हुलाकले किन राख्यो १० रुपैयाँको टिकटमा स्व. ओमप्रकाश गोयलको फोटो ? यस्तो छ कारण
काठमाडौं । सेवा नै परम धर्म हो भन्ने जीवन–दर्शनलाई आत्मसात गर्दै आफ्नो सम्पूर्ण जीवन उद्योग–व्यापार र समाजसेवामा समर्पित गरेका व्यक्ति हुन्– स्वर्गीय ओमप्रकाश गोयल । उनी एक सफल उद्यमी मात्र नभई एक कर्मठ समाजसेवी पनि हुन् । स्वर्गीय फूलचन्द गोयल र माता स्वर्गीय सरस्वती देवी गोयलका पुत्रका रूपमा विसं २०२१ सालमा भारतको हरियाणामा जन्मिएका थिए । हरियाणाबाटै म्याट्रिक उत्तीर्ण गरी विसं २०१८ सालमा नेपाल आएका उनले झापाको भद्रपुरलाई आफ्नो कर्मयात्राको प्रारम्भिक थलो बनाए । सगरमाथा राइस मिलमा एक कर्मचारीको रूपमा आफ्नो यात्रा सुरु गरेका उनले छोटो समयमै आफ्नो लगनशीलताले २०२० सालमा भद्रपुर बजारबाटै आफ्नै व्यवसायको जग हालेका थिए। करिब ११ वर्ष किराना पसल सफलतापूर्वक सञ्चालन गरेपछि २०३१ सालमा गोयलले झापाको हडिया बुधबारेलाई आफ्नो स्थायी कर्मथलो बनाए । त्यहाँ उनले स्थापना गरेका ‘गोयल राइस मिल’ आज ५० वर्षपछि पनि निरन्तर सञ्चालनमा छ । व्यापारमा आफूलाई स्थापित गराएपछि उनले आफ्नो आम्दानीको ठूलो हिस्सा समाजसेवामा समर्पित गर्न थालेका थिए । बुधबारे बजारमा उनले गरेका सामाजिक कार्यहरू आज पनि स्मरणीय छन् । जसमा उनले आफ्नै खर्चमा हनुमान मन्दिर निर्माण गरे । साथै उनले दुईवटा एम्बुलेन्स खरिद गरे । यो एम्बुलेन्स सेवा निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो थियो, जुन स्वास्थ्य सेवामा एउटा नयाँ अध्याय थियो । बुधबारेको पुरानो राम जानकी मन्दिर निर्माणदेखि विभिन्न विद्यालय, बाल विकास केन्द्र, नेत्रज्योति संघ र गौशाला निर्माण तथा व्यवस्थापनमा उनको योगदान छ । नेपानीजस्ता आधारभूत क्षेत्रमा उनले गरेको पहलकदमीले बुधबारे क्षेत्रको मुहार फेर्न भूमिका खेल्यो । गोयल ग्रुपको स्थापना आफ्नो व्यावसायिक दायरालाई फराकिलो बनाउँदै गोयलले विसं २०४७ सालमा काठमाडौंमा गणपति धुलन उद्योग स्थापना गरे । त्यसपछि गोयल ग्रुपको स्थापना गरी आफ्नो व्यवसायलाई संस्थागत रूप दिए । उनले काठमाडौंको शंखमूलस्थित शन्तु परमेश्वर धाम भवन निर्माण, चन्द्रगिरीस्थित वेद विद्याश्रम स्थापनाका लागि भूमिदान तथा पशुपति गौशालामा धर्मशाला निर्माण जस्ता काममा समेत सहयोग गरे । उनले उनी धागो, पशुदाना, ह्यान्डिक्राफ्ट, घिउ–तेल, र केमिकल लगायतका अनेकौं उद्योगहरू स्थापना गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्दै घरेलु उद्योगको विकासमा योगदान पुर्याए । गोयलको विसं २०६४ साल चैत्र १४ गते हृदयघातका कारण निधन भयो । उनको सम्झनामा स्थापित ‘गोयल फाउन्डेसन’ले महाभूकम्प, बाढीपहिरो जस्ता राष्ट्रिय विपत्तिहरूमा पीडितहरूको उद्धार, राहत र पुनः स्थापनामा सक्रिय भूमिका खेल्दै आएको छ । फाउन्डेसनमार्फत सञ्चालित बैंक, बीमा, हाउजिङ, जलविद्युत लगायतकामा हजारौंले रोजगारी पाएका छन् । नेपालको सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य र धार्मिक क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले २०७८ सालमा उनलाई मरणोपरान्त ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ बाट विभूषित गर्यो‍ । मंगलबार (हिजो) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०८१ चैत्र १७ गतेको निर्णयअनुसार गोयलको तस्बिर अंकित १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशनमा ल्याएको छ ।
पर्यटनले रोजगारी र स्थानीय अर्थतन्त्र चलायमान बनाइरहेको छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक भएको बताएका छन् । काठमाडौंमा आयोजित 'लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन' विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् । उनले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्र रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन तथा स्थानीय जीविकोपार्जनमा महत्वपूर्ण आधार रहँदै आएको बताए । साथै, उनले होमस्टे तथा समुदायमा आधारित पर्यटनका माध्यमबाट महिला उद्यमशीलता प्रवर्द्धन भइरहेको बताए । 'पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार हो । देशको आर्थिक विकासमा आन्तरिक तथा बाह्य दुवै पर्यटनको उत्तिकै योगदान रहेको छ । यद्यपि, पछिल्लो समय आन्तरिक पर्यटन फस्टाउँदै गएको छ । यसले रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र चलायमान बनाउन ठूलो सहयोग गरेको छ,' उनले भने । पर्यटन क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दै गएको र यसले महिलाहरूलाई आत्मनिर्भर बन्न सघाएको चर्चा गर्दै अध्यक्ष ढकालले उद्योग वाणिज्य महासंघले महिलाहरूको उद्यमशीलता विकास तथा नेतृत्व विकासमा थुप्रै नीतिगत सुधार गरेको जानकारी दिए । महासंघको नेतृत्वमा महिला सहभागिता अभिवृद्धि गर्न विधान संशोधन गरी महिला सहभागिता अभिवृद्धिका लागि पहल गरिएको समेत उनले जानकारी दिए । अध्यक्ष ढकालले नेपालमा थुप्रै सम्भावनाहरू रहेको उल्लेख गर्दै नेपालमा केही भएको छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताए । साथै, उनले नेपालमै आन्तरिक पुँजी परिचालन गरेर पनि पूर्वाधार निर्माण तथा अन्य उद्यमशील कार्य गर्न सकिन्छ भन्ने सोचका साथ महासंघको पहलमा १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरी काम भइरहेको जानकारी दिए । उनले आन्तरिक बचतलाई एकीकृत गर्न तथा उद्यमशीलताका लागि आवश्यक पुँजी व्यवस्थापन दुवैका लागि कम्पनीले सहयोग गर्ने बताए । नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजनामा तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
कर्जा सहज बनाउन ग्लोबल आइएमई बैंकले डीएआई–उदय परियोजनासँग सहकार्य गर्ने
काठमाडौं । ग्लोबल आइएमई बैंक र डीएआई–उदय परियोजनाबीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरूलाई वित्तीय पहुँचका लागि सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र राज रेग्मी तथा परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गरेका हुन् । समझदारीपश्चात कोशी प्रदेशमा सञ्चालित विभिन्न साना तथा लघु व्यवसायहरूलाई सहजरूपमा कर्जा प्रवाह हुने र लगानीको अभावले व्यवसाय विस्तार गर्न असमर्थ उद्यम तथा उद्यमीहरूको व्यवसाय विस्तारसँगै रोजगारी वृद्धि हुने विश्वास बैंकले लिएको छ । यस सम्झौताअनुसार डीएआई–उदय परियोजनाले छनौट गरेका उद्यम तथा व्यवसायहरूले ग्लोबल आइएमई बैंकको कोशी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहजरूपमा कर्जा पाउनेछन् । नेपाल सरकार तथा स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलस्वरूप कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरूमा डीएआई–उदय परियोजनाले कार्य गर्दै आइरहेको छ । डीएआई– उदय परियोजनाले कोशी प्रदेशमा नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, आईटी, पर्यटन तथा उत्पादनमूलक उद्योग लगायतका व्यवसायहरूलाई कर्जाको उपलब्धता तथा व्यवसायिक उन्नतिको लागि वित्तीय स्रोतमा सहज वातावरण बनाइरहेको छ । ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।
नेप्से परिसूचक सामान्य अंकले बढ्यो, ३ अर्बको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक एक दशमलव ३७ अंकले बढेर दुई हजार ५८५ दशमलव ८७ को बिन्दुमा कायम भएको हो । बुधबार ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता सेयर ६२ हजार ७६८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ दशमलव ४५ को कारोबार भएको छ । बुधबारको कारोबारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी पाँच पाँच दशमलव ३२ प्रतिशतले बढेको छ । सबैभन्दा बढी ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य चार दशमलव २६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा बढी एसवाई प्यालन नेपाल लिमिटेडको रु १४ करोड ४९ लाख ३५ हजार ३८३ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी तेह्रथुम पावर कम्पनी लिमिटेडको दुई लाख ६२ हजार ५८५ कित्ता सेयर खरिदबिक्री भएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले भेटिन् प्राध्यापक रवि लक्ष्मी चित्रकारलाई
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री झलनाथ खनालकी श्रीमती तथा प्राध्यापक रवि लक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । चित्रकारलाई उनकै निवासमा पुगेर भण्डारीले भेटेकी हुन् । भण्डारीले स्वास्थ्य परीक्षण तथा उपचारको प्रगतिबारे जानकारी लिँदै प्राध्यापक चित्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । केही दिनअघिमात्रै चित्रकार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा तीन महिना लामो उपचारपछि स्वदेश फर्किएकी थिइन् ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, यस्ता छन् मुख्य एजेन्डा
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय, सानेपामा सुरु भएको छ । बुधबार (आज) दिउँसो १ बजेका लागि तय गरिएको बैठक केही समय ढिलाइपछि सुरु भएको छ । आजको बैठकको मुख्य एजेन्डा पार्टीको १५औं महाधिवेशनसँग सम्बन्धित छ । बैठकमा महाधिवेशनको कार्यतालिकामा आवश्यक परिमार्जन, तयारी र अन्य व्यवस्थापनका विषयमा छलफल हुने जनाइएको छ । साथै पार्टीभित्रको संगठनात्मक, राजनीतिक र रणनीतिक विषयमा समेत सदस्यहरूबीच विचारविमर्श हुने अपेक्षा गरिएको छ । स्रोतका अनुसार बैठकमा पार्टीको विभिन्न विभागीय तयारी, उम्मेदवार चयन प्रक्रिया र महाधिवेशनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक निर्णयहरू लिन सक्ने सम्भावना छ । पार्टी नेतृत्वले यस बैठकमार्फत आगामी महाधिवेशनको ढाँचा र समयसीमा निर्धारणमा स्पष्टता ल्याउने लक्ष्य राखेको बताइएको छ ।
राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भए राजेन्द्र भट्टराई
काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (ईडी) मा राजेन्द्र भट्टराई बढुवा भएका छन् । यसअघि राष्ट्र बैंकको निर्देशक रहेका भट्टराई वष्ठितमका आधारमा स्वतः कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । विमलराज खनाल अनिवार्य अवकाशमा गएसँगै प्रशासन सेवातर्फको एउटा कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पद रिक्त रहेको थियो । राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को विनियम ५२ बमोजिम सम्भाव्य भएका निर्देशक पदमा कार्यरत अधिकृतमध्येबाट सोही विनियमावलीको विनियम ६५ को उपविनियम (२) अनुसार भट्टराईलाई ईडीमा बढुवा गर्ने निर्णय भएको मानव संसाधन व्यवस्थापन विभाग प्रमुख तथा कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले जानकारी दिए । भट्टराईलाई वित्तीय संस्था व्यवस्थापन विभागको जिम्मेवारी प्रदान गरिएको छ । अर्घाखाँचीका राजेन्द्र भट्टराई वि.सं २०५३ चैत २७ गते सहायक पदबाट राष्ट्र बैंक प्रवेश गरेका हुन् । कार्यकारी निर्देशकमा बढुवा भएसँगै उनी राष्ट्र बैंकको डेपुटी गभर्नरका लागि दाबेदार बनेका छन् ।
नाडालाई महासंघ बनाउने प्रस्ताव पारित, कागजात कुर्दै सीडीओ कार्यालय
काठमाडौं । अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को संस्थापन पक्षले बुधबार ४९औं वार्षिक साधारण सभा आयोजना गरेको छ । नाडाले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्देशन र रोकलाई ठाडो चुनौती दिँदै साधारण सभा आयोजना गरेको हो । प्रशासनले निर्वाचन कार्यतालिका प्रकाशन गरेर मात्र साधारण सभा गर्न दिएको आदेशलाई बेवास्ता गर्दै अध्यक्ष करण चौधरी पक्षले बन्दसत्र सञ्चालन गरेको हो । यति मात्र होइन, विवादका बीच नाडालाई महासंघ बनाउने प्रस्तावसमेत पारित गरिएको छ । जसलाई असन्तुष्ट पक्षले अवैध संज्ञा दिएको छ । जिल्ला प्रशासन कार्यालयले पुस ९ गतेका लागि तय गरिएको साधारण सभा रोक्न मंगलबार नै पत्र काटेको थियो । तर, नाडा नेतृत्वले सरकारी आदेशको बर्खिलाप गर्दै कार्यक्रम अगाडि बढाएपछि संस्थाभित्रको विवाद अब सडक र अदालतसम्म पुग्ने देखिएको छ । असन्तुष्ट पक्षका अनुसार नाडाको विधानमा साधारण सभा बोलाउनुअघि कम्तीमा १५ दिनको सार्वजनिक सूचना दिनुपर्ने अनिवार्य व्यवस्था छ । तर, उक्त प्रक्रिया पुरा नगरी हठातमा सभा आयोजना गरिएको भन्दै स्रोतले भन्यो, ‘प्रक्रिया नपुर्याई गरिएको यो सभा केवल पैसाको बरबादी र टाइम पास मात्र हो । यसका कुनै पनि निर्णयले कानुनी मान्यता पाउने छैनन् ।’ नाडामा विवादको बीउ दुई वर्षअघि नै रोपिएको थियो । करण चौधरी र आकाश गोल्छाबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुन लाग्दा दुई पक्षबीच चौधरी अध्यक्ष र गोल्छा वरिष्ठ उपाध्यक्ष हुने सहमति भएको थियो । अर्को कार्यकालमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने गरी विधान संशोधनसमेत गरिएको थियो । तर, पछि अध्यक्ष चौधरीले विधान संशोधनको जानकारी जिल्ला प्रशासन कार्यालयमा समयमै दर्ता नगराएको र सचिवालयको ढिलाइको फाइदा उठाउँदै गोल्छालाई वरिष्ठ उपाध्यक्षबाट हटाएर साधारण सदस्यमा झारेपछि विवादले उग्र रूप लिएको हो । गोल्छाले नयाँ संस्था नाइमा खोलेको रिस फेर्न चौधरीले एकलौटी निर्णय गरेको आरोप असन्तुष्ट पक्षको छ । नाडाका कतिपय सदस्यहरूले संस्थालाई अध्यक्षले आफ्नो निजी कम्पनी जस्तो चलाएको र फरक मत राख्नेहरूलाई पाखा लगाएको भन्दै आक्रोश व्यक्त गरेका छन्। ‘अध्यक्षको एकलौटी र निरंकुश कार्यशैलीले गर्दा नै नाडा फुट्यो,’ एक सदस्यले भने, ‘अहिलेको जबरजस्तीले नाडाको प्रतिष्ठा थप धमिलिएको छ ।’ असन्तुष्ट पक्ष प्रशासनको आदेश उल्लंघन भएको भन्दै पुनः कानुनी उपचार खोज्ने तयारी गरेको छ । के भन्छ प्रशासन ? जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रक्रियागत रूपमा कागजात प्राप्त भएपछि मात्रै त्यसबारे थप छलफल हुने र स्थानीय प्रशासनको स्वीकृतिविना कुनै पनि निर्णय अन्तिम नहुने जनाएको छ । संस्थाले महासंघ बनाउने प्रस्ताव पारित गरिसकेको सन्दर्भमा प्रशासनको आधिकारिक धारणा बुझ्न खोज्दा काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले संस्थाको आन्तरिक निर्णयबारे आफूहरूलाई औपचारिक जानकारी प्राप्त नभएको बताए । ‘उहाँहरूले आफ्नो विधान र कार्यविधिअनुसार के-के प्रस्ताव पारित गर्नुभयो । त्यो निर्णय हामीकहाँ आएपछि मात्रै थाहा हुन्छ,’ उनले भने, ‘अहिलेसम्म हामीलाई कुनै आधिकारिक जानकारी छैन ।’ उनले संस्थाले आफूखुसी निर्णय पारित गर्दैमा त्यसले स्वतः मान्यता नपाउने कुरामा जोड दिए । ‘उहाँहरूले पारित गर्ने बित्तिकै हामीले बनाइहाल्छौं भन्ने हुँदैन । स्थानीय अधिकारीको स्वीकृति नभईकन त्यो निर्णय अन्तिम हुँदैन, सहायक प्रजिअ भट्टराईले भने । नाडाको नयाँ नेतृत्वको टुंगो पुस २५ गते लाग्ने जनाइएको छ । अदालतमा मुद्दा विचाराधीन रहेको र प्रशासनले समेत रोक लगाएको अवस्थामा सम्पन्न यो साधारण सभाले नाडालाई थप कानुनी संकटमा धकेल्ने निश्चित छ । निर्वाचन बिना साधारण सभा नगर्न नाडालाई प्रशासनको निर्देशन