विकासन्युज

मुक्तिनाथ-तेताङ चक्रपथ सडकको भौतिक प्रगति ३९ प्रतिशत

काठमाडौं । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने (मुक्तिनाथ-तेताङ) चक्रपथ सडक निर्माण जारी छ । चालु आवको पाँच महिनामा सो सडकको भौतिक प्रगति ३९ प्रतिशत पुर्याइएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय गण्डकीअन्तर्गत पूर्वाधार विकास कार्यालयद्वारा मुक्तिनाथ पुराङ हुँदै झोङदेखि तेताङ जोड्ने १० किलोमिटर चक्रपथ सडक योजना कार्यान्वयनमा ल्याइएको हो । मुस्ताङस्थित मुक्तिनाथ-तेताङ जोड्ने ६  मिटर चौडा वैकल्पिक सडकमार्ग विस्तार गर्न ७ करोड १ लाख ५६ हजार रुपैयाँ लागतमा निर्माण कम्पनीले २०८१ साल साउन २९ गते यहाँको पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो । २ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सडक स्तरोन्नति तथा नयाँ ट्रयाक खोल्न कार्यालयले २०८३ साल साउन २९ गतेसम्म निर्माण कम्पनीलाई समयावधि तोकिएको छ । मुक्तिनाथ-तेताङ जोड्ने सडकको ठेक्का सम्झौता मुताविक १० किलोमिटर सडकमध्ये ६.५ किलोमिटर नयाँ खोल्ने र ३.५ किलोमिटर सडक स्तरोन्नति गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालयका सब इन्जिनियर जगदीश चन्द्र जोशीले जानकारी दिए । उनका अनुसार सडकको नयाँ ट्रयाक खोल्ने कार्य सकिएता पनि गत असोजको वर्षाले आंशिक रूपमा क्षति पुर्याएकाले उक्त स्थानमा सडक मर्मत सम्भार गर्नुपर्ने देखिएको छ । वारागुङ मुक्तिक्षेत्रको वडा १, २, ३ र ४ वडालाई चत्रपथ सडकले जोड्ने गरी मुक्तिनाथ सडक स्तरोन्नति कार्य भइरहेको सब इन्जिनियर जोशीले जानकारी दिए । उनका अनुसार यहाँको मुक्तिनाथ–तेताङ सडक योजनाको ३९ प्रतिशत भौतिक प्रगति हुँदा वित्तीय प्रगति २८.५८ प्रतिशत छ । हालसम्म निर्माण कम्पनीले २ करोड ५६ हजार रुपैयाँ भुक्तानी लगिसकेको छ । प्रादेश सरकारद्वारा अघि बढाइएको मुक्तिनाथ-तेताङ सडक स्तरोन्नति पूरा भएमा माथिल्लो मुस्ताङका स्थानीय नागरिक तथा पर्यटक कागबेनी झरेर खिङ्गा हुँदै मुक्तिनाथ जानु नपर्ने जनाइएको छ ।  छुसाङदेखि माथिल्लो भेगका नागरिक मुक्तिनाथ जानुपरेमा छुसाङबाट तेताङ हुँदै वैकल्पिक चक्रपथ सडक प्रयोग गरेर मुक्तिनाथ जान सजिलो हुने यसबाट माथिल्लो मुस्ताङबाट मुक्तिनाथ जाने पर्यटक तथा स्थानीय नागरिकहरूका लागि दूरीमा छोटिने बताइएको छ । यो सडक सम्पन्न भएपछि वारागुङ मुक्ति क्षेत्रको छेङ्गुर, झोङ, पुडाक र तेताङ गाउँका स्थानीय नागरिकलाई यातायात आवागमनमा निकै सहज हुनेछ ।

आईपीओको अनुमति पाएपछि पाल्पा सिमेण्टको साधारण सभा स्थगित

काठमाडौं । पाल्पा सिमेण्ट इण्डष्ट्रिज लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । पुस १४ गते बेलाएको साधारण सभा स्थगित भएको कम्पनीले जानकारी दिएको छ ।  पाल्पा सिमेण्टको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा गर्न पुस १४ गते सोमबार बोलाइएको थियो । कम्पनीले आईपीओ निष्काशन गर्न पुस ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि साधारण सभा स्थगित गरिएको जनाएको छ ।  बोर्डले पाल्पा सिमेण्ट इन्डष्ट्रिजलाई ७५ करोड रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा ७५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री गर्न अनुमति दिएको हो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को दफा ४९ मा सार्वजनिक निष्काशनका लागि अनुमति प्राप्त गरिसकेको संगठित संस्थाले नयाँ सेयरधनीहरु समेत समावेश नभई साधारणसभा गर्नु नहुने भन्ने कानूनी व्यवस्था बमोजिम अर्को सूचना जारी नगरेसम्म सभा स्थगित गरिएको हो ।  कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

निर्वाचन आयोगले तोक्यो उम्मेदवारले गर्ने खर्चको सीमा, ३३ लाखसम्म खर्च गर्न पाउने

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरक फरक खर्च सीमा निर्धारण गरेको हो । आयोगका अनुसार काठमाडौंका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौं क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख रुपैयाँ बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ । त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख रुपैयाँ बराबर खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख रुपैयाँ, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँ बराबरको खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्नेछ । खर्च गर्ने जिम्मेवार अधिकारी तोकी विवरण निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ । उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐन बमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।

गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै, आज सार्वजनिक बिदा

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना हुँदैछ । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेषभूषामा सजिएर सहभागी हुन्छन् । कार्यक्रममा गुरुङ समुदायको परिकार विशेषको प्रदर्शनी गरिनेछ । यस अवसरमा आइतबारदेखि राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव सुरु भएको छ । महोत्सवमा हजारौं सर्वसाधारणको सहभागिता छ ।

पेट्रोलियम पदार्थ आयातबाट मात्रै ३ अर्ब ८० करोड राजस्व सङ्कलन

काठमाडौं । झापाको मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को ५ महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ३ अर्ब ८० करोड ५८ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको ५ महिनामा ५ किसिमका ७ अर्ब ८४ करोड ४० लाख रुपैयाँ बराबरका ११ हजार २८ किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिए । उनका अनुसार पेट्रोलियम पदार्थले कार्यालयको कुल राजस्व सङ्कलनको ५५.८० प्रतिशत हिस्सा ओगटेको छ । त्यसैगरी, कार्यालयको तथ्याङ्कअनुसार तयारी कपडाबाट ४.१४ प्रतिशत, यातायातका साधन तथा तिनका पार्टपुर्जाबाट ३.६८ प्रतिशत, तरकारीबाट ३.४० प्रतिशत र सिमेन्ट क्लिङ्करबाट ३.३० प्रतिशत राजस्व सङ्कलन भएको छ ।

बालेनलाई साक्षी राखेर रास्वपा र उनेपाबीच ७ बुँदे सहमति, कुलमान उपसभापति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी (उनेपा) र बालेन्द्र शाहबीच एकतासम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ । आज भएको सहमतिअनुसार पार्टीको नेतृत्व संरचनामा केन्द्रीय सभापति रवि लामिछाने र उपसभापति कुलमान घिसिङ हुने छन् । यस्तै, अन्य उपसभापतिमा डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले रहने उल्लेख छ ।       रास्वपा सभापति रवि लामिछाने र उनेपा अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेको समझदारी पत्रमा बालेन्द्र शाहले साक्षीका रूपमा हस्ताक्षर गरेका छन् । सहमतिमा एकतापछि साविक रास्वपाकै नाम र चुनाव  चिन्ह रहने उल्लेख छ । यस्तै, रास्वपाको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न ‘घण्टी’ अन्तर्गत लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने पनि सहमतिपत्रअनुसार उल्लेख छ । सहमतिपत्रअनुसार दुवै पार्टीले नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध रहँदै सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र समतामूलक शासन स्थापित गर्न आवश्यक भएको स्वीकार गर्दै नयाँ राजनीतिक शक्ति निर्माणका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।       यस्तै, भदौ २३ र २४ को जेनजी आन्दोलनलगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनका सहिद एवं घाइतेको बलिदानलाई प्रेरणा स्रोतको रूपमा लिइएको छ । नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको मर्म आत्मसात गर्दै घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने पनि प्रतिबद्धता जनाइएको छ । सहमतिपत्रमा भनिएको छ, ‘उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यता प्रणालीको  स्थापना, भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासनप्रति प्रतिबद्ध रहँदै समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनागत सुधारमार्फत आर्थिक, सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने ।’ उज्यालो नेपाल पार्टीका अभियान र युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई एकतापछि पार्टी संरचनामा समायोजन गरी जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार बनाउने पनि उल्लेख गरिएको छ ।

दुई महिनामै पाहुनाबाट सकारात्मक प्रतिक्रिया पाएको हायात प्लेस बुटवलको दावी

काठमाडौं । बुटवलस्थित हायात प्लेसले सञ्चालनको केवल दुई महिनामै पाहुनाबाट सकारात्मक प्रतिक्रिया पाएको जनाएको छ ।  प्रकृति, आध्यात्मिक मार्ग र साहसिक अनुभवको अनुपम संगम रहेको यस लोकेसनले स्वदेशी तथा विदेशी पाहुनाहरूलाई विशेष रूपमा आकर्षित गरेको होटलको भनाइ छ।  छोटो हवाई दुरीका कारण काठमाडौंबाट सहज पहुँचका साथै पोखरा, चितवन र लुम्बिनीजस्ता प्रमुख गन्तव्यहरूसँगको नजिक हुनुले पनि हायात प्लेस बुटवल यात्रुहरूको ‘ट्रान्जिट हब’ का रूपमा स्थापित हुँदै गइरहेको जनरल म्यानेजर तुषार नगरले दावी गरे । उनका अनुसार हायात प्लेस बुटवल अब आराम, गुणस्तरीय सेवा र स्मरणीय अनुभवको खोजीमा रहेका यात्रुहरूका लागि संधै पहिलो रोजाइ बन्ने लक्ष्यका साथ अघि बढिरहेको छ। पाहुनाहरू र ‘वर्ल्ड अफ हायात’ का सदस्यहरूका लागि महत्त्वपूर्ण मानिने बजारहरूमा विश्वव्यापी उपस्थिति विस्तार गर्ने लक्ष्यअनुसार हायात प्लेस ब्रान्डले यो नयाँ होटेल सञ्चालनमा ल्याएको थियो । हायातको ‘पाहुनाको सत्कारमा कुनै कमी नराख्ने’ मूलमन्त्रलाई आत्मसात गर्दै हायात प्लेस बुटवलले शैली, नवीनता र २४ सै घण्टा उपलब्ध सेवाहरूको संयोजनमार्फत आधुनिक तथा व्यस्त यात्रुहरूका लागि सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । होटेलमा किंग र ट्विन कोठासहित फरेस्ट भ्यू तथा हिल भ्यूका विकल्पहरू उपलब्ध छन् । ३०० देखि ७७५ वर्गफिटसम्मका फराकिला गेष्ट–रुम र सुइटहरू रहेको यस होटलको मुख्य आकर्षण १ हजार ५६० वर्गफिट क्षेत्रफलमा फैलिएको ‘प्रेसिडेन्सियल सुइट’ हो । साथै १५० जनासम्म अटाउने ग्रान्ड बलरुमसहित विविध कार्यक्रम तथा मिटिङका लागि आवश्यक संरचना पनि उपलब्ध गराइएको छ । होटेलले प्रदान गर्ने सुविधाहरूमा १०९ फराकिला गेष्ट–रुम, काम, विश्राम र रमाइलो गर्ने छुट्टाछुट्टै स्थानसहितका ‘कोजी कर्नर’ सोफा–स्लिपर बेड, तातो तथा चिसो परिकारहरू समावेश गरिएको निःशुल्क ब्रेकफास्ट, दिनरात जुनसुकै बेला खाना पाउन सकिने ‘द मार्केट’, प्रिमियम बियर, वाइन, कफी तथा ककटेल पाइने ‘जिङ बार’ प्रमुख छन् ।  साथै पाहुनाले बिर्सिएका आवश्यक सामग्री किन्न, सापटी लिन वा निःशुल्क प्रयोग गर्न मिल्ने ‘नेसेसिटिज’ कार्यक्रम, निःशुल्क वाइफाइ, आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर, स्पा तथा किड्स प्ले एरियाजस्ता पारिवारिक सुविधा पनि उपलब्ध गराइएको छ । होटेलको नेतृत्व जनरल म्यानेजर तुषार नगर र सेल्स डाइरेक्टर पार्थ बेनर्जीले सम्हालेका छन् । नगरले दैनिक सञ्चालन, कर्मचारी व्यवस्थापन तथा सेवाको गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी बहन गर्छन् । त्यस्तै, बेनर्जीले बुटवल क्षेत्रमा आउने यात्रु तथा मिटिङ आयोजकहरूलाई आवश्यक सेल्स सहयोग तथा सेवा प्रदान गर्ने जिम्मेवारी सम्हाल्दै आएका छन्  । 

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं ।  सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १० बुँदे सम्झौता असंवैधानिक भएको भन्दै गर्दै दायर भएको रिट निवेदन आज ‘हेर्न नभ्याइने’ भएको छ । न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आज पेसी तोकिएको भए पनि अरू मुद्दाको सुनुवाइ गर्दागर्दै हेर्न नभ्याइने सूचीमा परेको हो । यसअघि, न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले यही पुस ४ गते उक्त सम्झौताका बारेमा प्रधानमन्त्री सुशीला कार्कीका नाममा कारण देखाऊ आदेश गर्दै १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको थियो । अधिवक्ता डा प्रेमराज सिलवाल एउटा र अधिवक्ताहरू सुदीप भण्डारी, रोहित झा, सरोज कटेल तथा कानुनका विद्यार्थीहरू आयुष बडाल, प्रवीण पौडेल र स्मृति अधिकारीलगायतले दायर दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमा सम्झौता संविधानविपरीत भएको उल्लेख गरिएको थियो । प्रधानमन्त्री सुशीला कार्की र जेनजी पुस्ताका प्रतिनिधिबीच गत मङ्सिर २४ गते भएको सम्झौतामाथि संवैधानिक प्रश्न उठाउँदै रिट निवेदनमा अन्तरिम चुनावी सरकारलाई दीर्घकालीन र दूरगामी असर पार्ने राजनीतिक तथा संरचनात्मक सम्झौता गर्ने अधिकार नरहेको उल्लेख गरिएको छ ।