नेपालको पहिलो वृहत कस्मेटिक ट्रेड शो ‘कस्मेटिका २०२५’ आयोजना हुँदै
काठमाडौं । नेपालमा कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पहिलो तथा एकमात्र वृहत ट्रेड शो ‘कस्मेटिका २०२५’ आयोजना हुने भएको छ । यही डिसेम्बर २६ देखि २८ सम्म (पुस ११, १२ र १३ गते) काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेट सेन्टरमा यो प्रदर्शनी सञ्चालन हुन लागेको हो । हाउस अफ राजकर्निकारद्वारा सञ्चालन हुने यो एक्स्पो नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन र ब्यूटिसियन प्रोफेशनल एसोसिएसन अफ नेपालको सहयोगमा आयोजना हुन लागेको हो । एक्स्पोमा वाव म्यागजिन मिडिया पार्टनर, वेवसर्फ़र आईएसपी पार्टनर र सागर आर्ट सर्भिस प्रिन्ट पार्टनरका रूपमा रहेका छन् । कस्मेटिका २०२५ ले सौन्दर्य तथा वेलनेस क्षेत्रसँग सम्बन्धित ब्रान्ड, उत्पादक, वितरक, आयातकर्ता, आपूर्तिकर्ता र व्यवसायीहरूलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य लिएको छ । बी–टु–बी र बी–टु–सी दुवै वर्गलाई लक्षित गरिएको एक्स्पोमार्फत कस्मेटिक्स उद्योगका नयाँ उत्पादन, सेवा, प्रविधि र शैलीको प्रदर्शन गरिने आयोजकले जनाएको छ । एक्स्पोमा कस्मेटिक ब्रान्डहरू, स्किनकेयर तथा हेयरकेयर कम्पनी, पर्सनल केयर र वेलनेस ब्रान्ड, प्याकेजिङ कम्पनी, कस्मेटिक टेक्नोलोजी निकाय, ब्यूटी स्कूल, प्लास्टिक सर्जरी क्लिनिक, हेयर इम्प्लान्ट, डेन्टल केयर तथा कस्मेटिक क्लिनिकहरूको सहभागिता रहनेछ । त्यस्तै, आगन्तुकका रूपमा उत्पादक, आयातकर्ता, वितरक, स्टकिस्ट, खुद्रा विक्रेता, सलुन सञ्चालक, ब्यूटी कन्सल्टेन्ट, छाला रोग विशेषज्ञ, प्लास्टिक सर्जन र कस्मेटिक डेन्टिस्ट सहभागी हुनेछन् । कस्मेटिका २०२५ केवल उत्पादन र सेवाको प्रदर्शनी मात्र नभई सौन्दर्य र वेलनेस क्षेत्रको उत्सवका रूपमा आयोजना गरिनेछ । कार्यक्रम अवधिभर कस्मेटिक्स, सौन्दर्य र वेलनेस क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका महिलालाई सम्मान गर्ने ‘हल अफ फेम’, निःशुल्क ट्रायल र स्याम्पल वितरण, सेल्फी कियोस्क, ब्रान्ड लन्च, लाइभ मेकअप तथा हेयर स्टाइलिङ डेमो, स्किनकेयर तथा हेयरकेयरसम्बन्धी कार्यशाला र सेमिनार तथा विज्ञसँग प्रत्यक्ष परामर्शको व्यवस्था रहनेछ । वाव म्यागजिन, सायम ब्यूटी पार्लरकी कमला श्रेष्ठ, बोस ब्यूटी एकेडेमीकी सुनिता श्रेष्ठ, ट्रु डर्माका विज्ञान जोशी र इसास ब्युटीका प्रस्तुति तथा सत्रहरू एक्स्पोका प्रमुख आकर्षण रहने आयोजकले जनाएको छ । पछिल्लो एक दशकमा नेपालमा कस्मेटिक्स तथा वेलनेस उत्पादन र सेवाको बजार तीव्र रूपमा विस्तार हुँदै आएको छ । जीवनशैली, सामाजिक मूल्य र ट्रेन्डमा आएको परिवर्तनका कारण उपभोक्ताहरू व्यक्तिगत हेरचाह, स्वास्थ्य र आत्मविश्वाससँग सम्बन्धित उत्पादन तथा सेवाप्रति बढी सचेत बन्दै गएका छन् । सामाजिक तथा डिजिटल प्लेटफर्ममा बढ्दो सक्रियताका कारण मानिसहरूले आफ्नो रूप–रंग र प्रस्तुतीकरणमा विशेष ध्यान दिन थालेका छन् । हाल नेपालमा कस्मेटिक्स तथा पर्सनल केयर बजारको कुल मूल्य करिब २३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ भने सन् २०२५ सम्म यसको आयात २० अर्ब ४० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । उद्योगका विज्ञहरूका अनुसार यो बजार वार्षिक २० देखि २५ प्रतिशतको दरले वृद्धि भइरहेको छ । निरन्तर विस्तारोन्मुख यस बजारमा आफ्नो उपस्थिति मजबुत बनाउन उत्पादक, वितरक र व्यवसायीहरूका लागि कस्मेटिका २०२५ महत्वपूर्ण अवसर हुने आयोजकको विश्वास छ ।
सुनचाँदीको मूल्य हालसम्मको उच्च, तोलामा कति पुग्यो ?
काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । बुधबार पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ । बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १६५ रुपैयाँ बढेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ र त्यति नै चाँदीको मोल चार हजार ४२० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो । गत आइतबार छापावाल सुन प्रतितोला दुई लाख ५८ हजार ३०० रुपैयाँमा र चाँदी चार हजार १०५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि हुँदै प्रतितोला सुन दुई लाख ६१ हजार ७०० सय रुपैयाँ पुग्यो भने चाँदी चार हजार २३५ रुपैयाँमा कारोबार भएको थियो । मङ्गलबार भारी वृद्धिका साथ एक तोला सुनको मूल्य दुई लाख ६७ हजार २०० रुपैयाँ र चाँदी चार हजार २५५ रुपैयाँमा किनबेच भएको थियो । अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तरराष्ट्रिय बजारमा बुधबार एक औँस सुन चार हजार ५२५ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २५ अर्ब निक्षेप खिच्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार २५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि १६ दिनका लागि राष्ट्र बैंकले बुधबार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा बुधबार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने बुधबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ पुष २५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
सूर्यकुण्ड हाइड्रोको आईपीओ बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आज पुस ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ७९ लाख ३५ हजार रुपैयाँको १३ लाख ७९ हजार ३५० कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ६ करोड ८९ लाख ६७ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६ लाख ८९ हजार ६७५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका बासिन्दाहरूलाई छुट्याइएको छ । साथै सर्वसाधारण लगानीकर्ताहरुलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ६८ हजार ९६७ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई छुट्याएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले पुस २३ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पूर्ण बिक्री नभएमा आवेदन दिने समय माघ ८ गतेसम्म लम्बिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पुस १४ गतेभित्र आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा पुस २३ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले ज्योती विकास बैंक समुन्द्रटार, कृषि विकास बैंक खैरेनीटार, राष्ट्रिय वाणिज्य बैंक खैरेनीटार, ट्रेड टावर, थापाथली स्थित रजिस्टर्ड कार्यालय र दुप्चेश्वर गाउँ पालिकास्थित आयोजनास्थलबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी
दमौली । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । अगुवा किसान दलबहादुर थापाले यसवर्ष १६ लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन् । अघिल्लो वर्ष १३ लाख रुपैयाँको सुन्तला बिक्री गरेका उनले यस वर्ष तीन लाख रुपैयाँ बढी आम्दानी लिएको बताए । उनले भने, 'भिरालो जग्गामा अन्य खेतीभन्दा सुन्तला उपयुक्त हुन्छ भनेपछि यसलाई नै निरन्तरता दिइरहेका छौँ । बाबुबाजेले पनि सुन्तलाखेती गर्नुभयो । म पनि त्यसकै निरन्तरतामा छु ।' आफू २० वर्षदेखि यसैलाई निरन्तरता दिइरहेको उनको भनाइ छ । भिरालो जग्गा रहेकाले यहाँ अन्य खेती गर्न समस्या भएपछि यहाँका कृषकहरु सुन्तलाखेतीमा लागेको उनले जानकारी दिए । उनले भने, 'मकै, कोदोखेती गर्न त मिल्छ, तर सुन्तला लगाउनका लागि उपयुक्त रहेकाले सबैजना सुन्तलाखेतीमै आबद्ध हुनुहुन्छ ।' थापाले बेनीकोटमा विगत केही वर्षदेखि सुन्तलाका बोट मर्ने समस्या रहेको गुनासो गरे । थापाका अनुसार यहाँ उत्पादित सुन्तला काठमाडौं कालीमाटीमा बिक्री गरिन्छ । बजारीकरणको कुनै समस्या नरहेको बताउँदै उनले भने, 'प्रतिकेजी सुन्तला १०० रुपैयाँसम्म बिक्री हुने गरेको छ । विगतका वर्षमा ९५ रुपैयाँसम्म बेच्थ्याैँ, यो वर्ष मूल्य केही बढी पाएका छौँ ।' बेनीकोटका १०० भन्दाबढी कृषक सुन्तलाखेतीमा आबद्ध छन् । यहाँका कृषकले कम्तीमा २० देखि ८०० सम्म सुन्तलाका बोट लगाएका छन् । यहाँका कृषकले २० हजार रुपैयाँदेखि १६ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । रासस
चिलिमे हाइड्रोपावरले १२ प्रतिशत लाभांश दिने
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको मुनाफाबाट चुक्ता पुँजीको १२ प्रतिशतका दरले लाभांश दिने निर्णय गरेको हो । घोषित लाभांशमध्ये ८ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) रहेको कम्पनीले जनाएको छ । पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
खोटाङका ११२ आयोजना ठेक्कामा, निर्माण प्रक्रिया अघि बढ्यो
खोटाङ । भौतिक पूर्वाधार कार्यालयले १ सय १२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२–८३ का लागि स्वीकृत भएको ६६ करोड रुपैयाँ बराबरको १ सय २२ आयोजनाको ठेक्का गर्नुपर्ने जनाइएको छ । ठेक्का आह्वान भएका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौताको प्रक्रियासमेत अगाडि बढेको भौतिक पूर्वाधार कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिए । उनले भने, ‘जग्गाको स्वामित्व नरहेको तथा स्थानीयको विवाद रहेको जस्ता आयोजनाको ठेक्का आह्वान गर्न बाँकी छ । ती आयोजनाको पनि चाँडै ठेक्का आह्वान गरेर प्रक्रिया अगाडि बढाउँछौँ ।’ दश स्थानीय तह रहेको खोटाङमा आव २०८२–८३ का लागि प्रदेश सरकारबाट स्वीकृत भएको एक अर्ब रुपैयाँ बढीका १ सय ६४ आयोजना परेका छन् । पूर्वाधार कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा सडक कालोपत्र, सडक विस्तार तथा स्तरोन्नति, मोटरेबल पक्की पुल तथा झोलुङ्गे पुल निर्माण, आवास, कार्यालय तथा विद्यालय भवन निर्माणलगायत आयोजना छन् । कोशी प्रदेश सरकारबाट स्वीकृत आयोजनामध्ये बहुवर्षीय आयोजनाका लागि प्रस्ताव पेस गर्नुपर्नेमा २४ तथा १० बहुवर्षीय आयोजना चालु अवस्थामा रहेको जनाइएको छ । आव २०८२–८३ का लागि ठेक्का आह्वान गरिएका कतिपय आयोजनामा सम्बन्धित निर्माण कम्पनीसँग सम्झौता गरेर निर्माणको प्रक्रियासमेत अगाडि बढाइएको कार्यालय प्रमुख दाहालले जानकारी दिए । भौतिक पूर्वाधार विकास कार्यालयले जिल्लामा परेका आयोजनाको ठेक्का समयमै आह्वान गरेपछि निर्माण व्यवसायी पनि खुसी बनेका छन् । गत कात्तिक २ गतेदेखि पुस ३ गतेभित्र ११२ वटा आयोजनाका लागि पूर्वाधार कार्यालयले ठेक्का आह्वान गरेपछि निर्माण कम्पनीहरू सम्झौता गर्न भ्याइनभ्याई भएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा यस वर्ष अहिलेसम्मकै सबैभन्दा बढी आयोजनाका लागि बजेट परेको दाबी गरिएको छ । कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी खोटाङ क्षेत्र नं २ (ख)का प्रदेशसभा सदस्य भूपेन्द्र राई सम्हालेपछि करिब एक अर्ब रुपैयाँ बढीको १ सय ६४ वटा आयोजनाका लागि एकैसाथ बजेट विनियोजन गरेका हुन् । कोशी प्रदेश सरकारमा स्वास्थ्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका भौतिक पूर्वाधार विकासमन्त्री राईले पहिलोपटक जिल्लामा यति धेरै आयोजनाका लागि बजेट विनियोजन गर्नुभएपछि खोटाङवासीले मन्त्री राईलाई धन्यवाद दिँदै खुसी व्यक्त गरिरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले जिल्लामा आएका बजेट तथा आयोजनालाई पारर्शी र गुणस्तरीय ढङ्गले कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय तथा मन्त्री राईलाई सुझावसमेत दिइरहेका छन् । तत्कालीन वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्रीसमेत रहेका मन्त्री राईले जिल्लाका सबै स्थानीय तहलाई समेटेर बजेट विनियोजन गर्नुभएको सचिवालयको दाबी छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको रातो किताबमा उल्लेख भएअनुसार जिल्लामा आएका आयोजनामध्ये सबैभन्दा बढी रसुवाघाट–पाँचधारे सडक निर्माण आयोजनाका लागि १० करोड रुपैयाँ बजेट उपलब्ध भएको छ । रासस
गुन्द्रुक किलोको ३५० रुपैयाँ, तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । निर्धारण गरिएको मूल्य अनुसार गोलभेँडा, आलु, प्याज, बन्दा, काउली, मूला, विभिन्न प्रकारका सागसब्जी तथा फलफूलको मूल्यमा उतारचढाव देखिएको छ । बजारमा गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ८५ रुपैयाँ, आलु रातो प्रतिकिलो ३२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो ७० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ७० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ४० रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ३० रुपैया, बन्दा (नरिवल) प्रतिकिलो २५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, काउली तराई प्रतिकिलो ४० रुपैयाँ, रातो मूला प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ७० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ, मकै बोडी प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४५ रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १४० रुपैयाँ, टाटे सिमि प्रतिकिलो ६० रुपैयाँ, तितो करेला प्रतिकिलो ८० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परवर(लोकल) प्रतिकिलो ८०, घिरौला प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३५ रुपैयाँ, सलगम प्रतिकिलो ८० रुपैयाँ, भिन्डी प्रतिकिलो १३० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ५० रुपैयाँ, पिँडालु प्रतिकिलो ८० रुपैयाँ र स्कुस प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ । यस्तै, समितिले रायोसाग प्रतिकिलो ३० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १०० रुपैयाँ, चमसुर प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो १०० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ । बकूला प्रतिकिलो १०० रुपैयाँ, तरुल प्रतिकिलो ६० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १०० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३०० रुपैयाँ, कुरीलो प्रतिकिलो १००० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ८० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १८० रुपैयाँ, जिरीको साग प्रतिकिलो २०० रुपैयाँ, सेलरी प्रतिकिलो २८० रुपैयाँ, पार्सले प्रतिकिलो ६०० रुपैयाँ, सौफको साग प्रतिकिलो १३० रुपैयाँ, पुदिना प्रतिकिलो ४०० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ । यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १८० रुपैयाँ, कागती प्रतिकिलो ८० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ९० रुपैयाँ, मौसम प्रतिकिलो ८० रुपैयाँ, जुनार प्रतिकिलो १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, निबुवा प्रतिकिलो ५० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो प्रतिकिलो २५० रुपैयाँ र अमला प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरिएको छ ।