'एलओडी क्लब' डिजे म्यागको पुन: नोमिनेसनमा
काठमाडौं । ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२६ का लागि क्याम्पेनमा एलओडी पुन: परेको हो । डिजे म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । यस वर्ष पनि एलओडी क्लबले टप १०० क्लबको सूचीमा परेकाले भोट गर्न अपिल गरेको छ । एलओडी नेपालको वेभसाइटमा गएर डिजे टप १०० क्लबमा क्लिक गरेर भोट गर्न सकिने छ । मतदान गर्न वा गुगलको वा एप्पलको अप्सन आउँछ । डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा 'सबमिटमा' क्लिक गर्नुपर्छ । प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् । अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडी लेख्दै काठमाडौं सहरको नाम उल्लेख गर्नुपर्नेछ । एलओडी डिजे म्याग टप १०० को छनौटका लागि नोमिनेशनमा पर्दा राष्ट्र सँगसँगै जोडिने भएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए । छनौटमा सय क्लबको छनौटमा पर्न सफल भएमा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने रहेछन् भनेर प्रमाणित गर्न सकिने उनको भनाइ छ । विश्वका उत्कृष्ट क्लबहरूमध्ये एलओडी ४४ औँ स्थानमा रहेको छ । सन् २०१९ मा स्थापना भएको एलओडीले साउन्ड, अत्याधुनिक लाइटिङ र सांगीतिक वातावरणको उच्चतम माहोल बनाएको श्रेष्ठले बताए । उनका अनुसार साउन्ड र लाइट सिस्टमलाई स्तरोन्नति गर्दै पाहुनाहरूका लागि अझ सहज र सुरक्षित वातावरण बनाएको छ । 'एलओडी क्लब केवल एउटा नाइटक्लब मात्र होइन, यो नेपाली संस्कृति, प्रतिभा र राष्ट्रिय गौरवको प्रतीक पनि बनेको छ,' उनले भने, 'नेपाली संस्कृति र परम्परालाई समर्पित विशेष कार्यक्रमहरू मार्फत क्लबले नेपाली पहिचानलाई विश्वमञ्चमा प्रवर्द्धन गर्दै आएको छ । जसले राष्ट्रिय एकता र गर्वको भावना अझ बलियो बनाएको छ ।' एलओडी क्लब विदेशी र स्वदेशी पर्यटक दुवैका लागि ठमेलको एउटा गन्तव्य बनिसकेको उनले बताए । एलओडी क्लब सन् २०२२ मा ५२,२०२३ मा ४९, २०२४ मा ५० र २०२५ मा ४४ औँ स्थानमा परिसकेको छ । एलओडी क्लबले केही वर्षमै आफ्नो उत्कृष्ट स्थान बनाएर विश्वस्तरीय पहिचान बनाइसकेको क्लबका निर्देशक श्रेष्ठले बताए ।
विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने
काठमाडौं । नेपाली कांग्रेसले पुष २७ गते युवा भेला गर्ने भएको छ । तरण दल, नेविसंघ, महिला संघलगायतका भातृ संगठनको आयोजनामा युवा भेला गर्न लागिएको तरुण दलका सभापति विद्वान गुरुङले जानकारी गराए । पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुन लागेको उक्त कार्यक्रममा निर्वाचन केन्द्रित प्रशिक्षण दिइने गुरुङले बताए । उनका अनुसार निर्वाचनमा युवा परिचालनको रणनीति तय गर्न भेला गर्न लागिएको हो । पुष २७ गते भृकुटीमण्डपमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशनको आयोजना गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेत भेलालाई भव्य बनाउन पार्टीका सबै भातृ संस्थाहरू सक्रियतापूर्वक लागेको जानकारी दिए ।
आईएमई लाइफको १०.५२ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा बिहीबार काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचिसहितको वित्तीय विवरण पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ । सभाले सञ्चालक समितिको प्रस्तावअनुसार आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट कम्पनीको तत्काल कायम चुक्ता पूँजीको १०.५२६३२ प्रतिशतका दरले ५२ करोड ६३ लाख १५ हजार ७ सय ८९ रुपैयाँ नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । विशेष प्रस्तावअन्तर्गत कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा अभिलेख गर्ने निकायबाट कुनै संशोधनका लागि निर्देशन प्राप्त भएमा सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट गरिएको खर्चसमेत अनुमोदन गरेको छ । सभामा अध्यक्ष डा. अर्यालले कम्पनीको उन्नति र प्रगतिमा निरन्तर सुझाव र सहयोग गर्ने सेयरधनी, सञ्चालक, बीमित, नियमनकारी निकाय, पुनर्बीमा कम्पनी, कर्मचारी, अभिकर्ता, बैंक तथा वित्तीय संस्था तथा अन्य सम्पूर्ण शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गरे ।
नेपाल निर्यात परिषद्को अध्यक्षमा थपलिया निर्वाचित
काठमाडौं । नेपाल निर्यात परिषद्को अध्यक्षमा डा। रामशरण थपलिया निर्वाचित भएका छन् । परिषद्को बुधबार (आज) सम्पन्न २८ औं वार्षिक साधारणसभामा थपलिया निर्विरोध रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् । साथै सभाले नयाँ कार्यसमिति पनि निर्वाचित गरेको छ । परिषद्को प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल, महासचिव वसन्तराज अधिकारी, कोषाध्यक्षमा राजु बाँनिया, सचिवमा अमृतमान श्रेष्ठ र सहकोषाध्यक्षमा हरिशरण भेटवाल निर्वाचित भएका छन्। परिषद्ले नेपालमा उत्पादित हस्तकलाका सामान, फेल्ट, धातुका सामग्री, गार्मेन्ट, नेपाली ढाकाका कपडा, उलनका हाते उत्पादनलगायतका सामाग्री विदेशमा निर्यात गर्दै आएको छ । ती सामाग्री आर्थिक वर्ष २०८१/८२ मा दुई खर्ब ७७ अर्ब तीन करोड र चालु आवको चार महिनामा ९३ अर्ब ५० करोडको सामान विभिन्न मुलुक निर्यात भएको थियो ।
सानिमा रिलायन्स लाईफको १०.१७ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। सभाको अध्यक्षता कम्पनीका अध्यक्ष रतन लाल केडियाले गरेका थिए । सभामा कम्पनीको आव ०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण रिपोर्ट र वित्तीय विवरण पारित गरिएको छ । साथै, संचालक समितिको प्रस्ताव अनुसार चुक्ता पूँजीको १०.१७८ प्रतिशत दरले ५१ करोड ४ लाख १८ हजार ९ सय ७० रूपैयाँ बराबरको नगद लाभांश करसहित वितरण गर्ने निर्णय पनि पारित भएको छ । यसैगरी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि स्वीकृत भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले संस्थागत सुशासन, ग्राहकमैत्री सेवा, शाखा विस्तार, सूचना प्रविधि प्रयोग र आन्तरिक नियन्त्रण प्रणालीका कारण कम्पनीले बीमा बजारमा सम्मानजनक स्थान ओगट्न सफल भएको जानकारी दिँदै मर्जरपछि आएका चुनौतीहरू व्यवस्थापन गरी कम्पनीलाई सबल र सक्षम बनाउन सफल भएको बताए । सभाध्यक्षले उपस्थित सेयरधनी, अतिथिहरू, नियामक निकायहरू, अभिकर्ता, बीमित र सञ्चारकर्मीलाई धन्यवाद दिँदै सभालाई समापन गरेका छन् ।
१२९ कम्पनीको सेयर मूल्य बढ्यो, ४ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले बढेर २६४० बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १२९ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको मूल्य घटेको छ । १५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बिहीबार ३२८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । एसवाई प्यानलको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बन्दिपुर केबलकारको १७ करोड, सान्भी इनर्जीको १५ करोड ८९ लाख, सागर डिस्टीलरीको १५ करोड र शिवम् सिमेन्टको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । \ बिहीबारको कारोबारमा सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको छ । बैंकिङ ०.३०, विकास बैंक ०.१८, होटल तथा पर्यटन ०.४०, हाइड्रोपावर ०.३२, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.४९, निर्जीवन बीमा ०.२६ प्रतिशतले बढेका छन् । फाइनान्स ०.४४, लगानी ०.२०, माइक्रोफाइनान्स ०.०३, अन्य ०.०७ तथा व्यापार ०.२२ प्रतिशतले घटेका छन् ।
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ । एमालेका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रका लागि आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरिएको जानकारी दिए । अध्यक्ष निरौलाले निर्वाचन क्षेत्रीय कमिटीबाट आएका नामसहित जिल्ला कमिटीले ती उम्मेदवारका नाममा सुझाव दिँदै राजधानी प्रदेश कमिटीमा उम्मेदवारको नाम सिफारिस गरिएको बताए । एमालेले निर्वाचनका लागि यही पुस २४ गतेभित्र प्रदेश कमिटीमा नाम पठाउन जिल्ला कमिटीलाई निर्देशन दिइसकेको छ । एमाले काठमाडौंले क्षेत्र नं २ र ८ बाहेक सबै निर्वाचन क्षेत्रमा एकजना भन्दाबढी उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्र नं २ मा मणिराज फुँयाल र क्षेत्र नंं ८ मा राजेश शाक्यको एकल नाम सिफारिस गरेको छ । निरौलाका अनुसार काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेलले चाहेको खण्डमा उनलाई नै उम्मेदवार बनाउने र नचाहेको खण्डमा अन्यलाई पनि उम्मेदवार बनाउन नाम सिफारिस गरिएको छ । उनले काठमाडौं क्षेत्र नं १ मा मोहन रेग्मी, शर्मिला कार्की र सरोज ढकालसहित आठजना, काठमाडौं क्षेत्र नंं ३ मा रामेश्वर फुँयाल, कृष्ण राईसहित ६ जना, क्षेत्र नं ४ मा सचिव डा राजन भट्टराईसहित १३ जनाको नाम सिफारिस गरिएको बताए । त्यसैगरी काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा एमालेका नेता ईश्वर पोखरेलसहित आठजना, क्षेत्र नं ६ मा केन्द्रीय सदस्य अमनकुमार मास्के, प्रकाश अधिकारीसहित १२ जना, क्षेत्र नं ७ मा केन्द्रीय उपाध्यक्ष रघुजी पन्तसहित ११ जना, क्षेत्र नं ९ मा केन्द्रीय सदस्यद्धय कृष्णगोपाल श्रेष्ठ र डा अजयक्रान्ति शाक्यसहित सात जना र क्षेत्र नं १० मा केन्द्रीय सदस्य विनोद श्रेष्ठसहित सात जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ ।
आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्सको ५ प्रतिशत नगद लाभांश स्वीकृत
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २८औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभामा अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायतले सेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीको वार्षिक प्रगति, भविष्यका योजना र आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सभामा चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सेयरधनीहरूले सर्वसम्मति मार्फत स्वीकृत गरेका छन् । साथै, कम्पनीको पानीपोखरी स्थित ११ तल्ले नयाँ भवन सञ्चालनमा आउँदैछ, जसमा प्रधान कार्यालय स्थानान्तरण हुनेछ र अन्य तल्ला भाडामा उपलब्ध गराइनेछ । सभामा अध्यक्ष ढकालले जानकारी दिए कि समीक्षा वर्षमा कम्पनीले देशका सातै प्रदेशमा रहेका ९० शाखा, ५३१ कर्मचारी, ४३० अभिकर्ता र १९२ सर्भेयर मार्फत सेवा प्रदान गर्दै आएको छ । बीमा प्रिमियम संकलन रु. ३८६ करोड ५९ लाख पुगेको छ भने दावी भुक्तानी रु. २ अर्ब ४६ करोड ३३ लाख पुगेको छ । कम्पनीले स्वास्थ्य बीमा योजनामा नवीन सेवा, विदेशी पर्वतारोहण तथा ट्रेकिङ्गमा बीमाको सुरुवात जस्ता डिजिटल र ग्राहकमैत्री पहलहरू अघि बढाएको जानकारी सभामा दिइयो । अध्यक्ष ढकालले सेयरधनीहरूको समर्थन र सरकार तथा नियामक निकायहरूको सहयोगप्रति आभार व्यक्त गर्दै कम्पनीले भविष्यमा पनि बीमा बजारमा विश्वसनीयता, पारदर्शिता र गुणस्तरीय सेवा कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।