ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’ को स्रोत मान्न सक्नुपर्दछः उपराष्ट्रपति यादव
काठमाडौं । उपराष्ट्रपति राम सहाय प्रसाद यादवले परिवारले ज्येष्ठ सदस्यलाई हेरचाहको आवश्यकता भएको व्यक्तिका रूपमा मात्र नभई परिवारको मूल स्तम्भको रूपमा स्वीकार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) को अवसरमा शुभकामना व्यक्त गर्दै उनले भने, ‘ज्येष्ठप्रति आदर, सहानुभूति र संवेदनशीलता प्रदर्शन गर्नु युवा पुस्ताको नैतिक आचरण, दायित्व र जिम्मेवारी पनि हो । नव पिँढीले आ-आफ्नो घर-परिवारमा ज्येष्ठको सहभागिता सुनिश्चित, विचार र सल्लाहलाई सम्मान पूर्वक ग्रहण, सामाजिक गतिविधिमा उहाँहरूको सक्रियता बढाउन सहयोग गर्नु र डिजिटल साक्षरतादेखि स्वास्थ्य सेवासम्मको पहुँचमा साथ दिनु आजको आवश्यकता हो ।’ उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिक दिवस उहाँहरूप्रतिको सामूहिक चेतना, दायित्व र जिम्मेवारीको स्मरण गर्ने दिन भएको उल्लेख गरे । साथै ज्येष्ठ नागरिकको जीवनको लामो यात्राका क्रममा अँगाल्नुभएका अनुभव र गर्नुभएको त्याग, सेवा तथा समर्पणले समाजलाई दिशानिर्देश गर्ने पनि उनको विश्वास छ । सन्देशमा भनिएको छ, ‘उहाँहरू हाम्रो सांस्कृतिक, सामाजिक र नैतिक सम्पत्तिका प्रतीक हुनुहुन्छ, उहाँहरूको योगदानको कदर गर्नु हाम्रो कर्तव्य मात्र होइन, हाम्रो सभ्यताको परिचायक पनि हो ।’ नयाँ पिँढीले ज्येष्ठ नागरिकलाई वृद्धका रूपमा मात्र नभई अनुभव, ज्ञान र मार्गदर्शनका स्रोतको रूपमा लिन सक्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ छ । उनले भने, ‘समाजले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’ को स्रोत मान्न सक्नुपर्दछ । उहाँहरूको गरिमालाई अक्षुण्ण राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार र सेवा प्रणालीको विकास, सामाजिक सुरक्षाको सुनिश्चितता, एकल ज्येष्ठ नागरिकहरूको लागि सामुदायिक सहारा र मानसिक स्वास्थ्य तथा आत्मसम्मानको संरक्षणमा ध्यान दिन जरुरी छ ।’
८ दिनमा साढे ५ लाखले छाडे उपत्यका, २ लाख ८५ हजार काठमाडौं भित्रिए
काठमाडौं । दसैँ मनाउनका लागि काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्मका ८ दिनमा ५ लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि आजसम्म ५ लाख ५३ हजार २६१ जना यात्रु विभिन्न नाकाबाट काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा मात्रै ८५ हजार २८४ जनाले काठमाडौं उपत्यका छाडेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले काठमाडौं बाहिरिने यात्रुको चाप बढेसँगै यात्रुको सुविधाका लागि विभिन्न नाका र पार्किङ स्थलहरूमा थप ट्राफिक प्रहरी परिचालन गरिएको बताए । उनले भने, ‘यात्रुको सहजता र सुरक्षाका लागि सहायता कक्ष, अनुगमन टोली र आपत्कालीन उद्धार टोली पनि सक्रिय छन् । ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ ।’ चाडपर्वका समयमा तथा विशेषगरी लामो दूरीका सवारी चालकलाई मादकपदार्थ सेवन नगर्न, निर्धारित गतिमा सवारीसाधन चलाउन र सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ । पछिल्लो २४ घण्टामा मात्र १७ हजार दुई सवारीसाधन उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकाबाट बाहिरिएका सवारीसाधनको सङ्ख्या १ लाख ८९ पुगेको छ । यिनै सवारी साधनमार्फत यात्रामा निस्किनेको मुख्य गन्तव्य भने देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन् । यस्तै, काठमाडौं उपत्यकामा ७२ हजार ४१ सवारीसाधनबाट २ लाख ८५ हजार ३०८ जना आजसम्म भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विशेषगरी कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क, जगती लगायत नाकामा यात्रुको भीड देखिन्थ्यो । राजधानीबाट बाहिरिने यात्रुहरूको मुख्य माध्यम सार्वजनिक सवारी भए पनि निजी सवारीसाधन र पर्यटक बसको प्रयोग गर्नेहरूको सङ्ख्या उल्लेख्य रहेको छ । दसैँ नजिकिएसँगै गाउँमा पारिवारिक भेटघाट, दुर्गा पूजाको तयारी र टीका ग्रहणको वातावरण चुलिँदै गएको छ । काठमाडौंमा भने सवारी चाप घटेपछि सडक तुलनात्मक रूपमा फुर्सदिला देखिन थालेका छन् ।
चीन र भारतबीच पानी युद्ध, साढे ११ हजार मेगावाट बिजुली उत्पादन गर्ने मेगा योजना बनाउँदै
काठमाडौं । कुहिरोले ढाकिएका हिमाल पाखामा भारतले प्रस्ताव गरेको मेगा-बाँध परियोजनाले चीनसँगको पानी प्रतिस्पर्धामा नयाँ अध्याय थपेको छ । तिब्बतको माथिल्लो भागमा चीनले बनाइरहेको कीर्तिमानी जलविद्युत परियोजनाको सम्भावित जोखिम रोक्न भारतले बाँध निर्माण गर्न लागेको हो । तर, बाँध निर्माणको सम्भावित साइटमा रहेका आदिवासीहरूका लागि भने यो परियोजना विनाशको सङ्केत बनेको छ । ‘हामी अन्तिम समयसम्म लड्नेछौँ,’ विषमा डुबाइएको बाणसहित धनुष उठाउँदै रिउ गाउँका बासिन्दा तापिर जामोहले भने, ‘हामी यो बाँध बन्न दिनेछैनौँ ।’ भारतको उत्तरी कुनामा रहेको रिउ क्षेत्र तिब्बत र म्यान्मासँग जोडिएको छ । प्रस्तावित योजनाअनुसार अरुणाञ्चल प्रदेशमा २८० मिटर अग्लो बाँध निर्माण गरी ४० लाख ओलम्पिक आकारका पौडी पोखरी बराबरको विशाल जलाशय बनाउन सकिनेछ । यसबीच चीनले सियाङ (तिब्बतमा यार्लुङ साङ्पो) नदीमा १ खर्ब ६७ अर्ब डलरको याक्सिया परियोजना अघि बढाइरहेको छ । यसमा ५ जलविद्युत स्टेसन रहनेछन् जसले विश्वकै सबैभन्दा ठूलो थ्री गोर्जेस बाँधभन्दा तीन गुणा बढी विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ । बेइजिङले यसले तल्लो क्षेत्रमा कुनै नकारात्मक असर नपार्ने दाबी गरे पनि भारतमा चिन्ताको लहर छ । चीनले बाँधलाई हतियारको रूपमा प्रयोग गरी तल्लो क्षेत्रमा खडेरी वा ‘पानी बम’ जस्तै बाढी ल्याउन सक्छ भन्ने डर भारतलाई छ । चीनले भने यसलाई आधारहीन प्रचार भन्दै खारेज गरेको छ । अरुणाञ्चल प्रदेशका मुख्यमन्त्री पेमा खान्डुले चीनको परियोजनाविरुद्ध सुरक्षात्मक कदम आवश्यक रहेको बताए । भारतले बनाउन लागेको बाँधले ११ हजार २ सयदेखि ११ हजार ६ सय मेगावाट जलविद्युत उत्पादन गर्नेछ । यसले देशको सबैभन्दा शक्तिशाली बाँधका रूपमा मान्यता पाउनेछ । तर, भारतीय अधिकारीहरूको भनाइमा यसको मुख्य उद्देश्य बिजुली उत्पादनभन्दा पनि पानी नियन्त्रण र सुरक्षा हो । यस योजनाले भारी वर्षामा अतिरिक्त पानी अवशोषित गर्ने र चीनले अचानक पानी छोडेमा जोखिम कम गर्ने उद्देश्य राखेको छ । भारतका पूर्व राजदूत अशोक के. कान्थाले चीनको योजनालाई ‘लापरवाह’ भन्दै भारतको बाँधलाई ‘रक्षात्मक उपाय’ का रूपमा चित्रण गरे । यस परियोजनाले स्थानीय आदिवासीहरूको जीवन र संस्कृतिलाई ठूलो चुनौती दिएको छ । सियाङ नदीलाई पवित्र मान्ने आदि समुदायका बासिन्दाले आफ्नो अस्तित्व नै खतरा भएको महसुस गरेका छन् । ‘यदि नदीमा बाँध बनाइयो भने हाम्रो अस्तित्व समाप्त हुनेछ,’ ६९ वर्षीय जामोहले भने, ‘हामी सियाङका सन्तान हौँ ।’ मे महिनामा आदिवासीहरूले परियोजनाको सर्वेक्षण रोक्न विरोध गर्दा सरकारी मेसिनरी जलाइएका थिए । अहिले पनि गाउँहरूमा आन्दोलन जारी छ । हजारौँ आदिवासीले परम्परागत अदालत शैलीको बैठकमा भेला भई परियोजनाविरुद्ध आवाज उठाइरहेका छन् । ‘यदि उनीहरूले यो ठूलो बाँध बनाए भने आदि समुदाय विश्वको नक्साबाटै हराउनेछ,’ यिङकिओङका स्थानीय लिकेङ लिबाङले भने, ‘हामी पूर्ण रूपमा विस्थापित हुनेछौँ ।’ विशेषज्ञहरूले यो परियोजना भूकम्प जोखिमयुक्त क्षेत्रमा भएकाले थप खतरा निम्त्याउने चेतावनी दिएका छन् । तर भारतको बाँध निर्माण अभियानलाई रोक्ने सम्भावना न्यून छ । जामोहल भने, ‘यदि यो बाँध बन्ने नै हो भने, त्यस दिन आउनुअघि नै मेरो मृत्यु होस् भन्ने मेरो कामना छ ।’
हजारको पुँजी ४० लाख पुग्यो, शिखर सुजमा मजदुरी गर्ने मङ्ग्रान्ती बने उद्यमी
दीपक चन्द काठमाडौं । ‘व्यापार सुरु गर्दा हामीसँग पैसाभन्दा पनि ठूलो सपना थियो । त्यही सपनाले केही गर्न प्रेरित गरेको थियो,’ आफ्नो पसल देखाउँदै झापाको बुद्धशान्ती गाउँपालिका-१ पहाडीचोकका कमल मङ्ग्रान्तीले भने । श्रीमानको स्वरमा स्वर मिलाउँदै श्रीमती तारा तोलाङीले भनिन्, ‘त्यही सपना पछ्याउँदै जाँदा आज हामीले सानो लगानीबाट सुरु गरेको व्यापारलाई उद्योगकै रूपमा विकास गर्न सफल हुँदैछौँ ।’ मङ्ग्रान्ती दम्पतीले ‘आशिष सुज सेन्टर’ स्थापना गरेका थिए । करिब १५ वर्षअघि काठमाडौंस्थित शिखर सुज लगायत विभिन्न कम्पनीमा मजदुरी गर्दै जीविका चलाइरहेका कमल आफ्नै उद्यम गर्ने सपनासहित गाउँ फर्कने सोच बनाए । दिनभरि अर्काको काम गर्दा पनि परिवार धान्न गाह्रो भएपछि उनलाई आफ्नै व्यापार गर्नुपर्छ भन्ने लागेको थियो । त्यसैले विसं २०६९ तिर मङ्ग्रान्तीले जुत्ता तथा चप्पल बनाउने तालिम लिएको स्मरण गरे । सीप प्राप्त गरेपछि उनले झापाको बुद्धशान्ति फर्केर परिवार र आफन्तसँग सानो ऋण जुटाइ घरकै एउटा कोठामा जुत्ता उत्पादन सुरु गरे । ‘सुरुआतमा केही हजार लगानी गरेर घरकै सटरमा आफ्नै उत्पादन बिक्री थाले । प्रारम्भिक चरणमा गाउँघरमा हातले टाँसेका जुत्ता बेच्न कठिन भए पनि गुणस्तर र डिजाइनमा ध्यान दिन थालेपछि क्रमशः बजार बिस्तार हुँदै गयो,’ मङ्ग्रान्तीले भने, ‘श्रीमतीलाई पनि जुत्ता बनाउने सीप सिकाए । उनले उद्योगको उत्पादनसँगै पसल व्यवस्थापनमा साथ दिएपछि निकै सहज भयो ।’ उद्योग स्थापनाको केही वर्षपछि ऋण उठाएर खरिद गरिएको पहिलो सिलाई मेसिनले व्यवसायलाई नयाँ मोड दियो । हाल उनको उद्योगमा विद्यार्थीका लागि जुत्ता, कामकाजी महिलाका लागि सहज चप्पलदेखि युवाका लागि आकर्षक जुत्ता उत्पादन भइरहेको छ । ‘हाल पालिकाभर हाम्रो काम र पसलको चर्चा हुन्छ । उद्योगमार्फत दैनिक ३० देखि ४० जोडी विभिन्न आकार-प्रकारका जुत्ता तथा चप्पल उत्पादन गरिरहेका छौँ । चार जना स्थानीयलाई रोजगारीसमेत दिइरहेका छौँ,’ मङ्ग्रान्तीले सुनाए । उनीहरूले आफ्नै पसलमार्फत बिक्री गर्नुका साथै मागअनुसार जिल्ला बाहिर पनि जुत्ता चप्पल आपूर्ति गर्दै आएका छन् । केही हजार लगानी गरेर हाल उनले आफ्नो व्यापार पुँजी करिब ४० लाख बनाए । उद्योगमा ४ जनाले रोजगारी पाइरहेका छन् । हिजोका दिनमा अर्काको काम गर्दा जीविका चलाउन समेत समस्या भोगेको यस परिवारले यही उद्योगको आम्दानीले निकै सहज भएको छ । ‘परिवारको जीवनस्तरमा सुधार हुनुका साथै सन्तानको शिक्षामा लगानी गर्न सहज भएको छ । लगानी बिस्तार गर्दै हाल करिब ४० लाख रुपैयाँसम्मको पुँजी पुगाएका छौँ,’ श्रीमती ताराले भनिन्, ‘पहिले भाडाको घरमा बसेर महिनाको खर्च टार्न हम्मेहम्मे पर्थ्यो । अहिले आफ्नै घर छ, उद्योग छ र अरूलाई रोजगार दिन सक्ने अवस्थामा छौँ ।’ श्रीमान्–श्रीमतीबीचको सहकार्य नै सफलताको मूल मन्त्र भएको उनीहरुको बुझाइ छ । उनीहरू मध्ये कमलले उत्पादन व्यवस्थापनमा र ताराले डिजाइन र बिक्री-वितरणमा ध्यान दिइरहेका छन् । थोरै पुँजीबाट सुरु गरेको व्यवसायबाट सफलता हासिल भइरहे पनि विदेशी जुत्ता आपूर्तिका कारण केही समस्या भइरहेको मङ्ग्रान्तीले गुनासो गरे । सरकारले स्थानीय उद्योगलाई थप प्रोत्साहन दिए सहज हुने उनको भनाइ छ । ‘यदि सरकारको स्पष्ट सहयोग र कर छुट मिल्यो भने हामी जस्ता साना उद्यमीले अझ ठूलो योगदान दिन सक्छौँ,’ मङ्ग्रान्तीले भने, ‘कर तिर्ने बेलामा विभिन्न निकायमा धाउनुपर्ने बाध्यताले समय र स्रोत दुवै खर्च हुने गरेको छ । एकीकृत प्रणाली भए त सहज हुन्थ्यो नि ।’ मङ्ग्रान्ती दम्पतीको योजना उद्योगलाई थप बिस्तार गर्दै झापामै ठूलो ‘फुटवेयर हब’ बनाउने छ । जसले आफ्नो र स्थानीय युवालाई रोजगारी दिएर जीवनस्तर सुधार्ने सपना छ । त्यसका लागि योजना र केही रणनीति बनाएर काम गर्ने मङ्ग्रान्तीले बताए ।
जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु, ८ जना घाइते
काठमाडौं । कञ्चनपुरको बेदकोट नगरपालिका-३ सिउडीबागमा आज बोलेरो जीप दुर्घटना हुँदा १ बालिकाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार दैजी-जोगबुढा सडक खण्डमा दैजीबाट जोगबुढातर्फ जाँदै गरेको से१ज ४१७ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । जीप सडकबाट करिब २० मिटर तल खसेको थियो । दुर्घटनामा कञ्चनपुरको बेदकोट नगरपालिका-४ की करिब २ वर्षीया बालिका युबिका पालको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बोहराले बताए । अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा कृष्णपुर-१ वाणीकी ३३ वर्षीया धना बोहरा र उनका चार वर्षीय छोरा कमल बोहरा, बेदकोट-४ की ३० वर्षीया तारा पाल, उनका १० वर्षीय छोरा प्रिन्स पाल र स्थानीय ३५ वर्षीया देविन्द्र धामी घाइते भएका छन् । यस्तै, डडेल्धुराको परशुराम नगरपालिका-११ का २४ वर्षीय वीरेन्द्र कुँवर, उहाँकी २१ वर्षीया पत्नी मनीषा कुँवर र सोही नगरपालिकाका २८ वर्षीय नरेश सार्की घाइते भएका छन् । दुर्घटनापछि चालक फरार रहेका छन् । जीपमा चालकसहित १० जना सवार रहेका थिए ।
तुइन खोलामा फेरि पहिरो, नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध
काठमाडौं । नारायणगढ मुग्लिन सडक खण्डको तुइन खोलामा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-५ स्थित तुइन खोलामा आज साँझ ७:३० बजेतिर माथिबाट लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार हाल पहिरो हटाउन आवश्यक मेसिनसहित प्राविधिकहरू पहिरोस्थलतर्फ गएका छन् । पहिरो गएसँगै दसैँका लागि घर हिँडेका यात्रु बाटोमै रोकिएका छन् । पहिरो पन्छाउन केही समय लाग्ने भन्दै लेन अनुशासन पालना गरी धैर्य गरेर बस्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ । यस ठाउँमा पटक पटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।
नयाँ कुमारी आर्यतारालाई विधि पूर्वक कुमारी घर भित्र्याइयो
काठमाडौं । नवघोषित कुमारी आर्यतारा शाक्यलाई विधि पूर्वक कुमारी घरमा आसन गराइएको छ । आज आयोजित एक विशेष समारोहमा जीवित देवीका रुपमा सम्मान गरिने कुमारीलाई विशेष बाजागाजासहित पूजा गरी आसन गराइएको हो । विशेषगरी हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले पूजा गर्ने कुमारीले औपचारिक जिम्मेवारी ग्रहण गरेपछि अब राजकीय भूमिका सुरु भएको छ । इटुम्बहालकी अढाइ वर्षिया शाक्यले विभिन्न धार्मिक गतिविधिमा सहभागी भएर तलेजु भवानीको प्रतीकात्मक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइएको छ । कुमारी घर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यका अनुसार इन्द्र जात्रा, नवरात्री लगायत तोकिएका परम्परागत संस्कृतिमा कुमारीले सहभागिता जनाउने तथा सर्वसाधारणलाई तोकिएको समयमा दर्शन दिने कार्यसूची हुन्छ । वसन्तपुरस्थित कुमारी घरमा नियमानुसार कुमारीलाई आवश्यक सेवा तथा खानपान, आवासको प्रबन्ध गरिने प्रचलन छ । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ । कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकारवालासँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो । यसैबीच हालकी कुमारी तृष्णा शाक्यलाई पनि विशेष समारोहमा पूजाआजा गरी बिदाइ गरिएको छ ।
आश्विन शुक्ल अष्टमी: विधिपूर्वक गरियो महागौरी देवीको पूजा आराधना
काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा भएपनि यस वर्ष चौथी तिथि वृद्धि भई नवदुर्गामध्येकी चौथो कुष्माण्डा देवीको दुई दिन पूजा भएको थियो । महागौरीको रङ पहिले केही कालो भएकाले भगवान शिवले देवीलाई ख्यालठट्टामा ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन् । त्यो शब्द भगवतीलाई मन परेनछ । तिनले अत्यन्त कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले उनलाई महागौरी भनिएको हो भन्ने विषय विभिन्न पुराणमा वर्णन गरिएको छ । सेतो वृषभमाथि चढ्ने गोरो वर्णकी श्वेतवस्त्र धारण गरेकी स्वरूपमा महागौरी हुन्छिन् भन्ने ती पुराणमा लेखिएको छ । दुर्गा पक्ष समेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन असोज ७ गते मङ्गलबार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन असोज ८ गते बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन असोज ९ गते बिहीबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन असोज १० गते शुक्रबार पनि चौथी तिथि वृद्धि भएकाले कुष्माण्डा देवीको पूजा आराधना गरिएको थियो । यस वर्षको नवरात्रको छैटौँ दिन असोज ११ गते शनिबार स्कन्दमाताको पूजा आराधना गरियो । सातौँ दिन असोज १२ गते आइतबार छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । आठौँ दिन असोज १३ गते सोमबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरियो । दुर्गा पक्षको नवौँ दिन आज असोज १४ गते महागौरी देवीको विशेष पूजा आराधना गरिएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसबीचमा मान्यजनका हातबाट टीका थाप्न जाने परम्परा पनि नेपाली समाजमा छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व भव्य रुपमा मनाउँछन् । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । महाअष्टमीका अवसरमा आज देशभरका शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको भीड लागेको छ । पशु बलि नदिनेले भने आज नरिवल, कुभिण्डो, काँक्रो, मुलालगायत बलि दिने गर्छन् ।