नवप्रवर्तनकर्ता र उद्यमलाई सशक्त बनाउन लक्ष्मी सनराइज बैंकको सहकार्य
काठमाडौं । लक्ष्मी सनराइज बैंकले आद्यन्ता एडभाइजरी प्रालि र अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (अमच्याम नेपाल)सँग सम्झौता गरेको छ । यस सम्झौतामार्फत नेपालको प्रविधि र कृत्रिम बौद्धिकता (एआई) नवप्रवर्तन पारिस्थितिकी तन्त्रलाई मजबुत बनाउने प्रयास गरिने बैंकले जनाएको छ । सातौं वर्षमा प्रवेश गरेको डिजिटल डिसेम्बरले अब डिजिटल सचेतना कार्यक्रमको रूपमा मात्र नभई रणनीतिक उद्यम रूपान्तरणको प्लेटफर्मको रूपमा विकास गरेको छ । यसले उच्च मूल्य तथा उच्च परिमाणका व्यावसायिक कारोबारलाई नगद र चेकबाट सुरक्षित डिजिटल माध्यमतर्फ रूपान्तरण गर्ने, एपीआई तथा होस्ट(टु(होस्ट जडानमार्फत समाहित गर्ने र व्यवसायिक भुक्तानीको लागि डिजिटल प्लेटफर्मलाई डिफल्ट माध्यमको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । सम्झौताअनुसार लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ का मूल स्तम्भहरूसँग मिल्दोजुल्दो सहकार्यका क्षेत्रहरू अनुसन्धान गर्नेछ जसमा एपीआई सक्षम पार्ने, प्लेटफर्म जडान, र उद्यम तयारपन समावेश छन् । यस अन्तर्गत नवप्रवर्तनकर्ताहरूलाई उद्यमसँग सम्बन्धित डिजिटल समाधानको प्रोटोटाइप बनाउन चयन गरिएको ओपन एपीआई वा स्यान्डबक्स वातावरणमा पहुँच प्रदान गर्ने, उच्च सम्भावित भेन्चरहरूसँग प्रारम्भिक संलग्नता मार्फत बजार तयारपन र स्केल अप क्षमता मूल्याङ्कन गर्ने, र डिजिटल वित्त, फिनटेक सक्षम विकास र स्टार्टअप तथा स्केल अप पूँजीमा विशेषज्ञद्वारा सत्र सञ्चालन गर्ने योजना रहेको छ । डिजिटल डिसेम्बरको उद्यम भुक्तानीमा केन्द्रित पहललाई नवप्रवर्तन समर्थनसँग जोडेर बैंकले डिजिटल बैंकिङलाई मात्र सञ्चालन सुधारको रूपमा नभई नेपालको नवप्रवर्तन अर्थतन्त्रको आधारभूत तहको रूपमा प्रस्तुत गरेको छ । आद्यन्ता एडभाइजरीले कार्यक्रम डिजाइन, परामर्श, र पारिस्थितिकी तन्त्र संलग्नता समन्वय गर्नेछ भने अमच्याम नेपाल र आद्यन्ता फण्ड म्यानेजमेन्टले निजी क्षेत्र नेटवर्कमार्फत दृश्यता, ज्ञान आदानप्रदान र व्यापक सहभागिताको लागि सहयोग पुर्याउनेछ । लक्ष्मी सनराइज बैंक लिमिटेड नेपालका प्रमुख व्यावसायिक बैंकमध्ये एक हो जुन नवप्रवर्तनशील र जिम्मेवार बैंकिङ समाधानमार्फत उद्यम डिजिटलाइजेशन, वित्तीय समावेशिता र दिगो आर्थिक वृद्धिको लागि प्रतिबद्ध छ ।
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले गरे पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो । यससँगै अन्तरिम सरकारको मन्त्रिपरिषद् १५ सदस्यीय बनेको छ ।
एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंक र आईएमई हस्पिटालिटीबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ प्रमुख विमल लम्साल र आईएमई हस्पिटालिटी प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रसन्न अधिकारीले हस्ताक्षर गरे । यस बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूलाई आईएमई हस्पिटालिटी अन्तर्गतका विभिन्न होटल, रेष्टुरेन्ट तथा केबलकार सेवाहरूमा १० प्रतिशतको आकर्षक छुट उपलब्ध हुने समझदारी भएको हो । जसमा आईएमई हस्पिटालिटीले आफ्ना विभिन्न सेवाहरू जस्तै होटल ले हिमालय (लाजिम्पाट), इला होटल्स एण्ड रिसोट्र्स (मौलाकाली), इला कम्फर्ट (बाग्लुङ), द लेकसाइड रिसोर्ट (पोखरा), सेक एण्ड फेंग रेष्टुरेन्ट (लाजिम्पाट), मौलाकाली केबलकार र लुम्बिनी केबलकारमा १० प्रतिशतसम्म छुट उपयोग गर्न सक्नेछन् । यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ। उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
३३औं त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता पौष १२ देखि सुरु
काठमाडौं । लमजुङ जिल्लाको सदरमुकाम बेंसीसहरमा आयोजना हुन गइरहेको ३३औं त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता आगामी पौष १२ देखि सुरु हुने भएको छ । यस वर्ष प्रतियोगिताको विशेष आकर्षणका रूपमा सम्पूर्ण खेलहरू डिसहोम गो एप र एक्सन स्पोट्र्स एचडी वान टेलिभिजन च्यानल मार्फत प्रत्यक्ष तथा एक्सक्लुसिभ रूपमा प्रसारण गरिनेछ । बेंसीसहर–सहजीस्थित खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १६ टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १२ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । यसैगरी, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २५–२५ हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । यस प्रतियोगितामा विभागीय टिम एपीएफ एफसी, सुन्दरबजार एफसी, एनआरटी, भानु युनाइटेड, सूर्यपुर चितवन, लमजुङ मर्स्याङ्दी, सातदोबाटो एफसी, लालीगुराँस भुजुङ, ठाडाराई समाज, समाज कल्याण, लाङ्दीदेवी नाल्मा, चित्लाङ एफसी, श्री भगवती एफसी, त्रिवेणी युथ क्लब, चर्च ब्वाइज युनाइटेड एफसी र बुद्ध युवा क्लब उपाधिका लागि भिड्नेछन् ।
नागरिक लगानी कोषमा सहभागीलाई मौलाकालिका अस्पतालमा २० प्रतिशत छुट
काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रालि भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ । सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा. केशवराज भुर्तेलले हस्ताक्षर गरे । सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी र कर्मचारीले उक्त छुट पाउनेछन् । छुटको लागि कोषको परिचयपत्र वा सहभागी कार्ड पेस गर्नु पर्ने व्यवस्था गरिएको छ ।
५ महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय १९ अर्ब माथि, कस्को व्यापार कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (मंसिर महिना) सम्ममा निर्जीवन बीमा कम्पनीहरूले १९ अर्बमाथि कुल व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीहरूले ११ लाख ६२ हजार १९६ वटा बीमा पोलिसी जारी गरेर १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँको व्यवसाय आर्जन गरेका हुन् । बीमा कम्पनीहरुले मंसिर महिनामा मात्रै २ लाख ५९ हजार ९८ पोलिसी जारी गरेर कुल ३ अर्ब ६४ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । मंसिर मसान्तसमममा सबैभन्दा धेरै व्यवसाय सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले गरेको छ । कम्पनीले ५ महिनाको अवधिमा १ लाख ७ हजार ९२० बीमालेख जारी गरेर कुल २ अर्ब २१ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले मंसिर महिनामा मात्रै ४३ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । दोस्रोमा शिखर इन्स्योरेन्सले १ लाख ३० हजार १६७ बीमालेख जारी गरी २ अर्ब १५ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ लाख २९ हजार ६४६ पोलिसी जारी गरेर २ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ८६ करोड रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ६६ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, नेको इन्स्योरेन्सले १ अर्ब ४३ करोड रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३१ करोड रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब २२ करोड रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब १ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ६० करोड ६८ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४९ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
संयोजक दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ । सरकारी राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले शुक्रबार दाहाललाई भेटेर समसामयिक राजनीतिक विषयमा छलफल गरेको स्रोतले जनाएको छ। भेटमा आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी, निर्वाचन वातावरण निर्माण र प्रमुख दलहरूबीच सहमति कायम गर्ने विषयमा कुराकानी भएको बताइएको छ । यसअघि मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए । प्रतिनिधि सभा निर्वाचन गर्ने तयारी गरिरहेका बेला भएको भेटघाटलाई राजनीतिक दलहरूबीच सहमति खोज्ने प्रयासका रूपमा हेरिएको छ ।
ओलीको स्थानहद हटाउने मन्त्री खरेलको प्रतिबद्धता
काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकारले सबै प्रकारका उल्झन हटाउने बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाइएको स्थानहद हटाउन सकिनेतर्फ संकेत गर्दै खरेलले निर्वाचनका सवै उल्झन हटाउने प्रतिबद्धता व्यक्त गरेको ओली निकट स्रोतले बताएको छ । उनले नेकपा एमालेका अध्यक्ष ओलीसँग भक्तपुरको गुण्डुस्थित निवासमा करिब दुई घण्टा चलेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनको वातावरण शान्तिपूर्ण र निष्पक्ष बनाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे । छलफलको क्रममा समसामयिक राजनीतिक अवस्था, निर्वाचन तयारी, मतदाता सुरक्षा बारे गहन छलफल भएको बताइएको छ । यसअघि मन्त्री खरेलले आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।