मनकामना केबलकार ३ दिन बन्द गरिने
काठमाडौं । मनकामना केबलकार आजदेखि ३ दिन बन्द गरिने भएको छ । केबलकारको व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए । असोज १८ गतेदेखि पुनःनियमित सेवा सञ्चालनमा आउने उनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ । यो नेपालको पहिलो केबलकार हो ।
दसैँपछि मनसुन थप सक्रिय भई अति भारी वर्षा हुने, सावधानी अपनाउन अनुरोध
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दसैँ (असोज १७ गते) पछि मनसुन थप सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ । विभागले मङ्गलबार राति दोस्रो दसैँ विशेष मौसम बुलेटिन जारी गरी बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेबाट मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुने जानकारी गराएको छ । विभागकी मौसमविद् विनु महर्जनले भने, ‘हालको मौसम विश्लेषणअनुसार नेपालमा मनसुनी वायुको प्रभाव केही कमजोर रहे पनि बङ्गालको खाडीमा विकसित न्यून चापिय प्रणाली भारतको ओरिसाबाट जमिनको भू-भाग हुँदै प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको छ । त्यो नेपालमा प्रवेश गर्न लागेको र यही १७ गते यहाँ आइपुग्ने हुँदा मनसुन थप सक्रिय हुने सम्भावना देखिएको छ ।’ उनले न्यून चापिय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी असोज १७ (एकादशी) का दिनबाट देशका विभिन्न भूभाग खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको बताए । ‘तसर्थ, नेपालमा यस वर्षको दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव र स्थानीय वायु विकसित हुँदा नेपालमा मौसम बदली भइरहेको छ,’ उनले भने । असोज १७ (एकादशी) मा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । असोज १८ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । असोज १९ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा र एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । दसैँको अन्तमा मनसुन सक्रिय समेत हुने सम्भावना रहेकाले सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरोका साथै सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने देखिएको विभागले जनाएको छ । मौसमको अद्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।
महिला नेतृत्वको लेकबेसी सहकारीले बिक्री गर्याे ३५० खसी बोका
काठमाडौं । नवलपरासीको हुप्सेकोट गाउँपालिका-४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारीमार्फत ३५० वटा खसी बोका बिक्री गरिएको छ । लेकबेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँको अवसरमा ती खसी बोका बिक्री गरेको हो । गाउँपालिकामा रहेका किसानहरूले उत्पादन गरेका खसी बोका सङ्कलन गरी घटस्थापनाको दिनदेखि बिक्री सुरु गरिएकामा हालसम्म ३५० खसी बोका बिक्री गरिएको सहकारी संस्थाको व्यवस्थापक सुशीला परियारले जानकारी दिइन् । ‘असोज ६ गतेदेखि खसी बोका सङ्कलन र बिक्री सुरु गरेका थियौँ । हालसम्म ३५० वटा खसीबोका बिक्री गरेका छौँ,’ उनले भनिन्, ‘प्रतिकिलो ज्युँदो सरदर ५७० रुपैयाँसम्म बिक्री गरिएको छ ।’ संस्थामार्फत वर्षभरि नै खसी बोका सङ्कलन तथा बिक्री गरिने भए पनि चाडपर्वलाई लक्षित गरी बढी सङ्ख्यामा बिक्री भएको हो । ‘गत वर्षको दसैँमा १५ सय खसी बोका बिक्री गरिएको थियो, त्यस बापत करिब २ करोड ५० लाख रुपैयाँको कारोबार भएको थियो,’ परियारले भनिन्, ‘यस वर्ष भने पहिले जति बिक्री भएन । दसैँपछि पनि बजारमा माग हुने हुँदा सोही अनुपातमा कारोबार हुने अनुमान गरेका छौँ ।’ गाउँमा उत्पादित खसी बोका बजारसम्म पुर्‍याउनका लागि सहकारीले विगत ११ वर्षदेखि बजार व्यवस्थापनको काम गर्दै आएको छ । कृषकहरूले भनेको समयमा बिक्री गर्न र उत्पादनअनुसार मूल्य नपाउने समस्या भएपछि सहकारीले सङ्कलन केन्द्रको स्थापना गरेर कृषि उपजको बजारीकरण गर्दै आएको छ । यसरी सहकारीले घरबाट नै खरिद गरेर बजारीकरण गरिँदा आम्दानी र कारोबारमा सहज भएपछि स्थानीय कृषकहरू खुसी भएका छन् । पहिले व्यापारीले भनेअनुसार बिक्री गर्ने बाध्यता रहेकामा केही वर्षदेखि सहकारीमार्फत बिक्री गर्दा बजारको चिन्ता नभएको र बजार मूल्य पनि पाएको कृषक शर्मिला विश्वकर्माको भनाइ छ । ‘सहकारीले घरमै आएर खसी बोका जोखेर खरिद गर्ने हुँदा बिचौलियाबाट ठगिने समस्यासमेत हटेको छ,’ उनले भनिन् । सेयर सदस्यबाहेक अन्य कृषकहरूको पनि खसी बोका खरिद गर्ने गरिएको छ । ठूला व्यापारीदेखि स्थानीयसमेत खसी बोका लिन सहकारीमा आउने गरेका छन् । हुप्सेकोट गाउँपालिका क्षेत्रमा बाख्रा पालक कृषकहरूको सङ्ख्या उल्लेख्य रहेकाले यहाँबाट बर्सेनि सयौं खसी बोका काठमाडौं, पोखरालगायत सहरमा निर्यात गर्ने गरिएको छ । बाख्रापालन गर्ने कतिपय महिलाहरूले विदेश गएका श्रीमान्ले भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।
बढी भाडा दर असुल गर्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गर्छौ: यातायातमन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत एवं कानुनको प्रतिकूल हुने गरी निर्धारित भन्दा बढी भाडा दर असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन् । चाडबाडको मौका छोपी बढी भाडा दर असुल्ने गरेको, टिकटको कालोबजारी गरेको लगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानून विपरीतका त्यस्ता क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरे । हालको देशको विषम परिस्थितमा यातायात व्यवसायीलगायत सबै पक्ष जिम्मेवार बन्नु पर्नेमा यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने मौका रुपमा प्रयोग नगर्न, स्वीकृत भाडा दरभन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न आग्रह गरे । यातायात व्यवसायीबाट त्यस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय सुरक्षा निकाय र प्रशासनलाई खबर गर्न उनको आग्रह छ ।
नवरात्रको अन्तिम दिन: आज देशभर नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ । नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजाकोठा वा दसैँ घरमा आज नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजाआराधना गरिन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।
कर्णालीका ३ जिल्लामा ५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध
काठमाडौं । कर्णाली प्रदेशका केही जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ । यहाँका जाजरकोट, रुकुम पश्चिम र डोल्पामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो । नलगाड नगरपालिका-१२, १३ सँगै रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-४, ५, ६ मा पूर्ण रूपमा सञ्चार सेवा अवरुद्ध भएको हो । यस्तै, बारेकोट गाउँपालिका-५ मा रहेको रतनकोटस्थित टावरमा समस्या आएपछि बारेकोट गाउँपालिकाको अधिकांश भाग सञ्चार सेवाबाट वञ्चित भएको छ । रुकुम पश्चिमको गोतामकोट, जाजरकोटको नायकवाडा तनकोटको टावरमा समस्या आएपछि यहाँका नागरिक दसैँको मुखैमा आफन्तसँग कुरा गर्न नपाएको नलगाड नगरपालिका प्रमुख डम्मर रावतले जानकारी दिए । सञ्चार सेवा अवरुद्ध भएको जानकारी जिल्ला हुँदै प्रदेश कार्यालयमा पु¥याए पनि समाधान नभएको उनले बताए । यस्तै, सोही टावरको सहायताले डोल्पाको मुडकेचुलामा रिले गर्ने भएकाले डोल्पाको मुडकेचुलामा समेत सञ्चार सेवा अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । नेपाल टेलिकम जाजरकोटका प्राविधिक प्रकाश उपाध्ययका अनुसार समस्या आएको ठाउँमा काम भइरहेको छ । गोतामकोट टावर मर्मत गरेर नायकवाडा मर्मत हुने उनले जानकारी दिए ।
नवरात्रको आज अन्तिम दिन: दसैँ घरमा सिद्धिदात्री देवीको पूजा गरिँदै
काठमाडौं । आश्विन शुक्ल नवमीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले यी देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ । यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिएकी छिन् । सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ । दुर्गा देवीका नौ नाम स्वयम् ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताउनुभएको विभिन्न पुराणमा उल्लेख छ । यी नौ नाम स्मरणमात्र गर्नाले जुनसुकै कष्ट वा सङ्कटबाट पनि मानिसले सजिलैसँग छुटकारा पाउने विश्वास गरिन्छ । नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । दोस्रो दिन असोज ७ गते मङ्गलबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन असोज ८ गते बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन असोज ९ गते बिहीबार र पाँचौँ दिन असोज १० गते शुक्रबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । चौथी तिथि वृद्धि भएर दुवै दिनको सूर्योदयकालमा चौथी परेकाले दुवै दिन कुष्माण्डा देवीको पूजाआराधना गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । यस वर्षको नवरात्रको छैटौँ दिन असोज ११ गते शनिबार नवदुर्गामध्येकी पाँचौँ स्कन्दमाताको पूजाआराधना गरियो । सातौँ दिन असोज १२ गते आइतबार छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । आठौँ दिन असोज १३ गते सोमबार सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजाआराधना गरियो । नवरात्रको नवौँ दिन असोज १४ गते मङगलबार आश्विन शुक्ल अष्टमीमा महागौरी देवीको पूजाआराधना गरियो । नवरात्रको अन्तिम दिन आज आश्विन शुक्ल नवमीमा सिद्धिदात्री देवीको पनि विशेष पूजा आराधना गर्नुपर्ने समितिका सदस्य भट्टराईले बताउनुभयो । नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष असोज १६ गते बिहीबार विजयादशमी परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि समितिले बिहान ११ः५३ को साइत उत्तम रहेको जनाएको छ । दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । दशैँको नवौँ दिन आज पनि शक्तिपीठमा पूजाआराधना गर्ने भक्तजनको भीड लाग्छ । महानवमी नवरात्रको अन्तिम दिन भएकाले शक्तिपीठमा झन धेरै भक्तजन पूजा, आराधना र दर्शनका लागि पुग्ने गर्छन् । यसैगरी शक्तिपीठसहित घरघरमा पनि बलीसहित पूजाआराधना गरी नेपालीले आजको दिनलाई विशेष रूपमा मनाउँछन् ।
तलेजु भवानी मन्दिर सबैका लागि खुल्ला, बिहानैदेखि दर्शनार्थी घुइँचो
काठमाडौं । भक्तपुरको ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र तलेजु भवानीको मन्दिर आज बिहानैबाट दर्शनका लागि खुल्ला गरिएको छ । हरेक वर्ष महानवमीको दिन मात्र यो मन्दिर सबैका लागि खुल्ला गरिन्छ । महानवमीका दिन तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण आज दिनभर यहाँ दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ । सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने गरेको र जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी भन्ने धार्मिक किंवदन्ती रहेको छ । राजाले क्षमायाचना गरेपछि तलेजुले वर्षको एक पटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन मन्दिरमा प्रकट हुने जनविश्वास छ । एक अर्को किंवदन्तीअनुसार उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीको रूपमा प्रवेश गरेको भन्ने गरिन्छ । त्यसै बेलादेखि भक्तपुरमा कुमारीलाई एकान्त कुमारीको रूपमा पुज्न थालिएको हो । कुमारी पुज्ने चलन सबैभन्दा पहिले भक्तपुरबाट सुरु भएर पछि काठमाडौं र ललितपुरमा बिस्तार भएको भक्तपुर तलेजुका मुख्य नाइके नरेन्द्रप्रसाद जोशीले बताए । विजयादशमीको दिन बिहीबार जीवित देवी कुमारीको हातबाट टीका थाप्ने प्रचलन छ । राँगो दौडाउने जात्रा सम्पन्न यस्तै, महाअष्टमीका दिन राति मनाइने ३२ लक्षणयुक्त निकुथु (निक्खर) राँगो दौडाउने जात्रा सम्पन्न भएको छ । महिषासुरको प्रतीक मानिने निक्खर राँगो जात्रा स्थानीय व्यासी टोलबाट दौडाउँदै यालाछें, बालाखु हुँदै दरबार स्क्वायरसम्म ल्याएर तलेजुमा पुर्याई कालरात्री पूजा गरिएको थियो । जात्राका क्रममा स्थानीयहरूले बाटोको दुवै छेउमा बसी सुकुन्दा बत्ती बालेर राँगोलाई पूजा गर्ने प्रचलन छ । जात्रा दरबार स्क्वायरमा पुगेपछि खड्ग लिएर बसेका पूजारीले राँगोलाई मूलचोक भित्र्त्याउन आदेश दिएसँगै तलेजुको मूलचोकमा पुर्याएर तलेजुमा कालरात्री मनाइएको तलेजुका मुख्य नाइके जोशीले जानकारी दिए । दसैँ महाअष्टमीको अवसरमा तलेजुमा ५४ बोका, ३२ राँगा र ३२ हाँस बलि दिएर कालरात्री मनाइएको उनले बताए । गुठी संस्थान कार्यालय अर्थात् सरकारको व्यवस्थापनमा वर्षौदेखि चल्दै आएको बलि दिने परम्पराअनुसार यसपटक पनि बलि पूजा गरिएको हो ।