सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज पुस २० गते अन्तिम दिन रहेको छ । पुस १६ गतेदेखि बिक्री खुला गरेको बैंकको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत अर्थात् १७ करोड २३ लाख ८८ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १७ लाख २३ हजार ८८० कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशत अर्थात् ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ । यस्तै, जारी पुँजीको ०.५० प्रतिशत अर्थात् २६ हजार ११९ कित्ता बैंकका कर्मचारीलाई सुरक्षित राखि बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । बैंकको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरुले सीआस्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
१६१ किलोमिटर लामो बुटवल–लमही प्रसारण लाइन बनाउँदै प्राधिकरण, पूर्वको बिजुली पश्चिममा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही ४ सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुल १६१ किलोमिटर लामो सो प्रसारण लाइन पूर्वी नेपालको बिजुली पश्चिममा प्रवाह गर्न र गण्डकी करिडोरमा निर्माण भएका विद्युत् आयोजनाको बिजुली प्रवाहका लागि सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो । लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा प्राधिकरणले सो आयोजना कार्यान्वयन गर्न लागेको हो । प्रसारण लाइनको प्रभावित क्षेत्रमा वातावरणीय अध्ययन (प्रारम्भिक वातावरणीय परीक्षण) प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दै आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरिएको छ । कुल ४ सय केभी क्षमताको सो प्रसारण लाइनको ४६ मिटर क्षेत्राधिकार तोकिएको छ । प्रसारण लाइनको केन्द्रबाट २३ मिटर दायाँ र २३ मिटर बायाँ रहने गरी क्षेत्राधिकार तोकिएको छ । सो प्रसारण लाइनमा कुल ४०५ वटा टावर रहने छन् । यस्तै, दाङको लमही नगरपालिका वडा नं ९ स्थित रिहारमा ४००/२२०/१३२/३३/११ केभी क्षमताको सबस्टेसन निर्माण हुनेछ । प्राधिकरणले वातावरणीय अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा सो क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक, आर्थिक प्रणालीमा के-कस्तो प्रभाव पर्दछ पनि एकिन गर्न लागिएको सूचनामा उल्लेख छ । त्यस क्षेत्रका आयोजनाका कारण पर्न जाने प्रभावका बारेमा आवश्यक जानकारी, सुझाव एवं सल्लाह दिन प्राधिकरणले आग्रह गरेको छ । वातावरणीय प्रस्तावका सम्बन्धमा आवश्यक राय, सुझाव र सल्लाह प्राधिकरणको केन्द्रीय कार्यालय र परामर्शदाता एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड ललितपुरमा उपलब्ध गराउन भनिएको छ ।
झापा इनर्जीले ५ महिनामा बेच्यो पौने ५ करोडको बिजुली, प्रतियुनिट ७.३० रुपैयाँ
काठमाडौं । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले ५ महिनामा ४ करोड ७० लाख ९३ हजार ४९७ रुपैयाँको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा कम्पनीले ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको हो । शिवसताक्षी नगरपालिका वडा नं ४ बुलुचोकमा झापा इनर्जीको १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालनमा छ । झापा इनर्जीले उत्पादन गरेको विद्युत् नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले खरिद गर्दछ । इनर्जीले २०८० साल माघ १० गतेदेखि विद्युत्को व्यावसायिक उत्पादन गर्दै आएको छभने त्यसअघि २०७८ साल मङ्सिर १२ गते प्राधिकरणले इनर्जीसँग विद्युत् खरिद बिक्रीको सम्झौता (पीपीए) गरेको थियो । बुलुचोकमा २२ बिघा जग्गा खरिद गरेर इनर्जीले परियोजना निर्माण गरेको छ । परियोजनास्थलमा २१ हजार ६०० वटा सौर्य प्यानल जडान गरिएका छन् । परियोजनाबाट उत्पादित सौर्य विद्युत्लाई एक किलोमिटरको दूरीभित्रै रहेको नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेशनमा पुर्याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । झापा इनर्जीले आव २०८०/८१ मा ५ करोड २८ लाख ८४ हजार ७७७ रुपैयाँको सौर्य विद्युत् उत्पादन गरी प्राधिकरणलाई बिक्री गरेको थियो । आव २०८१/८२ मा बिक्री बढेर ९ करोड १० लाख ५९ हजार ४७५ रुपैयाँ पुगेको अध्यक्ष लिम्बूले बताए ।
बेलहियाबाट भित्रिए १ लाख ३ हजार पर्यटक, कोरोनाछि क्रमशः सङ्ख्या बढ्दै
काठमाडौं । स्थल मार्ग हुँदै बेलहिया नाकाबाट आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या बढेको छ । एक वर्षको अवधिमा एक लाखभन्दा बढी तेस्रो मुलुकका पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय बेलहिया, रुपन्देहीका अनुसार सन् २०२५ मा १ लाख ३ हजार ९५५ जना पर्यटक यो नाका हुँदै नेपाल आएका हुन् । सोही अवधिमा १ लाख २ हजार ४५५ जना बेलहिया नाका हुँदै गन्तव्यतर्फ प्रस्थान गरेका छन् । सन् २०२४ मा यो नाका हुँदै ९२ हजार ६४४ पर्यटक भित्रिएका थिए भने ९३ हजार २९० जना पर्यटक यहाँबाट गन्तव्यतर्फ प्रस्थान गरेका थिए । कार्यालय प्रमुख वासुराम पौडेलले २०२५ मा पर्यटकको आगमन सोचेअनरुप हुन नसके पनि विगतका वर्षभन्दा सङ्ख्या भने बढेको बताए । ‘सन् २०२५ मा करिब एक लाख २० हजार पर्यटकको आगमन हुने आकलन गरेका थियौँ । जेनजी आन्दोलनका कारणले त्यति आगमन हुन सकेन, तर कोरोनाकालपछि क्रमशः पर्यटकको सङ्ख्या बढ्दै गएको छ,’ पौडेलले भने । गत वर्षभन्दा १० हजार बढीले पर्यटकको आगमनको सङ्ख्या बढेको उनले बताए । सन् २०२५ मा यस नाकाबाट सबैभन्दा बढी श्रीलङ्काका ३४ हजार ३६६ पर्यटक नेपाल आएका छन् । त्यसपछि म्यानमारका १९ हजार ९६२, थाइल्याण्डका १९ हजार १९५, भियतनामका ७ हजार ६४५, दक्षिण कोरियाका ३ हजार ८२ र संयुक्त राज्य अमेरिकाका २ हजार १४९ जना छन् । उक्त अवधिमा सबैभन्दा बढी मार्च महिनामा २० हजार ७२० पर्यटक नेपाल आएका छन् । यस्तै, फ्रेअुबरीमा १७ हजार ८७१, नोभेम्बरमा १६ हजार ३०५, अक्टोबरमा ११ हजार ६९७ र डिसेम्बरमा १० हजार ७२० पर्यटक नेपाल भित्रिएको तथ्याङ्क छ । यो नाका हुँदै सन् २०१८ मा १ लाख ६६ हजार २३५, सन् २०१९ मा १ लाख ६१ हजार ६९१, सन् २०२० मा ४३ हजार ३६७, सन् २०२१ मा ८१२, सन् २०२२ मा २० हजार २२० र सन् २०२३ मा ८१ हजार ८०५ पर्यटक नेपाल आएका छन् । यो नेपालमा स्थल मार्गबाट देशमै धेरै पर्यटक भित्रिने नाकाका रूपमा रहेको छ ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो श्रीमतीसहित पक्राउ : राष्ट्रपति ट्रम्प
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाको बिरूद्ध ठूलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरी देश निकाला गरिएको बताएका छन् । संयुक्त राज्य अमेरिकाले भेनेजुएला र राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक आक्रमण गरी पत्नीसहित पक्राउ गरी देश बाहिर निकालिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत जनाएका हुन् । मादुरोको पक्राउ ट्रम्पद्वारा पुष्टि गरिए अनुसार, संयुक्त राज्य अमेरिका र भेनेजुएला बिच तीव्र तनावको बीचमा आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपतिलाई बारम्बार 'नार्को–आतंकवादी' सरकारको अध्यक्षता गरेको आरोप लगाएको जनाइएको छ । अमेरिकाले भेनेजुएलाको तेल ओसारपसारमा संलग्न रहेको दाबी गर्ने जहाजहरूमा पनि प्रतिबन्ध लगाएको थियो । सोही समयमा, अमेरिकी सेनाले लागुऔषध तस्करीमा संलग्न भएको आरोप लगाउँदै यस क्षेत्रमा भेनेजुएलाका डुङ्गाहरू विरुद्ध कारबाही बढाएको छ । भेनेजुएलाले अमेरिकाविरुद्ध काम गरेको आरोप लगाउँदै ट्रम्पले मादुरोलाई पदबाट हट्न आह्वान गरेको जनाइएको छ । यसैबीच, भेनेजुएला सरकारले शनिबार विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्र संघको बडापत्र उल्लङ्घन गरेको र क्षेत्रीय शान्ति र स्थिरतालाई खतरा पुर्याएको आरोप लगाउँदै भेनेजुएलाको भूभागविरुद्ध अमेरिकाले गरेको “सैन्य आक्रमणको निन्दा गरेको छ । आधिकारिक विज्ञप्तिमा, अमेरिकाले काराकास र मिरान्डा, अरागुआ र ला गुएराका नागरिक र सैन्य स्थानहरूमा आक्रमण गरी संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको उल्लेख गरिएको छ । भेनेजुएला सरकारले आक्रमणको उद्देश्य देशको रणनीतिक स्रोतहरू, विशेष गरी तेल र खनिजहरू कब्जा गर्नु र भेनेजुएलाको राजनीतिक स्वतन्त्रतालाई कमजोर पार्नु रहेको बताएको छ । विज्ञप्तिमा भेनेजुएलाका जनताले साइमन बोलिभर र अन्य राष्ट्रिय नेताहरूको विरासतलाई आह्वान गर्दै एक पटक फेरि आफ्नो स्वतन्त्रताको रक्षा गर्ने सबै सामाजिक र राजनीतिक शक्तिहरूलाई “साम्राज्यवादी आक्रमणको अस्वीकार गर्न आग्रह गरेको छ । बोलिभेरियन राष्ट्रिय सशस्त्र बलहरू सार्वभौमिकता र शान्तिको ग्यारेन्टी गर्न राष्ट्रव्यापी रूपमा तैनाथ गरिएको छ । जबकि कूटनीतिक च्यानलहरू संयुक्त राष्ट्र सुरक्षा परिषद, संयुक्त राष्ट्र महासचिव, समक्ष उजुरी गर्ने जनाइएको छ । राष्ट्रपति निकोलस मादुरोले संविधान र सान्दर्भिक राष्ट्रिय सुरक्षा कानुन अनुरूप राष्ट्रिय योजनाहरू कार्यान्वयन गर्न आदेश दिई भेनेजुएलामा सङ्कटकालको आदेशमा हस्ताक्षर गरेको जनाइएको छ । हाल राज्य र नगरपालिकाहरूमा व्यापक राष्ट्रिय रक्षा कमान्ड संरचनाहरू तैनाथ गरिएको बताएको छ । संयुक्त राष्ट्रको बडापत्रको धारा ५१ लाई आह्वान गर्दै भेनेजुएला सरकारले आफ्ना जनता, क्षेत्र र स्वतन्त्रताको रक्षा गर्न आत्मरक्षा गर्ने अधिकार सुरक्षित राखेको र विश्वव्यापी सरकार र जनतालाई एकता व्यक्त गर्न आह्वान गरेको छ । भेनेजुएलाको राजधानी काराकासमा शनिबार ठूलो विस्फोट भएको रिपोर्टको बीचमा यो विज्ञप्ति जारी गरिएको थियो, जसले धेरै क्षेत्रमा बिजुली कटौती गरेको सिएनएनले जनाएको छ । घटनाक्रममा प्रतिक्रिया दिँदै कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले भेनेजुएलाविरुद्ध अमेरिकी कारबाहीबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद् बोलाउन आह्वान गरेका छन् । रासस
झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि ओलीलाई सर्वसम्मत सिफारिस
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ । शनिबार बिर्तामोडमा सम्पन्न क्षेत्रीय समन्वय कमिटीको बैठकले ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार उक्त क्षेत्रमा अन्य कुनै पनि उम्मेदवारको दाबेदारी नआएपछि अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा पार्टी केन्द्रमा पठाइएको हो । ओली यसअघि पनि झापा–५ बाट लगातार भारी मतान्तरसहित विजयी हुँदै आएका छन् । यसपटकको निर्वाचनमा पनि उनको पकड बलियो रहेको ठहर गर्दै क्षेत्रीय कमिटीले उत्साहपूर्वक उनको नाम सिफारिस गरेको पार्टीले जनाएको छ ।
जाडोमा हिटर तथा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह
काठमाडौं । जाडोयाम सुरु भइसकेको छ । तराईमा शीतलहरका कारण जीवनयापन कठिन बनिरहेको छ । जाडोयाममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, कोइला बाल्ने, हिटर बाल्ने र गिजरको प्रयोग गरिने हुँदा यस्ता उपकरणहरूको प्रयोगमा आवश्यक सावधानी अपनाउन चिकित्सकले अनुरोध गरेका छन् । यी उपकरणहरुको प्रयोगमा सावधानी नअपनाउँदा बर्सेनि मृत्यु र अस्पतालमा भर्ना हुने घटनाहरू घटिरहेका छन् । केही दिन अघि मात्र सुर्खेतमा कोइला बालेर सुतेको अवस्थामा एक ३८ दिनको शिशुको मृत्यु भएको छ भने परिवारका तीन जना बेहोससमेत भए । न्यानो बनाउने विभिन्न उपकरणहरूको प्रयोग गर्दा घरमा हावा सञ्चालन प्रणाली राम्रो नभएमा कोठामा ‘कार्बन मोनोअक्साइड’ जस्तो विषाक्त ग्यास जम्मा हुन सक्छ । यो ग्यास गन्ध, रङ्ग र स्वादरहित हुन्छ जसको सम्पर्कमा लामो समयसम्म रहँदा गम्भीर स्वास्थ्य समस्या हुने वा ज्यान जान सक्दछ । कन्सलटेन्ट जेनेरेल फिजिसियन डा. विवेकराज पौडेल भन्छन्, 'आगो, कोइला बल्न, ग्यास गिजर चलान अक्सिजन चाहिन्छ । त्यसले बलेर निक्लिने बाइप्रोडक्ट चाहिँ ‘कार्बोन डाइअक्साइड’ र कार्बोन मोनोअक्साइड’ हो । यी दुवै ग्यास बाहिर वातावरणमा मिसिन्थ्यो भने खासै फरक पर्थेन । बन्द कोठामा अक्सिजन सकिएर यी दुई ग्यास मात्र हुँदा हाम्रो शरीरले त्यो लिन बाध्य हुन्छ ।' उनका अनुसार यसका कारण मुटुको चालमा गडबड आउने, होसमा नहुने, सास फेर्न नसक्ने, रगतमा समस्या, एसिडको मात्रा बढ्ने जस्ता खालका अवस्थाहरु सिर्जना गर्न सक्छ । डा. पौडेल ती अवस्थामा फसेकालाई जति सक्दो छिटो उद्धार गरेर बाहिरी वातावरणमा राख्ने र अस्पतालमा ‘हाइ फ्लो’ अक्सिजनमा राख्नुपर्ने बताउँछन् । उनी भन्छन्, 'घटना थाहा पाइसकेपछि सकेसम्म छिटो उद्धार गर्नुपर्छ जसले गर्दा तत्कालीनका साथै दीर्घकालीन असरबाट बचाउन सकिन्छ । दीर्घकालीनमा कसैकोमा पहिलाको जस्तो चनाखोपन, मानसिक अवस्था छिटो छरितो नहुने र भुल्ने समस्या देखिन सक्ने हुन्छ ।' बर्सेनि यस्ता खालका दुर्घटना बढे पनि सर्वसाधारणहरु अझै यसबारे सचेत हुन नसकेको विज्ञ बताउँछन् । 'विभिन्न विद्युतीय उपकरणका साथै कोइला बाल्ने, आगो ताप्ने काम गर्नु छ भने बन्द कोठा राम्रो होइन । कोठा तथा बाथरुममा भेन्टिलेशन हुुनुपर्छ । सकेसम्म शरीर न्यानो राख्न न्यानो कपडा लगाउने, ओढ्ने चिजहरु प्रयोग गर्नुपर्छ । सुत्नुअघि कोइला निभाएर मात्र सुत्ने । यो मात्र नभइ हरेक सामानको प्रयोग गर्दा बन्द गरेर सुत्नु सबैभन्दा उत्तम उपाय हो', डा. पौडेल सुझाउँछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै जाडोमा आगो ताप्दा, हिटर चलाउँदा वा गिजरको प्रयोग गर्दा निम्न सावधानीहरु अपनाउन आग्रह गरेको छ : – हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने । – कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने । – आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराख्ने । – आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने । – हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने । – सुत्नुअघि अनिवार्य रूपमा हिटर बन्द गर्ने । – गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला ठाउँमा जडान गर्ने । – गिजर खोलेर लामो समयसम्म बाथरूममा नबस्ने । – गिजर प्रयोग गरेर नुहाउँदा सम्भव भएसम्म बाथरूमको झ्याल बन्द नगर्ने । रासस
इलाम–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सुहाङ नेम्वाङलाई सिफारिस
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ । शनिबार बसेको एमाले इलाम जिल्ला कमिटीको बैठकले नेम्वाङलाई सर्वसम्मत रूपमा एकल सिफारिस गर्ने निर्णय गरेको हो । नेम्वाङ नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । उनी यसअघि २०८० वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनका पिता तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त रहेको क्षेत्रमा एमालेले उनलाई उम्मेदवार बनाएको थियो। उपनिर्वाचनमा नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८३० मतले पराजित गर्दै २७ हजार ७७२ मतसहित विजयी भएका थिए ।