डार्क दशैं, स्याड पानु
डार्क अर्थात् पुरै अँध्यारो पृष्ठभूमि । थचक्क भूँईमा थच्चिएको बालक । दुई घुँडामा दुई हात राखेर घोप्टिएको अवस्था । आँखाबाट झरेको आँशुको थोप्ला प्रष्ट गालामा देखिन्छ । ऊ एक्लो छ । बत्तिको उज्यालोले कालो पन्छाउने प्रयास गरेको छ । बालकले आँखा टुलुक्क हेरेको छ । ‘दशैं २०८२’ शब्दमा यत्ति लेखिएको छ । त्यही फोटो पोष्ट गरे भाटभटेनीका सीओओ पानु पौडेलले फूलपातीका दिन । १५ दिने दशैंको मध्यान्तरमा । विगत १८ वर्षदेखि भाटभटेनीमा आवद्ध पौडेल भाटभटेनीका वरिष्ठतम् कर्मचारी हुन् । उनले 'दशैं २०८२' को डार्क फोटोसँगै 'स्याड स्ट्याटस' पनि राखेका छन् । ‘हर्ष, उमंग र खुसीको पर्व दशैं, तर २०८२ को यस क्षणमा हामीले कहिल्यै नसोचेको पीडा र अन्धकारको सामना गरिरहनु परेको छ । भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा भाटभटेनीका अधिकांश स्टोरहरू तोडफोडमा परे र १२ वटा स्टोरहरू जलेर पूर्ण रूपमा नष्ट भए । यो कुनै सामान्य घटना होइन । यो आतंककारी शैलीमा गरिएको कार्यले हामी सबैमा गहिरो आघात पुर्याएको छ,' पानुले लेखेका छन् । भदौ २४ गते जेनजी आन्दोलनकर्ताहरूले काठमाडौंसहित देशभर भएका आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको भाटभटेनीले जनाएको छ । 'हामी र हाम्रो टिमलाई त्यसदिनको घटनाले निकै दु:खी तुल्याएको छ । हाम्रो मनमा उमंगको पर्वले पनि खुसी दिन सकिरहेको छैन । मनमा गहिरो स्तब्धता लुकेको छ । दशैंजस्तो सबैभन्दा ठूलो चाड नजिकिँदै गर्दा, हाम्रा कर्मचारीहरू उत्सव मनाउने कुनै मनोवृत्तिमा छैनन् । डर र अन्यायको अनुभूति उनीहरूको मुहारमा स्पष्ट देखिन्छ' पानुले लेखेका छन् । पानुलाई जस्तै यस पटक भाटभटेनीमा आवद्ध झण्डै १० हजार कर्मचारीको मन कुँडिएको छ । भलै भाटभटेनीको प्रबन्ध निर्देशन मिनबहादुर गुरुङले यस पीडाको क्षणमा पनि कर्मचारी नहटाउने र तलब सुविधा पनि कटौती नगर्ने प्रतिवद्धता जनाएका छन् । भाटभटेनीका सीओओ पानु पौडेल लेख्छन्, 'हाम्रो संरचना मात्र होइन, मनोबल पनि भत्काइएको छ । तर, हामी आशा गुमाउँदैनौं । हामी फेरि उठ्नेछौं-अझ मजबुद भएर, अझ एकतामा बाँधिएर । यो अन्धकारका पछाडि उज्यालो पक्कै आउनेछ ।’ ध्वस्त भएका १२ वटा स्टोर बन्द भएपनि १६ वटा स्टोरहरु नियमित सञ्चालनमा आएको भाटभटेनीले जनाएको छ । खुलेका भाटभटेनीहरुमा भने ग्राहकहरुको चाप उच्च रहेको पाइएको छ । ध्वस्त भएका १२ सुपरमार्केट पनि छिट्टै सञ्चालनमा ल्याउने प्रबन्ध निर्देशन गुरुङले बताएका छन् ।
चीनका पूर्व कृषि मन्त्रीलाई घुसकाण्डमा मृत्युदण्डको फैसला
काठमाडौं । चीनका पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई भ्रष्टाचार आरोपमा आइतबार दुई वर्षको स्थगनसहित मृत्युदण्डको सजाय सुनाइएको छ । यस बारेको जानकारी उत्तर पूर्वी जिलिन प्रान्तस्थित चाङ्चुन जन अदालतले एक विज्ञप्तिमार्फत् सार्वजनिक गरेको हो । अदालतका अनुसार ताङले सन् २००७ देखि २०२४ सम्म करिब २ अर्ब ६८ करोड युआन (अन्दाजी ३ करोड ८० लाख अमेरिकी डलर) बराबरको नगद र सम्पत्ति घुसस्वरुप लिएको प्रमाणित भएको छ । फैसलामा भनिएको छ, ‘यस घुस काण्डले राज्य र जनताको हितमा अत्यन्त गम्भीर क्षति पुर्याएको छ, त्यसैले मृत्युदण्डको सजाय आवश्यक ठहरिन्छ ।’ अदालतले भने पनि ताङले आफ्नो अपराध स्वीकार गरी पश्चाताप देखाएकाले सजायलाई दुई वर्षका लागि स्थगित गरिएको हो । यो फैसला राष्ट्रपति सी जिनपिङको व्यापक भ्रष्टाचारविरोधी अभियानअन्तर्गतको पछिल्लो कदम हो । सो अभियानका समर्थकहरूले यसले स्वच्छ शासनलाई सबल बनाएको बताउँछन् भने आलोचकहरूले यसलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने माध्यमका रूपमा व्याख्या गर्ने गरेका छन्। ताङ रेन्जियानले यसअघि गान्सु प्रान्तका गभर्नर र दक्षिणी स्वायत्त क्षेत्र गुआङ्सीका उपाध्यक्षका रूपमा समेत सेवा गरेका थिए । उनको पतन हालैका वर्षमा भ्रष्टाचार अनुसन्धानमा परेका अन्य वरिष्ठ अधिकारी पूर्व रक्षा मन्त्री ली साङ्फु र वेइ फेङ्घेसँगै जोडिएको मानिन्छ । लीलाई पदभार ग्रहण गरेको ७ महिनामै हटाइएको थियो र पछि घुसखोरी लगायतका अपराधका कारण चिनियाँ कम्युनिष्ट पार्टीबाट निष्कासन गरिएको राज्य सञ्चारमाध्यमहरूले जनाएका थिए । अहिले उनका उत्तराधिकारी डोङ जुन पनि भ्रष्टाचारको आरोपमा अनुसन्धानमा परेका छन् ।
प्रधानमन्त्रीको सचिवालयमा ३ सल्लाहकार नियुक्त, को हुन् खनाल, श्रेष्ठ र तिमिल्सिना ?
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्ति गरेकी छिन् । प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् । खनाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्व सम्पादक हुन् । त्यसैगरी प्रधानमन्त्रीको सल्लाहकार तथा प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठ नियुक्त भएका छन् । समाजशास्त्रमा स्नातकोत्तर श्रेष्ठ कानुन सङ्कायमा स्नातकोत्तर अध्ययनरत छन् । नेपालको न्यायपालिकामा लामो समय काम गरेका श्रेष्ठले लगातार तीन जना प्रधान न्यायाधीशहरू रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीको निजी सहायक भएर काम गरेका थिए । प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमिल्सिना नियुक्त भएका छन् । तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन् । सो संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा खोलिएको संस्था हो ।
चर्खेपिङ संरक्षण गर्दै गाउँले
काठमाडौं । चर्खेपिङ लोप हुँदै गएपछि बागलुङ नगरपालिका-९ सिगानाका स्थानीयले संरक्षण सुरु गरेका छन् । स्थानीय राज जिसीले गत वर्षदेखि आफ्नै लगानीमा चर्खेपिङ निर्माण गरेका छन् । बढ्दो बसाइसराइँका कारण गाउँमा जनशक्ति अभाव हुँदा राख्न छाडिएको पिङ यहाँ १३ वर्षपछि हाल्न थालिएको हो । पहिले पहिले यहाँ एउटै गाउँमा तीनदेखि चार वटा चर्खेपिङ हाल्ने गरिन्थ्यो । जिसिले एउटा चर्खेपिङ निर्माण गर्न व्यक्तिगत ४० हजार रुपैयाँ लगानी गरेको बताए । ‘पोहोरकै सामाग्रीहरु जडान गरेर यसपालि पनि पिङ हालिएको छ । पछिल्लो समय देखिनै छाडेको चर्खेपिङ संरक्षण गर्नु सबैको दायित्व हो,’ उनले भने । विगत चार वर्षदेखि बागलुङ नगरपालिका-५ साँझखोलाको सुनाखरी सामुदायिक वन र स्थानीय युवाहरुको स्थानीयहरुले पनि चर्खेपिङ हाल्न थालेको स्थानीय जुना न्यूरेले बताए । ११ वर्ष अघि मालिकाको पञ्चासेमा चर्खेपिङ हालिएको र तीन वर्ष यता साँझखोलामा संरक्षणका लागि चर्खेपिङ हालिएको न्यूरेले बताए । दसैँमा भूँइ छाड्नुपर्छ भन्ने परम्परागत मान्यता छ । दसैँ तिहारमा चर्खेपिङ, रोटेपिङ र लिङ्गे पिङ हाल्ने चलन छ । ‘यहाँ लिङ्गे पिङ नै थियो, गत वर्ष सामुदायिक वनको सक्रियतामा परम्परा संरक्षण गर्न चर्खेपिङ हाल्ने निर्णय गरेर लिङ्गेपिङको सट्टा चर्खेपिङ हालियो,’ न्यूरेले भने, ‘१० वर्ष पहिला मालिकाको पन्चासेमा दुई वर्ष मात्रै चर्खे पिङ हालिएको थियो, त्यस यता चर्खे पिङ थिएन, गत वर्षबाट साझोखोलामा चर्खेपिङ हाल्न थालिएको हो ।’ न्यूरेका अनुसार चर्खेपिङ महङ्गो हुने भएकाले सुनाखरी सामुदायिक वन उपभोक्ता समिति मार्फत काठ लिएर २० हजार रुपैयाँ खर्चेर पिङ तयार गरिएको हो । बागलुङ नगरपालिका–८ सिगानाको सायकोट गाउँमा दशैं तिहारमा चर्खे पिङ नहालेको १० वर्ष पुग्यो । दुई दशकअघि गाउँ-गाउँमा अनिवार्यजसो चर्खेपिङ बनाइने गरे पनि अहिले चर्खे पिङ देखिनै छाडेको बागलुङ बजारका स्थानीय काजी गाउँले श्रेष्ठले बताए । ‘कतिपयले संस्कृतिको संरक्षणका लागि गाउँमा चर्खेपिङ बनाउनुभएको छ, तर अहिले गाउँनै पिच्छे चर्खेपिङ देख्न पाइँदैन,’ उनले भने, ‘अब स्थानीय तहले चर्खेपिङ संरक्षण नगरे अबको पाँच वर्षपछि चर्खेपिङ हैन लिङ्गे पिङ समेत हराउँछ ।’
अर्थमन्त्री खनालले गरे ३ हजार ८ सय गुनासो सम्बोधन
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विभिन्न माध्यमबाट आएका सयौं गुनासाहरूको सम्बोधन भएको बताएका छन् । खनालले आफू अर्थमन्त्री बनेपछि ह्वाट्सएप, इमेल लगायत माध्यमबाट प्राप्त ३ हजार ८ सय गुनासाहरुको सम्बोधन भएको जानकारी दिएका हुन् । उनका अनुसार २ हजार २ सय ह्वाट्सएप सन्देश, १ हजार ५ सयभन्दा बढी टेक्स्ट सन्देश र केही १२१ ईमेलबाट प्राप्त गुनासाको प्रतिक्रिया दिइएको छ । अझै केही गुनासा बाँकी रहेकाले दसैँको टिका अगाडि नै सक्ने लक्ष्य रहेको उनको भनाइ छ । अर्थ मन्त्रालय मातहतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नुपर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यको लागि दवाब दिएको एवम् घुस तथा रिसवत माग गरेको लगायतका कुनै पनि प्रकारको अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाई सिर्जना भएको अवस्थामा आफूलाई गुनासो गर्न उनले आग्रह गरेका छन् ।
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा सोमबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । उक्त समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टर र ड्रोनबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । सो अवसरमा दुर्गा बन्दना प्रस्तुत गरिएको थियो । फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगणलगायत विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगको प्रमुख तथा प्रतिनिधि सहभागी थिए । बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ । सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर नागरिकहरूको बाक्लो उपस्थिति थियो ।
दलहरू निर्वाचनमा जाँदैनन्, मुलुक बहुपक्षीय द्वन्द्वमा फस्दैछ : घनश्याम भुसाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले शीर्ष नेताहरू नेतृत्वमा रहिरहन बहानाबाजी गर्न थालेको आरोप लगाएका छन् । जेनजी आन्दोलनको माग नेतृत्व परिवर्तन भए पनि संकटको बेला नेतृत्वलाई जोगाउनुपर्ने भन्दै पुराना नेताहरूले कार्यकर्ताको भावना दोहन गर्न थालेको उनले बताए । महासचिव भुसालका अनुसार मुलुकलाई संकटमा पुर्याउने शक्तिहरू नै अहिले आफूलाई बचाउन भाष्य खडा गरिरहेका छन् । 'वास्तवमा यो सारा संकट तिनीहरूले नै ल्याएका हुन्, मुलुकलाई आज यहाँ डुबाउने यिनीहरू नै हुन्,' उनले भने । भुसालले दलका नेताहरू पुनः सत्तामा रहन बहानाबाजी गर्न थालेको दाबी गर्दै यस्तो परिपाटीले दलहरूलाई जनतासामु लैजानै नसक्ने बताए । उनका अनुसार आगामी निर्वाचन गराउन नसक्दा मुलुक अर्कै दिशामा जानेछ । 'चुनावअघि नै संविधान संशोधन गर्नुपर्छ भन्ने शक्तिहरू सक्रिय छन्। प्रत्यक्ष कार्यकारी राष्ट्रपति लगायत पपुलिस्ट नाराहरू उठाउँदैछन्,' भुसालले भने, 'समाजका पुराना, परम्परागत र राष्ट्रवादी भनिने शक्तिहरूले पनि संविधानविरुद्ध गतिविधि गर्ने संकेत देखिएका छन् ।' अर्थतन्त्रमा ठूलो धक्का लागिसकेको उल्लेख गर्दै उनले यस्ता गतिविधिले मुलुकलाई बहुपक्षीय द्वन्द्वमा फसाउने चेतावनी दिए ।
पाथीभरा क्षेत्रमा मदिरा निषेध
फुङ्लिङ । पाथीभरा क्षेत्रमा मदिराको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सोमबार एक सूचना जारी गर्दै मदिरा बिक्री र सेवनमा रोक लगाएको हो । समितिले फेदी, बलुडाँडा, काफ्लेपाटीलगायत स्थानमा रहेका होटल तथा व्यवसायीलाई मदिरा बिक्री नगर्न आग्रह गरेको छ । साथै समितिले मदिरा बिक्री वा सेवन गरेर धार्मिकस्थलको वातावरण प्रदूषित गर्नेहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ ।