विकासन्युज

बडादसैँको नवौँ दिनः आश्विन शुक्ल अष्टमी ‘महागौरी देवी’को पूजाआराधना गरिँदै

काठमाडौं । बडादसैँ एवं नवरात्रको नवौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौँ दिन पर्ने भए पनि यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवौँ दिन महागौरी देवीको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।   किंवदन्तीअनुसार महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान शिवले एकदिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन् । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा हुन्छिन् भनी पुराणलगायत विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँ घर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको हो । दोस्रो दिन असोज ७ गते मङ्गलबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन असोज ८ गते बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरियो । चौँथो दिन बिहीबार र पाँचौँ दिन शुक्रबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । पाँचौँ दिन पनि सूर्योदयकालमा चौथी तिथि वृद्धि भएकाले कुष्माण्डा देवीको पूजाआराधना गरिएको हो । यस वर्ष नवरात्रको छैटौँ दिन परेको आश्विन शुक्ल पञ्चमीका अवसरमा शनिबार स्कन्दमाताको पूजाआराधना गरिएको थियो । आश्विन शुक्ल षष्ठीका दिन आइतबार कात्यायनी देवी, आश्विन शुक्ल सप्तमीका दिन सोमबार कालरात्रि देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । यसै दिन दसैँघर वा पूजाकोठामा फूलपाती पनि भित्र्याइएको थियो । आश्विन शुक्ल अष्टमीका दिन आज महागौरी देवीको पूजाआराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस अवसरमा काठमाडौँ उपत्यका र बाहिरका शक्तिपीठमा भक्तजनको घुइँचो बढ्ने गरेको छ । नवरात्रको सातौँ दिन अर्थात् फूलपातीका दिनदेखि सार्वजनिक बिदा पनि दिइएकाले देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भीड बढ्ने गर्छ । यसै दिनदेखि बडादसैँको विशेष रौनक सुरु हुन्छ ।

मनसुनी वायु सक्रिय रहँदा देशभर वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी  भू-भाग तथा तराईका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना  छ । कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको  महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी, र बागमती र गण्डकी प्रदेशका  केही स्थानहरूमा र बाँकी भू-भागका मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

इन्डोनेसियाका राष्ट्रपतिको यो निर्देशनले रोकिँदैछ राज्यको ४५ ट्रिलियन घाटा

काठमाडौं । इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले अवैध टिन खानी बन्द गर्न निर्देशन दिएका छन् । सोमबार देशको प्रमुख टिन उत्पादन गर्ने क्षेत्र सुमात्रा टापुको बङ्गका बेलितुङ प्रान्तमा करिब १ हजार अवैध टिन खानी बन्द गर्न आदेश दिएका हुन् ।  राष्ट्रपति प्रबोवोको यो कदमले २०२६ सम्ममा ४५ ट्रिलियन (लगभग २.८ बिलियन अमेरिकी डलर) सम्मको राज्यको घाटा रोक्ने अनुमान गरिएको छ । ‘बङ्गका बेलितुङबाट हुने टिन उत्पादनको करिब ८० प्रतिशत साना डुङ्गादेखि यात्रु डुङ्गासम्म विभिन्न च्यानल मार्फत विदेशमा तस्करी भइरहेको छ,’ राष्ट्रपति प्रबोवोले भने । सबै तस्करी मार्गहरू हाललाई बन्द गरिएको बताउदै तस्करीको लागी कुनै बाटो नरहेको र डुङ्गाबाट तस्करी गर्न नसक्ने व्यवस्था मिलाएको उनको भनाइ छ ।  अवैध उत्खननलाई रोक्न र राज्यको राजस्वलाई सुदृढ पार्ने आफ्नो प्रशासनको दृढतालाई उल्लेख गदै प्रबोवोले खनिजहरू पहिचान गर्न मद्दत गर्न रसायन शास्त्री भर्ती गर्न भन्सार महानिर्देशनालयलाई निर्देशन दिए ।

घटस्थापनादेखि आजसम्म ४ लाख ६७ हजारले छाडे उपत्यका, साढे २ लाख काठमाडौं भित्रिए

काठमाडौं । पछिल्लो २४ घण्टामा १ लाख ११ हजारभन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । दसैँ मनाउनका लागि १ लाख ११ हजार ६३९ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । असोज ६ गते घटस्थापनादेखि आज फूलपातीसम्म ८३ हजार ८७ सवारीसाधनबाट कम्तीमा ४ लाख ६७ हजार ९७७ जना काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट बाहिरिएका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।  यसैगरी घटस्थापनादेखि फूलपातीसम्म ६१ हजार ७८१ सवारीसाधनमा कम्तीमा २ लाख ५२ हजार ७५५ जना काठमाडौं उपत्यका भित्रिएका प्रहरीले जनाएको छ । दसैँको चहलपहल सुरुभएसँगै गाउँ फर्किने नागरिकको सङ्ख्या बढ्न थालेका कारण काठमाडौं उपत्यकाभन्दा बाहिरी राजमार्गमा सवारीसाधनको चाप बढ्दै गएको प्रवक्ता सुवेदीले बताए । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट १८ हजार ६१३ सवारीसाधन बाहिरिएका छन् भने १३ हजार ९२९ सवारीसाधन र ६१ हजार ८२२ यात्रु काठमाडौं भित्रिएका ट्राफिक प्रहरीले जनाएको छ ।

कर्णाली डेभलपमेन्ट बैंक सुधारका लागि ५ सुझाव पेस, मर्जरमा जाने कि पुँजी थप्ने ?

काठमाडौं । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको सुधारका लागि विभिन्न सुझावहरु पेस भएका छन् । सञ्जय चौधरी एण्ड एसोशिएट नामक अडिट फर्मले टिका खतिवडाको संयोजकत्वमा बनेको बैंक व्यवस्थापन समितिलाई ड्यु डिलिजेन्स अडिट रिपोर्ट बुझाउँदै विभिन्न सुझावहरु दिएको हो । समितिले सो अडिट रिपोर्ट राष्ट्र बैंक समक्ष पेस गरिसकेको छ ।  समितिले असुल नहुने ऋणहरू तत्काल असुल गर्न पहल गर्नका लागि ऋण असुल रणनीति बनाउनु पर्ने सुझाव दिएको छ भने शेयरधारक वा बाह्य लगानीकर्ताबाट पूँजी प्रवाहका विकल्पहरू खोजिनुपर्ने सुझाव राष्ट्र बैंक समक्ष राखेको छ ।  वर्तमान वित्तीय सङ्कटका कारण बलियो संस्थासँग रणनीतिक विलय तथा मर्जरको सम्भावित समाधान हुन सक्ने सुझाव समितिको छ । खर्च न्यूनिकरण र सुशासन सुधार वित्तीय स्थिरताका लागि आवश्यक रहेको र नेपाल राष्ट्र बैंकसँग सक्रिय छलफल गरी सम्भावित राहत उपाय वा चरणबद्ध अनुपालन रणनीतिहरू अगाडि बढाउनु पर्ने सुझाव लेखापरीक्षकले दिएको छ ।  २०८१ सालको पौष मसान्तसम्मको वित्तीय विवरणअनुसार बैंकको खुद सम्पत्ति १ अर्ब ९० करोड ७३ लाख १७ हजार रुपैयाँ नोक्सानीमा रहेको रिपोर्टमा उल्लेख छ । आवश्यक समायोजन र यथोचित मूल्याङ्कनपछि, खुद सम्पत्ति झन् बिग्रँदै २ अर्ब ४६ करोड ७७ लाख ४४ हजार नोक्सानीमा रहेको उल्लेख छ । यसले गम्भीर वित्तीय सङ्कट देखाएको निश्कर्ष छ ।  प्रतिवेदनका अनुसार बैंकको पुँजी पर्याप्तता अनुपात ९३.६५ नोक्सानीमा झरेको छ, जुन विकास बैंकका लागि आवश्यक ११ प्रतिशतभन्दा निकै कम हो ।  प्रतिवेदनमा ऋण दुरुपयोग, अनधिकृत वितरण र धितोको नक्कली मूल्याङ्कनका उल्लेख्य घटना फेला परेको उल्लेख छ । असुल नहुने वा डुबेको ऋणका लागि थप ४३ करोड १५ लाख २३ हजार रुपैयाँ बराबरको लोन लस प्रोभिजन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।  धितोको मूल्याङ्कनका आधारमा (सरकारी मूल्याङ्कनमा ३० प्रतिशशत% र बजार मूल्याङ्कनमा ७० प्रतिशत वजन) कुल बाँकी रकमको करिब ५९ प्रतिशत मात्र असुल गर्न सकिने अनुमान प्रतिवेदनमा गरिएको छ । समितिको प्रतिवेदनले १ अर्ब ५० करोड २२ लाख ६७ हजार रुपैयाँ बराबरको हिनामिना तथा अनधिकृत कारोबार पहिचान भएको देखाएको छ, जसले बैंकको वित्तीय स्थितिमा ठूलो असर पारेको उल्लेख छ । अन्तर–बैंक कारोबारमा एक करोड रुपैयाँ बराबरको शंकास्पद कारोबार तथा  हिनामिनाको पहिचान भएको प्रतिवेदनमा उल्लेख छ । गैर–बैंकिङ सम्पत्ति र पुनर्मूल्याङ्कन लाभ समेतलाई खुद सम्पत्तिको अनुमानमा समावेश गरिएको उल्लेख गर्दै बैंकले आ.व. २०७७/७८ देखि अहिलेसम्म वार्षिक साधारण सभा आयोजना नगरेको पनि प्रतिवेदनमा भनिएको छ ।  ‘धितोपत्र बोर्ड नेपालमा प्रतिवेदन पेश गरेको छैन, र कर विवरण समयमै बुझाएको छैन, यसका कारण करिब ४१ लाख ५७ हजार रुपैयाँ बराबरको जरिवाना हुने अनुमान छ,’ प्रतिवेदनमा भनिएको छ ।  नकारात्मक खुद सम्पत्ति, गम्भीर पुँजी अभाव, नियामक मापदण्ड उल्लङ्घन, र उच्च स्तरको असुल नहुने सम्पत्तिका कारण कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले अविराम सञ्चालनमा गम्भीर जोखिम सामना गरिरहेको प्रतिवेदनमा उल्लेख छ । वित्तीय स्थिरता पुनःस्थापना गर्न तत्काल पूँजी प्रवाह, सम्पत्ति असुली, आक्रामक ऋण असुल रणनीति, र सम्भावित विलय÷अधिग्रहण जस्ता उपाय खोजिनु जरुरी रहेको समितिको ठहर छ । 

दसैँले बजारमा भीडभाड, चहलपहल अनुसार छैन व्यापार

काठमाडौं । बडादसैँको चहलपहलसँगै चितवनका बजार चलायमान भएका छन् । चितवनको नारायणगढ बजारमा किनमेल गर्नेहरूको धेरै भीड देखिन्छ । दसैँको समयमा विशेषगरी कपडा, जुत्ता चप्पल, खाद्यान्न, भाँडाकुँडा, सुन चाँदीलगायत पसलमा बढी भिड देख्न सकिन्छ । यहाँको मिलनरोड, सहिद चोक, कमलनगर, पुतलीबजार, लायन्स चोकलगायत स्थानमा भीडभाड बढेको छ । दसैँमा गाउँघर जानेहरू आवश्यक सामान किन्न र बाहिरबाट आएकाहरूको उपस्थितिले चहलपहल हुने गर्छ । नारायणगढ बजारमा बिहानैदेखि साँझ अबेरसम्म भीडभाड हुने गरेको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमन श्रेष्ठले बताए । बजारमा चहलपहल बढे पनि अपेक्षाकृत व्यापार भने हुन नसकेको उनले बताए ।  नारायणगढ बजारमा घटस्थापनापछि भीडभाड र चहलपहल बढेको फेन्सी व्यवसायी सङ्घ चितवनका अध्यक्ष रामप्रसाद पौडेलले बताए ।  ‘दसैँ नजिकिएसँगै बजारमा निकै भीड बढेको छ । पछिल्लो समय देशमा भएको राजनीति घटनाक्रम र आन्दोलनका कारण चहलपहलअनुसार व्यापार भने छैन,’ उनले भने ।  पछिल्लो समय सुनचाँदी क्षेत्रमा व्यापार बढ्न सकेको छैन । मूल्य निरन्तर बढेपछि विगतमा जस्तो सुनचाँदीको व्यापार नभएको व्यवसायी बताउँछन् । न्यू लोकमान एण्ड सन्सका सञ्चालक ज्ञानेन्द्रमान शाक्य यो क्षेत्र विदेशमा रहेकाहरूले यहाँ आएर विवाह गर्ने र सुनचाँदी किन्ने भएकाले केही राहत मिलेको बताउँछन् ।  ‘विगतमा जस्तो सुनचाँदी किन्नेहरू छैनन् । पुराना सुन ल्याउने र नयाँ बनाएर लैजानेको सङ्ख्या बढी छ । मूल्य बढ्ने आशमा पुराना सुन बिक्री गर्नेहरू भने घटेका छन्,’ उनले भने, ‘विगतको जस्तो व्यापार नभए पनि चाडपर्व भएका कारण अरु समयको भन्दा बढी चहलपहल छ ।’

ह्वाइट हाउसमा हुने गाजा शान्ति वार्तामा नेतान्याहुलाई दबाब दिने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सोमबार ह्वाइट हाउसमा गाजा शान्ति सम्झौता गर्ने उद्देश्यले उच्चस्तरीय वार्ताका लागि स्वागत गर्ने कार्यक्रम तय भएको छ । गत हप्ता अरब र मुस्लिम नेताहरूसँगको वार्ता पछि युद्ध अन्त्य गर्ने, बन्धक मुक्त गर्ने र प्यालेस्टिनी उग्रवादीहरूलाई निशस्त्र बनाउने सम्झौता प्रभावकारी रूपमा सम्पन्न भएको ट्रम्पले बताएका छन् । द टाइम्स अफ इजरायल र अमेरिकी समाचार वेबसाइट एक्सियोसका अनुसार ट्रम्पको योजनाले तत्काल युद्ध विराम,  इजरायली सेनाको फिर्ती र बन्धकहरूलाई ४८ घण्टा भित्र रिहा गर्न आह्वान गरिएको छ । त्यस पछि इजरायलले १ हजार भन्दा बढी प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने तयारी गरेको जनाइएको छ । तथापि, नेतान्याहू भने गाजा सहरमा इजरायली सैन्य आक्रमण रोक्न तयार नभएको जनाइएको छ ।   गत जनवरीमा ट्रम्पको शासनकाल सुरु भए पछि नेतान्याहुको यो चौथो ह्वाइट हाउस भ्रमण हो । गाजामा बन्दी बनाइएका इजरायली बन्धकहरूका परिवारले ट्रम्पलाई आफ्नो गाजा प्रस्तावलाई समर्थन गर्न खुला पत्र मार्फत आग्रह गरेका छन् । विज्ञहरुले नेतान्याहुको युद्ध जारी राख्ने र हमासलाई पराजित गर्ने स्पष्ट प्राथमिकतामा ट्रम्पले कति टाढासम्म धकेल्न सक्नुहुन्छ भन्ने विषयमा निर्भर हुने  बताएका छन् । यसका लागि ट्रम्पको पेचिलो दबाब र स्पष्ट तथा दिगो रणनीति चाहिने उनीहरुको दाबी रहेको छ । ​​​​​​​​​​​​गाजाका नागरिकरुहरुले भने भने ह्वाइट हाउस बैठक अघि आशा, थकान र अविश्वास व्यक्त गरेका छन् । 

खुल्यो नारायणगढ-मुग्लिन सडक

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डको तुईन खोलामा आज खसेको सुक्खा पहिरो पन्छाइएको छ । अपरान्ह १२ बजे पहिरो खसेपछि दिनभर सडक अवरुद्ध भएको थियो । अहिले साँझ ६ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।