हुलाकी राजमार्ग निर्माणमा भारतीय एसएसबीको अवरोध
काठमाडौं । भारतीय अवरोधका कारण कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको कार्य अवरुद्ध भएको छ । बेलौरी नगरपालिका-८ पचुँइस्थित नेपाल-भारत सीमास्तम्भ नम्बर ३८ नजिक रहेको हुलाकी राजमार्ग सडक खण्डको करिब ७०० मिटर सडक आव २०७३/७४ मा ठेक्का भए पनि भारतीय अवरोधका कारण कार्य अगाडि बढ्न सकेको छैन । नगर प्रमुख पोतिलाल चौधरीका अनुसार भारतीय पक्षले इस्ट्रिप नक्साको आधार मान्दै सडक निर्माणको कार्यमा भारतीय सीमा सुरक्षा बल एसएसबीले निर्माणमा अवरोध पुर्याउँदै आएको छ । सीमा क्षेत्रभित्र पर्ने सडक भन्दै भारतीय पक्षले अवरोध गर्दै आएको उनले बताए । उनका अनुसार सडक खण्डको दक्षिणतर्फ ५० मिटरदेखि ३०० मिटरसम्म नेपाली जग्गाधनी पुर्जा भएको जमिन नेपालीले वर्षोंदेखि भोगचलन गर्दै आएका छन् । सडक निर्माणका लागि आवश्यक पहल गरिदिनका लागि प्रधानमन्त्रीलाई पत्रमार्फत अवगत गराइएको नगर प्रमुख चौधरीको भनाइ छ ।
सगरमाथा आरोहण र आधार शिविर जाने पर्यटक लक्षित रामेछाप-लुक्ला हवाई उडान सुरु
काठमाडौं । रामेछाप-लुक्ला हवाई उडान सुरु भएको छ । शरद ऋतुमा सगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकहरूका लागि लक्षित हवाई उडान सुरु गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विभिन्न कम्पनीहरूले काठमाडौंबाट सडक मार्ग हुँदै मन्थलीसम्म पर्यटक ल्याउने र यहाँबाट हवाई उडानमार्फत लुक्ला लैजाने गरेका छन् । विमानस्थलबाट सीता, तारा र समिट लगायतका कम्पनीले सेवा दिँदै आएका छन् । मौसम अनुकूल भएको समयमा दैनिक ५० देखि ६५ वटासम्म उडान भइरहेको नागरिक उड्डयन प्राधिकरण रामेछापका सूचना अधिकारी प्रज्ज्वल गुरागाईँले जानकारी दिए ।
अर्थतन्त्रमा गति बढाउँदै धरान कृषि बजार, बिचौलियाको अन्त्य गरेर ६ अर्बको कारोबार
संगीता राई काठमाडौं । सङ्खुवासभाका किसान मनोज राईलाई अझै सम्झना छ, त्यो बेलाको पीडा । गाउँमा मिहिनेत गरेर उत्पादन गरेका फलफूल पाकेर सड्थे, तरकारी खेर जान्थे । बजार नै थिएन । ‘हिजो हामी उत्पादन गरेर गोडेर फाल्नुपर्ने अवस्था थियो,’ उनी सुनाउँछन् । पाकेका फलफूल सडेर जान्थे, तरकारी हुन्थ्यो, बेच्न बजारसम्मको पहुँच थिएन । तर आज, मनोजका लागि त्यो अवस्था दिन छैन । २०५३ सालमा धरान उपमहानगरपालिका-१३ मा स्थापना भएको धरान कृषि उपज बजारले उनी जस्तै हजारौं पहाडी किसानको जीवनमा नयाँ आशा जगाएको छ । ‘अहिले धरानको कृषि बजारले हाम्रो पसिनालाई मूल्य दिएको छ,’ मनोज भन्छन्, ‘मेहनतको कदर भएको महसुस भएको छ ।’ पहिले गाउँमा उत्पादन भएर खेर गएका बालीहरू अब यही बजारमार्फत नेपालका विभिन्न शहरदेखि भारतका बजारसम्म पुग्न थालेका छन् । बजार पाउने बित्तिकै किसानमा आत्मविश्वास बढेको छ, लगानी बढेको र स्थानीय अर्थतन्त्रमा पनि कृषि व्यापारले गति लिएको व्यवसायीहरू बताउँछन् । सडक सञ्जाल विस्तारसँगै गाउँमा उत्पादन भएको फलफूल र तरकारी अहिले सिधै गाडीमा लोड गरेर धरान ल्याइन्छ । ‘पहिले सडक सञ्जाल नहुँदा यातायात सुविधा थिएन । अहिले गाउँगाउँमा सडक सुविधा पुगेको छ । अब बजारमा सिधै व्यापारीसँग सम्पर्क हुन्छ, मूल्य राम्रै पाइन्छ, पैसा ढिलो आउला भन्ने चिन्ता पनि हुँदैन,’ मनोज भन्छन् । पाँचथरका किसान विनोद मगरको पनि उस्तै अनुभव छ । ‘पहिला उत्पादन बेच्न पहाडबाट तराईसम्म ओर्लनै हम्मे थियो । लामो दूरी, सस्तो मूल्य र बिचौलियाको भरमा उत्पादन सस्तोमा बेचेको धेरै पटकको पीडा छ,’ उनले सुनाए, ‘तर, अब धरान कृषि बजारले सजिलो बनाइदिएको छ । बिचौलियाको झन्झट छैन, मूल्य पहिल्यै थाहा हुन्छ । अहिले गाउँका युवाहरू विदेश तिर होइन, खेतीतर्फ फर्किन थालेका छन् ।’ किसानको भर पर्दो केन्द्र धरान कृषि उपज बजार अहिले किसानका लागि भर पर्दो बजारको रूपमा स्थापित भएको छ । बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार यहाँ विशेषगरी भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, इलाम, धनकुटा, खोटाङ उदयपुरलगायत तराई जिल्लाबाट दैनिक सयौं क्विन्टल कृषि उत्पादन, तरकारी र फलफूल ल्याइन्छ । यसले किसानलाई सिधा पहुँच, उचित मूल्य र समयमै भुक्तानी सुनिश्चित गरेको अध्यक्ष भट्टराई बताउँछन् । बिचौलियाको झन्झट हटाएर किसान र व्यापारीबीच सिधा सम्पर्क हुने वातावरण तयार गरिएको छ । बजारमा स्थापित चिस्यान भण्डारण केन्द्र र विषादी परीक्षण प्रयोगशालाले गुणस्तरीय उत्पादन प्रवाहमा सहयोग पुर्याएको छ । शीत गृहः किसानलाई ठूलो राहत कृषि बजारमा निर्माण गरिएको शीत गृह किसानका लागि ठूलो राहत बनेको छ । बिक्री नभएर आफ्ना उत्पादन खेर फाल्न बाध्य किसानले अब भण्डारणका लागि शीत गृह प्रयोग गर्न सक्ने भएका छन् । कोशी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २०७६/७७ मा बाली विशेष भण्डार गृह निर्माण कार्यक्रम अन्तर्गत उपलब्ध गराएको ४९ लाख ८३ हजार ३०० रुपैयाँ र कृषि बजार व्यवस्थापन समितिको २६ लाख ९७ हजार ८४० रुपैयाँ गरी कुल ७६ लाख ८१ हजार १४० रुपैयाँ लागतमा पहिलो शीत गृह निर्माण गरिएको थियो । किसान र व्यापारीलाई सहज भएपछि २०७७/७८ मा पुनः कोशी प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । त्यसमा कृषि बजार समितिले १७ लाख रुपैयाँ थप गरेर कुल ६७ लाख रुपैयाँ लागतमा अर्को शीत गृहसमेत निर्माण गरिएको छ । हाल शीत गृहमा ६ च्याम्बर छन् । एउटा च्याम्बरमा २५ टनदेखि ३० टनसम्म भण्डारण गर्न सकिन्छ । ६ च्याम्बर मध्ये २५ टन क्षमताको एउटा च्याम्बर किसानका लागि आरक्षणका रूपमा छुट्याइएको अध्यक्ष भट्टराईले जानकारी दिए । करोडौंको कारोबार, तर यस वर्ष सुस्त व्यापार धरान कृषि बजारले अहिले पूर्वी नेपालका पहाडी जिल्लाहरूका लागि भर पर्दो आर्थिक मूलधारमा जोडिने माध्यम बनेको छ । यसले उत्पादन, भण्डारण, वितरण र मूल्य निर्धारणको पारदर्शी प्रणालीमार्फत कृषकलाई न्यायोचित स्थान समेत दिएको छ । अध्यक्ष भट्टराईका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १ लाख ५० हजार मेट्रिक टन कृषि उपज बिक्री हुँदा ६ अर्ब ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसमा हरियो तरकारी ८२ हजार ५२२ मेट्रिक टन, फलफूल २९ हजार ८०७ मेट्रिक टन, मसला २१ हजार ६२७ मेट्रिक टन, दलहन ४ हजार ५५१ मेट्रिक टन, खसी बोका ७१९ र अन्य कृषि उपज ९ हजार १३० मेट्रिक टन रहेको थियो । यस्तो व्यापक कारोबारले बजारलाई मात्र होइन, किसानको जीवनशैली र आयआर्जनमा पनि सकारात्मक प्रभाव पारेको देखिन्छ । तर, यसवर्ष भने व्यापार अघिल्ला वर्षहरूको तुलनामा कम भएको २०५८ सालदेखि कृषि बजारमा व्यापार गर्दै आएका व्यापारी रमेशकुमार शाहले बताए । ‘साग सब्जी र तरकारीहरूको खपत घटेको छ, मूल्य पनि घटेको छ । गत वर्ष यही समय प्याज प्रतिकिलो ७० रुपैयाँमा बिक्थ्यो, अहिले भने ३८/४० रुपैयाँमा मात्र बिक्री भइरहेको छ,’ उनले भने । ‘अघिल्ला वर्षमा चाडपर्वको समयमा बजारमा उपभोक्ताको अत्यधिक चाप देखिन्थ्यो, तर यस वर्ष मान्छेको भीड कम देखिएको उनले बताए । दैनिक उपभोग्य वस्तुको स्थायी मागका कारण बजारबाट वार्षिक करिब १ करोड रुपैयाँदेखि १ करोड ५० लाख रुपैयाँसम्मको कारोबार हुने गरेको छ,’ शाह भन्छन्, ‘विगतमा राम्रो व्यापारका लागि चाडपर्व कुर्नु पर्दैनथ्यो, अहिले दसैँ लाग्दा पनि व्यापार सुस्त छ ।’ व्यापार घट्नुको मुख्य कारण २०७७/७८ को कोरोना महामारी भएपछि अधिकांश व्यापारी गाउँ फर्किएको र धेरैले व्यापार नै छाडेको उनी बताउँछन् । क्षेत्रीय व्यापारको मेरुदण्ड सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाका अनुसार धरान कृषि उपज बजारले केवल किसानलाई मात्र नभएर सम्पूर्ण क्षेत्रीय व्यापारलाई नयाँ उचाइमा पु¥याएको बताउँछन् । ‘धरान कृषि बजारले कृषक र व्यापारीबीचको सिधा सम्बन्ध जोडेर व्यापारको पारदर्शिता बढाएको छ,’ महासचिव खतिवडा भन्छन्, ‘उत्पादनको गुणस्तर, मूल्य पारदर्शिता, समयमा नै भुक्तानी र पूर्वाधारको विकासले गर्दा यो बजार अहिले पूर्वी नेपालको कृषि व्यापारको केन्द्र बन्दै गएको छ ।’ कृषि बजारबाट वार्षिक रूपमा ठूलो मात्रामा कृषि उपजको कारोबार हुनु र त्यसबाट किसान तथा व्यवसायी दुवै लाभान्वित हुनु क्षेत्रको आर्थिक सम्भावना व्यापक छ भन्ने प्रमाण रहेको खतिवडा बताउँछन् । ‘यो बजारले उत्पादन, मूल्य निर्धारण र आपूर्तिको सञ्जाललाई व्यवस्थित बनाउँदै व्यावसायिक क्षेत्रलाई समेत गतिशील बनाएको छ । हामी कृषि बजारलाई व्यापार विस्तारको मेरुदण्डका रूपमा हेर्छौ,’ उनले भने । कृषि बजारबाट सिर्जना भएको आर्थिक चक्रले क्षेत्रीय उद्योग, यातायात, होलसेल, खुद्रा व्यवसाय तथा रोजगारीमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारेको छ । पूर्वी पहाडदेखि तराई क्षेत्रका व्यापारीहरू, ढुवानी सेवा प्रदायक र कृषि क्षेत्रसँग सम्बन्धित व्यवसायीहरू यस बजारको विस्तारबाट लाभान्वित भएको महासचिव खतिवडाको भनाइ छ । जेनजी आन्दोलनको असर गत भदौ महिनाको जेनजी आन्दोलनले धरानलगायत विभिन्न सहरी क्षेत्रका व्यापारिक संरचनामा ठूलो असर पुर्यायो । सयौं व्यापारिक केन्द्रहरूमा आगजनी भयो, सम्पत्ति नष्ट भयो, व्यवसाय ठप्प भयो । उद्योग वाणिज्य सङ्घले तत्काल व्यापारीसँग सम्पर्क गरी क्षति मूल्याङ्कन, राहत र व्यवसाय पुनः सञ्चालनका लागि पहल गरेको खतिवडा बताउँछन् । कालोबजारी नियन्त्रण, बजार स्थायित्व, मूल्य पारदर्शिता र व्यावसायिक सुरक्षालाई प्राथमिकतामा राखेर सङ्घले सहकार्य गरिरहेको छ । ‘व्यापारीलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ । हामी नीति निर्माणदेखि सहुलियत ऋण, बीमा र संरचनागत विकासमा समेत काम गरिरहेका छौँ,’ उनले भने । पछिल्लो समय बजारमा देखिएका समस्या जस्तै मूल्य अस्थिरता, आपूर्ति अवरोध, करको दबाब, सुरक्षा चुनौती आदि विषयमा सङ्घले सरोकारवाला निकायहरूसँग नियमित रूपमा संवाद, छलफल र दबाब मार्फत व्यवसायीको पक्षलाई मजबुत बनाउँदै आएको उनको भनाइ छ । ‘आगामी वर्षहरूलाई सुधार, विस्तार र प्रविधि मैत्री व्यापार प्रणाली निर्माणको अवसरका रूपमा हेरेका छौँ,’ महासचिव खतिवडा भन्छन्, ‘कृषिमा आधारित उद्योग, डिजिटल कारोबार, निर्यातयोग्य वस्तुहरूको उत्पादन, लगानीमैत्री वातावरण, युवा उद्यमशीलता, महिला सहभागिता जस्ता क्षेत्रमा ठूलो सम्भावना छ ।’ उत्पादन घट्दो, आयात बढ्दो धरान कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष काजी गिरिका अनुसार देशको समग्र परिस्थितिको असर बजारमा पनि परेको छ । अहिले मागअनुसार उत्पादन नहुनाले हामीलाई भारतलगायत छिमेकी मुलुकबाट सामान आयात गर्नुपर्ने अवस्था आएको उहाँ बताउनुहुन्छ । बजार चलायमान राख्न आयात विकल्प बनिरहेको छ, तर दिगो समाधान भनेको स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने उनको तर्क छ । कृषि बजारमा पहाडी क्षेत्रका साथै भारत, चीन, बङ्गलादेश, भूटान र तराईका विभिन्न ठाउँबाट उपभोग्य वस्तु आउने गरेको छ । पहाडी भेगबाट अहिलेको ‘सिजन’मा हरियो साग सब्जी आउने गरेको छ । भारतबाट आलु, प्याज र फलफूल, बङ्गलादेश तथा भूटानबाट आलु, चीनबाट च्याउ र लसुन धेरैजसो आउने गरेको छ । तर पनि धरान कृषि उपज बजारले विगत तीन दशक भन्दा बढी समयदेखि पहाडी किसानहरूलाई भर पर्दो बजार उपलब्ध गराउँदै आएको छ । यसले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने सञ्जालको निर्माण गरेको छ । पछिल्ला वर्षहरूमा देखिएको उत्पादन घट्ने प्रवृत्ति, सामाजिक अस्थिरता, तथा नीति र संरचनागत चुनौतीका कारण बजारमा केही अवरोध देखिएको छ । यस्ता चुनौतीहरू समाधान गर्न अब किसान, व्यापारी र नीति निर्माताबीच प्रभावकारी समन्वय आवश्यक देखिन्छ । यदि उत्पादन वृद्धि, गुणस्तर सुधार र आपूर्ति प्रणालीलाई सुदृढ गर्न सकियो भने धरान कृषि उपज बजार पूर्वी नेपालकै नमूना कृषि व्यापार केन्द्रका रूपमा लिन सकिन्छ । रासस
शान्ति, समावेशी लोकतन्त्रसहित विकासको बाटोमा नेपाल अघि बढिरहेको छ : स्थायी प्रतिनिधि थापा
काठमाडौं । संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापाले शान्ति, लोकतन्त्र र समावेशी सहभागितासहित विकासको बाटो अवलम्बन गरी नेपाल अघि बढिरहेको बताएका छन् । संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्र सङ्घ महासभाको ८०औँ अधिवेशनलाई सोमबार नेपालका तर्फबाट सम्बोधन गर्दै स्थायी प्रतिनिधि थापाले भने, ‘हाम्रो अघि बढ्ने एक मात्र सम्भावित बाटो भनेकै शान्ति, लोकतन्त्र र समावेशी विकासको बाटो हो ।’ सम्बोधनका क्रममा उनले मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराएको अमेरिकास्थित नेपाली स्थायी नियोगले जनाएको छ । नेपाली युवा पुस्ता (जेन-जेड) ले पारदर्शी, जवाफदेही, जन उत्तरदायी र सुशासनका आधार स्तम्भमा टेकेर निष्पक्ष, न्याय पूर्ण र समृद्ध राष्ट्र निर्माणको माग गरेको स्थायी प्रतिनिधि थापाले बताए । नेपालको इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्रीको नेतृत्वमा राज्य सञ्चालन भइरहेको जानकारी दिँदै उनले सार्वभौम नेपाली जनताले नयाँ नेतृत्व छान्न पाउने अधिकारसहित आगामी फागुन २१ गते आम निर्वाचनको मिति तोकिएको बताए । संयुक्त राष्ट्र सङ्घलाई बहुपक्षीयताका आधार, शान्ति, न्याय, मानव स्वाभिमान, साझा समृद्धि तथा नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको आशा भएको उल्लेख गर्दै उनले त्यसका महत्वपूर्ण एवं आधारभूत मूल्य मान्यताहरुलाई जोगाउनुपर्नेमा जोड दिए । संयुक्त राष्ट्र सङ्घ र यसको ‘चार्टर’लाई नेपालको परराष्ट्र नीतिको आधारस्तम्भका रूपमा व्याख्या गर्दै स्थायी प्रतिनिधि थापाले बहुपक्षीयताप्रति नेपालको अटुट विश्वासलाई पुनः पुष्टि गरे । उनले सन् १९५५ मा संयुक्त राष्ट्र सङ्घको सदस्य बनेपछिको ७ दशकभन्दा बढी समयदेखि विश्वभर शान्ति प्रवर्द्धन, मानव स्वाभिमान र दिगो विकासका क्षेत्रमा नेपालको उल्लेखनीय योगदान रहँदै आएको स्मरण गरे । ‘राष्ट्र सङ्घको आह्वान अनुसार विश्वकै सबैभन्दा ठूलो शान्ति सैनिक पठाउने देशका रुपमा नेपाल रहेको छ,’ स्थायी प्रतिनिधि थापाले भने, ‘हाम्रा उच्च व्यावसायिक शान्ति सैनिकहरू जिम्मेवारी बोधसहित विश्वका द्वन्द्व ग्रस्त विभिन्न क्षेत्रमा शान्ति र स्थायित्वका पक्षमा अहोरात्र खटिरहेका छन् ।’ उनले जलवायु परिवर्तनका कारण उत्पन्न विकराल समस्यासहित विश्वमा देखिएका सङ्कटप्रति चिन्ता व्यक्त गर्दै सबै प्रकार र स्वरूपका आतङ्कवादको निन्दा गरे । सम्बोधनका क्रममा पूर्ण निःशस्त्रीकरणको आह्वान गर्दै उनले विश्व शान्ति र समृद्धिका पक्षमा जोड दिए । प्यालेष्टाइनको गाजा क्षेत्रमा चर्किँदो मानवतावादी सङ्कट र हमासद्वारा निर्दोष नागरिकलाई बन्धक बनाइएका घटनाप्रति चिन्ता एवं आपत्ति व्यक्त गर्दै उनले सन् २०२३ अक्टोबर ७ देखि हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक बिपिन जोशीलाई तुरुन्त मुक्त गर्न आग्रह गरे । महासभालाई सम्बोधन गर्दै स्थायी प्रतिनिधि थापाले विश्व शान्ति र सुरक्षाको प्रत्याभूति, बहुपक्षीयताको सुदृढीकरण र विश्वास पुनःस्थापना, दिगो विकास लक्ष्य कार्यान्वयनमा तीव्रता, अति कम विकसित देश तथा कमजोर मुलुकका लागि विकास तथा जलवायु वित्त, जलवायु न्याय, प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि र समावेशी ‘डिजिटल’ रुपान्तरण प्रवर्द्धनलगायतका विषयमा विश्वव्यापी कार्यका लागि आह्वान गरे । अतिकम विकसित राष्ट्र र आर्थिक तथा सामाजिक परिषद् समेतको अध्यक्षका हैसियतमा स्थायी प्रतिनिधि थापाले प्रभावकारी, विश्वासिलो र नतिजामुखी सहकार्यद्वारा सुरक्षित, समृद्ध र दिगो विश्व निर्माणमा नेपालको दृढ प्रतिबद्धता व्यक्त गरे । संयुक्त राष्ट्र सङ्घको ८०औँ महासभाको पहलले समावेशी, पारदर्शी र प्रभावकारी बहुपक्षीय प्रणालीतर्फको सामूहिक प्रतिबद्धता नवीकरण गर्ने अवसर दिएको बताउँदै उनले अतिकम विकसित मुलुक र भूपरिवेष्टित विकासशील देशहरूलाई प्राथमिकतासहित सहयोग एवं सहुलियतको व्यवस्था हुनुपर्नेमा जोड दिए । स्थायी प्रतिनिधि थापाले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदमा सुधार गरी यसलाई अझ प्रतिनिधिमूलक, पारदर्शी र जवाफदेही बनाउनुपर्ने नेपालको मागलाई पुनः स्मरण गराए । साथै, वर्तमान विश्व यथार्थअनुसार विश्व वित्तीय संरचनाको सुधार आवश्यक रहेको पनि उनको जोड छ। सामान्यतया राष्ट्रप्रमुख वा सरकार प्रमुखको नेतृत्वमा राष्ट्र सङ्घीय महासभामा भाग लिने परम्परा रहेकामा यस वर्ष भने स्थायी प्रतिनिधि थापा नेतृत्वको प्रतिनिधिमण्डल सक्रिय रहेको छ ।
चाडपर्वको मौका छोपेर यात्रुबाट मनपरी भाडा, १ हजारसम्म बढी भाडा तिर्दै
काठमाडौं । खोटाङ जिल्लामा सञ्चालित यातायात व्यवसायीले चाडपर्वको मौका छोपेर यात्रुबाट मनपरी भाडा असुली गर्ने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको भाडा समायोजन बैठकमा सहभागी यातायात व्यवसायीले चाडपर्वको समयमा समेत साबिककै भाडादर लागू गर्ने सहमति गरे पनि यात्रुबाट प्रतिव्यक्ति ५ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म बढी भाडा असुलेको पाइएको हो । जिप (टाटासुमो) का लागि दिक्तेल–काठमाडौं तथा काठमाडौं–दिक्तेलका लागि एकतर्फी भाडा २ हजार रुपैयाँ कायम गरिए पनि यातायात व्यवसायीले २ हजार ५ सय रुपैयाँदेखि ३ हजार ५ सय रुपैयाँसम्म असुलेको पाइएको छ । दिक्तेल–धरान तथा धरान–दिक्तेलका लागि २ हजार १ सय रुपैयाँ निर्धारण गरिएको थियो । तर, प्रशासनमा गरिएको दुई पक्षीय सहमति कुनै पनि यातायात व्यवसायीले कार्यान्वयन नगरेको पाइएको छ । यतिसम्म कि बढी भाडा असुल गर्ने यातायात व्यवसायीले प्रहरी प्रशासनको कारबाहीमा पर्ने डरले यात्रुलाई टिकट नदिई यात्रा गराउने गरेको पाइएको छ । चाडपर्वका अवसरमा एकतर्फी यात्रा गर्ने मात्र यात्रु हुने भन्दै सबै यातायात व्यवसायीले ‘रिजर्भ’को भाडा असुलेको यात्रुहरुले बताएका छन् । बढी भाडा असुल्नेमा तुवाचुङ मारतीका यातायात प्रालि, पब्लिक मध्यपहाडी यातायात प्रालि, सगरमाथा यातायात प्रालिलगायत यातायात प्रालिमा आबद्ध यातायात व्यवसायी रहेका छन् । सगरमाथा यातायात प्रालिले धरानबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीसम्मका लागि भनेर प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँका दरले भाडा लिए पनि दिक्तेलमा ल्याएर छाडिदिएको यात्रुहरुले बताएका छन् । खार्मीका लागि भनेर धरानबाट चढेको सुमोले दिक्तेलमा ल्याएर छाडेपछि पुनः प्रतिव्यक्ति ७ सय रुपैयाँका दरले अर्को गाडीको टिकट लिएर घर पुगेको स्थानीय ज्ञानकुमारी राईले बताइन् । ‘हामीलाई टिकट पनि दिएन, खार्मी लैजाने भनेर दिएको फोन नम्बर पनि स्विच अफ थियो । बेलुका अबेर भइसकेको थियो, त्यो दिन जसरी पनि घर पुग्नुपर्ने थियो,’ उनले भनिन्, ‘प्रहरीलाई खबर गर्ने समय थिएन, त्यसैले अर्को गाडीको टिकट लिएर घर पुग्यौँ, यातायात व्यवसायीले गरेको ठगी धन्दामा सम्बन्धित निकाय मौन बस्दा यात्रु मारमा परेका छन्, यसप्रति गम्भीर भएर सोच्न आवश्यक छ ।’ बाक्सिला–काठमाडौं तथा काठमाडौं–बाक्सिलाका लागि एकतर्फी जिप भाडा २ हजार ८ सय रुपैयाँ भए पनि आफूहरुले प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँका दरले तिरेर यात्रा गर्न बाध्य भएको स्थानीय इन्द्र साम्पाङ राईले गुनासो गरिन् । यातायात व्यवसायीले आफूखुसी बढी भाडा असुलेको विषयमा प्रमाणसहित प्रहरी प्रशासनलाई खबर गर्दासमेत कुनै चासो नदिएको यात्रुले बताएका छन् । यातायात व्यवसायीले मनपरी भाडा असुलेको विषयमा जानकारी लिने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक बाबुराम न्यौपानेले अहिलेसम्म कुनै गुनासो नआएको प्रतिक्रिया दिए । ‘हामीले जिल्ला प्रवेश गर्ने ठाउँ जयरामघाट र प्रस्थान गर्ने ठाउँ दिक्तेल बजारमा यात्रु सहायता कक्ष सञ्चालन गरेका छौँ, अहिलेसम्म कसैबाट गुनासो आएको छैन,’ उनले भने, ‘ठगीमा परेको भए प्रमाण उपलब्ध गराएको खण्डमा कारबाही गर्छौं, यद्यपि जिल्लामा सञ्चालित सबै यातायातका सवारीसाधनलाई निगरानीमा राखेका छौँ ।’ जिल्लामा सञ्चालित अधिकांश यातायातका साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखेको समेत गुनासो आएको छ । खोटाङ यातायात प्रालिमा आबद्ध सवारी साधनले अहिलेसम्म कसैबाट बढी भाडा नलिएको र त्यस्तो गुनासो भए प्रमाण उपलब्ध गराउन दिक्तेल काउन्टरका प्रमुख अमिर अधिकारीले बताए । चाडपर्वका अवसरमा यात्रुको आवागमनलाई सहज र सुरक्षित बनाउन भाडादर नियमनमा कडाइ गर्ने जिल्ला प्रशासन कार्यालयले समेत निर्णय गरेको थियो । यातायात व्यवसायीले तोकिएकोभन्दा बढी भाडा असुल्ने, अतिरिक्त शुल्क लिने, क्षमताभन्दा बढी यात्रु चढाउने जस्ता क्रियाकलाप गरेको खण्डमा कानुनी कारबाही गर्ने प्रशासनले निर्णय गरे पनि कार्यान्वयन भएको छैन ।
दसैँको मासु भित्र्याएर कुछिभ्वय् खाई महाअष्टमी मनाइँदै नेवार समुदाय
लक्ष्मी गारु काठमाडौं । मोहनी नखःको आज आठौँ दिन नेवार समुदायले विधिवत रुपमा दसैँको मासु भित्र्याएर ‘कुछीभ्वय’ खाई महाअष्टमी पर्व मनाउँदैछन् । बडा दसैँलाई महनी नखाःका रुपमा मनाउने नेवार समुदायले महाअष्टमीको साँझ कुछीभ्वय खाएर पर्व मनाइन्छ । विशेष गरेर अष्टमीलाई कुछिभ्वय, नवमीलाई स्याक्वट्याक्व नखाः र दशमीलाई चाँलका रुपमा भवानीको प्रसाद ग्रहण र टीकासँगै नेवार समुदायले मोहनी नखाः मनाइन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन नलाः स्वनेगु अर्थात् जमरा राखेर नेवार समुदायले मोहनी नखाःको सुरुआत गर्दछन् भने अष्टमीको दिन कुछिभ्वय खाँदै मोहनी नखाःको भोजको सुरुआत गर्दछन् । कुछिभ्वय खाएदेखि दशमीको दिन बिहान भवानीको प्रसाद ग्रहण नगरेसम्म भात खान नहुने प्रचलन रहेको छ । वर्ष भरी मनाइने चाडपर्वमध्ये मोहनी नखाः सबैभन्दा महत्वपूर्ण र ठूलो चाड हो । मोहनी नखाः मनाउन घर परिवारदेखि टाढा परदेशमा नोकरी गर्ने, व्यापार व्यवसाय गर्नेहरू घर आउने गर्दछ । त्यसैगरी छुटिएर भिन्न बसेका दाजुभाइहरु एउटै घरमा घरका ज्येष्ठ सदस्य भएको घरमा जम्मा भई मोहनी नखाः मनाउने गर्दछ । विभिन्न चाडपर्वलाई विशेष र मौलिक परम्पराका साथ मनाउन सिपालु नेवार समुदायमा अष्टमीको खाने कुछीभ्वयको विशेष महत्व रहेको छ । यसको परिकारसमेत अन्य भोजको भन्दा भिन्न प्रकारको हुन्छ । कुछीभ्वय खान तरकारीका परिकार मात्रै १२ थरी चाहिन्छ भने छोयला १२ टुक्रा राखिन्छ । केराको पातमा दुई माना चिउरासँगै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपीच्यपी (काँचो फर्सीका स–साना दुईथरी चाना), अदुवा, बोडी, केराऊ, मस्याङ, घिरौला, भटमासलगायत परिकार राखेर कुछीभ्वय खाने प्रचलन रहेको संस्कृतिकर्मी हरिशरण राजोपाध्यले बताए । कुछीभ्वय्मा फलफूलमा अम्बा र केरा अनिवार्य मानिन्छ । कुछिभ्वय खाने बेलामा माटोको सानो घैँटोमा जाँड अथवा रक्सी राखेर ‘थापिँचा स्वनेगु’ गर्ने प्रचलन रहेको राजोपाध्यले बताए । थापिँचा स्वने बेला माटोको सानो घैँटोलाई सलिँचाले घैँटोलाई छोप्ने र त्यसमाथि केराको पातमा राँगोको मासु एक टुक्रा राख्ने प्रचलन रहेको राजोपाध्यले बताए । यसरी थापिँचा स्वनेगु गर्दा राखेको जाँड र मासु नवमीको दिन प्रसादका रुपमा खाइन्छ । यो प्रसाद खाँदा पेटसम्बन्धी विकार हट्ने धार्मिक विश्वास रहेको छ । आफन्तको मृत्यु भएर जुठो परे पनि कुछीभ्वय खानुपर्ने मान्यता केही नेवार समुदायमा रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराऊको बारा राख्ने प्रचलन रहेको छ । नेवार समसदायमा कुछिभ्वयका सन्दर्भमा दुई वटा भनाइ प्रचलनमा रहेको छ । एकथरी भनाइअनुसार कुछिको अर्थ ‘दुई माना’ हो भने भ्वयको अर्थ ‘भोज’ हो । दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम ‘कुछी भ्वय्’ रहन गएको एकथरीको भनाइ छ भने अर्कोथरी संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय् हुन गएको र पछि अपभ्रंश भएर कुछीभ्वय हुन गएको भनाइ छ । महाअष्टीको अवसर पारेर नेवार समुदायले घरघरमा दसैँको मासु भित्र्याएका छन् । नेवार समुदायमा गुठी, टोल छिमेक मिलेर संयुक्त रुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दसैँको मासु भित्र्याएको हो । मासु भित्र्याउँदा घरको मूलढोका अगाडि राखेर चोखो पानी छरेर तीनपटक दायाँबायाँ ढुटो, मासुको टुक्रा र रगत र्छकेर मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ । यो परम्परा घरको नकींबाट गर्ने चलन रहेको छ । रासस
पहिरो पन्छाएपछि बेनी-दरवाङ सडक सञ्चालन
काठमाडौं । पहिरोले अवरुद्ध बेनी-दरवाङ सडक सञ्चालन भएको छ । पहिरो पन्छाएर आज बिहानदेखि सडक सञ्चालन गरिएको पूर्वाधार विकास कार्यालयका निरीक्षक राम्जी आचार्यले जानकारी दिए । सडक खुलेसँगै अलपत्र परेका यात्री बोकेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमाना फापर खेतमा सामान्य वर्षा हुँदा पनि पहिरोको जोखिम हुने गरेको उनी बताउँछन् । पटक-पटकको पहिरोका कारण जिल्लाको पश्चिमी क्षेत्रका बासिन्दालाई आवागमनमा कठिनाइ भएको छ भने स्थानीय तहमा निर्माणाधीन सडक, विद्युत् सबस्टेशन, प्रसाररण लाइन र जलविद्युत् आयोजना प्रभावित भएका छन् ।
जनताले अपेक्षा गरेको सुशासन र जवाफदेहितामा जनप्रतिनिधिहरू उत्तरदायी बन्नुपर्ने
काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष निर्मला घिमिरेले जनताले अपेक्षा गरेको सुशासन र जवाफदेहितामा जनप्रतिनिधिहरू अझ उत्तरदायी बन्नुपर्ने खाँचो औंल्याएकी छिन् । उपाध्यक्ष घिमिरेले बडा दसैँका अवसरमा शुभकामना सन्देश दिँदै पछिल्लो समय संविधानको संरक्षण, राजनीतिक स्थायित्व र सुशासनप्रति नागरिकको अपेक्षा बढेको बताइन् । राष्ट्रिय सभाले निरन्तर संविधान कार्यान्वयन, संसदको गरिमा र लोकतान्त्रिक संस्कृतिको सुदृढीकरणमा ध्यान दिइरहेको उल्लेख गर्दै उहाँले पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बीच राष्ट्रिय सभालाई संसदको जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न क्रियाशील बनाउने दायित्व थपिएको बताइन् । उनले मुलुकलाई स्थिर, शान्त र समृद्ध बनाउन सबै राजनीतिक दल, नागरिक समाज, आम सञ्चारमाध्यम र प्रत्येक नागरिकको सक्रिय योगदान अपरिहार्य रहेको धारणा व्यक्त गरिन् । ‘नेपाल बहु जातीय, बहुभाषिक र बहु धार्मिक समाज भएको राष्ट्र हो । हाम्रो संस्कृति र परम्पराले विविधतालाई आत्मसात गर्दै सामूहिक शक्ति निर्माण गर्ने अवसर प्रदान गरेको छ । बडादसैँ जस्तो चाडपर्वले परिवार, समाज र राष्ट्र बीचको सम्बन्धलाई अझ मजबुत पार्ने काम गर्दछ । यस पर्वले हाम्रो सामाजिक मूल्य, सहिष्णुता र एकताको भावनालाई अझ गहिरो बनाउन सहयोग गर्नेछ । बडादसैँको पावन अवसरमा सबैलाई शुभकामना,’ उपाध्यक्ष घिमेरेको सन्देशमा उल्लेख छ ।