विकासन्युज

गृहमन्त्रीलाई ध्रुब थापाको खुलापत्र

जेनजी आन्दोलनको जगमा भर्खर सरकार बनेको छ । अहिले यहाँहरूलाई भ्याइनभ्याइ होला, अतः यो दसैँको मुखमा यहाँलाई भेटेर आफ्ना कुरा राख्नुभन्दा पनि सबैलाई जानकारी हुने गरी सामाजिक सञ्जाल मार्फत यो खुलापत्र प्रेसित गरेको छु । अहिले यहाँहरू सरकारमा हुनुहुन्छ । तपाईँ कानुनको विद्यार्थी, यहाँलाई विधितै होला, कानुनी राज भएको हरेक देशमा सरकारको पहिलो कर्तव्य आफ्ना नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै देशमा अमन चयन बहाल गर्नु हुन जान्छ । तर, सरकार बनेको यतिका दिन बितिसक्दा पनि हामी नागरिकले यस्तो महसुस गर्न सकेका छैनौँ । किनकि आजका दिनसम्म न त त्यो आन्दोलनमा सहादत प्राप्त गर्नेहरूले न्याय पाउन सकेका छन् न त घाइतेहरूले, न त हामी जस्ता निर्दोष घरपरिवार, जसले आन्दोलनको नाउँमा आफ्नो श्री सम्पत्ति मात्र नभएर मानवीय क्षति समेत गुमाउनुपरेको छ । गृहमन्त्रीज्यू, म र मेरो परिवार न त हामी कुनै सक्रिय राजनीतिमा संलग्न छौं न त कुनै त्यस्तो अवैध व्यापार गरेर धन कमाएका थियौँ । जेनजी उमेर (१७ वर्ष को हुँदा) देखि नै अथक मेहनत र परिश्रम गर्दै आयआर्जनमा इमान्दारिताका साथ सरकारलाई कर बुझाएर व्यवसाय गर्दै आएको थिएँ । तर, दुर्भाग्य यो आन्दोलनमा पोखरा स्थित मेरो आवास तथा व्यवसायमा पनि आगजनी, तोडफोड तथा लुटपाट गरि सम्पूर्ण रूपमा क्षति पु¥याइएको छ । साथै, मेरो घरमा काम गर्ने एकजना निर्दोष महिलालाई समेत जानाजान घरभित्रै थुनेर जिउँदै जलाएर हत्या गरिएको छ । देशमा बढ्दो भ्रष्टाचार र कुशासनबाट हामी पनि वाक्क दिक्क भएका थियौँ । त्यसैले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनप्रति हाम्रो पनि ऐक्यबद्धता थियो । तर, यो आन्दोलनले यो खालको विध्वंश तथा मानवीय क्षति ल्याउला भनेर कसैले कल्पना पनि गरेका थिएनौँ ।  जे नहुनु थियो, त्यो भइसक्यो । अब यो अवस्थामा राज्यको भूमिका महत्वपूर्ण हुन जान्छ । यस्तो विध्वंश मच्चाउन कसले योजना बनायो, को–को परिचालित थिए र ती अपराधीहरू कानुनी दायरामा कहिले आउँछन् भन्ने प्रश्न हामी पीडित पक्षबाट यहाँ समक्ष राख्न चाहन्छौं । आन्दोलन आयोजक जेनजीले आन्दोलनको आयोजना हामीले गरेपनि आगजनी तोडफोड जस्ता विध्वंश कार्यहरू हामीले गरेका होइनौ भनिसकेका छन् । यो कुरा सरकारमा बस्ने तपाईँहरूले पनि स्वीकार गर्नुभएको छ । यो कुरा हामी पनि जान्छौं । यसका लागि यथेष्ट सबूत प्रमाणहरू हामीसँग छन् पनि । जेन् जी समूहले यो विध्वंश,आतङ्क तथा हत्या गरेका होइनन् भन्ने कुराको लगभग निश्चित भइसकेको छ ।  यति कुराको जानकारी हुँदाहुँदै पनि ती घुसपैठ गरी देशमा आतंक मच्चाउनेहरूलाई सरकारले किन संरक्षण दिन खोजेको हो ? राष्ट्रिय तथा हाम्रो निजी सम्पत्तिहरू खरानी बनाउने, प्रहरीहरूलाई जिउँदै कुटीकुटी मार्ने हत्याराहरू समाजमा खुलमखुला हिँडिरहेको देख्दा हामी अहिले पनि आतङ्कित भइरहेका छौं । त्यसैले यस्ता मान्छेहरूहरूलाई तत्काल कानुनी दायरा भित्र ल्याउनु वर्तमान सरकारको दायित्व होइन र ? धेरै दिनदेखि हामी आफूसँग भएका सबुत प्रमाणहरू सहित जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिन धाइरहेका छौँ । तर, माथिबाट आदेश आएको छैन भन्दै उजुरी दर्ता गर्न मानिएको छैन । कानुनी राज्यको उपहास यहाँ भन्दा बढी अरु के हुनसक्छ र ! मान्छेलाई घरभित्र जिउँदै जलाएर मार्ने नरपिचा्सहरूलाई समाजमा खुलमखुल्ला नै छोडिदिने हो गृहमन्त्रीज्यू ? अहिले फेरि गृहमन्त्रीज्यू स्वयंले यो आन्दोलन सम्बन्धमा जाँचबुझ आयोग गठन भएको र कारबाही प्रक्रिया पनि सोही आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै भदौ २३ र २४ गतेका घटनाका दोषीहरूलाई कारबाही गर्न रोक लगाउनुभएको भने जानकारीमा आएको छ । त्यो जाँचबुझ आयोगका सदस्यहरू पीडितहरूको घरघरमा आएर छानबिन गर्ने हुन् वा माथिबाटै छानबिन हुने हो ? नेपालमा जाँचबुझ आयोग गठन गर्नुको अर्थ, तत्काल जनताको आवेगलाई शान्त पार्न ति मागहरुलाई सम्बोधन गरेजस्तो गर्ने तर तिनीहरूलाई केही कारबाही नगरी उन्मुक्ति दिनु भन्ने मनसाय नै हो, भन्ने बुझिन्छ किनकि नेपालमा विगतमा जे जति जाँचबुझ आयोग गठन भएको थिए ति आयोगहरूले गरेका सिफारिसका आधारमा आजसम्म कुनै कारबाही गरिएको रेकर्ड छैन् ।  अनि गृहमन्त्रीज्यूलाई जानकारी नभएर हो कि के हो, कुनै पनि घटनामा प्रमाण पुगेका अपराधीहरूलाई कारबाही गर्न किन जाँचबुझ आयोग चाहिन्छ र ? तिनीहरूलाई कानुनी दायरामा ल्याउन हाल भइरहेको कानुन नै पर्याप्त छैन र ? छानबिन गर्न त जसको प्रमाण पुगेको छैन, जसलाई अनुसन्धान गरेर मात्र पत्ता लगाउनुपर्छ त्यस्ता घटनामा छानबिन आयोग गठन गर्नु स्वाभाविक हो। विगतदेखि नै नेपालमा आयोग गठनको बहाना बनाउने तर घटनामा संलग्न अपराधीलाई कारबाही नगर्ने प्रवृत्तिले यो देशमा दण्डहिनता मौलाउँदै गएको छ र यस्ता आपराधिक प्रवृत्तिलाई प्रोत्साहन गर्दै जाने हो भने विधिको शासनलाई थप कमजोर बनाउँदै लैजानेछ । अब सरकारले पनि पहिलेका सरकारले जस्तै गर्ने हो भने भोलिका दिनहरूमा अरु पनि कति निर्दोष नागरिकहरूले ज्यान गुमाउनुपर्ने हो र हामी जस्तै अन्य कति जनाले विध्वंशको सिकार हुनुपर्ने हो अहिले नै अनुमान लगाउन कठिन हुनेछ । अन्तमा, गृहमन्त्रीज्यूलाई सादर अनुरोध के छ भने, यहाँले आन्दोलनका क्रममा गोली बर्साएर ती अबोध भाइबहिनीहरूको ज्यान लिने, राष्ट्रिय सम्पदाहरू तथा हामी नागरिकका निजी सम्पत्तिहरू ध्वंस गर्ने, घरभित्र मान्छेहरूलाई जिउँदै जलाएर मार्ने आततायीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्नुहोस् अन्यथा भोलिका दिनमा हामी पीडित जनताहरू र हाम्रा शुभचिन्तकहरू आफ्नो सुरक्षाका लागि सडकमा आएर ति खुलमखुल्ला हिँडिरहेका अपराधीहरुलाई स्वयं कारबाही गर्न बाध्य हुनुपर्नेछ । यति मात्र होइन यदि यस्ता आतंककारीहरूलाई समयमै कानुनी दायरामा नल्याउने हो भने भोलिका दिनहरूमा पनि सानातिना आन्दोलनका नाममा समेत घर घरमा लुटपाट, आगलागी हत्या जस्ता जघन्य अपराधहरू हुने तथा त्यही मौका पारेर प्रतिशोध साध्ने जस्ता घटनाहरू बढ्दै जानेछन् । यहाँ कोही सुरक्षित हुने छैनन् । यसैले समय छँदा नै त्यस्ता अपराधीहरूलाई कारबाही गरियोस् र दण्डहिनताको अन्त्य गरियोस् साथै देशमा सरकार छ भन्ने आभास  दिलाइयोस् । अब फेरि पनि जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान चरितार्थ नहोस्। सबैलाई विजयादशमीको शुभकामना !!

भाटभटेनीमा 'डिजिटल दशैं' अफर सार्वजनिक, स्कुटर र टाटा पन्च इभी जित्ने मौका

काठमाडौं । भाटभटेनी सुपरमार्केटले हिमालयन बैंक तथा नेपाल पे क्यूआरको सहकार्यमा नेपालीहरूको महान पर्व दशैंको अवसरमा 'डिजिटल दशैं' अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकहरूले भाटभटेनीमा किनमेल गर्दा नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा उपहारहरू जित्ने मौका पाउनेछन् । यस योजनाअन्तर्गत, प्रत्येक भाटभटेनी आउटलेटमा ग्राहकहरूले टीभीएस जुपीटर स्कुटर जित्न सक्नेछन् । साथै, बम्पर अफरमा एक जना भाग्यशाली विजेताले लक्की ड्र मार्फत टाटा पन्च इभी जित्नेछन् । स्कुटरका लागि अफर असोज ६ गतेदेखि पुष १७ गतेसम्म, भने टाटा पन्च इभीका लागि असोज ६ गतेदेखि फागुण ३० गतेसम्म लागू हुनेछ । विजेताहरू भाटभटेनीले हिमालयन बैंक र एनसीएचएलको सहकार्यमा अनलाइन लक्की ड्र मार्फत छनोट गर्नेछ । यस अफरले दशैँको किनमेललाई थप लाभदायक बनाउने विश्वास लिइएको छ । नेपाल पे क्यूआर हाल देशभरका ५२ वटा बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग एप, डिजिटल वालेट, कनेक्ट आइपीएस तथा अलीपे पल्स नेटवर्कमार्फत स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । हालसम्म १० लाखभन्दा बढी मर्चेन्टहरु नेपाल पे क्यूआरमा आवद्ध भइसकेका छन् । भाटभटेनी सुपरमार्केट देशभर २७ भन्दा बढी शाखा भएको सबैभन्दा ठूलो रिटेल चेन हो । यहाँ दैनिक आवश्यक सामग्रीका साथै लुगाफाटा, इलेक्ट्रोनिक्स लगायतका सम्पूर्ण सामानहरू एकै छानामुनि खरिद गर्न सकिन्छ । भाटभटेनीले आधुनिक र व्यवस्थित लेआउटमार्फत सहज र सुविधाजनक किनमेल अनुभव प्रदान गर्ने गर्दछ ।

आन्दोलनपछि मनोबल कमजोर, दण्डहिनता स्वीकार्य छैन : उद्योग संगठन मोरङ

काठमाडौं । उद्योग संगठन मोरङले नेपाल सरकार गृह मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त विज्ञप्तिमा जेनजी युवाहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा भएको मानविय तथा भौतिक क्षतिको छानबिनका लागि आयोग गठन गरिएको र आयोगको प्रतिवेदन प्राप्त नभएसम्म नियमित कानुनी प्रक्रिया अगाडि नबढाइने उल्लेख गरिएको थियो । उद्योग संगठन मोरङका अनुसार आन्दोलनका क्रममा लक्षित र नियोजित रूपमा निजी क्षेत्रका उद्योग, व्यवसाय र आवासहरूमा लुटपाट, आगजनी र विध्वंश भएको छ, जसले जनमानसमा त्रास र भय सिर्जना गरेको छ । यसका कारण निजी क्षेत्रको मनोबल अत्यन्त कमजोर भएको बताइएको छ । संगठनले सरकारले उल्लेख गरेको 'नियमित कानुनी प्रक्रिया अगाडि नबढाइने' कुरा अत्यन्त खेदजनक रहेको र दण्डहिनता कायम हुन नहुनेमा जोड दिएको छ । कानुनी राज्यमा दण्डहिनता स्विकार्य नहुने भएकाले, संगठनले कानुनको शासनको प्रत्याभूति, धनजनको सुरक्षा, सुरक्षित लगानी तथा भयरहित वातावरणमा काम गर्न सकिने विश्वासयोग्य वातावरण सिर्जनाका लागि पनि गैह्रकानुनी कार्यमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेको छ । संगठनका कार्यवाहक अध्यक्ष भोलेश्वर दुलालले यस सम्बन्धमा स्पष्टता र तत्काल कारबाहीको माग गरेका छन्।

घर जलेपछि पूर्वराष्ट्रपति भण्डारी छोरीको घरमा सरिन्, दशैंमा टिका नलगाउने

काठमाडौं । पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले यस वर्षको दशैंमा टिका नलगाउने भएकी छन् । भण्डारीका भाई तेजेन्द्र पाण्डेको हालै निधन भएकाले उनले यस वर्ष दशैंमा टिका नलगाउने भएकी हुन् । भदौ २४ गते पूर्व राष्ट्रपति भण्डारीको निजी निवासमा भएको तोडफोड र आगजनीको घटनापछि उनी हाल कान्छी छोरीको बुढानिलकण्ठस्थित घरमा बस्दै आएकी छन् ।  भाइको निधनले शोकमा रहेकी भण्डारीले यसपटकको दशैँ सामान्य भेटघाट गरेर मनाउने निर्णय गरेको स्वकीय सचिव राजकुमार राईले जानकारी दिए ।  राजनीतिक भेटघाटहरूमा व्यस्त रहेकी भण्डारीले दशैँ पनि भेटघाटमै बिताउने तयारी गरिरहेको उनले बताए ।  ‘घटस्थापनाको दिन उहाँ भोजपुर समाजको कार्यक्रममा सहभागी हुनुभएको थियो । उक्त कार्यक्रममा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई लगायत नेताहरूसँग उहाँले छलफल गर्नुभएको थियो, दशैं आसपास भेटघाटमै व्यस्त हुनुहुन्छ,’ राईले भने ।  सचिव राईका अनुसार दशैंभर कुन-कुन कार्यक्रममा सहभागी हुने भन्ने तालिका अझै तय भएको छैन । पूर्व राष्ट्रपति भण्डारीका दुई छोरी निशाकुसुम र उषाकिरण तथा एक नातिनी छन् । नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादव उनका सम्धी हुन् ।    

एकैदिन एक लाख ११ हजार बाहिरिए

काठमाडौं । बितेका २४ घण्टामा काठमाडौं उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आइतबार अपराह्न सम्ममा चार लाख ६७ हजार मानिसले काठमाडौं छाडेका छन् ।  यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्का अध्यक्ष विजयबहादुर स्वारले अधिकांश सडकमा ट्राफिक जामले यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको बताएका छन् । अध्यक्ष स्वारले घटस्थापना यता आठ लाख सर्वसाधारण काठमाडौं उपत्यकाकाबाट बाहिरिएका बताउनुभयो । आफूहरूले सहज रूपमा यातायातका साधन सञ्चालनका निम्ति ट्राफिक प्रहरीलाई अनुरोध गरेको जानकारी पनि उनले दिए । ट्राफिक प्रहरीले पनि आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरेर निर्वाध यात्राको व्यवस्था मिलाइएको जनाएको छ ।    

तुईन खोलामा पुनः सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा साेमबार पुनः सुक्खा पहिरो खसेको छ । अपरान्ह १२ बजे खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।  उनका अनुसार पहिरो निरन्तर झरिरहेको छ । उनका अनुसार पहिरोले सडकको ७० मिटर भाग ढाकेको छ । अहिले दुई वटा मेसिन पहिरो पन्छाउन प्रयोग भइरहेको पनि उनको भनाइ छ । गत हप्ता पनि  पहिरो खस्दा सडकमा यातायात सञ्चालन गर्न ४८ घण्टा लागेको थियो ।  

निर्जीवन बीमा व्यवसायमा सम्पतिको हिस्सा धेरै, कुन क्षेत्रको हिस्सा कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिना (भदौ) सम्ममा निर्जीवन बीमा कम्पनीहरूले ८ अर्ब २९ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले ४ लाख ९० हजार ३०७ बीमालेख जारी गरेर उक्त रकम बराबरको बीमा शुल्क संकलन गरेका हुन् ।  बीमा कम्पनीहरूले संकलन गरेको कुल व्यवसायमा सम्पति बीमाको हिस्सा सबैभन्दा धेरै रहेको छ । दुई महिनामा बीमा कम्पनीहरूले सम्पति बीमामार्फत २ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । जुन कुल निर्जीवन बीमा व्यवसायमा सम्पति बीमाको हिस्सा ३०.३२ प्रतिशत रहेको छ । विगतमा मोटर बीमाको हिस्सा सबैभन्दा धेरै हुँदै आएको थियो । पछिल्लो केही समययता भने दोस्रो धेरै व्यापार गर्ने क्षेत्रमा मोटर बीमा रहेको छ । तथ्यांकअनुसार कुल निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा २७.८१ प्रतिशत रहेको छ । कम्पनीहरूले दुई महिनाको अवधिमा मोटर बीमामार्फत कुल २ अर्ब ३० करोड ६९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।  भदौसम्ममा कम्पनीहरूले इन्जिनियरिङ र ठेक्कातर्फ १ अर्ब ९ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जुन कुल निर्जीवन बीमा व्यवसायमा १३.२२ प्रतिशत हो । यसैगरी कुल निर्जीवन बीमा व्यवसायमा विविधको हिस्सा १२ प्रतिशत रहेको छ । विविधतर्फ कम्पनीहरूले ९९ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । यस्तै बीमा कम्पनीहरूले सामुन्द्रिकतर्फ ५३ करोड ९ लाख रुपैयाँ, हवाईतर्फ ३५ करोड २९ लाख रुपैयाँ, कृषितर्फ ३२ करोड ४२  लाख रुपैयाँ र लघुतर्फ १६ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बीमाको कुल व्यवसायमा सामुद्रिकको ६.४० प्रतिशत, हवाईको ४.२६  प्रतिशत, पशुपन्छी तथा कृषिको ३.९६ प्रतिशत र लघुको २.०२ प्रतिशत हिस्सा रहेको छ । 

पूर्वराजा ज्ञानेन्द्रले दसैँको शुभकामना दिदैं भने - युवापुस्ताको देशभक्ति र नवीन सोचले मात्र राष्ट्र बलियो हुन्छ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।     उनले एक सन्देशमार्फत उनले आम शुभेच्छुक नागरिक समुदायलाई आफूबाट विगतमा झैँ बृहत रुपमा टीका जमरा प्रदान नहुने समेत जानकारी गराएका छन् । पूर्वराजा शाहले पूर्वजहरुले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्ड भएको उल्लेख गरेका छन् । युवा पुस्ता भविष्यका आधारस्तम्भ भएको र उनीहरुमा निहीत देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने उनको भनाइ छ ।