साझा यातायातको बन्द सेवा पुनः सुचारु
काठमाडौं । तलब तथा सुविधाको विषयलाई लिएर कर्मचारीहरूले काम रोक्दा बुधबार बिहानदेखि प्रभावित भएको साझा यातायातको बस सेवा पुनः सुचारु भएको छ । कर्मचारीहरूसँगको छलफलपछि सहमति जुटेको र सबै रुटमा गाडी चल्न थालेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालले जानकारी दिए । उनका अनुसार यो कुनै आन्दोलन नभई कर्मचारीहरूको तलब-सुविधा सम्बन्धी केही अस्पष्टता हटाउन गरिएको आन्तरिक छलफल थियो । ‘यो आन्दोलन होइन, हाम्रा कर्मचारीहरूको तलब-सुविधा र नियमसम्मतका केही विषयमा जिज्ञासा थिए, त्यसैलाई स्पष्ट पार्न हामीले छलफल गरेका हौं’, अर्यालले विकासन्युजसँग भने । साझाले अधिकांश कर्मचारी आउटसोर्सिङ मार्फत लिएको र उनीहरूले आफूले पाउनुपर्ने सुविधाबारे केही भ्रम र जिज्ञासा राखेका थिए । सीईओ अर्यालले भने, ‘आउटसोर्सिङमार्फत आउनुभएका कर्मचारीहरूलाई हामीले पठाएको तलब र सुविधा सही तरिकाले पुगेको छ कि छैन भन्नेमा केही अस्पष्टता रहेछ। हामीले त्यसलाई क्लियर गर्ने प्रयास गर्यौं । ’ कर्मचारीहरूका माग श्रम ऐन अनुसार नै सम्बोधन गरिनेमा सहमति भएको छ । ‘श्रम ऐनले दिएको सुविधा दिन हामी तयार छौं, तर ऐनभन्दा बाहिर गएर सुविधा दिन मिल्दैन,’ अर्यालले भने, ‘अहिलेको सम्झौता चैतसम्म भएकाले त्यसलाई तोड्न मिल्दैन। चैतपछि फेरि बसेर सबैको हित हुने गरी नयाँ निर्णय लिइने मौखिक सहमति भएको छ । ’ कर्मचारीहरूले साझाले नै सिधै रोजगारी दिनुपर्ने माग राखेको विषयमा पनि आगामी दिनहरूमा छलफल गर्न सकिने उनले बताए । ‘यो ठूलो मुद्दा नभई सामान्य आन्तरिक छलफल हो, जुन हरेक कार्यालयमा हुन्छ,’ अर्यालले थपे, ‘केही तत्वहरूले उक्साउन खोजे पनि हामीले छलफलबाटै समस्या समाधान गरेका छौं । अब सबै समस्या हल भइसकेको छ र सेवा पूर्ण रूपमा सञ्चालनमा छ ।’ बिहान करिब ७ बजेदेखि कर्मचारीहरूले बस चलाउन रोकेका थिए । जसका कारण उपत्यकाका यात्रुहरूले सास्ती खेप्नुपरेको थियो । छलफलमा सहमति जुटेसँगै अहिले सबै रुटमा साझाका बसहरू गुड्न थालेका छन् ।
प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै
वालिङ । आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जामा दुई लाख ४८ हजार मतदाता कायम भएको छ । २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भई दुई लाख ४८ हजार ८१६ जनाले आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार पुरुष एक लाख २२ हजार ४६४, महिला एक लाख २६ हजार ३५१ र अन्य एक गरी कुल दुई लाख ४८ हजार ८१६ मतदाता रहेका हुन् । जिल्लामा पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ । पुरुषभन्दा महिला मतदाता तीन हजार ८८७ जना धेरै रहेका छन् । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा एक लाख ३० हजार ८८६ मतदाता छन् । स्याङ्जा क्षेत्र नं २ मा एक लाख १७ हजार ९३० मतदाता छन् । क्षेत्र नं १ मा गत निर्वाचनका तुलनामा यस वर्ष तीन हजार ४७५ मतदाता थप भएका छन् । क्षेत्र नं २ मा एक हजार २५२ मतदाता थपिएका कार्यालय प्रमुख थापाले जानकारी दिए । जिल्लामा २०७९ को निर्वाचनमाभन्दा यस वर्षको निर्वाचनमा कूल चार हजार ७२७ मतदाता थपिएका हुन् । विसं २०७९ मा भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा दुई लाख ४४ हजार ०८९ मतदाता रहेका थिए । स्याङ्जा जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १९९ मतदानस्थल कायम गरिएको छ भने ३२२ मतदान केन्द्र रहने उनले जानकारी दिए । गत निर्वाचनमा १९९ मतदानस्थल रहेको थियो भने मतदान केन्द्र ३२० कायम रहेकोमा यसपटक दुई मतदान केन्द्र थप भएका हुन् ।
ट्राफिक सचेतना कक्षा लिने चालकलाई राहत, अब दैनिक ७ वटा कक्षासँगै शनिबार पनि पढ्न पाइने
काठमाडौं । सवारी नियम उल्लंघन गरी कारबाहीमा परेका चालकहरूका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सचेतना कक्षाको संख्या थप गरेको छ । सेवाग्राहीको चाप र सहजतालाई मध्यनजर गर्दै यसअघि दैनिक ५ वटा सञ्चालन हुँदै आएको कक्षालाई बढाएर ७ वटा पुर्याइएको हो । अबदेखि काठमाडौंको रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालयमा सार्वजनिक बिदा बाहेकका दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सातवटा सत्रमा कक्षाहरू सञ्चालन हुनेछन् । शुक्रबारको हकमा भने अपरान्ह ३ बजेसम्म मात्र कक्षा सञ्चालन हुने कार्यालयले जनाएको छ । कार्यालय समयमा उपस्थित हुन नसक्ने कर्मचारी वा अन्य व्यस्त चालकहरूको सहजताका लागि ट्राफिक प्रहरीले विशेष व्यवस्था गरेको छ । अब प्रत्येक शनिबार (सार्वजनिक बिदा बाहेक) बिहान १० बजेदेखि १२ बजेसम्म दुई वटा कक्षा संचालन हुनेछन् । चालकहरूले आफ्नो अनुकूल समय मिलाएर यी कक्षाहरूमा सहभागी हुन सक्नेछन् । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्तीको उल्लंघन गर्ने तथा सडक लेन अनुशासन पालना नगर्ने चालकहरूका लागि यो सचेतना कक्षा अनिवार्य गरिएको हो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ट्राफिक कार्यालयहरूमा आगजनी भएपछि झण्डै डेढ महिना यो सेवा अवरुद्ध भएको थियो । कात्तिक ११ गतेदेखि पुनः सुरु भएको यो सेवा हाल रामशाहपथमा मात्र उपलब्ध छ । ललितपुर र भक्तपुरमा भने आन्दोलनका कारण क्षतिग्रस्त भएका पूर्वाधारहरू निर्माणको चरणमा रहेकाले केही समयपछि मात्र कक्षा सुरु हुने ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीको यो कदमले जरिवाना तिरेर पनि समय अभावका कारण कक्षा लिन नपाएका चालकहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ ।
साना तथा मझौला व्यवसायी महासंघको अध्यक्ष म नै हुँ, भ्रममा नपर्नु : ईनु पौडेल
काठमाडौं । साना तथा मझौला व्यवसायी महासंघ नेपालकी अध्यक्ष ईनु पौडेलले महासंघको नाममा भइरहेको भ्रमपूर्ण प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पौडेलले पूर्वअध्यक्ष हरिभक्त पराजुलीले आफू अझै अध्यक्ष रहेको भन्दै भ्रम फैलाइरहेको दाबी गरिन् । उनले पूर्वअध्यक्ष पराजुलीले विभिन्न जिल्ला, प्रदेश, सरकारी तथा गैरसरकारी निकायहरूमा आफू नै अध्यक्ष भएको दाबी गर्दै पत्राचार र प्रचार गरिरहेको सूचना प्राप्त भएको उल्लेख गर्दै कसैलाई पनि भ्रममा नपर्न आग्रह गरिन् । उनले भनिन्, 'हरिभक्त पराजुली हाल साना तथा मझौला व्यवसायी महासंघ नेपालको कुनै पनि पद वा जिम्मेवारीमा रहनुभएको छैन । उहाँसँग महासंघको तर्फबाट कुनै पनि कानुनी, आर्थिक, प्रशासनिक वा संस्थागत अधिकार छैन ।' महासंघले आफ्नो विधान र प्रचलित कानुनअनुसार संस्थागत मर्यादा र पारदर्शिता कायम राख्न आफू प्रतिबद्ध रहेको जनाएको छ । विधानविपरीतका कार्यहरू जारी रहेमा सम्बन्धित व्यक्तिविरुद्ध कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत महासंघले दिएको छ । यदि पराजुलीले महासंघको लेटरहेड, छाप वा पहिचान प्रयोग गरी कुनै गतिविधि गरेमा त्यसको सम्पूर्ण जिम्मेवारी उहाँ स्वयंले लिनुपर्ने र संस्थाले त्यसको अपनत्व नलिने महासंघले स्पष्ट पारेको छ । देशको वर्तमान आर्थिक अवस्था र साना व्यवसायीको भूमिकाबारे चर्चा गर्दै अध्यक्ष पौडेलले नेपालका ८० प्रतिशतभन्दा बढी व्यवसायीहरू साना तथा मझौला क्षेत्रमा आबद्ध रहेको बताइन् । 'नेपालको अर्थतन्त्र महलले होइन, झुपडीले टिकेको छ,' उनले भनिन्, 'दुई तिहाइभन्दा बढी रोजगारी र उत्पादनको भार सम्हालिरहेका साना व्यवसायीको संरक्षण गर्नु नै देशको भविष्य सुरक्षित गर्नु हो ।' पत्रकार सम्मेलनमा महासंघका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।
सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाले दिए राजीनामा
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाले राजीनामा दिएका छन् । देवकोटाले पुस ९ गते व्यक्तिगत कारण देखाउँदै राजीनामा पेश गरेका हुन् । बैंक सञ्चालक समितिको पुस १५ गते बसेको बैठकले उनको राजीनामा आगामी माघ १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । बैंकले देवकोटाको राजीनामासँगै आवश्यक व्यवस्थापन प्रक्रिया अघि बढाइएको जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको अध्यक्षमा चौलागाईं चयन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२औँ केन्द्रीय महाधिवेशन पुस ११ र १२ गते नेपालगञ्जमा सम्पन्न भएको छ । महाधिवेशनमा देशभरका ८ सयभन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो । महाधिवेशनको मूल समारोहको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै उनले कर्मचारी एकता, संस्थागत सुशासन र बैंकको सुदृढीकरणमा कर्मचारी संघको भूमिकाको प्रशंसा गरेका थिए । महाधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । संघको अध्यक्षमा रबिन्द्र प्रसाद चौलागाईं, वरिष्ठ उपाध्यक्षमा कबिराज बराज र महासचिवमा ऋषिराम ज्ञवाली चयन भएका छन् । उनीहरूसहित ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ । नवगठित नेतृत्व र महाधिवेशनले लिएको नीतिले आम कर्मचारीको मनोबल उच्च राख्दै कर्मचारीका साझा एजेन्डामा एकताबद्ध भएर समस्याको समाधान गर्ने र राष्ट्रिय वाणिज्य बैंकको समग्र प्रगतिमा योगदान पुर्याउने विश्वास लिएको संघले जनाएको छ । आम कर्मचारीले संघप्रति देखाएको ठूलो विश्वास र भरोसालाई महाधिवेशनले केवल नेतृत्व परिवर्तनका रूपमा मात्र नभई संस्थाको हित, सुदृढीकरण र प्रगतिका लागि संघले बोकेको संकल्पको विजयका रूपमा व्याख्या गरेको छ । महाधिवेशनको पूर्वसन्ध्यामा संघले नेपालगञ्ज नगरमा प्लेकार्ड र ब्यानरसहित प्रभातफेरी समेत आयोजना गरेको थियो ।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा बुधबार दुवै धातुको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा १२० रुपैयाँले घटेको हो । बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६१ हजार रुपैयाँ र त्यति नै चाँदीको मोल चार हजार ४७० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँ र त्यति नै चाँदीको मोल चार हजार ५९० रुपैयाँमा कारोबार भएको थियो ।
६ दशकपछि सीईओ पद छोड्दै वारेन बफेट, बर्कशायर हाथवे अब कसले सम्हाल्ला ?
काठमाडौं । बर्कशायर हाथवेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वारेन बफेटले ३१ डिसेम्बरमा आफ्नो पद छोड्दै छन् । यो अवकाशको घोषणा बर्कशायरको वार्षिक सेयरधनीको बैठकमा गरिएको हो । सन् २०२६ जनवरी १ देखि कम्पनीका उपाध्यक्ष ग्रेग एबेलले बर्कशायरको कार्यभार सम्हाल्नेछन् । ९५ वर्षीय बफेटले आफू नियमित रूपमा कार्यालय आउने र बोर्डका अध्यक्षको रूपमा कायम रहने बताएका छन् । तर, दैनिक कार्यसञ्चालनबाट उनको बिदाइ हुनु छ दशक लामो एउटा युगको अन्त्य हो । जसले अमेरिकी पुँजीवादलाई नयाँ रूप दियो र संघर्षरत एउटा टेक्सटाइल कम्पनीलाई विशाल वित्तीय साम्राज्यमा रूपान्तरण गर्यो । आज बर्कशायर अमेरिकाको नवौं सबैभन्दा मूल्यवान कम्पनी हो । यो देशको दोस्रो ठूलो प्रोपर्टी तथा दायित्व बीमा कम्पनीसमेत हो, जसको स्वामित्वमा करिब ७०० अर्ब डलर बराबरका कारोबारयोग्य सेयर, बन्ड र नगद छन् । दशकौंसम्म बर्कशायरले एसएन्डपी ५०० सूचकांकलाई निरन्तर पछाडि पारेको छ । यस अवधिमा बफेटले गीको र नेशनल इन्डेम्निटीजस्ता बीमा कम्पनीहरू, इस्कर मेटलवर्किङजस्ता उत्पादन कम्पनीहरू, डेरी क्वीनजस्ता खुद्रा ब्रान्ड, ठूला युटिलिटी कम्पनीहरू तथा अमेरिकाका सबैभन्दा ठूला रेलमार्गमध्ये एक बीएनएसएफसमेत अधिग्रहण गरे । उनले सयौं अर्ब डलर बराबरका सेयर खरिद–बिक्री गरे र अमेरिकन एक्सप्रेस, कोका–कोला र एप्पलजस्ता कम्पनीहरूमा दीर्घकालीन लगानीबाट ठूलो नाफा कमाए । वारेन बफेटलाई संसारकै महान् लगानीकर्तामध्ये एक मानिन्छ । उनले बर्कशायरलाई सानो टेक्सटाइल मिलबाट विशाल बहुराष्ट्रिय कम्पनीमा रूपान्तरण गरे । सन् १९६२ मा उनले यो मिल प्रतिसेयर ७.६० डलरको दरमा किन्न सुरु गरेका थिए । आज बर्कशायरको एक सेयरको मूल्य ७ लाख ५० हजार डलरभन्दा बढी छ । बफेटको कुल सम्पत्तिमध्ये करिब १५० अर्ब डलर बराबरको हिस्सा बर्कशायरका सेयरमै रहेको छ । उनले पछिल्ला २० वर्षमा मात्र ६० अर्ब डलरभन्दा बढी दान गरिसकेका छन् । उत्तराधिकारीका रूपमा ग्रेग एबेलमाथि सबैको नजर रहने जनाइएको छ । बफेटजस्तो स्टक पिकिङका लागि एबेल परिचित छैनन् । उनले वर्कशायरको ऊर्जा व्यवसायबाट उचाइ हासिल गरेका हुन् । यस्तो अवस्थामा बफेटका प्रमुख लगानी सहायकमध्ये एक टोड कम्ब्स जेपीमोर्गन चेसतर्फ जानु केही लगानीकर्ताका लागि चिन्ताको विषय बनेको छ। एबेलले अब छिट्टै कठिन पूँजी बाँडफाँडसम्बन्धी निर्णय लिनुपर्नेछ । ब्याजदर घट्दै जाँदा बर्कशायरको ३८० अर्ब डलरको नगद भण्डारको अवसर लागत बढ्दै गएको छ । कम्पनीले सम्भवतः बीमा क्षेत्रमा अर्को ठूलो अधिग्रहण गर्न सक्छ, जहाँ बर्कशायरको चब्बमा पहिले नै ८ प्रतिशत हिस्सा रहेको छ । ग्रेग एबेलले बर्कशायरको दिशामा के परिवर्तन ल्याउँछन् भन्ने कुरामा लगानीकर्ताहरूले सूक्ष्म रूपमा नजर राख्नेछन् । तर, कुनै ठूलो उलटफेर हुने अपेक्षा गरिएको छैन । एबेलले सन् २०१८ देखि बर्कशायरका सबै गैरबीमा व्यवसायहरूको जिम्मेवारी सम्हाल्दै आएका छन् । बफेट बोर्डका अध्यक्षकै रूपमा रहनेछन् र हरेक दिन कार्यालय आउनेछन् । नयाँ लगानी अवसर पहिचान गर्न र एबेललाई सल्लाह दिन उनी सक्रिय रहनेछन् ।