हुन्डाईले पूरा गर्यो ५७ वर्ष, स्मार्ट र दिगो मोबिलिटीमा जोड
काठमाडौं । हुन्डाई मोटर कम्पनीले नवीनता, गुणस्तर र ग्राहक–केन्द्रित डिजाइनमार्फत गतिशीलताको भविष्य निर्माण गर्दै आएको ५७ वर्षको यात्रा पूरा गरेको छ । स्थापना कालदेखि नै विश्वसनीय अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डको रूपमा आफूलाई स्थापित गर्दै आएको हुन्डाईले विश्वभरका ग्राहकहरूको बदलिँदो आवश्यकतालाई ध्यानमा राखी उन्नत, भरपर्दो र दिगो मोबिलिटी समाधानहरू प्रदान गर्दै आएको जनाएको छ । हुन्डाईले स्मार्ट, सुरक्षित तथा जिम्मेवार मोबिलिटी विकासप्रति निरन्तर प्रतिबद्ध रहँदै आएको बताउँदै, यो महत्वपूर्ण उपलब्धिको अवसरमा विश्वभर अझ उत्कृष्ट मोबिलिटी अनुभव प्रदान गर्ने लक्ष्यसहित भविष्यतर्फ अघि बढ्ने दृढ संकल्प दोहोर्‍याएको छ । सन् १९६७ मा स्थापना भएको हुन्डाई मोटर कम्पनी हाल २०० भन्दा बढी देशमा सञ्चालनमा रहेको विश्वव्यापी अटोमोबाइल ब्रान्ड हो । कम्पनीले विभिन्न श्रेणीका सवारीसाधन तथा आधुनिक मोबिलिटी समाधानहरू प्रदान गर्दै आएको छ । नेपालमा हुन्डाईको आधिकारिक वितरकका रूपमा फेब्रुअरी २००९ देखि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. कार्यरत छ । वितरक बनेदेखि नै कम्पनीले देशभर हुन्डाई सवारीसाधनको आयात, बिक्री तथा सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । बलियो आफ्टर–सेल्स नेटवर्क तथा दक्ष र प्रशिक्षित पेशेवर टोलीमार्फत ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखिएको कम्पनीको भनाइ छ । ४५ हजारभन्दा बढी ग्राहकहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यसहित हुन्डाई नेपालले ‘हुन्डाई परिवार’ कार्यक्रम सुरु गरेको छ । विभिन्न क्षेत्रका अग्रणी ब्रान्डहरूसँगको सहकार्यमा यस कार्यक्रममार्फत हुन्डाई ग्राहकहरूलाई विशेष लाभ, थप सेवाहरू तथा प्रिमियम अनुभवहरू प्रदान गरिँदै आएको छ । नेपालप्रति दीर्घकालीन प्रतिबद्धतालाई थप मजबुत बनाउँदै हुन्डाईले मे २०२४ मा सवारीसाधन एसेम्ब्ली प्लान्ट स्थापना गरेको छ । यस कदमले स्थानीय उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना तथा नेपालको अटोमोबाइल इकोसिस्टमको विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताइएको छ । ‘प्रोग्रेस फर ह्युम्यानिटी’ भन्ने विश्वव्यापी दृष्टिकोणअनुसार हुन्डाई नेपालले स्मार्ट, सुरक्षित र दिगो मोबिलिटी समाधानहरू प्रदान गर्दै ग्राहक अनुभवलाई अझ समृद्ध बनाइरहेको जनाएको छ ।
नेपाल लाइफको १ अर्ब ६० करोडको सामूहिक लगानी कोष निष्कासन हुँदै
काठमाडौं । कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको 'नेपाल लाइफ समृद्धि लगानी योजना' नामक सामूहिक लगानी कोषले आफ्ना इकाइहरू बिक्रीमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डबाट आइतबार प्रति इकाइ अंकित मूल्य १० रुपैयाँका दरले १६ करोड इकाइ निष्कासन गर्न अनुमति प्राप्त भएको हो । यसअनुसार कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको फन्ड जारी गरिनेछ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको यो पहिलो बन्दमुखी योजना हो । १० वर्ष अवधि रहेको यस योजनालाई ईक्रा नेपाल लिमिटेडबाट कोष प्रवर्द्धकका लागि ‘एए–’ रेटिङ तथा योजना व्यवस्थापकका लागि ‘एमसी क्वालिटी–३’ रेटिङ प्राप्त भएको छ । फन्ड बिक्रीबाट संकलित रकम धितोपत्र बोर्डमा दर्ता भएका धितोपत्र, सार्वजनिक निष्कासन भएका धितोपत्र, धितोपत्र बजारमा सूचीकृत धितोपत्र, बैंक निक्षेप, मुद्रा बजार उपकरण, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेका संस्थाले जारी गरेका ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरूमा लगानी गरिने कम्पनीले जनाएको छ । योजना व्यवस्थापकले सम्पूर्ण प्रक्रिया सम्पन्न गरी चाँडै नै सर्वसाधारणका लागि इकाइहरू बिक्रीमा ल्याइने जानकारी दिएको छ ।
यस्तो छ मंंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । मंंगलबारका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७० पैसा र बिक्रीदर १८२ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११२ रुपैयाँ २३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १९ पैसा र बिक्रीदर नौ रुपैयाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५१ पैसा र बिक्रीदर २० रुपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३८ रुपैयाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५ रुपैयाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६३ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपैयाँ १० पैसा र बिक्रीदर ४६९ रुपैयाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
समानुपातिकतर्फ ६४ दलको भिडन्त, ५८ निर्वाचन चिन्हसहित बन्दसूची दर्ता
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ५ दर्जन बढी राजनीतिक दलहरू प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन आयोगमा पेश गरिएको बन्द सूचीअनुसार कुल ६४ वटा दलले ५८ वटा निर्वाचन चिन्हमार्फत समानुपातिक प्रणालीमा भाग लिने गरी उम्मेदवार सूची दर्ता गराएका हुन् । यो संख्या अघिल्ला निर्वाचनको तुलनामा धेरै हो । निर्वाचन आयोगका अनुसार २२ वटा राजनीतिक दलले प्रतिनिधि सभाको समानुपातिकतर्फ उपलब्ध सबै सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् । ती दलहरूले समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यसहित महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएका क्षेत्र तथा अन्य समूहलाई समेटेर पूर्ण बन्दसूची पेश गरेका हुन् । आयोगले तोकेको कानुनी मापदण्डअनुसार सूची तयार गरिएको जनाइएको छ । बाँकी दलहरूले भने आफ्नो सांगठनिक क्षमता, प्रभाव क्षेत्र र निर्वाचन रणनीतिअनुसार सीमित संख्यामा बन्दसूची बुझाएका छन् । आयोगका विवरणअनुसार दलहरूले न्यूनतम् १० जनादेखि अधिकतम १०१ जनासम्मका उम्मेदवारको नाम समानुपातिक बन्दसूचीमा समावेश गरेका छन् । केही साना तथा नयाँ दलहरूले सीमित सिट लक्षित गर्दै न्यूनतम् सूची पेश गरेका छन् भने केही मध्यम स्तरका दलहरूले सम्भावित मत प्रतिशतका आधारमा तुलनात्मक रूपमा ठूलो सूची दर्ता गरेका छन् । यसपटकको निर्वाचनमा समानुपातिक प्रणालीलाई दलहरूले संगठन सन्तुलन मिलाउने, आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्ने र विभिन्न समुदायलाई प्रतिनिधित्व गराउने महत्वपूर्ण माध्यमका रूपमा प्रयोग गरेका छन् । बन्दसूचीमा समावेश नामहरूलाई लिएर दलभित्रै बहस र प्रतिस्पर्धा देखिए पनि अन्ततः आयोगमा तोकिएको समय सीमाभित्र सूची पेश गरिएको हो । निर्वाचन आयोगले बन्दसूची दर्तापछि प्रारम्भिक जाँच प्रक्रिया सुरु गरिसकेको छ । आयोगका अधिकारीहरूका अनुसार सूचीमा रहेका उम्मेदवारहरूको योग्यता, समावेशी कोटा मिलान र कानुनी प्रावधानको पालना भए नभएको विषयमा विस्तृत परीक्षण भइरहेको छ । आवश्यक परेमा सच्याउन दलहरूलाई निर्देशन दिइने आयोगले जनाएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार समानुपातिकतर्फ ठूलो संख्यामा दलहरूको सहभागिताले संसदको संरचना थप विविध र बहुरङ्गी बन्न सक्ने संकेत गरेको छ। यद्यपि, मत विभाजन बढ्ने र साना दलहरूबीच प्रतिस्पर्धा चर्किने सम्भावना पनि उत्तिकै रहेको उनीहरूको विश्लेषण छ। निर्वाचन कानुन अनुसार समानुपातिक प्रतिनिधित्व गर्न कुल सदर मतको १.५ प्रतिशत प्राप्त गरि एक स्थानमा प्रत्यक्ष निर्वाचन जितेको दल हुनुपर्छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमार्फत सांसद चयन गरिनेछ । समानुपातिकतर्फ दलहरूले प्राप्त गर्ने सिट संख्या अन्ततः उनीहरूले पाएको कुल मतको आधारमा निर्धारण हुनेछ । निर्वाचन नजिकिदै जाँदा बन्दसूचीमा समेटिएका उम्मेदवारहरू र दलहरूको रणनीतिलाई लिएर राजनीतिक गतिविधि थप सक्रिय बन्दै जाने देखिएको छ ।
मुक्तिनाथ-तेताङ चक्रपथ सडकको भौतिक प्रगति ३९ प्रतिशत
काठमाडौं । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने (मुक्तिनाथ-तेताङ) चक्रपथ सडक निर्माण जारी छ । चालु आवको पाँच महिनामा सो सडकको भौतिक प्रगति ३९ प्रतिशत पुर्याइएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय गण्डकीअन्तर्गत पूर्वाधार विकास कार्यालयद्वारा मुक्तिनाथ पुराङ हुँदै झोङदेखि तेताङ जोड्ने १० किलोमिटर चक्रपथ सडक योजना कार्यान्वयनमा ल्याइएको हो । मुस्ताङस्थित मुक्तिनाथ-तेताङ जोड्ने ६ मिटर चौडा वैकल्पिक सडकमार्ग विस्तार गर्न ७ करोड १ लाख ५६ हजार रुपैयाँ लागतमा निर्माण कम्पनीले २०८१ साल साउन २९ गते यहाँको पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो । २ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सडक स्तरोन्नति तथा नयाँ ट्रयाक खोल्न कार्यालयले २०८३ साल साउन २९ गतेसम्म निर्माण कम्पनीलाई समयावधि तोकिएको छ । मुक्तिनाथ-तेताङ जोड्ने सडकको ठेक्का सम्झौता मुताविक १० किलोमिटर सडकमध्ये ६.५ किलोमिटर नयाँ खोल्ने र ३.५ किलोमिटर सडक स्तरोन्नति गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालयका सब इन्जिनियर जगदीश चन्द्र जोशीले जानकारी दिए । उनका अनुसार सडकको नयाँ ट्रयाक खोल्ने कार्य सकिएता पनि गत असोजको वर्षाले आंशिक रूपमा क्षति पुर्याएकाले उक्त स्थानमा सडक मर्मत सम्भार गर्नुपर्ने देखिएको छ । वारागुङ मुक्तिक्षेत्रको वडा १, २, ३ र ४ वडालाई चत्रपथ सडकले जोड्ने गरी मुक्तिनाथ सडक स्तरोन्नति कार्य भइरहेको सब इन्जिनियर जोशीले जानकारी दिए । उनका अनुसार यहाँको मुक्तिनाथ–तेताङ सडक योजनाको ३९ प्रतिशत भौतिक प्रगति हुँदा वित्तीय प्रगति २८.५८ प्रतिशत छ । हालसम्म निर्माण कम्पनीले २ करोड ५६ हजार रुपैयाँ भुक्तानी लगिसकेको छ । प्रादेश सरकारद्वारा अघि बढाइएको मुक्तिनाथ-तेताङ सडक स्तरोन्नति पूरा भएमा माथिल्लो मुस्ताङका स्थानीय नागरिक तथा पर्यटक कागबेनी झरेर खिङ्गा हुँदै मुक्तिनाथ जानु नपर्ने जनाइएको छ । छुसाङदेखि माथिल्लो भेगका नागरिक मुक्तिनाथ जानुपरेमा छुसाङबाट तेताङ हुँदै वैकल्पिक चक्रपथ सडक प्रयोग गरेर मुक्तिनाथ जान सजिलो हुने यसबाट माथिल्लो मुस्ताङबाट मुक्तिनाथ जाने पर्यटक तथा स्थानीय नागरिकहरूका लागि दूरीमा छोटिने बताइएको छ । यो सडक सम्पन्न भएपछि वारागुङ मुक्ति क्षेत्रको छेङ्गुर, झोङ, पुडाक र तेताङ गाउँका स्थानीय नागरिकलाई यातायात आवागमनमा निकै सहज हुनेछ ।
आईपीओको अनुमति पाएपछि पाल्पा सिमेण्टको साधारण सभा स्थगित
काठमाडौं । पाल्पा सिमेण्ट इण्डष्ट्रिज लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । पुस १४ गते बेलाएको साधारण सभा स्थगित भएको कम्पनीले जानकारी दिएको छ । पाल्पा सिमेण्टको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा गर्न पुस १४ गते सोमबार बोलाइएको थियो । कम्पनीले आईपीओ निष्काशन गर्न पुस ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि साधारण सभा स्थगित गरिएको जनाएको छ । बोर्डले पाल्पा सिमेण्ट इन्डष्ट्रिजलाई ७५ करोड रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा ७५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री गर्न अनुमति दिएको हो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को दफा ४९ मा सार्वजनिक निष्काशनका लागि अनुमति प्राप्त गरिसकेको संगठित संस्थाले नयाँ सेयरधनीहरु समेत समावेश नभई साधारणसभा गर्नु नहुने भन्ने कानूनी व्यवस्था बमोजिम अर्को सूचना जारी नगरेसम्म सभा स्थगित गरिएको हो । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
निर्वाचन आयोगले तोक्यो उम्मेदवारले गर्ने खर्चको सीमा, ३३ लाखसम्म खर्च गर्न पाउने
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरक फरक खर्च सीमा निर्धारण गरेको हो । आयोगका अनुसार काठमाडौंका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौं क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख रुपैयाँ बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ । त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख रुपैयाँ बराबर खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख रुपैयाँ, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँ बराबरको खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्नेछ । खर्च गर्ने जिम्मेवार अधिकारी तोकी विवरण निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ । उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐन बमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।
गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै, आज सार्वजनिक बिदा
काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना हुँदैछ । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेषभूषामा सजिएर सहभागी हुन्छन् । कार्यक्रममा गुरुङ समुदायको परिकार विशेषको प्रदर्शनी गरिनेछ । यस अवसरमा आइतबारदेखि राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव सुरु भएको छ । महोत्सवमा हजारौं सर्वसाधारणको सहभागिता छ ।