विकासन्युज

जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु, ८ जना घाइते

काठमाडौं । कञ्चनपुरको बेदकोट नगरपालिका-३ सिउडीबागमा आज बोलेरो जीप दुर्घटना हुँदा १ बालिकाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार दैजी-जोगबुढा सडक खण्डमा दैजीबाट जोगबुढातर्फ जाँदै गरेको से१ज ४१७ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । जीप सडकबाट करिब २० मिटर तल खसेको थियो । दुर्घटनामा कञ्चनपुरको बेदकोट नगरपालिका-४ की करिब २ वर्षीया बालिका युबिका पालको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बोहराले बताए । अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा कृष्णपुर-१ वाणीकी ३३ वर्षीया धना बोहरा र उनका चार वर्षीय छोरा कमल बोहरा,  बेदकोट-४ की ३० वर्षीया तारा पाल, उनका १० वर्षीय छोरा प्रिन्स पाल र स्थानीय ३५ वर्षीया देविन्द्र धामी घाइते भएका छन् ।  यस्तै, डडेल्धुराको परशुराम नगरपालिका-११ का २४ वर्षीय वीरेन्द्र कुँवर, उहाँकी २१ वर्षीया पत्नी मनीषा कुँवर र सोही नगरपालिकाका २८ वर्षीय नरेश सार्की घाइते भएका छन् । दुर्घटनापछि चालक  फरार रहेका छन् । जीपमा चालकसहित १० जना सवार रहेका थिए ।

तुइन खोलामा फेरि पहिरो, नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध

काठमाडौं । नारायणगढ मुग्लिन सडक खण्डको तुइन खोलामा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-५ स्थित तुइन खोलामा आज साँझ ७:३० बजेतिर माथिबाट लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार हाल पहिरो हटाउन आवश्यक मेसिनसहित प्राविधिकहरू पहिरोस्थलतर्फ गएका छन् । पहिरो गएसँगै दसैँका लागि घर हिँडेका यात्रु बाटोमै रोकिएका छन् । पहिरो पन्छाउन केही समय लाग्ने भन्दै लेन अनुशासन पालना गरी धैर्य गरेर बस्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ । यस ठाउँमा पटक पटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन् । 

नयाँ कुमारी आर्यतारालाई विधि पूर्वक कुमारी घर भित्र्याइयो

काठमाडौं । नवघोषित कुमारी आर्यतारा शाक्यलाई विधि पूर्वक कुमारी घरमा आसन गराइएको छ । आज आयोजित एक विशेष समारोहमा जीवित देवीका रुपमा सम्मान गरिने कुमारीलाई विशेष बाजागाजासहित पूजा गरी आसन गराइएको हो । विशेषगरी हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले पूजा गर्ने कुमारीले औपचारिक जिम्मेवारी ग्रहण गरेपछि अब राजकीय भूमिका सुरु भएको छ । इटुम्बहालकी अढाइ वर्षिया शाक्यले विभिन्न धार्मिक गतिविधिमा सहभागी भएर तलेजु भवानीको प्रतीकात्मक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइएको छ । ​​​​​​ कुमारी घर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यका अनुसार इन्द्र जात्रा, नवरात्री लगायत तोकिएका परम्परागत संस्कृतिमा कुमारीले सहभागिता जनाउने तथा सर्वसाधारणलाई तोकिएको समयमा दर्शन दिने कार्यसूची हुन्छ । वसन्तपुरस्थित कुमारी घरमा नियमानुसार कुमारीलाई आवश्यक सेवा तथा खानपान, आवासको प्रबन्ध गरिने प्रचलन छ । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ । कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकारवालासँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो । यसैबीच हालकी कुमारी तृष्णा शाक्यलाई पनि विशेष समारोहमा पूजाआजा गरी बिदाइ गरिएको छ । 

आश्विन शुक्ल अष्टमी: विधिपूर्वक गरियो महागौरी देवीको पूजा आराधना

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा भएपनि यस वर्ष चौथी तिथि वृद्धि भई नवदुर्गामध्येकी चौथो कुष्माण्डा देवीको दुई दिन पूजा भएको थियो । महागौरीको रङ पहिले केही कालो भएकाले भगवान शिवले देवीलाई ख्यालठट्टामा ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन् । त्यो शब्द भगवतीलाई मन परेनछ । तिनले अत्यन्त कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले उनलाई महागौरी भनिएको हो भन्ने विषय विभिन्न पुराणमा वर्णन गरिएको छ । सेतो वृषभमाथि चढ्ने गोरो वर्णकी श्वेतवस्त्र धारण गरेकी स्वरूपमा महागौरी हुन्छिन् भन्ने ती पुराणमा लेखिएको छ । दुर्गा पक्ष समेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन असोज ७ गते मङ्गलबार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन असोज ८ गते बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन असोज ९ गते बिहीबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन असोज १० गते शुक्रबार पनि चौथी तिथि वृद्धि भएकाले कुष्माण्डा देवीको पूजा आराधना गरिएको थियो । यस वर्षको नवरात्रको छैटौँ दिन असोज ११ गते शनिबार स्कन्दमाताको पूजा आराधना गरियो । सातौँ दिन असोज १२ गते आइतबार छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । आठौँ दिन असोज १३ गते सोमबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरियो ।  दुर्गा पक्षको नवौँ दिन आज असोज १४ गते महागौरी देवीको विशेष पूजा आराधना गरिएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसबीचमा मान्यजनका हातबाट टीका थाप्न जाने परम्परा पनि नेपाली समाजमा छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व भव्य रुपमा मनाउँछन् । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । महाअष्टमीका अवसरमा आज देशभरका शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको भीड लागेको छ । पशु बलि नदिनेले भने आज नरिवल, कुभिण्डो, काँक्रो, मुलालगायत बलि दिने गर्छन् ।

दसैंमा प्रहरीको २४सै घण्टा क्विक रेस्पोन्स टिम परिचालन, बैंकको लागि छुट्टै टोली

काठमाडौं । जिल्ला प्रहरी परिसर भक्तपुरले दसैँ लगायतका चाडपर्व लक्षित कडा सुरक्षा योजना सार्वजनिक गरेको छ । बडादसैँदेखि दीपावली तथा छठ पर्वसम्मका चाडपर्वलाई लक्षित गरी प्रहरी परिसर भक्तपुरले क्विक रेस्पोन्स टिम परिचालन गरेको हो । प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज रेग्मीले मुख्य बजार, चोक, संवेदनशिल क्षेत्र, मठमन्दिर, बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि बेग्लै टोली र कुनै पनि घटनाको जानकारी प्राप्त भएको १० मिनेटमा प्रहरी पुग्ने गरी टोली परिचालन गरिएको जानकारी दिए ।  प्रहरील कुनै पनि सार्वजनिक स्थान, सार्वजनिक सवारी साधन, निजी आवास, व्यापारिक स्थल, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, आर्थिक कारोबार हुने स्थानहरुमा मानिसहरुको चहल पहल एवं आर्थिक कारोबार बढ्ने र त्यस्ता स्थलहरुमा चोरी, डकैती, लुटपाट, पाकेटमारा, सामाजिक सञ्जालमार्फत हुने विविध ठगी, अवैध रुपमा हुने मादक पदार्थ विक्री वितरण, सेवन गर्ने, झै–झगडा, लागु औषध, अपहरण, चन्दा असुली, फिरौती माग, मानव बेचबिखन तथा ओसारपसार, जुवातास लगायतका अपराधहरु नियन्त्रण गर्न युनिट बनाएर प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।  वर्तमान परिस्थितिमा थप सुरक्षा चुनौती बढ्न गएको अवस्थालाई मध्यनजर गर्दै आम नागरिकहरुमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन २४सैं घण्टा जनस्तरसम्म सचेतना कार्यक्रम राखिएको उनको भनाइ छ । प्रहरी गस्ती, एम्बुसिङ, चेक प्वाइन्ट, पिकेट, सरप्राइज जाँचका लागि यस परिसर तथा मातहत प्रहरी इकाइमा उपलब्ध प्रहरी जनशक्ति तथा साधनस्रोतलाई उच्चतम प्रयोग एवं परिचालन गरी भरपर्दो तथा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ । प्रहरीले आफ्नो घर, टोल, छिमेकमा शंकास्पद गतिविधि भएको पाइएमा वा कुनै घटना भएमा तत्काल प्रहरीको १००, १०३ र जिल्ला प्रहरी परिसर भक्तपुरको सम्पर्क नम्बर ०१–६६१४७०८, ९८५१२८३०२०, ९८५१२९०९७६ मा तत्काल खबर गर्न अनुरोध समेत गरेको छ ।

रसुवागढीको मितेरी पुल निर्माणमा तीव्रता, तिहार भन्दा अगाडि सम्पन्न हुने

काठमाडौं । गत असार २४ गते रसुवाको ल्हेन्देखोलामा आएको बाढीले बगाएको मितेरी पुल निर्माणमा तीव्रता दिइएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार खोलाको पानीलाई ह्युमपाइपको सहायताले एकत्रित गरी चिनियाँ प्राविधिकले नेपाल तर्फको पिल्लर ठड्याउने काम गरिरहेका छन् । अहिलेकै गतिमा काम गरेमा तिहार भन्दा अगाडि पुल निर्माण हुने प्रजिअ पन्थीले बताए । त्यसैगरी पानीले जग खोतलेको अन्तर्राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने कुलुङखोला पुलको संरचना निर्माण यही असोज २५ गते भित्र सम्पन्न गर्ने लक्ष्य रहेको गल्छि-त्रिशुली मैलुङ-स्याफ्रुबेँसी– रसुवागढी सडक सुधार आयोजनाले जनाएको छ । निर्माण सामग्री ढुवानी भइसकेका कारण दसैँ लगत्तै बाँकी संरचना निर्माण सुरू गरिने उक्त सडक सुधार आयोजनाका इञ्जिनियर कुमार विक्रम पराजुलीले जानकारी दिए ।

तालिबानद्वारा अफगानिस्तानमा इन्टरनेट र मोबाइल सेवा बन्द

काठमाडौं । तालिबान अधिकारीहरूले फाइबर अप्टिक नेटवर्क बन्द गरेपछि अफगानिस्तानले मङ्गलबार लगातार दोस्रो दिन इन्टरनेट र मोबाइल फोन सेवा विहीन अवस्थामा बिताएको छ । तालिबानले महिनाको सुरुमा ‘भाइस’ रोक्ने भन्दै केही प्रान्तहरूमा उच्च गतिको इन्टरनेट जडान बन्द गर्न थालेको थियो । इन्टरनेट वाचडग संस्था नेटब्लक्सका अनुसार सोमबार रातिसम्म मोबाइल सिग्नल र इन्टरनेट सेवा क्रमशः कमजोर हुँदै गएर सामान्य स्तरको एक प्रतिशतभन्दा तल झरेको थियो । सन् २०२१ मा तालिबानले सत्तामा आएपछि पहिलोपटक देशभर यति ठूलो सञ्चार अवरोध भएको हो । ‘हामी फोन र इन्टरनेट बिना अन्धा झैँ छौँ,’ काबुलका ४२ वर्षीय पसल मालिक नजीबुल्लाहले भने, ‘हाम्रो व्यवसाय मोबाइलमै निर्भर छ । डेलिभरीहरू मोबाइलमार्फत हुने गर्दछन् । अहिले बजार पूर्ण रूपमा बन्द झैँ छ ।’ एक सरकारी अधिकारीले सोमबार बेलुकी एएफपीलाई फाइबर अप्टिक काटिएको र यसले मोबाइल सेवामा समेत असर गर्ने चेतावनी दिएका थिए । उनका अनुसार ‘आठदेखि नौ हजार दूरसञ्चार स्तम्भहरू’ बन्द हुनेछन् र ब्ल्याकआउट अर्को सूचना नभएसम्म कायम रहनेछ । ‘सञ्चार गर्ने कुनै वैकल्पिक प्रणाली छैन । यसले बैंकिङ, भन्सारदेखि सम्पूर्ण प्रशासनिक काममा असर पुर्याउनेछ,’ अधिकारीले नाम नखुलाई भने । नेटब्लक्सले पनि ब्ल्याकआउटलाई ‘जानाजानी गरिएको सेवाको विच्छेदन’ जस्तो देखिएको जनाएको छ । एएफपीले साँझ ५ः४५ बजे (१३१५ जिएमटी) राजधानी काबुलस्थित आफ्ना संवाददाताहरूसँग सम्पर्क गुमाएको थियो । विदेशमा रहेका अफगान नागरिकहरूले पनि परिवारसँग पूर्ण रूपमा सम्पर्क टुटेको बताउँदै चिन्ता व्यक्त गरेका छन् । टेलिफोन सेवाहरू प्रायः इन्टरनेटमार्फतै सञ्चालन हुने भएकाले विशेष गरी कमजोर दूरसञ्चार पूर्वाधार भएका मुलुकमा फाइबर लाइन काटिँदा सम्पूर्ण सञ्चार ठप्प हुने अवस्था आएको हो । पछिल्ला हप्तामा इन्टरनेट सेवा ढिलो र अनियमित भइरहेका थिए । सेप्टेम्बर १६ मा बल्ख प्रान्तका प्रवक्ता अत्ताउल्लाह जैदले तालिबान नेताको आदेशमा उत्तरी प्रान्तमा फाइबर अप्टिक इन्टरनेट पूर्ण प्रतिबन्धित गरिएको बताए ।  ‘यो कदम दुराचार रोक्न लिइएको हो, तर आवश्यक कनेक्टिभिटीका लागि वैकल्पिक विकल्प उपलब्ध गराइनेछ,’ उनले भने । त्यस समयमा एएफपीका संवाददाताहरूले उत्तरी बदख्सान र तखरदेखि दक्षिणका कान्दाहार, हेलमन्ड, नङ्गरहार र उरुजगानसम्म यस्तै प्रतिबन्ध लगाइएको पुष्टि गरेका थिए । सन् २०२४ मा काबुल सरकारले ९ हजार ३५० किलोमिटर लामो फाइबर अप्टिक नेटवर्कलाई राष्ट्रिय प्राथमिकतामा राखेको थियो, जसलाई अघिल्ला अमेरिकी समर्थित सरकारहरूले निर्माण गरेका थिए । यसले अफगानिस्तानलाई विश्वसँग नजिक ल्याउन र गरिबी घटाउन मद्दत गर्ने आशा गरिएको थियो ।

हुलाकी राजमार्ग निर्माणमा भारतीय एसएसबीको अवरोध

काठमाडौं । भारतीय अवरोधका कारण कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको कार्य अवरुद्ध भएको छ । बेलौरी नगरपालिका-८ पचुँइस्थित नेपाल-भारत सीमास्तम्भ नम्बर ३८ नजिक रहेको हुलाकी राजमार्ग सडक खण्डको करिब ७०० मिटर सडक आव २०७३/७४ मा ठेक्का भए पनि भारतीय अवरोधका कारण कार्य अगाडि बढ्न सकेको छैन । नगर प्रमुख पोतिलाल चौधरीका अनुसार भारतीय पक्षले इस्ट्रिप नक्साको आधार मान्दै सडक निर्माणको कार्यमा भारतीय सीमा सुरक्षा बल एसएसबीले निर्माणमा अवरोध पुर्याउँदै आएको छ ।  सीमा क्षेत्रभित्र पर्ने सडक भन्दै भारतीय पक्षले अवरोध गर्दै आएको उनले बताए । उनका अनुसार सडक खण्डको दक्षिणतर्फ ५० मिटरदेखि ३०० मिटरसम्म नेपाली जग्गाधनी पुर्जा भएको जमिन नेपालीले वर्षोंदेखि भोगचलन गर्दै आएका छन् ।  सडक निर्माणका लागि आवश्यक पहल गरिदिनका लागि प्रधानमन्त्रीलाई पत्रमार्फत अवगत गराइएको नगर प्रमुख चौधरीको भनाइ छ ।