विकासन्युज

राष्ट्रिय वाणिज्य बैंकमार्फत स्टार्टअप कर्जामा सुरक्षण सुविधा सुरु

काठमाडौं । स्टार्टअप उद्यमलाई कर्जा सुरक्षण उपलब्ध गराउने उद्देश्यले निक्षेप तथा कर्जा सुरक्षण कोष, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबारमा सोमबार मन्त्री अनिलकुमार सिन्हाको उपस्थितिमा छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो । समझदारीपत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक उमेश कुमार गुप्ता तथा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटी, डा. रामप्रसाद घिमिरे, सहसचिव जितेन्द्र बस्तेतलगायत अधिकारीहरूको उपस्थिति रहेको थियो । सम्झौतापछि स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० अनुसार बैंकले नविन प्रविधि तथा सिर्जनशील सोचमा आधारित स्टार्टअप उद्यमलाई प्रवाह गरेको कर्जाको सुरक्षण निक्षेप तथा कर्जा सुरक्षण कोषको स्टार्टअप उद्यम कर्जा सुरक्षण कार्यक्रमअन्तर्गत हुने व्यवस्था गरिएको छ । प्रतिष्ठानले स्वीकृत बजेटको सीमाभित्र कोषमा खडा गरेको छुट्टै स्टार्टअप उद्यम कर्जा सुरक्षण कोषबाट बैंकले प्रवाह गरेको कर्जाको सुरक्षण गरिनेछ । कार्यविधिअनुसार चालू आर्थिक वर्षमा बैंकले प्रति उद्यमी न्यूनतम ५ लाख रुपैयाँदेखि अधिकतम २० लाख रुपैयाँसम्म स्टार्टअप कर्जा प्रवाह गर्नेछ । कर्जा कृषि, वन तथा उत्पादनमूलक, सूचना प्रविधि तथा डिजिटल, पूर्वाधार तथा यातायात, सामाजिक सेवा र पर्यटन तथा परम्परागत तथा स्थानीय स्रोतसहित पाँच क्षेत्रअन्तर्गतका १९ उपक्षेत्रमा प्रवाह गरिने व्यवस्था गरिएको छ । अधिकतम पाँच वर्ष अवधिको स्टार्टअप उद्यम कर्जाको ब्याजदर वार्षिक ३ प्रतिशत रहने कार्यविधिमा उल्लेख छ ।

पद र मृत्यु सँगै लैजाने चलन रहेसम्म मधेसवादी दलहरूको एकता स्थायी हुँदैन : अनिल झा

काठमाडौं । मधेस केन्द्रित दलहरू एकताको प्रयासमा लागिरहेका बेला मधेसको सबैभन्दा पुरानो दल नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झा भने उक्त एकतामा नलाग्ने भएका छन् । कुनै समय राष्ट्रिय जनता पार्टीमा सँगै अध्यक्षता गरेका महन्थ ठाकुर र उपेन्द्र यादव फेरि एकतामा जोडिए पनि झा भने उक्त प्रयासमा सहभागी नहुने भएका हुन् । झा मधेसको सबैभन्दा पुरानो दल हुनुको नाताले अन्य मधेसी दल र ती दलका नेताहरूलाई सद्भावना पार्टीको झण्डामुनि गोलबन्द हुन आह्वान गर्छन् । उनले विगतमा समग्र मधेसका लागि पार्टीको झण्डा र नामसमेत थाती राखेर एकता गरे पनि त्यसले सार्थक परिणाम दिन नसकेको टिप्पणी गरेका छन् । मधेसका केही नेताहरूमा आफू बाहेक अरूको नेतृत्व स्वीकार गर्न नसक्ने प्रवृत्ति रहेको संकेत गर्दै झाले भने, 'पद र मृत्यु सँगै लैजाने चलन रहेसम्म यस्ता खाले एकताले कुनै पनि सार्थक परिणाम दिँदैन ।' झाले मधेसका नेताहरूलाई सद्भावना पार्टीको झण्डा र चुनाव चिह्नमा गोलबन्द हुन आह्वान गर्दै भने, 'मधेसको सबैभन्दा पुरानो दलमा सबै गोलबन्द बनौँ, म नेतृत्व हस्तान्तरण गर्न आतुर छु ।'  उनले थपे, 'मधेसको मसिहा सद्भावना पार्टी मात्रै हो ।'

आन्दोलनमा बल प्रयोगको निर्देशन गृहमन्त्रीले दिने कानूनी अधिकार छैन, दिएको पनि छैन : पूर्वगृहमन्त्री लेखक

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बल प्रयोग गर्न आफूले कुनै लिखित वा मौखिक आदेश नदिएको पुनः स्पष्ट गरेका छन् । जाँचबुझ आयोगमा वयान दिएलगत्तै काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।  उनले कुनैपनि आन्दोलनको क्रममा प्रधानमन्त्री वा मन्त्रीले सुरक्षा निकायलाई कति र कसरी बल प्रयोग गर्ने ? भन्ने आदेश दिने कुनै संवैधानिक वा कानूनी व्यवस्था नभएको उल्लेख गरे । आन्दोलनको क्रममा हाताहाती भइसकेपछि राजनीतिमा नैतिकतालाई सर्वोच्च मूल्य मानेर गृहमन्त्रीबाट राजीनामा दिएको दाबी पनि गरे । आफूले २२ भदौमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकमा समग्र सुरक्षा अवस्थाबारे सुरक्षा निकयका प्रमुखहरुलाई दिशानिर्देश मात्रै दिएको दाबी गर्दै त्यसलाई बल प्रयोगको आदेशका रूपमा व्याख्या गर्नु गलत भएको पनि बताए । आन्दोलनको क्रममा बल कति र कसरी गर्ने भन्ने विषयमा स्थानीय प्रशासन र फिल्डमा खटिएका सुरक्षाकर्मीले तत्कालीन वस्तुस्थितिको आधारमा गर्ने उनको जिकिर छ ।  ‘राजनीतिमा नैतिकता सबैभन्दा मूल्यवान विषय हो भन्ने मेरो विश्वास रहेको छ । त्यसै कारण नैतिकताका आधारमा राजीनामा दिएको हो । अन्यथा यस्ता प्रदर्शनहरुमा गृहमन्त्रीले बल प्रयोग गर्ने बारे कुनै लिखित र मौखिक आदेश दिने प्रश्न नै उठ्दैन । गृहमन्त्रीलाई कुनै पनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार दिएको छैन,’ उनले भने । उनले जेनजी आन्दोलनका मागहरु जायज भएपनि आन्दोलनमा घुसपैठक हुँदा मुलुकले ठूलो धनजनको क्षति व्यहोर्नुपरेको प्रति दुःख व्यक्त गरे ।   

सिद्धार्थ क्यापिटलको लगानी व्यवस्थापन १ अर्ब नाघ्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस- पीएमएस) प्रदान गर्दै आएको सिद्धार्थ क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन अन्तर्गतको एसेट अन्डर म्यानेजमेन्ट (एयूएम) १ अर्ब रुपैयाँ नाघेको छ । कम्पनीका अनुसार यो उपलब्धिले सिद्धार्थ क्यापिटलप्रति लगानीकर्ताहरूको विश्वास र संस्थाको सुदृढ व्यवस्थापन क्षमतालाई देखाएको छ । सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  (सीईओ) सन्दिप कार्कीले यो उपलब्धि संस्थाका लागि मात्र नभई सम्पूर्ण ग्राहकवर्ग, साझेदार, नियामक निकाय तथा कर्मचारीहरूको विश्वास र सहयोगको परिणाम भएको बताए । उनले सिद्धार्थ क्यापिटल दीर्घकालीन तथा सुरक्षित लगानीमार्फत दिगो प्रतिफल प्रदान गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरे । संस्थाले व्यक्तिगत तथा संस्थागत ग्राहकहरूका लागि लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्कासन, सामूहिक लगानी कोष, निक्षेप सदस्य, धितोपत्र प्रत्याभूति तथा संस्थागत परामर्शलगायतका सेवा प्रदान गर्दै आएको छ । पारदर्शिता, जोखिम व्यवस्थापन र नियामक मापदण्डको पूर्ण पालना संस्थाको मुख्य प्राथमिकता रहँदै आएको कम्पनीले जनाएको छ । सिद्धार्थ क्यापिटलले आगामी दिनमा नवीन लगानी उपकरण विस्तार, प्रविधिमा आधारित सेवा सुदृढीकरण तथा लगानीकर्ताको अनुभव अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ । यस ऐतिहासिक उपलब्धिमा कम्पनीले ग्राहक, नियामक निकाय तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।

काठमाडौं-६ बाट बोगटी र शर्मा नेकपाको उम्मेदवार सिफारिस

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा तथा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर-६ बाट उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ व्यवसायी अम्बिर बोगटी र पूर्वविद्यार्थी नेता हिमाल शर्मा सिफारिस भएका हुन् । पार्टीको अर्थ तथा योजना विभागको केन्द्रीय सदस्य रहेका बोगटीसँग बैंकिङ, पुँजी बजार, उद्योग लगायत आर्थिक क्षेत्रको अनुभव छ । बोगटी साबिक सिभिल बैंक (हाल हिमालयन बैंक) का पूर्व अध्यक्ष हुन् । साढे ३ दशकदेखि पोल्ट्री फीड उत्पादनको अनुभवी बोगटी इन्भेस्टमेन्ट, ट्रेडिङ कम्पनीहरूमा पनि संलग्न छन् । प्रतिनिधि सभा समानुपातिकतर्फ रविन्द्र श्रेष्ठ, रामकुमार थापा र पार्वती थापा सिफारिस भएका छन् । यस्तै, पार्टीले राष्ट्रिय सभा सदस्यका लागि धनलाल महर्जन सिफारिस गरेकाे जनाएको छ । पार्टीको आन्तरिक छलफल तथा संगठनात्मक सन्तुलनका आधारमा उम्मेदवार सिफारिस गरिएको बताइएको छ । सिफारिस भएका नेताहरूले जनताको विश्वास जित्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने अपेक्षा क्षेत्रीय कमिटीले गरेको छ ।

एसवाई प्यानलको सेयर मूल्यमा सकारात्मक सर्किट, ४ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० अंकले घटेर २६२२ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छ । सोमबार ३३७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । एसवाई प्यानलको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै मन्जुश्री फाइनान्सको १७ करोड, शिवम् सिमेन्टको १३ करोड, न्यादी गुप्रको १२ करोड र हिमालयन रिइन्स्योरेन्सको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । सोमबारको कारोबारमा विकास बैंक र म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेको छ ।

ठूला दल नआउँदा निर्वाचन आयोग सुनसान, कर्मचारी ‘अन्तिम घडी’ कुर्दै

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउन ठूला राजनीतिक दलहरू नपुगेका कारण निर्वाचन आयोगका कर्मचारीहरू बेरोजगारीजस्तै भएको अवस्था छ । आयोगका अनुसार फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि बन्द सूची बुझाउने अन्तिम दिन हो । हालसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले आयोगमा आफ्नो समानुपातिक पूर्ण बन्द सूची बुझाइसकेका छन् । आयोगले सोमबार दिनभरि बन्द सूची दर्ता प्रक्रिया जारी रहने जनाएको छ । अन्य राजनीतिक दलहरूले पनि तोकिएको समयभित्र आफ्नो बन्द सूची बुझाउने तयारी गरिरहेको जानकारी दिए पनि अहिलेसम्म ठूला दलहरू आयोगमा पुगेका छैनन् । आयोगका सह–प्रवक्ता प्रकाश न्यौपानेका अनुसार अहिलेसम्म चार दलले मात्र सूची बुझाएका छन् । समाचार तयार पार्दासम्म ठूला दलहरू नपुगेका कारण कर्मचारीहरू वेलुका अवेरसम्म काम गर्नुपर्ने मनस्थितिमा पुगेका छन् । एक कर्मचारीले भने, 'दलहरू अन्तिम समयमा आउलान् । सबै प्रक्रिया पुरा गर्न आजको रात कार्यालयमै बित्ने देखियो ।'

बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित, १० लाख कमाउन बाहिर जान नपर्ने

बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित रिपका किसान गणेश गुरुङले यस वर्ष २५ लाख मूल्यको सुन्तला बेच्दै छन् । अघिल्लो वर्ष सुन्तला बेचेर उनले २२ लाख आम्दानी गरेका थिए । यसअघि ठेक्कामा दिएर सुन्तला बेच्दै आएका सुन्तला किसान गुरुङ यस वर्ष अरूलाई नदिई आफैँ सुन्तला बेच्दै छन् । अहिलेसम्म १० लाखको सुन्तला बेचिसकेको र बगैँचामा अझै कम्तीमा १५ लाख सुन्तला रहेको उनी बताउँछन् । 'यसपालि २० लाख ३६ हजारमा बगैँचाको सबै सुन्तला किन्नेगरी ठेक्कामा देऊ भन्न व्यापारी आएका थिए, मैले दिइनँ,' गुरुङले भने, 'ठेक्कामा दिनुभन्दा आफैँले बेच्दा राम्रो होला भनी नदिने निधो गरेँ ।' विसं २०५७ मा करिब २२ रोपनी जग्गा लिएर २०५८ सालमा करिब एक हजार बिरुवा रोपी सुन्तला खेती गर्दै आएका गुरुङको बगैँचामा अहिले तीन हजारभन्दा बढी सुन्तलाको बोट रहेका छन् । उनको बगैँचामा वर्षभरि नै दैनिक तीन जनालाई नियमित रुपमा रोजगारी मिलेको र अहिले सुन्तला टिप्ने, बोक्ने समयमा भने छ–सात जनाले काम पाएको अवस्था छ । अन्य कुनै पनि खेतीपाती नहुने भिरालो, चिसो जमिनमा लगाएको सुन्तलाबाट बर्सेनि मनग्ये आम्दानी हुने गरेको जानकारी दिँदै आफूले उत्पादन गरेका सुन्तला स्थानीय बन्दीपुर बजारसहित डुम्रे, दमौली, पोखरा र चितवनका बजारहरूमा बिक्री हुने गरेको उनले जानकारी दिए । बन्दीपुर क्षेत्रका सुन्तला किसानका अनुसार वर्षमा १० लाख कमाउन गाउँबाहिर जानु पर्दैन, गाउँघरकै भिरपाखामा सुन्तला लगाए १०–१५ लाख कमाउन गाह्रो छैन । 'बन्दीपुरका सुन्तला भन्ने बित्तिकै एउटा ‘ब्रान्ड’ छ, बन्दीपुर पहिलेदेखि नै सुन्तलाका लागि प्रसिद्ध ठाउँ हो, बीचमा रोग लागेर समस्या पनि भयो,' सुन्तला किसान कष्णबहादुर गुरुङले भने, 'तर पनि हामीले बन्दीपुरमा सुन्तला बचाएका छौँ, घरमै बसी राम्रो आम्दानी गर्न सफल भएका छौँ ।' स्थानीय सुन्तला किसानका अनुसार बिरुवा लगाएको करिब तीन वर्षदेखि नै उत्पादन सुरु हुन्छ । आफ्ना बालबच्चालाई जस्तै गरी सुन्तलाको स्याहार गर्नुपर्दछ । कीराको प्रकोप, जीवाणु तथा ढुसीजन्य रोग, जरा कुहिनेलगायतका समस्याबाट सुन्तलालाई जोगाउन भने जति सजिलो छैन, बगैँचामै काम गरी रमाइरहे सुन्तलाले पनि राम्रै आम्दानी दिने रहेछ । स्थानीय बन्दीपुर गाउँपालिकाले किसानको मागअनुसार सुन्तलाको बिरुवा, अत्यावश्यक औषधि र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएकामा सुन्तला किसान खुसी देखिन्छन् । भारतीय पूर्वसैनिक समेत रहेका सुन्तला किसान गुरुङले भने, 'मलाई दुई छाक खान पुगेकै छ, मेरा छोराछोरी नातिनातिनाहरु सबै आ–आफ्नो ठाउँमा कमाउने भइसकेका छन् । आफ्नो त पेन्सन आउँछ, कमाएको रकम सामाजिक काममा लगाउँदै रमाइरहेको छु । यसैमा खुसी मिल्छ । गाउँ तथा देशबाहिर जान तम्सेका युवायुवतीलाई गाउँमै काम गरी खान र मातृभूमिलाई माया गर्न अनुरोध छ, यसैमा सबैको भलो छ ।' सुन्तला पकेट कार्यक्रम घोषणा गरेर विभिन्न कार्यक्रममार्फत भाइरसको निदान गरी सुन्तला जोगाउन थालिएको गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले बताए । बन्दीपुर–३ स्थित रामकोट, तामुङडाँडा, वडा नं ५ को झारगाउँ, फलामडाँडा र वडा नंं को ६ को काफलस्वाँरा, लखनबारी, घमलछाप, आँङटारीलगायत ठाउँहरु सुन्तला खेतीको पकेट क्षेत्र हुन् । मध्यपहाडी क्षेत्रमा पर्ने हुँदा बन्दीपुर आसपासका भूभाग सुन्तला उत्पादनका लागि अनुकूल गाउँ मानिन्छ । यस क्षेत्रका अधिकांश सुन्तला किसानले प्रतिवर्ष १० मूल्य बराबरको सुन्तला बेच्ने गरेका छन् । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा व्यावसायिक रुपमा सुन्तलाखेती गर्ने कृषकलाई अनुदानको व्यवस्थासहित उनीहरूको माग सम्बोधन गर्न थालेपछि यसप्रति कृषक आकर्षित भएको बताउँछन् । उच्चकोटीको स्वादिलो सुन्तलाका लागि पर्याय बनेको बन्दीपुरका किसानको माग सम्बोधन गर्न पालिका प्रतिबद्ध रहेको उनले बताए । गाउँपालिकाले आवश्यक सहयोगसहित विशेष चासो दिन थालेपछि पछिल्ला वर्षहरूमा बन्दीपुर क्षेत्रमा सुन्तला उत्पादन वृद्धि भएको, आधुनिक तरिकाबाट गोडमेल, हेरचाहसहित खेती हुन थालेको, उत्पादकत्व र गुणस्तर वृद्धिसँगै बजारको पहुँचका कारण सुन्तलाखेती रोजाइमा परको अवस्था छ । रासस