शन्तलाल चौधरीले बताए । वडा नं ९ अमतवास्थित प्रतीक टोलमा अविरल वर्षाका कारण १० वटा घरमा पानी पसेको छ । वृन्दावन नगरपालिका-१ स्थित बागमती नदीको बगरमा बसोबास गर्दै आएका १२८ परिवारलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
बाढीपहिरोका कारण पाँचथरमा २ जनाको मृत्यु, ३ घाइते
काठमाडौं । बाढीपहिरोका कारण पाँचथरमा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार तुम्बेवा गाउँपालिका-४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्माको पहिरोमा परेर मृत्यु भएको छ । शेर्माको घरमा पहिरो झर्दा पुरिएर मृत्यु भएको हो । फाल्गुनन्द गाउँपालिका-३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा सोही स्थानका थलीबहादुर नेम्बाङका छोरा १७ वर्षीय मिसेक नेम्बाङको मृत्यु भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका-३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की घरमाथिबाट झरेको पहिरोले लागेर घाइते भएका छन् । फाल्गुनन्द गाउँपालिका-१ आलुवारीकी ७२ वर्षीया सुकमाया आङदेम्बे पहिरोले भत्काएको घरको भित्तोले लागेर घाइते भएका छन् भने फाल्गुनन्द-५ जौबारीका धनबहादुर चेम्जोङ पहिरोमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए । वर्षाका कारण अधिकांश सडकहरु क्षतिग्रस्त हुँदा घाइतेहरु सुविधासम्पन्न अस्पताल जान पाएका छैनन । सरकारी निकायहरुले अवरुद्ध मेची राजमार्ग, तमोर कोरिडोर, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, फिदिम-फालोट लगायत सडक सञ्चालन गर्न मर्मत तथा सफाइका काम थालेका छन् ।
जोखिम नरहेका जिल्लामा सेवा सुचारु गर्न पत्राचार
काठमाडौं । गृह मन्त्रालयले विपदको जोखिम नरहेका जिल्लामा सरकारी सेवा सुचारु गर्न पत्राचार गरेको छ । गृहले पत्राचार गर्दै जोखिम नरहेका जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक सेवा सञ्चालन गर्न भनेको हो । मन्त्रालयले आइतबार ७७ वटै जिल्लामा पत्राचार गर्दै सेवा सुचारु गर्न निर्देशन दिएको हो । विपदको जोखि तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूको हकमा सार्वजनिक सेवा सञ्चालन गर्न मन्त्रालयले पत्राचार गरेकाे हाे । यसअघि सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको थियो ।
वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार भैरहवा उडान गर्ने
काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार काठमाडौं-भैरहवा-काठमाडौं उडान गर्ने भएको छ। दशैंका बेला राजमार्ग अवरुद्ध भएपछि सरकारले भैरहवामा निगमलाई अन्तर्राष्ट्रिय उडान गर्ने जहाजबाट उद्दार उडान गर्न निर्देशन दिएको हो । निगमको न्यारोबडीले सोमबार दिउँसो १ बजे काठमाडौं विमानस्थलबाट भैरहवाका लागि उडान गर्ने तालिका छ। साथै, भैरहवाबाट दिउँसो २ः४५ मा काठमाडौंका लागि उडान हुने जनाएको छ।
कोसी ब्यारेजमा रातो झण्डा समेत फहराइयो, ५६ वटै ढोका खोलिए
सप्तकोसी नदीमा पानीको बहाव पाँच लाख ३३ हजार क्युसेक काठमाडौं । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान ११ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर ५ लाख १० हजार ९६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा पछिल्लो मापनअनुसार ५ लाख ३३ हजार ५४० क्युसेक प्रतिसकेण्ड बहाव रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ वटै ढोका खोलिएको उनले बताए । पानीको बहाव उच्च भएपछि खतराको सङ्केत स्वरूप रातो बत्ति बाली रातो झण्डा समेत फहराइएको छ । यसैगरी कोसी ब्यारेज वरिपरी सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ । यसैबीच आज प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा सुरक्षाकर्मीसहित नेपाली टोली र भारतको बिहार सरकार जल संसाधन विभागको टोलीले कोसी ब्यारेजको निरीक्षण गरेको छ ।