भाटभटेनीमा 'डिजिटल दशैं' अफर सार्वजनिक, स्कुटर र टाटा पन्च इभी जित्ने मौका
काठमाडौं । भाटभटेनी सुपरमार्केटले हिमालयन बैंक तथा नेपाल पे क्यूआरको सहकार्यमा नेपालीहरूको महान पर्व दशैंको अवसरमा 'डिजिटल दशैं' अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकहरूले भाटभटेनीमा किनमेल गर्दा नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा उपहारहरू जित्ने मौका पाउनेछन् । यस योजनाअन्तर्गत, प्रत्येक भाटभटेनी आउटलेटमा ग्राहकहरूले टीभीएस जुपीटर स्कुटर जित्न सक्नेछन् । साथै, बम्पर अफरमा एक जना भाग्यशाली विजेताले लक्की ड्र मार्फत टाटा पन्च इभी जित्नेछन् । स्कुटरका लागि अफर असोज ६ गतेदेखि पुष १७ गतेसम्म, भने टाटा पन्च इभीका लागि असोज ६ गतेदेखि फागुण ३० गतेसम्म लागू हुनेछ । विजेताहरू भाटभटेनीले हिमालयन बैंक र एनसीएचएलको सहकार्यमा अनलाइन लक्की ड्र मार्फत छनोट गर्नेछ । यस अफरले दशैँको किनमेललाई थप लाभदायक बनाउने विश्वास लिइएको छ । नेपाल पे क्यूआर हाल देशभरका ५२ वटा बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग एप, डिजिटल वालेट, कनेक्ट आइपीएस तथा अलीपे पल्स नेटवर्कमार्फत स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । हालसम्म १० लाखभन्दा बढी मर्चेन्टहरु नेपाल पे क्यूआरमा आवद्ध भइसकेका छन् । भाटभटेनी सुपरमार्केट देशभर २७ भन्दा बढी शाखा भएको सबैभन्दा ठूलो रिटेल चेन हो । यहाँ दैनिक आवश्यक सामग्रीका साथै लुगाफाटा, इलेक्ट्रोनिक्स लगायतका सम्पूर्ण सामानहरू एकै छानामुनि खरिद गर्न सकिन्छ । भाटभटेनीले आधुनिक र व्यवस्थित लेआउटमार्फत सहज र सुविधाजनक किनमेल अनुभव प्रदान गर्ने गर्दछ ।
आन्दोलनपछि मनोबल कमजोर, दण्डहिनता स्वीकार्य छैन : उद्योग संगठन मोरङ
काठमाडौं । उद्योग संगठन मोरङले नेपाल सरकार गृह मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त विज्ञप्तिमा जेनजी युवाहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा भएको मानविय तथा भौतिक क्षतिको छानबिनका लागि आयोग गठन गरिएको र आयोगको प्रतिवेदन प्राप्त नभएसम्म नियमित कानुनी प्रक्रिया अगाडि नबढाइने उल्लेख गरिएको थियो । उद्योग संगठन मोरङका अनुसार आन्दोलनका क्रममा लक्षित र नियोजित रूपमा निजी क्षेत्रका उद्योग, व्यवसाय र आवासहरूमा लुटपाट, आगजनी र विध्वंश भएको छ, जसले जनमानसमा त्रास र भय सिर्जना गरेको छ । यसका कारण निजी क्षेत्रको मनोबल अत्यन्त कमजोर भएको बताइएको छ । संगठनले सरकारले उल्लेख गरेको 'नियमित कानुनी प्रक्रिया अगाडि नबढाइने' कुरा अत्यन्त खेदजनक रहेको र दण्डहिनता कायम हुन नहुनेमा जोड दिएको छ । कानुनी राज्यमा दण्डहिनता स्विकार्य नहुने भएकाले, संगठनले कानुनको शासनको प्रत्याभूति, धनजनको सुरक्षा, सुरक्षित लगानी तथा भयरहित वातावरणमा काम गर्न सकिने विश्वासयोग्य वातावरण सिर्जनाका लागि पनि गैह्रकानुनी कार्यमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेको छ । संगठनका कार्यवाहक अध्यक्ष भोलेश्वर दुलालले यस सम्बन्धमा स्पष्टता र तत्काल कारबाहीको माग गरेका छन्।
घर जलेपछि पूर्वराष्ट्रपति भण्डारी छोरीको घरमा सरिन्, दशैंमा टिका नलगाउने
काठमाडौं । पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले यस वर्षको दशैंमा टिका नलगाउने भएकी छन् । भण्डारीका भाई तेजेन्द्र पाण्डेको हालै निधन भएकाले उनले यस वर्ष दशैंमा टिका नलगाउने भएकी हुन् । भदौ २४ गते पूर्व राष्ट्रपति भण्डारीको निजी निवासमा भएको तोडफोड र आगजनीको घटनापछि उनी हाल कान्छी छोरीको बुढानिलकण्ठस्थित घरमा बस्दै आएकी छन् । भाइको निधनले शोकमा रहेकी भण्डारीले यसपटकको दशैँ सामान्य भेटघाट गरेर मनाउने निर्णय गरेको स्वकीय सचिव राजकुमार राईले जानकारी दिए । राजनीतिक भेटघाटहरूमा व्यस्त रहेकी भण्डारीले दशैँ पनि भेटघाटमै बिताउने तयारी गरिरहेको उनले बताए । ‘घटस्थापनाको दिन उहाँ भोजपुर समाजको कार्यक्रममा सहभागी हुनुभएको थियो । उक्त कार्यक्रममा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई लगायत नेताहरूसँग उहाँले छलफल गर्नुभएको थियो, दशैं आसपास भेटघाटमै व्यस्त हुनुहुन्छ,’ राईले भने । सचिव राईका अनुसार दशैंभर कुन-कुन कार्यक्रममा सहभागी हुने भन्ने तालिका अझै तय भएको छैन । पूर्व राष्ट्रपति भण्डारीका दुई छोरी निशाकुसुम र उषाकिरण तथा एक नातिनी छन् । नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादव उनका सम्धी हुन् ।
एकैदिन एक लाख ११ हजार बाहिरिए
काठमाडौं । बितेका २४ घण्टामा काठमाडौं उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आइतबार अपराह्न सम्ममा चार लाख ६७ हजार मानिसले काठमाडौं छाडेका छन् । यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्का अध्यक्ष विजयबहादुर स्वारले अधिकांश सडकमा ट्राफिक जामले यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको बताएका छन् । अध्यक्ष स्वारले घटस्थापना यता आठ लाख सर्वसाधारण काठमाडौं उपत्यकाकाबाट बाहिरिएका बताउनुभयो । आफूहरूले सहज रूपमा यातायातका साधन सञ्चालनका निम्ति ट्राफिक प्रहरीलाई अनुरोध गरेको जानकारी पनि उनले दिए । ट्राफिक प्रहरीले पनि आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरेर निर्वाध यात्राको व्यवस्था मिलाइएको जनाएको छ ।
तुईन खोलामा पुनः सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा साेमबार पुनः सुक्खा पहिरो खसेको छ । अपरान्ह १२ बजे खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार पहिरो निरन्तर झरिरहेको छ । उनका अनुसार पहिरोले सडकको ७० मिटर भाग ढाकेको छ । अहिले दुई वटा मेसिन पहिरो पन्छाउन प्रयोग भइरहेको पनि उनको भनाइ छ । गत हप्ता पनि पहिरो खस्दा सडकमा यातायात सञ्चालन गर्न ४८ घण्टा लागेको थियो ।
निर्जीवन बीमा व्यवसायमा सम्पतिको हिस्सा धेरै, कुन क्षेत्रको हिस्सा कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिना (भदौ) सम्ममा निर्जीवन बीमा कम्पनीहरूले ८ अर्ब २९ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले ४ लाख ९० हजार ३०७ बीमालेख जारी गरेर उक्त रकम बराबरको बीमा शुल्क संकलन गरेका हुन् । बीमा कम्पनीहरूले संकलन गरेको कुल व्यवसायमा सम्पति बीमाको हिस्सा सबैभन्दा धेरै रहेको छ । दुई महिनामा बीमा कम्पनीहरूले सम्पति बीमामार्फत २ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । जुन कुल निर्जीवन बीमा व्यवसायमा सम्पति बीमाको हिस्सा ३०.३२ प्रतिशत रहेको छ । विगतमा मोटर बीमाको हिस्सा सबैभन्दा धेरै हुँदै आएको थियो । पछिल्लो केही समययता भने दोस्रो धेरै व्यापार गर्ने क्षेत्रमा मोटर बीमा रहेको छ । तथ्यांकअनुसार कुल निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा २७.८१ प्रतिशत रहेको छ । कम्पनीहरूले दुई महिनाको अवधिमा मोटर बीमामार्फत कुल २ अर्ब ३० करोड ६९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । भदौसम्ममा कम्पनीहरूले इन्जिनियरिङ र ठेक्कातर्फ १ अर्ब ९ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जुन कुल निर्जीवन बीमा व्यवसायमा १३.२२ प्रतिशत हो । यसैगरी कुल निर्जीवन बीमा व्यवसायमा विविधको हिस्सा १२ प्रतिशत रहेको छ । विविधतर्फ कम्पनीहरूले ९९ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । यस्तै बीमा कम्पनीहरूले सामुन्द्रिकतर्फ ५३ करोड ९ लाख रुपैयाँ, हवाईतर्फ ३५ करोड २९ लाख रुपैयाँ, कृषितर्फ ३२ करोड ४२ लाख रुपैयाँ र लघुतर्फ १६ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बीमाको कुल व्यवसायमा सामुद्रिकको ६.४० प्रतिशत, हवाईको ४.२६ प्रतिशत, पशुपन्छी तथा कृषिको ३.९६ प्रतिशत र लघुको २.०२ प्रतिशत हिस्सा रहेको छ ।
पूर्वराजा ज्ञानेन्द्रले दसैँको शुभकामना दिदैं भने - युवापुस्ताको देशभक्ति र नवीन सोचले मात्र राष्ट्र बलियो हुन्छ
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले एक सन्देशमार्फत उनले आम शुभेच्छुक नागरिक समुदायलाई आफूबाट विगतमा झैँ बृहत रुपमा टीका जमरा प्रदान नहुने समेत जानकारी गराएका छन् । पूर्वराजा शाहले पूर्वजहरुले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्ड भएको उल्लेख गरेका छन् । युवा पुस्ता भविष्यका आधारस्तम्भ भएको र उनीहरुमा निहीत देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने उनको भनाइ छ ।
निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । बडा दसैंका पावन अवसरमा सोमबार जारी गरेको शुभकामना सन्देशमा उनले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको तथा यसले सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउने प्रतिबद्धता जनाएकी हुन् । साथै उनले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताएकी छन् । प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू र यो पर्व मनाउनुहुने संसारभर छरिएर रहेका नेपाली भाषीहरूमा सुखशान्तिको कामना गरेकी छन् । यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्कीले यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको जनाएको छ ।