एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले हाल कायम चुक्ता पुँजीको २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ । पुस २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ रहेको छ । यस आधारमा बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
चाँदीमा दक्षता, देशव्यापी पहुँच: टेक्नो जया ज्वेलरीले गर्याे डेढ अर्ब आम्दानी
काठमाडौं । चाँदीका गहना उत्पादन तथा बिक्री वितरणमा टेक्नो जया ज्वेलरी परिचित नाम हो । सन् २००५ मा सञ्चालनमा आएको टेक्नो जया ज्वेलरी सुरुमा घरेलु तथा साना उद्योग विभागमा दर्ता भएको थियो । व्यवसायको आकार र सञ्जाल विस्तारसँगै सन् २०१६ मार्चमा कम्पनीले निजी उद्योग खडा गर्यो । कम्पनीको मोरङको विराटनगरमा आधुनिक उत्पादन प्लान्ट सञ्चालनमा रहेको छ । जहाँ दैनिक ३० हजार ग्रामसम्म चाँदीका विभिन्न प्रकारका गहना तथा अलङ्कार उत्पादन कम्पनीले जनाएको छ । टेक्नो जया ज्वेलरीका हाल देशभर ६ वटा खुद्रा बिक्री केन्द्र सञ्चालनमा छन् । कम्पनीले ग्राहकको पूर्वअर्डर अनुसार गहना तयार पार्ने काम गर्ने मात्र नभई ६ वटा खुद्रा बिक्री केन्द्रमार्फत पनि प्रत्यक्ष बिक्री गर्दै आएको छ । कम्पनीका अनुसार पूर्वी क्षेत्रलाई समेट्ने गरी विराटनगर २ वटा, मध्य क्षेत्रलाई समेट्ने गरी काठमाडौंमा एक र पश्चिम क्षेत्रलाई समेट्ने गरी भैरहवा, पोखरा, नेपालगन्ज एक/एक वटा आउटलेट सञ्चालनमा छन् । आधुनिक र परम्परागत शैलीलाई संयोजन गरी नयाँ-नयाँ गहना डिजाइन गर्ने टेक्नो जया ज्वेलरीले एक वर्षमै डेढ अर्ब रुपैयाँ हाराहारी आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब ४८ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ७९ प्रतिशत अर्थात् ६५ करोड ५० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ८२ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । चाँदीको मूल्य वृद्धिका कारण कम्पनीको सञ्चालन आम्दानी पनि बढेको जनाएको छ । ग्राहक संरचनामा गहना उत्पादक व्यवसायीक ग्राहक र खुद्रा ग्राहक दुवै समावेश छन्, तर बिक्रीको ठूलो हिस्सा भने थोक ग्राहकबाट आउने गरेको कम्पनीले जनाएको छ । कच्चा चाँदीलाई प्रशोधित गरी आकर्षक तथा गुणस्तरीय चाँदीका गरगहना उत्पादन गर्दै आएको टेक्नो जया ज्वेलरीले ग्राहकको अर्डर अनुसार गहना तयार गर्नुका साथै खुद्रा बिक्रीका लागि समेत उत्पादन गर्दै आएको छ । कलात्मक गहना उत्पादन गर्दै आएको कम्पनीले चाँदी केवल गहना वा भाँडाकुँडामा मात्र सीमित हुन्छ भन्ने सोचलाई पूर्ण रूपमा तोडिदिएको छ । टेक्नो जया ज्वेलरीको अध्यक्ष देवकिशन मुन्दडा रहेको छ । जसको मार्गदर्शनमा कम्पनी सञ्चालन भइरहेको छ । मुन्दडासँग विभिन्न व्यवसाय र उद्योग क्षेत्रमा चार दशकभन्दा बढीको अनुभव रहेको छ । उनी बाबा भेगिटेबल आयल इन्डस्ट्रिजका निर्देशक पनि हुन्, जसले पाम, सोयाबिन, सनफ्लावर तथा तोरीको तेल उत्पादन गर्छ । साथै, उनी बाबा जुट मिल्स प्रालिका निर्देशक हुन्, जहाँ जुट, बोरा र विभिन्न जुटजन्य सामग्री उत्पादन गरिन्छ । यसका अतिरिक्त, उनी अनुराग अगरबत्ती धूप उद्योगका सञ्चालकको भूमिकामा समेत रहेका छन् । कम्पनीका सञ्चालक नन्द किशोर मुन्दडासँग पनि औद्योगिक क्षेत्रमा चार दशकभन्दा बढीको अनुभव छ । उनी उद्योग र व्यावसायिक क्षेत्रमा आफ्नो दक्षता र अनुभवमार्फत कम्पनीको दीर्घकालीन रणनीति र सञ्चालनमा योगदान पुर्याउँदै आएका छन् । कम्पनीले कच्चा चाँदी दुबईबाट आयात गर्दै आएको छ । यसका अतिरिक्त जिंक र एलोयजस्ता अन्य आवश्यक उपभोग्य सामग्रीहरू भारतबाट आपूर्ति गर्दै आएको जनाएको छ । कच्चा चाँदीको मूल्य अन्तर्राष्ट्रिय माग तथा आपूर्तिको आधारमा निर्धारण हुने भएकाले बजारको उतार-चढावसँग प्रत्यक्ष रूपमा जोडिएको छ । त्यसैगरी, कच्चा चाँदीको मूल्य अमेरिकी डलरसँग सम्बन्धित भएकाले कम्पनीले विदेशी विनिमय दरको उतार-चढावको जोखिमसमेत बेहोर्दै आएको छ । विनिमय दरमा हुने परिवर्तनले आयात लागतमा प्रत्यक्ष असर पार्ने हुँदा कम्पनीको लागत संरचना प्रभावित हुने गरेको कम्पनीले जनाएको छ । साथै घरेलु बजारमा कच्चा चाँदीको बिक्री मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा निर्धारण गरिने भएकाले कम्पनीले मूल्य निर्धारणमा सीमित लचिलोपन पाउँछ । मूल्यमा आउने अस्थिरताले नाफामा असर गर्ने गरेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण एक अर्ब रुपैयाँ भन्दा बढी ऋण लिएको छ । पछिल्लो तथ्याङ्क अनुसार कम्पनीले १३ करोड ९६ लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब २ करोड रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब १५ करोड ९० लाख रुपैयाँ बैंकबाट ऋण लिएको जनाएको छ ।
भेनेजुएलामाथि आक्रमण गरेसँगै ट्रम्पको ठाडो सन्देश- भेनेजुएलाको तेल अब अमेरिकी कम्पनीको हातमा
काठमाडौं । अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको छ । मादुरो र उनकी पत्नीलाई अमेरिकातर्फ ल्याइँदै छ जहाँ उनीहरूमाथि न्यूयोर्कमा मुद्दा चलाइनेछ । यसैबीच अमेरिकाको नजर भेनेजुएलाका तेल भण्डारमाथि परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका तेल कम्पनीहरूलाई भेनेजुएलाका विशाल कच्चा तेल भण्डारको दोहन गर्न अनुमति दिइने बताएका छन् । उनले अमेरिकाले भेनेजुएलाको तेल चीनलाई आपूर्ति गर्ने पनि स्पष्ट पारेका छन् । शनिबार आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकाका ठूला ऊर्जा कम्पनीहरूले भेनेजुएलाको जर्जर भइसकेको तेल संरचना मर्मत गर्न र पुनः उत्पादन सुरु गर्न अर्बौं डलर लगानी गर्ने बताए । ट्रम्पले भने, ‘हाम्रो विश्वकै सबैभन्दा ठूला अमेरिकी तेल कम्पनीहरू त्यहाँ जानेछन्, अर्बौं डलर खर्च गर्नेछन्, निकै खराब भइसकेको तेल संरचना सुधार्नेछन् र देशका लागि आम्दानी सुरु गर्नेछन् ।’ एपीका अनुसार ट्रम्पले अमेरिकाले फेरि भेनेजुएलाको तेलको ‘ठूलो परिमाण’ अन्य देशहरूलाई बिक्री गर्ने पनि बताएका छन् । तेलबारे ट्रम्पले के भने? पत्रकार सम्मेलनका क्रममा ट्रम्पले भने, ‘हामी तेलको व्यापारमा छौं । हामी यो उनीहरूलाई बेच्नेछौ ।ु उनले तेल कम्पनीहरूले भेनेजुएलाको तेल संरचना पुनर्निर्माणका लागि खर्च व्यहोर्ने पनि बताए । साथै अमेरिकाका प्रतिबन्धहरू यथावत् रहेको स्पष्ट पार्दै ट्रम्पले भने, ‘भेनेजुएलाको सम्पूर्ण तेलमाथिको प्रतिबन्ध पूर्ण रूपमा लागू छ ।’ एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकाले आपूर्ति अवरुद्ध हुन नदिने र चीनसँग सम्बन्धित कुनै पनि चिन्तालाई अस्वीकार गरे । ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आफ्नो अत्यन्त राम्रो सम्बन्ध रहेको बताए । उनले बेइजिङसँग कुनै समस्या नहुने दाबी गर्दै भने, ‘उनीहरूलाई तेल प्राप्त हुनेछ । हामी मानिसहरूलाई तेल लिन दिनेछौं ।’ अमेरिकाले लगाएको प्रतिबन्ध एएफपीका अनुसार भेनेजुएला सन् २०१९ देखि अमेरिकी तेल प्रतिबन्धको दायरामा छ । हाल भेनेजुएलाले प्रतिदिन करिब १० लाख ब्यारेल कच्चा तेल उत्पादन गर्दै आएको छ, जसको अधिकांश भाग भारी छुटमा कालो बजारमार्फत बिक्री हुँदै आएको छ । ठूलो कच्चा तेल भण्डार हुँदाहुँदै पनि ट्रम्पले भेनेजुएलाको तेल क्षेत्रलाई वर्षौंदेखि ‘पूर्ण रूपमा तहसनहस भएको बताउँदै आएका छन् । केही दिनअघि अमेरिकी सेनाले कम्तीमा दुईवटा तेल ट्यांकर नियन्त्रणमा लिएको थियो, जसले प्रतिबन्ध उल्लंघन गरेको वाशिंगटनको दाबी छ । भेनेजुएलाका कच्चा तेल भण्डारमाथि अमेरिकाले कब्जा जमाएको असर छिमेकी मुलुक भारतमा पनि देखिन सक्ने अनुमान गरिएको छ । भारत पनि भेनेजुएलाबाट कच्चा तेल खरिद गर्ने देश हो, यद्यपि यसको मात्रा अन्य देशहरूको तुलनामा निकै कम छ । यदि अमेरिकाले भेनेजुएलाको तेल क्षेत्र नियन्त्रणमा लिएर सञ्चालन गर्यो भने भारतलाई पनि तेल आपूर्ति बढ्न सक्ने सम्भावना छ ।
गुल्मी–१ बाट प्रदीप ज्ञवाली सर्वसम्मत सिफारिस
काठमाडौं । नेकपा एमाले गुल्मीले आगामी निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याएको छ । जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा पार्टीले आ–आफ्नो क्षेत्रीय कमिटीमार्फत उम्मेदवारका नाम केन्द्रमा सिफारिस गरेको हो । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा एमालेले पूर्वपरराष्ट्रमन्त्री तथा पार्टीका प्रभावशाली नेता प्रदीप ज्ञवालीको एकल नाम सिफारिस गरेको छ । क्षेत्रीय कमिटीको बैठकले ज्ञवालीलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय गर्दै केन्द्रमा नाम पठाएको जिल्ला नेताहरूले जनाएका छन् । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ क्षेत्रीय कमिटीले केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री गोकर्ण विष्ट, पूर्वमन्त्री तथा केन्द्रीय नेतृ रामकुमारी झाँक्री, नेता राजेन्द्र अर्यालसहितको नाम उम्मेदवारका रूपमा प्रस्ताव गरेको हो । एमाले गुल्मीका नेताहरूका अनुसार उम्मेदवार सिफारिस प्रक्रिया पार्टीको विधि अनुसार सम्पन्न गरिएको हो । क्षेत्रीय कमिटीको निर्णयपछि जिल्ला कमिटी हुँदै सचिवालयमा नाम पठाइएको छ। अब पार्टीको केन्द्रीय कमिटीले समग्र राजनीतिक परिस्थिति, संगठनात्मक अवस्था, विगतका निर्वाचन परिणाम र जित्ने सम्भावनालाई आधार मानेर अन्तिम उम्मेदवार तय गर्नेछ । गुल्मीमा उम्मेदवार सिफारिस टुंगिएसँगै एमालेको निर्वाचन तयारी थप तीव्र बनेको छ। अन्य राजनीतिक दलहरूले पनि आन्तरिक छलफल र उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाइरहेका बेला एमालेले समयमै सिफारिस गरेर चुनावी रणनीतिमा अग्रता लिने प्रयास गरेको देखिन्छ।
रसुवागढी भन्सार कार्यालय : धमाधम सरसामान तथा सवारीसाधन आयात
रसुवा । यहाँस्थित रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात हुन थालेका छन् । सीमा सुरक्षा पोष्ट रसुवागढीका अनुसार रसुवागढी नाकाबाट शनिबार १८ विद्युतीय सवारीसाधन (इभी माइक्रो) नेपाल भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलोपटक ती सवारीसाधन आयात भएका र अहिले टिमुरेस्थित पार्किङ क्षेत्रमा रहेका छन् । ती सवारीसाधन आयातकर्ताले राजस्व दाखिला गर्नेक्रम जारी रहेकोे भन्सार कार्यालयले जनाएको छ । यस्तै शनिबारमात्र स्याउ, रेडिमेड कपडा, लसुन, सवारीसाधानका पार्टपुर्जा, ओखर, इलेक्ट्रिक व्याट्री, मेडिकलका सामग्री बोकेका ३९ मालवाहक कन्टेनर नेपाल भित्रिएका छन् । गत बिहीबारदेखि रसुवागढी नाका पुनः सञ्चालन भएसँगै शनिबारसम्म ९६ कन्ट्रेनरबाट मालसामान नेपाल भित्रिएको र रेडिमेड सामग्रीका हकमा आजदेखि जाँचपास प्रक्रिया सुरु हुने भन्सार कार्यालय प्रवक्ता ठाकुर गौतमले जानकारी दिए । उनले बिग्रने वस्तुम पर्ने स्याउ तथा ओखरजस्ता वस्तु भने शीघ्र जाँचपास हुने गरेको र नाका खुलेपश्चात दुई दिनको दौरानमा रु ९० लाख ८७ लाख राजस्व दाखिला भएको बताए ।
नेपाल लाइफ इन्स्योरेन्सको २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित
काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको २६औँ वार्षिक साधारण सभा शनिबार वीरगञ्जमा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा पर्साको होटल भिष्वामा सभा सम्पन्न भएको हो । सभामा अध्यक्ष संघईले प्रस्तुत गरेको आ.व. २०८१/८२ को वार्षिक कार्यप्रगति प्रतिवेदन छलफलपछि पारित गरिएको छ । साथै, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण स्वीकृत गरिएको छ । सभाले आ.व. २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक पनि निर्धारण गरेको छ। साधारण सभाले आ.व. २०८१/८२ को वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँको २१.०५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । यसअनुसार सेयरधनीलाई १६.०५ प्रतिशत नगद लाभांश (करसहित) र ५ प्रतिशत बोनस सेयर प्रदान गरिनेछ । सभाले संस्थापक समूहतर्फबाट गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल र विवेक कुमार अग्रवाललाई निर्विरोध निर्वाचित गरेको छ । साधारण सभा सम्पन्न भएपछि बसेको सञ्चालक समितिको ४०७औँ बैठकले संघईलाई पुनः सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ । अध्यक्ष संघईले कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई थप उचाइमा पुर्याउन संरचनात्मक सुधार, संस्थागत सुशासनको कडाइ, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण, नविन प्रविधिको प्रयोग, ग्राहक केन्द्रित योजना र डिजिटल रूपान्तरणमा जोड दिँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले जोखिम व्यवस्थापन ढाँचा तयार गरी व्यवसायसँग सम्बन्धित जोखिमको उचित व्यवस्थापन भइरहेको जानकारी दिए । सभालाई सम्बोधन गर्दै सञ्चालक कमलेश कुमार अग्रवालले प्रतिकूल परिस्थितिका बाबजुद कम्पनीले अग्रस्थान कायम गर्न सफल भएको बताए । वर्तमान म्याक्रो–आर्थिक अवस्थाले बीमा व्यवसायलाई चुनौतीपूर्ण बनाएको उल्लेख गर्दै सबै सरोकारवाला एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आ.व. २०८१/८२ मा सामना गरिएका चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै हासिल गरिएका उपलब्धि र आगामी योजना प्रस्तुत गरे । आर्थिक अवस्था सहज नभए पनि लाभांश वितरण गर्न सफल हुनु गौरवको विषय भएको उनले बताए । कम्पनीका अनुसार २०८२ असोज मसान्तसम्म यसको कुल लगानी २५४ अर्ब रुपैयाँ पुगेको छ भने जीवन बीमा कोष २४५ अर्ब र सेयरधनी कोष १३ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । नेपाल लाइफले देशभर रहेका १ सय ९७ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सेवा प्रदान गर्दै आएको छ । कम्पनीले हालसम्म ३२६ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको र १०३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको जनाएको छ । ग्राहक हितलाई केन्द्रमा राख्दै समयसापेक्ष सेवा र सुविधामा निरन्तर सुधार गर्दै जाने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ ।
बाँकेमा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणको तयारी
बाँके । भूमि समस्या समाधान आयोगले बाँकेमा पुनः काम सुरु गरेको छ । भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाको कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका दुई हजार १०१ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरणको तयारी गरेको आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालले जानकारी दिए । उनका अनुसार आयोगकोे हालैको बैठकले जिल्लाको कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका दुई हजार १०१ अव्यवस्थित बसोवासीकोे जग्गा दर्ता र दाबीविरोधका लागि एक हप्ताको म्याद दिइएको छ । 'राप्तीसोनारी–४ का आठ सय ६१ जना र बैजनाथ–७ का तीन सय ७२ जनालाई राजस्व तिर्नका लागि र कोहलपुर–१ का आठ सय ६८ जनालाई दाबीविरोधका लागि सूचना जारी गरिएको छ', आयोगका अध्यक्ष खनालले भने, 'हामीले धमाधम काम सुरु गरेका छौँ, राजस्व र दाबीविरोधको सूचनाअनुसार लालपुर्जा तयार र वितरणको काम हुनेछ ।' भूमि समस्या समाधान आयोग जिल्ला समितिले यसअघि करिब एक हजार १०० लालपुर्जा तयार गरी करिब नौ सय वितरण गरेको अध्यक्ष खनालको भनाइ छ । कोहलपुर नगरपालिका–१ का अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको थियो । यसअघि सङ्कलन गरिएका निवेदनको स्थानीय तहबाट प्रमाणीकरण, अव्यवस्थित बसोवासीले भोगचलन गरिरहेको जग्गाको डिजिटल नापजाँच र सिमाना विवाद रहेका क्षेत्रमा वडा समितिको रोहबरमा मेलमिलाप र नापी गरिने छ । वर्षौँदेखि जोतभोग गर्दै आएको जग्गाको लालपुर्जा पाउने आसमा रहेका स्थानीय बासिन्दा नापी सुरु भएपछि उत्साहित छन् । वर्षौँदेखि जोतभोग गर्दै आएको जग्गाको कानुनी स्वामित्व नहुँदा सरकारी सेवा सुविधा र बैंकिङ कारोबारबाट समेत वञ्चित हुनुपरेको पीडा खेपिरहेका स्थानीय अब भने आफ्नै नाममा लालपुर्जा आउनेमा ढुक्क देखिएको कोहलपुर नगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए। बाँकेमा हालसम्म ५३ हजार ७०५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गा प्राप्तिका लागि आयोगमा आवेदन दर्ता गराएका छन् । जसमध्ये भूमिहीन दलितको सङ्ख्या तीन हजार ६८१, भूमिहीन सुकुम्वासीको सङ्ख्या छ हजार ७९८ र अव्यवस्थित बसोवासीको सङ्ख्या ४३ हजार २२६ रहेको अध्यक्ष खनालले जानकारी दिए । बाँकेका आठवटा पालिकामध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाबाट जग्गा प्राप्तिका लागि आवेदन दर्ता भएको आयोगले जनाएको छ । आयोगका अनुसार कोहलपुर नगरपालिकाबाट १७ हजार ६१५, राप्तीसोनारी गाउँपालिकाबाट १२ हजार ५२३, बैजनाथ गाउँपालिकाबाट १० हजार ११२, खजुरा गाउँपालिकाबाट पाँच हजार २५८, नेपालगञ्ज उपमहानगरपालिकाबाट तीन हजार ४२, जानकी गाउँपालिकाबाट दुई हजार ८१० र सबैभन्दा कम नरैनापुर गाउँपालिकाबाट दुई हजार ३४५ वटा आवेदन फारम दर्ता भएका छन् । डुडुवा गाउँपालिकाबाट आयोगमा हालसम्म सम्झौता नभएका कारण त्यहाँको विवरण अझै प्राप्त नभइसकेको आयोगले जनाएको छ । रासस
यस्तो छ आइतबारका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८२ रुपैयाँ २९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५९ पैसा र बिक्रीदर २० रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ , स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६० पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ६९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ६१ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।